एशियन लाईफको १३ करोड ४२ लाख रुपैयाँ बोनस र ५० प्रतिशत हकप्रद सेयर पारित
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट १३ करोड ४२ लाख ६५ हजार ५४० रुपैयाँ बोनस दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न कम्पनीको आठौँ तथा नवौँ साधारणसभाले पारित गरेको हो । साथै, सभाले कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशत (२ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त हकप्रद बोनस सेयर वितरण पश्चात निष्कासन गर्ने कम्पनीले जनाएको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड ५५ लाख ९२ हजार ४०० रुपैयाँ हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार हकप्रद सेयर पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब २० करोड ८३ लाख ८८ हजार ६ सय रुपैयाँ पुग्ने छ । साथै, सभाले संस्थापक सेयरधनी समूह ‘क’ वर्गबाट बिजय कुमार सरावगी, दिनेशलाल श्रेष्ठ, सुशान्त चाचान, दीपक कुमार श्रेष्ठ र सुरेन्द्र गोयललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट रबी कुमार गुप्ता र सौरभ रुगंटालाई आगामी चार वर्षको लागि संचालक पदमा निर्वाचित भएका छन् ।
बिहीबार १ अर्ब ४८ करोडको सेयर कारोबार, नेप्सेमा सामान्य गिरावट
काठमाडौं । बिहीबार सेयर बजारमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त रकम बुधबारको तुलनामा एक अर्ब ६ करोड रुपैयाँ घटी हो । बिहीबार १४० कम्पनीको २७ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी सानिमा बैंकको २२ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँ रहेको छ । त्यस्तै, लक्ष्मी बैंकको ११ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि सामान्य अंकले ओरालो लागेको छ । परिसूचक शून्य दशमलब ६५ अंकले घटेर १५८७ दशमलब ६४ अंकमा झरेको छ । सो दिन बीमा, फाइनान्स, होटल र अन्य समूहको परिसूचक क्रमशः ६९, ८, ५ र २ अंकले उकालो लागेका छन् । त्यस्तै, हाइड्रो, उत्पादमूलक, विकास बैंक र बैंकिङ् समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।
हाम्रो विकास बैंकले पनि पायो धितोपत्र बोर्डको अनुमति, २०० प्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं । हाम्रो विकास बैंकले पनि २०० प्रतिशत (१ बराबर २ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार बैंकलाई ३० करोड ५८ लाख ३३ हजार ९०० रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बैंकले १०० अंकित मूल्यको ३० लाख ५८ हजार ३३९ कित्ता हकप्रद जारी गर्न लागेको हो । बैंकले सेयर निष्कासनको काम एनआईबीएल क्यापिटल मार्केटलाई दिएको छ । हाल बैंकको चुक्ता पूँजी १५ करोड ७१ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पूँजी करिब १६ करोड रुपैयाँ नाघ्ने छ । बिहीबार बैंकको सेयर प्रतिकित्ता ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
फष्ट माइक्रोफाइनान्सले पायो ५० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । फष्ट माइक्रोफाइनान्सले ५० प्रतिशत (२ बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार १३ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न फाइनान्सलाई अनुमति दिएको हो । बैंकले १०० अंकित मूल्यको १३ लाख २२ हजार ५०० कित्ता हकप्रद जारी गर्न लागेको हो । कम्पनीले सो मात्राको हकप्रद निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल मार्केटलाई बिक्री प्रवन्धकमा नियूक्त गरेको छ । हाल फाइनान्सको चुक्ता पूँजी २६ करोड ४५ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पूँजी करिब ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ हुने छ । बिहीबार फाइनान्सको सेयर प्रतिकित्ता १३४० रुपैयाँमा कारोबार भइरहेको छ ।
नमस्ते वित्तीय संस्थाको हकप्रद सेयर लिलामीमा, चैत २१ गतेदेखि आवेदन खुला
काठमाडौं । नमस्ते वित्तीय संस्थाको ७ हजार ९५१ कित्ता साधारण सेयर लिलामीमा आएको छ । बैंकले निश्काशन गरेको हकप्रद सेयरमा सर्ब साधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो । बैंकले उक्त सेयर न्यूनतम मूल्य प्रतिशत १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । बोलकबोलको सेयर चैत २१ गते खुला गरिने छ । साथै, चैत २१ गतेसम्ममा बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आवदेन गर्न सकिने संस्थाले जनाएको छ ।
गुराँस लाइफ इन्स्योरेन्सले ८ प्रतिशत बोनस दिने, पूँजी ५९ करोड ४० लाख रुपैयाँ नाघ्ने
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस दिने निर्णय गरेको छ । साथै, कम्पनीले शून्य दशमलब ४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको पूँजी ५९ करोड ४० लाख रुपैयाँ नाघ्ने छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ८५८ रुपैयाँमा कारोबार भइरहेको छ ।
हुण्डाईको नयाँ वर्षे योजना सार्वजनिक, शुन्य प्रतिशत ब्याजमा गाडी किन्न पाइने
काठमाडौं । हुण्डाई मोटर्सकालागी नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाली नयाँ वर्ष २०७४ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले बैंकको शर्त पालना गरेमा एक हप्ता भित्रनै शुन्य प्रतिशत ब्याजमा फाइनान्सिङ्ग सुबिधा पाउनेछन् । यस योजनाले ग्राहकहरु माझ राम्रो प्रतिकृया प्राप्त गर्ने कम्पनीको विश्वास रहेको छ । सम्पूर्ण हुण्डाई गाडीहरु ४ वर्ष निःशुल्क सर्भिसीङ्ग र तीनवर्ष वारेन्टी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १६ शोरुमहरु तथा १७ वटा सर्भिस सेन्टरमार्फत् ग्राहकहरुलाई सुविधा प्रदान गरिरहेको छ ।
ठूला उद्योग, व्यापारीले सेयरमा लगानी गर्न थालेपछि सेयरको मूल्य बढ्यो -कमलेशकुमार अग्रवाल
पछिल्लो दुई सातामा सेयर बजारमा करिव २०० अंकले वृद्धि आयो । यसको कारण के हुन्, अब बजार कता जान्छ ? सेयर किन्ने कि बेच्ने, कुन कम्पनीको सेयर किन्ने धेरैको मनमा कौतुहलता छ । विगत २५ वर्षदेखि सेयर बजारमा निरन्तर लगानी गर्दै आउनुभएको लगानीकर्ता तथा नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेशकुमार अग्रवालसँग हामीले यिनै विषय सोधेका छौ । उहाँ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका र एनएमबी बैंकका सञ्चालक पनि हुनुहुन्छ । यसअघि राष्ट्रिय बीमा संस्थानको पनि सञ्चालक हुनुहुन्थ्यो । प्रस्तुत छ अग्रवालसँग विकासन्युजले गरेको सेयरवार्ता : कमलेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका महासचिव तपाईको खास व्यवसाय के के हुन ? म धरानको सामान्य परिवारमा जन्मे हुर्केको मान्छे हुँ । २०४३ सालमा काठमाडौं आएर व्यापार गरे । गार्मेन्ट, कार्पेट, पश्मिना, पेपर लगायत विभिन्न सामानको व्यापार गरे । केही बन्द गरे, केही व्यापार अहिले पनि चलिरहेको छ । २०५८ सालमा म्याट्रेस उद्योग खोलेँ । उद्योग चलाउन गाह्रो छ । अहिले छोराले उद्योग हेर्छ । म पछिल्लो समय कर्पोरेट सेक्टरमा बढी संलग्न छु । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र एनएमबी बैंकमा सञ्चालक समिति सदस्य छु । त्यसभन्दा अघि मैले नेपाल डलौट कम्पनीको बोर्डमा लामो समय काम गरेँ । राष्ट्रिय बीमा संस्थानको सञ्चालक समितिमा, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सञ्चाक समितिमा रहेर काम गरेँ । नेपाल चेम्बर अफ कमर्शमा महासचिव, माडवरी सेवा समितिमा उपाध्यक्ष छु । हरेक दिन दुई बजेअघि आफ्नो व्यापार हेर्छ, त्यसपछि कर्पोरेट सेक्टर, सोसियल सेक्टरका मिटिङहरुको, प्रोग्रामकहरुमा जान्छु । तपाईसँग दुई वटा पब्लिक कम्पनीको सञ्चालक हुनुहुन्छ, कति सेयर छ ? मेरो सिद्धान्त के हो भने हरेक वर्ष नाफाको ३० प्रतिशत सेयरमा लगानी गर्छु । २०४९/५० देखि मैले यसरी नै सेयरमा लगानी गर्दै आएको छु । तर म ठूलो लगानीकर्ता होइन । सानो लगानीकर्ताले धेरै ठूलो जोखिम लिएर लगानी गर्न सक्दैन । बजार बढ्दैमा बैंकबाट कर्जा लिएर आक्रामक लगानी म गर्दिन र बजार घट्दैमा म धैर्यता गुमाउँदिन । तपाई कतिखेरा सेयर किन्नुहुन्छ र कतिखेरा बेच्नुहुन्छ ? निश्चित समय त हुँदैन । म जहिले पनि राम्रा कम्पनीको सेयरमा मात्र लगानी गर्छु । किनेको भन्दा ४०/५० प्रतिशत मूल्य बढ्यो, नाफा राम्रो आयो भने बेच्छु र नाफा बुक गर्छु । नोक्सान भयो भने हमेसा बेच्दिन । लाभांश लिएर बस्छु । घाटा खाएर कहिल्यै सेयर बेच्नुहुन्न ? कहिलेकही घाटा खाएर पनि बेच्नुपर्छ । मसँग सेयर कारोबार गरेको २५ वर्षको अनुभव छ । कुनैबेला घाटा खाएर पनि बेचेको छु तर समग्रमा सेयर बजारमा राम्रो कमाएकै छु । यदि प्रमोटर सेयर पब्लिक बनाउन शुरु भयो भने पब्लिक सेयरको मूल्य घट्न थाल्छ त्यसले नयाँ र साधारण सेयरधनीलाई मर्कापर्छ । अहिले कुनै कम्पनीको पब्लिक सेयरको मूल्य २००० रुपैयाँ छ भने प्रमोटर सेयरको मूल्य १००० रुपैयाँ छ । यदि पब्लिक र प्रमोटर सेयर समान गर्ने हो भने त्यहि कम्पनीको सेयरको मूल्य १२०० रुपैयाँ हुनेछ । प्रमोटरलाई २०० रुपैयाँ फाइदा हुँदा पब्लिकलाई ८०० रुपैयाँ नोक्सान हुन्छ । यस्तो अवस्था आउनु राम्रो हो ? सरकारले यसलाई उचित मान्न सक्छ ? पब्लिकको प्रेसर सरकारले थेग्न सक्छ ? सेयर बजारमा घाटा खाएर राती निद्रा नलागेको अनुभव छ कि छैन ? कहिल्लै पनि त्यस्तो भएन । किनकी मैले आफ्नो व्यापारको नाफाको केही हिस्सा मात्र सेयरमा लगानी गर्दै आएको हुँ । कहिलेकही नोक्सान हुँदैमा आत्तिनु पर्ने अवस्था आएन । किनकी अर्थशास्त्रको नियम नै हो बजारमा कहिले मूल्य बढ्छ, कहिले घट्छ । एक पटक मूल्य घटेपनि पछि बढ्छ भनेर म धैर्यताका साथ बस्छु । तपाईले किनेको सेयरको मूल्य पनि बढेन, कम्पनीले वर्षौसम्म लाभांश पनि दिएन भने के गर्नुहुन्छ ? हो, त्यस्तो अवस्थामा सहेर बस्ने वा घाटामा बेच्ने । नेपालमा कम्पनीले दिने लाभांश वा कम्पनीको वित्तीय अवस्थाको विश्लेषण गरेर सेयरमा लगानी गर्ने अभ्यास छैन । बजारको शुरुवातमा नै गल्ती के भयो भने कम्पनीको संस्थापक सेयर ७० प्रतिशत हुनुपर्ने, सर्वसाधारणलाई ३० प्रतिशत दिनुपर्ने व्यवस्था गरियो । संस्थापक सेयर कारोबारमा नियन्त्रण गरियो, पब्लिक सेयर कारोबार खुुला गरियो । एउटै कम्पनीको समान मूल्य अंकित सेयरको बजार मूल्य फरक फरक हुने अवस्था सिर्जना गरियो । कम्पनीले दुबै सेयरलाई दिने लाभांश समान हो तर बजार मूल्यमा ठूलो अन्तर हुन्छ । त्यो नै गलत भयो । संसारमा कही नभएको विभेदकारी नीति नेपालमा लागू भयो । संस्थापक सेयर कारोबार आज कम मूल्यमा हुन्छ, कम मात्रामा कारोबार हुन्छ । पब्लिकको सेयर करिव दोब्बर मूल्ममा कारोबार हुन्छ । पब्लिक सेयरको कारोबार पनि बढी हुन्छ र मूल्यमा पनि धेरै उतारजडाब आउँछ । सेयरको आपूर्ति कम हुँदा मूल्य बढ्ने र आपूर्ति बढी हुँदा मूल्य घट्ने गरेको छ । तपाईसँग कति वटा कम्पनीको सेयर छन् ? कम्पनी भन्दा पनि क्षेत्रगत रुपमा हेर्नुपर्छ । अधिकांश वाणिज्य बैंक र बीमा कम्पनीको सेयर छ मसँग । यी कम्पनीको प्रमोटर र पब्लिक दुबै प्रकारका सेयर हुन्छन् । विज्ञ सञ्चालक भएकोले नेपाल लाइफको सेयर मसँग छैन । प्रमोटर सेयर किनेपछि थन्क्याउँछु किनकी ती सेयर किन्नुको उदेश्य लाभांश खानु नै हुन्छ । पब्लिक सेयर मूल्य बढेपछि बेच्ने उदेश्य हुन्छ । बजारमा भर्रखरै प्रवेश गरेका नयाँ लगानीकर्तालाई कस्ता कम्पनीको सेयर किन्न सुझाव दिनुहुन्छ ? कारोबारका हिसावले दैनिक जसो टप पाइपमा पर्ने वा टप टेनमा पर्ने कम्पनीको सेयर किन्नु राम्रो हुन्छ । कम्पनी राम्रो भएकोले नै ती कम्पनीको सेयर बढी कारोबार हुन्छ । नेपाल लाईफ एउटा उदाहरण हो । म भएकोले मात्र राम्रो भनेको होइन, विगतमा दिएको प्रतिफल, वर्तमान अवस्था, भविष्य पनि धेरै राम्रो छ यो कम्पनीको । त्यसैले यो कम्पनीको सेयर कारोबार पनि धेरै हुने गरेको छ । धेरै दिन टप फाइभमा हुुन्छ, घटेको बेलामा पनि टप टेनमा परेको हुन्छ । दोस्रो, बैंक र बीमा कम्पनीको सेयर किन्दा फाइदा छ । यी कम्पनीहरुको नाफा पनि बढ्छ, लाभांश पनि बढ्छ । कम्पनीहरु संस्थागत रुपमा बलिया हुँदै गएका छन् । यी संस्था पारदर्शि छन्, वेल रेगुलेटेड छन् । बैंकहरुको निक्षेपको व्याज बढाए तर मुद्दतीको मात्र । मुद्दतीको हिस्सा थोरै छ । तर बैंकहरुले सबै कर्जाको व्याज बढाए । यसले बैंकको नाफा बढाउँछ । बैंकहरुले पुँजी वृद्धिको क्रममा हकप्रद र बोनस सेयर दिने भएकोले पनि यो क्षेत्र राम्रो छ । बीमा कम्पनीहरुको भविष्य धेरै राम्रो छ । बीमाको पहुँच जम्मा ६/७ प्रतिशत मान्छेमा छ । यो बजार ८० प्रतिशतसम्म विस्तार हुने सम्भावना हन्छ । दीर्घकालिन सोचका साथ लगानी गर्नेले कम्पनीको वित्तीय अवस्था, विगत कस्तो थियो, अहिले कस्तो छ, कम्पनीको रेपुटेशन कस्तो छ, बोर्ड कस्तो छ, म्यानेजमेन्ट कस्तो छ सबै पक्षको गहिरो अध्ययन आवश्यक हुन्छ । प्रमोटर सेयर किन्ने हो भने यी पक्षको अध्यायन अत्यान्त जरुरी हुन्छ । तर साधारण सेयर किन्नेले यस्तो केही पनि हेरेका हुँदैनन् । मार्केट ट्रेनलाई उनीहरुले पछ्याएका हुन्छन् । पछिल्लो दुई साता सेयर बजारमा करिव २०० अंकको वृद्धि आयो, त्यसको कारण के हुन् ? अहिले सेयर मूल्य बढ्ने समय होइन । धेरै कम्पनीको बुक क्लोज भईसक्यो, लाभांश बाँढिसके । तर बजार बढ्यो । यसको कारण के हुन्छ भने स्थानीय तहको निर्वाचनको मिति घोषणा भयो । यो निर्वाचनपछि केन्द्र र प्रदेशको पनि निर्वाचन हुन्छ । राजनीतिक स्थायीत्व हुन्छ भन्ने सन्देश आयो । लगानीकर्तामा आत्मविश्वास बढ्यो । दोस्रो, पुँजी वृद्धि गर्नु पर्ने बाध्यताका कारण यो वर्ष बैंक तथा वित्तीय संस्थाहरुले रिजर्भमा भएको पैसा पनि बोनस सेयरको रुपमा वितरण गर्छन । बीमा कम्पनीहरुको पनि पुँजी वृद्धि हुन्छ भन्ने सन्देश बजारमा आएको छ । बीमा कम्पनीहरुले पनि बोनस र हकप्रद सेयर जारी गरेर नै पुँजी वृद्धि गर्ने हो । त्यसकारण मूल्य बढेको देखिन्छ । तेस्रो, विगत ३/४ महिनमा वित्तीय बजारमा तरलताको संकट थियो । त्यो हट्दै गएको छ । अब व्याजदर घट्छ भन्ने आधारमा पनि लगानीकर्ता सेयरमा लगानी गर्न थाले । चौथो, नेप्से १२/१३ सय हुँदा सेयर किन्नेहरुले अहिले राम्रो कमाए । त्यसले बजारमा अरु लगानीकर्तालाई पनि आकर्षित गर्यो । पाँचौ कारण के हो भने अहिले पनि उद्योग र व्यापारको वातावरण बनेको छैन । उद्योगी र व्यापारीहरु पनि सेयरमा लगानी गरेका छन् । छैटौ, राजधानीबाहिर पनि सेयर कारोबार शुरु भयो । लगानीको चाहाना भएको तर राजधानीमा मात्र कारोबार हुने भएकोले गर्न नसकी बसेका मानिसहरु सेयर बजारमा आए । त्यसैले कारोबार पनि बढेको छ । अहिलेको वृद्धि कति दिगो होला ? बजार धेरै नै संवेदनशिल छ । बजारमा धेरै स्पेकुलेशन छ । सानो सानो सूचनाले पनि बजारमा धेरै स्पेकुलेशन हुने गरेको छ । पब्लिक थोरै, प्रमोटर सेयर धेरै हुनु र पब्लिक र प्रमोटर सेयर मूल्यमा धेरै ग्याब हुनुले पनि बजारमा स्पेकुलेटरहरुलाई चलखेल सहयोग पुगेको छ । १० वर्ष पुराना बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको स्वीकृतिमा क्रमशः प्रमोटर सेयर पनि पब्लिक सेयर बनाउन पाउने भए, अब त बजारमा पब्लिक र प्रमोटर सेयरको मूल्य अन्तर पनि कम हुँदै जाला नि, होइन ? प्रमोटर सेयर हिस्सा ७० प्रतिशतबाट ५१ प्रतिशतमा ल्याउन पनि धेरै समय लाग्यो, धेरै कठिन भयो । बाँकी प्रोटर सेयरलाई पनि पब्लिक बनाउने कार्य सजिलो छैन र छिट्टै हुने सम्भावना पनि छैन । यदि प्रमोटर सेयर पब्लिक बनाउन शुरु भयो भने पब्लिक सेयरको मूल्य घट्न थाल्छ त्यसले नयाँ र साधारण सेयरधनीलाई मर्कापर्छ । अहिले कुनै कम्पनीको पब्लिक सेयरको मूल्य २००० रुपैयाँ छ भने प्रमोटर सेयरको मूल्य १००० रुपैयाँ छ । यदि पब्लिक र प्रमोटर सेयर समान गर्ने हो भने त्यहि कम्पनीको सेयरको मूल्य १२०० रुपैयाँ हुनेछ । प्रमोटरलाई २०० रुपैयाँ फाइदा हुँदा पब्लिकलाई ८०० रुपैयाँ नोक्सान हुन्छ । यस्तो अवस्था आउनु राम्रो हो ? सरकारले यसलाई उचित मान्न सक्छ ? पब्लिकको प्रेसर सरकारले थेग्न सक्छ ? त्यसैले प्रोटर सेयरलाई पब्लिक सेयरमा कन्भर्ट गर्ने कार्य सजिलो छैन ।