१९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा
काठमाडौं । जर्मनीको कार निर्माता कम्पनी फक्सवागनले भारतीय कर अधिकारीहरू विरुद्ध मुद्दा दर्ता गरेको छ । यो विषय कर छलीसँग सम्बन्धित छ । यस मामिलामा कर अधिकारीहरूले कम्पनीलाई १.४ अर्ब डलर (१९ हजार करोड रुपैयाँ) को नोटिस जारी गरेका थिए । त्यसपछि कम्पनीको भारतीय एकाइले कर अधिकारीहरू विरुद्ध बम्बई उच्च अदालतमा मुद्दा दर्ता गरे । हाल भारतमा फक्सवागन समूहको नेतृत्व स्कोडा अटो फक्सवागन इन्डियाले गरिरहेको छ । बम्बई उच्च अदालतमा यस मामलाको सुनुवाइ फेब्रुअरी ५ मा हुने जनाइएको छ । खास कुरा के हो ? भारतीय भन्सार विभागले सेप्टेम्बर २०२४ मा स्कोडा अटो फक्सवागन इन्डियामाथि आरोप लगायो कि कम्पनीले फक्सवागन, स्कोडा र अडी कारहरूलाई छुट्टाछुट्टै पार्ट्सको रूपमा आयात गरेर करमा हेरफेर गर्यो । अधिकारीहरूले कम्पनीले कारलाई छुट्टा-छुट्टै भागहरूमा आयात गरेर कर बचाएको आरोप लगाए, जसले गर्दा सरकारलाई नोक्सान भयो । यस मामिलामा कम्पनीलाई १.४ अर्ब डलरको कर नोटिस दिइएको थियो । कर अधिकारीविरुद्ध जवाफी मुद्दा नोटिस पाएपछि कम्पनीले कर अधिकारीहरूविरुद्ध जवाफी मुद्दा दायर गरेको छ । यसमा कम्पनीले १.४ अर्ब डलरको मागलाई खारेज गर्न माग गरेको छ । रोयटर्सको एक रिपोर्टअनुसार कम्पनीले करको माग कार पाट्र्सको लागि सरकारको आयात नियमहरूको विपरीत रहेको जनाएको छ । यसले भारतमा कम्पनीको व्यावसायीक योजनामा कठिनाइ हुनेछ । करबारे के भन्छ कम्पनी ? कम्पनीले भनेको छ कि उसलाई थप कर तिर्नु पर्दैन किनभने उसले कारका पार्ट्सहरूलाई एकैसाथ एक ‘किट’को रूपमा आयात गरेन, बरु तिनीहरूलाई छुट्टा-छुट्टै मगाएको थियो । कम्पनीले भारतमा आफ्ना कारहरू बनाउन स्थानीय कम्पोनेन्टहरूको पनि प्रयोग गरेको जनाएको छ । ‘विदेशी लगानीकर्ताहरूलाई चोट’ कम्पनीले अदालतलाई कर विवादका कारण भारतमा उसको १.५ अर्ब डलरको लगानी जोखिममा रहेको जनाएको छ । साथै यो विदेशी लगानीको वातावरणको लागि पनि राम्रो होइन । कम्पनीले आफ्नो मुद्दामा नोटिसले विदेशी लगानीकर्ताहरूलाई चोट पुर्याएको उल्लेख गरेको छ । जुलाई २०१८ मा फक्सवागन समूहले भारत २.० परियोजनाको भागको रूपमा लगभग एक अर्ब युरो (करिब १४ हजार करोड रुपैयाँ) को लगानीको घोषणा गरेको थियो । कति कर लाग्छ ? यदि कुनै कम्पनीले विदेशबाट भारतमा पार्ट्सहरू मगाउँछ भने त्यसमा ५ देखि १५ प्रतिशत कर लाग्छ । त्यसैगरी, पूर्ण रूपमा बनेको कारमा ३० देखि ३५ प्रतिशत कर तिर्नुपर्छ । कर अधिकारीहरूको आरोप छ कि कम्पनीले पूर्ण रूपमा बनेका कारहरू मगाई तिनीहरूलाई पार्ट्सको रूपमा देखायो । यसले गर्दा कम्पनीले कर छली गर्यो । (एजेन्सीहरूको सहयोगमा) सान्दर्भिक सामग्री : एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने
चितवनमा नामी सार्वजनिक, बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार
चितवन । नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ । आइतबार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुमन श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त र एमएडब्ल्यू वृद्धि मोटर्सका बिक्री प्रमुख राजेन्द्र सिग्देललगायतले संयुक्त रूपमा नामी ईभी सार्वजनिक गरे । कार्यक्रममा एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तले नामी ईभीले देशभरका ग्राहकहरूबाट व्यापक स्वीकारोक्ति र प्रशंसा पाइरहेको बताउँदै खुसी व्यक्त गरे । साथै उनले खरिद निर्णय गर्नु अघि ब्रान्डको विरासत र नेपालमा वितरकको विश्वसनीयता बुझ्नु पर्नेमा जोड दिए । चेम्बर अफ कमर्स चितवनका अध्यक्ष सुमन श्रेष्ठले यो भरपर्दो ब्रान्डको शुभारम्भका लागि बधाई र शुभकामना व्यक्त गरे । आफ्नो सेगमेन्टमा सबैभन्दा विलासी र इन्टेलिजेन्ट कार नामी ईभी चितवन बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार रहेको कम्पनीले जनाएको छ । ह्याचब्याकको रूपमा वर्गीकृत भए पनि यसको आकार प्रतिस्पर्धीहरूको तुलनामा ठूलो रहेको छ । यसको आयाम र चौडाइ यसका प्रतिस्पर्धीहरू भन्दा बढी छ र यसमा धेरै सेगमेन्ट–फर्स्ट र सेगमेन्ट–उत्कृष्ट प्रविधिहरू उपलब्ध छन् । नामी ईभीले आफ्नो सेगमेन्टमा विलासिता र बुद्धिमत्ताको नयाँ मानक स्थापित गरेको छ । यसको आकर्षक डिजाइनमा विलासी भित्री भाग र उन्नत स्मार्ट प्रविधि निर्बाध रूपमा एकीकृत गरिएको छ । यसमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस ढोका, फ्लश ढोका ह्यान्डलहरू, अटो पार्किङ र टेबलटप सहितको यात्रु ड्रएरजस्ता सेगमेन्ट–फर्स्ट आविष्कारहरू रहेका छन् । ईभी उत्साहीहरूका लागि उपयोगी यो भविष्यवादी ह्याचब्याक नामी ईवान, नामी ईटू र नामी ईथ्री गरी तीन भेरियन्टहरूमा उपलब्ध छ जसको मूल्य ३० लाख २४ हजार रुपैयाँदेखि ३५ लाख ९९ हजारसम्म रहेको छ । शुभारम्भसँगै ग्राहकहरूमा थप उत्साह भर्न एमएडब्लू वृद्धिले माघ २१ गतेदेखि २३ गतेसम्म भरतपुरको सीएमटी रिसोर्टमा चितवनकै सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । जहाँ ग्राहकहरूले यस अवधिमा विभिन्न विशेष अफरहरूको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ । यसमा सेरेस र नामी ईभीको खरिदमा निःशुल्क ७ किलोवाट चार्जर, ट्रेड–इनहरूको लागि असाधारण एक्सचेन्ज मूल्य र बोनस एवम् छिटो र सजिलो अन–साइट फाइनान्सिङका विकल्पहरू रहेका छन् ।
नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको सहयोगमा पोखरामा अटो शो आयोजना हुने भएको छ । नाडाले आफ्नो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नवनिर्वाचित अध्यक्ष दीपेन्द्र कोइरालाले नाडाका अध्यक्ष करण चौधरीसँग आवश्यक सहयोगको लागि आग्रह गरे । सो क्रममा नाडाले वाडाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा सम्मान गरेको छ । सो भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शोको सम्भाव्यता र मोडालिटिका सम्बन्धमा विस्तृत रूपमा छलफल भएको थियो ।