विकासन्युज

एलजीले ल्यायो ‘इञ्जोय टिभी रेञ्ज’ बजारमा

काठमाडौं, २९ पुस । एलजी ब्राण्डले ब्रिङगिङ् रिएल जोए इन योर लाइफ भन्ने ‘इञ्जोय टिभी रेञ्ज’ बजारमा ल्याएको छ । अन्य कम्पनी तथा ब्राण्डको तुलनामा उक्त टिभी फरक र अतुलनिय रहेको कम्पनीले जनाएको छ । उक्त टिभीमा ट्रियू करल एकुरेसी, ठूलो साइज, प्रष्टता, मेटालिक डिजाइन जस्ता विभन्न विशेषता रहेको कम्पनीले जनाएको छ । साथै, टिभीको एन्टी सक स्क्रीनमा वास्तविकता तथा एकरुपता पाइने छ भने यसका ३२ र त्यस माथिका सबै मोडलका टिभीहरुमा आइपिइस प्यानलहरु रहेका छन् । इञ्जोय टिभी सेरिजले दर्शकलाई भरपुर मनोरञ्जन दिनुका साथै सबै दृष्टिकोणबाट कोलाहल प्रकाश आदीबाट सुरक्षित र स्वतन्त्रता महशुस गराउँदछ । जसले श्रोत र उर्जाको उचित बचत गर्नुका साथै विभिन्न अनौठा र नयाँ नयाँ गेमहरु पनि डाउनलोड या सेटिङ्ग गरेर हेर्न सकिने कम्पनीले जनाएको छ ।

माघे सक्रान्तिको अवसरमा चन्द्रागिरिमा कन्सर्ट, कन्सर्ट अपरान्ह १२ बजेदेखि शुरु

काठमाडौं, २९ पुस ।  नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा माघे सक्रान्तिको अवसरमा कन्सर्ट हुने भएको छ । कन्सर्टमा मायाको डोरीले, ओमिरी जस्ता गितका चर्चित गायक दिपक बज्रचार्य, चर्चित कमेडियन एवम् जादुगर महादेव त्रिपाठी, नृत्यमा चर्चा कमाएको कार्टुन क्रुज आदिको बेजोड प्रस्तुति रहने छ । माघ १ गते शनिबार अपरान्ह १२ बजे बाट शुरु हुने उक्त कार्यक्रमको व्यवस्थापक तथा संयोजन दिनेश डिसी प्रोडक्सनले गर्ने आयोजकले जनाएका छन् । श्री स्वस्थानी ब्रतकथामा सतिदेवीको निधार पतन भएर उत्पन्न भएको भालेश्वर महादेवको मन्दिर अवस्थित चन्द्रागिरिमा अहिले चन्द्रागिरि हिल्सले केबलकार सहित एकीकृत पर्यटकीय केन्द्र निर्माण गरेको छ । यात्रा, हिमाली शृंखलाका मनमोहक दृश्य, शान्त पहाडको वातावरण , वालबालीकाको लागि विभिन्न निःशुल्क खेलको व्यवस्था चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा उपलब्ध छन् । चन्द्रागिरि केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा प्रदान गरिने चन्द्रागिरि हिल्सले जनाएको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकद्धारा १२९० रुपैयाँ प्रिमियम मूल्यमा सेयर निष्कासन प्रस्ताव

काठमाडौं, २९ पुस । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले १२९० रुपैंयाँ प्रिमियम सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ । बैंकले एक सय रुपैंयाँ मूल्य अंकित सेयरमा ११९० रुपैंयाँ प्रिमियम मूल्य थपेर सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । बैंकले २५५८१४० कित्ता प्रिमिय सेयर निष्काशन गर्ने जनाएको छ । बैंकले प्रिमियममा सेयर निष्कासन गरेपछि ३ अर्ब ३० करोड ६ सय रुपैंयाँ पुजी वृद्धि हुनेछ । बैकको बिहिबार बसेको सञ्चालक समिति बैठकले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । सो प्रस्ताव शुक्रबार नै धितोपत्र बोर्डमा पेश गरिसकेको छ । बोर्डले अनुमति दिएपछि बैंकले प्रिमिय मूल्यमा सेयर निष्काशनको प्रक्रिया अघि बढाउनेछ । ८ अर्ब पुँजी पुर्याउनुपर्ने नेपाल राष्ट्र बैंकको निती अनुसार बैंकले प्रिमियममा सेयर निष्काशन गर्न लागेको हो ।

सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंक एक्वाएर गर्ने, पूँजी ५ अर्ब रुपैयाँ नाघ्ने

काठमाडौं, २९ पुस । सानिमा बैंक लिमिटेडले बागमती डेभलपमेन्ट बैंकलाई एक्वाएर (प्राप्ति) गर्ने भएको छ । शुक्रबार सम्पन्न उक्त एक्वाएर पश्चात कम्पनीले सानिमा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएका छन् । उक्त कार्यक्रमको शुभारम्भ सानिमा बैंकको ब्राण्ड प्रवन्धक मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका संचालक समितिका सदस्य भरतकुमार पोखरोल र महेश घिमिरेले गरेका छन् । अब सानिमा बैंकको शाखा संजालमा हरिवन तथा लालबन्दी शाखाहरु पनि थपिएको कम्पनीले जनाएको छ । सानिमा बैंकका संचालक समितिका सदस्यहरुद्वारा प्राप्ति पश्चात सानिमा बैंकले हरिवन र लालबन्दि शाखाबाट पनि सम्पूर्ण बित्तीय सेवा प्रदान गरिने जनाएका छन् । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । साथै, हाल बैंकको शाखा संजाल ४३ वटा तथा एटिएम संख्या ४९ वटा पुगेको बैंकले जनाएको छ ।

आन्तरिक राजस्व विभाग ४ बजेसम्म, सेवाग्राणीको लगि शुक्रबार पनि दिनभर खुला

काठमाडौं २९, पुस । आन्तरिक राजस्व विभाग लाजिम्पाटको कार्यालय आज शुक्रबार पनि ४ बजेसम्म खुला रहने भएको छ । सेवाग्राहीको सुविधालका लागि बैंक तथा नगद काउन्टर दिनभर खुला राखिने भएको छ । करदाताको सुविधाका लागि आन्तरिक राजस्व विभाग अन्तर्गगतका शाखा तथा काउन्टरबाट दिने ४ बजेसम्म राजस्व बुझ्न सकिने सूचना विभागले सार्वजनिक गरेको छ । सेवाग्राहिका लागि शुक्रबार दिनभर दिइने यो सेवाले थप सहजता हुने उल्लेख छ ।

सान्जोसेले धोका दिएपछि विमानस्थल विकास शुल्क रनवेमा, ३ अर्ब खर्चेर ३ हजार मिटरको रनवे मर्मत

काठमाडौ २९, पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने जिम्मा स्पेनिस कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले धोका दिएपछि विमानस्थको धावनमार्ग नेपाल नागरिक उड्डयन प्राधिकरण आफैंले बनाउने भएको छ । तीन वर्षभित्र विमानस्थल विस्तारको काम गर्न ६ अर्ब खर्च गर्ने जिम्मा पाएको भएपनि चित्तबुझ्दो काम नगरेका कारण यो कम्पनीसँगको ठेक्का सम्झौता गत महिना तोडिएको छ । एसियाली विकास बैङ्क (एडीवी)को आठ करोड अमेरीकी डलरको ऋण सहयोगमा विमानस्थलको क्षमता विमानस्थलको विस्तारको काम सान्जोसेले तीन वर्षदेखि गर्दै आएको थियो । एसियाली विकास बैंक (एडीबी)को ७ करोड डलर ऋण र एक करोड डलर अनुदान लिएर तीन वर्षभित्र विमानस्थल विस्तार गर्न जिम्मा पाएको भएपनि निर्धारित समयमा जम्मा १६ प्रतिशत मात्रै काम गरेका कारण प्राधिरणले यसको ठेक्का तोडेको हो । यो ठेक्का तोडेपछि प्राधिकरण आफैंले विमानस्थल विस्तारको काम गरिरहेको बताएको छ । प्राधिकरण आफैंले विमानस्थको धावनमार्ग (रनवे) मर्मतको काम गर्ने भएको छ । प्राधिकरणले हरेक विदेश जाने यात्रुबाट लिएको विमानस्थल विकास शुल्कको प्रयोग गरेर धावनमार्ग मर्मत गर्ने भएको छ । प्राधिकरणले ३ हजार मिटरको धावनमार्ग मर्मत गर्न ३ अर्ब रुपैयाँ खर्च गर्ने भएको उड्डयन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले बताए । उनका अनुासार तीन वर्षअघिदेखि उठाउन सुरु भएको प्रतियात्रु एक हजार रुपैयाँको यस्तो विमानस्थल शुल्क धावनमार्ग मर्मतमा नै खर्चन लागिएको छ । प्राधिकरणले विमानस्थलको धावनमार्ग मर्मत गर्ने र चार वटा अन्तर्राष्ट्रिय उडानका जहाजको पार्किङ पनि बनाउने भएको छ । हाल पार्किङ अभावका कारण प्राधिकरणलाई निकै असजता हुँदै गएको छ । अन्तर्राष्ट्रिय उडानका जहाज थप भइरहने र जहाज पार्किङ भने कम भएकोले निकै समस्या हुन थालिसकेको विमानस्थल कार्यालयको भनाइ छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७१/७२ बाट उठाउन सुरु गरिएको विमनस्थल विकास शुलक पहिलो वर्ष १ अर्ब ६५ करोड उठेको छ । दोस्रो वर्ष १ अर्ब ४८ करोड २९ लाख रहेको छ । चालू आवष्मा पनि १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान प्राधिकरणको छ । यही रकम खर्च गरेर धावनमार्ग र पार्किङ वे निर्माण गर्न लागिएको पनि प्राधिधकरणको भनाइ छ । प्राधिकरणले नेपालबाट बाहिर जाने हरेक यात्रुका लागि प्र्रतिव्यक्ति भ्याट बाहेक १ हजार रुपैयाँ लिँदै आएको छ । यस्तो शुल्क विमानस्थ संचालन निर्देशिका अनुसार विमानस्थलको क्षमता विस्तार, यात्रु सेवा वा विमानस्थलको विकासमा मात्रै लगाउन पाइने सर्त तोकिएको पनि प्राधिकरणको भनाइ छ । तीन वर्षमा सान्जोसेले विमानस्थलको भौतिक पूर्वाधार बनाउने, नयाँ टर्मिनल भवन बनाउने, हवाई उडानका विभिन्न प्रविधि जडान गर्ने काम गर्नुर्पे थियो । यस्तो काममा त्रिभुवन विमानस्थलको एयर साइट विकासमा तीन सय मिटर धावनमार्ग बढाउने, नयाँ ट्याक्सी वे बनाउने, धावनमार्गमा सेन्ट्रलाइन लाइट जडान, नौ वटा अन्तर्राष्ट्रिय उडानका जहाजको पार्किङ क्षेत्र थप गर्ने, नयाँ प्रस्थान गेट बनाउने, आगमनमा नयाँ व्यागेज क्षेत्र बनाउने, एयर ट्राफिक कन्ट्रोलरको अटोमेसनसहतिका प्राविधि काम गर्ने उल्लेख छ । यी सबै काममा प्रगति नभएकोले ठेक्का सम्झौता तोडेर अब प्राधिकरण आफैंले वार्षिक वजेटबाट बनाउने तयारी थालिरहेको पनि उल्लेख छ ।

पुस्तक छाप्न दाता गुहार्दै जनक शिक्षा, तीन शीर्षकमा ९१ करोड रुपैंया सहयोगको लागि अनुरोध

काठमाडौं २९, पुस । आर्थिक अभावका कारण लक्ष्यअनुसार पाठ्यपुस्तक छाप्न नसकेपछि जनक शिक्षा सामग्री केन्द्रले छपाइका लागि दाता गुहार्ने भएको छ । लामो समयदेखि आर्थिक अभाव झेलिरहेको केन्द्र आर्थिक स्रोतको विकल्पका रुपमा दाताको भर पर्न बाध्य भएको हो । लामो समयदेखि राजनीतिक पार्टीका कार्यकर्ता भर्तिकेन्द्रको रुपमा संचालन गर्दा टाट पल्टिने अवस्थामा पुगेको केन्द्रलाई सवल बनाउन शिक्षा मन्त्रालयको पहलमा दाताको सहयोग मागिएको हो । वैशाखमा सुरु हुने नयाँ शैक्षिक सत्रका लागि समेत पुस्तक छाप्न कठिन भएपछि एसियाली विकास बैंक (एडीबी) सँग आर्थिक सहयोग मागिएको छ । एडीबीले केन्द्रलाई आर्थिक सहयोग गर्न सार्वजनिक संस्थान बोर्डका पूर्वअध्यक्ष विमल वाग्लेको अध्यक्षता गठन गरिएको समितिले केन्द्रको वर्तमान अवस्थाको अडिट गरिरहेको छ । केन्द्रका प्रमुख बजार व्यवस्थापक सुजन नेपालले एडीबीसँग तीन शीर्षकमा ९१ करोड रुपैंया सहयोगको लागि अनुरोध गरिएको जानकारी दिए । कारोबार दैनिबाट ।

नेपालीका भारू नोट साटिने, भारु साट्ने माडालिटी नेपालले भारतलाई बुझायो

नयाँ दिल्ली, २९, पुस । पाँच सय र हजार दरका भारतीय नोट साट्ने सम्बन्धमा तयार पारेको मोडालिटी नेपालले भारतलाई औपचारिक रूपमा बुझाएको छ। पुराना नोट साट्ने सम्बन्धमा दुई देशका उच्च अधिकारीहबका बीचमा बिहीबार नयाँ दिल्लीमा भएको वार्तामा नेपालले आफूले तयार पारेको मोडालिटी बुझाएको हो। सो मोडालिटीमा केही संशोधन गर्नुपर्ने सुझाव भारतीय पक्षले दिएकाले नोट साट्ने ठोस निर्णय हुन अझै केही समय कुनुपर्ने देखिन्छ। वार्तामा सहभागी नेपाली अधिकारीहरूका अनुसार भारतले नेपालमा रहेका पुराना नोटहरू साट्ने सम्बन्धमा सकारात्मक र संवेदनशील रहेको प्रतिक्रिया दिएको छ। बैठकमा सहभागी एक अधिकारीका अनुसार भारतीय पक्षले दिएको सुझाव समावेश गरेपछि प्राविधिक विषयमा टुंगोमा पुगिनेछ। भारतमा पुराना नोटहरू साट्ने समयसीमा डिसेम्बर ३० मा समाप्त भए पनि नेपाललाई विशेष व्यवस्था गर्न दुई देशका अधिकारीहरूका बीचमा वार्ता भएको हो। बैठकमा नयाँ दिल्लीस्थित नेपाली दूतावासका इकोनोमिक मिनिस्टर कृष्णहरि पुष्करले सो मोडालिटीका बारेमा भारतीय पक्षलाई जानकारी गराइएको बताए। उनले भने, ‘हामीले नोट साट्ने प्राविधिक मोडालिटी हस्तान्तरण गरेका छौं, त्यसमा भारतीय पक्षले केही फिडब्याक दिएको छ।’ पुष्करले सो मोडालिटीमा परिचयपत्र, आम्दानीको स्रोत लगायतका विषयहरूलाई स्पष्ट खुलाएर मात्र पुराना भारतीय नोटहरू साट्न सकिने लगायतका प्रावधान रहेको बताए। यद्यपि सो मोडालिटीको विषयमा छलफल सुरु भएकाले अधिकारीहरूले स्पष्ट रूपमा जानकारी दिएका छैनन्। पुष्करका अनुसार भारतीय पक्षले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यसले नेपालमा परेको समस्या समाधान गर्नका लागि आफूहरू गम्भीर र संवेदनशील रहेको बताएका थिए।’ नेपाल र नेपालीले भोगेका वास्तविक समस्या समाधान गर्न भारतीय पक्ष सकारात्मक देखिन्छ,’ पुष्करले भने। पुराना नोट साट्ने सम्बन्धमा गैरकानुनी रूपमा कमाइएको र कालोधन साट्ने वातावरण नबनोस् भन्ने भारतीय पक्षको चासो रहेको छ। नेपाली पक्षले यस्ता विषयहरूलाई पूर्ण रूपमा सम्बोधन गर्ने आश्वासन दिएको छ। नेपालको बैंकिङ प्रणालीमा रहेका नोटको यकिन भए पनि सर्वसाधारणसँग भएको रकमको यकिन छैन। त्यसैगरी भारु सय रुपैयाँका नोटहरू सुचारु गर्ने विषयमा समेत भारतीय पक्षले सकारात्मक जवाफ दिएको नेपाली अधिकारीहरूको दाबी छ। वार्षिक रूपले भारतले दिँदै आएको ६ अर्ब रुपैयाँको पहिलो किस्ता तत्काल दिन भारत सहमत भएको छ। भारतीय रिजर्भ बैंकले दिँदै आएको भारु केही समययता दिन रोकेपछि विद्यार्थाी तथा औषधि उपचारका लागि भारत आउने नेपालीहरूले समस्या भोगेका थिए। ‘पहिलो किस्ता भारु निकासा गर्न भारतीय पक्ष तयार भएको छ, हामीले छिट्टै त्यो प्राप्त गर्छौं,’ पुष्करले भने। नयाँ पाँच सय र दुई हजार रुपैयाँका नोट नेपालमा चलनचल्तीमा ल्याउने विषयमा समेत कुराकानी भएको थियो। भारतीय पक्षले नेपालले चाहेमा नयाँ नोट प्रचलनमा ल्याउन आफूहरूलाई कुनै समस्या नहुने बताएको छ। तर यसका लागि नेपाली पक्षले औपचारिक आग्रह भने गरेको छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा पाँच सय र हजारका नोटहरू रद्द भएको घोषणा गरेका थिए। भारतमा पुराना नोटहरू साट्ने समयसीमा डिसेम्बर ३० मा सकिएको छ। नेपालमा र भुटानमा त्यसले पारेको समस्या अझै समाधान भएको छैन। कान्तिपुर दैनिकबाट ।