प्रचण्ड भन्छन् : म बाहेक अरु नेताले जित्ने देख्दिनँ, रास्वपाले मेरो सुझाव लिएर सरकार बनाउँछ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू बाहेक अरु नेताले जित्ने स्थिति नदेखिएको बताएका छन् । प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू अब संसदमा सबैभन्दा ‘वरिष्ठ’ र ‘निर्णायक’ नेताका रूपमा रहने जिकिर गरे । मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी उनको छ । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका अन्य स्थापित शीर्ष नेताहरू यसपटकको प्रतिस्पर्धामा पाखा लाग्ने अवस्था आएको बताए । युवा पुस्ताको आक्रोशलाई सम्बोधन गर्दै देशलाई स्थिरता दिने जिम्मेवारी अब आफ्नो काँधमा आएको उनले बताए ।  ‘रास्वपाले मसँगै सल्लाह र सुझाव लिएर मात्र सरकार बनाउनेछ,’ उनले भने ।

कुलमानले राजुनाथलाई दिए बधाई, नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढ्ने प्रतिबद्धता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा काठमाडौं-३ का उम्मेदवार कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका राजुनाथ पाण्डेलाई बधाई दिएका छन् । शुक्रबार पराजित भएपछि सामाजिक सञ्जालमा धारणा राख्दै उनले पाण्डेलाई बधाई दिएका हुन् । ‘यस निर्वाचनमा मलाई विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गरेका भएका यस क्षेत्रका सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु । यहाँहरूले देखाउनु भएको विश्वास र माया मेरो लागि सधैं प्रेरणाको स्रोत रहनेछ । चुनावको परिणाम जे जस्तो भए पनि यस क्षेत्रको समग्र विकास, सुशासन, समृद्धि  सहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।  उनले सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढ्नुपर्ने बताएका छन् ।   

सोलुखुम्बुमा मतगणना सुरु, लिखुपिकेबाट सुरुआत

सोलुखुम्बु । सोलुखुम्बुमा पनि मतगणना सुरु गरिएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि आज साँझ ८ः४५ बजेदेखि मतगणना सुरु गरिएको हो । जिल्लामा रहेका आठवटै स्थानीय तहका मतपेटिका सङ्कलन गरिसकेपछि मतगणना प्रारम्भ गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको सुरुआत लिखुपिके गाउँपालिकाबाट गरिएको छ । उक्त गाउँपालिकामा कुल दुई हजार ३७१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । सोलुखुम्बुमा कुल ८५ हजार ५१५ मतदाता कायम भएकामा ४१ हजार ४०१ मत खसेको थियो । मतदान गर्नेमा १९ हजार ८११ महिला र २१ हजार ५९० पुरुष मतदाता रहेका छन् ।  भौगोलिक विकटताका कारण माथिल्लो क्षेत्रबाट मतपेटिका ढुवानी गर्न समय लागेकाले गणनामा ढिलाइ भएको थियो ।