विकासन्युज

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा  हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् ।   निर्वाचन आयोगका अनुसार काठमाडौं– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन् । साथै मोरङ–६ मा रास्वपाका रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त विजयी भएका छन् । दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले १२ हजार ३७२ मतप्राप्त गरी विजयी भएका छन् ।   जारी मतगणनामा रास्वपाकी सोविका गौतम (चितवन–३), डा तोसिमा कार्की (ललितपुर–३), इन्दिरा थापामगर (झापा–२), निशा डाँगी (झापा–१), नीतिमा भण्डारी (सर्लाही–१), आशिका तामाङ (धादिङ–१),पुष्पाकुमारी चौधरी (सप्तरी –१) र गौरी कुमारी (महोत्तरी चार)मा अग्रस्थानमा रहेका छन् ।   आयोगका अनुसार हालसम्म ४५ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ ।

दाङ–२ मा रास्वपाका विपिनकुमार आचार्य विजयी

काठमाडौं । दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विपिनकुमार आचार्य विजयी भएका छन् । उनी ४३ हजार ५५७ सय मत ल्याएर विजयी भएका हुन् ।  नेकपा एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत ल्याएर दोस्रो स्थानमा सीमित भए । नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ मत ल्याएका छन् भने  नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् । 

पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल, आवश्यकता भन्दा बढी उत्साहित नहुनू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम रास्वपाको पक्षमा आइरहेका बेला प्रवक्ता झाले आवश्यकता भन्दा बढी उत्साहित नभई त्यसलाई देशको समस्या समाधान गर्ने जिम्मेवारीको रुपमा बुझेर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।  धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा भारी मतले निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ मतदाताले आफूहरुलाई विश्वास गरेकाले उनीहरुलाई निराश हुन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । प्रवक्ता झाले आफू र आफन्तका लागि नभई देशका लागि राजनीति गर्न आएकाले त्यसमा सुधार हुँदै जाने कुरामा शंका गरिरहनु नपर्ने जिकिर समेत गरे ।  उनले भने, ‘कुनै पनि सबै जनता जाग्ने गर्दछ । अनि परिवर्तन हुन्छ । त्यस्तै नेपालमा पनि त्यो अवस्था आयो । अब राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन सरकार, रवि लामिछानेको नेतृत्वमा रहेको पार्टी, यो सबैले नै देशको समस्या समाधान गर्छ भनेर नै एक किसिमको विश्वास मतदातामा भयो । र त्यो ब्यालेटमार्फत बक्ससम्म पुग्यो । र, परिणामहरु हामीले देखिराखेका छौँ ।’ प्रवक्ता झाले राष्ट्रिय स्वतन्त्र पार्टीले नेता नभई सहककर्ताको रुपमा जनताको सेवा गर्ने समेत बताए । 

गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थी विजयी

काठमाडौं । गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोविन्द पन्थी विजयी भएका छन् । पन्थी १६ हजार ९ सय ६७ मतसहित विजयी भएका हुन् । नेकपा एमालेका गोकर्ण विष्ट १६ हजार ४ सय ६ मतसहित पराजित । त्यस्तै, कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४ सय ३४ मत ल्याएका छन् भने नेकपाका श्रीराम महतले ३ हजार ८१ मत प्राप्त गरेका छन् ।   

बालेनले ओलीसँग ३८ हजार ६५ ले बढाए मतान्तर

काठमाडौं । झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । उनले ३८ हजार ६५ मतले मतान्तर बढाएका हुन् । शाहले ५२ हजार ९६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्मा ओलीले १४ हजार ३१ मत पाएका छन् भने श्रम संस्कृतिका समीर तामाङले ८ हजार ८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका मन्धरा चिमरियाले १ हजार ४१७ मत पाउँदा नेकपाका रन्जित तामाङले १ हजार १७६ मत पाएका छन् ।

हुम्ला–१ मा नेकपाका रोकया ५ हजार मतसहित अग्रस्थानमा, रास्वपा चौथो स्थानमा

हुम्ला । हुम्ला–१  मा नेपाली कम्युनिस्ट पार्टी (नेकापा) का डाक्टर दीपेन्द्र रोकाया निरन्तर अग्रस्थामै छन् । पछिल्लो मत परिणामअनुसार नेकापाका रोकायाले ५ हजार १७१ मत ल्याएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयपति रोकायाले ३ हजार ९५८ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका दल फडेराले ३ हजार ११ मत ल्याएका छन् भने  रास्वपाका टासीले १३८ मत मात्रै पाएकी छिन् ।  

वाग्लेको दोस्रो संसदीय यात्रा

काठमाडौं ।  तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले ३८  हजार ४० मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका गोविन्द भट्टराईले १६  हजार २ सय ३१ मत ल्याएका छन् ।   यसअघि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित विजयी भएका थिए । वाग्ले योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । उनी अर्थशास्त्रीका रूपमा पनि चिनिन्छन् ।

मोरङ ३ मा रास्वपाका गणेश कार्कीले १७ हजार कटाउँदा शर्मालाई ११ हजार १५१ मत

काठमाडौं । मोरङ ३ रास्वपाका उम्मेदवार गणेश कार्कीले अग्रता कायमै राखेका छन् । कार्कीले १७ हजार ३७९ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ११ हजार १५१ मत पाएका छन् ।  त्यसैगरी, श्रम संस्कृतिका उम्मेदवार अमिर मगरले ७ हजार ९८५ र एमालेका उम्मेदवार इरन राईले ३ हजार ३८२ मत पाएका छन् ।