विकासन्युज

थापा नेतृत्वको कांग्रेस कार्यसमिति पहिलोपटक सानेपा जाँदै, भोलि केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ । पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए । तर, थापा नेतृत्वको कार्यसमिति निर्वाचित भएयता अहिलेसम्म केन्द्रीय कार्यालय सानेपा पुगेको थिएन । कांग्रेस प्रवक्ता देवराज अर्यालका अनुसार केन्द्रीय कार्य समिति बैठक शुक्रबार मध्यान्ह १ वजे बस्न लागेको हो । यसबीच दुई पटक केन्द्रीय कार्यसमिति बैठक तथा संसदीय बोर्ड बैठक पार्टी प्यालेस र विभिन्न होटलहरूमा बसेका थिए ।  प्रवक्ता चालिसेले भोलि कार्यसमितिको औपचारिक रूपमा केन्द्रीय कार्यालय सानेपा जाने र त्यहीँ केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए । 

सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुन दुई हजार ९०० रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९२ हजार २०० रुपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ८७० रुपैयाँ कायम भएको छ ।   बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ९२० रुपैयाँ कायम भएको थियो । मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० रुपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ८८० रुपैयाँ कायम भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक तोला सुन दुई लाख ८२ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० रुपैयाँमा खरिदबिक्री  भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सडक सुरक्षा तालिम सम्पन्न

काठमाडौं । इनड्राइभले 'इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा' अभियान अन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि सडक सुरक्षा तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । यस पहलमार्फत इनड्राइभले चालक सशक्तिकरण, सडक सुरक्षा प्रवर्द्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनाएको छ । तालिम सत्रमा ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमको पालना, जिम्मेवार ड्राइभिङ र पेशागत आचरणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । इनड्राइभका अनुसार यस्ता तालिमले सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिकालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । नियमित र गुणस्तरीय सुरक्षा तालिमलाई प्राथमिकतामा राख्दै कम्पनीले आफ्ना ड्राइभरहरूलाई आर्थिक रूपमा मात्र होइन, आत्मविश्वासी, सचेत र वास्तविक सडक चुनौती सामना गर्न सक्षम बनाउने लक्ष्य लिएको छ । यस पहलको एक प्रमुख विशेषता इनड्राइभको ‘स्वतन्त्र छनोट’ मोडेल हो, जसले ड्राइभरहरूलाई यात्रासम्बन्धी निर्णयहरू स्वतन्त्र रूपमा लिन सक्ने अधिकार प्रदान गर्दछ । सुरक्षा शिक्षालाई स्वायत्ततासँग जोड्दै, इनड्राइभले सुरक्षा र सेवाको गुणस्तरमा सम्झौता नगरी दिगो र न्यायपूर्ण मोबिलिटी प्रणाली प्रवर्द्धन गर्दै आएको छ । तालिमका सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सत्र नेपाल ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए । सो अवसरमा उनीहरूले सुरक्षित सडक सुनिश्चित गर्न प्लेटफर्म, चालक र सम्बन्धित निकायबीचको सहकार्य तथा साझा जिम्मेवारीको महत्व औंल्याएका थिए । इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले चालक साझेदारहरूको सशक्तिकरण प्रविधि वा आम्दानीमा मात्र सीमित नभई जिम्मेवार, सुरक्षित र दिगो मोबिलिटी संस्कृतिको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको बताइन् । यस्ता सुरक्षा तालिमले चालकहरूलाई यात्रु तथा आफ्नै सुरक्षाप्रति सचेत रहँदै जिम्मेवार निर्णय लिन सक्षम बनाउने उनको भनाइ छ । इनड्राइभले ड्राइभर पार्टनर्सलाई सेवाको मेरुदण्डका रूपमा लिँदै उनीहरूको सुरक्षा, सीप विकास र सशक्तीकरणलाई सदैव प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस पहलमार्फत नेपालमा समावेशी, सुरक्षित र विश्वासयोग्य राइड–हेलिङ समुदाय निर्माण गर्ने आफ्नो दृष्टिकोणलाई कम्पनीले पुनः पुष्टि गरेको जनाएको छ ।  

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको व्यवस्था कार्यान्वयन नभएकाले आफूहरू मैदानमा उत्रिएको उनीहरूले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँबाट चार जना महिला प्रतिस्पर्धा गर्दै छन् । तनहुँका दुवै क्षेत्रमा २८ जनाको उम्मेदवारी परेकामा चार जना मात्रै महिला उम्मेदवार छन् । तनहुँ–१ मा १६ उम्मेदवारमध्ये तीन महिला र क्षेत्र नम्बर–२ मा १२ उम्मेदवारमध्ये एक जना महिला छन् । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले क्षेत्र नम्बर १ मा आमजनता पार्टीबाट भानु नगरपालिका–१२ की चिजामाया अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट भानु नगरपालिका–८ की भगवती न्यौपाने र नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगरपालिका–४ निवासी रामलक्ष्मी दुवालको उम्मेदवारी दर्ता भएको राससलाई जानकारी दिए । यसैगरी क्षेत्र नम्बर–२ मा मङ्गोल अर्गनाइजेसन पार्टीबाट ऋषिङ गाउँपालिका–६ निवासी सुष्मा आलेको उम्मेदवारी दर्ता भएको छ । ढोरपाटन (बागलुङ) बाट रासस प्रतिनिधिले जनाएअनुसार दुई वटा निर्वाचन क्षेत्र भएको बागलुङमा २३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई जना मात्र महिला छन् । बागलुङ क्षेत्र नम्बर–१ बाट मङ्गोल नेशनल अर्गनाइजेशनकी गुमाकुमारी मगर र क्षेत्र नम्बर–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)की मञ्जु शर्मा चुनावमा होमिएकी छन् । पाल्पामा पनि महिला उम्मेदवार एक जना मात्र छन् । दुई वटा निर्वाचन क्षेत्र भएको पाल्पामा ३० जनाले मनोनयन दर्ता गराएकामा एक जना महिलाको मात्र उम्मेदवारी परेको हो । राष्ट्रिय जनमोर्चाले क्षेत्र नं १ बाट नरमती सिंजालीलाई उम्मेदवार बनाएको छ । यसैबीच, नेपाल महिला सङ्घकी नेत्री गङ्गा पौडेलले महिला सशक्तीकरणका निम्ति राजनीतिक दलहरू गम्भीर नभएका आरोप लगाएकी छन् । पाल्पामा एक जना महिलाको मात्र उम्मेदवारी पर्नु दल र तिनका नेताको महिलाप्रतिको दृष्टिकोण नबदलिएको उनको भनाई छ । रासस

अमेरिकी डलर १४७ रुपैयाँ, राष्ट्र बैंकले तोक्यो नयाँ विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ४० पैसा र बिक्रीदर १९२ रुपैयाँ २१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ११ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३ पैसा र बिक्रीदर २१ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५ पैसा र बिक्रीदर ३९ रुपैयाँ २१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६ पैसा र बिक्रीदर ४० रुपैयाँ २२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ७ पैसा र बिक्रीदर १६ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ ०५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, कुवेती दिनार एकको खरिददर ४७९ रुपैयाँ २० पैसा र बिक्रीदर ४८१ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ८९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

लोकल गोलभेँडा किलोको ४५ रुपैयाँ, यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४ रहेको छ । यस्तै, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १६०, लौका प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु २४०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४५, सलगम प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ८० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ३५, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ४५, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ९०, तरुल प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० र कुरिलो प्रतिकिलो रु १,८५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु ४२०, रातो बन्दा प्रतिकिलो रु ११०, जिरीको साग प्रतिकिलो रु १२०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ३८०, गान्टे मुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ४०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २८०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १८०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १६५, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ६५, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २८० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ६५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ६०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २३५, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,००० ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

शिव शक्ति केमोप्लास्टको आम्दानी १ अर्ब १५ करोड रुपैयाँ

काठमाडौं । शिव शक्ति केमोप्लास्ट प्रालिले एक वर्षमा १ अर्ब भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब १४ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।  यसअघि कम्पनीले सन् २०२४ मा १ अर्ब ७० लाख रुपैयाँ, सन् २०२३ मा ९२ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १३ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  सन् २०२५ मा उद्योग क्षमताको ६५ प्रतिशत उपयोग भएको कम्पनीले जनाएको छ । जबकि यसअघि सन् २०२४ मा ६४ प्रतिशत र सन् २०२३ मा ५२ प्रतिशत क्षमता उपयोग भएको थियो । सन् २०२४ मा २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष २ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सन् २००२ मा स्थापना भएको शिव शक्ति केमोप्लास्टले विभिन्न प्रकारका पीपी वोभन फ्याब्रिक्स र बोराहरू, लेमिनेटेड पीपी ब्याग, त्रिपाल, प्राकृतिक तथा रंगीन फ्याब्रिक्स उत्पादन गर्दै आएको छ । अष्ट्रियाको गुणस्तर मापदण्डअनुसार उत्पादन गर्दै कम्पनीले ती उत्पादनहरू आन्तरिक बजारसँगै निर्यातसमेत गर्दै आएको छ । शिव शक्ति ग्रुपद्वारा सञ्चालित यस कम्पनीलाई राहुलकुमार अग्रवालले सञ्चालन गर्दै आएका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७३ करोड २१ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये दीर्घकालीन ६ करोड २१ लाख रुपैयाँ र अल्पकालीन ६७ करोड रुपैयाँ ऋण रहेको छ । 

होटेल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ ८ गते अन्तिम दिन रहेको छ । माघ ४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।