विकासन्युज

अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं । नागढुंगाबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले पेस्तोलसहित ३० वर्षीय केयुर पुरीलाई नियन्त्रणमा लिएको हो । चितवनदेखि काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा हतियार फेला पारेको थियो ।  पुरीको झोलाबाट ‘मेड इन युएस लेखिएको पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली फेला पारेको थियो ।  प्रहरीले यस घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

१० वर्षभित्र अर्थतन्त्रलाई १०० अर्ब डलर पु‍र्याउने दाबी

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको वर्तमान अर्थतन्त्रलाई आगामी १० वर्षभित्र १०० अर्ब अमेरिकी डलरको बनाउने लक्ष्यका साथ काम भइरहेको जनाएको छ ।  ‘मेक इन नेपाल स्वदेशी अभियान’ अन्तर्गत शुक्रबार (आज) आयोजित मिट एण्ड ग्रिट कार्यक्रममा परिसंघले स्वदेशी उत्पादनको प्रवर्द्धन र नीतिगत सुधारमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणको मार्गचित्र प्रस्तुत गरेको हो । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको वर्तमान करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई गुणात्मक फड्को मार्दै १०० अर्ब डलर पुर्‍याउन सकिने दृढ संकल्प व्यक्त गरे । यसका लागि उत्पादनमूलक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई मुख्य आधार बनाइएको छ । उनका अनुसार नेपाल सरकार र परिसंघको संयुक्त पहलमा सुरु भएको मेक इन नेपाल– स्वदेशी अभियानमा हालसम्म १५० स्वदेशी उद्योगहरू आबद्ध भइसकेका छन् ।  नेपाली उत्पादनहरूको पहिचानका लागि प्रयोगमा ल्याइएको गैंडा अङ्कित लोगोले उपभोक्तामाझ स्वदेशी वस्तुप्रति विश्वास बढाएको उनको ठहर छ । परिसंघले सरकारी तथा सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ‘सेना, प्रहरी र सार्वजनिक संस्थाहरूले उपभोग गर्ने वस्तुहरूमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सकिए यसले औद्योगिक उत्पादन बढाउन ठूलो मद्दत पुग्छ,’ अध्यक्ष पाण्डेले भने । सरकारले ल्याएको स्वदेशी वस्तु खरिद सम्बन्धी निर्देशिका कार्यान्वयनका लागि परिसंघले आफ्नै खर्चमा वेब पोर्टल बनाएर सरकारलाई हस्तान्तरण गर्ने तयारी समेत गरेको उनले बताए । अर्थतन्त्रको विकासमा बाधक रहेका पुराना कानुनहरू संशोधन गर्ने प्रक्रिया सुस्त रहेकोमा उनले असन्तुष्टि व्यक्त गरे । परिसंघले कुन कानुन खारेज गर्ने र कुन संशोधन गर्ने भन्ने विषयमा स्पष्ट बुँदागत सुझाव सरकारलाई बुझाइसकेको जानकारी दिँदै लगानीमैत्री वातावरणका लागि द्रुत गतिमा काम गर्न मुख्य सचिवलगायतका उच्च अधिकारीहरूलाई आग्रह गरेको छ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन परिसंघले संयुक्त राष्ट्र संघ पुँजी विकास कोषसँगको सहकार्यमा एगोरा प्लेटफर्म र स्वदेशी कलेक्टिभ ट्रेडमार्कको पहल अघि बढाएको छ ।  साथै उद्योगहरूमा रहेको सीपयुक्त जनशक्तिको अभाव कम गर्न इन्डस्ट्री काउन्सिल गठन गरिएको र यसले दक्ष जनशक्ति उत्पादनमा काम गर्ने विश्वास लिइएको छ । मुख्य सचिवसहित सरकारका उच्च अधिकारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा परिसंघले म्यानुफ्याक्चरिङ, कृषि, जडिबुटी र विश्वव्यापी आर्थिक परिवर्तनका विषयमा क्षेत्रगत प्रस्तुतीकरण समेत गरेको थियो ।  स्वदेशी वस्तुको उपभोगलाई नागरिकको उपभोग शैलीकै रूपमा विकास गरी आत्मनिर्भर नेपाल बनाउने परिसंघको मुख्य उद्देश्य रहेको छ ।

ह्युन्डाई नेपालको ‘फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ अभियान’ सुरु

काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्युन्डाई फिफा विश्वकप * २०२६ टेस्ट ड्राइभ अभियान’ सुरु गरेको छ ।  ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा ल्याइएको यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत नेपालभर रहेका ह्युन्डाईका कुनै पनि शो–रूममा गई कुनै पनि ह्युन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले विश्वकप २०२६ प्रत्यक्ष रूपमा हेर्ने पाउने अवसर जित्ने मौका पाउनेछन् ।  कम्पनीका अनुसार अभियानले ग्राहकहरूलाई टेस्ट ड्राइभमार्फत ह्युन्डाई गाडीको आरामदायी सुविधा, उन्नत प्रविधि र उत्कृष्ट प्रदर्शन प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।  साथै अभियान अवधिमा ह्युन्डाई गाडी बुक गर्ने ग्राहकहरूले अन्य लाभहरू पनि प्राप्त गर्नेछन् ।

वीर अस्पतालले अब स्वास्थ्य बीमाबाट पाइने औषधी एक महिनाका लागि मात्र दिने

काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध गराउने औषधीको सेवासुविधा बन्द गरेको छ । अस्पतालले विभिन्न कारण देखाउँदै फागुन १ गतेबाट अर्को व्यवस्था नभएसम्म औषधीहरू उपलब्ध नगराउने भएको हो ।  अस्पतालले एक महिनाका लागि मात्र बीमित सदस्यहरूलाई उपलब्ध गराउने जानकारी गराएको छ । अस्पतालमा माघ २९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । के स्वास्थ्य बीमाबाट उपलब्ध गराउने औषधीको सेवासुविधा बन्द गर्न लागेको हो भन्ने प्रश्नमा अस्पताल प्रशासनले सेवा बन्द नभइ घटाउन लागेको जनाएको छ ।  स्टकमा धेरै औषधी नहुँदा सबै बिरामीलाई सेवा लिन सहज होस् भन्ने उदेश्यले सेवा घटाएको अस्पतालले जनाएको छ ।  अस्पतालका सूचना अधिकारी हरि पंगेनीले बिरामीले अस्पताल आइ तीन महिनासम्मलाई लिने औषधी अब एक महिनासम्मको लागि मात्र पाउन सक्ने बताए । उनी भन्छन्, ‘टिचिङ अस्पतालले स्वास्थ्य बीमाको सेवा बन्दा गर्दा बिरामीको चाप वीरमा बढ्यो । अहिले हामीले एक महिनाका लागि मात्र औषधी दिन थालेका छौं । पहिलेको स्रोतसाधनले नभ्याएकाले यस्तो गर्नुपरेको हो ।’ पंगेनीले वीर अस्पतालले बीमा कार्यक्रम नरोकियोस् भन्दै सकेसम्म सेवा दिने प्रयास गरिरहेको बताए । वीर अस्पतालले स्वास्थ्य बीमाबाट करिब करिब ५० करोड रकम पाउन बाँकी रहेको छ । भुक्तानी नपाउँदा सेवा दिन समस्या भएको अस्पतालले जनाएको छ । ‘सप्लायर्सले औषधी ल्याएर छोडेका छन्, पैसा पाएका छैनन्, हारगुहार गर्दै अहिलेसम्म चलेको छ । बीमालाई निरन्तरता दिनुपर्छ, यसका लागि कसरी गर्दा सहज हुन्छ भन्नेमा अस्पताल लागेको छ,’ पंगेनीले भने  

आम जनता पार्टीको चुनावी घोषणापत्रः ‘प्रत्यक्ष कार्यकारीदेखि ‘राइट टु रिकल’को व्यवस्था

काठमाडौं । आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रभु साह नेतृत्वको आम जनता पार्टीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच पार्टी चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, कर सीमा र निःशुल्क आधारभूत सेवासहित व्यापक सुधारका एजेन्डा अघि सारेको छ ।  पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि प्रतिवद्धता जनाएको छ ।  सार्वजनिक घोषणापत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष जननिर्वाचित हुने व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ । संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने नीति पनि समावेश घोषणापत्रमा उल्लेख गरेको छ ।  निर्वाचित जनप्रतिनिधिले काम नगरेमा कार्यकालमै जनताले फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ को अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता पनि घोषणापत्रमा छ ।  पार्टीले सरकारले कुल गार्हस्थ उत्पादनको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने संवैधानिक व्यवस्था गर्ने प्रस्ताव गरिएको छ । पार्टीले गैर-आवासीय र विदेशीलाई नागरिकता दिने विद्यमान प्रावधानको पुनरावलोकन गर्ने एजेण्डा अघि सारेको छ ।  भ्रष्टाचार नियन्त्रणका लागि विषेश कानुनी संरचना र न्यायालयको पूर्ण डिजिटलीकरण आम जनता पार्टीले भ्रष्टाचारमाथि जनताको प्रत्यक्ष निगरानी रहने विशेष कानुनी संरचना बनाउने प्रतिवद्धता जनाएको छ । मुलुकमा पारदर्शीता कायम गर्न सरकारी खर्च र विकास आयोजनाको विवरण अनलाइनमार्फत सार्वजनिक गरिने उल्लेख छ ।  त्यस्तै, नीतिगत भ्रष्टाचारमा संलग्न राजनीतिक नेता वा व्यक्तिको सम्पत्ति जफत गरी कडा कारबाही गरिने प्रतिवद्धता व्यक्त गरिएको छ । न्यायालयको पूर्ण डिजिटलीकरण र पारदर्शी नियुक्ति प्रणालीमार्फत न्यायिक सुधार गर्ने योजना समेत पार्टीले अघि सारेको छ ।  रोजगारीको ग्यारेन्टी  आम जनता पार्टीले ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने घोषणा गरेको छ । नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको ग्यारेन्टी गर्ने सार्वजनिक घोषणा पत्रका उल्लेख छ।  शिक्षा, स्वास्थ्य र आधारभूत सेवा निःशुल्क पार्टीले पूर्ण साक्षर राष्ट्र, स्मार्ट कक्षाकोठा र ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएको छ । स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता आम जनता पार्टीले जनाएको छ ।  पूर्वाधार, ऊर्जा र आवास पार्टीले मुख्य राजमार्गको स्तरोन्नति, सडक सुरक्षामा उच्च प्रविधिको निगरानी प्रणाली र ठूला सहरमा व्यवस्थित सार्वजनिक पार्किङको व्यवस्था गर्ने एजेण्डा अघि सारेको छ । राजमार्गमा अप्टिकल फाइबर विस्तारसहित डिजिटल करिडोर विकास गर्ने योजना घोषणापत्रमा समावेश छ । विद्युत् उत्पादन र निर्यात वृद्धि गर्दै ‘हिमालयन ओरिजिन’ ब्राण्डमार्फत बोतलको पानी अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने दाबी आम जनता पार्टीको छ । पार्टीले भूमिहीनका लागि ‘भर्टिकल हाउजिङ’ निर्माण र योजनाबद्ध नयाँ सहर विकास गर्ने प्रतिवद्धता पनि जनाएको छ।

भ्रष्टाचार नियन्त्रण गर्न जसपाले ‘जनलोकपाल’ गठन गर्ने, ५ वर्षमा ५० लाख रोजगारी

काठमाडौं । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच अध्यक्ष यादवले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक  गरेका हुन् । सावर्जनिक घोषणापत्रमा निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क शिक्षा, भ्रष्टाचारमुक्त राज्य, वैज्ञानिक कृषि आधुनिकीकरण, पूर्वाधार विकास र सामाजिक न्यायलाई प्राथमिकताका साथ अघि सारेको छ ।  पार्टीले पार्टीले संविधान संशोधन गरी पहिचान र सामर्थ्यमा आधारित संघीयता कार्यान्वयन गर्ने, जनलोकपाल गठन गर्ने र नगदरहित अर्थतन्त्र लागू गर्ने प्रतिबद्धता जनाएको छ ।  शिक्षा र स्वास्थ्य सेवा निःशुल्क  पार्टीले घोषणापत्रमा स्वास्थ्य र शिक्षालाई मौलिक अधिकार बनाउने ठोस योजना सार्वजनिक गरेको छ । हरेक प्रदेशमा एउटा सुपर स्पेसियालिटी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान, हरेक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने र शिशु कक्षादेखि विश्वविद्यालयसम्म निःशुल्क तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिवद्धता गरेको छ । शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने पार्टीको एजेण्डा छ ।  भ्रष्टाचार नियन्त्रणका लागि जनलोकपाल  पार्टीले घोषणापत्रमा भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेण्डा बनाएको छ । शून्य सहनशीलता नीति अपनाउने, जनलोकपाल गठन गर्ने, २०४७ सालयता सबै प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च पदाधिकारीको सम्पती छानबिन गर्ने र पूर्ण नगदरहित कारोबार लागू गर्ने प्रतिवद्धता गरेको छ । यसका साथै सहकारीको वचत रकम ठगीमा परेका पीडितहरूलाई न्याय दिलाउने वाचा पनि जसपाले गरेको छ ।  ५ वर्षमा ५० लाख रोजगारी  जसपा नेपालले कृषिलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने योजना अघि सारेको छ । वैज्ञानिक चक्लाबन्दी, सहकारी खेती, यान्त्रीकरण, भर्टिकल फार्मिङमार्फत आगामी ५ वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने, न्युनतम समर्थन मूल्य र बजार सुनिश्चितता, बाली बीमा र सस्तो कृषि ऋण उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । चुरे संरक्षण, जलवायु अनुकूल कृषि र खाद्य सुरक्षा पनि प्राथमिकतामा छन् ।  महिला, दलित, युवा र सीमान्तकृत समुदायलाई विशेष आरक्षण घोषणापत्रमा दलित र महिलाका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षण, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिका लागि समान अधिकार, युवा रोजगारी, सीप विकास र खेलकुद पूर्वाधार (प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट तथा फुटबल रंगशाला) निर्माण गर्ने प्रतिवद्धता गरिएको छ । 

वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

दार्चुला (खलङ्गा) । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।  गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गोपाल नाथ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिए ।  उनले पक्राउ परेका साउद ट्याक्टर चालक र नाथ निजका सहयोगी रहेको बताए । मृतक जोशीका छिमेकीसमेत रहेका ट्याक्टर चालक साउदकै योजनामा जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।  अभियुक्तका साथबाट  लुटपाट गरिएका करिब दुई तोला बराबरका गरगहना बरामद गरिएका प्रहरी नायब उपरीक्षक महतले बताए । अभियुक्तमध्ये साउद चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगेका थिए । उनीहरू लागुऔषध दुर्व्यसनीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।  बयानका क्रममा दुवै जनाले अभियोग स्वीकारेका र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सङ्खुवासभामा निर्वाचन तयारी तीव्र, आठ मतदानस्थल अति संवेदनशील

किमाथाङ्का (सङ्खुवासभा) । आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएकोे छ । सुरक्षा संवेदनशीलताको हिसाबले आठ मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए ।  उनका अनुसार जिल्लाका १०९ मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठवटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको हो ।  जिल्लामा १०९ मतदानस्थलमध्ये ८२ मतदानस्थल संवेदनशील, १८ मतदानस्थल सामान्य सूचीमा वर्गिकरण गरिएको छ ।  भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाठा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अलि संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको बताइएको छ ।  जिल्लाको अति संवेदनशील क्षेत्रमा तीन हजार ९२६ मतदाता छन् ।  भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको छ ।  अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थललाई हेरेर सुरक्षा रणनीति बनाइएको छ । जिल्लामा अति संवेदनशीलता आठ, संवेदनशील ८२ र सामान्य १९ छन् । अति संवेदनशील क्षेत्रमा तीन हजार ९२६ मतदाता र संवेदनशील मतदानस्थलमा ८६ हजार १३३ मतदाता रहेका छन् । अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा सुरक्षा प्रबन्ध मिलाइने प्रजिअ थपलियाले जानकारी दिए । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ । अति संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने छ ।   निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाका साथ जिल्लास्थित सुरक्षा निकाय परिचान गरिने उनको भनाइ छ ।   एक निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिलासहित  एक लाख १९ हजार ६३० मतदाता छन् । जिल्लामा एक सय  ९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् । यस पटक तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् । यसमा १५ दल र एक स्वतन्त्र उम्मेदवार छन् ।