साझा यातायातले सञ्चालनमा ल्यायो सबैभन्दा बढी पावरको चार्जिङ स्टेसन
काठमाडौं । साझा यातायात सहकारी संस्थाको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ । मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उक्त स्टेसनको उद्घाटन गरेका हुन् । साझा यातायातले पहिलो पटक ललितपुरको पुल्चोकमा नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको शुरुवात गरेको हो । चार्जिङ स्टेसनसहित मंगलवार नै ४० वटा विद्युतीय बस पनि औपचारिक रुपमा सञ्चालनमा आएका छन् । साझा यातायातले आउँदो दिनमा डिजेल गाडीलाई रूपान्तरित बिजुली गाडी बनाएर परीक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिए । उनले अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस पूर्ण चार्ज (फुल चार्ज) हुने बताए । उनले एक पटक फुल चार्ज गरेपछि साझा यातायातका विद्युतीय सवारी २ सय किलोमिटरसम्म गुड्नसक्ने बताए । १.१ मेगावाट क्षमताका २४ वटा समानान्तर चार्जिङ पोइन्ट रहेको बताउँदै उनले अब आउने विद्युतीय साझा बसको लागि साझासँग स्थान नभएको जानकारी गराए । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातमा काठमाडौं महानगरपछि ललितपुर महानगरपालिकाको धेरै लगानी भएको बताए । उनले ललितपुर महानगरको बाहिर क्षेत्रमा साझाका बस चल्ने र भित्रि कोर क्षेत्रमा सटलबस चलाउन साझालाई रकम दिइसकेको बताए । उनले ४५ सिट भएका सटलबस पुल्चोक, पाटनदबार, महाबौद्ध र लगनखेल क्षेत्रमा चलाउन गइरहेको बताए । सटलबस सञ्चालनमा लाग्ने खर्च बिइपीमा हुनुपर्ने नभए ललितपुर महानगरपालिकाले सहयोग गर्ने उनको भनाई छ । साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेर बस नेपालमा ल्याएको थियो । साझा यातायातले आफ्नै जग्गामा चार्जिङ स्टेसन बनाएको हो ।
रोयल इन्फिल्ड पोकर रनको १४औं संस्करण चैत ३० देखि हुने
काठमाडौं । पोकर रनको १४औं अप्रिल १२ अर्थात चैत ३० देखि सुरु हुने भएको छ । एड्भेन्चर ट्राभल कम्पनी स्याकर्ड समिटले सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौं रोयल इन्फिल्डका विभिन्न मोडलका मोटरसाइकल राइडर सहभागी टोली पोखरा पुगेर रमाइलो गर्ने कार्यक्रम रहेको जानकारी दिएकाे छ। स्याकर्ड समिटले सन् २००९ देखि पोकर रनको आयाेजना गर्दै आएकाे छ । यस पटक नेपाल, भारत, अस्ट्रेलिया, अमेरिका, अस्ट्रियालगायत विभिन्न देशका १५० भन्दा बढी राइडर सहभागी हुने कार्यक्रममा बताइएकाे छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ तथा रोयल इन्फिल्ड राइडरहरूको संस्था फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल (फोरे नेपाल) नेपाल पर्यटन बाेर्ड, नेपाल नेपाल पर्यटन बाेर्ड पाेखरा र पाेखरा पर्रयटन बाेर्ड परिषद् लगायत अन्य सहप्रायाेजकले कार्यक्रममा सहयोग गर्नेछ । निश्चित स्थानबाट प्रारम्भ हुने पोकर रन गन्तव्यसम्म पुग्दा ५ वटा बिन्दु निर्धारण गरिएको हुन्छ । प्रत्येक बिन्दुमा सहभागीले एक एकवटा तासको जस्तो पत्ती अर्थात पोकर उठाउन पाउछन् । बीचमा उनीहरू साथसाथै जान्छन् । एकै स्थानमा मोटरसाइकलको लहर देख्दा एक प्रकारको रौनकता पनि थपिन्छ । अन्तिम बिन्दुसम्म पुग्दा जसको नम्बर बढी हुन्छ, उसैलाई बिजेता घोषणा गरिन्छ । राइडरहरूका लागि पोकर हात पार्नु यो इभेन्टको मुख्य उद्देश्य हो । तर योभन्दा बाहेक विभिन्न तरिकाले डिजाइन गरिएको आफ्नो मोटरसाइकल शो गर्नु पनि यसको अर्को आकर्षण हो । बेस्ट इन्फिल्ड अर्थात ओरिजिनल डिजाइन र बेस्ट कस्टमाइज्ड मोटरसाइकललाई सो अवसरमा पुरस्कृत समेत गरिने छ । कार्यक्रममा सहभागीहरुलाई विभिन्न प्रकारका रोचक पुरस्कारको समेत व्यवस्था गरिने छ । यसमा बेस्ट पोकर ह्यान्ड, बेस्ड इन्फिल्ड अवार्ड, सपोर्टिङ वुमन राइडर, सिनियर सिटिजन अवार्ड, लङ डिस्टेन्स राइडर र यात्रा अवधिभर धेरै दुःख दिने मोटरसाइकललाई हार्ड लक अवार्ड प्रदान गरिने छ । चैत ३० का दिन नेपाल पर्यटन बोर्डको प्रांगणबाट राइडरहरूको टोली पोखराका लागि प्रस्थान गर्नेछ । उनीहरूले पहिलो कार्ड यही संकलन गर्नेछन् । त्यसपछि दोस्रो कार्ड नौविसेमा संकलन हुनेछ भने मुग्लिनमा तेस्रो र पोखरा भन्दा ३५ किलोमिटर यता अकला हाइवेमा चौथो कार्ड संकलन हुनेछ । नयाँ वर्ष २०८१ को पहिलो दिन सबै सहभागी पाेखरामा रहेकाे अन्नपूर्ण बालगृहमा पुगेर विभिन्न शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम पनि रहेकाे छ । प्रत्येक वर्ष आयोजना हुने पोकर रनको आगामी संस्करणका लागि देश तथा विदेशका रोयल इन्फिल्ड राइडरहरू उत्साही भएको आयोजकको भनाइ छ । दिवंगत राइडर मित्र विनोद आचार्य क्षेत्रीको सम्झनामा रवि थापा र अष्ट्रेलियामा एन्जाक डे हार्ले डेभिडसन पोकर रन अफ अल्बरी सञ्चालक स्टुअर्ट म्याक्लिन मिलेर सन् २००९ मा जम्मा २२ जना मोटरबाइक राइडरहरुको सहभागितामा यस प्रकारको कार्यक्रम नेपालमा सुरुवात गरिएको थियो । सुरुवाती दिनमा द इन्फिल्ड रन्देभु एन्ड पोकर रनको नाममा सञ्चालन भई सन् २०२१ देखि यसलाई पोकर रन नेपाल नामकरण गरिएको हो । सन् २०१५ मा यस्तै कार्यक्रममा ४१५ जना सहभागी भएका थिए । पोकर रन नेपाल एउटा राइडिङ इभेन्ट मात्र नभई यो जिन्दगीमा एक पटक अनुभव गर्ने पर्ने कार्यक्रम मध्येको एक नम्बरमा पर्दछ । सबै उमेर समूह, महिला वा पुरुष, साथीभाई, इस्टमित्र, परिवार सहित मिलेर एकैसाथ रमाइलो गर्न पाउने भएको हुनाले पनि यस कार्यक्रमको लोकप्रियता ह्वात्तै बढेको अनुमान गर्न सकिन्छ ।
नेपालमा टोयोटाको बजार खस्कियो, एक वर्षमै ५२ प्रतिशतले घट्यो व्यापार
काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) को व्यापार ५२ प्रतिशतले घटेको छ । विगत एक वर्ष अर्थात आर्थिक वर्ष २०२३ मा कम्पनीको व्यापार ५१.९९ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष अर्थात २०२२ मा ७ अर्ब ६१ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीको २०२३ मा ह्वात्तै घटेर ३ अर्ब ६५ करोड ६० लाख रुपैयाँमा खुम्चिएको छ । जुन आर्थिक वर्ष २०२१ को व्यापारको तुलनामा पनि कम हो । कम्पनीले आर्थिक वर्ष २०२१ मा पनि ४ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । नेपाल राष्ट्र बैंकले गाडी आयातमा प्रतिबन्ध गरेसँगै त्यसको प्रत्यक्ष असर कम्पनीको व्यापारमा देखिएको जनाइएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०२३ को पहिलो ६ महिनामा यात्रु बोक्ने सवारीसाधन आयातमा पूर्णरूपमा रोक लगाएको थियो । वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रीज एन्ड ट्रेडिङ हाउजेज अन्तर्गतको कम्पनी यूटीएसले नेपालमा टोयोटा गाडीलगायत विभिन्न गाडीहरूको स्पेयर पाटर्स बिक्री तथा वित्तरण गर्दै आएको छ । स्वर्गीय डा. विजय गजानन्द वैद्यले सन् १९६७ मा नेपाली बजारमा मोबिलिटी ल्याउने भिजनसहित यस कम्पनीको स्थापना गरेका थिए । उनले ६ वटा गाडी बेच्ने लक्ष्यसहित यसको सुरुवात गरेका थिए । तर सन् १९७० को अन्त्यसम्ममा कूल ३५३ वटा गाडीहरु बिक्री गर्न उनी सफल भएका थिए । हाल कम्पनीमा तीन जना सेयरधनी रहेका छन् । सेयरधनीमध्ये अध्यक्ष सुरज वैद्यको ६० प्रतिशत, प्रबन्ध निर्देशक रितु सिंह वैद्यको ३० प्रतिशत र निर्देशक सुर्यांश वैद्य श्रेष्ठको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीेले केयर रेटिङ एजेन्सी केयर रेटिङ नेपालमा ४ अर्ब रुपैयाँ बराबरको कर्जाको लागि रेटिङ गराएको छ । यससँगै केयर रेटिङ नेपालले एक अर्ब ३८ करोडको दीर्घकालीन कर्जाको लागि केयर एनपीबीबी प्लस र २ अर्ब ६२ करोडको अल्पकालीन कर्जाको लागि केयर एनपी एफोरप्लसको रेटिङ दिएको छ ।