विकासन्युज

प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । मतदाता परिचयपत्रको सक्कलप्रति नभएमा नेपाली नागरिकता, नागरिकता नभएमा सवारी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभएमा राहदानी, राहदानी नभएमा राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गा धनी प्रमाण पुर्जाको सक्कलप्रति बोकेर मतदान केन्द्र जान सकिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगले तोकेका छ प्रकारका कागजातमध्ये कुनै एक अनिवार्य लिएर मतदान केन्द्र गएमा मतदान गर्न सकिने उनले स्पष्ट पारे ।      भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र छन् भने १४३ अस्थायी मतदानस्थल छन् । ती केन्द्रमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदान गर्ने आयोगले जनाएको छ ।   

नयाँ सर्वोच्च नेता छान्ने तयारीमा इरान

काठमाडौं । आयातुल्ला अली खामेनीको अमेरिका र इजरायलको आक्रमणमा मृत्यु भएपछि इरानले नयाँ सर्वोच्च नेता नियुक्त गर्ने प्रक्रिया छिट्टै अघि बढाइरहेको छ । नेतृत्व विशेषज्ञ सभाका सदस्य अहमद खातमीले सरकारी टेलिभिजनलाई भने, ‘हामी सबै प्रयास गरिरहेका छौं । ईश्वरको इच्छा भए, नेतालाई चाँडै नै नियुक्त गरिनेछ । स्थिति युद्धको अवस्था भएकाले विवेक आवश्यक छ ।’ इरानी मिडियाका अनुसार अमेरिका र इजरायली हमलाले मङ्गलबार पवित्र सहर कोमको विधानसभासँग सम्बन्धित भवनलाई लक्षित गरेको थियो । यसअघि तेहरानस्थित निकायको मुख्य मुख्यालयलाई आक्रमण गरिएको थियो । खामेनीको सन् १९८९ देखि इरानको नेतृत्व रहेको थियो र उनको मृत्युको एक दिनपछि आधिकारिक रूपमा नेतृत्व परिवर्तन प्रक्रिया सुरु भएको हो । विशेषज्ञ सभामा ८८ जना सदस्य रहेका छन् । उनीहरू प्रत्येक आठ वर्षमा निर्वाचित हुन्छन् । यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, कट्टरपन्थी न्यायपालिका प्रमुख घोलामहोसेन मोहसेनी एजेई र धर्मगुरु सदस्य अलिरेजा अराफीले अन्तरिम नेताको रूपमा काम गरिरहेका छन् ।

मौन अवधिमा हालेको भिडियो हटाएपछि रतन कार्की रिहा

काठमाडौं । निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमा भिडियो हालेको भन्दै टिकटकर तथा कन्टेन्ट क्रियटर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  बुधबार चितवन जिल्ला प्रहरी कार्यालयले मौन अवधिमा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने खालको भिडियो हालेका कारण नियन्त्रणमा लिएको हो । मौन अवधिमा हालेको भिडियो हटाउने शर्तमा कार्कीलाई सामान्य सोधपुछ गरेर छोडेको प्रहरीले जनाएको छ ।  कार्की केही समयअघिदेखि जापानमा बस्दै आएका थिए । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुने भएपछि मत हाल्न नेपाल आएका छन् । 

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयातकर्ता पेट्रोनेट एलएनजीले केही अपरेसन अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । यसले विश्वकै सर्वाधिक जनसङ्ख्या भएको राष्ट्रमा ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता बढाएको छ ।      कम्पनीले मङ्गलबार राति स्टक एक्सचेन्जमा जारी गरेको सूचनाअनुसार होर्मुज जलडमरूमध्य हुँदै कतार इनर्जीको लोडिङ पोर्ट रास लाफानसम्म जहाजहरू सुरक्षित रूपमा पुग्न नसक्ने अवस्था सिर्जना भएको छ । कतार इनर्जीले यसै साता एलएनजी उत्पादन स्थगित गरेको घोषणा गरिसकेको छ र भारतीय बजारका लागि प्रमुख आपूर्तिकर्ता मानिन्छ ।      यही पृष्ठभूमिमा पेट्रोनेट एलएनजीले आफ्ना तीन ट्याङ्कर—‘दिशा’, ‘राही’ र ‘असीम’—सम्बन्धमा कतार इनर्जीलाई ‘फोर्स मेज्युअर’ नोटिस पठाएको जनाएको छ । कम्पनीले कतार इनर्जीबाट पनि यस्तै नोटिस प्राप्त भएको जानकारी दिएको छ । साथै, गेल (इन्डिया), इन्डियन आयल कर्पोरेसन र भारत पेट्रोलियम कर्पोरेसनजस्ता आफ्ना घरेलु ग्राहकहरूलाई पनि ‘फोर्स मेज्युअर’ सूचित गरिएको छ ।      कम्पनीले सम्भावित प्रभावको परिमाण अहिले नै आकलन गर्न नसकिने जनाएको छ । तर स्थानीय सञ्चारमाध्यमका अनुसार केही घरेलु ग्यास आपूर्तिकर्ताहरूले औद्योगिक ग्राहकहरूलाई आपूर्तिमा सामान्य कटौती हुन सक्ने सङ्केत गरिसकेका छन् ।      भारत आफ्नो ऊर्जा आवश्यकताको ठूलो हिस्सा तेल र ग्यास आयातमार्फत पूरा गर्छ । यही कारण मंगलबार सरकारले युद्ध लम्बिँदै गए अर्थतन्त्रमा ‘गम्भीर परिणाम’ आउन सक्ने चेतावनी दिएको थियो । यद्यपि पेट्रोलियम मन्त्रालयले देशको मौज्दात ‘सन्तोषजनक’ रहेको बताउँदै आवश्यक परे चरणबद्ध उपाय अपनाउन सकिने स्पष्ट पारेको छ ।      हिन्दू दैनिकले स्रोत उद्धृत गर्दै भारतसँग करिब २५ दिनका लागि कच्चा तेलको भण्डार र आगामी दुई–तीन साताका लागि एलएनजी आपूर्ति रहेको जनाएको छ । तर विश्लेषकहरूका अनुसार कच्चा तेलको मूल्य वृद्धि दक्षिण एसियाली अर्थतन्त्रहरूका लागि चुनौतीपूर्ण बन्न सक्छ ।      फिच सोलुसन्सको इकाइ बिएमआईका विश्लेषकहरूले श्रीलङ्काले आफ्नो विद्यमान बाह्य वित्तीय दबाबका कारण कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो असर झेल्नुपर्ने टिप्पणी गरेका छन् । भारतले पनि उच्च कच्चा तेल आयात निर्भरता भएकाले थप आर्थिक दबाब सामना गर्नुपर्ने चेतावनी उनीहरूले दिएका छन् ।      यसरी मध्यपूर्वको अस्थिरताले ऊर्जा बजारमार्फत दक्षिण एसियाली अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न थालेको सङ्केत देखिएको छ । रासस

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

काठमाडौं । आसन्न निर्वाचनको मुखमा राष्ट्रिय सुरक्षा व्यवस्थाबारे उच्चस्तरीय छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहीबेर अगाडिबाट सुरु भएको हो । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधबार (आज) बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, सुरक्षा निकायका उच्च अधिकारी लगायतको सहभागी रहेको छ ।  निर्वाचन अवधिभर देशभर शान्ति–सुरक्षा सुदृढ बनाउने, संवेदनशील क्षेत्रहरूको पहिचान गर्ने तथा सम्भावित जोखिम न्यूनीकरणका उपायबारे विस्तृत छलफल भइरहेको बताइएको छ । विशेषगरी सीमावर्ती क्षेत्र, ठूला सहर तथा विगतमा निर्वाचनका बेला तनाव देखिएका स्थानहरूमा सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरिएको छ । आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गर्ने, गस्ती बढाउने र गुप्तचर संयन्त्र सक्रिय बनाउने रणनीति पनि बैठकको एजेन्डामा रहेको बुझिएको छ । सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने प्रतिबद्धता दोहोर्‍याउँदै सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको स्रोतको भनाइ छ ।  निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको गतिविधि बढेसँगै सुरक्षा संयन्त्रलाई समन्वयात्मक र चुस्त बनाउने विषयमा समेत जोड दिइएको छ।

बिदामा पनि यी बीमा कम्पनीहरू खुला रहने

काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि तीन दिनको सार्वजनिक बिदा दिएको छ । केही बीमा कम्पनीहरूले भने सार्वजनिक बिदाको दिनमा पनि सेवा उपलब्ध गराउने भन्दै सूचना प्रकाशित गरेका छन् । ४ निर्जीवन बीमा कम्पनीहरूले आफ्ना निश्चित काउन्टर निश्चित समयको लागि खुला राखेर तथा सम्बन्धित कर्मचारीलाई तोकेर बीमितलाई सुबिधा दिन लागेको सूचनामा उल्लेख गरेको छ । सार्वजनिक बिदामा युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्सले सेवा उपलब्ध गराउने भएका हुन् । युनाइटेड अजोड इन्स्योरेन्सले बिदाको दिनमा पनि बीमा सेवासँग सम्बन्धित कुनै पनि अत्यावश्यक कार्यका लागि सम्पर्क गर्न सम्पर्क व्यक्ति तोकेको छ । कम्पनीले केन्द्रीय कार्यालयको लागि टोपेन्द्र कटेल (जोखिमांकन), डोरिन्द्र राज दाहाल (मार्केटिङ) र सञ्जय श.ज.ब राणा (दाबी) तोकेको हो । त्यस्तै, कम्पनीले प्रदेश कार्यालयअन्तर्गत कोसी प्रदेशमा केदार ब. खत्री, मधेश प्रदेशमा धिरज कुमार शर्मा, बागमती प्रदेशमा अकुर रिमाल, गण्डकी प्रदेशमा  गोपाल प्रसाद पौडेल, लुम्बिनी प्रदेशमा भगवती रेग्मी, कर्णाली प्रदेशमा रवि ढकाल र सुदुरपश्चिमको लागि राकेश मान कर्माचार्यलाई तोकेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नीमा दाहाल, अनिल श्रेष्ठ, अंकिता बज्राचार्य, कमान सिंह, मनिष थापा र कमान सिंहलाई सम्पर्कको लागि तोकेको छ । आइजिआई प्रुडुन्सियलले बीमालेखसम्बन्धी सेवा लिनुपरेमा प्रतिभा मिश्र, पूर्ण भक्त महर्जन, सुलोचना पन्त र एलिजा स्थापित, बीमा दाबी सम्बन्धमा घमान सिंह तामाङ, सुवास खनाल र औषधीउपचार सम्बन्धी बीमा दाबी सम्बन्धी सेवा लिनुपरेमा प्रल्हाद बस्नेतलाई तोकेको छ । सानिमा जिआइसीले बीमालेख सम्बन्धमा उद्धव रिजाल, सुविना मानन्धार, दाबी सम्बन्धमा निरज पौडेल र विजय पोखरेललाई तोकेको छ ।

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔँ’

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम मतदातालाई विशेष अपिल गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले छुट्टाछुट्टै सन्देश जारी गर्दै निर्वाचनलाई सफल बनाउन शतप्रतिशत मतदानको आह्वान गरेका हुन् ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यो निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ एवं परिपक्व बनाउने विश्वास व्यक्त गरे । गत भदौमा विकसित विषम परिस्थितिपछि हुन लागेको यो आकस्मिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उनले स्पष्ट पारे । निर्वाचन आयुक्त डा. तुलाधरले असल व्यक्तिको चयनका लागि मतदान अनिवार्य रहेको उल्लेख गर्दै समयमै मतदान केन्द्र पुग्न आग्रह गरिन् । निर्वाचनलाई मितव्ययी र विश्वासिलो बनाउन सबै पक्षको उत्तिकै दायित्व रहने बताउँदै उनले राजनीतिक दल, सुरक्षा निकाय र कर्मचारीहरूलाई सहयोगका लागि अपिल गरिन् । निर्वाचन आयुक्त जबराले मतदातालाई ‘अल्छी नगरी’ मतदान केन्द्रमा जान र मताधिकारको १०० प्रतिशत प्रयोग गर्न आग्रह गरे। निर्वाचनको समयमा झैझगडा र आरोप–प्रत्यारोप नगरी शान्तिपूर्ण वातावरण कायम राख्न उनले अनुरोध गरे। योग्य उम्मेदवार छनोट गरी देशलाई सही निकास दिन मतदान अपरिहार्य रहेको उनको भनाइ थियो । आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रतिनिधिमुलक शासन व्यवस्थाको आधारशिला नै निर्वाचन भएको भन्दै आयोगले कुनैपनि अवाञ्छित गतिविधिबाट प्रभावित नभई आफ्नो विवेक प्रयोग गर्न मतदातालाई आह्वान गरेको छ । 

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौं । आम निर्वाचनको आसपासमा करिव एक साता बिदा पर्यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा निर्वाचनका लागि दियो । त्यसअघि  फागुन १८ गते सोमबार ५६ वटा जिल्लामा र १९ गते तराईका २१ जिल्लामा फागु पूर्णिमाको बिदा भयो । यस्तै २३ गते शनिबार पर्यो । यस आधारमा एक साता सार्वजनिक बिदा भयो । अझ महिलाहरूका लागि फागुन २४ गते नारी दिवसको बिदा छ ।  करिव ८० दिन भन्दा बढी २०८२ मा दिने निर्णय गरेको सरकारले आगामी २०८३ सालमा शनिबार र विभिन्न चाडपर्व, जयन्तीलगायत गरी  १०९ दिन सार्वजनिक बिदा दिँदैछ । कतिपय दिन देशभर र कतिपय दिन सम्बन्धित क्षेत्र र समुदायका लागि बिदा तोकिएको छ । सरकारले आठ प्रकारका बिदा निर्धारण गरेको छ । जसअन्तर्गत २०८२ मा शनिबार ५२ दिन सार्वजनिक बिदा तय गरिएको छ । त्यस्तै, पर्व बिदा सबैले पाउँछन् ।  महिला कर्मचारी, शिक्षण संस्था, जात्रा, दिवस, अपाङ्गता भएका कर्मचारी, जयन्ती र दिवसमा कतिपय देशभर र कतिपय सम्बन्धित क्षेत्र तथा समुदायका व्यक्तिका लागि बिदा निर्धारण गरिएको छ । यससँगै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको बिदालाई समेत ध्यानमा राखेर १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न पाउँछन् । प्रदेश र स्थानीय सरकारले पनि आआफ्नो क्षेत्रको धर्म, संस्कृतिका आधारमा थप ६ दिन सार्वजनिक बिदा दिन पाउँछन् ।  यसरी अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित बन्न थालेको छ । सार्वजनिक विदाका कारण मजदुरहरु काममा नआउने, सरकारी कामहरु समेत नहुँदा समस्या पर्न थालेको निजी क्षेत्रका अगुवाहरुले बताउन थालेका छन् ।   नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक विदाहरु अत्याधिक हुँदा काममा असर पर्न थालेको बताए । उनकाअनुसार भुगोल र जनसंख्याको हिसावले नेपाल सानो भएपनि सार्वजनिक बिदा दिन प्रचलन बढी हुँदा यसको असर काममा पर्न थालेको छ । हरेक समुदायका सबैले बिदा प्राप्त गर्दा नेपालमा काम गर्ने दिन भन्दा सार्वजनिक विदा धेरै हुन थालेको उनको भनाइ छ । विदाहरुका कारण मुलुकको विकाससँगै अर्थतन्त्रलाई पछाडी धकेलिरहेको बताउँदै उनले विदाका कारण सरकारी कर्मचारी घर बसदिँदा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरिरहेको बताए ।  अध्यक्ष सिंहले भने–‘भुगोल र जनसंख्याको हिसावले नेपाल धेरै नै सानो छ । भारत र चीनभन्दा ३०÷३५ गुणा जनसंख्याको आधारमा नेपाल सानो छ । सानो देशमा धेरै नै विविधता छ । त्यो विविधताको सम्मान गर्नुपर्छ । तर त्यो सम्मान गर्दै गर्दा मुलुकको अर्थतन्त्र संकुचनमा ल्याउने, मुलुकको जीडीपी,  आर्थिक वृद्धिलाई घटाउने र हाम्रो प्रगतिलाई बाधा गर्नेगरी धेरै सार्वजनिक बिदा हुने गरेको छ ।’ निर्माण क्षेत्रमा सार्वजनिक विदाहरुले काम गर्न धेरै कठिन भइरहेको उनको भनाइ छ ।