पेट्रोलका बाइक/स्कुटीलाई बिना अनुमति विद्युतीय बनाइँदै, कार्यविधि नबन्दा समस्या

काठमाडौं । पुराना डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिवर्तन गर्न सरकारले अनुमति दिएसँगै पछिल्लो समय धेरैले सवारी परिवर्तन गर्न थालेका छन् । गत चैतमा सरकारले तीन वर्षका लागि डिजेल तथा पेट्रोलबाट सञ्चालीत चार तथा दुई पाँग्रे सवारी साधनलाई विद्युतीय बनाउन अनुमति दिएको हो । सरकारले सवारी परिवर्तनको अनुमति दिएसँगै पछिल्लो समय धेरैको ध्यानमा विद्युतीय सवारी साधन बनाउने तर्फ केन्द्रित भएको छ । सरकारले उक्त व्यवस्था ल्याएसँगै हाल सुन्दर अटो इन्जिनियरिङ कम्पनीले दुईपाँग्रे सवारीलाई विद्युतीयमा बदल्ने काम सुरु गरिसकेको छ । चैतदेखि अहिलेसम्म पेट्रोलबाट चल्ने १७१ वटा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गरिसकेको कम्पनीको दाबी छ । कसैले लिएनन् अनुमति डिजेल तथा पेट्रोलका साधनलाई विद्युतीयमा रुपान्तरणका लागि सम्बन्धित सबारी धनीले सरकारबाट अनुमति लिनुपर्ने हुन्छ । आफ्नो सवारी साधन परिवर्तन गर्न इच्छुक सवारी धनीले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट अनुमति लिनुपर्ने हुन्छ । तर, रूपान्तरणका लागि कुनै पनि सवारीले स्वीकृति नलिएको यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराले जनाएको छ । कार्यालयका प्रमुख दीपक पोखरेल सवारी परिवर्तनका लागि अहिलेसम्म कुनै निवेदन नआएको बताउँछन् । ‘धेरै सवारी साधन परिवर्तन भए भन्ने सुनिएको छ, तर अहिलेसम्म कार्यालयमा कसैले पनि निवेदन लिएर आउनुभएको छैन, अनुमति बेगर परिवर्तन भएको पाइए तत्काल कारवाही हुन्छ’, उनले भने । यातायात व्यवस्था ऐन अनुसार बिना अनुमति सवारी साधन मोडिफाई गर्ने २०० सीसीसम्मका दुईपाँग्रे सवारीलाई ७ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ । पेट्रोलका सवारी साधनलाई विद्युतीयमा रुपान्तरणका लागि सवारी धनीले यातायात कार्यालयबाट स्वीकृति लिनुपन हुन्छ । कार्यालयले स्वीकृति दिएपछि मात्रै सम्बन्धित सवारी धनीले तोकिएको मापदण्ड भित्र रहेर परिवर्तन गर्नुपर्छ । सवारी परिवर्तन भएपछि पुनः यातायातका अधिकारीहरुले परीक्षण गरेर मात्रै उक्त सवारी सञ्चालनको अनुमति दिनेछन् । बिना अनुमति सवारी परिवर्तन गरेर चलाएको भेटिएमा नेपाल प्रहरीले तत्काल समातेर कारवाही गर्नेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी साधन परिवर्तनका लागि राजपत्रमा सूचना प्रकाशन गरेतापनि हालसम्म कार्यविधि बनिनसकेको मोटरसाइकल कार्यालयका सूचना अधिकारी लेखनाथ खतिवडाले बताए । उनका अनुसार कार्यविधि बन्ने प्रक्रियामा रहेका कारण बिना अनुमति सवारी परिवर्तन गर्ने सवारी धनीलाई कस्तो कारवाही गर्ने टुङ्गो लाग्नेछ । परिवर्तन गर्नेको भीड सरकारले सवारी परिवर्तनको अनुमति दिएसँगै पछिल्लो समय आफ्नो सवारीलाई विद्युतीयमा रुपान्तरण गर्नेको भीड नै लाग्ने गरेको सुन्दर अटोले जनाएको छ । सुन्दर अटोका अध्यक्ष भेषबहादुर थापा पछिल्लो समय सवारी परिवर्तन गर्न कम्पनीका रहेका कामदारलाई भ्याइनभ्याइ हुन थालेको बताउँछन् । ‘पुराना, काम नै नगर्ने साधनलाई समेत हामीले इभीमा परिवर्तन गछौँ, सस्तो र सुपथ मूल्यमा परिवर्तन गर्न मिल्ने भएपछि अहिले हाम्रा प्राविधिकलाई भ्याननभ्याई छ’, उनले भने, ‘हामीले यातायातको नियमभन्दा बाहिर गएर बनाउन पाइदैन, नियम सबैलाई एउटै हो, तर अहिले हामीले थाम्नसक्ने अवस्था नै छैन, ग्राहकको संख्या बढ्दा पेट्रोलियम पदार्थको मूल्य बढ्दा धेरै असर गरेको देखियो ।’ उनले उपभोक्ताको माग बढ्न थालेपछि भारतीय तथा चिनियाँ कम्पनीसँग थप ५०/५० हजार किट आवश्यक रहेको जानकारी गराइसकेको बताए । नेपालमा मात्र नभएर चीन तथा भारतमा समेत विद्युतीय सवारीको किटको माग उच्च भएको पाइएको उनको भनाई छ । सुन्दरले हाल चिनियाँ तथा भारतीय प्राविधिक तथा उक्त देशका पास्र्टबाट विद्युतीय सवारीमा परिवर्तन गर्दै आएको छ । कम्पनीले १ लाख रुपैयाँमा नै पेट्रोलबाट चल्ने स्कुटर तथा बाइकलाई विद्युतीयमा रुपान्तरण गर्ने गरेको छ ।

धेरै बिक्री हुने गाडी र बाइकमा नै प्रतिबन्ध, अनिश्चित बन्यो नाडा अटो शो

काठमाडौं । सरकारले सवारी साधनमा थप कडाइ गरेपछि नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने नाडा अटो शो अनिश्चित बनेको छ । नाडाले भदौमा आयोजना गर्ने तयारी गरेको यस वर्षको ‘नाडा अटो शो’ अनिश्चित बनेको हो । यसअघि दुई वर्षसम्म कोभिड १९ को संक्रमणको कारण गर्न नसकिएको अटो शो नाडाले यो वर्ष भदौ ७ गतेदेखि १२ गतेसम्म गरी पाँच दिनसम्म अटो शो भृकुटीमण्डपमा आयोजना गर्ने तयारी थालेको थियो । तर, सरकारले दुई पाँग्रेदेखि चार पाँग्रे सवारी साधन आयात प्रतिबन्धलाई निरन्तरता दिएसँगै अटो शो अनिश्चित बनेको हो । यसअघि गभर्नर, प्रधानमन्त्रीदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध हटाउने आश्वासन दिएपछि नाडाका पदाधिकारीहरुले अटो शो आयोजनाको तयारी थालेका थिए । तर, आइतबार उद्योग मन्त्रालयले यसअघिकै प्रतिबन्धलाई निरन्तरता दिँदै मोटरसाइकल तथा स्कुटर आयातमा झनै कडाइ गरेपछि अटो शो पोस्टपोन्ड वा स्थगितको तयारी थालिएको नाडाले जनाएको छ । नाडा अध्यक्ष धुब्र थापा अटो शोको तयारी थालिएकै समयमा सरकारले आयात प्रतिबन्धलाई निरन्तरता दिएपछि अटो शो को विषयमा छलफल गर्ने तयारी थालिएको बताउँछन् । उनले सरकारले भदौ १४ गतेसम्मलाई आयातमा प्रतिबन्ध लगाएको भन्दै त्यसपछि समेत निरन्तरता हुने आशंका व्यक्त गरे । आइतबार राजपत्रमा प्रकाशित सूचना अनुसार छिट्टै नाडाका पदाधिकारीले छलफल गरेर अटो शो पोस्टपोन्ड वा स्थगितको विषयमा निर्णय गर्ने उनले बताए । उनले अतिआवश्यक वस्तुको सूचिमा सवारी साधनलाई नराख्दा अर्बौंको लगानी गरेको अटो व्यवसायीहरू समस्यामा पर्न थालेको बताए । ‘सरकारले सुनलाई अति आवश्यक वस्तुको सूचिमा राखेको छ, अतिआवश्यक सूचिमा राख्नुपर्ने भेकल क्षेत्रलाई विलासितामा राखिन्छ’, उनले भने । धरौटीमा गाडी ल्याउन सकिने अध्यक्ष थापाले नाडा अटोे शोमा धरौटीमा गाडी ल्याउन सकिने विकल्प रहेकोे बताए । ‘आयातमा प्रतिबन्धले अटो शोमा खासै असर पर्दैन, गाडी निर्माता कम्पनीबाट हामीले धरौटीमा (पछि फिर्ता गर्न) वा भन्सार शुल्क पछि भुक्तानी गर्ने शर्तमा नयाँ मोडलका गाडी आयात गर्न सक्छौँ तर, सरकारले आयातको प्रतिबन्ध कहिलेसम्म लगाउने निक्यौल नहुँदासम्म गाडी बिक्री रोकियो’, उनले भने, ‘गाडीको शो गरेर बुकिङ भएका गाडी ल्याउन समस्या हुने देखेर शो नै अन्यौलमा भयो, शो मा देखाउनैका लागि धरौटीमा गाडी ल्याउन सकिदैन ।’ उनले सरकारले लामो समयसम्म गाडी आयातमा प्रतिबन्ध लगाउँदा विदेशी कम्पनीले नेपाली कम्पनीलाई हेर्ने नजर नै नकारात्मक हुन थालेको बताए । ‘सवारी साधनको आयात रोकिँदा विदेशमा नराम्रो असर परेको छ, नेपाली व्यवसायीलाई विदेशी अटोमोबाइल्स कम्पनीले हेर्ने नजरमा नकारात्मक असर पर्दा दीर्घकालसम्म यसको असर पर्ने देखिन्छ’, उनले भने । धेरै बिक्री हुने सीसी मै प्रतिबन्ध उद्योेग मन्त्रालयले आइतबार राजपत्रमा सूचना प्रकाशन गर्दै आगामी भदौ १४ गतेसम्मका लागि १५० सीसी माथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाएको छ । गत बैशाख १३ गतेदेखि असारमसान्तसम्मका लागि २५० सीसी माथिका मोटरसाइलमा मात्र प्रतिबन्ध लगाएको सरकारले मोटरसाइकल आयातमा झनै कडाइ गरेको हो । हाल बजारमा चल्तीमा रहेका र सबैभन्दा धेरै माग भएकै सीसीमा कडाइ गर्दा बजारमा मोटरसाइकलको अभावसँगै आयात ठप्प हुने अध्यक्ष थापाको भनाइ छ । सरकारी प्रतिबन्धसँगै बजारमा सर्वाधिक चल्तीमा रहेका ४० भन्दा बढी मोडलका मोटरसाइकलको अभाव हुने व्यवसायीहरुले बताएका छन् । सरकारको प्रतिबन्ध सँगै बजाज, यामाहा, टीभीएस, होन्डा, हिरो, सुजुकी, क्रसफायर, टेकन, सिएफ मोटो, केटीएम, हस्कभर्ना, बेनेली लगायात ब्राण्डले बिक्री गर्ने अधिकांश मोडलका मोटरसाइकल आयात प्रतिबन्धमा परेका छन् ।

लम्बियो आयात प्रतिबन्ध, मोटरसाइकलमा झन कडाई

काठमाडौं । सरकारले विभिन्न दश वस्तुको आयातमा पुनः प्रतिबन्ध लगाएको छ । यसअघि असार मसान्तसम्म विभिन्न १० वस्तुको आयातमा रोक लगाएको सरकारले आयात प्रतिबन्धलाई लम्बाएको हो । आईतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशन गर्दै आगामी भदौ १४ गतेसम्म विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो । सरकारले आयात प्रतिबन्धलाई निरन्तरता दिएसँगै अब कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), दुई पाँग्रे तथा चार पाँग्रे सवारी साधन, सबै प्रकारका खेलौना र तास आयात गर्न पाइनेछैन् । यसअघि ६०० अमेरिकी डलरभन्दा बढीका मोबाइल फोन आयातमा रोक लगाईएकोमा उक्त प्रतिबन्धलाई कडा बनाउँदै ३०० अमेरिकी डलरभन्दा माथिका महँगा फोन आयातमा रोक लगाएको हो । यसअघि २५० सीसी क्षमताका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाईएकोमा अब १५० सीसी माथिका साधन ल्याउन रोक लगाईएको छ । सरकारले उक्त वस्तु साउन १ गतेभन्दा अगाडी नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सुरु भएको अवस्थामा साधन ल्याउन कुनै रोक नभएको जनाएको छ ।