पीआर लिने लामा र तामाङलाई सरकारले सोध्यो स्पष्टीकरण

काठमाडौं । विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिन आवेदन दिएको आरोपमा २ निजामती कर्मचारीसँग स्पष्टीकरण सोधिएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा अनुपस्थित रही विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन आवेदन दिएको देखिएकाले कम्प्युटर अपरेटर कुमारी लामा र दिपेश तामाङलाई स्पष्टीकरण सोधिएको हो ।

लामा र तामाङलाई ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (छ) र उपदफा (२) को खण्ड (ग) बमोजिम कसुर गरेको देखिएको उल्लेख गरिएको छ । साथै, सोही कसुरमा ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय किन नगर्ने भन्नेबारे ३० दिनभित्र स्पष्ट जवाफ दिन भनिएको छ ।

यसअघि पनि असार ४ गते निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम सूचना प्रकाशित गरिएको थियो । तर तोकिएको समयभित्र सफाइ पेश नगरेपछि पुनः ३० दिनको समय दिँदै स्पष्टीकरण माग गरिएको मन्त्रालयले जनाएको छ ।

Share News