विकासन्युज

राष्ट्रपतिकी छोरीको विवाहमा पूर्वराजा, प्रथम राष्ट्रपति, प्रथम महिला राष्ट्रपति सहभागि, राष्ट्रपति भन्दा पूर्व राजा हँसिला

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा निशाकुसुम भण्डारीको शुभ विवाह सोमबार राष्ट्रपति भवनमा भव्यताका साथ सम्पन्न भएको छ । साथै यो विवाह ऐतिहासिक महत्वको भएको छ । राष्ट्रपतिकी कान्छी सुपुत्री डा निशाकुसुम आफ्नो वरलाई औँठी लगाउँदै । गणतन्त्र स्थापनापछि राष्टपति भवनमा आयोजित यो पहिलो विवाह हो । जहाँ राष्टपति विद्यादेबी भण्डारी, पूर्व राष्टपति डा रामवरण यादव र पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थिति थियो । सत्ता गुमाएका राजा र राष्ट्रपतिबीच प्रत्यक्ष भएको सम्भवत यो पहिलो भेट हो । रोचक पक्ष के देखिएको छ भने उक्त विवाह समारोहमा प्रथम राष्ट्रपति डा रामवरण यादव, प्रथम महिला राष्ट्रपति विद्यादेबी भण्डारी भन्दा पुस्तौली सत्ता गुमाएका पूर्व राजा ज्ञानेन्द्र शाह प्रशन्न्, प्रफुलित र हँसिला देखिन्थे । पूर्वराजा शाहले बरबधुलाई शुभकामना तथा बधाई दिदै दुई हात जोडेर नमस्कार गरेको दृष्यले धेरैलाई आश्चर्य बनाएको थियो । राष्ट्रपति निवास शीतल निवासमा इन्जिनियर अभिषेक यादवलाई भण्डारीले बिहान १० बजे स्वयम्वरको माला लगाइदिएकी थिइन् । विवाह समारोहका लागि दुलहा आफ्ना पिता इन्जिनियर मुनीलाल, माता सांसद किरण यादवलगायत आफन्तका साथ शीतल निवास पुगेका थिए । विवाह समारोहमा राष्ट्रपति भण्डारी एवम् उनका परिवार र आफन्तजनको सहभागिता थियो ।   वरवधुलाई बधाई तथा शुभकामना दिदै उपराष्ट्रपति नन्दबहादुर पुन । सो अवसरमा शुभकामना एवम् आशीर्वाद दिन परिवारजन, आफन्तजन तथा आमन्त्रित महानुभावको समेत उपस्थिति थियो । राजनीतिमा तराई र पहाडबीच तिक्तता देखिए पनि राष्ट्रपतिकी छोरी भण्डारी र पूर्व राष्ट्रपतिका नाति यादवबीच चलेको अन्तरजातिय प्रेम ऐतिहासिक विवाह हुँदै दाम्पत्य जीवनमा परिणत भएको छ । दुबै जनाले राष्ट्रपति भवनको विवाह मण्डपमा आगो साक्षी राखेर जीवनभर साथ दिने प्रण गरेका छन् । उनीहरुबीच विगत सात वर्षदेखि प्रेम सम्बन्ध रहेको बताईएको छ । (तस्बिरः रोशन सापकोटा र राष्टपति कार्यालय, रासस)

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह(फोटो फिचर सहित)

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभविवाहका अवसरमा विभिन्न व्यक्तित्वहरुबाट बरबधुलाई बधाई तथा शुभकामना दिइएको छ । राष्ट्रपतिकी कान्छी सुपुत्री डा निशाकुसुम आफ्नो वरलाई औँठी लगाउँदै । स्वर्गीय मदनकुमार भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह इन्जिनियर मुनिलाल यादव एवम् सांसद किरण यादवका ज्येष्ठ सुपुत्र इन्जिनियर अभिषेक यादवका साथ सोमबार सुसम्पन्न हुँदैछ । निशाकुसुम भण्डारी अभिषेक यादवलाई स्वयम्वरको माला लगाउँदै । शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञलगायतको उपस्थिति थियो । समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि उपस्थित थिए । निशाकुसुम भण्डारीको शीतल निवासमा विवाहोत्सव समारोह ।   विवाहको सबै कार्यक्रम सोमबारनै सम्पन्न हुने राष्ट्रपति भण्डारीका स्वकीय उपसचिव दीपा शर्माले जानकारी दिएका छन् । रासस

नबिल बैंकलाई आश्वाको सदस्यता प्राप्त

काठमाडौं, ३ माघ । नबिल बैंकलाई नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्रदान गरिएको छ । आश्वा प्रणाली अनुसार सेयर तथा धितोपत्रको कारोबार गर्दा आवेदन फारममा माग गरिएको संख्याको आधारमा आवश्यक रकम बैंक खातामा रोक्का जनाइ आवेदकको बैंक खातामा नै राखिन्छ । उक्त रकम शेयरको बाँडफाँड पश्चात खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ । नबिल बैंकको आश्वा सदस्यताबाट बैंकले आफ्ना ग्राहकहरुलाई सेयर बाँडफाँड पश्चात चेक सकंलन गर्ने, फिर्ता गरेको चेक संकलनमा ढिलाई हुने जस्ता झन्झटहरुबाट मुक्त पार्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले आश्वा सदस्यता सेवाले ग्राहक महानुभावहरुलाई थप सुविधा प्रदान गर्नुका साथै सेयर कारोबार गर्ने विद्ममान झन्झटिलो प्रक्रियाबाट मुक्ति दिलाउने बताएका छन् ।

सोमबार मात्र एनएमबि हाईब्रिड फण्ड एल-१ को १० करोड इकाइ नेप्सेमा सूचीकृत

काठमाडौं, ३ माघ । एनएमबि हाईब्रिड फण्ड एल-१ को १० करोड इकाइ नेप्सेमा सूचिकृत भएको छ । सोमबार मात्र यो फण्डको १० करोड इकाइ नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण गरिएको हो । एनएमबि हाइब्रिड फण्ड एल-१ को अब एक सातापछि मात्र दोस्रो बजारमा कारोबार शुरु हुनेछ । यसको फण्ड व्यवस्थापनको काम एनएमबी क्यापिटल लिमिटेडले गर्दै आएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफको एफपीओमा रू. ५१ अर्ब ९४ करोड संकलन, निष्काशनभन्दा ११.७७ गुणा बढि माग

काठमाडौं, ३ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४१ करोड रुपैंयाँको एफपीओ निष्काशन गरेकोमा ५१ अर्ब ९४ करोडको आवेदन परेको छ । सेयर लगानीकर्तामाझ निकै आकर्षक मानिएको यस एफपीओ निष्काशनभन्दा ११ दशमलब ७७ गुणा बढि आवेदन परेको हो । सिद्धार्थ क्यापिटलका मर्चेण्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीका अनुसार अन्तिम दिन मात्रै एक लाख ४२ हजार जनाले ३६ अर्ब ४४ करोड रुपैंयाँ बराबरको आवेदन दिएका थिए । शुक्रबारसम्म एक लाख १० जनाको १५ अर्ब ५० करोड मूल्य बराबरको आवेदन परेको थियो । नेपाल लाइफले  १०० रुपैयाँ अंकित भ्यालु भएको सेयरमा प्रतिसेयर १३२५ रुपैयाँ प्रिमियम राखेर प्रतिकित्ता १४२५ रुपैयाँमा निष्काशन गरेको थियो । कम्पनीले ३० लाख ९६ हजार ४ सय ९९ कित्ता एफपीओ निष्काशन गरेको हाे ।

भूकम्प पीडित उद्योगीहरुलाई पुनःकर्जाको व्यवस्था गर्न महासंघको आग्रह

काठमाडौं, ३ माघ । सरकारद्वारा जारी पुनःउद्दार कर्जा कोष कार्यविधि अनुसार भूकम्प र नाकाबन्दी पीडित उद्योगीहरुलाई उनीहरुको माग र उद्योगको क्षमता अनुसार पुनःकर्जाको व्यवस्थाका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारसमक्ष आग्रह गरेको छ । बदलिंदो परिवेशमा महासंघले अवलम्बन गर्नुपर्ने भावी बाटो तय गर्ने सन्दर्भमा महासंघको नवलपरासीको अमलटारीमा बसेको केन्द्रिय कार्यसमिति र केन्द्रिय महिला उद्यमी समितिको संयुक्त विस्तारित बैठकबाट घोषणापत्र जारी गर्दै सो आग्रह गरेको हो । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले ४६ जिल्लामा लागु गरिएको महिला उद्यमशीलता विकास कोषबाट दिने गरिएको सहुलियतपूर्ण कर्जाको पाँच लाखको सिमासम्म भएको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न पनि माग गरेका छन् । स्वदेशी वस्तुको उपयोगलाई बढावा दिदै आत्मनिर्भरता तर्फको अभियान अगाडि बढाउन सरकारद्वारा जारी सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धि निर्देशिका कडाईका साथ लागू गराउन सरकारसँग माग गर्दै ७५ वटै जिल्लामा अभियान चलाउन लागिएको उनले जानकारी दिएका छन् । परम्परागत र कम उत्पादकत्व भएको प्रविधिलाई विस्थापित गर्दै लघु घरेलु तथा साना उद्योगहरुको क्षेत्रमा नविनतम प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न र यस क्षेत्रमा भएको खोज र अनुसन्धानलाई समेट्दै २०७४ कोे वैशाखमा प्रविधि प्रद्वर्शनी आयोजना गर्ने घोषणापत्रमा उल्लेख छ । सरकारी निकायहरुले जिल्ला तहमा लघु घरेलु तथा साना उद्योगको प्रवद्र्वनका लागि सञ्चालन गर्ने कार्यक्रमहरु जानकारी दिन र यस सम्बन्धि बहस पैरवी चलाउन महासंघले ७५ रै जिल्लामा सार्वजनिक नीजि सम्वाद सञ्चालन गर्ने पनि घोषणा गरेको छ । भर्खरै जारी औद्योगिक व्यवसाय ऐनले साना उद्योगको पूँजी सीमा तीन करोडबाट १० करोड पुर्याएको सन्दर्भमा यस पूँजी सीमामा पर्ने उद्योगलाई सदस्यता विस्तार गर्ने र महासंघको आन्तरिक सांगठानिक जीवनलाई पुनःपरिभाषित गर्दै व्यवस्थित गर्ने अभिायन चलाउने घोषणापत्रमा उल्लेख छ । अहिलेसम्म पनि उद्योगहरुको तथ्याङ्क अत्यन्तै परम्परागत ढंगबाट राखिएको हुँदा यसलाई उच्चस्तरको डिजिटल प्रविधि प्रयोगगरी अद्यावधिक गर्न महासंघ आफैले अभिायन चलाउने र यस महासंघका उद्यमी व्यवसायीहरुलाई डिजिटल लिङ्केजमा आवद्व गर्ने घोषणा गरिएको अध्यक्ष गिरीले जानकारी दिएका छन्। मुलुक लामो समयदेखि रहेको राजनीतिक अस्थिरता तथा गतवर्षको भूकम्प र नाकाबन्दीले मुलुकभर रहेका झण्डै तीन लाख लघु घरेलु तथा साना उद्योगहरु कठिन परिस्थितिबाट गुज्रिरहेका भन्दै अध्यक्ष गिरीले आर्थिक रुपान्तरणको कठिन पाटोलाई सम्बोधन गर्न आवश्यक हुने विषयलाई समेटेर यो बैठकले अमलटारी घोषणा पत्र जारी गरेको बताए। महासंघ लघु, घरेलु तथा साना उद्योगहरुको हक र हितको संरक्षण र सम्बद्र्वनका लागि बहस पैरवी गर्ने र यस्ता उद्योगको क्षमता विकासका लागि काम गर्ने उद्देश्यका साथ २०४७ सालमा स्थापना भएको संस्था हो । महासंघको ७५ वटै जिल्लामा जिल्ला संघहरु रहेको र यी अन्तरगत झण्डै ३५ हजार उद्यमीहरु आवद्व छन भने केन्द्रमा केन्द्रिय महिला उद्यमी समिति र ५८ जिल्लामा जिल्ला महिला उद्यमी समिति क्रियाशील रहेको र यसको सञ्जालमा ११ हजारभन्दा बढि महिला उद्यमीहरु आवद्व रहेका छन । यसका अतिरिक्त महासंघमा २१ वटा वस्तुगत संघर महासंघहरु संस्थागत रुपमा आवद्व रहेका छन । त्यसैगरी, ५० लाखभन्दा बढि चुक्ता पुँजीभएका १५० उद्योग प्रतिष्ठानहरु महासंघका एसोसियट सदस्य छन भने उद्योग सञ्चालन गर्ने र उद्योग क्षेत्रमा लगानी गर्ने २५ भन्दाबढि सहकारी महासंघका सदस्य रहेका छन् । मूलुक प्रादेशिक संरचनामा रुपान्तरण भइसकेको सन्दर्भमा महासंघको सांगठनिक संरचना पनि सोहि अनुरुप रुपान्तरण गरिएको छ । अहिले घोषित ७ वटा प्रदेशमा ७ प्रदेश संघहरु र उपत्यकाका ४ जिल्लालाई समेटी उपत्यका प्रदेश संघ समेत गरी ८ वटा प्रदेश संघ र ८ वटा प्रदेश महिला उद्यमी समिति पनि महासंघ अन्तरगत क्रियाशील छन । बदलिदो परिवेशमा महासंघले अवलम्वन गर्नुपर्ने भावी बाटो तय गर्ने सन्दर्भमा महासंघको केन्द्रिय कार्यसमिति र केन्द्रिय महिला उद्यमी समितिको संयुक्त विस्तारित बैठक गत वुधबार र बिहीबार गते नवलपरासीको अमलटारी होम स्टेमा सम्पन्न भएको थियो ।

जनता बैंकलाई बोनस दर परिवर्तन गर्न राष्ट्र बैंकको निर्देशन, प्रस्तावित २० प्रतिशत बोनस सेयर १२ प्रतिशतमा झर्न सक्ने

काठमाडौं, ३ माघ । आर्या फर्माल्याबका मालिकहरु रतनलाल संघाई, रोहित हलान, मोहित हलान र कमल कुमार अग्रवालले औषधिको नाममा लागू औषत कारोबार गर्दा कस कसलाई कति नोक्सान भयो होला ? गलत काम गरेपछि स्वभाविक रुपमा कम्पनीका मालिकहरु समस्यामा पर्ने नै भए । कारवाहीको भागिदार हुने नै भए । तर पीडा उनीहरुमा सीमित छैन । त्यो कम्पनीमा काम गर्ने कर्मचारीहरुको जागिर नै धरापमा पर्यो । साथै सोही कम्पनीलाई कर्जा दिने जनता बैंक नेपाल र उसको दशौं हजार सेयरधनीलाई ठूलो आर्थिक नोक्सानी भएको छ । यसपाली जनता बैंकका सेयरधनीले पाउने नाफाको ठूलो हिस्सा घट्ने भएको छ । गत असोजमा जनता बैंक सञ्चालक समितिले सेयरधनीलाई १९.९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेर स्वीकृतिको लागि राष्ट्र बैंकमा प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले आर्या फर्माल्यावमा प्रवाह भएको कर्जा प्रोभिजन गर्नु पर्ने जनाउँदै बोनस दर परिमार्जत गर्न जनता बैंकलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले दिएको निर्देशन अनुसार प्रोभिजन गर्दा बैंकले सेयरधनीलाई करिव १२ प्रतिशत मात्र बोनस दिन सक्ने सम्बद्ध स्रोतले बतायो । संघाईको लागू औषध कारोबारको परिणाममा जनता बैंकका सेयरधनीले करिब ८ प्रतिशत लाभांश गुमाउनु पर्ने भएको छ । आर्या फर्माल्याव प्रालिले कर्जाको सावा र व्याज किस्ता नियमित नतिरेपछि बैंकले कम्पनीका सञ्चालकहरु रतनलाल संघाई, रोहित हलान, मोहित हलान र कमल कुमार अग्रवाललाई कर्जा भुक्तानी गर्न सार्वजनिक सूचना प्रकाशन गरिसकेको छ । ३५ दिनभित्र कर्जा भुक्तानी नगरेमा धितो लिलामी गर्ने, कर्जा सूचना केन्द्रमा कालोसूचिमा राख्ने, सम्पूर्ण कानुनी विधि प्रयोग गरेर बैंकको लिन बाँकी रकम असुल गर्ने बैंकले जनाएको छ । सम्बन्ध स्रोतका अनुसार आर्या फर्माल्याप प्रालिको नाममा जनता बैंकले करिव ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कर्जा प्रवाह गर्दा धितो पनि प्रयाप्त रहेको, रतनलाई संघाई, पवनकुमार संघाईको नाममा रहेको विभिन्न बैंकमा रहेको प्रवद्र्धक सेयर बिक्री गर्न राष्ट्र बैंकले रोक लगाएको कारण ढिलै भए पनि कर्जा पुरै उठ्नेमा जनता बैंक विश्वस्त देखिएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्दा ५८ करोडको सेयर कारोबार

काठमाडौं, ३ माघ । सोमबारको सेयर बजारमा नेप्से परिसूचक दोहोर अंकले ओरालो लागेको छ । परिसूचक ११ दशमलब ६३ अंकले ओरालो लागेर १४४६ अंकमा झरेको छ । सोमबार नेप्से परिसूचकमा गिरावट आएता पनि कारोबार रकममा भने केही सुधार भएको छ । सो दिन बजारमा ५८ लाख १६ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा १२९ कम्पनीको ७६ लाख ५१ करोड कित्ता सेयर किनबेच भएको छ । आइतबारको तुलनामा सोमबार करिब ३२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको २० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता २०१ रुपैयाँ रहेको छ । त्यस्तै, स्ट्याडाण्र्ड चाटर्ड बैंकको ५ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन ग्रीन डेभलपमेन्ट बैंकका लगानीकताले करिब १० प्रतिशत कमाएका छन् । ९ दशमलब ९० प्रतिशतले सेयर मूल्य बढेको ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ५६६ रुपैयाँ रहेको छ । बजारमा तीन वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनी र प्रभु बैंकका लगानीकर्ताले क्रमशः ९.९१ र ९.८७ प्रतिशत गुमाएका छन् । दोहोरो अंकले घटेको बजारमा फाइनान्स समूहकको परिसूचक बाहेक अन्य समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३० अंकले ओरालो लागेको छ ।