विकासन्युज

त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्कायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनरावलोकन गर्न बनेको कार्यदलले बिहीबारदेखि काम थालेको छ ।       शुल्कबारे विद्यार्थी सङ्गठनको विरोधका कारण उपकुलपति कार्यालयमा अवरोध हुनुका साथै विश्वविद्यालयको दैनिक गतिविधि प्रभावित हुन थालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले गत साता व्यवस्थापन सङ्कायका सहायक डीन प्राध्यापक डा दिलीप पराजुलीको संयोजकत्वमा शुल्क पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदल गठन गरेको थियो । कार्यदलमा अङ्ग्रेजी केन्द्रीय विभागका प्रमुख ध्रुव कार्की र शिक्षाशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा सूर्यबहादुर थापासमेत रहेका छन् ।      कार्यदललाई तीन महिनाभित्र सबै अध्ययन संस्थान, आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा लिइने सबै प्रकारका शुल्कको अध्ययान गरी समयानुकूल बनाउन र एकरूपता हुनेगरी कार्यविधि सिफारिस गर्न कार्यादेश दिइएको डा पराजुलीले जानकारी दिए ।      विश्वविद्यालयमा नेपाली कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कार्यालय सञ्चालन अवरुद्ध हुने गरी उपकुलपति कार्यालयको मूल ढोकामा विज्ञप्ति टाँसेपछि काम प्रभावित हुँदै आएको छ । अखिल (क्रान्तिकारीले) शुल्क वृद्धि फिर्ता लिनुपर्नेसहितका माग राख्दै विज्ञप्ति टाँसेको हो ।      यसैबीच, गतिरोध खुलाउन त्रिविले विद्यार्थी कल्याण महाशाखा प्रमुख दीपेन्द्र पराजुलीको संयोजनमा छलफल तथा परामर्श गरिरहेको छ ।     

सानिमा बैंकका ग्राहकलाई बिगर्माटमा क्यासब्याक अफर

काठमाडौं । सानिमा बैंकले ‘बिगर्माट क्यासब्याक’ योजनाको पहिलो चरणमा सफलता हासिल गरेपछि समय थप गर्दै योजना पुनः सञ्चालनमा ल्याएको छ । उक्त योजना अन्तर्गत सानिमा बैंकका ग्राहकहरूले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगर्माटमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना २०८३ साल असारसम्म लागू रहने बैंकले जनाएको छ । बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफर प्रदान गर्दै डिजिटल भुक्तानीको अधिकतम प्रयोगका लागि प्रोत्साहन गर्दै आएको छ । यससम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको बैंकले जानकारी दिएको छ । हाल सानिमा बैंकका देशका सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय तथा १२८ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

५१.६६ सेकेन्डमा ५० शब्द उल्टो उच्चारण गर्दै कृष्ण पाण्डेयले कायम गरे दोस्रो पटक विश्व कीर्तिमान

काठमाडौं । काठमाडौं पूर्वविश्व कीर्तिमानी कृष्ण पाण्डेयले दोस्रो पटक विश्व रेकर्ड्स कीर्तिमानी राखेका छन् । काठमाडौं मोडेल सेकेन्डरी स्कूल, बागबजारमा भएको एक कार्यक्रममा पाण्डेयले दोस्रो पटक विश्व रेकर्ड्स कीर्तिमानी राखेका हुन् ।  ‘फास्टेस्ट टाइम टु स्पेल ५० वर्ड्स ब्याकवार्डस्’ शीर्षकको रेकर्ड प्रयासमा बिहीबार पाण्डेले ५१.६६ सेकेण्डमा ५० वटा शब्द उल्टोबाट उच्चारण गरेका थिए ।   कार्यक्रममा स्वतन्त्र साक्षी, आधिकारिक समयमापक, व्यावसायिक फोटोग्राफी तथा भिडियो डकुमेन्टेसनको व्यवस्था गरिएको थियो । कार्यक्रम पश्चात सबै प्रमाण सामग्री गिनिज वर्ल्ड रेकर्ड्समा आधिकारिक प्रमाणीकरणका लागि पेस गरिएको छ । कृष्ण पाण्डेय । यसअघि अमेरिकाको न्युयोर्कमा गिनिज वर्ल्ड रेकर्ड्स हासिल गरेको पाण्डेयले दोस्रो पटक नेपालबाटै वर्ल्ड रेकर्ड राख्न पाउँदा खुसी भएको बताए ।  ‘आफ्नै भूमिमा वर्ल्ड रेकर्ड्सका लागि तयारी र प्रयास गर्नु मेरो लागि विशेष सम्मान र राष्ट्रिय गौरवको विषय हो,’ उनी भन्छन्,यो प्रयास केवल अर्को रेकर्ड्स थप्ने विषय मात्र होइन । नेपाली प्रतिभाको क्षमता विश्वस्तरमा प्रमाणित गर्दै युवाहरूलाई प्रेरित गर्न गरिएको हो ।’ कार्यक्रममा बोल्दै काठमाडौं मोडल कलेजका अध्यक्ष रामेश्वर अर्यालले विद्यार्थीकालमा पनि अत्यन्तै मिहिनेती र प्रतिभाशाली रहेको बताउँदै आफ्नो क्षमतालाई विश्व रेकर्डमा राख्न सफल भएको भन्दै बधाई दिएका थिए ।  ‘पहिलो पटक उहाँले रेकर्ड राखिसक्नुभयो, दोस्रो पटकका लागि नेपाल रोजेको र त्यसमा आफ्नो क्याम्पस आयोजक रहन पाएको भन्दै यो सौभाग्य हो । उहाँको प्रतिभा, उहाँको क्षमता र उहाँको सफलताले कुनै पनि कुरा असम्भव छैन भन्ने प्रमाणित गर्नुभएको छ,’ उनले भने ।  अर्यालले पाण्डेको प्रेरणाबाट आफ्नो कलेजमा अध्ययनरत विद्यार्थी भाइबहिनीलाई पनि अभिप्रेरित हुने अपेक्षा व्यक्त गरेका छन् ।  पाण्डेयले पहिलो ‘गिनिज वर्ल्ड रेकर्ड्स’ सन् २०१३ मा राखेका थिए त्यो बेला पाण्डेयले  एक मिनेटमा ३६ वटा विपरीत शब्द हिज्जे उच्चारण गरि वर्ल्ड रेकर्ड राखेका थिए ।  ​​​​​​​ पाण्डेयलाई रिजउड नेपाली समाजद्वारा २०१४ अप्रिलमा भएको कार्यक्रममा सर्टिफिकेट प्रदान गरिएको थियो । त्यो बेला उनलाई १ मिनेटमा ४० वटा प्रश्न सोधिएको थियो भने जसमा ४ वटा मात्र गलत भएका थिए । त्योभन्दा अगाडि भारतीय नागरिक शिशिर हथवारले २०१२ मा ओमानमा एक मिनेटमा ३० वटा विपरीत शब्द हिज्जे उच्चारण गरी वर्ल्ड रेकर्ड राखेका थिए ।  गिनिज वर्ल्ड रेकर्ड्सका कडा नियम, मापदण्ड तथा प्रमाणीकरण प्रक्रियाअनुसार सञ्चालन गरिएको थियो ।  एमआईटी कलेजको आयोजना तथा  काठमाडौँ मोडेल सेकेन्डरी स्कूलको सहकार्य तथा बेस्ट वेस्टर्न प्लसले हस्पिटालिटी सहयोगमा कार्यक्रम गरिएको थियो ।

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा । जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् ।  उनले क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई गरी एक लाख ६३ हजार ३७९ मतदाता रहेको जानकारी दिए । यस क्षेत्रमा ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर ४ मा ६६ हजार २८३ पुरुष, ६४ हजार ४२८ महिला र अन्य एकसहित एक लाख ३० हजार ७१२ मतदाता छन् भने ६३ वटा मतदानस्थल र १५६ वटा मतदान केन्द्र रहेको उनले जानकारी दिए ।  क्षेत्र नम्बर ३ मा ७१ हजार १७४ पुरुष, ६९ हजार ६८३ महिलासहित एक लाख १० हजार ८५७ मतदाता, ६७ वटा मतदानस्थल र १६४ वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर २ मा ७३ हजार ९५० पुरुष, ७३ हजार ५६७ महिला र अन्य पाँचसहित एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन् । यहाँ ४९ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।  यसैगरी क्षेत्र नम्बर १ मा ६५ हजार ८५८ पुरुष, ६५ हजार २०९ महिलासहित ४३ वटा मतदानस्थल र १४५ मतदान केन्द्र रहेको कार्यालय प्रमुख नेपालले जानकारी दिए ।   

शुक्रवारदेखि पश्चिम नेपालमा वर्षा हुने, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । शुक्रवार (भोलि) देखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । विभागको मौसम पूर्वानुमान शाखाले शुक्रवार रातिदेखि शनिवार बेलुकासम्म मुलुकको पश्चिम भूभाग अन्तर्गत सुदूरपश्चिम प्रदेश, बिहानमा विशेष गरेर सुदूरपश्चिम, त्यस्तै, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी गराएको हो ।  शाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले वर्षासँगै उच्च हिमाली भूभागहरूमा मध्यम हितपात हुने सम्भावना रहेको समेत बताए ।  वर्षा मध्यम खालको हुने र त्यो शनिवार बेलुकासम्म मात्रै रहने उनको भनाइ छ । शाखाका अनुसार माघ १३ गते मंगलवार रातिदेखि फेरि हल्का वर्षको सम्भावना रहेको छ । मंगलवार रातिदेखि बुधवारसम्म हल्का वर्षा हुने र उच्च हिमाली भूभागमा मध्यमखालको हिमपातको पनि सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए ।  यसअघि गत साता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लाहरुका हल्का वर्षा भएको र उच्च हिमाली भूभागहरुमा मध्यम खालको हिमपात नभएको थियो । हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।  कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । यो प्रणालीले हालको सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिनसक्ने विज्ञहरूको भनाइ छ । यस वर्षको हिउँदमा सामान्यभन्दा कम वर्षा भएको र तापक्रम औसतभन्दा माथि रहेको अवस्थामा यो वर्षाले कृषि, वायु प्रदूषण नियन्त्रण र जलस्रोतमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २७१४ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १६२ कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै मन्जुश्री फाइनान्सको ३५ करोड, एसवाई प्यानलको ३२ करोड, बन्दिपुर केबलबारको २८ करोड र श्रीनगर एग्रीटेकको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक, त्रीशुली जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।    बिहीबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै २.३८ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।   

निपाह भाइरसको जोखिम बढेपछि सीमा नाकाहरूमा सरकारले थाल्यो निगरानी

काठमाडौं । छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ । भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए । प्रवक्ता बुढाथोकीले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको जानकारी दिए । निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको उनको भनाइ छ । उनले भने, 'केही साता पहिले छिमेकी मुलुक भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखापरेपछि हामीले सम्पूर्ण हवाई तथा थल नाकामार्फत नेपाल भित्रिने व्यक्तिहरूको निगरानी सुरु गरेका छौँ । त्यसैगरी थल र हवाई नाकामा रहेका हेल्थ डेस्कहरूले संक्रमणका लक्षण भएका बिरामीलाई निगरानीमा राख्ने काम गरिरहेका छन् । निपाह भाइरस सर्ने प्रमुख माध्यम चमेरो, सुँगुर वा संक्रमित व्यक्ति भएकाले यी तीन पक्षलाई मध्यनजर गर्दै आम नागरिकलाई सचेत बनाइरहेका छौँ ।' निपाह संक्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वारेन्टाइनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान मन्त्रालयले अपिल गरेको छ । निपाह भाइरस : अहिलेको अवस्था र सतर्कता निपाह भाइरस एक घातक जोनोटिक भाइरस हो, जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्छ । यो भाइरस मुख्य रूपमा फलफूल खाने चमेरो (फ्रुट ब्याट) बाट मानिसमा सर्छ । भारतको पश्चिम बंगाल राज्यमा जनवरी २०२६ को सुरुवातमा निपाह भाइरसका केस पुष्टि भएपछि यो भाइरस पुनः चर्चामा आएको छ । भारतमा वर्तमान प्रकोप जनवरी २०२६ मा पश्चिम बंगालको बारासात क्षेत्रमा दुई जना नर्समा निपाह भाइरसको संक्रमण पुष्टि भएको छ । दुवै नारायण मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत थिए र गम्भीर अवस्थामा छन् । एक जना कोमामा र अर्की भेन्टिलेटरमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केही रिपोर्टमा पाँच जनासम्म संक्रमित भएको उल्लेख छ । करिब १२० जना उच्च जोखिममा रहेका सम्पर्कहरूलाई क्वारेन्टाइन तथा निगरानीमा राखिएको छ । नेपालमा जोखिम र सतर्कता नेपालमा हालसम्म निपाह भाइरसको कुनै केस पुष्टि भएको छैन । तर भारतको पश्चिम बंगालसँगको खुला सीमा र चमेरोको उपस्थितिका कारण जोखिम भने कायम रहेको विज्ञहरू बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पतालहरूलाई निपाहजस्ता लक्षण भएका बिरामी तथा अचानक मृत्युका घटनाबारे जानकारी दिन निर्देशन दिएको छ । निपाह भाइरसका लक्षण र रोकथाम लक्षणहरू : सुरुमा ज्वरो, टाउको दुख्ने, खोकी, श्वासप्रश्वासमा समस्या देखिन्छ । पछि मस्तिष्क सुन्निने (इन्सेफलाइटिस), कोमा र मृत्यु पनि हुनसक्छ । सर्ने तरिका : चमेरोले टोकेका वा दूषित फलफूल, काँचो खजुरको रस सेवन गर्दा तथा संक्रमित व्यक्तिको ¥याल, खकार वा प्रत्यक्ष सम्पर्कबाट सर्न सक्छ । रोकथामका उपाय  – काँचो खजुरको रस नपिउनु – चमेरोले टोकेका फलफूल नखानु – संक्रमितसँग सम्पर्क भए तुरुन्त स्वास्थ्य जाँच गराउनु – हात धुने, मास्क लगाउनेजस्ता सामान्य सावधानी अपनाउनु हाल निपाह भाइरसको कुनै निश्चित औषधि वा खोप उपलब्ध छैन । तर समयमै सहयोगी उपचारले ज्यान बचाउन सकिने चिकित्सकहरू बताउँछन् । नेपालमा जोखिम कम भए पनि सतर्क रहन आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी बिहीबार बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।    उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो ३ बजेदेखि नै सुरु भएको हो । यो क्रम बिहीबार बेलुका ५ बजेसम्म जारी रहने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । बिहीबार मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिने उनले बताए । बिहीबार बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम रहेको छ । माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।    माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम तय गरिएको जानकारी पनि उनले गराए ।    देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारी अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी १ गरी तीन हजार ४८७ को उम्मेद्वारी दर्ता भएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको पनि सहायक प्रवक्ता जिसीले सुनाए । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ का एक, रौतहट जिल्ला क्षेत्र नं १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई र कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ । यी उजुरीमाथि अहिले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ भइरहेको छ ।