विकासन्युज

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन् । आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अपिल जारी गर्दै उनले हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक-एक मतले राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्व कस्तो हुने भन्ने  तय गर्ने भएकाले निर्वाचनको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले यस्तो महत्त्वपूर्ण अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ–आफ्नो अधिकार सुरक्षित गर्ने विश्वास व्यक्त गरे । यस्तो अनुष्ठानमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न मतदाताको कर्तव्य पनि भएको उनको अपिलमा उल्लेख छ । ​​​अपीलको पूर्णपाठ गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा सम्पन्न हुन गइरहेको यो आकस्मिक प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ ले नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने विश्वास लिएको छु । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदछु । निर्वाचनमा मतदाता र मतदान सर्वाधिक महत्त्वपूर्ण हुन्छ । निर्वाचनमा कुनै उम्मेदवार, व्यवस्था वा पक्षलाई चुन्न मतदाताले दिने सहमति वा स्वीकृति नै मतदान हो । संविधान र कानुनबमोजिम निश्चित उमेर पूरा भएको नागरिक मतदाता हुन्छन् र सबै मतदाताको मतको मूल्य बराबर हुन्छ । त्यसैले मतदानलाई मतदाताको नैसर्गिक अधिकार मानिन्छ । राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्व कस्तो हुने भन्ने निर्धारण हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक-एक मतले तय गर्ने भएकाले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो । यो अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ–आफ्नो अधिकार सुरक्षित गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । यो अनुष्ठानमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न मतदाताको कर्तव्य पनि हो । कुनै पनि निर्वाचनमा मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिका रूपमा लिने गरिन्छ । जब नागरिकहरू आफ्ना अधिकारप्रति सचेत र जागरूक भएर मतदाताका रूपमा दर्ता हुनुहुन्छ र निर्वाचनमा सु-सूचित मतदाता भएर आफ्नो सहभागिता जनाउनुहुन्छ तब मात्र शासनप्रतिको नागरिक अपनत्व बढ्दै जान्छ । निर्वाचन आयोग निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन दृढ सङ्कल्पित रहेकाले यस कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । निर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, सञ्चारकर्मी, आमसञ्चार माध्यमलगायत सबै सरोकारवालाको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकामा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गर्दछ । निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा  बिहीबार आ-आफ्ना मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर मतदान गर्नु हुन म सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछु ।

प्रत्यक्ष १६५ र समानुपातिक ११० स्थानका लागि आज मतदान हुँदै

काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपरान्ह ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।  मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य गरी ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।  यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् । यस्तै, १ लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवती लगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचन गराउन २ लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल ४ करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याइसकेको छ ।  यसपटकको निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरिसकेका छन् । 

५० यात्रु बोकेको श्री एयरको जहाजको टायर कसरी पड्कियो ?

काठमाडौं । बुधबार श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको थियो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९ एन-एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले जानकारी दिए । अहिले जहाज ग्राउन्डेड गरिएको छ । सुर्खेत–काठमाडौं उडान रद्द भएको छ ।  टायर किन र कसरी पड्कियो भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ । 

मतदानको पूर्वसन्ध्यामा राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।  फागुन २१ गते बिहीबार प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । भेटमा समसामयिक राजनीति तथा बिहीबार  हुन  गइरहेको  प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई  जानकारी गराएकी थिइन् ।   

दुबई विमानस्थलमा रोकिएका यात्रु लिएर फ्लाइ दुबई काठमाडौं आउँदै

काठमाडौं । आज राति दुबईको विमानस्थलमा रोकिएका यात्रु लिएर फ्लाइ दुबई नेपाल आउने भएको छ । बुधबार राति दुबई विमानस्थलमा रोकिएका नेपालीहरूलाई लिएर फ्लाइ दुबईको जहाज नेपाल आउने भएको हो। केही दिनदेखि मध्यपूर्वमा चर्किएको द्वन्द्वको कारण उडान रद्द भएको थियो । फ्लाइ दुबईका अनुसार दुबई विमानस्थलमा रहेका १७० जना यात्रु लिएर नेपाल आउने भएको हो । सोही जहाजबाट नेपालमा रोकिएका यात्रुहरू दुबईतर्फ जाने भएका हुन् । फ्लाइ दुबईले दुबईसम्म पुग्ने यात्रुहरूलाई मात्र लिएर जाने भएको हो । उक्त जहाज काठमाडौंमा राति ११ बजेर ३० मिनेटमा अवतरण गर्ने तालिका रहेको छ । मार्च ५ मा काठमाडौंबाट दुबईतर्फ राति १२ बजेर ३० मिनेटमा प्रस्थान गर्नेछ । फ्लाइ दुबईले १५० भन्दा बढी यात्रुलाई लिएर दुबईतर्फ जान लागेको हो ।

फ्लाई दुबईले दुई उडान गर्दै

काठमाडौं । फ्लाई दुबईले दुई उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–काठमाडौं उडान गर्ने भएको हो ।  मध्यपूर्व द्वन्द्वको कारण क्यान्सिल भएको उडान पुनः सुचारु हुन लागेको नागरिक उड्डयन प्राधिकरण (क्यान) जनाएको छ । क्यानका अनुसार हालका लागि यी उडानहरूमा सिधा गन्तव्य (प्वाइन्ट–टु–प्वाइन्ट) मात्रै उडान हुनेछ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका यताबाट जाने यात्रुको संख्या १७० जना हुने र दुवैसम्मको मात्रै फ्लाइट रहेको उनले बताए । एफजेड ५७३ नम्बरको उडान आज दुबई–काठमाडौं उडान हुनेछ ।  एफजेड ५७३ नम्बरको उडान काठमाडौंमा राति ११ बजेर ३० मिनेटमा अवतरण गर्ने तालिका रहेको छ । त्यसैगरी, एफजेड ५७४ नम्बरको उडान मार्च ५ मा काठमाडौंबाट दुबईतर्फ राति १२ बजेर ३० मिनेटमा प्रस्थान गर्नेछ । उक्त उडान काठमाडौंमा राति ११ बजेर ३० मिनेटमा अवतरण गर्ने तालिका रहेको छ ।

गुल्मीमा मतदान सम्पन्न भएपछि सवारीसाधन चल्न पाउने

काठमाडौं । गुल्मी जिल्लामा बुधबार राति १२ बजेबाट सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको नियन्त्रण बिहीबार बेलुका पाँच बजेपछि खुल्ने भएको छ ।  जिल्लामा राति बाह्र बजेसम्म सवारी साधन सन्चालनमा रोक लगाइएको हल्ला व्याप्त भएपछि जिल्ला प्रशासन कार्यालय, गुल्मीले मतदान सम्पन्न भएसँगै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन खुला गरिने जनाएको छ ।  जिल्लामा बुधबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको हल्ला फैलिएको भए पनि मतदानपछि यातायात सञ्चालनमा कुनै दीर्घकालीन प्रतिबन्ध नरहने स्पष्ट गरिएको हो । यस विषयमा जानकारी लिन विकासन्युजले जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरेको थियो । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले मतदान प्रक्रिया सकिएलगत्तै सवारीसाधन सञ्चालन गर्न दिइने जानकारी दिए । उनले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अस्थायी रूपमा लगाइएको नियन्त्रण मतदान सम्पन्न भएपछि स्वतः हट्ने बताए । गैरेले भने, ‘तत्काल सुरक्षामा कुनै खतरा नदेखिएसम्म मतदान सकिएपछि सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा कुनै अवरोध हुँदैन ।’ उनका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मात्र केही समयका लागि सवारी आवागमनमा निगरानी बढाइएको हो । जिल्ला प्रशासनले मतदानको समयमा अनावश्यक भीडभाड र सम्भावित अप्रिय घटनालाई नियन्त्रण गर्न सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।  मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै प्रशासनले सर्वसाधारणलाई भ्रममा नपर्न आग्रह गरेको छ । मतदान सकिएपछि बेलुका पाँच बजेदेखि यातायातका साधन नियमित रूपमा सञ्चालनमा आउने जनाइएको छ ।

निर्वाचन शान्तिपूर्ण र भयरहित हुने जियोकको निष्कर्ष

काठमाडौं । ‘जेनजी विद्रोह’पछिको विशेष र संवेदनशील अवस्थामा बिहीबार हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने देखिएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले बुधवार साँझसम्म विभिन्न जिल्लामा गरेको पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदनअनुसार निर्वाचन आयोग, नेपाल सरकार र सुरक्षा निकायको तयारी विगतका निर्वाचनभन्दा निकै व्यवस्थित र चुस्त पाइएको हो ।  निर्वाचनको अघिल्लो दिनसम्म केही सामान्य घटनाबाहेक मतदानलाई नै असर पार्ने खालका कुनैपनि अप्रिय घटना भएका छैनन् । जियोकका महासचिव कृष्णमान प्रधानले निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्रतापूर्वक सम्पन्न हुने कुरामा विश्वस्त हुन सकिने अवस्था रहेको जानकारी दिए ।  यसपटकको निर्वाचनमा सुरक्षा व्यवस्थापनलाई निकै कडा र प्रभावकारी बनाइएको छ । सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै चारवटै सुरक्षा निकायबीच उच्च समन्वय कायम गरिएको छ । कुनै पनि मतदान केन्द्रमा समस्या आएको खण्डमा ३० मिनेटभित्रै प्रहरी र सेना पुग्न सक्ने गरी ‘क्विक रेस्पोन्स’को व्यवस्था मिलाइएको उनले बताए । यसका साथै, मोबाइल गस्ती, स्ट्राइकिङ फोर्स, रिजभ्र्ड फोर्स र र्यापिड रेस्क्यु टिमको प्रभावकारी परिचालनले सुरक्षा व्यवस्था मजबुत देखिएको पर्यवेक्षणले जनाएको छ । मतदाता नामावली व्यवस्थापन, मतपत्र छपाइ तथा ढुवानी, मतदान केन्द्रको तयारी र मतदाता शिक्षा जस्ता पक्षमा पनि विगतको तुलनामा उल्लेख्य सुधार आएको छ ।  समग्र अवस्था शान्तिपूर्ण देखिए पनि मतदाताको मनोविज्ञानमा भने केही त्रास बाँकी नै रहेको प्रतिवेदनमा बताए । जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार, जेलबाट बाहिरिएका केही कैदीबन्दी, पेशेवर आपराधिक समूहको चलखेल र सामाजिक सञ्जालको दुरुपयोगका कारण मतदातामा आंशिक रूपमा डरको अवस्था देखिएको जियोकले जनाएको छ ।  विगतका निर्वाचनको तुलनामा यसपटक सडकमा तुल, ब्यानर र दलीय झण्डाहरूको प्रयोगमा निकै कमी आएको छ । यद्यपि उम्मेदवारी दर्ताको दिन शक्ति प्रदर्शन गर्ने होडबाजी र प्रचारप्रसारका क्रममा ठूलो आवाजमा माइक बजाएर दलीय गीत गाउँदा मतदाताहरू असन्तुष्ट बनेको पाइएको छ । त्यस्तै, आँखा छल्दै राति–राति घरघरमा पम्पलेट बाँड्ने काम पनि पूर्ण रूपमा रोकिएको छैन । आचारसंहिता उल्लंघनका उजुरीमाथि कारबाही शुरु भएपनि ठोस नतिजा आउन सकेको छैन । विशेषगरी मौन अवधि शुरु भइसकेपछि धनुषामा एक जना उम्मेदवारको उम्मेदवारी खारेज गरिएको घटनालाई लिएर भने असन्तुष्टि देखिएको छ । उम्मेदवारी खारेज नै गर्नुपर्ने भए दर्ता भएकै समयमा गर्नुपर्ने आम बुझाइ रहेको प्रतिवेदनमा औंल्याइएको छ ।  प्रतिनिधि सभा निर्वाचन, २०८२ को पर्यवेक्षणका लागि जियोकले ३६ जिल्लाका २५० वटा पालिकामा जम्मा ४ सय जना तालिमप्राप्त पर्यवेक्षक परिचालन गरेको छ । संविधान र कानूनले समावेशीताको वकालत गरे पनि यसपटकको प्रत्यक्षतर्फको निर्वाचनमा महिला उम्मेदवारी निकै न्युन देखिएको भन्दै जियोकले चिन्ता व्यक्त गरेको छ ।