दैलेख–२ मा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा, यस्तो छ ४० वर्षे इतिहास
काठमाडौं । दैलेखको पश्चिम क्षेत्र दैलेख–२ को विगत चार दशकको राजनीतिक इतिहास हेर्दा यो क्षेत्र सधैं बहुदलीय प्रतिस्पर्धाको केन्द्रमा रहँदै आएको देखिन्छ । २०४८ देखि २०७९ सम्म सम्पन्न सातवटा प्रतिनिधि सभा निर्वाचनमध्ये तीनपटक नेपाली कांग्रेस, तीनपटक नेकपा एमाले र एकपटक नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले यस क्षेत्रमा विजय हासिल गरेका छन् । यसले दैलेख–२ लाई कर्णालीकै राजनीतिक रूपमा संवेदनशील र प्रतिस्पर्धी निर्वाचन क्षेत्रका रूपमा चिनाएको छ । २०४८ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसका रङ्गबहादुर शाहीले १६ हजार १८२ मतसहित जित निकाल्दा नेमकिपाका उम्मेदवार विनोदकुमार शाहले ११ हजार ८४८ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा एमालेका प्रेमबहादुर भण्डारीले ७७९ मत मात्रै पाएका थिए । २०५१ मा भने नेमकिपाका उनै विनोदकुमार शाह १३ हजार ६४० मतसहित निर्वाचित भए । त्यस चुनावमा कांग्रेस र राप्रपा क्रमशः दोस्रो र तेस्रो भए । पछि शाह एमाले प्रवेश गरेसँगै दैलेखमा नेमकिपाको प्रभाव क्रमशः कमजोर बन्दै गयो भने एमालेले प्रभाव बढाउँदै लग्यो । त्यसपछि कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा स्थापित हुन पुग्यो । २०५६ को निर्वाचनमा एमाले विभाजनको राम्रो प्रभाव दैलेखमा देखियो । कांग्रेसका शिवराज जोशी १८ हजार ८८२ मतसहित विजयी हुँदा एमालेबाट उम्मेदवार बनेका विनोदकुमार शाह १४ हजार ४४८ मत प्राप्त गरी पराजित भए । सो निर्वाचनमा अहिलेका एमाले उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल मालेबाट चुनाव लड्दै चौथो स्थान प्राप्त गर्न सफल भए । २०६० को दशकपछि कर्णालीका अन्य जिल्लामा माओवादीको उदय भए पनि दैलेख–२ मा भने एमाले प्रमुख शक्तिका रूपमा उभिन सफल भयो । दुल्लु विद्रोहको प्रभावका कारण माओवादी यहाँ निर्णायक बन्न नसकेको स्थानीयहरू बताउँछन् । कर्णालीमा माओवादी लहर आउँदा यस क्षेत्रमा २०६४ मा एमालेका राजबहादुर बुढा १६ हजार २९२ मतसहित निर्वाचित भए । २०७० मा एमालेकै लक्ष्मीप्रसाद पोखरेलले चुनाव जिते भने २०७४ मा वाम गठबन्धनका तर्फबाट बुढाले दोस्रोपटक २३ हजारभन्दा बढी मतसहित जित हात पारे । २०७९ मा भने वाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका दीक्पालकुमार शाही १६७ को झिनो मतान्तरले विजयी भएका थिए । शाहीका निकटतम प्रतिस्पर्धी एमालेका पोखरेलले २० हजार १६ ल्याएका थिए । २०७९ को समानुपातिक मत परिणाम हेर्दा यस क्षेत्रमा एमाले सबैभन्दा अगाडि देखिएको छ । एमालेले १७ हजार ३१६ मत ल्याएको थियो । कांग्रेसले १५ हजार ५०४ मत पाउँदा तत्कालीन नेकपा माओवादी केन्द्रले ६ हजार ३५४ मत ल्याएको थियो । ८१ हजार ९९ मतदाता रहेको यस क्षेत्रमा आगामी चुनावमा मत प्रतिशत घट्ने आँकलन गरिएको छ । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ जना उम्मेदवार मैदानमा रहेका छन् । एमालेका लक्ष्मी प्रसाद पोखरेल अघिल्लो पराजयको बदला लिने दाउमा रहँदा कांग्रेसका दिक्पाल कुमार शाही जित दोहोर्याउने दाउमा छन् । नेकपाका योगेन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बखतबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ववितकुमार शाही र नेमकिपाका बखतबहादुर थापा मैदानमा रहेका छन्। स्थानीयका अनुसार सबै दल एक्लाएक्लै मैदानमा उत्रिएका कारण १५ हजारभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुने सम्भावना रहेको छ । यद्यपि अन्तिम प्रतिस्पर्धा भने फेरि पनि एमाले र कांग्रेसबीच हुने देखिएको एक स्थानीय दावी गर्छन् । मत रुझानको आधारमा एमाले करिब ४५ सयदेखि ५ हजार मतले अगाडि देखिएको एमाले नेताहरूको बुझाइ रहेको छ । एमालेले आफ्नो आधार मत सुरक्षित गर्न सके परिणाम आफ्नो पक्षमा पार्न सक्ने एमाले नेता विष्णु रिजालको मत रहेको छ । नेपाली कांग्रेसका उम्मेदवार शाही पनि आफूलाई जितको नजिक ठान्छन् । उनी भन्छन्, ‘बदलिएको कांग्रेसले देश बदल्न सक्छ । त्यसका लागि दैलेखमा कांग्रेसले जित्नुपर्छ ।’ यस अघिको जितले नै आफ्नो जित सुनिश्चित गरेको शाहीको दावी छ ।
४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, १० हजार ७५९ बाकस प्याकिङ
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ । सोमबारसम्म कूल १ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथरको मतपत्र छपाइ सम्पन्न भएको छ । यस्तै इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङको पनि मतपत्र छपाइ सम्पन्न भइसकेको छ । लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र छपाइ सम्पन्न भएका विभिन्न जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि भइसकेको उनले बताए । हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइ सकिएको आयोगले जनाएको छ । गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो ।
महिला उम्मेदवारहरू जो चुनावी मैदानमा जित खोजिरहेका छन्
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनमा मुख्य राजनीतिक दलहरूबाट र स्वतन्त्र गरेर ३८८ महिला निर्वाचनको मैदानमा उत्रिएका छन् । दलहरूमा सवैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ जना महिलालाई प्रत्यक्षतर्फ मैदानमा उतारेको छ । नेपाली कांग्रेसले ११, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले १०–१० महिला उम्मेदवारलाई निर्वाचनको प्रतिस्पर्धामा उतारेका छन् । त्यसैगरी, ६० जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले ८ जना महिलालाई मैदानमा ल्याउँदा तराईकेन्द्रित मानिएको जनता समाजवादी पार्टी (जसपा) ले पनि ८ जना महिलालाई नै उम्मेदवार बनाएको छ । कांग्रेसले सहमहामन्त्रीसमेत रहेकी महालक्ष्मी उपाध्याय डिनालाई मकवानपुर‑१ बाट मैदानमा उतारेको छ । यस्तै, सरिता प्रसाईं झापा‑२, मन्धरा चिमरिया झापा‑५ बाट प्रतिस्पर्धामा रहेका छन् । चन्द्रकलाकुमारी यादवले सिराहा‑४ बाट कांग्रेसको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभामा पुग्ने अपेक्षा गर्दा किरण यादव महोत्तरी‑२ बाट मैदानमा रहेकी छन् । सुशीला थिङ सिन्धुली‑२ र सपना राजभण्डारी काठमाडौं‑८ बाट निर्वाचनको महायुद्घमा रहेका छन् । नानु बस्तोला काठमाडौं‑९, मीनाकुमारी खरेल चितवन‑२ कुसुमदेवी थापामगर रुकुम–पूर्व र बास्ना थापा दैलेखबाट कांग्रेसको निर्वाचन प्रतिक वोकेर सँसद भवनको यात्रा तय गर्ने अपेक्षमा छन्। एमालेले प्रत्यक्ष निर्वाचनमा १० महिला उम्मेदवार मैदानमा उतारेको छ । एमालेको तर्फबाट बर्दिया–२ मा विमला विक, बागलुङ–२ मा मञ्जु शर्मा र तनहुँ–१ मा भगवती न्यौपाने मैदानमा छन् । यस्तै, पर्सा–२ बाट रिमाकुमारी यादव, बारा–३ बाट ज्वालाकुमारी साह र महोत्तरी–४ बाट नीलम अधिकारी प्रतिस्पर्धामा छन् । धनुषा–३ बाट जुलीकुमारी महतो महासेठ, ओखलढुङ्गा बाट अस्मिता थापा, सोलुखुम्बु बाट कल्पना राई र सुनसरी–३ बाट भगवती चौधरी एमालेका महिला उम्मेदवार रहेका छन् । नेकपाबाट बीना मगर कञ्चनपुर –१, सिन्धु जलेसा नवलपरासी पश्चिम –१ र यशोदा सुवेदी गुरुङ मनाङबाट पार्टीको प्रतिनिधित्व गरिरहेका छन् । रेनु दाहाल चितवन–३, रूपा महर्जन काठमाडौँ–१०, मेनका भण्डारी काठमाडौं–१ बाट मैदानमा रहेका छन् । रुवीकुमारी कर्ण सप्तरी–४, सरिता खड्का थापा सङ्खुवासभा–१ र धर्मशिला चापागाइ झापा–२ मैदानमा रहेका छन् । त्यस्तै, रामकुमारी चौधरी सुनसरी–२, पुनम देवी रौतहट–३ र बसुन्धरा हुमागाईँ काभ्रेपलाञ्चोक–२ बाट मैदानमा रहेका छन् । रास्वपाले १६ महिलाहरूलाई मैदानमा पठाएको छ । निशा डाँगीलाई झापा–१ बाट रास्वपाले प्रत्यक्ष टिकट दिएको छ । त्यस्तै, इन्दिरा रानामगर झापा–२, आशा झा मोरङ–५, रुबिना आचार्य मोरङ–६, सरिन तामाङ सुनसरी–१ आशिका तामाङ धादिङ–१, रञ्जु दर्शना काठमाडौ–१, तोसिमा कार्की ललितपुर–३ र सोविता गौतम चितवन–३ मा उम्मेदवार रहेका छन् । प्रतिनिधि सभा निर्वाचनको अभियानमा महिला उम्मेदवारहरूले मैदानमा सक्रिय हुँदै माहोल सिर्जना गरिरहेका छन् । बर्दिया–२ की विमला विक, बागलुङ–२ की मञ्जु शर्मा, तनहुँ–१ की भगवती न्यौपाने लगायतका नेतृहरू अहिले मैदानमै छन् । गाउँ–गाउँ, सडक–सडक, बजार–बजार पुगेर मतदातासँग संवाद गर्दै स्थानीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्नो एजेन्डा प्रस्तुत गरिरहेकाले अभियानमा उनीहरूको जोश र ऊर्जा देखेर स्थानीय मतदाताले सकारात्मक प्रतिक्रिया दिएको बर्दियाकी विकले बताइन् । बर्दिया–२ मा विकले आफ्नो क्षेत्रका महिला, युवाहरू र दलित समुदायसँग भेटघाट गर्दै सामाजिक न्याय र समानतामाथि जोड दिइरहेकी छन् । बागलुङ–२ की मञ्जु शर्माले स्थानीय सडक, विद्यालय र स्वास्थ्य चौकीहरूको निरीक्षण गर्दै आफूले अघि सारेको विकास योजना बुझाइरहेकी छन् । उनले महिला सशक्तिकरण र युवाहरूको रोजगारीमा जोड दिँदै मतदाताको मन जित्ने प्रयास गरिरहेको बताएकी छन् । बीना मगर कञ्चनपुर–१ र रेणु दाहाल चितवन–३ नेकपाका उम्मेदवार हुन् । मगर आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय विकास र आधारभूत सेवामा सुधार गर्ने एजेन्डा अघि सार्दैछिन् । उनका अनुसार सडक, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता प्राथमिक सेवामा निरन्तरता र सुधार आवश्यक छ । यसैगरी, उनी समावेशी विकास र समुदायको सुरक्षामा पनि जोड दिन चाहन्छिन् । यद्यपि उनको विस्तृत चुनावी घोषणापत्र सार्वजनिक भएको छैन । दाहालले चितवन–३ मा आफ्नो पूर्वमेयरको अनुभव मतदातासँग प्रस्तुत गर्दैछिन् । भरतपुरमा आफ्नो कार्यकालको समयमा उनले सम्पन्न गरेका परियोजनाहरू र स्थानीय पूर्वाधार सुधारलाई उनले मतदातामा विश्वास बढाउने आधार बनाइरहेकी छिन् । उनले स्थानीय सेवाहरू, सहरी सुविधा र समृद्धि विस्तारमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरेकी छन् । मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय डिनाले सडक, खानेपानी, विद्युत र सञ्चार जस्ता आधारभूत सेवामा सुधारका साथै महिला र युवाको सशक्तिकरण र समावेशी विकासमा जोड दिइरहेकी छन्।् । झापा‑२ की सरिता प्रसाईंले कृषि उत्पादन वृद्धि, सिँचाइ सुविधा, स्थानीय बजार सुधार र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तारमा ध्यान केन्द्रित गरेको बताएकी छन् । पूर्वप्रधानमन्त्री ओलीसँग भिडिरहेकी झापा‑५ की मन्धरा चिमरिया पनि कृषि विकास, पूर्वाधार सुधार, शिक्षा र स्वास्थ्य सेवाका साथै सामाजिक समावेशीतामा जोड दिँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन् । निशा डाँगीले आफ्नो चुनावी अभियानमा युवा नेतृत्व, सामाजिक परिवर्तन र नवप्रवर्तनमा जोड दिइरहेकी छन् । उनी मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारी सुधारका मुद्दा उठाउँदै निर्वाचनको माहोल बनाउँदै छन् । उनका योजनाले झापाको युवा मतदातालाई आकर्षित गर्ने उनको दाबी रहेको छ । इन्दिरा रानामगर पूर्वउपसभामुखसमेत रहिसकेकी छन् । उनले आफ्नो अनुभव र नेतृत्व क्षमतामा जोड दिँदै चुनावी मैदानमा सक्रियता जनाएकी छन् । उनका एजेन्डामा महिला अधिकार, सामाजिक न्याय, समावेशी विकास र सुशासन मुख्य प्राथमिकतामा छन् । पूर्वसांसदको अनुभवले उनलाई मतदान क्षेत्रमा विश्वासयोग्य उम्मेदवारको रूपमा प्रस्तुत गरेको छ । विश्लेषकहरूका अनुसार महिला उम्मेदवारहरूको सक्रियता र सकारात्मक अभियान शैलीले निर्वाचन क्षेत्रमा उत्साह बढाएको छ । यो निर्वाचन महिला नेतृत्वको प्रतिनिधित्व र स्थानीय विकास प्राथमिकतामा जनताले कत्तिको विश्वास गर्छन् भन्ने परीक्षण पनि बन्ने उनीहरूको बुझाइ छ । सम्पूर्ण महिला उम्मेदवारहरूले प्रत्यक्ष संवाद र स्थानीय आवश्यकताअनुसार योजनालाई अभियानको मुख्य रणनीति बनाएका छन् । यसले निर्वाचनको माहोल सिर्जना गर्नुका साथै महिला नेतृत्वको सशक्तिकरणलाई पनि स्पष्ट रुपमा देखाइरहेको छ । विश्लेषक पर्शुराम घिमिरे पार्टीको संगठनात्मक बल, स्थानीय परिचित नेटवर्क र सामाजिक पहिचान भएका उम्मेदवारहरूले भोट संकलनमा तुलनात्मक लाभ लिन सक्ने बताउँछन् । ‘महिला उम्मेदवारहरूले महिला र युवा मतदातालाई लक्षित गरेर प्रचार अभियान सञ्चालन गरिरहेका छन् । जसले मतदातासँग प्रत्यक्ष सम्बन्ध निर्माण गर्नेछ,’ घिमिरेले भने । तर धेरै उम्मेदवार उच्च प्रतिस्पर्धात्मक क्षेत्रमा रहेका कारण जातीय, सामाजिक समीकरण र विपक्षी दलको बलियो उपस्थितिले परिणाममा ठूलो प्रभाव पार्ने उनको भनाइ छ । विश्लेषक घिमिरे यो निर्वाचन महिला नेतृत्वको प्रतिनिधित्व र स्थानीय आवश्यकतामा मतदाताको धारणा परीक्षण गर्ने मौका पनि हुने जनाउँछन् ।