बेनी-दरबाङ सडक बहुवर्षीय ठेक्कामा लैजान स्वीकृति, १८ करोड ५५ लाख रुपैयाँको लगानी
म्याग्दी, १४ मङ्सिर । म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम जोड्ने बेनी–दरवाङ सडकखण्डको कालोपत्रे र स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्कामा लैजान स्वीकृति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेनी–दरवाङ सडकखण्डलाई रणनीतिक सडकमा समावेश गरी बहुवर्षीय ठेक्का तथा आवश्यक बजेटका लागि अर्थ मन्त्रालयमा गरेको प्रस्ताव स्वीकृत गरेको हो । अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका अनुसार बेनी–दरबाङ २९ किलोमिटर कालोपत्रे, स्तरोन्नतिका लागि सडकको लागत इस्टमेट अनुसार रु १८ करोड ५५ लाखको निर्माण कार्य बहुवर्षीय ठेक्का प्रणालीअन्तर्गत नै निर्माण गर्न उपप्रधान तथा अर्थमन्त्रीबाट निर्णय स्वीकृत गरिएको जिल्ला विकास समिति म्याग्दीलाई प्राप्त पत्रमा उल्लेख छ । बहुवर्षीय योजनामा पश्चिम म्याग्दी जोड्ने सडक परेपछि म्याग्देली उत्साहित भएका छन् । अर्थ मन्त्रालयको निर्णयले म्याग्दीवासीलाई उत्साहित बनाएको छ, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताए । अध्यक्ष विश्वकर्माले कालोपत्रेसँगै सडक स्तरान्नति भए त्यसले व्यापारिक, पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा उल्लेखनीय सहयोग हुने बताए । विसं २०५५ मा ट्र्याक खोल्न सुरु गरिएको सोे सडकले २०६४ सालमा पूर्णता पाएको थियो । गत वर्ष बेनीबाट कालोपत्रेको कार्य सुरू भएपनि बहुवर्षीय ठेक्काको अन्योलताले म्याग्देली निरास थिए । अब सो अन्योल हटेपछि म्याग्देलीमा उत्साह छाएको अध्यक्ष विश्वकर्माले बताएका छन्। कच्ची र साँघुरो सडकका कारण ट्र्याक खोलिएपछि पनि बेनी–दरवाङ सडकमा भयानक दुर्घटनामा धेरैले ज्यान गुमाएका छन् । निजी र सार्वजनिक यातायातमा करिब साढे दुई घन्टा लाग्ने सडक फराकिलो र कालोपत्र गरिए आधा घन्टाको दूरी रहेको प्राविधिकको प्रतिवेदनमा उल्लेख छ । रासस
व्यापार तथा लगानीबारे पाकिस्तानमा अन्तक्रिया कार्यक्रम सम्पन्न, नेपालमा लगानी गर्न पाकिस्तानी तयार
काठमाडौं, १४ मंसिर । पाकिस्तानस्थित नेपाली दूतावासले पाकिस्तानको रावलपिण्डीमा एक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।रावलपिण्डी उद्योग वाणिज्य सङ्घको भवनमा भएको उक्त कार्यक्रम सङ्घको सहयोगमा नेपालको व्यापार, पर्यटन तथा लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा भएको दूतावासले सोमबार प्रकाशित विज्ञप्तिमा जनाएको छ । कार्यक्रममा रावलपिण्डी उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजा अमर इक्वालले दुई देशबीच हाल भएका व्यापार, उद्योग, पर्यटन र लगानीका अवसरलाई उपयोग गर्ने हो भने दुवै देशले फाइदा लिनसक्ने बताए । पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल अधिकारीले नेपालको उद्योग, व्यापार, पर्यटन तथा लगानी नीतिको जानकारी दिँदै पाकिस्तानको व्यापारिक समुदायलाई नेपालसंग व्यापारमा सहयोग गर्ने वचनबद्धता प्रकट गरेका छन् । उनले पाकिस्तानीलाई नेपालमा लगानी गर्न र नेपाल भ्रमण गर्न पनि आह्वान गरे । उनले चाँडै पाकिस्तानमा नेपालमा बनेका वस्तुको प्रदर्शनी गरिने पनि जानकारी दिए । कार्यक्रममा नियोगका उपप्रमुख तीर्थराज अर्याल, संघका पदाधिकारी, पाकिस्तानका व्यापारिक समुदायलगायतको उपस्थिति थियो । रासस
घरजग्गामा वित्तीय क्षेत्रको २ खर्ब ६५ अर्ब लगानी, घडेरीको मूल्यमा गुणात्मक वृद्धि
काठमाडौं, १४ मंसिर । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गा (रियलस्टेट) मा बैंक तथा वित्तीय संस्थाको कुल लगानीे २ खर्ब ६५ अर्ब ८५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाले गरेको लगानी प्रति ग्राहक १ करोडभन्दा कमको १ खर्ब ५२ अर्ब ८१ करोड रुपैयाँको आवासीय घरकर्जा समेत गरी लगानी त्यति पुगेको हो । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १४ दशमलव ९ प्रतिशत हुन आउँछ । गएको असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा २ खर्ब ५० अर्ब ८७ करोड रहेको थियो । उक्त कर्जा प्रति ग्राहक १ करोडभन्दा कमको १ खर्ब ४२ अर्ब ८१ करोडको आवासीय घरकर्जा समेतको हो । केही समय सुस्ताएको घरजग्गा कारोबार भूकम्पयता पुनः फस्टाउन थालेपछि कर्जा लिने बढेसँगै बैंक तथा वित्तीय संस्थामा लगानी पनि बढेको हो । आर्थिक वर्ष ०६४÷६५ मा राष्ट्र बैंकले रियल स्टेटको लगानीमा कडाइ गरेकाले यो क्षेत्रमा वित्तीय संस्थाको लगानी घटेको थियो । तर, पछिल्ला एक डेढ वर्षयता यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दो क्रममा छ । विगतमा कडाइ गरिएका केही व्यवस्थाहरूमा राष्ट्र बैंक लचिलो बन्दै गएकाले यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढेको हो । गत वर्षको विनाशकारी भूकम्पपछि केही समय घरजग्गा कारोबार केही सुस्ताए पनि पछिल्ला केही महिनायता फेरि बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा प्रवाह ऋण बढी हुन थालेको संकेत दिएको बताएका छन् । पछिल्लो समय विशेषत काठमाडौं तथा देशका अन्य सुविधा सम्पन्न स्थानमा ऋण काटेरै भएपनि आवास निर्माणका कार्यहरु तीव्र गतिमा अघि छ । घरजग्गामा गरिएको लगानीले आकर्षक प्रतिफल दिने ऋणीहरुले सहजै ऋण तिर्ने भएकाले पनि वित्तीय संस्था घरजग्गा कारोबारीलाई कर्जा उपलब्ध गराउन आकर्षित भएका हुन् । पछिल्लो समय देशका प्रया सबै स्थानमा घरजग्गाको भाउमा वृद्धि भएको छ । बैंकले दिएको ऋणका कारण नै घरजग्गाको भाउ बढेको जानकारहरु बताउँछन् । बैंकहरुले घरजग्गा, जलविद्युत आयोजना, पर्यटन, सेयर लगायत क्षेत्रमा लगानी बढाएका कारण लगानीयोग्य पुँजी (तरलता) को अभाव हुन थालेको छ । गत वर्षको भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीका कारण बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सकेका थिएनन् । वातावरणमा सुधार आएपछि उनीहरुले बढी ऋण प्रवाह गर्न थालेका हुन् । नयाँ मौद्रिक नीतिमार्फत सरकारले घरजग्गा कारोबारमा जाने कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले एक करोड रुपैयाँसम्मको व्यक्तिगत आवास कर्जालाई यथावत राखे पनि व्यापारिक प्रयोजनको रियलस्टेट कर्जालाई भने केही कसिलो बनाएको थियो । नयाँ नीतिअनुसार धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्र कर्जा दिन पाइनेछ । रियलस्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात ५० प्रतिशत कायम गर्नुपर्ने पनि यसमा व्यवस्था छ । रियलस्टेट कर्जामा यसअघि धितो मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था थियो । तर आवासीय रियलस्टेट कर्जामा भने धितो मूल्यांकनको ६० प्रतिशतसम्मै कर्जा दिन पाइने नीति छ । पछिल्लो समय घडेरीयोग्य जमिनको मूल्य उच्चदरले वृद्धि भईरहेकोले बैंकहरुले पनि यस्तो जग्गा धितोमा सजिलै कर्जा प्रवाह गर्ने गरेका छन् ।
जगदम्बा सिमेन्टद्धारा भूकम्प प्रतिरोधात्मक भवन निर्माणको लागि जानकारी
काठमाडौं, १४ मंसिर । जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गरेको छ । जगदम्बा सिमेन्टले मंसिर १० गते शुक्रबार दोलखाको चरिकोटस्थित राजमिस्त्रीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा १०० भन्दा बढी राजमिस्त्री तथा डिलरवर्गहरुको सहभागिता रहेको थियो । जगदम्बा सिमेन्टले उपभोक्ता तथा समाजप्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम गरिरहेको छ । कम्पनीले यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ भन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल गरिरहेको छ । कम्पनीले आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनः निर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माण गर्नका निम्ति विभिन्न कार्यक्रमहरु अघि सार्दै देशका विभिन्न स्थानमा कार्यक्रमहरु गरिरहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले १६ प्रतिशत बोनस दिने, पूँजी एक अर्ब २४ करोड पुग्ने
काठमाडौं, १४ मंसिर । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई १६ दशमलब ०७ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि शून्य दशमलब ८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । बैंठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी एक अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब २४ करोड रुपैयाँ पुग्ने छ । मंगलबार बैंकको प्रतिकित्ता सेयर करिब ३६८ रुपैयाँमा कारोबार भइरहेको छ ।
एसबीआईले ४० प्रतिशत हकप्रद जारी गर्ने, बोनस र एफपिओ पछिको पुँजीमा हकप्रद
काठमाडौं, १४ मंसिर । नेपाल एसबीआई बैंकले लगानीकर्ताहरुलाई ४० प्रतिशत (१०ः४ को अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको सञ्चालक समितिले यसअघि प्रस्ताव गरेको बोनस तथा एफपिओको बिक्री पछि कायम पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २८ प्रतिशत वोनस सेयर प्रस्ताव गरेको छ । २८ प्रतिशत बोनस वितरण पश्चात बैंकको पूँजी करिब ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँ पुग्नेछ । त्यस्तै बैंकले ९८४ रुपैयाँमा एफपीओ जारी गर्ने प्रस्ताव पनि धितोपत्र बोर्डमा लगेको छ । सो एफपिओपछि बैंकको चुक्ता पुँजीमा ६७ लाख रुपैयाँ बढेर चार अर्व ९७ करोड ७८ लाख रुपैयाँमा हुनेछ । बैंकले एफपिओ र बोनस सेयरपछिको चुक्ता पुजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ । बैंकले प्रस्ताव गरेको बोनस एफपिओ र हकप्रद जारी गरेपश्चात बैंकको चुक्तापूँजी ६ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ। चालु आर्थिक बर्षको पहिलो तीन महिनामा बैंकले ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
केरुङ कनेक्सनः रसुवागढी ड्राइपोर्टको काम तिब्रगतिमा, चीनले निःशुल्क निर्माण गरिदिने
काठमाडौं, १४ मंसिर । रसुवागढीमा निर्माण गर्न लागिएको ड्राइपोर्ट(सुख्खा बन्दरगाह)को काम तिब्रगतिमा अघि बढेको छ । हालसम्म सो ड्राइपोर्टको जिओटेक्निकल सर्भे सम्पन्न भैसकेको छ । नेपालले सन २०१५ को डिसेम्बरमा चीनियाँ कम्पनी द आर्किटेक्चरल डिजाइन एण्ड रिकन्स्ट्रक्सन इन्स्टिच्युट अफ तिब्बतसँग सम्झौता गरेको थियो । ‘रसुवागढी बन्दरगाह निर्माणका लागि चिनियाँ कम्पनीले जिओटेक्निकल सर्भे सम्पन्न गरिसकेको छ, अब ६ महिना भित्र डिपिआर तयार पारेर निर्माण आरम्भ गर्छ’, इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका प्रबन्धक हेमेन्द्र मोहन शाहीले विकासन्युजसँग भने । चीन सरकारको शतप्रतिशत लगानीमा निर्माण हुने बन्दरगाहमा एक सय ६० वटासम्म कन्टेनर पार्किङ गर्न सकिन्छ । यसले दैनिक ५ सय वटा कन्टेनरलाई आवतजावतको सुबिधा दिन सक्ने प्रबन्धक शाहीले जानकारी दिए । यतिबेला चिनियाँ कम्पनीले जिओटेक्निकल सर्भेको आधारमा साइट डिजाइनको काम गरिरहेको छ । ‘हामीले जमिनको मुआब्जा तिरेर ठिक्क पारिदिने हो, डिपिआरलाई स्विकृति दिने हो बाँकी निर्माणको सबै काम चिनियाँ कम्पनीले गर्छ र त्यसको भुक्तानी पनि चीनबाटै हुन्छ ।’ शाहीले भने । सो बन्दरगाह नेपाल–चीन सिमा नाकाबाट ३ किलोमिटर भित्र नेपाली भूमिमा निर्माण गर्न लागिएको हो । हाल सो नाकाबाट दैनिक औसतमा ५० देखि एक सय वटा कन्टेनरबाट समान ढुवानी भैरहेको छ । २० बर्ष ढुक्क सो बन्दरगाह निर्माण भएपछि अर्काे १५ देखि २० बर्षसम्म नेपाली बजारका लागि आवश्यक पर्ने समान ढुवानी गर्न सकिने उनले बताए । ‘हामीलाई पुग्ने समान ल्याउन सकिन्छ । दैनिक पाँच सय गाडी आवत जावत गराउन सकिन्छ । १५ देखि २० बर्षका लागि थेग्छ ।’, शाहीले भने । जग्गा अधिग्रहणको सबै काम सम्पन्न भैसकेको जानकारी पनि उनले दिए । ‘हामीले जग्गा अधिग्रहणको सबै काम सम्पन्न गरिसकेका छौं, थोरै मात्र विवाद आएको थियो, स्थानिय बासीले पनि राम्रो साथ दिए’, शाहीले भने । रसुवागढी सुख्खा बन्दरगाह निर्माणको काम हेरिरहेका इन्टरमोडलका इञ्जिनियर रबिन्द्र पोखरेलले जिओटेक्निकल सर्भेमा प्राप्त रिपोर्टका आधारमा पुर्वाधार निर्माणको योजना बन्ने बताए । ‘जिओटेक्निकल सर्भेमा कुनै माटोले एक मिटर स्क्वायरले ५० केजी तौल थेग्छ भन्ने हुन्छ । कुनैले एक सय र १५० केजी तौल थेग्छ भन्ने हुन्छ । यो रिपोर्ट डिजाइनमै समेटिएर आउँछ । त्यसका आधारमा कस्तो पुर्वाधार बनाउने भन्ने एकिन गरिन्छ ।’ उनले भने । तातोपानी नाकामा भूकम्प र पहिरोले ठुलो क्षति पुर्याउपछि सरकारले रसुवागढी नाका मार्फत केरुङ कनेक्सनको काम अघि बढाएको थियो । यसलाई नेपाल–चीन जोड्ने रणनीतिक नाकाका रुपमा पनि हेरिएको छ ।
डलर अहिले सम्मकै उच्च, मंगलबार ११० रुपैयाँ २६ पैसामा कारोबार
काठमाडौ, १४ मंसिर । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरीकी डलर बराबर ११० रुपैयाँ २६ पैसा तोकेको छ । २०७२ फागुन ११ गते एक डलर बराबर ११० रुपैयाँ ४ पैसामा कारोबार भएको नेपाल राष्ट्र बैकले जनाएको छ । अमेरिकाको केन्द्रिय बैंकले व्याजदर बढाउने संकेत गरेपछि डलरको भाउ बढ्न थालेको नेपाल राष्ट्र बैंकका निर्देशक बासुदेव अधिकारीले बताए । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए लगत्तै उनले व्यारमैत्री नीति ल्याउने आँकलन गरिएको छ । एकातिर व्याजदरका कारण डलर महंगो भइरहेको छ भने अर्को तर्फ भारतमा ५०० र एक हजारका नोट प्रतिवन्धित रहेको छ । जसले भारतीय मुद्रा कमजोर भएको छ । ‘भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रहेकोले भारतीय मुद्रा कमजोर हुदा नेपाली रुपैयाँ पनि कमजोर हुने गरेको छ,‘ –अधिकारीले भने । एक सातामा नै नेपाली रुपैयाँ डलरसँग करिव चार रुपैयाँको हाराहारीमा कमजोर भईसकेको छ ।