मञ्जुश्री फाइनान्सको ग्लोबल मनी विक प्रभात फेरीबाट सुरु
काठमाडौं । मञ्जुश्री फाइनान्सले ग्लोबल मनी विक २०२६ को सुरुवात आफ्नो चितवन क्लस्टरको शाखाहरूमार्फत प्रभात फेरीबाट गरेको छ । विश्वभरि नै मनाइने ग्लोबल मनी वीकको सप्ताहमा मन्जुश्री फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरूबाट कार्यक्रमको आयोजना गरेको हो । यस ग्लोबल मनी वि २०२६ को मूल आधार स्मार्ट मनी टक्स भन्ने अभिप्रायलाई लिएर विभिन्न संघसंस्था तथा युवालाई मध्यनजर गर्दै विभिन्न स्कूल तथा कलेजहरूमा कार्यक्रम गरिने मञ्जुश्री फाइनान्सले जनाएको छ । हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०।६ अर्ब कर्जा प्रवाह गरेको यस मञ्जुश्री फाइनान्सले २८ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । फाइनान्सका ग्राहक १ लाख ८ ७ हजारभन्दा अधिक रहेका छन् । यसअघि मञ्जु‍श्री फाइनान्सले आफ्ना ग्राहकहरूमाझ मञ्जुश्री भर्चुअल क्रेडिट कार्डको सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।
सांसदहरूलाई रविका ७ सन्देश
काठमाडौं । आम निर्वाचन अघिसम्म रवि लामिछानेको पहिचान तिखा अभिव्यक्ति र आक्रामक शैलीसँग जोडिएको थियो । उनका भाषणहरूमा पुराना राजनीतिक शक्तिमाथि कडा प्रहार, भावनात्मक आह्वान र प्रत्यक्ष भिडन्तको संकेत स्पष्ट देखिन्थ्यो । तर, निर्वाचनपछि परिस्थिति बदलिएको छ, उही नेता अहिले संयम, जिम्मेवार र संस्थागत भूमिकामा आफूलाई रूपान्तरण गर्दै गएको देखिन्छ । झण्डै दुईतिहाइ नजिकको जनसमर्थन पाएपछि लामिछानेले आफ्नो प्रस्तुति नै परिवर्तन गरेका छन् । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद अभिमुखीकरण कार्यक्रममा उनले आक्रोश होइन, अनुशासन र उत्तरदायित्वको भाषा बोले । समर्थक र कार्यकर्तालाई सामाजिक सञ्जालमा उत्तेजित नहुन र विपक्षीप्रति सम्मानजनक व्यवहार गर्न उनले स्पष्ट निर्देशन दिए । उनको सन्देश अब सत्ताको उपयोगभन्दा पनि विश्वासको संरक्षणतर्फ केन्द्रित देखिन्छ । सांसदहरूलाई शासक होइन, सेवक बन्न आग्रह गर्दै उनले जनतासँग नजिक रहनुपर्नेमा जोड दिएका छन् । निजी सुविधा र विशेषाधिकारभन्दा सार्वजनिक सेवाप्रति प्रतिबद्धता देखाउनुपर्ने उनको भनाइ थियो । विगतका दलहरूको योगदानलाई स्वीकार्दै उनले प्रतिस्पर्धालाई द्वेषको रूपमा नभई निरन्तरताको रूपमा हेर्ने संकेत दिए । अब परिणाममार्फत जनताको विश्वास जित्नुपर्ने बताउँदै उनले आफ्ना सांसदहरूलाई हरेक कदममा सावधानी अपनाउन आग्रह गरेका छन् । लामिछानेको यो रूपान्तरण केबल शैलीगत परिवर्तन मात्र होइन, जिम्मेवारीको बोधसँग जोडिएको समेत देखिन्छ । सत्ता सम्हाल्ने अवस्थामा पुगेपछि आक्रामक भाषणभन्दा स्थिर, परिपक्व र समावेशी नेतृत्व आवश्यक पर्ने सन्देश उनले व्यवहारमै दिन खोजिरहेको उनको पछिल्लो अभिव्यक्तिमा देखिन्छ । आफ्ना सांसदहरूलाई सत्ताको मोहबाट टाढा रहन आग्रह गर्दै उनले मन्त्री बन्ने दौडमा नलाग्न सुझाव दिए । बाह्य दबाब र स्वार्थ समूहबाट प्रभावित हुन सक्ने जोखिमप्रति सचेत गराउँदै उनले सत्ता यात्रालाई उत्सव होइन, जिम्मेवारीको रूपमा लिन आग्रह गरे । संसद केवल शक्ति प्रदर्शनको थलो होइन, बलिदानको सम्झना पनि हो भन्ने भावनात्मक सन्देशमार्फत उनले संवेदनशीलता कायम राख्न आग्रह गरे । सरकार गठनसँगै त्यसलाई अस्थिर बनाउने प्रयासहरू सुरु हुने अनुभव सुनाउँदै उनले पार्टीभित्र एकता र सजगता आवश्यक रहेको बताए । साथै, वर्तमान संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता यथावत रहेको स्पष्ट पार्दै कुनै आशंका नराख्न आग्रह गरे । पार्टीका वरिष्ठ नेता बालेन शाह भने उक्त कार्यक्रममा अनुपस्थित रहे । स्वास्थ्य कारण देखाइए पनि सामाजिक सञ्जालमा सक्रिय देखिएका कारण उनको अनुपस्थितिले केही जिज्ञासा जन्माएको छ । औपचारिक बैठकहरूमा उनको न्यून सहभागिताले पार्टीभित्रको भूमिकाबारे थप प्रश्न उठाइरहेको छ । यसरी, चुनावअघि आक्रामक रविका रूपमा चिनिएका नेता अहिले जिम्मेवार रवि बन्ने यात्रामा देखिन्छन् ।
'मन्त्री बन्न मिडिया ट्रायल र बिचौलियाकोमा नधाउनू, अनुशासन नमान्नेलाई राइट टु रिकल हुन्छ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरुलाई मन्त्री बन्नका लागि मिडिया ट्रायल र बिचौलियाकहाँ नधाउन आग्रह गरेका छन् । निर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । लामिछानेले सरकार बनेको बेलुकादेखि नै सरकार ढाल्न एउटा समूह लाग्ने गरेको बताउँदै आफूहरूभित्र फाटो ल्याउन खोज्नेहरूको बिगबिगी भएको बताएका हुन् । ‘हामी मिल्न सकेनौं भने र स्वार्थको बन्दी बन्यौं भने मात्रै समस्या हुन्छ, कसैले पनि मन्त्री बन्नका लागि मिडिया ट्रायल नगर्दा हुन्छ, बिचौलियाकहाँ नधाउँदा हुन्छ,’ उनले भने, ‘हामीलाई सबै साथीहरूको योग्यता र क्षमता राम्रोसँग थाहा छ ।’ उनले निर्वाचित सबैलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन पनि आग्रह गरे । उनले भने, ‘पार्टी जन्मेदेखि यसमा प्रहार भयो । पार्टीको नाममा मुद्दा चल्यो । पार्टीको चुनाव चिन्हमा मुद्दा भयो । विभिन्न स्वार्थ समूह र पुराना दलबाट पार्टी जोगाएर ल्यायौं । देशका सबै शक्ति एकै ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौं ।’ लामिछानेले पार्टीका सबैलाई अनुशासनमा राख्नु पार्टीको काम भएको र यसमा कडाइ र कारबाही गरिने, साथै ‘राइट टु रि कल’को व्यवस्था समेत लागू गरिने बताए ।
मिडिया ट्रायल नगर्न सभापति लामिछानेको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई मन्त्री बन्न मिडिया ट्रायल नगर्न सुझाव दिएका छन् । पछिल्लो समय केही सांसदहरूले आफूलाई मन्त्री बनाउन दवाव दिनेगरी सञ्चारमाध्यममा बोलेकोमा लामिछानेले असन्तुष्टि पोखेका छन् । उनले अहिलेसम्म मन्त्रीहरूका बारेमा छलफल नगरेको बताएका छन् । छलफल नै नभएको विषयमा बाहिर बोल्नु पार्टी र मत दिने जनताको आशा विपरीत भएको लामिछानेले बताए । त्यसैगरी, उनले आफ्नो दलका सांसदहरूले सरकारी अस्पतालमा उपचार गर्नुपर्ने बताएका छन् । सरकारको डेलिभरीलाई चुस्तदुरुस्त बनाउन हामीले यो अभियान चलाउनु आवश्यक रहेको लामिछानेले जोड दिए । त्यस्तै, उनले पुराना नेताहरूले इतिहास लेखेको र आफ्नो दलले भविष्य लेख्ने दावीसमेत गरे ।। रास्वपा संविधान र इतिहासप्रति प्रतिबद्ध रहेको समेत उनको दावी छ । ‘यो जित रास्वपाको मात्रै होइन, यो जित त देशको जित हो । हामी पाँच वर्ष अत्यन्तै लगावका साथ काम गर्न तयार भएर आएका हौं,’ लामिछानेले भने । लामिछानेले राई, लिम्बुहरूको प्रतिनिधित्व गराउन नसकेकोमा माफीसमेत गरे ।
शवलाई गाडीमा पठाएर हेलिकप्टरमा उडेका थिए आफन्त
काठमाडौं । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटनामा परेको हो । खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको परेको जानकारी दिइन् । ‘एक जना व्यक्तिको खुट्टा भाँचिएको खबर प्राप्त भएको छ,’ उनले भनिन् । युकेमा मृत्यु भएको वृद्ध महिलाको शव वाहनमा लगिएको स्थानीय विद्यालयका प्रधानाध्यापक डिकमान राईले जानकारी दिए । उनका अनुसार हेलिकोप्टरमा पाइलट सविन थापासहित श्रीमान डाकमणी राई, छोरी लक्की राई, छोरा बालकुमार राई र काजीबहादुर राईलगायत अन्य दुई जना मानिस सवार थिए । राईको खुट्टा भाँचिएकाले काठमाडौंमा उपचारका लगिएको उनले जानकारी दिए । उनलाई एयर डाइनेष्टीकै अर्को हेलिकप्टर मगाएर उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। चालक थापासहित अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
काठमाडौं । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । केपिलासगढी गाउँपालिका–२ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले हेलिकप्टर दुर्घटनाको परेको जानकारी दिइन् । ‘एक जना व्यक्तिको खुट्टा भाँचिएको खबर प्राप्त भएको छ,’ उनले भनिन् । जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार हेलिकप्टरले काठमाडौंबाट शव लिएर जाँदै थियो ।
सुशीला कार्कीलाई दाहालले भने– ‘तपाईं नभएको भए देश दुर्घटनामा पर्थ्यो’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार (आज) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार आएका थिए । उनीहरूबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री कार्कीले भने, ‘तपाईंहरूले निर्वाचनमा भाग लिइदिनुभयो । यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ ।’ उनले निर्वाचनमा विजय हुनुभएका नेताहरूलाई बधाई दिँदै अन्य नेताहरूलाई अर्कोपटकका लागि शुभकामना दिइन् । नेकपाका नेताहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिए । संयोजक प्रचण्डले भने, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईंले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।’ सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि उनले स्मरण गरे । ‘हामीले सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौं । इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौं,’ उनले भने । त्यस्तै, पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्रीमा सुशीला कार्की आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास आफूहरूलाई रहेको बताए । अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको उनीहरूको भनाइ थियो।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कडा कारवाही गर्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पेट्रोलियम पदार्थमा कालोबजारी गर्नेलाई कडा कारवाही गर्ने निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको बैठकले बजार आपूर्ति व्यवस्थापन एवं ग्याँस लगायतका वस्तुहरूको नियमनको अवस्थाका सम्बन्धमा छलफल गरेको हो । बैठकले कोही कसैले पनि पेट्रोलियम लगायतका अत्यावश्यक वस्तुको कालोबजारी गरेको, अत्याधिक मात्रामा लुकाएको, बढी मूल्य लिएर बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेको जस्ता क्रियाकलापहरु गरेको पाइएमा सम्बन्धित अनुगमन गर्ने निकायले प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने तर्फ ध्यान दिने निर्णय गरेको हो । बैठकले डिजेल, पेट्रोल, खान पकाउने एलपीजि ग्याँस लगायतका अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धता सम्बन्धी विषयमा सुपरिवेक्षण तथा बजार अनुगमन गरी उपभोक्ता संरक्षण ऐन नियमावली लगायतका प्रचलित कानुन बमोजिम गठित अनुगमन समिति तथा संयन्त्रहरू मार्फत बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । बजार अनुगमन तथा आपूर्ति नियमनकारीमा सरोकारवाला सरकारी निकायहरूलाई व्यवसायिक संघसंस्था, व्यवसायी, उपभोक्तावादी सङ्घ संस्थाहरुले आवश्यक सहयोग र समन्वय एवं सहजीकरण गर्ने छलफल पनि बैठकमा भएको छ । सबै पेट्रोलियम पदार्थ तथा ग्याँस उत्पादक उद्योग र वितरकहरूलाई कालोबजारी, कृत्रिम अभाव, बढी मूल्यमा बिक्री गर्ने जस्ता क्रियाकलापहरु हुन नदिने तर्फ सचेत रहन अनुरोध गर्ने निर्णय पनि बैठकमा भएको छ । ग्याँस, पेट्रोलियम पदार्थहरूको मितव्ययी प्रयोग, खपत न्यूनीकरण, सहज आपूर्ति, वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिने लगायतका विषयमा सम्बन्धित निकायहरूले जनचेतनामूलक सूचना एवं सन्देशहरू प्रवाह गर्ने, हाल कुनै पनि पेट्रोलियम पदार्थहरू र अन्य अत्यावश्यकीय वस्तुहरूको बजार आपूर्तिमा असहजता नरहेको हुँदा विचलित नहुन र आपूर्ति व्यवस्थाको नियमन कार्यमा सरकारी निकायहरूले प्रभावकारी ढंगले सम्पादन गरिरहेको जानकारी सर्वसाधारणलाई अनुरोध गर्ने निर्णय भएको बताइएको छ । छलफलमा बिभागिय सचिबहरु, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना, निमित्त सशस्त्र प्रहरी बल नायब महानिरीक्षक दीगविजय सुवेदी, अनुसन्धान निर्देशक किशोर चन्द, नेपाल आयल निगम प्रादेशिक प्रमुख धनगढीका मनोहर डि.सी., सुदूरपश्चिम प्रदेश पेट्रोलियम डिलर्सका चक्र मल्ल, कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष केशवराज जोशी, ग्यास डिलर्स एसोसिएसन कैलालीका छविराज भट्ट, सैपाल ग्याँस प्रा.लि. का संगम भण्डारी, वाणिज्य आपूर्ति कार्यालयका सुरेशप्रसाद जैसी लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।