आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।    हालसम्म ८१ जनालाई लिखित स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले  जानकारी दिए । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको छ । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आवद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत् स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको छ । निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरेर दल र उम्मेदवार विशेष निर्वाचित हुँदै भनी समाचार सामग्री प्रकाशन गर्ने सेतोपाटी अनलाइनलाई पनि प्रेस काउन्सिलमार्फत् नै स्पष्टीकरण सोधिएको छ ।    जिल्लास्तरमा समेत निर्वाचन आचारसंहिना उल्लङ्घनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही प्रक्रिया अघि बढाएको छ । प्राप्त भएका ५४ वटा जवाफको अध्ययन भइरहेको पनि आयोगले जनाएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको उनले बताए ।      जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाइ कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहितापालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रुपमा भइरहेको आयोगले जनाएको छ । जिल्लास्तरमा आएका उजुरीका सम्बन्धमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाफ माग गरेर दोषी देखिएकालाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको पनि जनाइएको छ ।

गगन थापाले आज लुम्बिनी र कर्णालीका दुई आमसभालाई सम्बोधन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बिहीबार लुम्बिनी र कर्णाली प्रदेशका दुई जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले सुर्खेत र बाँकेमा चुनावी कार्यक्रम तय गरेको हो । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमर सिंह पुनका अनुसार शीर्ष नेताहरूको उपस्थितिमा एकैदिन दुवै जिल्लामा आमसभा आयोजना गर्न लागिएको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घण्टाघर डबलीमा मध्याह्न साढे १२ बजे सभा सुरु हुने कार्यक्रम तय गरिएको छ । उक्त सभामा सभापति थापासँगै पार्टीकी उपसभापति पुष्पा भुसालले पनि सम्बोधन गर्ने कार्यक्रम छ । सुर्खेतको कार्यक्रम सकेलगत्तै कांग्रेसको टोली बाँकेतर्फ प्रस्थान गर्नेछ । बाँके–३ अन्तर्गत जानकी गाउँपालिका–३ मानपुरमा दिउँसो साढे १ बजे चुनावी सभा आयोजना गरिएको जनाइएको छ । प्रदेश सभापति तथा बाँके–३ का उम्मेदवार अमर सिंह पुनका अनुसार मानपुरमा पनि सभापति थापाले मुख्य सम्बोधन गर्नेछन् । निर्वाचन नजिकिँदै जाँदा कांग्रेसले जिल्ला–जिल्लामा चुनावी अभियान तीव्र बनाएको जनाएको छ ।

काठमाडौंका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता

काठमाडौं । देशको सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौंका २५० उम्मेदवारमध्ये २१९ ले बैंक खाता खोलेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरी चुनाव प्रचारप्रसारमा सक्रिय छन् । त्यसमध्ये अहिलेसम्म २१९ जनाले निर्वाचनको खर्च गर्न बैंक खाता खोलेको विवरण प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिए । निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दलहरूलाई फागुन ३ गते निर्देशन दिएको थियो । निर्वाचन आचारसंहितामै उल्लेख गरिएको यो विषयमा फागुनअघि पनि आयोगले जानकारी गराउँदै आएको हो । यति हुँदा हुँदै पनि राजधानी काठमाडौंमै अझै सबै उम्मेदवारले बैंक खाता खोलेका छैनन् । निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी आयोगले यसअघि पनि निर्देशन दिँदै आएको छ । पच्चीस हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट सहयोग लिने र खर्च गर्नुपर्ने आयोगले जारी गरेको ६३ बुँदे निर्देशनमा उल्लेख छ । आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ । भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । सुशासन प्रबर्द्धनका लागि उम्मेदवारको खाताबाट पैसा कता जान्छ भन्ने अनुगमन पनि यसपटक गर्न लागिएको जनाइएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४०६ उम्मेदवार रहेकामा आजसम्म १ हजार ३८९ ले मात्र बैंक खाता खोलेको आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीले जानकारी दिए ।