विकासन्युज

यति डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त, नयाँ सिइओको भोगाइ र अबको योजना

काठमाडौं, ९ कात्तिक । यति डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त भएका छन् । सोमबार बसेको बैंक संचालक समितिको बैंठकले उनलाई सीईओमा नियुक्त गरेको हो । शर्मा यस अघि सोही बैंकमा कामु सीईओमा रुपमा कार्यरत थिए । त्यसभन्दा अघि उनी यति फाइनान्सको प्रमुख कार्यकारी अधिकृत थिए । मनकामना विकास बैंक र यति फाइनान्स मर्जपछि बनेको यो विकास बैंक बीचमा समस्यामा परेको थियो । समस्यामा परेको समयमा पनि शर्माकै व्यवस्थापकीय नेतृत्वमा यो बैंकको वित्तीय सुधार भएको थियो । बैंक संकटमा पर्दा नेतृत्व गर्दाको अनुवभ र भावी योजना बारे सागर शर्मा भन्छन्–दुई वर्षअघि ७९ करोड नोक्सानमा गएको यति अहिले नाफामा, अब ‘ब्राण्डिङ अन वार फुटिङ’  

टाटा कम्पनीद्वारा मिस्ट्रीलाई अध्यक्षबाट हटाइयो, जिम्मेवारी रतन टाटालाई

साइरस मिस्ट्री मुम्बई, ८ कात्तिक । भारतीय प्रसिद्ध कम्पनी टाटा सन्सले साइरस मिस्ट्रीलाई कम्पनीको अध्यक्षबाट हटाएर सो जिम्मेवारी पुनः रतन टाटालाई दिएको छ । भारतीय टाटा कम्पनीले सन् २०११ मा रतन टाटाको उत्तराधिकारीका रुपमा मिस्ट्रीलाई चयन गरेपछि विगत चार वर्षदेखि टाटाले उपप्रमुखका रुपमा कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका थिए । टाटा सन्स कम्पनीले नेतृत्व परिवर्तन किन गरियो भन्ने बारेमा कुनै प्रतिक्रिया नदिएको तर कम्पनीको बोर्डको बैठकले सोमबार टाटालाई जिम्मेवारी तोकेको बताएको छ । कम्पनीले यसका विभागीय कार्यकारी प्रमुखको जिम्मेवारी भने यथावत राखेको छ । रासस

सबै नागरिककाे स्वास्थ्य बीमा गराउने सरकारको तयारी, गरिबको बीमा शुल्क सरकारले नै तिर्ने

काठमाडौँ, ९ कात्तिक । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै नागरिकले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने नियम ल्याउन लागिएको बताएका छन् । मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिसँग मंगलबार यहाँ भएको छलफलमा उनले आधारभूत स्वास्थ्य सेवाका लागि ऐन बन्ने प्रक्रियामा रहेको र त्यसमा बीमा शुल्क भुक्तानी गर्न नसक्ने नागरिकको हकमा राज्यले नै भुक्तानी गर्ने व्यवस्था रहेको उनले बताए । मन्त्री थापाले मुलुकमा लागुऔषध र लागुपदार्थ दुव्र्यसनी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको न्यूनीकरणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समाजका सभापति गङ्गाधर अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य सेवामा आमनागरिकको पहुँच कायम गर्नुपर्ने, स्वास्थ्य बीमा अनिवार्य हुनुपर्ने र प्रत्येक बालिग महिलालाई मासिक स्वास्थ्य भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका बिषयमा मन्त्री थापालाई जानकारी गराएको बताए । रासस

संविधान संशोधन गर्ने नेपाली काँग्रेसको निर्णय, महाअभियोगबारे संसदीय दलले निर्णय गर्ने

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तराई—मधेश र थारू, आदिवासी जनजातिहरूको माग सम्बोधनका लागि सीमाङ्कन समेतका विषयलाई संबोधन गर्दै संविधान संशोधन गर्ने पक्षमा निर्णय गरेको छ । कात्तिक ४ गतेदेखि जारी बैठकले २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन पार्टीको तर्फबाट आन्दोलनकारी सबै दलहरु, प्रमुख प्रतिपक्षी दल र व्यवस्थापिका—संसद भित्रका सबै दलहरुसँग छलफल र गृहकार्य गरी शीघ्र संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गरेको समेत गरेको छ । त्यस्तै, गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण सम्बन्धमा गठित आयोगले राजनीतिक दलहरुको सुझाव र सहमतिको आधारमा पुनःसंरचना कार्य यथाशीघ्र टुंगो लगाई निर्धारित समयमा स्थानीय निर्वाचन गराउने वातावरण निर्माण गर्ने निर्णय गरेको छ । काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमाथि व्यवस्थापिका–संसदमा अचानक दर्ता भएको भन्दै सो प्रस्ताव व्यवस्थापिका–संसदको विशेषाधिकारको विषय भएकोले पार्टीको संसदीय दलले छलफल गरी टुंगो लगाउने निर्णय गरेको पार्टी कार्यालयले जारी गरेकाे प्रेस विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

सानिमा माईको हकप्रद साधारण शेयर निष्काशन सम्झौता, पूँजी २ अर्ब पुग्ने

काठमाडौं, ९ कात्तिक । सानिमा माई हाईड्रो पावर लिमिटेड र एन.सि.एम मर्चेण्ट बैंकिङ्ग बीच हकप्रद साधारण शेयर निष्काशन गर्ने सम्झौता भएको छ । उक्त कार्यको लागि सानिमा माई हाईड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठ र एन.सि.एम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठका बीर्चे सम्झौता भएको हो । उक्त सम्झौता सानिमा माई हाईड्रोपावरको कार्यलय नक्साल, काठमाण्डौंमा भएको हो । सानिमा माई हाईड्रोपावर लिमिटेडको २०७३ भाद्र ३१ गतेको ५ औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुकोे चुक्ता पूँजीको १०० प्रतिशतले हुने १ करोड ०५ लाख ५० हजार रुपैयाँ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको थियो । उक्त हकप्रद निष्कासनको लागि कम्पनीले एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो । हकप्रद शेयर निष्काशन पश्चात हाईड्रोपावर लिमिटेडको जारी तथा चुक्ता पूँजी २ अर्ब ११ करोड रुपैयाँ कायम हुनेछ ।

औद्योगिक व्यापार मेला हुँदै, आगामी मङ्सिर २३ गतेदेखि शुरु

नवलपरासी, ९ कात्तिक । आगामी मङ्सिर २३ गतेदेखि पुस ३ गतेसम्म तेस्रो पश्चिमाञ्चलस्तरीय औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीको आयोजनामा ‘शान्ति, समृद्ध उद्योग व्यापार, राष्ट्र निर्माणको बलियो आधार’ नाराका साथ जिल्लाको सुनवलमा मेला आयोजना गर्न लागिएको हो । मेला कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधिको बृहत् प्रदर्शनीमा केन्द्रित रहने सङ्घका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए । जिल्लालाई कृषि, पर्यटन एवम् औद्योगिक जिल्लाका रुपमा परिचित गराउनु मेलाको उद्देश्य रहेको छ । मेलामा विभिन्न विषयवस्तुका करिब ३०० कक्ष रहने तथा करिब तीन लाख दर्शकले अवलोकन गर्नुका सार्थै सात करोड रुपैयाँ सम्मको आर्थिक कारोबार गर्ने अनुमान आयोजकको छ । उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, व्यापार तथा निकासी प्रवद्र्धधन केन्द्र, जिविस नवलपरासी, सुनवल नगरपालिका र रामग्राम नगरपालिका सहआयोजक रहका छन् । रासस

भूकम्पपीडितका लागि निर्माण हुने वस्तीमा भरपर्दो र दिगो ऊर्जामा जोड

काठमाडौँ, ९ कात्तिक । ‘गोरखा भूकम्प’पछि मुलुक पुनर्निर्माण तथा नवनिर्माणको क्रममा रहेको अवस्थामा भूकम्पपीडितका लागि निर्माण हुने वस्तीमा दिगो ऊर्जाको पहुँच तथा ऊर्जा सुरक्षाको सुनिश्चितता गरिनुपर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् । भूकम्प प्रभावित क्षेत्रका जनताको जीविकोपार्जन तथा गरिबी निवारणका लागि गरिने पूर्वाधार निर्माण कार्यमा दिगो ऊर्जाको प्रत्याभूति हुने गरी कार्यक्रमहरु तर्जुमा गर्नुपर्ने आजदेखि यहाँ सुरु भएको राष्ट्रिय कार्यशालाका सहभागीको सुभाव रहेको छ । तीनदिनसम्म सञ्चालन हुने सो कार्यशालामा करिब सय जना ऊर्जा विज्ञहरुके सहभागिता रहेको छ । जर्मनीस्थित युरोपा युनिभर्सिटी, जर्मन एकेडेमी एक्सचेन्ज सर्भिस (डिएएडी), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एसियाली विकास बैंकको सहयोगमा फ्रेन्चवर्ग एसोसियसन फर इनर्जी म्यानेजमेन्ट (एफएइएम)द्वारा आयोजित ‘भरपर्दो र दिगो ऊर्जाको भविष्य सुनिश्चितता– नेपालमा भूकम्पपछिको पुनर्निर्माणको सम्बन्ध’ विषयक कार्यशालाका वक्ताले सो धारणा व्यक्त गरेका हुन् । कार्यशालाको उद्घाटन गर्दै जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले जलवायु परिवर्तनको असर र प्राकृतिक विपद्बाट क्षति भएको संरचनाको पुनर्निर्माण र प्रभावित जनताको जीवनस्तर सुधारका लागि दिगो ऊर्जाको पहुँच सुनिश्चितता गर्न सरकार क्रियाशील रहेको बताए । उनले भूकम्प प्रभावित क्षेत्रका जनतालाई नवीकरणीय ऊर्जा प्रविधिमार्फत ऊर्जाको सुविधा पु¥याउन सरकारले आफ्नै स्रोत र दातृ निकायको सहयोगमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेको जानकारी दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रमा विकासका पूर्वाधार निर्माण गर्दा नवीकरणीय ऊर्जा प्रविधिलाई पनि सँगसँगै लगिनेछ बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले दिगो विकास र गरिबी निवारणका कार्यक्रमहरु सञ्चालन गर्दा ऊर्जाको पहुँच र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले सरकारले नीति, कार्यक्रम र बजेटमा नवीकरणीय ऊर्जालाई उच्च प्राथमिकता दिएको प्रसङ्ग उल्लेख गर्दै भूकम्प प्रभावित क्षेत्रका जनतालाई नवीकरणीय ऊर्जामार्फत ऊर्जाको पहुँच विस्तार गरिने बताए ।

आइसिएफसी फाइनान्सको अध्यक्षमा अग्रवाल र विज्ञ सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं, ९ कात्तिक । आइसिएफसी फाइनान्सको अध्यक्षमा सुरेशकुमार अग्रवाल नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीको १९६औँ सञ्चालक समितिको बैठकले अग्रवाललाई आगामी चार बर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । साथै, उक्त बैठकले कम्पनीको विज्ञ सञ्चालकमा राजेन्द्र गोपाल श्रेष्ठलाई नियुक्त गरेको छ । बैठकले श्रेष्ठलाई पनि आगामी चार वर्षको लागि विज्ञ सञ्चालकमा नियुक्त गरेको हो । कात्तिक ८ गतेको नियुक्त पाएका दुबै जना अग्रवाल र श्रेष्ठले कम्पनीको कार्यभार सम्हाल्नेछन् ।