गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको छैटौ शाखा कैलैयामा
काठमाडौं, २६ कात्तिक । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले कलैया,बारा जिल्लाको कलैयामा छैठौं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाबाट एटिएम सेवा, एस.एम.एस बैंकिङ्ग सेवा सुविधा, इन्टरनेट बैंकिङ्ग सेवा, विप्रेशन सेवा सुविधा तथा डीपी सेवा समेत रहेको फाइनान्स कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ । फाइनान्सले चाडै नै दमक तथा जितपुरमा थप शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । गत असार मसान्तसम्ममा निक्षेप संकलन २ अर्ब १७ करोड तथा कर्जा १ अर्ब ७९ करोड प्रवाह गरेको यस वित्तीय संस्थाको चुक्ता पूँजी ५०प्रतिशत हकप्रद सेयर तथा १२ प्रतिशत बोनस सेयर जारी पश्चात ४९ करोड ३९ लाख रुपैयाँ हुने बताइएको छ ।
जगदम्बा सिमेन्टलाई २ वर्षसम्म लगातार एनएस क्वालिटी अवार्ड
काठमाडौं, २५ कार्तिक । जगदम्बा सिमेन्टले लगातार दोस्रो वर्ष एनएस क्वालिटी अवार्ड पाएको छ । सन् २०१४ मा एनएस क्वालिटी लेटर अफ एप्रिसिएशन अवार्ड पाएको यस कम्पनीले सन् २०१५ मा पनि एनएस क्वालिटी लेटर अफ एप्रिसिएशन पाएको छ । राजधानीमा विहीबार आयोजित कार्यक्रमा उद्योगमन्त्री नविन्द्रराज जोशीले उक्त अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । जगदम्बा सिमेन्टमा विश्वस्तरीय सिमेन्ट उद्योगबाट आयातीत क्लिङकर प्रयोग हुँदै आएको छ भने यसका उत्पादनहरु दक्ष प्राविधिकहरुबाट निरीक्षण र प्रमाणित गरे पश्चात मात्र बजारमा लगिने हुँदा गुणस्तरमा एक रुपता भएको र उपभोक्ताहरुले रुचाएको कम्पनीको भनाई छ । बजारमा आफ्नो उत्पादनको बढ्दो माग तथा ग्राहकहरुको विश्वासलाई आत्मसात गर्दै कम्पनीले उत्पादनलाई समेत समयानुकुल परिस्कृत एवम् परिमार्जित गर्दै लगेको जनाएको छ । कम्पनीले आफ्ना उत्पादनहरुमा हालसम्म नेपाल गुणस्तरका चिन्हहरु ओपीसीमा नेपाल गुणस्तर ४९, पिपिसीमा नेपाल गुणस्तर ३८५ र पिएससीमा नेपाल गुणस्तर ३८४ सम्मान प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । कम्पनी क्वालिटी म्यानेजमेन्ट सिस्टम आईएसओ ९००१ः२००८, इन्भाइरोमेन्ट म्यानेजमेन्ट सिस्टम अवार्ड आइएबओ १४००१ः२००४ लगायतबाट समेत सम्मानित भइसकेको छ । त्यसैगरी कम्पनीले व्यूरो अफ इन्डिया स्ट्याण्डर्डबाट आईएस ८११२ र पीएससीमा आईएस ४५५समेत प्राप्त गरिसकेको कम्पनीले विहीबार जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।
दुर्घटनाबाटै सकिदैँछन् नेपालमा सिंगल इन्जिनका जहाज, सिंगल इन्जिनका नयाँ जहाज ल्याउनै प्रतिबन्ध
काठमाडौं २६, काठमाडौं । नेपालमा दुर्गम क्षेत्रको सारथि भनेर चिनिने गरेको सिंगल इन्जिनका जहाज एकपछि अर्को गरेर दुर्घटनाबाटै सकिन थालेको छन् । पटकपटकको सिंगल इन्जिनका जहाज दुर्घटनामा देखिएको प्राविधिक पक्षको कमजोरीका कारण पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरण ( क्यान)ले नयाँ सिंगल इन्जिनका जहाज आयातमा प्रतिवन्ध लगाएको छ भने भएकै जहाजमा पनि यात्रु बोक्न कडाइ गरेको छ । सिंगल इन्जिनका जहाजलाई यात्रु उडानमा प्रतिवन्ध लगाएर कार्गो उडानमा मात्रै प्रयोग गर्न प्राधिकरणले दिएको छ । नेपालमा पछिल्लो सयम यात्रु उडानमा भएको जोखिमलाई दृष्तिगत गरेर प्राधिकरणले सिंगल इन्जिनका वायुसेवालाई कार्गो उडानमा मात्रै सिमिति राखेको छ । कार्गो उडानमा मात्रै सिमिति गरेको भएपनि पछिल्लो समय सिंगल इन्जिनका जहाज दुर्घटनाबाट नै सकिन थालेका छन् । हाल नेपालमा गोमा, काष्टमण्डप र माकालुको मात्रै सिंगल इनिजनका जहाज रहेका छन् । यी मध्ये एयर काष्टमण्डप दुर्घटना भएको र प्राविधिक पक्ष कमजोर भएकै कारण प्राधिकरणले प्रतिवन्ध लगाएको छ भने मकालुसँग एउटामात्रै जहाज रहेको छ । मकालुको सो एउटा मात्रै जहाज पनि शुक्रबार हुम्लाको धावनमार्गमा फोर्स ल्याण्डिङ गरेको छ । जसका कारण यो जहाज तत्काल उडान गर्न नमिल्ने भएकोले प्राधिकरण स्रोतको भनाइ छ । काष्टमण्डपका एउटा जहाज उडान योग्य नहुँदा यी दुई कम्पनी जहाज विहिन भएका छन् । गोमा एयरसँग पनि दुई वटा सिंगल इन्जिको जहाज भएपनि यसले भने यात्रु उडान नभएर कार्गो उडानमा मात्रै केन्द्रित गरेको सम्वन्धित वायुसेवा कम्पनिको भनाइ छ । नेपालमा वायुसेवा निगमले डेढ दशकअगाडि संचालन गरेको सिंगल इन्जिनका तीन वटा जहा दुर्घटनाबाटै सकिए भने पछिल्लो समय उदाएका वायुसेवाको पनि अवस्था त्यस्तै भएको नेपाल नागरिक उड्डन प्राधिकरणको भनाइ छ । प्राधिकरणको अनुसार थप जहाज ल्याउन प्रतिवन्ध लाएको र भएकै जहाज पनि दुर्घटना हुन थालेको पनि सिंगल इन्जिनका वायुसेवा जहाजविहिन हुन थालेका हुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा यस अघि गठन भएको सिंगल इन्जिनका वायुसेवाको उडानमा प्रतिवन्ध लगाउन सकिने सुझाव दिएको थियो । सोही सुझावका आधारमा मन्त्रलायले प्राधिकरणलाई सिंगल इन्जिनका जहाजको उडानमा प्रतिवन्ध लागउको थियो । अदालतको अन्तरिम आदेशबाट यस्तो प्रतिवन्ध खुला गरेको भएपनि काष्टमण्डपको जहाज ६ महिना अगाडि दुर्घटना भएको प्रतिवेदन पछि विगत दुई महिनादेखि सिंगल इन्जिनका जहाजमा यात्रु उडानको अनुमति नभएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका उपमहानिर्देशक राजनराज पोखरेलका अनुसार सिंगल इन्जिनका जहाज अहिले निरुत्साहित छन् । जहाजलाई निरुत्साहित गर्नु भनेको प्रतिवन्ध नै हो तर यसको औपचारिक रुपमा प्राधिकरणले प्रतिवन्धको निर्णय भने गरेको छैन । सिंगल इन्जिनलाई यात्रु बोक्न दिने कि नदिने भन्ने विषयको मुद्धा अदालतमा विचाराधिन भएकोले प्राधिकरणले यस विषयमा औपचारिक निर्णय भने नगरेको उनको भनाइ छ ।
प्रभु बैंकले ३ महिनामा २८ करोड कमायो, गत वर्षभन्दा ८ प्रतिशतले बढी
काठमाडौं, २६ कात्तिक । प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २८ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव ८ प्रतिशतले बढी हो । तीन महिनामा कर र बोनस अघिको नाफा ५० करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । यस बैंकको विजनेश साइजमा भने उल्लेख्य वृद्धि देखिएको छ । बैंकको निक्षेप ६५ अर्ब २९ करोड रुपैयाँ छ । कर्जा प्रवाह ५१ अर्ब ७४ करोड रुपैयाँ छ भने लगानी ७ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजी ५ अर्ब ८८ करोड रहेको यस बैंकको संचित कोषमा ५५ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५५ पैसा छ । गत तीन महिनामा बैंकको खराब कर्जा ८.३८ प्रतिशतबाट घटेर ७.५४ प्रतिशतमा झरेको छ । बैंकमा कर्जा निक्षेप अनुपात ७४ प्रतिशत छ भने क्यापिटल एडेक्वेशी १०.५१ प्रतिशत रहेको छ ।
ग्लोबल आईएमई बैंक र अार्इएफसीबीच सहकार्यको प्रयास
काठामडौं, २६ कात्तिक । ग्लोबल आईएमई बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशनकासँग साझेदारीको प्रयास थालेको छ । यसै क्रममा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक मेङ्गेस्तु एलिमह्युबीच भेटघाट भएको छ । उनीहरुबीच भएको भेटघाटमा ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसन बीच एक आपसमा व्यवसायिक सहयोग आदान प्रदान गर्ने विषयमा कुराकानी भएको बैंकले जनाएको छ । भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, इन्टरनेशनल फाईनान्स कर्पोरेसनका कन्ट्रि म्यानेजर, वेन्डि वार्नर, आवासिय प्रतिनिधी, रेहेना रासिद लागयतको उपस्थिति रहेको थियो । इन्टरनेशनल फाईनान्स कर्पोरेसनले विभिन्न देशमा रहेका फाईनान्सियल संघ संस्थाहरुसंगको सहकार्यमा विभिन्न संघ संस्था तथा ती देशका नागरिकहरुको लागि लगानी तथा व्यवसायिक सुझाबहरु प्रदान गर्दै आइरहेको संस्था हो ।
एनसेलले पायो ‘टेलिकम कम्पनी अफ द इयर २०१६ अवार्ड’
काठमाडौं, २५ कार्तिक । नेपालको पहिलो निजी क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले यस वर्षको उत्कृष्ट दुरसंचार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्डबाट सम्मानित भएको छ । उक्त अवार्ड एनसेललाई अन्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले काठमाडौंमा आयोजना गरेको ‘२०१६ नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस्’ को एक भव्य समारोहमा बुधबार प्रदान गरेको हो । नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस् विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका कम्पनीहरुलाई प्रदान गरिएको हो । गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । “ग्राहकमा ध्यान केन्द्रित गर्दै उनीहरुको विविध संचार सेवाको आवश्यकतालाई परिपुर्ति गर्ने हाम्रो प्रयासले फेरी एक पटक सम्मान पाएकोमा हामी हर्षित छौं । यो अवार्ड एनसेलको उदाहरणीय विकास र उत्कृष्ट कार्यसम्पादनको प्रमाण हो,” पर्किन्सले भने । कम्पनीहरुको वास्तविक बजार सम्पादन सूचकहरु, समग्र विकास, नविनता र नेपाली अर्थतन्त्रमा पुर्याइको योगदान लगायतका आधारमा कडा मापदण्ड भित्र रहेर अवार्ड पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको थियो । “एनसेलको सफलता नेपालको सामाजिक तथा आर्थिक विकासका लागि काम गरिरहेका हाम्रा सम्पुर्ण कर्मचारी तथा साझेदारहरुको कठिन परिश्रम र समर्पणको फल हो । हामी हाम्रा ग्राहकहरुको भरोसा, प्रतिक्रिया तथा संलग्नताको लागि आभारी छौं, जसले गर्दा एनसेलले स्वदेशमा तथा विदेशमा विभिन्न सम्मान पाउन सफल भएको छ,’’ पर्किन्सले भने । एनसेल उत्कृष्ट तथा दिगो सेवा प्रदान गर्न कटिवद्ध रहेको कुरा पर्किन्सले बताए । सन् २०१६ मा एनसेलले पाएको यो तेस्रो पुरस्कार हो । गत फेबु्रअरीमा एनसेलले मोबाईल इन एमर्जन्सी एण्ड ह्युम्यानिटेरियन सिचुयसन्स् विधा अन्र्तगत जिएसएम एसोसिएसनले प्रदान गरेको ग्लोबल मोबाईल अवार्ड र गत महिना सिङ्गापुरमा फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ सम्मान पनि पाएको थियो ।
१० वटा शहरको एकिकृत रोडम्याप बन्दै, मध्यपहाडी र हुलाकी मार्गका शहर दोश्रो प्राथमिकतामा
काठमाडौं, २६ कात्तिक । सरकारले उपत्यका बाहिरका १० वटा शहरलाई व्यवस्थित र आधुनिक बनाउने रोडम्याप बनाउन थालेको छ । एकिृत र व्यवस्थित शहरीकरणको विश्वव्यापी मान्यता अनुसार शहरी विकास मन्त्रालयले त्यस्तो रोडम्याप तयार पार्न लागेको हो । ‘व्यवस्थित र एकिकृत शहरीकरणको योजना अनुसार उपत्यका बाहिरका १० वटा शहरलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाउन लागेका हौं’, शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले भने । मन्त्री केसीका अनुसार पोखरा, दाङ उपत्यका, बिराटनगर–धरान, बुटवल–भैरहवा, सुर्खेत, धनगढी, जनकपुर, बिरगञ्ज, नेपालगञ्ज र चितवनलाई एकिकृत शहरका रुपमा विकास गर्ने तयारी भएको हो । त्यसका लागि मन्त्रालयले काठमाडौं उपत्यका तीन जिल्लाको व्यवस्थित विकासका लागि गठन भएको उपत्यका विकास प्राधिकरण ऐनलाई संसोधन गर्न लागेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐनलाई संसोधन गरेर छाता ऐनका रुपमा विकास गर्ने र सोही अनुसार ती १० वटै शहरमा विकास प्राधिकरण गठन गरेर व्यवस्थित शहरीकरणको काम अघि बढाउने प्रक्रिया अघि बढेको मन्त्री केसीले बताए । ‘ढल, खानेपानी, बत्ति, सडक पुर्वाधार, खुल्ला क्षेत्र, सार्वजनिक सेवा प्रवाहको क्षेत्रको काम फरक फरक निकायले हेर्ने हो भने व्यवस्थित शहरीकरण सम्भव छैन, यी सबैलाई हेर्ने शक्तिशाली निकायको आवश्यकता छ, त्यसका लागि प्राधिकरण ऐनलाई संसोधन गरेर छाता ऐन बनाउने र थप शक्ति प्रत्यायोजित गर्नु आवश्यक छ’, मन्त्री केसीले भने । मन्त्री केसीका अनुसार ऐन संसोधनको प्रक्रिया अघि बढिसकेको छ । ऐन संसोधन भएसँगै ती १० वटै शहरमा शहरी विकासका लागि शक्तिशाली प्राधिकरणको गठन हुनेछ । सोही प्राधिकरणले ढल, खानेपानी, वक्ति, सडक, सार्वजनिक सम्पदा, खाली चौर, लगायतका सबै विकास पुर्वाधार निर्माणको नेतृत्व गर्नेछ । मध्यपहाडी लोकमार्गमा निर्माण गर्ने भनिएका १० वटा शहर र हुलाकी मार्गमा अन्य १० शहरलाई दोश्रो प्राथमिकतामा राखेर काम अघि बढाउने पनि उनले बताए । मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले पनि ऐन संसोधनको प्रक्रिया निकै अघि बढिसकेको बताए । उनले हाल काठमाडौंका तीन जिल्लामा प्राधिकरणको जिल्ला कार्यालय काम गरे जस्तै गरि ती शहरहरुमा छुट्टा छुट्टै प्राधिकरण गठन गरेर व्यवस्थित शहरीकरणको काम अघि बढाउने स्पष्ट पारे । दोश्रो चरणमा मध्यपहाडी लोक मार्गमा १० वटा शहर र हुलाकी राजमार्गमा पर्ने १० वटा शहरलाई त्यसरी विकास गर्ने तयारी मन्त्रालयले गरेको छ ।
निगमलाई नयाँ जहाजकै प्रस्ताव आयो, डेलिभरी समय छिटो भएकोले एयरवसको आवेदन परेन
काठमाडौं २६, कात्तिक । वायुसेवा निगमले एक हजार घण्टासम्म उडान गरेको जहाजको लागि प्रस्ताव माग गरेको भएपनि नयाँकै पनि आवेदन परेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई लामो दुरिको उडान गर्ने वाइडवडि नामक जहाज बेच्च १ इन्जिन सप्लाई गर्ने कम्पनी बाहेक १० वटाले मात्रै प्रस्ताव पेश गरेका छन । निगमले ४५ दिन अगाडि मागेको प्रस्तावमा विभिन्न वायुसेवा कम्पनी, लिजिङ कम्पनी तथा यसका भगीनि कम्पनीले निगमले मागेकै अनुसारको एयरवसको वाइडबडि जहाज दिन इच्छा देखाएको निगमले जानकारी दिएको छ । वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार निगमले एयरवसकै जहाज खरिद गर्ने भएपनि युरोपेली जहाज निर्माता कम्पनी एयरवसले भने आवेदन दिएन । कंसाकारका अनुसार एयरवसको जहाज निर्माता कम्पनीले भने निगमले मागको जहाज दिने समय छिटो भएकोले सो समयमा जहाज दिन नसक्ने भन्दै प्रस्ताव पेश गरेको छैन । कंसाकार आफैंले एयरवसलाई सोध्दा डेलिभरी समय छिटो भएकोले कम्पनीले नभ्याउने जवाफ दिएको पनि जानकारी दिए । उनका अनुसार नयाँ जहाजको प्रस्ताव नआउला कि भन्ने चिन्ता थियो । नयाँको प्रस्ताव परेकोले भने कुनै समस्या नहुने बताए । कंसाकारका अनुसार निगमलाई शून्य आवर उडान भएको (नयाँ जहाज) देखि एक हजार घण्टासम्म उडेको जहाजको प्रस्ताव परेको छ । नयाँ जहाजकै प्रस्ताव परेकोले पुरानो खरिद गर्न लागेको भन्ने नकारात्मक सोचाइ भएकासँग काम गर्न पनि सहज हुने कंसाकारको भनाइ छ । उनका अनुसार शून्य आवरदेखि २ पाँच सय घण्टा उडाएका जहाजको पनि प्रस्ताव परेको छ । कुनै लिजिङ वा वायुसेवा कम्पनीले अर्डर गरिसकेको जहाज उडानमा प्रयोग नभएकोले हामीलाई दिन इन्छुक भएकोले पनि नयाँ जहाजको पनि प्रस्ताव आएको कंसाकारको भनाइ छ । निगमका अनुसार केए एरो पाट्र्स, केजेटी इन्भेष्टमेन्ट एण्ड वन वल्र्ड क्लोजआउट लिमिटेड, रोन मोटा एन्ड एसोसिएट्स एयरक्राफ्ट सेल्स एन्ड पाट्र्स, एयरक्राफ्ट इन्भेष्टमेन्ट ग्रुपले निगमलाई जहाज दिन इच्छा देखाएको छ । निगमले मागे अनुसारको प्रस्ताव पेश गर्नेमा क्राउन कमर्सियल सर्भिस प्राली, सिनर्जी एरोस्पेस, एसटी एरोस्पेस, लि गु्रप डेल्टा, एएआर कर्पोरेशन र सूर्य एयर सपोर्टसमेत रहेको निगमका महाप्रवन्धक कंसाकारले बताए । उनका अनुसार एउटा कम्पनीले भने इन्जिन मात्रै उपलव्ध गराउने प्रस्ताव राखेकोले त्यसलाई समावेश गरिएको छैन । वायुसेवा निगमका सह प्रवक्ता शैलेश कंसारकाका अनुसार निगमले गत असोज १० गते मागेको ४५ दिने ग्लोबल टेण्डर बुधबार सकिएको हो । उनका अनुसार बुधबारसम्ममा आइका कम्पनीलाई निगमले लिस्टेड गरेर राखेको छ। निगमले मागे अनुसारको प्रस्ताव पेश गरेका यी कम्पनीमध्ये कुन कम्पनीले कति रुपैयाँमा जहाज उपलव्ध गराउँछन भन्ने विषयमा भने पूर्ण प्रस्ताव हेरेपछि मात्रै थाहा हुने बताए । निगमल सबै कम्पनीको प्रस्ताव हेर्ने र निगमलाई उपयुक्त कम्पनी छनोटको सुझाव दिन विहिबार नै एक प्राविधिक समिति गठन गरेको छ । निगमका सहायक प्रवन्ध निर्देशक आरबी शाहको संयोजकत्वमा ११ देखि १४ जनासम्मको मूल्यांकन समिति गठन भएको छ । सो समितिले दुई साताभित्रै प्रतिवेदन दिने कंसाकारले जानकारी दिए । सोही प्रतिवेदन समितिले निगमका महाप्रवन्धक समक्ष पेश गर्ने छ । सो प्रतिवेदनलाई महाप्रवन्धकले निगमको बोर्ड बैठकमा पेश गर्नेछन । बोर्डले उपयुक्त कम्पनी छनोटको निर्णय गर्ने र त्यसपछि सो कम्पनीसँग जहाज खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन दुइपक्षिय सम्झौता हुने पनि निगमले जानकारी दिएको छ । निगमले एयरवसको ए३३०–२०० सिरिजको वाइडवडि जहाज खरिद गर्ने भएको छ । यो जहाज २५० देखि २८० सिट क्षमताको हुनुपर्ने सर्त निगमले तोकेको छ । बढिमा एक हजार घण्टा उडान गरेको जहाजलाई निमगले किन्न सक्ने भएकोले सोही अनुसारको सर्त तोकेर आएकाको मात्रै निगमले प्रस्ताव हेर्ने भएको छ । जहाज खरिद गर्न निगमले २५ अर्ब रुपैयाँको जोहो पनि गर्नुपर्र्ने भएको छ । दुईवटा वाइडवडि जहाजको माग हामीले गर्ने भएकोले लिजिङ कम्पनी, एयरवसको जहाज उडान गरिरहेको वायुसेवा वा जहाज निर्माता कम्पनी जसले पनि प्रस्ताव हाल्न पाउने भएका छन् । निगममा परेको प्रस्तावमध्येबाट सस्तो र राम्रो छनोट हुने भएकोले खुला रुपमा कम्पनी छनोट गरेर जहाज किन्न पाउने विकल्पसहति प्रस्ताव माग गरिने छ ।