अटोमोवाइल व्यवसायीको समस्या सम्बोधन गर्न राष्ट्र बैंकसँग सल्लाह गर्छु : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अटोमोवाइल व्यवसायीको समस्या सम्बोधन गर्न राष्ट्र बैंकसँग सल्लाह गर्ने बताएका छन् । नाडाका अध्यक्ष धुव्र थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलबीच भएको भेटवार्तामा अर्थमन्त्री डा. महतले सो बताएका हुन् । ‘अटोमोबाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसँग सल्लाह गर्ने, कुन कुन विषयहरुमा अटोमोवाइल व्यवसायीहरुलाई समस्या परेको छ, त्यसको समुचित समाधानका लागि प्रयास गर्छु,’ उनले भने । साथै, उनले उक्त समस्याबारे आउदो बजेट सुझावमा समावेश गर्नको लागि पठाउन समेत व्यवसायीहरुलाई आग्रह गरेका छन् । सोही भेटघाटको क्रममा मन्त्री महतले अब अटोमोबाइल व्यवसायीहरुले विद्युतीय सवारी साधनहरुको उत्पादन र विक्रीमा यथोचित ध्यान दिनका लागि आग्रह समेत गरेका छन् । अध्यक्ष थापाले विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरेका छन् । त्यसैगरी, सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सार्वजनिक महत्वका सवारी तथा ढुवानीका सवारी साधनहरु डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च विन्दुमा पुगेको कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेकोले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महशुल घटाउन आग्रह गरे । सो छलफलको क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरणगरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरे । सोही क्रममा अध्यक्ष थापाले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरु सर्वसाधरण जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकोले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु आग्रह गरे । त्यसै क्रममा अध्यक्ष थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने सुझाव दिए । उक्त छलफलमा नाडाका सचिव विक्रम सिंहानिया सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदुर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रिय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा समेतको उपस्थिति रहेको थियो ।
डिजेलको मूल्य घट्ना सार्वजनिक सवारीको भाडा किन घटेन ?
काठमाडौं । नेपाल आयल निगमले चैत २० गते राती १२ बजेदेखि लागु हुने गरी डिजेल, मट्टितेलमा प्रतिलिटर १० र पेट्रोलको मूल्य ३ रुपैयाँले घटायो । निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन (बढाउने वा घटाउने) गरेको भोलिपल्ट नै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको मूल्य समायोजन गर्ने गरेको थियो । तर चैत २० गते एकैपटिक लिटरमै १० रुपैयाँले डिजेलको मूल्य घट्दा यातायात व्यवस्था विभागले मूल्य समायोजन गरेको छैन् । यातायात व्यवस्था विभागले भने ५ प्रतिशतभन्दा बढी मूल्य समायोजन नहुँदा सार्वजनिक सवारीको भाडा समायोजन नभएको जनाएको छ । विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई यसअघि पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा (डिजेलको मूल्य बढ्दा भाडा नबढाईको) भाडा समायोजन नभएका कारण कारण अहिले सार्वजनिक सवारीको भाडादर परिवर्तन नभएको बताउँछन् । ‘५ प्रतिशतभन्दा बढी मूल्य समायोजन हुँदा सार्वजनिक सवारीको मूल्य समायोजन हुनुपर्ने हो, तर अहिले ५ प्रतिशत नपुग्दा समायोजन नभएको हो’, उनले भने, ‘यसअघि निगमले समायोजन गरेको आधारमा सार्वजनिक सवारीको भाडा समायोजन भएको थिएन, सोहीलाई आधार बनाउँदा अहिले घटेको मूल्य ५ प्रतिशत भएन ।’ उनका अनुसार सार्वजनिक सवारी साधनको मूल्य समायोजन गर्ने यातायात व्यवस्था विभागले नभएर अटोमेटिक हो ।
हुन्डाई आयोनिक ६ ले पायो ‘वर्ल्ड कार अफ द इयर’ अवार्ड
काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाईको ‘हुन्डाई आयोनिक सिक्स’ले वर्ल्ड कार अफ द इयर अवार्ड पाएको छ । हाल संचालन भइरहेको न्युयोर्क अटो शोमा हुन्डाई आयोनिक सिक्सले उक्त अवार्ड हात पारेको हो । यसका साथै यस ईभी गाडीले वर्ल्ड इलेक्ट्रिक भेहिकल र वर्ल्ड कार डिजाइन अफ द इयर अवार्ड पनि जितेको छ । यो हुण्डाई मोटर कम्पनीको लागि दोस्रो जित हो । हुन्डाईको आयोनिक फाइभले पनि गत वर्ष यही तीन अवार्ड प्राप्त गरेको थियो । हुन्डाई आयोनिक ६ ले एक पटकको फुलचार्जमा ६०० किलोमिटर रेन्ज दिने दिन्छ । कम्पनीले यसलाई सिगंल मोटर तथा अलह्वील ड्राइभ अप्सनमा ल्याएको छ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यसलाई छिट्टै नेपाल ल्याउने तयारी थालेको जनाएको छ ।