नेपाल बङ्गलादेश बैंकको ३५ औं शाखा मोरङ्गको कर्सियामा
काठमाडौं, २९ मंसिर । नेपाल बङ्गलादेश बैंक लिमिटेडले मोरङ्ग जिल्लाको कर्सियामा आफ्नो ३५ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक अरुण श्रेष्ठले गरेका थिए । हाल बैंकले कर्सिया शाखा सहित ३५ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ३५ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको बैंकले जनाएको छ । सोही अवसरमा नेपाल बङ्गलादेश बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङ्ग जिल्ला, सरोभाग गा.वि.स. कर्सिया स्थित श्री शारदा मा. वि. लाई एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको छ । सो सामाग्री बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाद्वारा हस्तान्तरण गरिएको छ । बैंकको आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९.६० अर्ब र कुल कर्जा ३४.२७ अर्ब परिचालन गरेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेण्ट बैंक एक्विजिसन गर्ने
काठमाडौं, २९ मंसिर । ग्लोबल आइएमई बैंकको विशेष साधारणसभाले प्यासिफिक डेभलपमेण्ट बैंकलाई एक्विजिसन गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न बैंकको विशेष साधारणसभाले सो निर्णय गरेको हो । प्यासिफिक डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १३ करोड रुपैयाँ छ । डिडिए प्रतिबेदनका आधारमा प्यासिफिक डेभलपमेण्ट बैंकको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लिमिटेडको ६९ दशमलब २६ कित्ता शेयर दिने गरी शेयर स्वाप रेसियो तय गरिएको छ । प्यासिफिक डेभलपमेन्ट बैंक प्राप्तिपछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ६अर्व २५करोड ६३लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । एक्विजिसज सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको स्वीकृति लिई यही पुस १५ गते भित्रमा एकिकृत कारोवार गर्ने लक्ष रहेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ग्लोबल आईएमई बैंकले असोज मसान्तसम्ममा ८१ अर्व निक्षेप र ६९ अर्व रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको हाल ९१ वटा शाखाहरु, ९ वटा सरकारको राजश्व संकलन काउण्टर, १०३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, भारत तथा अष्ट्रेलियामा सम्पर्क कार्यालय, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा तथा १ वटा सि.डि.एस.काउण्टर रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
दूध बिक्रीबाट मासिक अठार लाख आम्दानी
पोखरा, २९ मंसिर । सम्भावनाको खोजी गर्दै दृढइच्छा शक्तिका साथ निरन्तर लाग्ने हो भने गाईपालन व्यवसायसँगै फर्म अवलोकन पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने नमुना गोरखाका कृषक राजेन्द्रराज पाण्डे बनेका छन् । पालुङटार नगरपालिका–३ च्याङ्लीमा रहेको कामधेनु गाईपालन केन्द्रबाट दैनिक तीन हजार ५०० लिटर दूध बिक्री गर्दै आएका उनले एक वर्षको अवधिमा केन्द्रको अवलोकन गर्न आएका चार सयवटा समूहबाट टिकट काटेबापत चार लाख रुपैयाँ अतिरिक्त आम्दानी गरेका छन् । समूहगत रुपमा अवलोकन गर्न आउनेबाट एक हजार शुल्क लिने गरेका छन् । “अवलोकन गर्न कृषि सहकारीबाट बढी मात्रामा आउने गरेका छन्,” पाण्डेले भने । गाईपालन केन्द्रमा अघिल्लो वर्ष अवलोकन गर्न दुई हजार ५०० जना आएका थिए । दूध बिक्रीबाट भन्दा अवलोकन गर्नआएकाहरुबाट प्राप्त आम्दानीबाट बढी सन्तुष्टि मिलेको उनको भनाइ छ । विसं २०५२ मा सातवटा उन्नतजातका गाईबाट व्यवसाय सुरु गरेका पाण्डेको गाईकेन्द्रमा हाल २८० वटा गाई रहेका छन् । उनको गोठमा रहेका एक सय २५ गाई दुधालु रहेका छन् । “दैनिक तीन हजार ५०० लिटर दूध उत्पादन हुन्छ, मासिक करिब रु १८ लाख आम्दानी हुन्छ,” उनले भने । केन्द्रमा हाल २० जना स्थायी तथा १० जना ज्यालादारीका कर्मचारी रहेका छन् । उनले चिस्यान केन्द्र समेत स्थापना गरेका छन् । हालसम्म उनले ६ करोड रुपैयाँ लगानी गरिसकेका छन् । उनले ४०० रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस उत्पादन गरेका छन । रासस
नेप्से परिसूचक ६ अंकले वृद्धि, होटल र फाइनान्स बाहेक सबै समूह ओरालो
काठमाडौं, २९ मंसिर । बुधबार सेयर बजारमा हरियाली छाएको छ । बजारमा नेप्से परिसूचक ६ दशमलब ६५ अंकले बढेर १५१६ अंकमा अडिएको छ । सो दिन बजारमा निकै उतारचढाव भएको देखिन्छ । बजार खुलेको एक घण्टामा १५०२ अंकमा झरेको बजार बन्द हुँदा बढेर १५१६ अंकमा पुगेको छ । बुधबार बजारमा १३७ कम्पनीको ७५ लाख ३५ हजार कित्ता सेयर ४८ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार होटल र फाइनान्स समूहबाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५९ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र बैंकिङ् समूहको परिसूचक क्रमशः १५ र ७ अंकले उकालो लागेका छन् । होटल र फाइनान्स समूहको परिसूचक क्रमशः १३ र ०.६४ अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । सो दिन बजारमा सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । ९ करोड बढी रुपैयाँको कारोबार भएको बैंकको प्रतिकित्ता सेयर मूल्य ३ हजार २३० रुपैयाँ रहेको छ । बुधबार हिमालयन डिस्टीलेरी कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन सबैभन्दा बढी अरुण फाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।
२७ अर्ब बजेटको भार नबोक्ने भन्दै अर्थ मन्त्रालयले शिक्षा नियमावलीमा सहमति दिएन
काठमाडौं, २९ मंसिर । शिक्षा मन्त्रालयले तयार पारेको शैक्षिक नियमावलीलाई अर्थमन्त्रालयले बजेट अभावको कारण देखाउँदै स्विकृत गर्न नसक्ने जनाएको छ । नियमावली स्विकृत गर्दा राज्यलाई चालु बजेटमा २७ अर्ब रुपैयाँ अतिरिक्त भार पर्ने भन्दै अर्थले शिक्षा नियमावली कार्यान्वयनमा लान स्विकृत दिन नसक्ने जनाएको हो । राष्ट्रपतिबाट शिक्षा ऐन प्रमाणिकरण भएको पाँच महिना वितिसक्दा पनि नियमावलीले पूर्णता पाउन सकेको छैन । नियमावली कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले झण्डै २७ अर्ब रुपैंयाँ बजेट विनियोजन गर्न अर्थमन्त्रालयमा ड्राफ्ट पठाएको थियो । अर्थले ठूलो मात्रामा आर्थिक भार पर्ने देखेपछि नियमावलीमा सहमति दिन नसक्ने स्पष्ट पारेको छ । शिक्षा क्षेत्रको सुधारको लागि अनिवार्य मानिएको नियमावलीलाई अर्थको सहयोग नहुँदा कार्यान्वयनमा जान अप्ठ्यारो परिरहेको शिक्षा मन्त्रालय स्रोतको दावी छ । स्रोतका अनुसार यतिखेर अर्थले बजेटको कारण देखाए पनि भित्रिरुपमा निजी क्षेत्रका विद्यालय तथा कलेज संचालक र शैक्षिक परामर्श व्यवसायीहरुले नियमावलीमा सहमति नदिन दवाव दिएका कारण अप्ठ्यारो परिरहेको छ । अर्थले सहमति नदिनु नै शिक्षा नियमावली लागू गर्ने विषयमा सहयोग नगर्नु रहेको शिक्षा मन्त्रालयलको बुझाई छ । शिक्षामन्त्री धनीराम पौडेलले बजेटलाई आधार मानेर व्ययभार बढ्ने भन्दै अर्थ मन्त्रालयले नियमावलीलाई पास गर्न ढिलाई गरेको गुनासो गरे । उनले भने–‘नयाँ परिवेषमा संरचनागत परिवर्तन गर्न नियमावली ल्याउन लागिएको हो । यसको कार्यान्वयमा जान ठूलै बजेट आवश्यक पर्ने भएकाले अर्थले बजेट दिन सकिंदैन भन्नु नियमावलीको विरोध गरिहेकाहरुलाई फाइदा पुग्नु हो ।’ चालु आर्थिक वर्षका लागि शिक्षा मन्त्रालयलाई एक खर्ब तीन अर्ब रुपैंयाँ छुट्याइएपनि त्यसले मात्र ऐनमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न नसक्ने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयले सहमतीका लागि अर्थ मन्त्रालयमा पठाएको नियमावलीको मस्यौदामा विभिन्न सरोकारवाला संघसंस्थाले विरोध गर्दै अझै संसोधनको माग गरिरहेकै छन् ।
दर्ता बिनाका र नवीकरण नभएका स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याइने
काठमाडौं, २९ मंसिर । दर्ताबिना तथा नवीकरणबिना सञ्चालित स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन निर्देशिका संशोधन गर्न लागिएको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन, गुणस्तरमापन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० संशोधन गरी पुस महिनाभित्र छुट्टै एकाइ बनाएर ती स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याइने मन्त्रालयलको योजना छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपालमा बहुसङ्ख्यक निजी अस्पताल, क्लिनिक, पोलिक्लिनिकलगायतका स्वास्थ्य संस्थाले मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालयमा सञ्चालन अनुमतिपत्र नलिएको र दर्ता भएकामध्ये धेरैले नवीकरण नगरेको पाइएकाले निर्देशिका संशोधन गर्न लागिएको बताए । उनले सो प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेर संसदको विधेयक समितिमा छलफलका लागि पठाइ सकेको पनि जानकारी दिए । धेरै क्लिनिक तथा फार्मेसीले मापदण्ड पूरा नगरी सञ्चालन गरेको गुनासो आएपछि मन्त्रालयले अनुगमनका क्रममा समयमा उपत्यका र उपत्यका बाहिर ६० प्रतिशत भन्दा बढी त्यस्ता क्लिनिक तथा फार्मेसी दर्ता नभएका र समयमा नवीकरण नभएका पाइएको मन्त्रालयले जनाएको थियो । रासस
रिलायबल सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, २९ मंसिर । रिलायबल बचत तथा ऋण सहकारी संस्थाको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथि पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव वडालले हुने र नहुनेबीच असमानताको खाडल भएको विश्व अर्थ व्यवस्थामा सहकारी नै सहयोगी सिद्ध हुने बताए । काठमाडौंबाट नजिकैका बस्तीमा पनि कर्णालीको जस्तो आर्थिक विपन्नता देखिने बताउँदै अध्यक्ष वडालले यस्तो स्थितिको अन्त्य गर्न सहकारी अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताए । कार्यक्रममा अतिथि पूर्वसहकारी सचिव शङ्कर पाण्डेले सहकारीका पदाधिकारी र कर्मचारीको मेहनतले संस्थाले प्रगति गर्न सफल भएको बताउँदै सहकारीमार्फत नै जनताको जीवनस्तर उकास्न सकिने बताए । प्रतिवेदन प्रस्तुत गर्दै सांसद तथा संस्थाका अध्यक्ष ओमदेवी मल्लले संस्थाका बचतकर्ता तथा ऋणी एवम् कर्मचारीको लगनशीलताले संस्थाले राम्रो कार्य गरिरहेको र आगामी दिनमा योजनाबद्ध रुपले घरजग्गा लगायतमा लगानी गरिने जानकारी गराएका छन्। कार्यक्रममा संस्थाका कर्मचारी लेखापाल कृष्णप्रसाद अधिकारी र शान्ति श्रेष्ठलाई उत्कृष्ट कर्मचारीका रुपमा तथा उत्कृष्ट निक्षेपकर्ता तथा ऋणीलाई पनि सम्मान गरिएको थियो ।
सुजुकी सुपर क्यारी अब नेपाली बजारमा, काठमाडौंको दुई स्थानबाट खरिद गर्न सकिने
काठमाडौं, २९ मंसिर । नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले लाइट कमर्शियल भेहिकल (एलसीभी) सुजुकी सुपर क्यारी नेपाली बजारमा सार्वजनिक गरेको छ । साथै, कम्पनीले एलसीभी सेग्मेण्टमा समेत आफ्नो ब्यवसाय विस्तार गरेको छ । सीजी मोटोकर्प सुजुकीका चार पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता हो । सीजी मोटोकर्पले काठमाडौंमा कम्पनीको महाराजगञ्ज र बालकुमारी स्थित बिक्री केन्द्र मार्फत गाडी उपलब्ध गराउने छ । त्यसैगरी, उपत्यका बाहिर भने पोखरा, विरगञ्ज, विराटनगर र बुटवल बिक्री केन्द्र मार्फत गाडी उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीले आउने महिनाहरुमा आफ्नो बिक्री सञ्जाल थप बृहत बनाउँदै लैजाने बताएको छ । कम्पनीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार सुजुकी सुपर क्यारीलाई फाइभ स्पिड म्यानुअल ट्रान्समिशन सहितको ७ सय ९३ सीसी क्षमताको ट्विन सिलिण्डर ईञ्जिनले शक्ति प्रदान गर्छ । कम्पनीका अनुसार सुपर क्यारीले ३ हजार ५ सय आरपीएममा ३२ दशमलव ६३ बीएचपीको शक्ति र २ हजार आरपीएममा ७५ एनएम टर्क उत्पन्न गर्ने क्षमता राख्छ । त्यसैगरी, सार्वजनिक नयाँ गाडीले एआरएआई प्रमाणित २२ दशमलव ०७ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । कम्पनीका अनुसार गाडीको अधिकतम गति क्षमता ८० किलोमिटर प्रति घण्टा छ । सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने ‘उपभोक्ताको फाइदा तथा आवश्यकतालाई दृष्टिगत गर्दै सवारीको डिजाइनमा गहन अध्ययन तथा विशेष ध्यान दिइएको छ । सुपर क्यारीले अधिकतम भारवहन क्षमता अत्यधिक शक्तिका साथै उत्कृष्ट माइलेज समेत प्रदान गर्ने छ ।’