आयोनिक फाइभले राख्यो विश्व कीर्तिमान, विद्युतीय कारमध्ये सर्वाधिक उचाइमा पुग्न सफल

काठमाडौं । हुन्डाई मोटर कम्पनीको अवार्ड विजेता हुन्डाई आयोनिक फाइभले विश्व कीर्तिमान कायम गरेको छ । आयोनिक फाइभले विश्वकै सबैभन्दा अग्लो स्थानमा पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको हो । अहिलेसम्म विद्युतीय कारहरुले गरेको यात्रामा सबैभन्दा माथिल्लो उचाइ पुगेर आयोनिक फाइभले विश्व रेकर्ड बनाएको हो । समुद्री सतहबाट ५ हजार ७९९ मिटर उचाइमा अवस्थित रहेको लद्दाखको उम्लिङ लाबाट यात्रा सुरु भएको थियो भने केरलाको कुट्टानाडमा समाप्त भयो, जुन समुद्र सतहभन्दा तीन मिटर तल अवस्थित छ । आयोनिक फाइभले यो यात्रा १४ दिनमा पूरा गरेको थियो । यस अवधिमा गाडीले ४ हजार ९ सय किलोमिटर दुरी तय गरेको थियो । निकै कठिन, चिसो र हिमाली बाटोमा पनि आयोनिक फाइभले उत्कृष्ट यात्रा प्रदान गरेको उल्लेख छ । सबैभन्दा अग्लो स्थानको यात्रा सकिएसँगै आयोनिक फाइभ एक भरपर्दो, एडभान्स टेक्नोलोजी र उच्च पर्फर्मेन्स दिन सक्षम विद्युतीय कार रहेको पुष्टि भएको कम्पनीको दाबी छ । हुन्डाईको इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्ममा (ई-जीएमपी) मा तयार भएको आयोनिक फाइभले यसअघि विश्वभर थुप्रै अवार्डहरु आफ्नो नाममा लेखाउन सफल भएको छ । उपलब्धिको बारेमा बोल्दै हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक अनसु किमले भने, ‘हुन्डाई आयोनिक फाइभले गिनिज वर्ल्ड रेकर्ड हासिल गरेर इतिहास रचेको देख्न पाउँदा हामीले गर्व गरेका छाैं । यो उपलब्धि हुन्डाईको नवप्रवर्तन, प्राविधिक उत्कृष्टता र दिगोपनप्रतिको अटल प्रतिबद्धताको प्रमाण हो ।’ लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई आयोनिक फाइभ नेपालमा उपलब्ध गराउँदै आएको छ । लक्ष्मी हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता हो ।

ललितपुरमा सबै ब्राण्डका स्कुटर पाइने इभी मार्ट खुल्यो

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित मेनरोडमा सबै ब्राण्डका (प्रिमियम मोडलहरु) स्कुटरहरु पाइने इभी मार्ट खुलेको छ। श्री अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध, राम्रो सर्भिस सेवाहरु भएको ब्राण्डहरुको मात्र बिक्री वितरण गर्ने कम्पनीका डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताए । ‘अहिले बजारमा इण्डियन र चाइनिज गरी लगभग ७०–८० ब्राण्डका कारण उपभोक्ताहरु अन्योलमा परेका छन् । त्यसैले हामीले सर्भिसलाई फोकस गरेर राम्रो तथा छिटो सुविधा दिने उद्देश्यले यो शोरुम खोलेका छौं,’ उनले भने । यहाँ विक्री वितरण मात्र हैन, स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरुले पनि सम्पर्क गर्न सक्ने उनले बताए । शोरुम खुलेकै दिन १ युनिट डेलिभरी गर्नुका साथै अन्य ५ युनिट बुकिङ भएको कम्पनीका जनरल म्यानेजर दिपक लम्सालले जानकारी दिए । ललितपुरमा ईभी स्कुटरहरुको ग्राहकहरु धेरै रहेको र शोरुममा विभिन्न ब्राण्डका र ग्राहकहरुको माग अनुसारको जुनसुकै मोडलका सवारीसाधनहरु विक्री गर्ने कम्पनीका प्रबन्ध निर्देशक क्रिष्टिना ताम्राकारको भनाइ छ ।

सुजुकीलाई विश्वव्यापी कम्पनी बनाएर अस्ताए ओसामु सुजुकी

काठमाडौं । सुजुकी मोटर कर्पोरेशनका पूर्वअध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओसामु सुजुकीको ९४ वर्षको उमेरमा बुधबार निधन भएको छ । निधनको कारण लिम्फोमा बताइएको छ । कम्पनीले शुक्रबार यो जानकारी दिएको हो । ओसामुले चार दशकसम्म कम्पनीको नेतृत्व गरे । सुजुकीलाई विश्वव्यापी कम्पनी बनाउन उनकै योगदान थियो । ओसामु सन् १९७८ देखि २०२१ सम्म सुजुकी कम्पनीका अध्यक्ष, चेयरम्यान र सीईओ थिए । सुजुकीको नेतृत्वमा कम्पनीको बिक्री ३०० अर्ब येन (१.९ बिलियन) बाट ३ ट्रिलियन येनमा बढ्यो । यो दश गुणा वृद्धि उनको दूरदर्शिताको प्रमाण हो । ओसामु सुजुकीको जन्म ३० जनवरी १९३० मा जापानको गिफु प्रिफेक्चरमा भएको थियो । सुजुकी परिवारकी छोरीसँग विवाह गरेर १९५८ मा उनी सुजुकी मोटर कम्पनीमा आबद्ध भए । उनले आफ्नी श्रीमतीको पारिवारिक नाम ‘सुजुकी’ राखेका छन् । उनकी श्रीमती तत्कालीन अध्यक्ष शुन्जो सुजुकीकी छोरी थिइन् । १९७८ मा ओसामु कम्पनीको अध्यक्ष भए । उनले सन् १९२० मा सुजुकी लूम निर्माण कम्पनीको रूपमा सुरु भएको कम्पनीलाई जापानको प्रमुख अटोमेकरहरूमध्ये एकको रूपमा निर्माण गरे । धेरै कम्पनीसँग साझेदारी सुजुकी मोटरले आफ्नो वातावरणीय प्रविधिहरू सुधार गर्न २००९ मा फक्सवागन एजीसँग व्यापार गठबन्धन बनाएको थियो । तर, २०१५ मा नियन्त्रणमा विवाद भएपछि साझेदारी टुट्यो । सुजुकीले पछि २०१९ मा टोयोटा मोटर कर्पोरेशनसँग केस (कनेक्टेड, अटोनोमस, सेयर र इलेक्ट्रिक) प्रविधिहरूप्रति उद्योगको बढ्दो प्रवृत्तिको प्रतिक्रियास्वरूप गठबन्धन बनाएको थियो । यसको उद्देश्य सेल्फ ड्राइभिङ गाडीको सह-विकास गर्नु थियो । सुजुकीको नजर दक्षिपूर्वी एसिया धेरै जापानी अटो उत्पादकहरूले अमेरिका र चीनको बजारमा ध्यान केन्द्रित गरे, सुजुकीले भारत, दक्षिणपूर्व एशिया र हंगेरी जस्ता क्षेत्रहरूमा साना र किफायती कारहरू उत्पादनमा ध्यान केन्द्रित गरे । यो रणनीतिले कम्पनीलाई बजारहरूमा सफलता पाउन सहयोग गर्‍यो । तर, ठूला सवारीसाधनको मागलाई ध्यानमा राख्दै सुजुकी मोटरले २०१२ मा अमेरिकी अटोमोबाइल बजार र २०१८ मा चीनबाट बाहिरियो । यी चुनौतीहरूको बावजुद, कम्पनीले अन्य प्रमुख क्षेत्रहरूमा आफ्नो पकड कायम राखिरह्यो । २०२१ सम्म अध्यक्ष ओसामु सुजुकीले सन् २०१५ मा अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनले आफ्नो छोरा तोशिहिरो सुजुकीलाई कम्पनीको नेतृत्व हस्तान्तरण गरे । तर, उनले सन् २०२१ सम्म कम्पनीलाई अध्यक्षका रूपमा निर्देशन दिन जारी राखे ।