एपोलो हाइड्रोपावरलाई आईपीओ बिक्री गर्न सेबोनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्रीका लागि अनुमति प्रदान गरेको छ । कम्पनीलाई अङ्कित मूल्य १ सय रुपैयाँमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीको सेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई आईपीओ बिक्रीको अनुमति दिएको छ । त्यसमा ९ वटा जलविद्युत् कम्पनी, १ वटा उत्पादन कम्पनी, १ वटा होटल तथा पर्यटन र १ वटा विकास बैंक रहेका छन् । बोर्डले चालु आवको हालसम्म ६ अर्ब १ करोड १७ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।
निर्वाचनमा मुस्ताङमा हिमपातको डर, यस्तो सरकारको तयारी
काठमाडौं । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदान स्थल सुरक्षा दृष्टिकोणले सामान्य रहेको छ । मुस्ताङमा निर्वाचनका लागि सबै मतदान केन्द्र तथा मतदानस्थलमा सुरक्षा चुनौती सामान्य रहे पनि हिमपातले मतदान कार्यक्रमलाई असर पुर्याउन सक्ने आँकलन गरिएको छ । हिमपात भएको अवस्थामा मतदाता गन्तव्यमा पुगेर मतदान गर्न असहज हुने भएकाले त्यसको पूर्वतयारी पनि थालिएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ-डोल्पा सडकमा बाक्लो हिउँ जमेका कारण एक महिना अघिदेखि सडकमा यातायात सेवा अवरुद्ध छ । मुस्ताङमा फागुन/चैत महिनामा हिमपात भएको विगतका अनुभवहरू छन् । हिमपात भएमा मतदाता र मतदानमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई समस्या सृजना हुनसक्ने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताइन् । निर्वाचन कार्यतालिका अनुसार मतदानको केही दिन अगाडि साङ्ता मतदान केन्द्रमा जाने सडकको हिउँ डोजर परिचालन गरी पन्छ्याएर सडक सहज बनाउने योजनामा रहेको प्रजीअ शर्माको भनाइ छ । यसपालि जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा लोमान्थाङ गाउँपालिका-२ समजुङ मतदानस्थललाई सोही वडाको छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा गाँभिएको छ । यसैगरी लोघेकर दामोदरकुण्ड-ताङ्ग्याका मतदाताहरू सहजताका लागि थप अर्को एक मतदानस्थल थपिएको छ । हाल थासाङ गाउँपालिकामा-८ वटा, घरपझोङ गाउँपालिकामा-६ वटा, लोघेकर दामोदरकुण्डमा-१० वटा, वारागुङ मुक्तिक्षेत्रमा-९ वटा र लोमान्थाङ गाउँपालिकामा छ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम गरिएको छ । मुस्ताङका प्रजीअ शर्माका अनुसार मुस्ताङका सबै मतदान केन्द्रमा सडकको पहुँच, विद्युत्, टेलिफोन र इन्टरनेटको सुविधा छ । मुस्ताङमा ११ हजार ३२८ जना मतदाता छन् । जसमध्ये पुरुष ५ हजार ५५९ जना, महिला ५ हजार ७६८ र अन्य १ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । मुस्ताङको घरपझोङमा २ हजार ४९२, थासाङमा २ हजार ९०८, लोघेकर दामोदर कुण्डमा १ हजार ५४२, बारागुङ मुक्तिक्षेत्रमा २ हजार ३७६ र लोमान्थाङ गाउँपालिकामा २ हजार ११ जना मतदाता छन् । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट २६६ जना र सशस्त्र प्रहरी बल नेपालबाट ४६ जना निर्वाचन प्रहरी छनौट गरी निर्वाचन प्रहरीका लागि अनुशिक्षण तालिम आइतबारदेखि सञ्चालन भइसकेको छ । निर्वाचनका नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, उज्यालो नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गानाइजेशन र आमजनता पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।
कोशी, बागमती र गण्डकीमा हिमपात र वर्षा, तराईमा कुहिरो लाग्ने
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा कुहिरो लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने छ भने अन्य भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति तराई भागका केही स्थानमा कुहिरो लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
नेपाली सेफ राहुलबाबु श्रेष्ठ युएईमा ‘फ्युचर ग्रेट अफ द इयर’ अवार्डबाट सम्मानित
काठमाडौं । नेपाली सेफ राहुलबाबु श्रेष्ठ युएईमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सम्मानित भएका छन् । ‘द गोल्ट एन्ड मिलो अवार्ड्स २०२६’ अन्तर्गत व्यक्तितर्फको ‘फ्युचर ग्रेट अफ द इयर’ विधामा उनले चार प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । उक्त अवार्ड युएईको प्रतिष्ठित होटल एटलान्टिस द रोयलमा सोमबार आयोजित समारोहमा प्रदान गरिएको हो । व्यक्तितर्फ श्रेष्ठसहित पाँचजना सेफहरू पुरस्कृत भएका थिए भने १२ वटा रेस्टुरेन्टहरू पनि विभिन्न विधामा सम्मानित भए । हाल श्रेष्ठ युएईको टु–मिसेलिन स्टार प्राप्त रेस्टुरेन्ट ‘रो अन ४५’ मा हेड सेफ का रूपमा कार्यरत छन् । उनी विश्वका सर्वाधिक प्रतिष्ठित फाइन डाइनिङ सेफहरूको सूचीमा समेटिएका नाम हुन् । मिसेलिन गाइड २०२५ मा उनले लगातार दोस्रो वर्ष दुई मिसेलिन स्टार कायम राख्दै आफ्नो उत्कृष्टता प्रमाणित गरेका छन् । बेलायतको युनिभर्सिटी अफ इस्ट एंग्लिया मा अध्ययन गरेका श्रेष्ठ नेपालको प्रतिष्ठित व्यावसायिक घराना चितवन को–ई समूहका निर्देशक राजेशबाबु श्रेष्ठका छोरा हुन् । परिवारका अन्य सदस्यभन्दा फरक बाटो रोज्दै उनले पाककला क्षेत्रमा करिअर निर्माण गरेका हुन् । विश्वविद्यालयको अध्ययनपछि उनले ले म्यान्वार ओ क्वा सैजों र मार्कस वेयरिङको ‘द स्क्वायर’ जस्ता चर्चित मिसेलिन–स्टार प्राप्त भान्साहरूमा प्रशिक्षण लिए । त्यसपछि लन्डन, सिंगापुर र नर्वेका ख्यातिप्राप्त रेस्टुरेन्टहरूमा अनुभव बटुल्दै अन्ततः युएईको ‘रो अन ४५’ सम्मको यात्रामा पुगेका हुन् ।
पुनर्बीमा कम्पनीले दिएनन् दाबी भुक्तानी, प्राधिकरण पुगे बीमा कम्पनी
काठमाडौं । पुनर्बीमा कम्पनीहरूले दाबी भुक्तानी नदिएको गुनासो बोकेर निर्जीवन बीमा कम्पनीहरू नेपाल बीमा प्राधिकरणमा पुगेका छन् । नेपाल बीमक संघले पुनर्बीमा कम्पनीहरूबाट बीमा कम्पनीहरूलाई दिनुपर्ने रकम भुक्तानीमा सहजीकरण गरिदिनुपर्यो भनेर ध्यानाकर्षण पत्र बुझाएको हो । बीमक संघका अनुसार दुई पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरूलाई २ अर्ब रुपैयाँ जति भुक्तानी दिन बाँकी रहेको छ । जसमध्ये नेपाल रि इन्स्योरेन्सबाट ८२ करोड ८७ लाख रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, हिमालयन रिले मात्रै १ अर्ब १७ करोड रुपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ । संघका अध्यक्ष वीरेन्द्र वैदवारले पुनर्बीमा कम्पनीहरूले बीमा कम्पनीहरूलाई दिनुपर्ने भुक्तानी नदिँदा बजारमा समस्या भएको बताए । ‘पुनर्बीमा कम्पनीहरूले बीमा कम्पनीलाई दिनुपर्ने भुक्तानी समयमै नहुँदा बजारमा असहज भएको छ, त्यो रकम दियो भने हामीलाई यता जेनजीको भुक्तानी तिर्नलाई सजिलो हुन्छ,’ उनले भने । उनले कम्पनीलाई पुनर्बीमाले तिर्नुपर्ने १०/२० करोडको लागि मात्रै गुनासो गरेको नभएर समग्र बजारमा देखिएको समस्या समाधान होस् भनेर संघले प्राधिकरणसमक्ष निवेदन पेश गरेको सुनाए । प्राधिकरणसमक्ष ध्यानाकर्षण गराएपनि हालसम्म कुनै प्रतिक्रिया नआएको उनको भनाइ छ । ‘अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन, खासमा अहिले पुनर्बीमा कम्पनीभित्र पनि समस्या नै छ,’ उनले भने । यता नेपाल बीमा प्राधिकरणले पनि बीमक संघबाट रि इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी नदिएको भन्ने पत्र प्राप्त भएको बताएको छ । प्राधिकरणका अनुसार यस विषयमा दुवै पक्षलाई सँगै राखेर छलफल अगाडि बढाउने तयारी गरेको छ । कुन कम्पनीलाई कति भुक्तानी दिन बाँकी ? पुनर्बीमा निर्देशिकाको परिच्छेद ९ दफा २६ अनुसार बीमकले स्वदेशी पुनर्बीमकको प्रत्येक त्रैमासिक अवधिको कारोबारको हिसाब किताब, लेनदेन अर्को त्रैमासिक अवधिभित्र राफसाफ गर्नुपर्ने र सोही दफाको उपदफा (२) मा बीमकले अर्को बीमकसँग गरेको फ्याकल्टेटिभ पुनर्बीमा कारोबार प्रत्येक त्रैमासिक अवधिको कारोबारको हिसाब किताब, लेनादेना अर्को वैमासिक अवधि भित्र राफसाफ गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बीमा कम्पनीहरूले पुनर्बीमा कम्पनीलाई तिर्नुपर्ने रकम समयसीमा भित्रै भुक्तानी गर्ने गरेको भएता पनि पुनर्बीमा कम्पनीबाट पाउनुपर्ने भुक्तानी लामो समयदेखि प्राप्त नभएको संघले पत्रमा उल्लेख गरेको छ । नेपाल बीमक संघका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई हिमालयन रिले १७ करोड ७१ लाख १५ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सँगै सिद्धार्थ प्रिमियरले नेपाल रिलाई भने २६ करोड ७६ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीलाई नेपाल रिले २ करोड ६७ लाख रुपैयाँ र हिमालयन रिले ३१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । सानिमा जिआईसी इन्स्योरेन्सलाई हिमालन रिले भुक्तानी गर्न बाँकी रकम १८ करोड ४१ लाख रुपैयाँ रहेको छ । तर उक्त कम्पनीले नेपाल रिलाई भने २ करोड ९० लाख रुपैयाँ तिर्नुपर्ने देखिन्छ । त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सले हिमालयन रिबाट २ करोड ६७ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) लाई नेपाल रिले ४९ करोड ८२ लाख रुपैयाँ र हिमालयन रिले ३१ करोड ५४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको संघले जनाएको छ । यसैगरी, आइजिआई प्रुडुन्सियललाई हिमालयन रिले ११ करोड रुपैंयाँ बराबरको भुक्तानी दिएको छैन । नेपाल इन्स्योरेन्स कम्पनीले नेपाल रिबाट १३ करोड ६१ लाख रुपैयाँ र हिमालयन रिबाट ६ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । नेशनल इन्स्योरेन्स कम्पनीलाई हिमालयन रिले १ करोड १७ लाख रुपैयाँ तिर्न बाँकी छ । हिमालनय एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रिबाट ३ करोड ३८ लाख रुपैयाँ र हिमालयन रिबाट ४९ लाख रुपैयाँ लिन बाँकी रहेको देखिन्छ । नेको इन्स्योरेन्स कम्पनीले हिमालयन रिबाट ३ करोड ८८ लाख रुपैयाँ र नेपाल रिबाट १३ करोड ९८ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको संघले जनाएको छ । रि–इन्स्योरेन्सले समयमै दाबी भुक्तानी नदिँदा बीमा कम्पनीहरूलाई बीमितको दाबी भुक्तानी गर्न कठिनाइ भएको संघको भनाइ छ । समयमै भुक्तानी नपाउँदा निर्जीवन बीमा कम्पनीहरूको तरलता व्यवस्थापनमा समस्या आउने र बीमितको दाबी भुक्तानी प्रक्रियामै ढिलाइ हुने जोखिम समेत संघले औंल्याएको छ ।
नक्कली प्रहरी बनेर ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । नक्कली प्रहरी बनेर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा दीपक थापा मगर पक्राउ परेका हुन् । हुन्डी कारोबार सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका दाफुरी शेर्पाको आमालाई आफू प्रहरी रहेको र पक्राउ परेको छोरालाई छुटाइदिने भन्दै ठगी गरेर फरार रहेका मगरलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बानियाँटारबाट पक्राउ गरेको हो। २०८२ मंसिर १५ गते हुन्डी कारोबार सम्बन्धी कसुर मुद्दामा शेर्पा पक्राउ परेका थिए । तारकेश्वर नगरपालिका ८ नेपालटार बस्ने ४० वर्षीय मगरलाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
मोटरसाइकल र स्कुटर चोरी गर्ने दुई जना पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट स्कुटर र मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । सोमबार बुढानीलकण्ठबाट प्रहरीको चेकजाँचमा चोरीको भेस्पा स्कुटरसहित बाजुराका २० वर्षीय हेमराज बोहरालाई प्रहरीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बागमती प्रदेश ०२-०२३ प ५८८० नं. स्कुटरसहित उनलाई पक्राउ गरिएको हो । त्यसैगरी, नयाँ बसपार्कस्थित मित्रनगरमा पार्किङ गरी राखेको बा ९४ प २३२९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा जाजरकोट, शिवालय गाउँपालिका ६ का २० वर्षीय सुरेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफू बस्ने होटेलको पार्किङमा चोरीको मोटरसाइकलको नम्बर प्लेट समेत परिवर्तन गरेर लुकाएर राखेका थिए । प्रहरीले सोही स्थानमा एउटै नम्बर प्लेट भएको अर्को मोटरसाइकलसमेत फेला पारेको थियो । खत्रीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकारी कौशलकुमार बुढाथोकीले जानकारी दिए ।
पौने ५ अर्बमा नयाँ औषधी कारखाना बनाउँदै देउराली जनता, २ वर्षभित्र सम्पन्न गर्ने
काठमाडौं । विज्ञानमा आधारित गुणस्तरीय औषधी उत्पादन गर्दै आएको देउराली जनता फर्मास्युटिकल्सले चितवनबाट नयाँ परियोजना विस्तार गर्ने घोषणा गरेको छ । मंगलबार (आज) आफ्नो ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा देउराली जनता फर्मास्युटिकल्सले चितवनको भरतपुरमा अत्याधुनिक नयाँ कारखाना सुरु गर्ने जानकारी दिएको हो । आफ्नो उत्पादनलाई विविधीकरण गर्दै उत्पादन क्षमता वृद्धि गर्ने र अन्तराष्ट्रिय मापदण्डअनुसारको नयाँ कारखाना सुरु गर्न लागेको जानकारी गराएको हो । ४ अर्ब ७५ करोड लागतमा सुरु गर्न लागिएको परियोजनाको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने योजना रहेको प्रालिका कार्यकारी निर्देशक हरिभक्त शर्मा पौडेलले जानकारी दिए । देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मा पौडेल । उनका अनुसार नयाँ परियोजना सम्पन्न भएपछि थप ५५० जनाले प्रत्यक्ष रोजगारीको अवसर पाउनेछन् । ‘हाम्रो उद्देश्य उत्पादन वृद्धिमात्र होइन, त्योभन्दा धेरै जनशक्तिलाई रोजगारी दिने हो । तर यसका लागि लगानी गर्न, काम गर्न पाइने वातावरण राज्यले सिर्जना गरिदिनुपर्यो,’ उनले भने । देउराली जनता फर्मास्यूटिकल्ससँग विज्ञहरूसहित कामदारको राम्रो समूह भएकाले पनि आफूलाई अर्को कदम सुरु गर्न सहज भएको उनले बताए । नयाँ परियोजनाले भ्याक्सिन लगायत औषधी उत्पादन गर्नेछ । उनी भन्छन्, ‘विकसित विज्ञानलाई अझ परिष्कृत गर्न, गुणस्तरीय सेवा विस्तार गर्न र आगामी दिनमा अझ प्रभावकारी नवीन प्रविधि र उच्च गुणस्तरका उत्पादनहरूमार्फत व्यवसायिक सेवाको यात्रामा अग्रणी भूमिका निर्वाह गर्ने यो नयाँ कदम हुनेछ ।’ २ सय ८० प्रकारका औषधी उत्पादन गर्दै देउराली जनता फर्मास्युटिकल्सले हाल २८० प्रकारका औषधी उत्पादन गर्दै आएको छ । २०४७ सालदेखि औषधी उत्पादन गर्दै आएको फर्मास्युटिकल्सले २०७२ साल मंसिरमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि आयात गरेर काम सुरु गरेको थियो । विगत ३५ वर्षदेखि नेपाली जनताका लागि उच्च प्रविधि आयात गरी अत्यावश्यक औषधीहरू स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवामा योगदान पुर्याउँदै आएको छ । देशमा औषधी आयातमा रहेको परनिर्भरतालाई कम गर्दै औषधी उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनको लागि काम गरिरहेको देउराली जनता फर्मास्युटिकल्सका निर्देशक सुरजभक्त पौडेलले बताए । फर्मास्युटिकल्सले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अत्यावश्यक जीवन रक्षक औषधिहरु र विभिन्न दीर्घ रोगहरूको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्वाबलेट, लिक्विडलगायतका जीवन रक्षक औषधीहरू अनुसन्धान गर्ने, उत्पादन गर्ने र ती उत्पादनहरूको गुणवत्ता निर्धारण गर्ने काम गरिरहेको छ । फर्मास्युटिकल्सले अत्याधुनिक प्रविधि र उपकरण सहितको सुविधा सम्पन्न कारखाना निर्माण गरि अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएका औषधीहरू नेपाली जनतालाई उपलब्ध गराइरहेको छ भने विश्वका विभिन्न मुलुकहरूबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक लगायत सबै तहमा कार्यरत करिब ६७५ जना नागरिकलाई रोजगारी उपलब्ध गराएको छ । उद्योग खोल्न सरकार नै बाधक नेपालमा उद्योग खोल्दा सरकारले विभिन्न समस्या सिर्जना गरेर बाधा खडा गरेको छ । विभिन्न शीर्षकमा अनावश्यक कर लगाउँदै लगानीको आधा रकम सरकारलाई तिर्नुपर्ने अवस्था छ । देउराली जनताले चितवनमा ४७५ करोड लगानी गर्दा करिब दुई सय करोड सरकारलाई ट्याक्स तिर्नुपर्ने बाध्यता रहेको शर्माले बताए । ‘धेरै ट्याक्स लगाएर उद्योग धन्दा खुल्नु अगाडि सरकारले नै बाधा सिर्जना गर्छ, यस्तो अवस्थामा उद्योग सञ्चालन गरेर लगानी गर्ने वातावरण छैन,’ उनी भन्छन्, ‘सरकारले यो नीति परिवर्तन नगर्दासम्म लगानी गर्न सकिने अवस्था रहँदैन ।’ शर्माले नेपालको यस्तो अवस्था हेर्दै बस्ने अवस्था नरहेको भन्दै कठिन कदम चालेको बताए । ‘यस्तो अवस्था छ भन्दै लगानी नगरेर चुप बस्ने कुरा हुँदैन । त्यसैले समस्याकै बीचमा लगानी गर्ने योजना बनाएका हौं,’ उनी भन्छन् । ‘नेपालमा राम्रो नीति आउला भनेर कुर्दा कुर्दै १० औं वर्ष पर्खेर बस्यौँ । नीति आउने निश्चित नभएपछि नीति पर्खेर बस्नुभन्दा काम सुरु गरौं भनेर अगाडि बढ्ने योजना बनाएका हौं,’ उनले थपे । उनले ‘लगानी गर्दै जाऔँ, अगाडि बढ्दै जाऔँ भन्ने दृढ निश्चय गरेर लगानी गर्ने निर्णय गरेको बताए । नक्सा पासमा उत्तिकै समस्या शर्माका अनुसार नेपालमा उद्योग सञ्चालन गर्दा त्यसको डिजाइन संसारका एकदमै राम्रा कम्पनी लगाएर बनाउनुपर्छ । कस्तो ढाँचा, संरचना बनाउने भन्ने विषयमा क्वालिफाइड कम्पनीबाट इन्जिनियरिङ गराइन्छ तर नक्सा पास गर्न नगरपालिका जानुपर्ने बाध्यता छ । नगरपालिकामा नक्सा पास गर्न जाँदा समयमा पास हुँदैन । पालिकामा भर्खर ग्राजुएट गरेर आएका नयाँ इन्जिनियरले चाहिने नचाहिने प्रश्न सोधेर हैरान पार्छन् । यस्तो अवस्थामा नक्सा पासमै वर्षौ समय लाग्छ भने अर्कोतिर पैसा पनि उत्तिकै लाग्छ । विभिन्न देशमा उद्योगको नक्सा पास गर्न जाँदा आफ्नो डायनामिक नक्सा प्रस्तुत गरेर केही रकम तिर्दा काम सुरु गर्न पाइन्छ । तर नेपालमा त्यस्तो अवस्था छैन । अहिले देउराली जनता रहेको धापासीमा मात्र पर स्क्वाएर फिटको ५० रुपैयाँ तिर्नुपर्छ । एक लाख स्क्वाएर फिट बनाउने हो भने ५० लाख सम्म रुयैयाँ तिर्नुपर्छ । देउराली जनताले अहिले बनाउन चाहेको फ्याक्ट्री करिब तीन-चार लाख स्क्याएर फिटको फ्याक्ट्री हो । शर्माका अनुसार यो धापासीमै बनाउने हो भने दुई/तीन करोड नगरपालिकालाई पैसा दिनुपर्ने हुन्छ ।