विकासन्युज

नेपाल लाइफ र इसेवाको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ शीर्षकमा म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित कम्पनीले उक्त योजना बजारमा ल्याएको हो । यस योजनाको मुख्य उद्देश्य बीमित व्यक्तिको अनुपस्थितिमा परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु हो । जीवनको अनिश्चितता र बढ्दो आर्थिक दायित्वलाई मध्यनजर गर्दै तयार गरिएको यस योजनाले न्यून प्रिमियम दरमै उच्च बीमा सुरक्षा उपलब्ध गराउनेछ । विशेषगरी सीमित आम्दानी भएका तथा पहिलो पटक जीवन बीमा लिन चाहने वर्गका लागि यो योजना उपयोगी हुने अपेक्षा गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजनाले संकटको समयमा परिवारलाई पर्याप्त आर्थिक सहारा प्रदान गर्ने बताए । सहज, सुलभ तथा किफायती प्रिमियममा उपलब्ध यस योजनामार्फत सबै वर्गका नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने लक्ष्य रहेको उनले उल्लेख गरे । जीवनमा आइपर्न सक्ने अनपेक्षित जोखिमबाट परिवारको भविष्य सुरक्षित गर्न यो योजना प्रभावकारी हुने जानकारी दिए । नेपाल लाइफ इन्स्योरेन्सले बीमा साक्षरता अभिवृद्धि गर्दै आम नागरिकलाई वित्तीय सुरक्षाको दायरामा ल्याउने उद्देश्यका साथ नवीन तथा ग्राहक–मैत्री बीमा योजनाहरू निरन्तर रूपमा सार्वजनिक गर्दै आएको छ । ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ पनि सोही प्रतिबद्धताको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । यो एक वर्षे टर्म लाइफ इन्स्योरेन्स योजनाको प्रिमियम वार्षिक ७२५ रुपैयाँदेखि सुरु हुनेछ । यसअन्तर्गत बीमितले पाँच लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । साथै, १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकले यो बीमा योजना लिन सक्नेछन् । ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बीमितको आकस्मिक तथा दुर्घटनाजन्य मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिनेछ । यस योजनाले आकस्मिक जोखिमको अवस्थामा परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार तथा भविष्यका आवश्यकतामा आर्थिक सहारा प्रदान गर्ने विश्वास गरिएको छ । ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सक्नेछन् । खरिदपछि पोलिसी तुरुन्तै इमेलमार्फत प्राप्त हुनेछ ।

आसन्न निर्वाचनमा करिब ३२ अर्ब खर्च हुने सरकारको अनुमान

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताएकी छन् । सरकारले जसरी पनि निर्वाचन गराउन लागिपरेको उनको भनाइ छ । उनले कुनै कारणवश निर्वाचन अवरुद्ध भए दोस्रो चरणमा भए पनि सम्पन्न गराइने बताइन् । हिमाली जिल्लामा चिसोका कारण केही जटिलता आए सवारीसाधन प्रयोग गर्न सकिने स्थानसम्म मतदातालाई ओसारेर भए पनि निर्वाचन गराइने उनले स्पष्ट पारिन् । निर्वाचन जसरी पनि सम्पन्न हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरिने प्रधानमन्त्री कार्कीले बताइन् । यसपटकको निर्वाचनमा करिब ३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको जानकारी पनि उनले दिइन् । उनले भनिन्, 'सरकारले जसरी पनि निर्वाचन गराउँछ । कतै रोकिए दोस्रो चरणमा गराइन्छ । केही स्थानमा सवारीसाधन प्रयोग गरेर मतदातालाई ओसारेर पनि मतदान गराइनेछ । अत्यन्त जटिल अवस्था आएमा त्यसअनुसार निर्णय गरिनेछ । निर्वाचन गराउनैपर्छ । जनताले मत दिएर प्रतिनिधि छान्छन् र उनीहरूले देश चलाउँछन् । चुनाव सर्दैन । ३१–३२ अर्ब खर्च हुन्छ, यो समयमा ।' प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको पनि बताइन् ।

सन नेपाल लाइफद्वारा चारदिने अन्तर्राष्ट्रिय सेल्स तालिम सुरु

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चारदिने ‘सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनिङ (SIST)’ तालिम सुरु गरेको छ । रूपन्देहीको अगैया स्थित ‘स्प्रिङ रिभरसाइड रिसोर्ट’ मा आयोजना गरिएको उक्त तालिम मिति १९ गते उद्घाटन गरिएको हो । तालिम १९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक तथा प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिका महत्वपूर्ण रहेको बताए । यस्ता तालिमले संस्थागत क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी क्षेत्रीय प्रमुख दिपेन्द्र रावत अतिथिका रूपमा उपस्थित थिए । तालिममा अभिकर्ताहरूलाई निरन्तर सिकाइ, ग्राहकमैत्री सेवा प्रवाह, आधुनिक बीमा अभ्यास, बिक्री तथा सेवा क्षमता वृद्धि, व्यावसायिक आचरण, प्रविधिको प्रयोग र बीमा सम्बन्धी विस्तृत जानकारी प्रदान गरिँदैछ । यस तालिमका मुख्य प्रशिक्षकका रूपमा गणेश चौलागाईं, भुवन सिंह मुरी मगर तथा दिपेन्द्र रावत सहभागी छन् । तालिमले स्थानीय अभिकर्ताहरूलाई अझ प्रभावकारी, जिम्मेवार र परिणाममुखी बनाउन प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।

सिडिएससीः ३० करोड पुँजी, १८ अर्ब १९ करोड कर

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले एकै आर्थिक वर्षमा सवा १८ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा दोस्रो बजार कारोबारबाट पुँजीगत लाभकर, टिडिएस तथा आकस्मिक लाभकरमार्फत कुल १८ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । कम्पनीका अनुसार उक्त अवधिमा पुँजीगत लाभकरबापत १६ अर्ब ५३ करोड रुपैयाँ, टिडिएसबापत १ अर्ब ६३ करोड रुपैयाँ तथा आकस्मिक लाभकरबापत ३ करोड १७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सिडिएससीले पुँजीगत लाभकरबापत ५ अर्ब ५० करोड रुपैयाँ, टिडिएसबापत ४१ करोड रुपैयाँ र आकस्मिक लाभकरबापत १ करोड रुपैयाँ गरी कुल ६ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।  यसैगरी, आर्थिक वर्ष २०७९/८० मा कुल ३ अर्ब ३९ करोड रुपैयाँ, २०७८/७९ मा ११ अर्ब ४३ करोड रुपैयाँ, २०७७/७८ मा १५ अर्ब ५७ करोड रुपैयाँ र २०७६/७७ मा १ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन भएको कम्पनीको तथ्याङ्क छ । कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०६७ सालमा स्थापना भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले धितोपत्रहरूको अभौतिकीकरण, निक्षेप, भुक्तानी, हस्तान्तरण तथा कारोबार अभिलेख व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को शतप्रतिशत स्वामित्वमा अधिकृत पुँजी ५० करोड रुपैयाँ र चुक्ता पुँजी ३० करोड रुपैयाँ रहने गरी स्थापना भएको सिडिएससीको सेयर स्वामित्व संरचना वि.सं. २०८१ पुस २८ मा सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट परिवर्तन गरिएको छ । हाल कम्पनीमा नेपाल सरकारको ४९.०७ प्रतिशत र नेप्सेको ५०.९३ प्रतिशत स्वामित्व रहेको छ । स्वामित्व परिवर्तनपछि सञ्चालक समितिमा नेप्सेका कार्यकारी प्रमुख/महाप्रबन्धक अध्यक्ष रहने व्यवस्था गरिएको छ । साथै अर्थ मन्त्रालयका दुई प्रतिनिधि, नेप्सेको उच्च तहको एक जना महिला प्रतिनिधि र एक जना स्वतन्त्र/विशेषज्ञ सञ्चालकसहित पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । सिडिएससीले भारतको सेन्ट्रल डिपोजिटरी सर्भिसेज इन्डिया लिमिटेड (सीडीएसएल) को परामर्शमा तत्कालीन सिएमसि इन्डिया लिमिटेड (हाल टाटा कन्सल्टेन्सी सर्भिसेज-टीसीएस) सँग सहकार्य गरी केन्द्रीय निक्षेप, राफसाफ तथा फछ्यौट प्रणाली विकास गरेको हो । सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै सिडिएससीले सि–आस्बा, मेरो सेयर तथा केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान (ई–केवाइसी) जस्ता सेवा सञ्चालनमा ल्याएको छ । यी सेवाले प्राथमिक बजारमा आमूल परिवर्तन ल्याउनुका साथै लगानीकर्तालाई घरबाटै सेयर नामसारी गर्ने सुविधा प्रदान गरेको छ । कम्पनीका अनुसार पछिल्ला पाँच वर्षमा सिडिएससीको खुद नाफा क्रमिक रूपमा बढ्दै गएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ७५ करोड ९५ लाख रुपैयाँ गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६५.७५ प्रतिशत अर्थात् ३० करोड रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  यस्तै, कम्पनीले आर्थिक वर्ष २०७९/८० ४० करोड ८९ लाख रुपैयाँ, आव २०७८/७९ मा ५८ करोड ८८ लाख रुपैयाँ र आव २०७७/७८ मा ५७ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब १२ करोड रुपैयाँ सञ्चालन नाफा, १ अर्ब ३२ करोड रुपैयाँ कुल आम्दानी गरेको छ भने २० करोड रुपैयाँ खर्च गरेको छ  । अघिल्लो आव २०८०/८१ मा ६७ करोड रुपैयाँ सञ्चालन नाफा, ८६ करोड रुपैयाँ कुल आम्दानी र १८ करोड रुपैयाँ कुल खर्च गरेको थियो । 

१४ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार (आज) पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ हजार ७ सयले बढेको सुनको मूल्य आज पनि बढेको हो । मंगलबारको तुलनामा बुधबार सुन १४ हजार ४ सय रुपैयाँले बढेको हो । बुधबार एक तोला सुनको कारोबार ३ लाख ४ हजार ७ सय रुपैयाँमा भइरहेको महासंघले जनाएको छ । योसँगै सुनको मूल्यले पुनः ३ लाख नाघेको हो । मंगलबार भने सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार २६५ रुपैयाँले बढ्दै ५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

क्षेत्र नम्बर ९२ देखि गुल्मी–२ सम्म बदलिँदो जनमतको कथा

काठमाडौं । गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ का घरघरमा अहिले चुनावको रौनक छ । स्थानीय ९५ वर्षीय बुद्धिप्रसाद भुसाल भन्छन्, ‘यो क्षेत्रमा २००४ सालको पञ्चायत चुनावमा पनि उत्तिकै रौनक थियो । त्यो रौनक अहिलेपनि उस्तै छ । भुसालको अनुभवमा २०१५ को आमचुनाव त वडादशैंजस्तै थियो ।’  जिल्लाको तत्कालीन ९२ नम्बर निर्वाचन क्षेत्र हालको निर्वाचन क्षेत्र नम्बर २ हो । उक्त क्षेत्र २०१५ मा पनि हाईप्रोफाइल उम्मेदवारका कारण चर्चामा रहेको थियो । २०१५ को पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका चर्चित नेता नीलाम्बर पन्थीका कारण चर्चामा थियो । २०१५ मा उच्च मतसहित निर्वाचित भएका पन्थी २०४८ मा राष्ट्रिय सभा सदस्यसमेत भएका थिए भने हाल यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका गोकर्ण विष्ट चौथो जित र एक हारसहित पाँचवटा निर्वाचनको अनुभव बोकेर छैटौं प्रतिस्पर्धामा रहेका छन् ।  फर्केर हेर्दा  २०१५ सालको आमनिर्वाचनमा देशलाई १०९ निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो । यो निर्वाचनमा ७८६ जना उम्मेदवारले भाग लिएका थिए । देशको कुल जनसंख्या करिब ८५ लाख ५० हजार रहेको थियो । यस निर्वाचनमा ४२ दशमलव १८ प्रतिशत मत खसेको थियो । गुल्मीको हाल निर्वाचन क्षेत्र नम्बर २ त्यतिखेर निर्वाचन क्षेत्र नम्बर ९२ थियो । उक्त ९२ नं निर्वाचन क्षेत्रमा धुर्कोट, इस्मा, मुसिकोट र मदाने समावेश थिए । यस क्षेत्रका प्रमुख दलहरूमा नेपाली कांग्रेस, राष्ट्रवादी गोर्खा परिषद, संयुक्त प्रजातान्त्रिक पार्टी, नेपाल प्रजा परिषद र प्रजातान्त्रिक महासभा पार्टीका उम्मेदवारहरू मैदानमा थिए । नेपाली कांग्रेसका उम्मेदवार नीलाम्बर पन्थीले ८ हजार मत प्राप्त गरेको डा. हरिप्रसाद भण्डारीले वस्तु स्मारिकाको यस क्षेत्रको निर्वाचन इतिहास भन्ने लेखमा उल्लेख गरेका छन् ।  पन्थीलाई टक्कर दिएका राष्ट्रवादी गोर्खा परिषद्का प्रेमबहादुर मल्लले    झुपडी चिन्हमा ६ हजार मत ल्याएका थिए । संयुक्त प्रजातान्त्रिक पार्टीका केशरजङ माझीले    ३ हजार मत प्राप्त गरेको डा. भण्डारीले उल्लेख गरेका छन् । उक्त निर्वाचनमा निर्वाचन क्षेत्र नम्वर ९२ बाट नेपाल प्रजा परिषद्का गोपालप्रसाद श्रेष्ठले २ हजार र प्रजातान्त्रिक महासभाका शमशेरबहादुर मल्लले १ हजार मत प्राप्त गरेका थिए । डा. भण्डारीका अनसार निर्वाचनअघि मतदाताको सूची गाउँगाउँमा संकलन गरिएको थियो । त्यो बेलामा करिब ४० हजार मतदाता थिए । मतदान नोट–समान टिकटमा गरिन्थ्यो । मतपत्र बाकसमा खसालिएपछि बाकसहरू इस्मा रजस्थल लगेर खुला चौरमा सर्वसाधारणको उपस्थितिमा मतगणना गरिएको भण्डारीले लेखेका छन् । उक्त निर्वाचनको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार निलाम्बर पन्थी सबैभन्दा बढी मत प्राप्त गरी विजयी भएका थिए । संयुक्त जनआन्दोलन २०४६ को सफलतापछि कांग्रेस, वाम मोर्चा र नागरिक समाज सम्मिलित अन्तरिम सरकार बन्यो ।  सोही सरकारले जारी गरेको नेपाल अधिराज्यको संविधान २०४७ अनुसार २०४८ बैशाख २९ गते आम निर्वाचन सम्पन्न भयो ।  यस अघि २०१५ को निर्वाचनमा क्षेत्र नम्बर ९२ रहेको निर्वाचन क्षेत्र गुल्मी निर्वाचन क्षेत्र नम्बर ३ बन्यो । २०१५ मा कांग्रेसले जितेको उक्त क्षेत्रमा २०४८ मा पनि आफ्नो जित निकाल्यो । कांग्रेसका रुद्रमणि शर्माले १३ हजार ७३२ मत प्राप्त गरेका थिए । शर्माका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका टंकप्रसाद पोखरेलले शर्माले भन्दा ३३५ मत कम ल्याएका थिए । पोखरेलले १३ हजार ३९७ मत पाएका थिए ।  २०१५ र २०४८ मा जित निकालेको कांग्रेसले यसपछि भने लय गुमाउँदै गयो । २०५१ को मध्यावधि निर्वाचनमा यस क्षेत्रमा नेकपा एमालेले पहिलो पटक जित निकाल्न सफल भयो । यस क्षेत्रमा २०४८ कै उम्मेदवार २०५१ मा पनि प्रतिस्पर्धामा थिए । मध्यावधि निर्वाचन २०५१ मा एमालेका पोखरेलले १४ हजार ३९७ मत ल्याएर विजयी बन्दा नेपाली कांग्रेसका शर्मा ७३२ मत कम ल्याएर पराजित भए । शर्माले १३ हजार ६६५ मत ल्याएका थिए । ०५६ मा पनि एमालेकै गोकर्णराज विष्ट उक्त क्षेत्रबाट निर्वाचित भए । विष्टले १८ हजार २० मत ल्याउँदा कांग्रेसका त्रैलोक्य प्रताप सेनले १५ हजार ७६४ मत प्राप्त गरेका थिए ।  तर २०६४ को पहिलो संविधान सभा निर्वाचनमा यस क्षेत्रमा एमाले ह्याट्रिक जित निकाल्नबाट भने चुक्यो । उक्त निर्वाचनमा तत्कालीन नेकपा माओवादीका चन्द्रबहादुर थापा सागरले विष्टलाई पराजित गरेका थिए । कांग्रेसका सुरेश भुसाल भने तेस्रो भएका थिए ।  थापा १६ हजार ५८१ मत प्राप्त गरी विजयी हुँदा विष्टले १५ हजार ८८१ मत प्राप्त गरेका थिए भने भुसालले १० हजार मत पाएका थिए । २०७० मा भने विष्टले सानदार कमब्याक गरे । उक्त निर्वाचनमा विष्टले १५ हजार १२ मत ल्याए भने नेपाली कांग्रेसका सेनले ८ हजार ७४५ मत प्राप्त गरेका थिए । माओवादीका उम्मेदवार बामदेव क्षेत्रीले ५ हजार २४२ मत ल्याएका थिए । यसपछि भने एमालेले लगातार जित हासिल गर्दै आएको छ । राज्य पुनर्संरचनापछि पहिलोपटक साविककाे ३ नं. क्षेत्र सबै र १ र २ निर्वाचन क्षेत्रका केही भाग जोडेर निर्वाचन क्षेत्र नम्बर २ भएपछि भएको आम निर्वाचन २०७४ मा एमालेका विष्टले ३४ हजार ६१८ मत पाएर जित निकालेका थिए । विष्टसँग पराजित कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत ल्याएका थिए । यस्तै, २०७९ मा पनि एमालेका विष्टले पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी रामकुमारी झाँक्रीलाई पराजित गरेका थिए । विजेता विष्टले २८ हजार ५८५ मत ल्याएका थिए । उपविजेता बनेकी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरेकी थिइन् ।  एमालेकै अग्रता कायम रहन सक्ने सम्भावना गुल्मी जिल्ला आगामी प्रतिनिधि सभा निर्वाचनको प्राथमिक दृष्टिकोणमा राजनीतिक प्रतिस्पर्धाको केन्द्र बनेको छ । विगतका निर्वाचनमा क्षेत्रीय मतदाताले एमालेका उम्मेदवारलाई लगातार विजयी बनाएका थिए र २०७९ को नतिजाले यस ट्रेन्डलाई पुष्टिसमेत गरेको छ । यस आधारमा आगामी निर्वाचनमा पनि एमालेले यस क्षेत्रमा अग्रता कायम राख्न सक्ने सम्भावना उच्च देखिन्छ । एमाले नेताहरूका अनुसार गुल्मी‑२ मा एमालेप्रतिको जनसमर्थन बलियो रहेको छ । यहाँका ग्रामीण क्षेत्रका मतदाताले परम्परागत रूपमा पार्टीको स्थायित्व र विकासमूलक अभियानमा विश्वास देखाउँदै आएको एमालेका स्थानीय नेता विमल घिमिरेले दाबी गरे । यस क्षेत्रमा एमालेले पार्टी उपाध्यक्ष समेत रहेका निवर्तमान सांसद विष्टलाई नै उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले पनि केही वडामा आफ्नो समर्थन बढाउन सक्ने सम्भावना रहेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन् । कांग्रेसले विगतमा हेर्‍यौं अरूलाई, यसपटक भने कांग्रेसलाई हेर्न आग्रह गरेको स्थानीय नेता रविन्द्र घिमिरेले बताए । कांग्रेसले लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ २०७४ मा भएको स्थानीय चुनावमा रेसुंगा नगरपालिकाको मेयर पदमा पराजित भएका थिए । यसैगरी, २०७९ मा सम्पन्न आमनिर्वाचनमा प्रदेश सभा सदस्यमा उनी पराजित भएका थिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका गोविन्द पन्थीलाई उम्मेदवार बनाएको छ । पन्थी नेपाल प्रहरीका निवृत्त प्रहरी नायव उपरीक्षक हुन् ।  त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य श्रीराम महतलाई उम्मेदवार बनाएको छ । उनी निजी विद्यालय सञ्चालक हुन् । उनी विशेषगरी मुसिकोट नगरपालिका क्षेत्रमा परिचित नेता हुन् ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१० स्थित होटल ओल्ड दरबारमा तीनदिने कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ । माघ १३ गते मंगलबारदेखि माघ १५ गते बिहीबारसम्म सञ्चालन भएको उक्त तालिम सगरमाथा लुम्बिनी इन्सुरेन्सका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । तालिमको सहजीकरण कृषि तथा पशुपन्छी विभाग प्रमुख उमेश ढकालले गरेका थिए । कार्यक्रममा इन्स्योरेन्स कम्पनीका प्रतिनिधिसहित विभिन्न जिल्लाबाट आएका अभिकर्ताहरूको सहभागिता रहेको थियो । तालिममा सहभागी १५ जनाले सफलतापूर्वक प्रशिक्षण पूरा गरी प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रमको सञ्चालन उदयपुर गाईघाट शाखा कार्यालयका प्रमुख धनबहादुर कटुवालले गरेका थिए । तालिम प्राप्त गरेपछि अभिकर्ताहरूले कृषकहरूसँग प्रत्यक्ष समन्वय गरी अधिकतम बीमा सुरक्षा प्रदान गर्ने तथा कृषि बीमाको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

बजाजको ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक योजना ल्याएको हो । यस योजनाअन्तर्गत १०० सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ । यस योजनाबारे आफ्नो धारणा व्यक्त गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नयाँ जीवन र नयाँ जिम्मेवारी सुरु गर्ने जोडीका लागि यो अफर ल्याइएको बताए । उनले भने, 'नयाँ सोच र नयाँ संकल्पका साथ जीवन सुरु गर्नेहरूका लागि यो योजना उपयोगी हुने विश्वास लिएका छौँ ।' नवविवाहित जोडीलाई लक्षित गरिएको भए पनि यस योजनाबाट सबै ग्राहकले लाभ लिन सक्ने उनले जानकारी दिए । कम्पनीका अनुसार यो योजना माघ १५ गते बिहीबारदेखि लागू गरिएको हो ।