रक्सौल-काठमाडौं रेलमार्गको डिपिआर तयार पारिँदै
काठमाडौं । भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । ‘भारतीय रेल्वे कम्पनी कर्पोरेसन कोङ्कणको प्राविधिक टोलीले रेलमार्गको डिपिआर तयार पारिरहेको छ’, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जनकुमार झाले भने, ‘एक महिनाभित्र डिपिआर तयार भइसक्छ ।’ डिपिआर स्वीकृतपछि निर्माणले गति लिने उनको भनाइ छ । नेपाल र भारतबीच २०७६ साल भदौ १५ मा रक्सौल–काठमाडौँ रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सम्झादारी पत्रमा हस्ताक्षर भएपछि डिपिआर तयार पार्न नेपालले २०७७ सालमै भारतलाई औपचारिक प्रस्ताव पठाएको थियो । सोही प्रस्तावअनुसार डिपिआर निर्माण भइरहेको महाप्रबन्धक झाको भनाइ छ । भारतसँग जोडिने अन्तरदेशीय रेलमार्ग ब्रोडगेजमा बनाउने गरी प्रारम्भिक सम्भाव्यता अध्ययन भए पनि सरकारले सो रेलमार्ग स्ट्यान्डर्ड गेजमा बनाइदिन आग्रह गर्दै आएको छ । भारतीय रेल्वे कम्पनी कोङ्कणले नेपाल सरकारसँगको समन्वयमा आठ महिनामा प्रतिवेदन तयार पारेको थियो । प्रराम्भिक अध्ययनअनुसार रेलमार्गको दूरी एक सय ३६ किलोमिटर हुने र रेलमार्गका लागि सुरुङ तथा विशेषखालको पुल निर्माण गरिने छ । रक्सौल–काठमाडौं सिधा रेल सेवा सञ्चालन भएपछि यहाँको व्यापार व्यवसायीले गति लिने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालको विश्वास छ । ‘वीरगञ्ज यसै पनि मुलुकको आर्थिक राजधानीको रुपमा परिचित छ’, उनले भने, ‘त्यसमा रक्सौलबाट सिधैँ वीरगञ्ज हुँदै काठमाडौंसम्म रेल चल्न थालेपछि यहाँको आर्थिक अवस्था थप चलायमान हुन्छ र मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्छ ।’ यस्तै नेपाललाई रेल सञ्जालमा जोड्ने महोत्तरीको बर्दिबासदेखि बाराको निजगढसम्मको रेलमार्ग निर्माणका लागि माटो फिलिङको कार्यसमेत भइरहेको महाप्रबन्धक झाले बताए । जयनगर–बर्दिबास रेलमार्ग अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । कुर्थादेखि विजलपुरासम्म रेलमार्गको ट्र्याक निर्माणको मुख्य कार्यहरु सम्पन्न भइसकेकाले केही दिनभित्रै भारतीय निर्माण कम्पनीले नेपाल रेल्वे कम्पनीलाई ट्र्याक हस्तान्तरण गर्ने महाप्रबन्धक झाको भनाइ छ । ‘रेल्वे ट्र्याक हामीलाई हस्तान्तरण हुने तयारी भइरहेको छ’, महाप्रबन्धक झाले भने, ‘त्यो हस्तान्तरण भएसँगै हामी विजलपुरासम्म रेल गुडाउँछौंँ ।’ केही दिनअघि कुर्थादेखि विजलपुरासम्म रेल गुडाएर परीक्षणसमेत गरिएको थियो । विजलपुरादेखि बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ । ‘जग्गा मुआब्जाको समस्यालगायतका कारण विजलपुरा भङ्गहादेखि बर्दिबाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको’, नेपाल रेल्वे कम्पनीका इञ्जिनियर रवीन्द्र साहले भने, ‘कतिपय ठाउँमा व्यवहारिक रुपमा बाटो देखिएको छ, तर नक्शामा सडक छैन, यद्यपि स्थानीयले मुआब्जा मागिरहेका छन् ।’ कतिपय ठाउँमा ऐलानी जग्गामा दलित बस्ती भएको र उनीहरुसँग कुनै कागज नभएको उनको भनाइ छ । उनले स्थानीयले मुआब्जा मागेर विवाद गरिरहेको बताए । जसका कारण रेल्वे ट्र्याक निर्माणमा समस्या भएको उनको कथन छ । ‘हामीहरुले चाहेर पनि समस्या समाधान गर्न सकेका छैनौँ, रहेको छैन्’, इञ्जिनियर साहले भने, ‘मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म रेल चल्न थाल्छ ।’ नेपालमा रेल सञ्जाल विस्तार गर्नेबारे नेपाल र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार २०११ देखि निर्माण थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनलले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० देखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए । त्यसयता रेल सेवा दैनिक दुई पटक आउने र दुई पटक जाने गरिरहेको छ । रासस
देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, प्रहरीले बढायो खोजी कार्य
काठमाडौं । नेपाल प्रहरी र प्रशासनले नक्कली पाटपुर्जाहरुको अवैध कारोबार गर्ने व्यक्तिहरुको खोजी कार्य बढाएको छ । विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्राईएको सुराकी पाएपछि प्रशासनले खोजी कार्य तिव्र बनाएको हो । यसैक्रममा टाटाका अवैध पार्टसहरुको कारोबार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक विनोद कार्कीलाई प्रहरीले सचेत गराएको छ । यस्तै, प्रहरीले उपत्यकाबाहिर पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्य तथा पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४, सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जिवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका सञ्चालक ध्रुव सिङ चौहान लगायतका व्यक्तिहरुलाई पनि सचेत गराएको छ । यस्ता पार्टपुर्जाको प्रयोगले गाडिहरु अप्रत्याशित दुर्घटना भई ठुलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन सक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको नेपालका लागि टाट मोटर्सका टेरिटरी पार्टस् म्यानेजर मनिस कुमार बताउँछन् । ‘यसले गर्दा वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावीत भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन्,’ उनले भने । अवैध कारोवारमा कोही व्यक्ति वा संस्थाको संंलग्नता भेटिएमा हदैसम्मको कारवाही हुने व्यवस्था रहेको छ ।
नयाँ वर्षमा हुन्डाईको गाडी किन्दा साढे ८ लाखसम्मको छुट
काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको हो । यो योजना चैत १३ देखि सुरु भएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउँनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुने कम्पनीले जनाएको छ । हुण्डाईले गएको महिना मात्रै भेन्यु र यनआइओयस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनै पनि ह्याटब्याक, कम्प्याक्ट, यसयुभि तथा इभि गाडी खरिद गरि फाइदा लिन सक्नेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।