पतञ्जली उद्योगमा मालिक नेपाली, रोजगारी भारतीयलाई
विरगन्ज ७, माघ । गएको मंसीर १ गते निकै तामझमका साथ उद्घाटन भएको पतञ्जली आयुर्वेदिक उद्योग वीरगन्जको मालिक भने नेपाली रहेको पाइएको छ । रामदेव आफैंले लगानी गर्ने अवस्था नरहेपछि नेपालको सिरहा जिल्लाका एक स्थानिय महिलालाई कम्पनीको मालिक बनाई उनलाई जिम्मेवारी दिईएको उद्योग स्रोतले जनाएको छ । हुन त वीरगन्जमा भनिएपनि यो उद्योग वीरगन्जसँग सीमा जोडिएको बाराको प्रसौनी गावसको वडा नम्बर ९ मा सञ्चालि छ । उद्योगमा अधिकांश भारतीय मूलका नागरिक कार्यरत रहेको पाइएको छ । यद्यपि उद्योगका बिक्री तथा बजार व्यवस्थापक प्रमुख विकास बिडारीले भने प्राविधिक काम बाहेक सकै काममा नेपालीलाई राखिएको जिकिर गरेका छन् । उनले केहि कर्मचारी मात्रै भारतीय रहेको र सबै नेपाली रहेको जिकिर गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट ।
पाँच वर्षसम्म पनि लगानी टुंगो नलाग्दा काठमाडौं – हेटौंडा सुरुङमार्ग अलपत्र
काठमाडौं ७, माघ । समयमै योजना कार्यान्वयनमा आएको भए काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गमा यतिवेला गाडी गुडिसकेको हुन्थ्यो । तर, निर्माण कम्पनीले पाँच वर्षसम्म पनि लगानी जुटाउन नसकेपछि सुरुङमार्ग निर्माण कार्य अघि बढ्न सकेको छैन । नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा छ । सन् २०१२ मा सरकारसँग भएको सम्झौताअनुसार कम्पनीले १ जनवरी ०१७ मै सुरुङमार्ग निर्माण सम्पन्न गर्नुपर्ने थियो । कम्पनीले पाँच वर्षमा सुरुङमार्ग सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । तर, यस अवधिमा कम्पनीले लगानीसमेत जुटाउन सकेको छैन । कम्पनीसँगको सम्झौता अवधि सकिएपछि सुरुङमार्ग निर्माणको जिम्मा उसैलाई दिने कि नदिने भन्ने अन्योलमा सरकार रहेको भौतिक, योजना तथा यातायात व्यवस्था मन्त्रालयका निर्माण महाशाखा प्रमुख माधव कार्कीले बताए । उनले भने, ‘सुरुङमार्ग निर्माणको म्याद सकियो, तर कामको प्रगति शून्य छ ।’ म्याद थप गरिए पनि कुन मोडालिटी अपनाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । निर्माण कम्पनीका अध्यक्ष लालकृष्ण केसीले सुरुङमार्ग निर्माणमा खासै प्रगति नभएको बताए । उनले भने, ‘सुरुङमार्ग निर्माण सम्झौताको अवधि सकियो । म्याद थपका लागि पहल भएको छ ।’ कम्पनी निरन्तर लगानी व्यवस्थापनको प्रयासमा रहेको उनले बताए । ‘अबको केही दिनभित्रै कम्पनीको बैठक बस्नेछ । त्यसले केही महत्वपूर्ण निर्णय गर्नेछ । यसको प्रगति सम्बन्धमा अहिले नै भन्ने वेला भएको छैन,’ उनले भने । ४५ मिनेटमा हेटौँडा पुगिने ५८ किमि लम्बाइको सुरुङमार्ग बनेमा काठमाडौंबाट ४५ मिनेटमै हेटौँडा पुगिनेछ । ठूला तथा सार्वजनिक बसलाई भने त्यो दूरी पार गर्न बढीमा ६० मिनेट लाग्नेछ । काठमाडौंबाट हेटौँडा पुग्न अहिले काठमाडौं–नारायणगढ– हेटौँडा सडकखण्डको दुई सय २७ किमि यात्रा तय गर्नुपर्छ । यसका लागि सातदेखि आठ घन्टा खर्च हुन्छ । वैकल्पिक मार्ग भनिएको त्रिभुवन राजमार्गको एक सय ३३ किमि सडक पार गर्न पनि सातदेखि आठ घन्टा नै लाग्छ । नयाँ पत्रिका दैनिकबाट ।
जहाँ प्रतिबन्धित भयो फेसबुक, नेपालमा प्रतिबन्ध लगाए के होला ?
काठमाडौं ७, माघ । पछिल्लो समय नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या निकै बढेको छ। नेपालमा फेसबुकमाथि प्रतिबन्ध लगाउने हो भने सानोतिनो आन्दोलन नहोला भन्न सकिन्नँ। तर विश्वमा यस्ता देश छन् जहाँ फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ। केही यस्ता देशमा फेसबुकमाथि लगाइएको प्रतिबन्ध केही समयपछि हटाइएको पनि छ। तर अझै पनि केही देशहरू छन् जहाँ फेसबुक चलाउन पाइन्न। दक्षिण एसियाली देश पाकिस्तानमा पनि फेसबुकमाथि प्रतिबन्ध लगाइउको थियो। सन्२०१० मा जब फेसबुकमा धार्मिक गुरू पैगम्बर मोहम्बदको नाममा एउटा फेसबुक पेज बन्यो तब पाकिस्तान सरकारले पाकिस्तानमा फेसबुक बन्द गर्ने निर्णय गर्यो। दुई साता लागेको प्रतिबन्ध फुकुवा भए पनि कुनै पनि धार्मिक पेज बनाउन नपाउने भयो। यस्तै उत्तर कोरिया, चीन, क्युवागायतको देशमा फेसबुक प्रतिबन्ध रहेको छ । नयाँ पत्रिका दैनिकबाट ।
कागजमै अल्झियो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, निर्माणको कामले गति लिन सकेन
काठमाडौं, ६ माघ । राष्ट्रिय गौरवको आयोजना बारास्थित निजगढ विमानस्थल निर्माणको काम कागजी प्रक्रियामै अल्झिएको छ । अन्तर्राष्ट्रिय कोरियन कम्पनी ल्याण्ड मार्क वल्र्ड वाइड (एलएमडब्लु) को फिजिबिलिटी प्रतिवेदनबारे निर्णय नहुँदा विमानस्थलको कामले गति लिन नसकेको हो । उक्त कम्पनीले सन् २०१० मै विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (फिजिबिलिटी) को प्रतिवेदन तयार गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०११ मै रिपोर्ट ग्रहण गरेको थियो । तर, मन्त्रालय र कम्पनीबीचको सम्झौताअनुसार प्रतिवेदन व्यावसायिक प्रयोजनका लागि सार्वजनिक गर्न नमिल्ने भएकाले विमानस्थल निर्माण अल्झिएको मन्त्रालयको भनाइ छ । उक्त प्रतिवेदनका लागि भ्याटबाहेक करिब रु ३६ करोड रकम नेपाल सरकारले कम्पनीलाई बुझाउनुपर्छ । त्यसपछि मात्र विमानस्थल निर्माणको काम अघि बढ्छ । मन्त्रालयका निमित्त सचिव (सहसचिव) सुरेश आचार्यले एलएमडब्लुको प्रतिवेदन पुनरावलोकन गरी डिपिआर बनाएर प्रक्रिया अघि बढाइने जानकारी दिए । निजगढ विमानस्थलका लागि हाल सरकारले केही रकम विनियोजन गरी प्रक्रिया अघि बढाएको छ । अहिले चार किल्ला सिमाना तोक्ने र त्यहाँ पर्ने ११० बिगाहा निजी जग्गाको मुआब्जा दर निर्धारण गर्ने काम भएको छ । वन कार्यालयसँग सहमति लिएर वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० गराउनका लागि परमार्श दात्री खोजी प्रक्रिया अघि बढाइने निमित्त सचिव आचार्यको भनाइ छ । असी स्क्वायर किलोमिटर परिसरमा निर्माण हुने उक्त विमानस्थल निर्माणका लागि सरकारले चालु आवमा अढाई अर्ब रकम विनियोजन गरी तारबार तथा जग्गा व्यवस्थापन, वरिपरिको सडक बनाउने काम भइरहेको छ । विसं २०५५ देखि नै चर्चामा रहेको उक्त विनमानस्थलको निर्माण प्रक्रिया अझै औपचारिक रुपमा अघि बढ्न सकेको छैन । मुलुकको आर्थिक समृद्धिको आधार मानिने पर्यटनको पूर्वाधारका रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा सुस्तता देखिएको भन्दै सांसदले चासो जनाएका छन् । प्रस्तावित तथा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति सम्बन्धमा छलफल गर्न आज बोलाइएको संसद्को विकास समितिको बैठकमा बोल्ने अधिकांश सांसदले विमानस्थल निर्माणको काम लामो समयसम्म गति नलिनु दुःखद् भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए। साथै, उनीहरुले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणको योजना, कुन मोडलमा बन्ने कति वर्षमा सक्ने भन्ने विस्तृत कार्ययोजनाको माग गरेका थिए । यता पर्यटनमन्त्री जीवनबहादुर शाहीले निर्धारित पाँच वर्षभित्रै विमानस्थल निर्माण सकिने दाबी गरे । उनले एलएमडब्लुको फिजिबिलिटी प्रतिवेदन किनेर मात्र विमानस्थल निर्माण गर्न पाइने भएकाले अब छिट्टै डिपिआर तयार गरी ग्लोबल बोलपत्रमा जाने बताए । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा अघि बढेकाले समयमै निर्माण सम्पन्न हुने तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया पनि अघि बढेको मन्त्री शाहीको भनाइ छ । क्यानका निमित्त महानिर्देशक राजन पोखरेलले भने पाँच वर्षमा निजगढ विमानस्थल निर्माण सम्भव नरहेको बताए । बर्सेनि रु चार/पाँच करोड बजेट विनियोजन गरेर विमानस्थल बन्दैन । यो रकम तारबारमै ठीक्क हुन्छ, अन्तर्राष्ट्रिय कम्पनीलाई दिनैपर्छ”- उनले भने । यसैबीच व्यवस्थापिका–संसद्को विकास समितिले प्रस्तावित निजगढ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ । बैठकले अन्तर्राष्ट्रिय उड्डयन सम्बन्धमा देशको दीर्घकालीन आवश्यकतालाई समेत ध्यान दिई हाल प्रस्तावित तथा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यलाई छिटो सम्पन्न गरी सञ्चालनमा ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो । समितिले राष्ट्रिय गौरवको आयोजना भनिए तापनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा हालसम्म डिपिआर बन्न नसकेको, एलएमडब्लुसँगको काम कारबाहीमा अस्पष्टता एवम् पारदर्शीताको अभाव रहेकाले उक्त सम्झौता यथाशीघ्र पुनरावलोकन गरी निष्कर्षमा पुग्न र निर्माणको मोडेल स्पष्ट पार्न निर्देशन दिएको छ । त्यसैगरी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रगति सन्तोषजनक नै देखिए तापनि अझ तीव्रताका साथ काम गर्न पर्यटन मन्त्रालय र उक्त विमानस्थल निर्माणका लागि विद्युत्को डेडिकेटर फिडर लाइन शीघ्र उपलब्ध गराउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको सभापति रवीन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोग गर्न आन्तरिक विमानस्थलहरुको समेत महत्वपूर्ण भूमिका हुने भएकाले हाल अस्तित्वमा रहेको ५६ वटै आन्तरिक विमानस्थललाई सञ्चालनमा ल्याउने व्यवस्था गर्न पर्यटन मन्त्रालय र क्यानको ध्यानाकर्षण गराएको छ । बैठकले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्बन्धमा राष्ट्रिय योजना आयोग तथा लगानी बोर्डको भूमिका (वित्तीय, प्राविधिक, संयन्त्रगत, व्यवस्थापकीय एवम् समन्वयगत भूमिका), चासो र सरोकार नराखेकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै उल्लेखित विषयमा सक्रिय भूमिका निर्वाह गर्न राष्ट्रिय योजना आयोग र लगानी बोर्डलाई निर्देशन दिएको छ । रासस
नेपाल आउने जहाजमा हतियारधारी सेना राख्ने भारतीय प्रस्ताव, नेपाल सरकार भन्छ-छलफल हुँदैछ
काठमाडौं, ६ माघ । भारतले नेपाल आउने जहाजमा हतियारधारी सेना राख्ने प्रस्ताव अघि सारेको छ । भारतले नेपाल आउने आफ्ना जहाजमा इन फ्लाइट सेक्युरीटी अफिसरका नाममा हतियारधारी सेना राख्ने योजना अघि सारेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यका अनुसार नेपालले दुई तर्फी हवाई रुट माग्ने नेपालको प्रस्तावलाई काउन्टर दिँदै भारतले इन फ्लाइट सेक्युरीटी अफिसरको प्रस्ताव अघि सारेको हो । ‘हामीले धनगढीबाट नेपाल प्रवेश गर्ने र बाहिरीने रुट मागेका थियौं तर उसले काउन्टर प्रस्तावका रुपमा इन फ्लाइट सेक्युरीटी अफिसर राख्न पाउनुपर्ने अडान लियो’, केहि दिन अघि भारतमा भएको वार्ताको प्रशंग सुनाउँदै निमित्त सचिव आचार्यले विकास समिति बैठकमा भने । हाल नेपाल भित्रिने जहाज सिमरा रुट भएर र बाहिरीने जहाज धनगढी रुट भएर उडिरहेका छन् । नेपालले धनगढी रुटबाट नेपाल भित्रिने र बाहिरीने दुबै उडान अनुमति मागिरहेको छ । नेपालले इन फ्लाइट सेक्युरीटी अफिसर राख्ने अनुमति दिएमा भारतले आफ्ना जहाजमा सादा पोशाकका हतियारधारी सेना राख्नेछ । उसको कमाण्ड जहाजको पाइटले गर्नेछ । त्यस्ता सेक्युरीटी अफिसर नेपाली भूमिमा प्रवेश गर्न भने पाउने छैनन् । उनीहरु भारतीय जहाजमा आउनेछन र जहाजमै बसेर फेरी अर्काे उडानमा जानेछ । भारतले अघि सारेको प्रस्ताव माथि छलफल भैरहेको तर कुनै निर्णय भने नभएको निमित्त सचिव आचार्यले व्यवस्थापिका संसदको विकास समितिमा बताएका हुन् ।
प्रभु बैंकलाई आस्वा प्रणालीमा सहभागी हुन बोर्डको अनुमति
काठमाडौं, ६ माघ । प्रभु बैंक लिमिटेडले (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम धितोपत्र दरखास्त संकलन गर्ने कार्य आस्वा प्रणालीमा सहभागी हुन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । यस अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदाका बखत खरिद गर्न चाहने यस बैंकको जुनसुकै शाखा कार्यालयका खाताधनी लगानीकर्ताहरुबाट दरखास्त फारम संकलन गरी दरखास्त फारममा उल्लेख भए बमोजिमको रकम सम्बन्धित लगानीकर्ता खाताधनीकै खातामा रोक्का राख्न सक्ने बैंकले जनाएको छ । उक्त धितोपत्र बाँडफाँड भए पश्चात् निजको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्बन्धित धितोपत्र निष्कासनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्बन्धित खाताधनीले पुर्ववत् रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गर्ने व्यवस्था रहेको छ । यस बैंकका शाखा कार्यालयहरुका खाताधनी लगानीकर्ताहरुले सहज, सरल र झन्झट मुक्त तवरले सार्वजनिक रुपमा निष्कासन हुने धितोपत्रमा लगानी गर्न सक्ने जस्ता सुविधा प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ ।
कृषि विकास बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं, ६ माघ । कृषि विकास बैंकले आफ्नो ५० औं स्थापना दिवस (स्वर्ण जयन्ति) को अबसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कृषि विकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमको प्रमुख अतिथी ने.क.पा.(एमाले) केन्द्रीय कमिटीका सदस्य तथा पेशागत महासंघका अध्यक्ष बिश्वनाथ प्याकुरेल रहेका थिए । साथै, विशिष्ट अतिथिमा बैंक संचालक समितिका अध्यक्ष प्रमोदकुमार कार्की र प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला रहेका थिए । उक्त रक्तदान कार्यक्रममा ११६ जना कर्मचारीहरुले रक्तदान गरेका छन् ।
आईएमई कस्टमर कार्ड प्रयोगमा बोनस पोईन्ट र उपहारको योजना
काठमाडौं, ६ माघ । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले प्रयोगमा ल्याएको कस्टमर कार्डमा बोनस अङ्क सहित निश्चित उपहारको व्यवस्था गरेको छ । यो योजना यसै माघ १ गतेदेखि आगामी असार मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत कस्टुमर कार्ड प्रयोग गरी गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकम अनुुसार निश्चित बोनस अङ्क प्राप्त हुनेछ । निश्चित बोनस अङ्कमा तोकिएको उपहार प्राप्त गर्न सकिनेछ । साथै बोनस अङ्क नलिएको अवस्थामा कस्टमर कार्ड कारोबार(आन्तरिक पठाइने) अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुटको सुविधा प्राप्त गर्न सकिनेछ । पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेट बोनस अङ्क वापत प्राप्त गर्न सकिने उपहारहरू हुने कम्पनीले जनाएको छ । पछिल्लो समयमा आईएमईले कार्डमा आधारित रेमिटेन्स सेवालाई मुख्य प्राथमिकता दिँदै आएको छ । कम्पनीले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,५०० सयभन्दा बढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिटेन्स सेवा दिँदै आइरहेको छ ।