टिभीमापनि कनेक्ट गर्न मिल्ने सामसङको ग्यालेक्सी एस ८ मा नयाँ फिचर
नयाँ दिल्ली । सामसङले सन् २०१७ का लागि आफ्नो नयाँ फ्यागसिप लाइनअपलाई नयाँरुपमा प्रस्तुत गरेको छ । कम्पनीले ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक गरेको छ । यस प्रिमियम स्मार्टफोनको डिजाइन मात्र नभई अरु फिचरहरु पनि नयाँ छन् । नवभारतटाइम्सको अनलाइनसंस्करणमा उल्लेखभए अनुसार सामसङको नयाँ मोबाइलको नयाँ फिचर यस्ता छन् : निकै प्रभावशाली प्रोसेसर सामसङ ग्यालेक्सी एस ८ र एस ८ प्लसमा क्वालकम स्न्यापड्रागन ८३५ प्रोसेसर छ । यो प्रोसेसर भएको सामसङको पहिलो स्मार्टफोन हो । सीरीको प्रतिश्पर्द्धि बक्सबी एप्पलको सीरी, गुगल असिस्टेन्ट र माइक्रोसफ्टको कर्टानाको प्रतिश्पर्द्धिको रुपमा सामसङले आफ्नो असिस्टेन्ट बिक्सबी सार्वजनिक गरेको छ । टचद्वारा गरिने क्रियाकलापलाई बिक्सीको सहायतमा भ्वाइस कमाण्डबाट पनि चलाउन सकिन्छ । यसले क्यामराबाट स्क्यान भएपछि धेरै जानकारी दिन्छ । ध्यानदिनुपर्ने कुरा चाँही हाल बिक्सबीलाई सिमित एप्समा मात्र प्रयोग गर्नसकिन्छ । गीगाबाइट एलटिइ सपोर्ट गीगाबाइट एलटिइ स्पीडको क्षमता राख्ने ग्यालेक्सी एस ८ बजारमा पहिलो स्मार्टफोन हुनेछ । यो गीगाबाइट स्पीडको क्षमता भएको पहिलो क्वालकोम चिपसेट हो । स्क्रिनभित्र होम बटन सामसङको नयाँ स्मार्टफोनको डिजाइन बिल्कुलै नयाँ छ । दुवैको किनारामा कर्ब्ड (बाटुलो) छ । डिस्प्लेको किनारमा फ्रेम वा बेजल निकै कम गरिएको छ । तल एउटा लाइन छ जसमा स्क्रिनभित्र नै होम बटन राखिएको छ । यहाँ प्रेसर सेन्सेटिभ हार्डवेयर राखिएको छ । मोबाइल एचडिआर सर्टिफिकेसन युएचडी अलायन्सबाट मोबाइल एचडिआर सर्टिफिकेसन पाउने दुनियाँ सबैभन्दा पहिलो स्मार्टफोन भएको सामसङको दाबी छ । इनफिनिटी डिस्प्ले सामसङ ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लसमा एज-टु-एज कर्ब्ड डिस्प्ले राखिएको छ । कम्पनीले यसलाई ‘इनफिनिटी डिस्प्ले’ नाम दिएको छ । सामसङका अनुसार फोनको फ्रन्ट स्क्रिनको ८० प्रतिशत बेजल लेस र ड्यूल एज डिस्प्ले रहेको छ ।कम्पनीले एस ७ को तुलनामा एस ८ स्मार्टफोनको डिस्प्ले १८ प्रतिशतले बढी छ । ल्याण्डस्केप मोडमा देखिने २१:९ मूभिज ग्यालेक्सीको १८:५:९ डिस्प्लेमा राम्रोसँग हेर्नसकिन्छ । यसको भ्युइङ एरिया ग्यालेक्सी एस ७ को तुलनामा ३६ प्रतिशतले बढी हुन्छ । नयाँ यूजर इन्टरफेस सामसङले दुवै स्मार्टफोनसँगै नयाँ युएक्स पनि सार्वजनिक गरेको छ । यसमा भर्टिकल स्वाइपिङ इन्टरफेस राखिएको छ जसबाट तपाईंले होम र एप स्क्रिनको बीचमा छुट्याउन सक्नुहुनेछ । यसमा अलवेज अन डिस्प्ले वालपेपर फोनको कलर अनुसार कस्टमाइज गर्न सकिन्छ । ग्यालेक्सी एस ८ को समग्र डिजाइन ल्याङ्वेजको एप आइकन्स र टाइपोग्राफीमा पनि अपनाइएको छ । सामसङ डेक्स सामसङले अप्सनल डकिङ स्टेससन पनि सार्वजनिक गरेको छ जसलाई टिभीबाट कनेक्ट गरेपछि स्मार्टफोनलाई डेस्कटप जसरी प्रयोग गर्न मिल्छ । यसको नाम कम्पनीले डेक्सस्टेसन राखेको छ । यसमा प्रयोगकर्ताकालागि विन्डोज रीसाइज गर्न मिल्ने र एकपटकमा धेरै एप्समा काम गर्न मिल्ने सुविधा राखिएको छ । यो माइक्रोसफ्ट कन्टिनम जस्तै छ । डेक्सस्टेसन स्मार्टको एचडिएमआइको मनिटर्समा कनेक्ट गर्न सकिन्छ । यसको साथमा किबोर्ड र माउसपनि जोड्न सकिन्छ ।
भारतीय कर प्रणालीमा यस आर्थिक वर्ष गरिएका ९ महत्वपूर्ण परिवर्तन
आर्थिक वर्ष २०१७/१८ को बजेटका लागि अभ्यास पुरा भएपछि बुधबार भारतमा लोकसभाले अर्थ विधयेक पास गरेको छ । सन् २०१७ को बजेटमा उल्लेख भएको कर प्रस्तावलाई कानुनी मान्यता दिइएको छ । आगामी महिना अप्रिलमा आयकरमा देखापर्ने महत्वपूर्ण दस परिवर्तन निम्नानुसार छन् । १) साढे दुई लाख देखि पाँच लाख भारतीय रुपैयाँ (भारु) बीचको आयमा लाग्ने करको दरलाई दस प्रतिशतबाट झारेर पाँच प्रतिशतमा कायम गरिएको छ । वार्षिक ५ लाख कमाउनेलाई प्रतिवर्ष १२ हजार पाँच सय भारुसम्म प्रत्यक्ष आयकर बचत हुन्छ । यसको लाभ एक करोड बढी अम्दानी हुनेको लागि पनि १४ हजार आठ सय पाँच भारु (अधिशुल्क र महसूलसहित) करको बचत हुने देखिन्छ । २) साढे तीन लाख भारु बराबरको आयस्रोत हुनेका लागि कर छुटको दायरा प्रति वर्ष पाँच हजार भारुबाट दुई हजार पाँच सय भारुमा झरेको छ । कर र करछुटमा भएको परिवर्तनको संयुक्त प्रभावस्वरुप साढे तीन लाख आयस्रोत हुनेले पाँच हजार एक सय ५० भारुको साटो दुई हजार पाँच सय ७५ भारु मात्र तिरे पुग्छ । ३) पचास लाखदेखि एक करोड भारुसम्मको आयस्रोत भएको धनी व्यक्तिमा लगाइने दस प्रतिशतको अधिशुल्क लगाइएको छ । एक करोड माथीको आयस्रोत भएको धनी व्यक्तिमाथी उक्त शुल्क १५ प्रतिशत नै कायम भएको छ । ४) अचल सम्पतिका लागि होल्डिङ अवधिमा ‘लामो अवधि’ मानिएको तीन वर्षलाई घटाएर दुई वर्षमा झरिएको छ । यसले दुई वर्षभन्दा बढी अवधिमा राखिएको अचल सम्पतिलाई लाग्ने कर घटाएर २० प्रतिशत पुर्याइएको छ र पुन लगानीबाट छुटकारा पाउन विभिन्न उपाय देखाएको छ । ५) दीर्घकालिन पुँजीगत लाभकरले चुक्तालाई घटाउँछ । त्यसैले खर्चको सूचिकरणका लागि आधार वर्ष पनि सन् १९८१ को अप्रिल १ बाट सन् २००१ अप्रिल १ मा सारिएको छ । यसर्थ बिक्रीमा कम नाफा हुनेछ । ६) बन्दमुखी सेयर पुँजीको रुप्मा पुनलगानी गर्नेलाई पुँजीगत लाभकरमा छुटको व्यवस्था रहनेछ । ७) पाँच लाख भारु सम्मको आयस्रोत भएका व्यवसायिक व्यक्तिलाई एक पृष्ठको सामान्य आय विवरण भर्न दिइने छ र त्यसबाट कर फिर्ता दावी गर्न सकिनेछ । ८) पाँच लाख भारुसम्म आयस्रोत भएका व्यक्तिले आर्थिक वर्ष २०१७/१८ सम्ममा कर तिर्न ढिलाइ गरेमा पाँच हजार भारु दण्ड तिर्नुपर्नेछ । सन् २०१८ सम्ममा नतिर्नेका लागि पाँच हजार रुपैयाँ र त्यसपछिका लागि दस हजार दण्डको व्यवस्था गरिएको छ । ९) कर विवरणको संशोधनका लागि समय वधी कटौती भएर सम्बन्धीत आवको अन्तदेखि एक वर्ष बनाएइको छ । यसअघि दुई वर्षको थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको दुई दिने तालिम सम्पन्न, आस्वा प्रणाली बारे जानकारी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लि. ले आफ्ना कर्मचारीहरुलाई आस्वा लगायत निक्षेप सदस्य सम्बन्धी कार्यको विस्तृतमा जानकारी दिन आयोजना गरेको दुइ दिने तालिम सम्पन्न भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लि. र सहायक कम्पनी एनआईबिएल क्यापिटल मार्केट्स लि.को सहकार्यमा बैंकको शाखा कार्यलयहरु भैरहवा, वुटवल, कृष्णनगर र पाल्पाका कर्मचारीहरुलाई यो तालिम दिएको हो । शनिबार र आइतबार दिइएको तालिमबाट कर्मचारीहरुले आस्वा के हो र यो कसरी भरिन्छ लगायत निक्षेप सदस्य सम्बन्धी कार्यहरुको बारेमा विस्तृतमा अन्तरक्रिया गरेका थिए । पछिल्लो समय प्राथमिक शेयर निष्काशनमा आस्वा मार्फत आवेदन अनिवार्य गरिएकोले यस प्रक्रिया मार्फत निवेदन दिने लगानीकर्ताहरुको संख्या दिन प्रति दिन बढ्दो छ । कर्मचारीलाई यस विषयमा दक्षता प्रदान गरी आफ्ना ग्राहक महानुभावहरुलाई अझ सर्वसुृलभ सेवा प्रदान गर्नु नै तालिमको मुख्य उदेश्य रहेकोे थियो ।
कुलमान घिसिङलाई हाइड्रो एक्सिलेन्स अवार्ड
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड प्रदान गरिने भएको छ । मुलुकमा लोडसेडिङमुक्त गर्नको लागि आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै हाइड्रो नेपालले उनलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड प्रदान गर्ने घोषणा गरेको हो । त्यसैगरी हाइड्रो नेपालले २०७३ को हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. हरिमान श्रेष्ठलाई प्रदान गरिने भएको छ । जलविद्युत् क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशीलता रहेको भन्दै श्रेष्ठलाई सो सम्मान प्रदान गर्न लागिएको संस्थाले जनाएको छ । ।
आइपीओ फारम भर्दा नागरिकता र फोटो नचाहिने
काठमाडौं । अबदेखि आइपीओ फारम भर्दा नागरिकता र फोटो नचाहिने भएको छ । धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा दरखास्त दिने प्रक्रियालाई थप सहज गरी लगानीकर्ताहरुलाई सुविधा दिने उद्देश्यले यो व्यवस्था गर्न सम्पूर्ण निष्काशन तथा बिक्री प्रवन्धकलाई परिपत्र गरेको छ । पछिल्लो समयमा आइपीओ भर्नको लागि डिम्याट खाता अनिवार्य गरिएको र आस्वा प्रणाली कार्यान्वयनमा आएकाले यो व्यवस्था लागू गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार डिम्याट खाता खोल्दा नागरिकताको फोटोकपि र फोटो पेश गरिएको हुनाले थप झन्झट हुने व्यवस्था नगर्न र लगानीकर्तालाई सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था लागु गर्न लागिएको हो । तर यो व्यवस्था उद्योग वा आयोजना प्रभावित क्षेत्रका वासिन्दाले दरखास्त दिने हकमा लागू नहुने बोर्डले जनाएको छ ।
डाक्टर, वकिल र साना उद्यमीका लागि हुण्डाईले ल्यायो २०१७ ग्राण्ड आई१० कार
काठमाडौं । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालीले हुण्डाईको २०१७ ग्राण्ड आई१० कार नेपाली बजारमा भित्र्याएको छ । ग्राण्ड आई१०को अपार सफलतापछि कम्पनीले २०१७ ग्राण्ड आई१० कार नेपाली बजारमा भित्र्याएको हो । सन २०१३ मा विश्व बजारमा आएको ग्राण्ड आई१० नेपाली सडकमा सडकमा ३५ सय वटा गुडिरहेका छन् । ग्राण्ड आई१० लाई उपभोक्ताले अत्याधिक रुचाएपछि कम्पनीले त्यसकै अपग्रेडेड भर्सनका रुपमा २०१७ ग्राण्ड आई१० निर्माण गरि नेपाली बजारमा भित्र्याएको हो । बिहिबार सन २०१६ की मिस नेपाल अस्मी श्रेष्ठले नयाँ कार सार्वजनिक गरेकी हुन् । नयाँ फेस लिफ्ट २०१७ ग्राण्ड आई१० मा रिफाइण्ड एक्सटेरियर स्टाइलिङ र हाइटेक फिचर्ससँगै न्युन इन्धन खपतको क्षमता रहेको छ । लक्ष्मी इन्टरकन्टीनेन्टलका सहायक महाप्रवन्धक (सेल्स एण्ड मार्केटिङ ) रुपेश शर्मा भट्टले भने–सुरुवात देखि नै ग्राण्ड आई१० ले नेपाली उपभोक्ताको मन जितेको थियो, त्यसैले सोही कारको नयाँ भर्सन नेपाली बजारमा ल्याएका हौं, यसले पनि नेपाली उपभोक्ताको मन जित्ने आस गरेका छौं । नयाँ कारमा अगाडी र पछाडी नै बम्पर, नयाँ रिफ्लेक्टर रहेको छ । बिभिन्न रंग र सेरिजमा उपलब्ध २०१७ ग्राण्ड आई१०को मूल्य समेत नेपालका कार पारखीका लागि उपयुक्त रहेको कम्पनीले दावी गरेको छ । जस अनुसार म्याग्नाको मूल्य २६ लाख ९६ हजार, म्याग्ना एटिको मूल्य ३० लाख ५६ हजार, स्पोर्टसको मूल्य २८ लाख ९६ हजार, स्पोर्टस ओ एटीको मूल्य ३४ लाख ५६ हजार, स्पोर्टस ओ को मूल्य ३० लाख ५६ हजार र अस्टाको मूल्य ३२ लाख ५६ हजार रहेको छ । डाक्टर, वकिल, बैंकर र साना उद्यमीलाई लक्षित गरेर नयाँ कार भित्र्याएको कम्पनीले जनाएको छ ।
७५ करोडको लागतमा द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न
दैलेख। नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत शुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट विजुली उत्पादन शुरु भएको हो । द्वारीखोला आयोजनाको निर्माण कार्य तीन वर्षअघि शुरु गरिएको थियो । रु ७५ करोडको लागतमा सो आयोजना निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख सौरभ अर्यालले जानकारी दिए । यस्तै ४.५ मेगावाट क्षमताको पादम खोला विद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ । अवलपराजुलमा पाँच मेगावाट क्षमतको अर्को आयोजनाको निर्माण समेत शुरु गरिएको छ । रासस
एक बर्षपछि भूकम्प पीडितले घर बनाउन पुनकर्जा नपाउने, पुनकर्जा लिन राष्ट्र बैंक जानुस भन्ने बैंकलाई के गर्ने ?
काठमाडौं । ‘घर बनाउन पुनकर्जा माग्दै बैंक पुगेका भूकम्प पीडित जनतालाई बैंकरहरुले यो पुनकर्जा त हामीले होइन राष्ट्र बैंकले दिने हो त्यतै जानुस भन्दा रहेछन्, यस्ता गुनासा धेरै आएका छन’, बिहिबार नेपाल राष्ट्र बैंकले सहुलियत कर्जाका बारेमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता नारायण पौडेलले भने । पौडेलले भूकम्प पीडित जनतालाई पुनकर्जा दिन बैंकहरुले आनाकानी गरिरहेको बताए । तर उनी लगत्तै कार्यक्रमलाई सम्बोधन गरेका राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने अर्काे बर्षदेखि भूकम्प पीडितलाई घर बनाउन दिइने पुनकर्जा रोक्ने घोषणा गरे । ‘भूकम्प पीडितलाई घर बनाउन दिइने पुनकर्जा अर्काे एक बर्षपछि बन्द गर्ने सोँच बनाएका छौं, त्यसबारे केन्द्रिय बैंकको उच्च लेभलमा छलफल भैरहेको छ’, डेपुटी गभर्नर शिवाकोटीले भने । बैंकहरुले पुनकर्जा दिन आनाकानी गरेको भनाई राखे लगत्तै कार्यक्रमलाई सम्बोधन गरेका डेपुटी गभर्नरले भने त्यस्तो पुनकर्जालाई रोक्ने तयारी गरिरहेको बताएका हुन् । प्रवक्ता पौडेलले भूकम्प पीडितलाई दिइने पुनकर्जाको मात्रा बढाउनका लागि लघु वित्तले सामुहिक जमानीमा ३ लाखसम्म लगानी गरेमा त्यसलाई पनि पुनकर्जा उपलब्ध गराउने बताएका थिए ।‘लघुवित्तहरुले सामुहिक जमानीमा ३ लाखसम्म पुनकर्जा भूकम्प पीडितलाई दिन सक्छन, हामी शुन्य ब्याजमा पैसा उपलब्ध गराउँछौं’, पौडेलले भने । तर डेपुटी गभर्नरले भने त्यसको ठिक उल्टो जनताले निजी आवास निर्माणका लागि पुनकर्जा लिन नचाहेको धारणा राख्न भ्याए ।‘गत बर्षपनि खासै गएन, यसपाली पनि त्यति धेरै गएन, अब अर्काे एक बर्षमात्रै दिनेबारे छलफल अघि बढाएका छौं’, शिवाकोटीले भने । राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्ममा जम्मा भूकम्प पीडितको निजी आवास निर्माणका लागि जम्मा ४७ करोड ३० लाख मात्रै पुनकर्जा गएको छ । राजधानीका भूकम्प पीडितलाई भने थप सहुलियत केन्द्रिय बैंकले काठमाडौंका भूकम्प पीडितलाई भने पुनकर्जामा सहजता थपिदिने योजना बनाएको छ । डेपुटी गभर्नर शिवकोटीका अनुसार काठमाडौंका भूकम्प पीडितलाई पुनकर्जा वापत २५ लाख र नियमित कर्जाको ब्याजदरमा थप रकम उपलब्ध गराउनेबारे छलफल भैरहेको छ । राष्ट्र बैंकले उपत्यका बाहिरका भूकम्प पीडितलाई घर बनाउन अधिकतम १५ लाख र उपत्यका भित्र २५ लाखसम्म पुनकर्जा दिँदै आएको छ । राष्ट्र बैंकले बैंकहरुले शुन्य ब्याजदरमा रकम उपलब्ध गराउँछ भने बैंकहरुले २ प्रतिशत ब्याजदरमा त्यस्तो कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ । तर बैंकहरुले भने भूकम्प पीडितलाई पुनकर्जा दिन आनाकानी गर्दै आएका छन् । केन्द्रिय बैंकले पुनकर्जालाई प्रभावकारी बनाउन छाडेर एक बर्षभित्रै खारेज गर्ने बाटोमा अघि बढेको हो ।