अशोक लेल्यान्डको लाइट कमर्सियल भेहिकल ‘दोस्त’ मा ५ वर्षको वारेन्टी
काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले आफ्नो लोकप्रिय हलुका सवारी साधन ‘दोस्त’ मा पाँच वर्षको वारेन्टी घोषणा गरेको छ । कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट हो । यसले दोस्तको पर्फमेन्स बढाउन सहयोग गर्ने सबै रेन्जका कम्पोनेन्टहरुलाई कभर गर्ने कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार यो वारेन्टी अन्तर्गत इन्जिनका साथसाथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर/रेडिएटर कोर र कुलिङ फ्यान क्लच जस्ता प्रमुख उपकरण सबैमा कभर हुनेछ । यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत यसमा कभर हुनेछ । नेपालभरका अशोक लेल्यान्डका सबै डिलरसिप र सर्भिस स्टेसनहरूमार्फत उक्त वारेन्टी उपलब्ध हुने कम्पनीले बताएकाे छ ।
बैंकको मोटरसाइकल हरायो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मोटरसाइकल हराएको छ । साविक मेगा बैंक हुँदा १५० सीसीको पल्सर मोटरसाइकल हराएको बैंकले जनाएको छ । साविक मेगा बैंकको नाममा दर्ता रहेको प्र ०३–०२–०१२ प ३०५१ नम्बरको पल्सर १५० सीसीको मोटरसाइकल हराएकाले कसैले भेटाएमा बैंक वा प्रहरीमा सम्पर्क गराउन बैंकले आग्रह गरेको छ । मोटरसाइकलको इन्जिन नम्बर डीएचवाइआरकेडी ५३८९१ र च्यासिस नम्बर एमडी २ए ११सीवाई ५केडी २५३८६ कालो रंगको पल्सर १५० सिसि मोडलको मोटरसाइकल रहेको बैंकले जनाएको छ । बैंकको मोटरसाइकल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनोहरा फाँटबाट हराएको थियो । उक्त मोटरसाइकल गत पुस २ गते शनिवारका दिन बेलुका साढे ९ बजेदेखि हराएको हुँदा फेला परेमा नजिकको प्रहरी कार्यालय वा बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
नेपाल आयल निगमले किन्यो विद्युतीय गाडी बीवाइडी
काठमाडौं । पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल आयल निगम आफैले नयाँ विद्युतीय गाडी खरिद गरेको छ । निगमले विद्युतीय सवारीलाई प्राथमिकतामा राख्दै नयाँ गाडी खरीदमा विद्युतीय गाडी किनेको हो । निगमले बीवाइडीको ई-६ मोडल ३ वटा खरीद गरेको हो । यो गाडीको मूल्य ५९ लाख रुपैयाँ रहेको छ । यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ५४० किलोमिटर रेन्ज प्रदान गर्छ । निगमले विद्युतीय गाडी खरीदका लागि गत कात्तिकमा नै टेन्डर आह्वान गरेको थियो । उनका अनुसार निगमले विद्युतीय गाडी खरिद गर्नुको मूख्य कारण इन्धन खपत घटाउने र नेपालमा उत्पादन भएको विद्युत खपतलाई बढाउनु रहेको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले बताए ।