कैलाली–१ : रास्वपाकी कोमल ज्ञवाली विजयी, कांग्रेसका जनकराज पराजित

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ कोमल ज्ञवाली विजयी भएकी छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई झण्डै पाँच हजार मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । निर्वाचन परिणाम अनुसार ज्ञवालीले १७,८६२ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्द्वी चौधरीले १२,८६७ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौराले ८,३९२ मत पाएका छन् भने नेकपा एमालेका द्वारिकलाल न्यौपाने चौथो स्थानमा रहे र उनका पक्षमा ४,४९३ मत परेको छ । प्रतिनिधि सभा निर्वाचन २०७९ मा कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ विजयी भएकी थिइन् ।

रास्वपा २८ स्थानमा विजयी, ८९ क्षेत्रमा अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म २८ क्षेत्रमा जित निकालेको छ । बिहान १०ः१५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ८९ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।  निर्वाचन आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा  सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिष झा, महोत्तरी १ मा प्रमोदकुमार महतो, बारा ३ मा अरविन्द साह, पर्सा १ मा बुद्धिप्रसाद पन्त, काठमाडौं १ मा रन्जु न्यौपाने, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं ९ मा डोलप्रसाद अर्याल, काठमाडौं १० मा प्रदीप विष्ट र भक्तपुर १ मा रुकेश रञ्जित निर्वाचित भइसकेका छन् ।  यस्तै चितवन क्षेत्र नं २ मा रवि लामिछाने, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा वीना गुरुङ, स्याङ्जा १ मा धनन्जय रेग्मी, पर्वत १ मा सागर भुसाल, रुपन्देही २ मा सुलभ खरेल, रुपन्देही ३ मा डा लेखजङ्ग थापा, रुपन्देही ४ बाट कन्हैया बनिया, बाँके निर्वाचन क्षेत्र नं १ मा सुरेशकुमार चौधरी, बाँके ३ मा खगेन्द्र सुनार र कैलाली १ मा कोमल ज्ञवाली विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।  आयोगका अनुसार हालसम्म ३४ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ निर्वाचन क्षेत्रमा मतगणना भइरहको छ ।  नेपाली कांग्रेसले चार क्षेत्रमा जित निकालेको छ । तेह्रथुम क्षेत्र नं १ मा सन्तोष सुब्बा, मनाङ १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली र दैलेख क्षेत्र नं १ मा बासना थापा विजयी भएको छ । जारी मतगणनामा कांग्रेसका उम्मेदवार १० स्थानमा अगाडि रहेका छन् ।  नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भइसक्नुभएको छ । नेकपाका उम्मेदवार जारी मतगणनामा ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन् । एमालेका उम्मेदवार १० निर्वाचन क्षेत्रमा अगाडि रहेका छन् ।  म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भइसकेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको थियो । श्रम संस्कृति पार्टीका उम्मेदवार पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक स्थानमा अगाडि रहेका छन् ।   दोस्रो पार्टी बन्नका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा देखिएको छ । हालसम्म कांग्रेस पाँच जितसहित ९ ठाउँमा अगाडि छ भने एमाले दुई जितसहित ९ ठाउँमा अगाडि छ । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई जितसहित १० ठाउँमा अगाडि छ । 

एमाले नेतृत्वको राजीनामाबारे चौतर्फी आवाज उठिरहेको छ, छ्टि्टै निर्णय लिन्छौं : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशभर पार्टीले बेहोरेको पराजयसँगै पार्टीको नेतृत्वबारे अब छिट्टै फरक किसिमको निर्णय लिने बताएका छन् । रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका पौडेलले यसपटकको चुनावमा एमाले उम्मेदवारहरुको पराजय उनीहरुको व्यक्तिगत कारण नभई पार्टीको नीति र नेतृत्वबारे भएको बताउँदै अब यसबारे छुट्टै निर्णय लिने बताएका हुन् ।  उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलसँग ४० हजार बढी मतान्तरले पराजित भएपछि यस्तो बताएका हुन् ।  निर्वाचनमा जित हार स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै देशभरका उम्मेदवार, नेता कार्यकर्तालाई विचलित नहुने आग्रह गरे । पौडेलले निर्वाचनमा पार्टीले बेहोरेको हारमा आफूसहित शीर्ष पदाधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए । उनले पार्टी नेतृत्वले नेतृत्वले राजीनामा दिनुपर्ने आवाज चौतर्फीरूपमा उठेको बताउँदै अब यस बारे निर्णय हुने बताएका हुन् ।