विकासन्युज

सिन्धु विकास बैंकका सिइओ सञ्जीव प्रधानको कार्यकाल थपियो

काठमाडौं, २८ पुस । सिन्धु विकास बैंकका सिइओ सञ्जीव प्रधानको कार्यकाल चार वर्ष थपिएको छ । पुस २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा प्रधानको समय थप्ने निर्णय गरेको हो । प्रधानले प्रमुख कार्यकारी अधिकृत भएर बैंकमा एक कार्यकाल पुरा गरिसकेका छन् । बिहीबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले अझै चार वर्ष सो बैंकको सिइओ भएर काम गर्नेछन् ।

तीन वर्षदेखि रोकिएको सवारी साधनको ‘लाइसेन्स’ खुल्यो, मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि आवेदन माग

बागलुङ, २८ पुस । धवलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः शुरु भएको छ । यातायात व्यवस्था कार्यालयले पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि आवेदन माग गरेको छ । यसअघि, सवारी साधन अनुमति पत्र परीक्षा समितिको बैठकले आवेदन खुलाउने निर्णय गरेको थियो । मङ्गलबारदेखि बिहीबारसम्म मोटरसाइकल र शुक्रबार स्कुटर चालकका लागि आवेदन दिने व्यवस्था गरिएको छ । पूर्वाधार अभावले रोकिएको अनुमति पत्र परीक्षा खुलेपछि सर्वसाधारण उत्साहित बनेका छन् । कार्यालयमा आवेदन दिनेको भीड लागेको अनुमति पत्र वितरण शाखाका नायब सुब्बा रामप्रसाद उपाध्यायले बताए । मोटरसाइकल र स्कुटरपछि अन्य सवारी साधनका लागि अनुमति पत्र खुलाउने तयारी कार्यालयको छ । यातायात व्यवस्था विभागले नयाँ नीति अख्तियार गरेसँगै पूर्वाधारको कमीका कारण धवलागिरि अञ्चलबाट सबैखाले सवारी साधनको अनुमति पत्र वितरण कार्य रोकिएको थियो । परीक्षा रोकिएपछि कार्यालयबाट सेवा लिने बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राही समस्यामा पर्दै आएका थिए । धवलागिरिवासी अनुमति पत्रका लागि पोखरा, काठमाडौंलगायत ठाउँ जानुपर्ने बाध्यता छ । कार्यालयले बागलुङ नगरपालिका-१ खनियाबासमा अभ्यास परीक्षाका लागि आवश्यक पूर्वाधारसमेत निर्माण गरेको छ । यसअघि कार्यालयले मासिक ८०० सवारी साधन अनुमति पत्र वितरण गर्दै आएको थियो । कार्यालयले साना, मझौला र ठूला गरी सबै सवारी साधनको क्रमशः अनुमति पत्रको परीक्षा सञ्चालन गर्ने जनाएको छ । रासस

माघ १९ देखि ४० मेगावाट विद्युत् काठमाडौं भित्रदै, प्रसारण लाईन निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं, २८ पुस । आगामी माघ १९ गतेदेखि भारतबाट आयात गरिएको ४० मेगावाट विद्युत काठमाडौं आउने भएको छ । मुजफ्फरपुर-ढल्केवर-खिम्ती प्रसारण लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेकाले आयातित विद्युत् काठमाडौं ल्याउन सम्भव हुन लागेको हो । उक्त लाइन माघ १ गतेदेखि काठमाडौंसँग जोडिने भएको छ । पछिल्लो समयमा द्रुत गतिमा निर्माण कार्य अघि बढेसँगै तोकिएको समयभित्रै प्रसारण लाइन बन्ने भएको ऊर्जा मन्त्रालयले बताएको छ । आयातित विद्युत काठमाडौं ल्याउन समय निर्धारण गरेरै प्रसारण लाइन निर्माण कार्य थालनी गरिएको थियो । अब प्रसारण लाइन निर्माण कार्य बेलैमा परीक्षण गरेर सिष्टमलाई तयारी अवस्थामा राख्न सकिने अवस्थामा पुगेको उनले बताए । उक्त मुजफ्फरपुर-ढल्केवर-खिम्ती प्रसारण लाइन भारतको बिजुली काठमाडौंमा ल्याउन हाल उपलब्ध दुई प्रसारण लाइनमध्ये छोटो हो । यसबाहेक भारतको विद्युत् काठमाडौं ल्याउन सकिनेमा ढल्केवर-हेटौंडा-कुलेखानी-मातातीर्थ-स्युचाटार अर्को प्रसारण लाइन छ । ‘उक्त प्रसारण लाइनबाट बिजुली काठमाडौं ल्याउँदा लामो बाटोका कारण भोल्टेजको समस्या पर्ने प्राविधिकले औल्याएपछि खिम्ती-ढल्केवरकै प्रसारण लाइन प्रयोग गर्न लागिएको हो । तर, प्राधिकरणले भने आयातित विद्युत हेटौंडा आउने वित्तिकै त्यसक्षेत्रका साथै हेटौडादेखि पूर्व र दक्षिण क्षेत्रमै वितरण गर्ने योजना बनाएको छ ।’ ढल्केवर-हेटौंडा प्रसारण लाइनको विद्युत् ढल्केवर, पथलैया, परवानीपुर, सिमरा, वीरगञ्ज, चन्द्रनिगाहपुर, कमाने (हेटौंडा) र चौकीटोल (हेटौंडा) सबस्टेशनमा जोडिने क्रममा सोही क्षेत्रहरूमा वितरण हुने प्राधिकरणको भनाइ छ । ऊर्जामन्त्री जनार्दन शर्माले यी स्थानहरुको स्थलगत भ्रमण गर्दै छिटो काम सम्पन्न गर्न निर्देशन दिएका थिए । ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट हाल १ सय २० मेगावाट विद्युत् आयात भइरहेको छ । हालको १ सय २० र थप ४० मेगावाट विद्युत् प्रसारका लागि साविकको प्रसारण क्षमताले नधान्ने भएपछि भारतको मुजफ्फरपुर सबस्टेशनमा थप ट्रान्सफर्मर जडान गरिएको छ । यो प्रसारण लाइनलाई ४ सय केभी पूर्ण क्षमतामा स्तरोन्नति गर्न लागिएको छ । ढल्केवरसम्म आइपुग्ने भारतीय बिजुली ढल्केवर-खिम्ती २२० केभीको प्रसारण लाइन भएर आउनेछ । यसका लागि बिजुलीले मुजफ्फरपुर-ढल्केवर-खिम्ती-लामोसाँघु-भक्तपुर-काठमाडौंको बाटो तय गर्नेछ । यो बाटो भएर यस वर्षमा अधिकतम ९० मेगावाट विद्युत् काठमाडौं ल्याउने प्राधिकरणको योजना रहेको छ । शर्मा मन्त्री भएपछि काठमाडौं उपत्यकका लोडसेडिङ प्राय अन्त्यनै भएको अवस्था छ । अब भारतबाट आयातित विद्युत पनि प्रसारण लाइनमा जोडिएपछि लोडसेडिङ नहुने प्राधिकरणको भनाइ छ । यसै द्रुर्त गतिमा निर्माणाधिन आयोजनाहरुको काम अघि बढ्दै गएमा १० वर्षमा उत्पादन गर्ने भनिएको १० हजार मेगावाट विद्युत् सहजै उत्पादन गर्न सकिने बताइएको छ ।

कसमस डेभलपमेन्ट बैंकको २३ प्रतिशत बोनस र ६ लाख रुपैयाँ नगद लाभांश पारित

काठमाडौं, २८ पुस । कसमस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २३ दशमलब ६० प्रतिशत बोनस सेयर दिने निर्णयलाई पारित गरेको छ । साथै, बैंकले सेयरधनीलाई ६ लाख २४ हजार ९३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त प्रस्तावलाई बुधबार बसेको बैंकको छैठौं बार्षिक साधारण सभाले पारित गरेको हो । आर्थिक वर्ष २०७२/०७३ मा बैकले १ करोड ५१ लाख रुपैयाँ कमाउन सफल भएको छ । संस्थापक शेयरधनीहरुको समुहमा ५१ प्रतिशत शेयर कायम राखि सो समुहको वाँकी ९ प्रतिशत शेयर सर्वसाधारण समुहमा परिणत गर्ने बैंकले जनाएको छ । बैंकले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडसँग मर्जर सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको बैंकका अध्यक्ष प्रा. डा. टेकनाथ ढकालले जनाएका छन् । हाल बैंकले गोरखा जिल्लाको सदरमुकाम गोर खा बजार हरमटारीमा प्रधान कार्यालय, आरुघाट, घ्याम्पेसाल र पालुङटारमा गरी ३ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको जानकारी दिएको छ ।

सेयर बजारमा सामान्य सुधार, खानीखोलाको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, २८ पुस । साताको अन्तिम दिन कारोबार हुने सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बजारमा ३ दशमलब ३५ अंकले परिसूचक बढेर १४७९ दशमलब ८६ अंकमा पुगेको छ । सो दिन ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबारको तुलनामा कारोबार रकममा भने ४ करोड रुपैयाँ कमी हो । बिहीबार १२० कम्पनीको २६ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य करिब ३५३ रुपैयाँ रहेको छ । सबैभन्दा बढी कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले झन्डै १० प्रतिशत गुमाएका छन् । बजारमा कारोबार भएका होटल समूह र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक करिब १० अंकले उकालो लागेको छ । होटल र अन्य समूहको परिसूचक क्रमशः ३० र २ अंकले ओरालो लागेका छन् ।

३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे, गत वर्षभन्दा १५ हजार सात सय बढी

मुस्ताङ, २८ पुस । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको जानकारीअनुसार, सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कलासंस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन् । सन् २०१५ भन्दा १६ मा १५ हजार सातसय ४५ बढी पर्यटक भित्रिएको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिए । “सन् २०१५ मा जम्मा २३ हजार दुईसय ७२ जना मात्र पर्यटक आएको तथ्याङ्क छ । भूकम्प त्रास र प्रतिकूल मौसमका कारण गत वर्ष कम पर्यटक भित्रिएका हुन्”, प्रमुख दाहालले भने, “सन् २०१६ को सङ्ख्या उत्साहजनक छ ।” पर्यटकको आवागमन बढेसँगै मुस्ताङका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । एक्यापका अनुसार मुस्ताङ भ्रमणमा आउने पर्यटकमध्ये १५ हजार चारसय ७८ भारतीय र २३ हजार पाँचसय ३५ अन्य देशका छन् । गत वर्ष मे महिनामा सबैभन्दा धेरै ६ हजार आठसय १६ र जनवरी महिनामा सबैभन्दा थोरै तीनसय ६५ जना पर्यटक मुस्ताङ आएको प्रमुख दाहालले जानकारी दिए। एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ । रासस

बिहीबार मात्रै ७८ लाख ८५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, २८ पुस । बिहीबार मात्रै ७८ लाख ८५ हजार ४६६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । निर्धन उत्थान बैंक र सानिमा बैंकको गरि सो मात्राको बोनस सेयर सूचिकृत भएको छ । निर्धन उत्थान बैंकको ९ लाख ९९ हजार ८१८ कित्ता बोनस नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सानिमा बैंकको ६९ लाख ८५ हजार ६४८ कित्ता बोनस सूचिकृत भएको छ ।

हुण्डीबाट पैसा पठाउने नेपाली कामदारलाई तत्कालै फिर्ता बोलाउनुपर्छः ढुंगाना

भिष्मराज ढुंगाना, प्रमुख-विदेशी विनिमय व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक हुण्डी व्यवसाय मुलुकका लागि घातक हो । तर हुण्डीमुक्त मुलुक पनि कुनै छैन । सबैले हुण्डी घटाउने प्रयास गर्ने हो । सबै मुलुकमा सिंगल डिजिटको हुण्डी हुन्छ नै । तर हामी कहाँ ३८ प्रतिशत पैसा हुण्डीबाटै आउँछ । पाकिस्तानमा कुनै समयमा ६० प्रतिशत पैसा हुण्डीबाट आउँथ्यो । उनीहरुले विभिन्न तरिका अपनाएर अहिले त्यो मात्रा घटाएका छन् । हामीले पनि हुण्डी निरुत्साहित गर्न विभिन्न उपाय अपनाउँदै आएका छौं । बैंक तथा वित्तिय संस्थाबाट रेमिट्यान्स ल्याउनेदेखि रेमिटेन्स कम्पनी पनि खोलेका छौं । यति हुँदा पनि केहि मुलुकबाट हुण्डी धेरै भित्रिरहेको छ । दक्षिण कोरिया गएका नेपाली कामदारले ९४ प्रतिशत रकम हुण्डीबाट पठाउँछन् । ६ प्रतिशत पैसा मात्रै फर्मल च्यानलबाट आइरहेको छ । इराजयलबाट पनि हुण्डी नै धेरै आउने गरेको हाम्रो अध्ययनले देखाएको छ । लेबनानबाट पनि हुण्डी धेरै हुने गरेको छ । यी मुलुकमा हुण्डी रोक्ने प्रयास गर्ने हो भने हुण्डीको मात्रा धेरै नै कम हुन्छ । हुण्डी घटाउन केन्द्रिय बैंकको मात्रै भूमिका हुन्न । जस्तो कोरियाबाट बर्षेनी ४२ अर्ब रेमिट्यान्स आउनुपर्ने तर २ अर्ब मात्रै आउँछ । कोरिया सरकारले स्विकृत दिएको ठाउँमा नेपाल सरकारले पठाएका मानिस कोरिया जान्छन् । नेपाल र कोरिया सरकारको नियमनमा उनीहरु कोरियामा काम गर्छन् । तर तिनै मानिसले हुण्डीबाट पैसा पठाउँछन् । नेपालीलाई कोरिया पठाउँदा नै रेमिट्यान्सबाट पैसा नपठाए फर्काइदिन्छौं भनेर नेपालमै सम्झौतामा हस्ताक्षर गराउनु पर्छ । हरेक महिना उनीहरुको रिपोर्ट हेर्नु पर्छ । रेमिटेन्सबाट पैसा नपठाए फर्काउने काम गर्नु पर्छ । हामीले श्रम मन्त्रालयसँग पनि पटक पटक छलफल गरिसकेका छौं । श्रम मन्त्रालय पनि सकारात्मक देखिएको छ । केहि मानिसले रेमिट्यान्सको शुल्क धेरै भयो भनेर हुण्डी बढेको भन्ने गरेका छन् । त्यसमा कुनै सत्यता छैन् । हुण्डी गर्नेले डलर वा अन्य मुद्राको सटही दर नै धेरै दिने गरेकाले हुण्डी प्रोत्साहित भएको हो । रेमिट्यान्स कम्पनीले डलरको भाउ १०६ दिए भने हुण्डी वालाले १०८ रुपैंयाँ दिन्छन् । १०८ मा डलर किनेर नेपाल सामान ल्याउनेहरुलाई ११२ रुपैंयाँमा बेच्छन् । त्यस्तो पैसा नेपालमा १५ प्रतिशत कर छलेर समान भित्र्याउन प्रयोग गर्छन् । हुण्डीलाई निरुत्साहित गर्न कसले कुन मात्राको पैसा कसरी ल्याएका छन र कहाँ खर्च गर्छन भनेर हेर्ने गरेका छौं । त्यो भन्दा ठुलो अध्ययन हालसम्म गरेका छैनौं । अहिलेसम्म विदेशबाट समान ल्याउनका लागि मात्रै पैसा लैजान दिने गरेका छौं । विदेशमा उद्योग खोल्न वा लगानी गर्न भने अहिलेसम्म दिने गरेका छौनौं । तर पनि नेपालबाट केहि पैसा हुण्डीका रुपमा जाने गरेको अनुमान छ । त्यस्तो फेला पर्यो भने चाँही हामी कारवाही गर्छाै । त्यस्ता सूचना दिनेलाई २० प्रतिशत पुरस्कार दिने चलन छ । हामीले हुण्डीबाट पैसा पठाउनु अपराध हो भनेर त भनेका छौं तर त्यो पर्याप्त छैन् । बैंकिङ साक्षरताका कार्यक्रममा पनि विद्यार्थीलाई हुण्डीबारे बताउने गरेका छौं । विदेश जाने नेपालीलाई अभिमुखिकरणमा पनि दुई दिनसम्म हुण्डीबारे जानकारी दिने गरेका छौं । हुण्डी रोक्न प्रयासहरु भएका छन तर पर्याप्त देखिएको छैन् । हुण्डी गर्दा गर्दै कोहि समातियो भने त्यसलाई विदेशी विनियम अपचलन गरेको केस लाग्छ । त्यसलाई विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार जति रकम हुण्डी गरेको हो त्यसको ३ गुणा जरिवाना र ३ देखि ४ बर्ष जेल सजाय हुन्छ । यस्तो केस राजश्व अनुसन्धान विभागले हेर्छ । उसैले अदालतमा मुद्धा हालेर कारवाही प्रक्रिया अघि बढाउँछ ।(कुराकानीमा आधारित)