महासंघका अध्यक्ष ढकालले काठमाडौंको विशालनगरबाट गरे मतदान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदानपछि अध्यक्ष ढकालले मत केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने जिम्मेवारीसमेत भएको बताए । उनले मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शि नेतृत्व पाउने अपेक्षा व्यक्त गरे । त्यस्तो नेतृत्वबाट स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुक अघि बढ्ने उनको विश्वास छ । अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेको उल्लेख गर्दै निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक भएको बताए । निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै अपेक्षित विकास र समृद्धि हासिल हुन सक्ने उनको भनाइ छ । निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको महत्वलाई मनन गर्दै सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उहाँले सबै नागरिकलाई मतदानमा सहभागी भई आफ्नो अमूल्य मतमार्फत देशको साझा भविष्य निर्माणमा योगदान दिन आग्रह गरे । 

'६५ प्रतिशत भन्दा बढी मत खस्छ, मतदान गर्न एकदेखि दुई मिनेट लाग्छ'

पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै  जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको बताए । ‘बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ । मतदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ,’ उनले भने ।  उनका अनुसार मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिनेछ । सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न उनले आह्वान गरे ।  मतदान सम्पन्न भए लगतै मतपेटिका सङ्कलनपछि मतगणना गरिने उनले जानकारी दिए ।  मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनको भनाइ छ । साथै उनले मतदानमा युवाहरूको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको बताए । 

मतदान गरेपछि मन्त्रिपरिषदका पूर्व अध्यक्ष रेग्मीले भने- देशले निकास पाओस्

काठमाडौं । मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदानपछि गठन हुने सरकारलाई शान्ति, सुशासन र समृद्धिका जन अपेक्षालाई पूरा गर्नेतर्फ कदम चाल्न सुझाव दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज काठमाडौंको पुरानो बानेश्वरस्थित गौरचणपार्क मतदान केन्द्रबाट मतदान गरेपछि उनले जनताको दैनिक जीवन र सुख दुःखमा सरकारले ध्यान दिनुपर्ने बताए । पूर्वअध्यक्ष रेग्मीले भने, ‘मतदाता उत्साहका साथ मतदानमा सहभागी भएको देखिन्छ, देशले निकास पाओस् भन्ने उहाँहरूको चाहना छ, देश स्थायित्व, शान्ति सुव्यवस्था र समृद्धिको मार्गमा अघि बढोस्, जनताको सुख दुःखमा ध्यान देओस् भन्ने जन अपेक्षा पूरा होस् ।’