भूकम्पपछिको पदमार्ग पुनःनिर्माणका लागि १५ लाख पाउन्ड सहयोग
काठमाडौं, ८ कात्तिक । संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी)ले राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि १५ लाख पाउन्ड बराबरको अनुदान सहायता प्रदान गरेको छ । खासगरी भूकम्पबाट भत्केका दुर्गम क्षेत्रमा पदमार्ग र गोरेटोजस्ता महत्वपूर्ण पूर्वाधार पुनःनिर्माण गर्ने नेपाल सरकारको प्रयासलाई सघाउन डब्लुएफपीले उक्त अनुदानको उपयोग गर्ने डब्लुएफपीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भूकम्पबाट अति प्रभावित क्षेत्रका ६ वटा गोरेटो (एक सय २९ किमी) लाई पुनः सञ्चालनमा ल्याउन र थप ६ वटा (एक सय ५८ किमी)को प्राविधिक मूल्याङ्कन सम्पन्न गर्न सो सहायता प्रयोग गरिनेछ । साथै, नयाँ गोरेटोलाई मौसमी पहिरो थेग्ने र भूकम्प प्रतिरोधी हुने गरी निर्माण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । सो परियोजनाबाट धादिङ, गोर्खा र रसुवाका हिमाली क्षेत्रमा बसोबास गर्ने ५५ हजार एक सय ७५ जना प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वाससमेत लिइएको छ । नेपालको पदमार्ग पुनःनिर्माण कार्यमा डब्लुएफपी धेरै लामो समयदेखि संलग्न रहँदै आएको छ । गत वर्षको भूकम्पपछि करिव आठ सय ८० किमी पदमार्ग पुनः सञ्चालन गरी एक लाख ३० हजार जनसङ्ख्याका लागि पहुँच उपलब्ध गराउने कार्य सम्पन्न भइसकेको छ । “झन्डै १८ महिनाअघिको विध्वंसात्मक भूकम्पमा ग्रामीण नेपालको धेरै ठाउँका गोरेटो र सडकहरु भत्किएका थिए र त्यसको प्रभाव आजसम्म पनि अनुभव गरिएको छ,” डब्लुएफपी नेपाल प्रतिनिधि तथा राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले विज्ञप्तिमा भनेका छन् । गोरेटो बाटोको पहुँचले समुदायलाई बजारसम्म पुग्न र सामाजिक सेवा उपभोग गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । रासस
एक्सेल डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस दिने निर्णय राष्ट्र बैंकबाट स्वीकृत
काठमाडौं, ८ कात्तिक । एक्सेल डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस सेयर दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृती दिएको छ । त्यसका साथै बैंकले कर प्रयोजनको लागि राखेको १.३१५७९ प्रतिशत नगद लाभांश दिने निर्णयलाई पनि बैंकले स्वीकृत गरेको छ । बैंकले स्वीकृत गरेको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
यी हुन् सोमबार गुमाउने १० कम्पनीहरु
काठमाडौं, ८ कात्तिक । सोमबार सेयर बजारमा १३ दशमलब ५० अंकको गिरावट भएको छ । सो दिन परिसूचक दोहोरो अंकले घटेर १७६८ अंकमा पुगेको छ । सोमबार १२५ कम्पनीको १० लाख कित्ता सेयर ९२ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी ललितपुर फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । सो फाइनान्सका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् भने रकमका आधारमा प्रतिकित्ता सेयर १६ रुपैयाँ गुमाएका छन् । सिनर्जी फाइनान्सका लगानीकर्ताले ६ प्रतिशत गुमाएका छन् । उक्त संस्थाको प्रतिकित्ता सेयर करिब १६५ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, पोखरा फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ५ प्रतिशतले, सप्तकोशी फाइनान्सको ४.७६, सेवा विकास बैंकको ३.९४ र जबिल्स फाइनान्सको ३.९२ प्रतिशतले घटेको छ । त्यस्तै, लुम्बिनी फाइनान्सका लागानीकर्ताले प्रतिकित्ता सेयर १८ रुपैयाँ, नमस्ते वित्तिय संस्थाले ३० रुपैयाँ, सेती फाइनान्सले २० रुपैयाँ र ज्योती विकास बैंकले १६ रुपैयाँ गुमाएका छन् । प्रतिशतका आधारमा यी कम्पनीका लगानीकर्ताले करिब ४ प्रतिशत गुमाएका छन् । बजारमा सिर्जना फाइनान्सका लगानीकर्ताले प्रतिकित्ता सेयर २६९ रुपैयाँ कमाएका छन् । रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, कामना विकास बैंक र जनउत्थान लघुवित्ति विकास बैंकको क्रमशः ५ र ४ प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन फाइनान्स समूहको परिसूचक बाहेक अन्य समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३८.५६ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ् र हाइड्रोपावर समूहको परिसूचक क्रमश २४, १८ र १५ अंकले घटेका छन् । फाइनान्स समूहको परिसूचक भने ४.८२ अंकले उकालो लागेको छ । सो दिन सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टड बैंकको करिब १० करोड बढीको सेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ७ करोड रुपैयाँको र लुम्बिनी जनरल इन्स्योरेन्सको ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
सिद्धार्थ बैंकको ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा
काठमाडौं, ८ कात्तिक । सिद्धार्थ बैंकले ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो खाता सञ्चालनमा ल्याएको हो । सिद्धार्थ १८० दिने मुद्दती खाता छोटो अवधिमा आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकहरुलाई लक्षित गरि ७ दशमलब ५ प्रतिशतको आकर्षक प्रतिफलको साथमा सञ्चालनमा ल्याइएको हो । बैंकले आफना ग्राहकलाई उच्चतम प्रविधियुक्त विभिन्न सेवा तथा सुविधा प्रदान गर्नुका अतिरिक आकर्षक प्रतिफल सहित संचालनमा ल्याएको हो । यस नविनतम मुद्दती योजनाबाट बढि भन्दा वढि निक्षेपकर्ताहरु लाभान्वित हुने कुरामा बैंक विस्वस्त रहेको छ । बैंकले हाल नेपालभर ६४ शाखा, ८१ ए.टि.एम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
विकास समितिले भन्यो–आगामी असोजमा मेलम्चीको पानी राजधानी बासीको धारामा पुर्याउनु
काठमाडौं, ८ कात्तिक । व्यवस्थापिका संसदको विकास समितिले आगामी असोज महिना भित्रै राजधानी बासीका धारामा मेलम्चीको पानी ल्याइपुर्याउने गरि काम गर्न निर्देशन दिएको छ । सोमबार बसेको समिति बैठकले फेरी पनि निर्माण कम्पनीलाई समय नथप्न र २०७४ असोज भित्र राजधानीमा पानी ल्याउने गरि काम अघि बढाउन निर्देशन दिएको हो । समिति बैठकले सुरुङ निर्माण, प्रभावित क्षेत्रका जनतालाई रोयल्टी तथा लेभी प्रदान गर्ने, उपत्यका भित्र जारी पाइप बिछ्याउने काम, सुन्दरीजलमा निर्माण भैरहेको प्रसोधन केन्द्रको कामलाई समेत थप प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिएको छ । समितिले याङग्री र लार्के नदिको पानी समेत मेलम्ची आयोजनामा मिसाएर ल्याउने योजना कार्यान्वयनका लागि तत्कालै काम थाल्न पनि निर्देशन दिएको हो । त्यसका साथै, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको व्यवस्थापकिय क्षमता विकासमा ठोस काम गर्न पनि समितिले खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देशन दिएको छ । मेलम्चीको पानी रिङरोड बाहिरका उपभोक्तासम्म पुर्याउनका लागि क्षमता विस्तार तथा अन्य श्रोतहरुको खोजी गर्न पनि समितिले भनेको छ । समितिको बैठकमा सांसद रामकुमार भट्टराई, गणेश पहाडी, यज्ञ बहादुर थापा, टोप बहादुर रायमाझी, आङटावा शेर्पा, जनार्दन ढकाल, रञ्जना सरकार, प्रकाश शर्मा, गणेश ठगुन्ना लगायतले तोकिएको समयमै मेलम्ची आयोजना सम्पन्न गनुपर्ने धारणा राखेका थिए ।
होटल व्यवसायमा लगानी बढ्दै, करिब एक अर्ब रुपैयाँ लगानी थप
नेपालगन्ज, ८ कात्तिक । विगत चार वर्षको अवधिमा यहाँका होटल व्यवसायमा लगानी बढेको छ । मध्यपश्चिमाञ्चलको व्यापारिक सहर नेपालगन्जको होटल तथा पर्यटन व्यवसायमा पछिल्लो आँकडाअनुसार पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको हो । होटल अर्गनाइजेसन नेपाल नेपालगन्ज शाखाका अनुसार, पछिल्लो चार वर्षको अवधिमा सहरका होटल व्यवसायमा मात्र करिब एक अर्ब रुपैयाँ लगानी थप भएको छ । शान्ति सुरक्षामा आएको सुधार र पर्यटकको आगमन बढेकाले यहाँ ठूला अनि सुविधा सम्पन्न होटल निर्माणको क्रम पनि ह्वात्तै बढेको पाइन्छ । अर्गनाइजेसनका अनुसार, द्वन्द्वका समयमा असुरक्षाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेपछि बन्द गरिएका होटल पनि अहिले धमाधम खुल्दै गएका छन् भने पुराना स्नेह, किचनहट र सिद्धार्थ भ्यूलगायत ठूला होटलमा अहिले लगानीसमेत बढेकाले पर्यटकलाई सहज भएको छ । यस क्षेत्रमा पर्यटनको सङ्ख्या वृद्धि गर्न आकर्षक होटलमात्र पर्याप्त नभएकाले पर्यटनको सम्भावना रहेको स्थानलाई समेत व्यवस्थित बनाउन सरकारी चाँसोसमेत हुनुपर्ने अर्गनाइजेसनको सुझाव छ । रासस
मेलम्चीले खायो १९ अर्ब ५० करोड रुपैयाँ, आगामी असोजामा धारामा पानी
काठमाडौं, ८ कात्तिक । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा हालसम्म १९ अर्ब ५० करोड रुपैंयाँ खर्च भएको छ । कुल २३ अर्ब ४५ करोड ८६ लाख रुपैंयाँ लागत अनुमान गरिएको आयोजनाले ८१ प्रतिशत बजेट खर्चेर ८५ प्रतिशत काम सम्पन्न गरेको हो । हालसम्म आयोजना निर्माणका लागि दिइएको समयको ९४ प्रतिशत समय सकिएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्राई भन्छन–‘आगामी असोज महिना भित्र राजधानी बासीका धारामा मेलम्चीको पानी आइपुग्छ ।’ मेलम्ची खानेपानी आयोजनाका लागि सबै भन्दा जटिल मानिएको २६ किलोमिटर सुरुङमध्ये अब ७ किलोमिटर मात्रै खन्न बाँकी रहेको छ । खन्न बाँकी रहेको सुरुङको क्षेत्र जटिल भएकाले काम गर्न केहि असहजता भने बाँकी नै रहेको प्रमुख भट्टराईले बताए । मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी सुन्दरीजलमा निर्माण गरिएको प्रसोधन केन्द्रमा जम्मा हुनेछ । सो पानी सुरुमा चक्रपथ भित्र र किर्तिपुर तथा ठिमी नगरपालिकामा वितरण गरिनेछ । त्यस बाहेक याङग्री र लार्के नदिबाट ३४ करोड लिटर पानी थप्ने तयारी पनि अघि बढेको छ । सुख्खा समयमा मेलम्ची नदिबाट दैनिक १७ करोेड लिटर पानी ल्याइनेछ भने बर्षातको समयमा दैनिक ३४ करोड लिटर पानी ल्याइनेछ । सरकारले आयोजनाका लागि चालु आर्थिक बर्षमा ५ अर्ब ९८ करोड ४९ लाख २९ हजार बजेट बिनियोजन गरेको छ । गत बर्ष भने सरकारले आयोजनाका लागि ४ अर्ब १५ करोड ४७ लाख ६४ हजार रुपैंयाँ रकम बिनियोजन गरेको थियो । मेलम्ची आयोजनाले प्रभावित क्षेत्रका स्थानियहरुको जिवनस्तर सुधारका लागि सिन्धुपाल्चोकका ३० वटा र काभ्रेपलाञ्चोकका ५ गाबिसका एक लाख ३० हजार व्यक्तिको लागि पुर्वाधार, विद्युतिकरण, शिक्षा, स्वास्थ्य तथा आय मुलक तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै, मेलम्चीको पानी राजधानीबासीका घरघरमा पुर्याउने पुर्वाधारका रुपमा काठमाडौं उपत्यका खानेपानी तथा सरसफाई आयोजनाले धमाधम पाइप बिछ्याउने काम गरिरहेको छ । सुन्दरीजलबाट चावहिल हुँदै रिङरोडसम्मको मुख्य ६० दशमलब ६ किलोमिटरमध्ये २८ दशमलब ५३ किलोमिटर पाइप बिछ्याईसकिएको आयोजना प्रमुख तेजराज भाटले बताए । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि ६७० किलोमिटर पाइप सञ्चाल विस्तारको काम भैरहेको छ । जसमध्ये ४१५ किलोमिटर क्षेत्रमा पाइप बिछ्याइसकिएको छ । ५० हजार घनमिटर पानी भण्डारण क्षमता भएका ६ वटा ट्यांकी निर्माणको काम पनि ६२ प्रतिशत सम्पन्न भैसकेको उनले जानकारी दिए ।
नेपालका लागि भियतनामका अवैतनिक वाणिज्य दूतमा डा.राजेश काजी श्रेष्ठ नियुक्त
काठमाडौं, ८ कात्तिक । नेपालका लागि भियतनामका अवैतनिक वाणिज्य दूतमा डा. राजेश काजी श्रेष्ठ नियुक्त भएका छन् । नेपालका लागि भियतनामका राजदूत टोन सिन्ह थानहोले आज एक कार्यक्रम बीच वाणिज्यदूतको कार्यालय समुद्घाटन गरेका हुन् । वाणिज्यदूतको कार्यालय स्थापनाले नेपाल र भियतनाम बीचको व्यापार, लगानी तथा पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग पुग्न जाने छ । लाजिम्पाट स्थित वाणिज्यदूतको कार्यालयको समुदघाटन पश्चात वाणिज्यदूतको निवासमा झण्डोत्तलन कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा नेपाल र भियतनामको राष्ट्रिय गानबाट कार्यक्रम प्रारम्भ गरिएको थियो । कार्यक्रमका अवसरमा राजदूत टोन सिन्ह थानहोले नेपालमा भियतनामको वाणिज्यदूत स्थापनाले नेपाल भियतनाम विचको आर्थिक, व्यापारिक तथा सांस्कृतिका सम्वन्ध अभिवृद्धिमा मद्दत पुग्न जाने विश्वास व्यक्त गरेका छन् । उनले नेपाल र भियतनाम विच सांस्कृतिक एकता रहेको बताउंदै भियतनामका बुद्ध धर्मावलम्वीहरुलाई नेपालमा पर्यटकको रुपमा भित्र्याएर नेपालले आर्थिक फाईदा लिन सक्ने बताए । यसै गरी भियतनामका व्यवसायीहरु नेपालमा लगानी गर्न उत्सुक रहेकोले वाणिज्यदूतको कार्यालय स्थापनाले लगानी अभिवृद्धि गर्न समेत मद्दत पुग्ने उनले जानकारी गराए । कार्यक्रमका अवसरमा संक्षिप्त मन्तव्य दिदैं वाणिज्यदूत डा. राजेश काजी श्रेष्ठले भियतनाम सरकारले आफूलाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेकोमा खुशी व्यक्त गर्दै दुई देश विचको आर्थिक तथा सांस्कृतिक क्षेत्रको विकासमा आफूले पूलको भूमिका निर्वाह गर्ने जानकारी गराए । उनले भियतनाम पनि बुद्ध दर्शनबाट प्रभावित रहेकोले दुवै देशले धार्मिक पर्यटनको माध्यमबाट प्रशस्त फाईदा लिन सक्ने बताए । वाणिज्यदूत श्रेष्ठले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेकोले कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका सेवा क्षेत्र बारे आफूले भियतनामको पूजीं र प्रविधि भित्र्याउन तथा नेपाली उद्यमी व्यवसायीहरुलाई भियतनामको बजार बारे अवगत गराउने बताउदै नेपाली उत्पादनको भियतनाममा बजारीकरण गर्न सक्दो भूमिका निर्वाह गर्ने बताएका छन् ।