असोज मसान्तसम्ममा ४१ अर्व राजस्व संकलन, लक्ष्य भन्दा १०३ प्रतिशत बढी
काठमाडौं, ९ कात्तिक । आर्थिक वर्ष २०७३/०७४ असोज मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ असोज महिनासम्मको राजस्व संकलनको लक्ष्य ४० अर्व २८ करोड ५५ लाख १९ हजार रुपैयाँ रहेकोमा ४१ अर्व ३७ करोड २८ लाख ६९ हजार रुपैयाँ संकलन भएको छ । उक्त रकम संकलनमा लक्ष्यको तुलनामा १०३ प्रतिशतको प्रगति भएको छ । शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ १७ अर्व १६ करोड ७२ लाख ३३ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर १४ अर्व ५७ करोड १ लाख ८७ हजार रुपैयाँ र अन्तःशुल्क तर्फ ९ अर्व २२ करोड ४३ हजार रुपैयाँ संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ११० प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०२ प्रतिशत र अन्तशुल्क तर्फ ९३ प्रतिशत हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः १७ करोड ३७ लाख ६८ हजार रुपैयाँ र २४ करोड १६ लाख ३८ हजार रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९६ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८३ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १३८ प्रतिशत र मूल्य अभिवृद्धि कर वृद्धिदर १२३ प्रतिशत रहेको छ । त्यस्तै, अन्तशुल्कको वृद्धिदर १६८ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १२९ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३३ प्रतिशत रहेको छ ।
सडक खन्ने काम आर्मीको होइन, हाम्रो हो
देवेन्द्र कार्की, महानिर्देशक- सडक विभाग सेनाले हामीलाई बिस्फोटक पदार्थ नदिने, अनि सडक विभागले ट्रयाक खोल्न सक्दैन भनेर आरोप लगाउने ? जसको मुल पेशा नै सडक बनाउनु हो उसले मात्र सडक बनाउन सक्छ । काठमाडौं उपत्यकाको २५ प्रतिशत भन्दा कम सडक मात्रै सडक विभागले हेर्ने गरेको छ । नदी किनाराका कुनै पनि सडकको स्वामित्व सडक विभागसँग छैन । उपत्यकाको सडक केही महानगरपालिकाले हेर्छ, केही काठमाडौं उपत्यका विकास प्राधिकरण र अन्य निकायले हेर्छन् । उपत्यकामा जुन जुन सडक विभागले हेरेको छ, तिनको अवस्था राम्रो छ । विभागको क्षेत्राधिकारमा नभएका सडकको अवस्था र गुणस्तरबारे विभाग जिम्मेवार र जवाफदेशी बन्न सक्दैन । पूर्व पश्चिम राजमार्गका पुलहरुको अवस्था केही खराब छ, अबको केही वर्षभित्रै त्यो समस्या पनि समाधान हुन्छ । विभागले करिब ८ हजार किलोमिटर सडक मात्रै हेर्ने गरेको छ । बेनी जोमसोम सडकको सबै कमजोरी हामी स्वीकार गर्न तयार छौं । समाधानका लागि पनि तयार छौं । कर्णाली करिडोर सिंगल लेनको भयो भन्ने कुरा पुरानो हो । अब नयाँ कुनै पनि सडक सिंगल लेनका हुँदैनन् । बाग्लुङ–पोखरा सडक स्तरोन्नतिको काम अघि बढिरहेको छ । पासाङ ल्हामु सडकको राइट अफ वेको समस्या धेरै ठाउँमा छन् । मुल मार्गमा ५० मिटर र सहायक मार्गमा ३० मिटरको कानुनी व्यवस्था छ । त्यसमा नीतिगत व्यवस्था गर्नु आवश्यक छ । सबै निर्वाचन क्षेत्रमा निर्माण गर्ने भनिएको एक–एक वटा बहुबर्षिय सडकका लागि एक खर्ब २२ अर्ब रुपैंयाँ रकम आवश्यक पर्ने देखिन्छ । बजेटको तर्जुमा गरिदिने हो भने निर्माणको काम गर्न विभागलाई कुनै समस्या छैन । त्यसका लागि प्रत्येक वर्ष २० अर्ब रुपैंयाँ चाहिन्छ । गत साल बजेट मागेर अर्थमन्त्रालयमा फाइल पठाएका थियौं । अर्थले पैसा दिन सकिन्न भन्यो । यसपाली पनि फाइल पठाएका छौं । पैसा आयो भने काम गरिन्छ । पहाडी क्षेत्रमा सडकको ट्रयाक खोल्ने काम जटिल छ । त्यसका लागि ठूलो मात्रामा बिस्फोटक पदार्थ चाहिन्छ । तर सेनाले हामीलाई बिस्फोटक पदार्थ दिनै मान्दैन । सबै प्रक्रिया पुर्याएर फाइल पठाउँदा पनि बिस्फोटक पदार्थ पाईरहेका छैनौं । सडक बनाउने निकाय कुन हो ? सांसदहरुले भनिदिनु पर्यो । सडक बनाउने काम सडक विभागको हो । सडक बनाउन सबै भन्दा प्राबिधिक रुपले सक्षम निकाय पनि सडक विभाग नै हो । कमी कमजोरी सुधार्न तयार छौं तर सडक बनाउने जिम्मेवारी हामीलाई नै दिनुपर्यो । यहाँ त सडक विभागले ट्रयाक खोल्न सक्दैन, त्यसैले आर्मी (सेना)लाई दिनुपर्छ भन्न थालिएको छ । म यहाँ नाम लिन चाहान्न तर कतिपय सांसदहरुले नै पनि सडक विभागले ट्रयाक खोल्न सक्दैन, त्यसैले आर्मीलाई दिनुपर्छ भन्ने गर्नुभएको छ । जस्ता सुकै कठिन ठाउँमा पनि ट्रयाक खोल्न सडक विभाग सक्षम छ तर हामीलाई बिस्फोटक पदार्थ सहज रुपमा उपलब्ध गराउनुपर्छ । आर्मीले हामीलाई बिस्फोटक पदार्थ नदिने अनि सडक विभागले ट्रयाक खोल्न सक्दैन, त्यसैले आर्मीलाई दिनुपर्छ भन्न पाइन्छ ? आर्मीले भन्दा धेरै छोटो समयमा र धेरै राम्रोसँग ट्रयाक खोल्न सडक विभाग सक्षम छ तर बिस्फोटक पदार्थ सहज ढंगले उपलब्ध गराउनुपर्छ । सडक विभागले विगतमा पनि धेरै सडक बनाएर देखाएको छ, अहिले पनि बनाईरहेको छ र भविष्यमा पनि जटिल र ठूला सडक बनाउन सक्छ । तर त्यसका लागि हामीलाई अप्ठेरो सृजना भने गर्नु भएन् । सडक विभागको त स्थापना नै सडक बनाउनका लागि भनेर गरिएको हो । अनि यहि विभागले सडक बनाउन नसकेर अरु कसैले सक्छ ? यस्तो पनि कहि हुन्छ । हाम्रो कामै सडक बनाउने हो । जसको मुल पेशा नै सडक बनाउनु हो उसले सडक बनाउन नसक्ने अनि अर्काे निकायले चाही सक्ने भन्ने कुरा तर्क संगत हुनै सक्दैन् । कुन सडक कहाँ पुग्यो ? गल्छीदेखि बेत्रावति हुँदै त्रिशुली नदिको किनारै किनार मैलुङ हुँदै स्याफ्रुबेसी भएर रसुवागढी जाने सडक तीन खण्डमा काम भैरहेको छ । गल्छीदेखि मैलुङको ४५ किलो सडक विभागले बनाउँदैछ । मैलुङदेखि स्याफ्रुवेसीसम्मको १८ किलोमिटर सेनाले बनाउँदैछ । र त्यहाँबाट रसुवागढीसम्मको १६ किलोमिटरको सडक चीन सरकारले बनाउने भनेर अध्ययन गरिरहेको छ । गल्छी मैलुङमा ठेक्का लागेको २ बर्षभित्र निर्माण सम्पन्न गर्न सक्छौं । त्यो २ लेनको सडक हुन्छ । टेण्डर प्रक्रिया अघि बढेको छ । पोखरा बेनी जोमसोम सडकमा भने जस्तो काम भैरहेको छ । पोखरादेखि बेनी देखि जोमसोम सडकको अवस्था त्यति राम्रो छैन् । खासै काम पनि भैरहेको छैन् । जोमसोम देखि कोरला सडकमा भने टेण्डर लागिसकेको छ । कम्पनी छनौट पनि भैसकेको छ । अब काम सुरु हुन्छ । अरनीको राजमार्गमा अहिले पनि स साना सवारी साधन चलिरहेका छन् । सडक विभागले पनि काम गरिरहेको छ भने केही चिनियाँ कम्पनीले पनि चीन सरकारका तर्फबाट काम गरिरहेका छन् । पाँच ठाउँमा चीनियाँ कम्पनीले काम गरेका हुन् । ३२ करोडको लागतमा जुरे र कोठेमा विभागले काम गरिरहेको छ । लिपिङ, जुरेको सय किलोमिटर, घट्टेखोला र दयाले भिर र चाकुमा चिनियाँहरुले काम गरिरहेका छन् । कर्णाली करिडोमा नेपाली सेनाले काम गरिरहेको छ । कालीकोटको खुलालुलेखि बाजुराको गढवाल हुँदै हुम्लाको कवाडीसम्मको १११ किलोमिटरमा सेनाले निर्माण गरिरहेको छ । कवाडीदेखि सिमिकोटसम्मको ८५ किलोमिटरमध्ये ५० किलोमिटर सडक विभागले बनाइरहेको छ । हिल्सादेखि सिमिकोटसम्मको ९५ किलोमिटरमा सडक विभागले काम गरिरहेको छ । त्यसमा ४० किलोमिटरमा त अहिले पनि साना गाडी गुडिरहेका छन् । बाँकी १८ किलोमिटरमा चट्टान भएकाले ट्राक खोल्न अलि समस्या देखिएको छ । यसमा पनि यसै बर्षदेखि गाडी गुड्न सक्ने बनाउन सक्छौं । चैनपुरदेखि ताक्लाकोटसम्मको ९० किलोमिटरमध्ये ६० किलोमिटरको डिपिआर तयार भैसकेको छ । सोमध्ये पनि ३० किलोमिटरको डिपिआर बनाउने तयारी भैरहेको छ । ३० किलोमिटरसम्ममा अहिले पनि गाडीहरु गुडिरहेका छन् । अहिले एक करोड ८० लाख मात्रै बजेट विनियोजन भएको छ । त्यसले अलि पुग्दैन् । हुलाकी राजमार्गको पहिलो र दोश्रो चरणका कामहरु क्रमशः अघि बढिरहेका छन् । भारत सरकारले १० वटा सडक र नेपालले ६ वटा सडक बनाउने भन्ने छ । हुलाकी सडकका अधिकांश सडकमा एक महिना भित्रै निर्माण व्यवसायी कार्यक्षेत्रमा पुगिसक्नेछन् । हुलाकी सडकमा १४९ वटा पुल छन् । पहिलो चरणमा ६५ वटा र दोश्रोमा ८४ वटा पुल छन् । हालसम्म ५३ वटा पुल बनिसके । ५८ वटा निर्माण भैरहेका छन् । अब ३८ वटा पुल मात्रै बनाउन बाँकी छ । यो ठुलो उपलब्धि हो । फ्लाई ओभरमा हामीले खासै प्रगति गर्न सकेका छैनौं । बानेश्वरमा फ्लाईओभर बनाउने भनेर चार करोड बजेट पनि विनियोजन भएको थियो । त्यो काम केही अघि बढेको थियो र पछि त्यसै सेलायो । जापान सरकारको सहयोगमा फ्लाईओभरको अध्ययन भैरहेको छ । महाकली सडकमा बजेट फ्रिज भैरहेको अवस्था थियो । अहिले विवादहरु प्नि साघुँरिएर गएका छन् । कञ्चनपुर महेन्द्रनगर क्षेत्रदेखि नै काम गर्नुपर्ने अवस्था छ । त्यसमा सडक विभाग साह्रै गम्भिर ढंगले काम गरिरहेको छ । सडक पुर्वाधारमा गुणस्तरको सवाल साह्रै महत्वपुर्ण मानिन्छ । हामीसँग प्राबिधिक जनशक्ति छैनन् । इञ्जिनियर र सब इञ्जिनियरहरुको साह्रै ठूलो अभाव छ । हामीलाई करार वा अस्थायी जनशक्ति आपुर्ति गरिदिने व्यवस्था गर्नुुपर्छ । अनि मात्रै सडक पुर्वाधारको गुणस्तरमा सुधार आउँछ । हामीसँग ३४ वटा डिभिजन छन् । त्यसमा काठमाडौं भक्तपुर, ललितपुर र पोखरा तथा बुटवल बाहेक अन्त जनशक्तिको साह्रै खडेरी छ । स्थायी बाहेक अस्थायी पदपुर्ति गर्न नपाउने व्यवस्था छ । अर्काे कुरा भनेको बिटुमिनको गुणस्तर पनि आयात गर्दा नै चेकजाँच गर्ने व्यवस्था गरिदिनु पर्छ । लुम्बिनी अञ्चलमा निर्माण सामग्रीको अभावमा काम अघि बढ्न सकिरहेका छैनन् । शहरमा बिजुलीका पोल मात्रै व्यवस्थित गर्ने हो भने पनि सडक निर्माणको कामले धेरै गतिलिने थियो । (सडक विभागका महानिर्देशक कार्कीले व्यवस्थापिका संसदको विकास समितिमा राखेको धारणाको सम्पादित अंश)
तिहारमा बत्ति बाल्ने पालाको मूल्य र माग बढ्दो, उत्पादन घट्दो
भक्तपुर, ९ कात्तिक । दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर भ्याइनभ्याई छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याई भएको हो । माटोको अभाव हुने, तिहारमा मात्रै पाला, धुपौरालगायतको माग बढ्ने र अरु बेलामा माटोको भाँडाको माग कम हुनथालेपछि यो पेसामा सम्लग्न कुमाले विस्थापित हुँदै गएकाले उत्पादनमा समेत कमी आएको छ । यसवर्ष पाला बनाउने प्रजापतिको सङ्ख्या घटेपछि पेसा अङ्गाल्दै आएकाहरुलाई भने पाला बनाउन भ्याइनभ्याई भएको हो । तिहार नजिकिँदै गएको र मागअनुसारको पाला, धपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याइनभ्याई भएको भक्तपुर नगरपालिका–१२ पोटरीस्क्वायरका राजेश प्रजापतिले बताए । गतवर्ष ६० हजार पाला बिक्री गरेको बताउँदै उनले भने – “धेरै जना यो पेसाबाट विस्थापित भएका छन्, पालाको माग बढेको छ, तर उत्पादन कम छ, मेरो छजनाको परिवार अहिले बिहानदेखि बेलुकासम्म खटेको छ ।” पाला बनाउँदै आएका न्हुछेकुमार प्रजापतिले परिवारमा नौजना भए पनि अन्य पेसामा लागेकाले आफू एक्लैले यो पेसालाई निरन्तरता दिएको बताए । पालाको माग बढे पनि माटोको अभाव र काम गर्ने मान्छे नहुँदा मागअनुसारको उत्पादन हुन नसकेको बताउँदै उनले यसवर्ष माग र मूल्य दुवै बढेको बताए । विगत ४० वर्षदेखि माटोका भाँडा बनाउँदै आएका बुद्धिराम प्रजापतिले यो पेसाबाट वर्षभरि गुजारा चलाउन नसक्ने र माटो पनि नजिक नपाइएपछि टाढाबाट किनेर ल्याउनुपरेकाले यो व्यवसाय नै सङ्कटमा परेको बताउछन् । तिहारका लागि माटोको पाला बनाएर बिक्री गर्दै आएका स्थानीयवासी सुजन प्रजापतिले भूकम्पले पनि यो पेसालाई विस्थापित गरेको बताए । भक्तपुरमा यसवर्ष होलसेलमा एउटा पालाको एक रुपैयाँ ५० पैसा र खुद्रा मूल्य रु दुईमा बिक्री भइरहेको बताए । गतवर्षको तिहारमा एउटा पालाको ७५ पैसादेखि एक रुपैयाँसम्ममा बिक्री गरे पनि यसवर्ष भने यसको मूल्य बढेको उनीहरु बताउँछन् । भक्तपुर र थिमिमा उत्पादन भएको पाला, काठमाडौँ, पोखरा, नुवाकोट, नेपालगन्ज, भैरहवा, काभ्रे, जिरी, दोलखालगायतका जिल्लामा खपत हुने गरेको छ । रासस
तिनाउ विकास बैंकको २५ प्रतिशत बोनस र ३५ प्रतिशत हकप्रद सेयर पारित
काठमाडौं, ९ कात्तिक । तिनाउ विकास बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि १ दशमलब ३१५९ प्रतिशत नगद लाभांश दिने बैंकको निर्णय पारित भएको छ । त्यसका साथै कम्पनीले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त बैंकको निर्णयलाई सोमबार बसेको बैंकको १०औँ वार्षिक साधारणसभाले पारित गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३४ करोड रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी ४२ करोड ६७ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ५ सय रुपैयाँमा कारोबार भएको हो ।
एनबी इन्स्योरेन्सको सेयर प्रतिकित्ता १८६० सम्ममा बिक्यो, नेप्सेमा कारोबार अझै हुन सकेन
काठमाडौं, ९ कात्तिक । लामो समयदेखि नेप्सेमा कारोबार हुन नसकेको एनबी इन्स्योरेन्सको सेयर लिलामी प्रक्रियामा प्रतिकित्ता १८ सय ६० रूपैयाँसम्म बिक्री भएको छ । कम्पनीले केही समय अघि हकप्रद सेयर निश्काशन गर्दा आवेदन नपरेको सेयर लिलामीमा बिक्री गर्दा लगानीकर्ताले उच्च मूल्य तिरेका छन् । हकप्रद सेयर निष्काशनको क्रममा आवेदन नपरेको संस्थापक र सर्वसाधारण समूहको गरी कुल ४३ हजार चार सय ३७ कित्ता सेयर लिलामीमा राखेको थियो । उक्त सेयरमा सर्वसाधरणतर्फको सेयरका लागि प्रतिकित्ता न्यूनतम ११ सय ५१.५१ रूपैयाँदेखि अधिकतम १८ सय ६० रूपैयाँसम्मको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ । कम्पनीले सर्वसाधारण समूहमा ४१ हजार आठ सय ३७ कित्ता सेयर मूल्य बराबरका आधारमा लिलामीमा बिक्री गरेको हो । संस्थापकतर्फ चार सय ५५ र पाँच सय २१ रूपैयाँमा टेन्डर हाल्नेले पाएका थिए । एनबी इन्सुरेन्सले १६ सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो । नेप्सेमा यस कम्पनीको पछिल्लो सेयर कारोबार प्रतिकित्ता १५४ रुपैयाँमा कारोबार भएको छ । तीन वर्षअघि कम्पनी समस्यामा परेपछि यसको सेयर कारोबार प्रतिकित्ता ५० रुपैयाँ सम्ममा झरेको थियो । त्यसपछि लामो समय सेयर कारोबार बन्द भयो । त्यसबीचमा कम्पनीमा नयाँ लगानीकर्ता प्रवेशसँगै व्यवस्थापन परिवर्तन भएको छ । प्रतिदिन १० प्रतिशत भन्दा बढी मूल्य वृद्धि गरी सेयर कारोबार गर्न नमिल्ने नेप्सेको नियम रहेको तर लगानीकर्ता उच्च मूल्यमा मात्र बिक्री गर्न तयार देखिएपछि यस कम्पनीको सेयर कारोबार हुन सकिरहेको छैन । आज पनि यस कम्पनीको सेयर खरिद गर्न चाहानेले प्रतिकित्ता १५७ रुपैयाँ तिर्न चाहेको छ र तर बिक्रेता छैन ।
यति एयरलाइन्सले २९ सिट क्षमताका जहाज विस्थापन गरेर ७२ सिटको ल्याउँदै, प्रतिस्पर्धा बुद्ध एयरसँग
काठमाडौं ९, कात्तिक । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी यति एयरलाइन्लसले जहाजको उडान क्षमता विस्तार गर्ने भएको छ । हाल ५ वटा २९ सिट र एउटा ३० सिट क्षमताको जेट स्टीम जहाज उडाइरहेको यति एयरले जहाजको उडान क्षमता बढाउन ७२ सिट क्षमतको जहाज ल्याउने भएको छ । यो एटीआर नामक ७२ सिट क्षमताको जहाज ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष अनुमति मागेको छ । मन्त्रालयक अनुसार यो वायुसेवाले ७२ सिट क्षमताका चार वटा एटीआर जहाज ल्याउन मन्त्रायसमक्ष अनुमति मागेको हो । मन्त्रालयसमक्ष यतिले फ्ल्टि थप (जहाजको संख्या बढाउने) अनुमति मागेको हो । मन्त्रालयका अनुसार वायुसेवा कम्पनीलाई क्षमता बढाउनु र जहाज संख्या थप गर्न सहजीकरण नै गर्ने छ । जसका कारण यतिले एकपटका २९ जना मात्रै बोक्ने जहाजलाई हटाएर एकैपटक ७२ जना बोक्ने जहाज ल्याउने तयारी थालेको जानकारी दिएको छ । यति एयरले हाल काठमाडौंबाट पोखरा, विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवासहितका सहरी क्षेत्रका (सुगम गन्तव्यमा)मा नियमित उडान गरिरहेको छ । यो वायुसेवाले ताराका ७ वटा जहाजमार्फत विभिन्न दुर्गम क्षेत्रका पहाडी गन्तव्यमा पनि उडान गरिरहेको छ । तारासँग दुर्गम क्षेत्रको लागि उडान अनुकुल रहेको २१ सिट क्षमताको ट्वीअटर जहाज रहेको छ । यतिले भने सुगम क्षेत्रमा मात्रै र ताराले विभिन्न दुर्गम क्षेत्र लुक्ला, हुम्ला, जुम्ला, सुर्खेतलगायतका क्षेत्रमा उडान गर्ने गरेको छ । यतिले खरिद गर्ने तयरी गरेको एटीआर ७२—५०० नामक जहाज एउटाको बजार मूख्य करीब डेढ अर्ब रुपैयाँ रहेको छ । यतिले चारवटा जहाज खरिद गर्दा बजार मूल्यमा कम्पनीलाइ छुट उपलव्ध हुने भएकोले पनि करीब पाँच अर्ब रुपैयाँ जहाज थप गर्नमा खर्च हुने उल्लेख छ । प्रतिस्पर्धा बुद्ध एयरसँग निजी क्षेत्रका दुई वायुसेवा कम्पनी यति एयरलाइन्स र बुद्ध एयर करीब एउटै समयमा स्थापन भएका हुन । दुबै कम्पनीले डेड दशक पार गरिसकेका छन् । बुद्ध एयरले बीचक्राफ्ट नामक जहाजलाई विस्थापन गरेर ६ वटा एटीआर जहाज संचालन गरेको छ । बुद्धसँग ४२ सिट क्षमतको तीन र ७२ सिट क्षमतको ३ वटा एटीआर जहाज रहेको छ । बुद्धले पनि काठमाडौंबाट पोखरा, विराटनगर, धनगढी, नेपागन्ज, भैहरवा, भरतपुरसहितका सुगम क्षेत्रमा विमानस्थमा मात्रै उडान गर्र्ने गरेको छ । बुद्ध एयरले सुगम क्षेत्रका विमानस्थलमा मात्रै उडान गर्ने र ठूलो जहाज संचालन गरेकोले यसको बजार हिस्सा ६० प्रतिशत भन्दा बढी रहेको छ । यतिले नयाँ एटीआर थप गरेपछि यो वायुसेवाको सीधा प्रतिस्पर्धा बुद्ध एयरसँगै हुने उल्लेख छ । यतिले चार वटा ठूला जहाज थप गरेपछि हाल संचालनमा रहेको जेटस्टिमको तीन वटा उडानको यात्रु एउटै उडानमा एटीआरले बोक्न सक्छ । जसका कारण इन्धन, कर्मचारी, समयको बचत हुने र वायुसेवा लाभमा जाने यति एयरको भनाइ छ ।
अरूण कावेली पावरको साधारण सेयर आवेदन खुला, बढीमा १५ हजार कित्ता आवेदन गर्न पाइने (संकलन केन्द्र सूचिसहित)
काठमाडौं, ९ कात्तिक । अरुण कावेली पावर लिमिटेडको साधारण सेयर आजदेखि आवेदन खुला भएको छ । कम्पनीले २७ लाख ६० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि खुला गरेको छ । ३० लाख कित्ता सेयर बिक्री गर्नु पर्नेमा कर्मचारीलाई ९० हजार कित्ता र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याएकोले सर्बसाधारणका लागि २७ लाख ४० हजार कित्ता छुट्याइएको कम्पनीले जनाएको छ । छिटोमा कात्तिक १२ गते आवेदन बन्द हुने यस सेयर कम्तिमा ५० र बढीमा १५ हजार कित्ता सेयर आवेदन गर्न सकिने छ । अरुण कावेली पावरको केन्द्रीय कार्यलय थापाथली, सिद्धार्थ बैंकको शाखाहरु काठमाडौं उपत्यकामा अनामनगर, त्रिपुरेश्वर, ठमेल, स्वयम्भू, शंखमुल, सातदोवाटो, पाटन, पुरानो बानेश्वर, महाराजगन्ज, कुमारीपाटी, कान्तिपथ, कलंकी, बौद्ध, गौंगबु, गठ्ठाघर, पोखराको वगर, विरौटा, बुद्धचोक, चिप्लेढुङ्गा, पस्याङ्ग, मोखरा मेन्न ब्रान्च, सभागृह, बर्दिवास, बौनिया, बेलटार, भैरहवा, विराटनगर, विरगंज, विएनवि, बुटवल, चन्द्रगढी, डडेलधुरा, दैलख, दमक, दमौली, धनगढी, धरान, घोराही, हेटौडा, इटहरी, जनकपुर, कैलाली, खाँदबारी, कोहलपुर, कृष्णनगर, महेन्द्रचोक, नाम्चे, नारायणगढ, परासी, सरस्वतीतगर, सिमरा, सिन्धुली, टाँडी, टिकापुर तुलसीपुर, उर्लाबारी र माछापुच्छ्रे बैंकको फिदिम शाखाबाट आवदेन गर्न सकिने कम्पनीले जनाएको छ ।
तिहारमा भाइटीकाको उत्तम साइत ११ बजेर ५२ मिनेटमा
काठमाडौं ९ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको तिहारमा भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुृरेको छ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । “यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ” उनले भने । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ । रासस