विकासन्युज

ओलेरीको मस्कलाई जवाफः र्‍यान एयरको स्वामित्व इयू बाहिरको व्यक्तिले लिन मिल्दैन

काठमाडौं । र्‍यान एयरका प्रमुख कार्यकारी माइकल ओलेरीले अर्बपति उद्यमी एलन मस्कलाई सङ्केत गर्दै युरोपेली सङ्घको नियमले गैर-युरोपेलीलाई आयरिश एयरलाइन्स नियन्त्रण गर्न निषेध गर्ने बताएका छन् । अमेरिका र क्यानडाको नागरिकता भएका दक्षिण अफ्रिकामा जन्मेका मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा र्‍यान एयर  किन्ने बारेमा एक सर्वेक्षण चलाएको विषयमा ओलेरीको यो भनाइ आएको हो ।  ‘गैर-युरोपेली नागरिकले युरोपेली एयरलाइन्सको बहुसङ्ख्यक हिस्सा स्वामित्व लिन सक्दैनन्,’ आलेरीले अर्को हप्ता सार्वजनिक गरिने कम्पनीको आय अद्यावधिक गर्नुअघि बुधबार डब्लिनको पत्रकार सम्मेलनमा भने, ‘तर यदि उहाँ (मस्क) र्‍यान एयरमा लगानी गर्न चाहनुहुन्छ भने, हामी सोच्छौं कि यो धेरै राम्रो लगानी हो, निश्चित रूपमा उहाँले एक्समा कमाएको वित्तीय प्रतिफल भन्दा उल्लेखनीय रूपमा राम्रो लगानी हो ।’  उनले थप प्रचारको लागि मस्कलाई धन्यवाद दिए । र्‍यान एयरको बिक्रीका लागि सार्वजनिक रूपमा सूचना आएपछि यात्रीहरूको सङ्ख्याका आधारमा युरोपको सबैभन्दा ठूलो एयरलाइन्स मानिने र्यानएयर किन्ने बिषयमा सार्वजनिक राय लिइरहेका मस्कले केही दिनदेखि सुझाव लिइरहेका पाइन्छ । टेस्लाको स्थापना गरेका र आफ्नो एयरोस्पेस कम्पनी स्पेसएक्सले विकास गरेको स्याटेलाइट इन्टरनेट प्रणाली स्टारलिङ्कका प्रमुख मस्क विश्वका सर्वाधिक धनी व्यक्तिमध्ये शीर्षस्थानमा रहेका उद्यमी हुन् ।    आयरल्याण्डका नागरिक ओलेरीले आफ्नो विमानमा वाइफाइ जोड्न स्टारलिङ्क प्रयोग गर्न अस्वीकार गरेपछि मस्कको यो भनाइ आएको हो । र्‍यान एयरका यात्रुले पनि इन्टरनेट सेवाको खर्च तिर्न चाहँदैनन्, मस्कले विमानको प्रयोग गर्ने यात्रुको अवस्थाप्रति व्यङ्ग्य गर्दै लेखेका छन् । मस्कले ओलेरीलाई ‘मूर्ख’ व्यक्ति को रूपमा वर्णन गर्दै बर्खास्त गर्न आव्हानसमेत गरेका छन् ।  र्‍यान एयरको बजार मूल्य करिब ३० अर्ब युरो (३५ अर्ब डलर) रहेको छ । युरोपेली सङ्घको नियमले युरोपेली सङ्घका नागरिक वा युरोपेली सङ्घ बाहिरका केही निश्चित युरोपेली देशहरूको स्वामित्वमा रहेको एयरलाइन्स हुनुपर्ने व्यवस्था गरेको छ ।   मस्कले सन् २०२२ मा ४४ अर्ब डलरमा ‘एक्स’ किनेका थिए । 

चुनावी घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकता दिइयोस्: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेण्डालाई प्राथमिकता दिन आग्रह गरेका छन् । नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको उद्घाटन गर्दै उनले मुलुक निर्वाचनमय भएको र सबै राजनीतिक दल यतिबेला चुनावी घोषणापत्र लेख्ने तयारीमा रहेकाले निजी क्षेत्रको प्राथमिकताका विषय समेट्न आग्रह गरे । उनले भने, ‘मुलुकको अर्थतन्त्रको विकास सबै दलको साझा एजेण्डा बन्नुपर्छ र त्यसका लागि निजी क्षेत्रका एजेण्डाहरुलाई दलहरुले आफ्ना चुनावी घोषणापत्रमा प्राथमिकताका साथ राख्नुपर्छ । म सबै राजनीतिक दलहरुलाई यो आग्रह गर्दछु कि सबै दलले आफ्ना चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई पहिलो प्राथमिकता दिनुहोला ।’ देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न तथा उद्योगधन्दा कलकारखानाको समुचित विकास गरी औद्योगिक विकासका माध्यमबाट मुलुकको आर्थिक विकास गर्न निजी क्षेत्रका एजेण्डाले प्राथमिकता पाउनु जरुरी रहेको उनले सुझाव दिए ।  हिजो मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेका बेला सरकार र निजी क्षेत्रको संयुक्त प्रयासका कारण आजको अवस्था आएको स्मरण गर्दै अध्यक्ष ढकालले आगामी दिनहरू पनि त्यति सहज नरहेका र आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताए ।  उनले देशमा जुनसुकै राजनीतिक दलको सरकार आएपनि अर्थतन्त्र सबैको साझा एजेण्डा बन्नुपर्ने र निजी क्षेत्रसँगको सहकार्यलाई सबैले आत्मसात गर्नुपर्ने सुझाव पनि दिए ।  मुलुकको आर्थिक अवस्थाको यथोचित बृद्धि भयो भने मात्र मुलुकमा सुशासन कायम भई समृद्धि आउने र यसका लागि सबै राजनीतिक दलले आर्थिक एजेण्डालाई साझा एजेण्डाका रुपमा विकास गर्नुपर्नेमा उनको जोड छ ।

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक साधारणसभा प्रतिवेदन नबुझाएसम्म खारेजीको अनुमति नदिने जनाएको छ । ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन कामपा सहकारी विभागमा बुझाउन यस अघि निर्देशन दिइसकेको छ ।  कामपा सहकारी विभाग प्रमुख महेश कुमार काफ्लेका अनुसार लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खारेजीको प्रक्रियामा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि मात्रै खारेजी प्रक्रिया अघि बढाउने भएको हो । खारेजीको प्रक्रियामा आउने कुनै पनि सहकारीले सबैभन्दा पहिले उक्त सहकारीमा रकम बचत गर्ने बचतकर्ताको यकिन हुनुपर्ने, आर्थिक कारोबार पनि एकिन हुनुपर्ने जनाइएको छ । कामपाले २ महिनाअघि नै सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेस नगर्ने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनीसमेत दिइसकेको छ । हाल कामपामा करिब १ हजार ९ सय सहकारी सञ्चालनमा छन् ।

एसइई परीक्षा चैत १९ गतेदेखि सुरु हुने, ५ लाख १७ हजार विद्यार्थी सहभागी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ । बोर्डले बुधबार एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आउँदो चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डको तालिका अनुसार पहिलो दिन १९ गते अनिवार्य अङ्ग्रेजी, २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान, २४ गते सामाजिक, २५ गते ऐच्छिक प्रथम पत्रका विषय र २६ गते ऐच्छिक द्वितीय विषयका परीक्षा हुनेछन् । चैत २७, २८ र २९ गते भने प्राविधिक धार तर्फका पुराना र नयाँ कोर्सको परीक्षा हुने बोर्डअन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।  गत वर्षको एसइई चैत ७ गतेदेखि सञ्चालन भएको थियो भने यस वर्ष आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका कारण यस वर्षको परीक्षा विगत वर्षभन्दा करिब १२ दिन पर सारिएको बोर्डले जानकारी दिएको छ । जनक शिक्षा सामग्री केन्द्रले आगामी फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइको काम गरिरहेको र एसइई परीक्षाको प्रश्नपत्र छाप्ने कार्य पनि जनक शिक्षाबाटै हुने भएकाले पनि परीक्षाको मिति केही दिनलाई सार्नु परेको बोर्डले जानकारी दिएको छ । एसइई परीक्षाका लागि यस वर्ष ५ लाख १७ हजार विद्यार्थीले आवेदन भरेको जानकारी दिँदै बोर्डले गत वर्ष गत परीक्षामा नियमिततर्फ ४ लाख २१ हजार ५८५ र ग्रेड वृद्धितर्फ ७५ हजार ५३९ जना विद्यार्थी सहभागी भएका थिए ।

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये मुस्ताङमा ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् । यसअघि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार मुस्ताङमा निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा माघ २ गतेसम्म आवेदन खुल्ला गरिएकामा आवश्यक सङ्ख्या नपुगेपछि थप २ दिन समय थपिएको थियो । मुस्ताङमा नेपाल प्रहरीलाई २६६ जना र सशस्त्र प्रहरी बल नेपाललाई ४६ जना गरी ३१२ जना निर्वाचन प्रहरी सङ्ख्या माग गरिएकामा ३२३ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए । मुस्ताङमा आवेदन दिन म्याग्दी, बाग्लुङ, पर्वत, धादिङ, रुकुम, रोल्पा र गोर्खालगायत जिल्लाबाट आएका उनले बताए ।

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा तुवाँलो लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा तुवाँलो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने तराईका विभिन्न विमानस्थलहरुमा दृश्यता घट्दा उडानमा अवरोध हुनसक्ने तथा लामो तथा छोटो दूरीका सवारीसाधनका चालकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

९.७७ अर्बको पेट्रोलियम पदार्थ आयात, ४.७४ अर्ब रुपैयाँ राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट ९ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी ९ अर्ब ७७ करोड २ लाख ३२ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ५१ करोड ५९ लाख ४३ हजार रुपैयाँ अर्थात् ५.६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व ५.७० प्रतिशत अर्थात् २५ करोड ४२ लाख ४० हजार रुपैयाँले बढेको उनले बताए ।  कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ४ अर्ब ७४ करोड ९४ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ४ अर्ब ७२ करोड ६ लाख रुपैयाँ पर्ने ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी ३ अर्ब २२ करोड ६५ लाख रुपैयाँ पर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको छ । यस्तै, ६ महिनाको अवधिमा १ अर्ब २४ करोड ७ लाख रुपैयाँ पर्ने १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास, ३७ करोड ९४ लाख रुपैयाँ पर्ने ४ हजार ११२ किलोलिटर एटिएफ र ९ करोड ५ लाख रुपैयाँ पर्ने ९६४ किलोलिटर मट्टितेल आयात भएको कार्यालयको तथ्याङ्क छ ।

आँखा उपचार केन्द्रलाई २.२० करोडको उपकरण हस्तान्तरण

काठमाडौं । आँखा उपचार केन्द्र लालबन्दी सर्लाहीलाई लायन्स क्लब इन्टरनेसनलले २ करोड रुपैयाँ भन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई २ करोड २० लाख २१ हजार ८६० रुपैयाँको अत्याधुनिक उपकरण हस्तान्तरण गरे ।  स्तरोन्नतिका लागि लालबन्दी नगरपालिका–५, जरुवा पानीमा सञ्चालन भइरहेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले बताए ।  क्लबले आँखाको शल्यक्रिया गर्न मिल्ने फेको सर्जरी मेसिनसहित माइक्रोस्कोप, ल्याम्पलगायत उपकरण प्रदान गरेको छ । केन्द्रको स्तरोन्नतिपछि यहाँका नागरिकले काठमाडौंस्थित तिलगङ्गा आँखा उपचार केन्द्र बराबरको सुविधा प्राप्त गर्ने क्लबका डाइरेक्टर बुर्लाकोटीको भनाइ छ । आँखामा भएका सम्पूर्ण समस्याको उपचार अब केन्द्रबाटै गर्न सकिने उनले बताए ।