धितोपत्र बोर्ड पछाडि हट्यो, माघमा आश्वा प्रणाली स्वेच्छिक
काठमाडौं, २७ पुस । आश्वा प्रणाली लागुु गर्ने विषयमा नेपाल धितोपत्र बोर्ड एक कदम पछाडि हटेको छ । माघदेखि अनिवार्य गरिएको आश्वा प्रणाली तत्काललाई स्वेच्छिक बनाइएको बोर्डले बुधबार जारी गरेको विज्ञेप्तिमा जनाइएको छ । नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेदेखि लागू गर्न लागेको आश्वा प्रणाली अनिर्वाय नभएको बताएको छ । उक्त प्रणाली हाल ऐच्छिक भएकोेले बोर्डले अनिवार्य नगरेसम्म पुरानो प्रणाली अनुसार लगानीकर्ताहरुले सार्वजनिक निष्काशनमा सेयर खरिदका लागि आवेदन गर्न सक्ने बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, हाल बोर्डले नेपाल राष्ट्र बैंकबाट “क” वा “ख” वर्गको इजाजत पत्र प्राप्त संस्थाहरुलाई उक्त प्रणालीमा समावेश गरी कार्य अगाडि बढाएको छ । साथै, बोर्डले आगामी फागुन महिनादेखि नेपाल राष्ट्र बैंकबाट “ग” वर्गका इजाजतपत्र प्राप्त वित्त कम्पनीहरुलाई समावेश गराई यस प्रणालीलाई क्रमशः अनिवार्य गर्ने बोर्डको योजना रहेको छ ।
तीन नदीमा तटबन्ध निर्माण गर्न भारत सरकारको ६१ करोड रुपैयाँ सहयोग
काठमाडौं, २७ पुस । भारत सरकारले कमला, बागमती र लालबकैया नदीमा तटबन्ध निर्माण गर्न ६१ करोड ९६ लाख ३० हजार रुपैयाँ प्रदान गरेको छ । सिँचाइ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरीलाई नेपालका लागि भारतका राजदूत रणजित रायले उक्त राशिको चेक हस्तान्तरण गरेका छन् । सो अवसरमा मन्त्री गिरीले नेपाल भारत सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नदी व्यवस्थापनमा भारतबाट प्राप्त सहयोगको सराहना गरेका छन् । राजदूत रायले नेपालको विकास प्रयास र दैवीप्रकोप नियन्त्रणमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। रासस
लिबर्टी इनर्जीको सातौँ साधारणसभा सम्पन्न, सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित
काठमाडौं, २७ पुस । लिबर्टी इनर्जी कम्पनीको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालका लागि सञ्चालकमा कुशकुमार जोशी, डा. आत्माराम घिमिरे, शुसिल थापा, रामबहादुर पाण्डे र राजेन्द्र वस्ती निर्विरोध निर्वाचित भएका छन् । साथै निर्वाचित संचालकहरु मध्येबाट संचालक अध्यक्षमा कुशकुमार जोशी र प्रबन्ध संचालकमा डा. आत्माराम घिमिरे नियुक्त भएका छन् । कम्पनीले २ वटा जलविद्युत आयोजनालाई अगाडी बढाईरहेको छ । जसमध्ये लमजुङ जिल्लामा रहेको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना २५ मे.वा. क्षमता जसको निर्माण कार्य करिब ३० प्रतिशत सम्पन्न भईसकेको छ । कम्पनीले २०७५ आषाढ सम्ममा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । साथै बाग्लुङ र गुल्मी जिल्लामा रहेको बडीगाढ खोलामा २१ मे.वा. क्षमताको बडिगाढ खोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययनको कार्य गरिरहेको छ ।
बीमा कम्पनीहरुको गाँठो फुकाउने बीमा समितिका अध्यक्षको भनाई, बीमकले भने-‘तपाई सपना देख्नुहोस्, हामी पुरा गर्छौ’
चिरञ्जीवि चापागाई काठमाडौं, २७ पुस । बीमा समितिका नवनियुक्त अध्यक्ष चिरञ्जीवि चापागाईले बुधबार पदभार ग्रहण गरेका छन् । बुधबार नै बीमा कम्पनीहरुको कार्यकारी प्रमुखहरु तथा यस क्षेत्रसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुले नयाँ अध्यक्षलाई बधाई तथा शुभकामना दिएका छन् । नवनियुक्त अध्यक्षको स्वागतका लागि बीमा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाईले बीमा कम्पनीहरुको समस्याका गाँठा फुकाई दिने बताए । ‘कम्पनीहरु समस्याबाट गुज्रिरहेको मैले पाएको छु । केही बीमा कम्पनीहरुको धेरै वर्षदेखि लेखापरिक्षण समेत हुन नसकेको, साधारणसभा समेत हुन नसकेको जानकारी पाएको छु’ नवनियुक्त अध्यक्षले भने-‘बीमा कम्पनीहरुमा के के गाँठो छन् । तिनीहरुलाई फुकाउने प्रयास गर्नेछु ।’ बीमा क्षेत्रको प्रमुख चुनौति नै बीमा सेवाको पहुँच वृद्धि गर्नु रहेको उनले बताए । ‘१९९४ मा नेपाल बैंकको स्थापना भयो । २००४ सालमा बीमा कम्पनी खुलेको रहेछ । बीमा भन्दा बैकिङ क्षेत्र १० वर्ष मात्र जेठो हो । तर बैकिङ क्षेत्र निकै फराकिलो भएको छ । बीमा क्षेत्रको पहुँच करिव ७ प्रतिशत मात्र रहेछ’ अध्यक्ष चापागाईले प्रश्न गर्दै भने-‘बीमा क्षेत्र किन यति धेरै पछाडि पर्यो ? हामी सबैले यसमा समिक्षा गर्नुपर्दछ । बीमा समितिले यसबारे विस्तृत अध्ययन गर्नेछ ।’ बीमा समितिले बीमा सेवा विस्तारमा जोड दिने बनाउँदै उनले भने-‘बीमा कम्पनीहरु मार्फत नै सरकारले, बीमा समितिले बीमाको पहुँच विस्तारका कार्यक्रम गर्नेछ । त्यसमा बीमा कम्पनीहरुको भूमिका प्रभावकारी हुनुपर्छ ।’ उनले बीमा कम्पनीहरुको गतिविधि पारदर्शी र विश्वसनीय हुनु पर्नेमा जोड दिए । ‘बीमा कम्पनीहरुको संस्थागत सुशासन राम्रो हुनु पर्नेछ । त्यसमा हामी कुनै पनि हालतमा सम्झौता गर्ने छैनौं’ उनले भने । अध्यक्ष चापागाईले समितिको भूमिका सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे । ‘कुनै पनि क्षेत्रको नियमक निकाय सशक्त हुनुपर्छ । आजै मैले बीमा समिति भित्र अन्तरक्रिया गरेँ । २७ वटा बीमा कम्पनी रहेछन् । केही पाइपलाईनमा पनि होलान्’ उनले भने-‘म सशक्त नियामक निकाय राष्ट्र बैंकबाट आएको थिए । बीमा समिति पनि सशक्त निकाय होला भन्ने अपेक्षा गरेको थिएँ । तर बीमा समिति संशक्त पाईन ।’ समितिमा कार्यरत कर्मचारीको क्षमता विकास र सशक्तिकरणमा आफूले जोड दिने बताए । उनले बीमा क्षेत्रको कानुनी पक्ष संशक्त नपाएको पनि टिप्पणी गरे । ‘बीमा क्षेत्रको कानुनी पक्ष दह्रिलो रहेनछ । त्यसमा गर्नु पर्ने काम हामी गर्नेछौं’ उनले भने । बीमा समितिबाट इजाजतपत्र लिएर काम गरिरहेका अधिकर्ता र सर्भेयरहरुलाई त्यसको अधिकतम सदुपयोग गर्न र सेवा प्रदान गर्न आग्रह गरे । ‘इजाजतपत्र लिएर झोलामा राख्ने काम बन्द गर्नुहोस्, बीमा समितिले अर्को निर्णय गर्न नपरोस्’ उनले भने । कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष विजयबहादुर शाहले नयाँ नियुक्त अध्यक्षसँग बीमा क्षेत्रले धेरै अपेक्ष गरेको बताए । ‘नयाँ अध्यक्षको कार्यकालमा बीमा क्षेत्रले नयाँ उचाई प्राप्त गरोस्, वीमा क्षेत्र अझ समृद्ध होस्, यो क्षेत्र अझ व्यवसायिक होस्, बीमाका नयाँ क्षेत्र पहिचान हुन्, बीमा क्षेत्रका समस्या समाधान होऊन्, अन्यौलताहरु कम हुँदै जाउन र बीमा क्षेत्र यस्तो होस, जहाँ हामी सबैले गर्व गर्न सकौँ’ उनले भने- ‘तपाई सपना देख्नुहोस्, हामी पुरा गर्न तयार छौं ।’ बीमक संघका अध्यक्षको भनाईले आफूलाई मलाई उत्साहित बनाएको चापगाईले बताए । ‘बीमा समिति बीमक संघसँग मिलेर काम गर्छ । बीमा सर्भेयस् संघ, बीमा अभिकर्ता संघ, इन्स्यारेन्स प्रोफेशनल्स सोसाईटी लगायत सबैसँग छलफल गरेर, सहकार्य गरेर यो क्षेत्रको समस्या समाधान गर्न प्रयास गर्नेछौं’ उनले भने-अब बीमा समितिको निर्णय प्रक्रिया समावेशी प्रकृतिको हुनेछ ।’
सगरमाथा इन्स्योरेन्सको २३ प्रतिशत लाभांश पारित, २२ प्रतिशत बोनस र एक प्रतिशत नगद
काठमाडौं, २७ पुस । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७२/२०७३ को मुनाफाबाट २३ दशमलब १५७ प्रतिशत लाभांश दिने भएको छ । बुधबार सम्पन्न इन्स्योरेन्सको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई २२ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब १५७ प्रतिशत नगद गरी सो मात्रामा लाभांश दिने कम्पनीको निर्णयलाई पारित गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा ८ दशमलब ८६ प्रतिशतले व्यावसाय वृद्धि गरि एक अर्ब ११ करोड रुपैयाँ प्रिमियम आर्जन गर्न सफल भएको कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले बताएका छन् । साथै सोही अवधिमा कम्पनीले २० करोड ६७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । जुन अघिल्लो वर्षको तुलनामा १७५ दशमलब ४८ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७३/२०७४ को पुस सम्म कम्पनीले ६४करोड रुपैयाँ बीमा प्रिमियम संकलन भइसकेको विज्ञप्तिमा उल्लेख छ । हाल कम्पनीले प्रधान कार्यालय बाहेक ३३ वटा शाखा/उपशाखा कार्यालयहरुबाट वीमा सेवा उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७३/२०७४को असार मसान्त सम्ममा थप सेवा विस्तार गरी ४२ शाखा पुर्याउने कम्पनीको लक्ष्य रहेको छ ।
परिसूचक सामान्य अंकले ओरालो लाग्दा ३६ करोडको कारोबार, बीमा ५० अंकले तल झर्यो
काठमाडौं, २७ पुस । बुधबारको सेयर बजारमा परिसूचक सामान्य अंकले आरालो लागेको छ । परिसूचक सामान्य अंकले ओरालो लागेर १४७६ दशमलब ५१ अंकमा झरेको छ । सो दिन ३६ करोड २५ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार १२० कम्पनीको ४५ लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नबील ब्यालेन्स फण्ड १ को ४ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नबील ब्यालेन्स फण्ड १ को सेयर मूल्य प्रतिकित्ता साढे १९ रुपैयाँ रहेको छ । सो दिन दुई कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सहयोगी विकास बैंक र कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ९.८८ र ९.७९ प्रतिशत कमाएका छन् । बुधबार फाइनान्स, होटल, अन्य र बैंकिङ् समूह बाहेक अन्य समूहका परिसूचक ओरालो लागेका छन् । फाइनान्स, होटल, अन्य र बैंकिङ् समूहको परिसूचक क्रमशः ११, ७, २ र २ अंकले उकालो लागेका हुन् । बीमा, जलविद्य्युत र विकास बैंक समूहको परिसूचक क्रमशः ५०, १२ र ९ अंकले ओरालो लागेका हुन् ।
पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण (फोटो फिचर सहित)
काठमाडौ, २७ पुस । शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ । तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू-भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेना नेपालद्वारा उनको २५५ औँ जन्मजयन्ती मनाएको हो । विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले समेत उनको सालिकमा फूल गुच्छा चढाएर उनको योगदानको चर्चा गरेका थिए । गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो । सो समाजको सहयोगमा नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए । समाजका संस्थापक अध्यक्ष डा उपेन्द्र देवकोटाले पृथ्वीनारायण शाहले निर्माण गरिदिएको मुलुकमा बस्ने नेपालीले उनलाई आदर गर्नुपर्नेमा जोड दिँदै पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मान्नपर्ने बताए। राप्रपाका अध्यक्ष कमल थापाले आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहले जीवन समर्पण गरेको विचार व्यक्त गर्दै उनको सम्मानमा राष्ट्रले औपचारिक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन्। पूर्वमन्त्री सुनिल थापाले नेपालीले सदैव पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा खेलेको भूमिकालाई स्मरण गरी सम्मान गर्नुपर्ने बताए । शिवसेना नेपाललका अध्यक्ष अनिल बस्नेतले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेकामा चिन्ता व्यक्त गरेका छन्। पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती दिनु बताएका छन्। रासस
एनआईसी एशिया बैंक र रेडक्रस सोसाइटीबीच रक्तदान अभियान संचालन गर्ने सम्झौता
काठमाडौं, २७ पुस । एनआईसी एशिया बैंक र नेपाल रेडक्रस सोसाइटी बिच रक्तदान अभियान संचालन गर्ने सम्बन्धि सम्झौतामा भएको छ । उक्त सम्झौता पत्रमा बुधबार एक कार्यक्रमकाबीच हस्ताक्षर भएको छ । सो सम्झौतामा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देवरत्न धाख्वाले हस्ताक्षर गरेका छन् । एनआईसी एशियाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान जस्तो अत्यन्त आवश्यक र जरुरी जनस्वाथ्य संग सम्बन्धित विषयलाई लिएर देशव्यापी रुपमा रक्तदान शिविर संचालन गर्ने अभियानको आर्थिक व्ययभार व्यहोर्ने छ । साथै, नेपाल रेडक्रस सोसाइटीले देश भरी रहेका आफ्ना शाखा प्रशाखाको प्राविधिक सहयोगमा रक्त संकलन, भण्डारण र वितरण गर्ने विज्ञप्तिमा जनाइएको छ । एनआईसी एशिया र नेपाल रेडक्रस सोसाइटीको यो सहकार्यको प्राथमिक लक्ष्यमा देशभर १०० भन्दा बढी रक्तदान कार्यक्रम संचालन गर्ने योजना छ । रक्तदान बारे जनचेतना जगाउनु र “रक्तदान ( जीवनदान” हो भन्ने जागरण साथ धेरै भन्दा धेरै संभावित दाताहरुलाई रक्तदान कार्यक्रममा सहभागी गराएर कुनै पनि नागरिकको रगतको अभावले अकालमा मृत्यु हुन नदिन रगतको अभावलाई अन्त्य गर्नु यस्को दोस्रो लक्ष्य रहेको आयोजकले जनाएका छन् । साथै, रक्तदान जस्तो जनस्वाथ्यसंग सरोकार रहेको विषय आधार भूत विषय भएर पनि अझ व्यवस्थित र स्तरीय गर्नु पर्ने महशुस भएकोले रक्तदान शिविरहरुलाई अझ व्यवस्थित, स्तरीय र संस्थागत गर्ने अर्को दुरगामी लक्ष्य समेत यस सम्झौतामा समेटिएको छ । यो सहकार्य समाजका लागि एक अनुपम उदाहरण हुने र दुवै संस्थाले समाजमा अझ बढी योगदान पु¥याउन सक्ने विश्वास गरेका छन् ।