विकासन्युज

भदौमै २ करोड थान भारतीय एलइडी बल्ब आउँदै, ४ सयकाे बल्ल २ सयमै पाइने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी भदौभित्रै २ करोड थान भारतीय एलइडी बल्ब नेपाल ल्याउने भएको छ । प्राधिकरणले आगामी दसैं अगाडि नै भारतबाट यो परिणामको बत्तिका बल्ब ल्याउन लागिएको हो । यो बल्ब खरिद प्रक्रिया अगाडि बढाउन अदालतले दिएको आदेश अनुसार प्राधिकरणले भारतसमक्ष प्रक्रिया अगाडि बढाएको पनि उल्लेख छ । ऊर्जा मन्त्रालय, भारतयि राजदूताबासलगायतसँग छलफल गर्ने तयारीमा प्राधिकरण जुटेको छ । ऊर्जा मन्त्रालयले पनि बल्ब खरिद प्रक्रिया छिटो सुरु गर्न निर्देशन दिएको छ । प्राधिकरणले बजारमा चार सय भन्दा माथि पर्ने यो बल्ब ल्याएर २ सयमै उपभोक्तालाई बेच्ने भएको छ । नागरिक दैनिकबाट ।

आर्थिक वर्ष सकिन १ महिना बाँकी, बजेट खर्च भने आधा बाँकी मात्रै

काठमाडौं । चालू आर्थिक बर्ष सहिन एक महिना पनि बाँकी छैन । तर सरकारले आधाभन्दा केही बढीमात्र बजेट खर्चन सकेको छ । खर्च गर्ने क्षमतामा ह्रास आएका कारण सरकारले जेठ मसान्तसम्ममा कुल विनियोजित बजेटको ५७.६४ प्रतिशतमात्र खर्च गरेको महालेखा नियन्त्रक कार्यालय (मलेनिका) ले जनाएको छ । जेठ मसान्तसम्म ६ खर्ब ४ अर्ब ६४ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक बर्षमा सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको थियो । ११ महिनामा पुँजीगत खर्च सबैभन्दा कम भएको छ । यस अवधिमा पुँजीगत खर्च विनियोजित बजेटको ३८.५४ प्रतिशतमात्रै खर्च भएको छ । चालू वर्ष पुँजीगत खर्चका लागि ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख रुर्पयाँ बजेट विनियोजन भएको छ । यसमा १ खर्ब २० अर्ब २१ करोड ९८ लाख रुपैयाँमात्रै खर्च भएको छ । कारोबार दैनिकबाट ।

चुनाव सार्दापनि राजपालाई चित्त बुझेन, के–के माग पूरा भए राजपाका ?

काठमाडौं । संविधानप्रति असन्तुष्ट राजपाका माग सम्बोधन गर्न सरकारले हदैसम्मको लचकता अपनाएको पाइएको छ। संविधान संशोधन र स्थानीय तह वृद्धि गर्नसमेत सरकारले प्रक्रिया अघि बढाएर पनि असफल भएको र अन्य माग सरकारले पूरा गरेको छ। राजपाले प्रदेश–२ को निर्वाचन सार्न गरेको मागसमेत सरकारले निर्वाचन आउन १३ दिनअघिमात्रै पूरा गरेको छ। यसअघि राजपाले स्थानीय तह वृद्धि गर्न गरेको माग सम्बोधन गर्न सरकारले २२ वटा स्थानीय तह थप गरेको थियो भने २४ वटा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नतिसमेत गरेको थियो। मन्त्रिपरिषद्को उक्त निर्णयविरुद्ध परेको रिटमा आदेश जारी गर्दै सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न भनेपछि तह वृद्धि कार्यान्वयन रोकिन पुगेको हो। पुष्पकमल दाहाल प्रधानमन्त्री रहेकै समयमा १७ वैशाखमा सरकारले संविधान पारित गराउन प्रक्रियासमेत अघि बढाउने प्रयास गरेको थियो। सरकारबाट बाहिरिसकेको राप्रपाका नौ जना सांसद अनुपस्थित भएपछि संशोधन प्रक्रियाबाट सरकार पछि हटेको थियो। प्रतिपक्षी एमालेसहित साना नौ दलको विरोधका बाबजुद संशोधन पारित नहुने स्थितिपछि सत्तारूढ दलले राजपाकै सहमतिमा दुई तिहाइ पुगेको अवस्थामा मात्र अघि बढाउने गरी होल्ड गर्ने समझदारीसमेत गरेका थिए। यसअघि राजपाले दल दर्ता र चुनाव चिह्नका लागि ऐन संशोधन गर्नुपर्ने माग अघि सारेको थियो। सरकारले राजपालाई निर्वाचनमा सहभागी गराउन ऐनसमेत संशोधन गरेको थियो। राजपाले २०७३ सालमा भएको मधेस आन्दोलनमा मारिएकालाई शहीद घोषणा गर्न माग गरेको छ। सरकारले उक्त मागमा समेत सहमति जनाइसकेको छ। राजपाले मधेस र थरूहट आन्दोलनमा सक्रिय भएका करिब ४ सय जनालाई सरकारले झुटा मुद्दा लगाएको आरोप लगाएको छ। प्रधानमन्त्री दाहालको समयमा नै मन्त्रिपरिषद्को बैठकले मुद्दा फिर्ता लिने निर्णय गरिसकेको छ। माओवादी केन्द्रका हेडक्वार्टर सदस्य गिरिराजमणि पोखरेलले मुद्दा फिर्ता र बन्दी रिहा गर्ने निर्णय भइसकेको र कानुन मन्त्रालयमा प्रस्ताव तयार भइरहेको बताए। प्रदेश सीमांकनको विषयमा भने प्रदेश निर्वाचनअघि छलफल गर्ने सहमति राजपासँग रहेको छ। राजपाले प्रदेश सीमांकनको विषयलाई अहिले उठाएको छैन। राजधानी दैनिकबाट ।

पाटन दरबार क्षेत्रका पसल कवलले बर्षाेदेखि भाडा तिरेनन, भाडा मासिक ५ सय मात्रै

ललितपर। पाटन दरबार आसपासका ४५ वटा पसल कवलको भाडा गुठी संस्थानले वषौँदेखि उठाउन सकेको छैन। यी पसल कवलको मासिक भाडादर मासिक पाँच सय रुपियाँभन्दा बढी पनि छैन। गुठी संस्थान पाटन शाखा कार्यालय प्रमुख बैकुण्ठ आचार्यका अनुसार भाडा असुल गर्न संस्थानले पहल नगरेको होइन तर पसलेले नै संस्थानलाई टेर्दैनन्। समाजमा सुन्दा र जान्दा निकै लाजमर्दो अवस्था देखिने यसको जिम्मेवारी कसको हो ?  न पसल भाडामा लिएकालाई थाहा छ न त गुठी संस्थानलाई नै। दरबार छेउका यी पसल भाडा तिर्नै नसक्ने बेचल्तीका पसल भने होइनन्। स्थानीयवासी पञ्च वज्राचार्य भन्छन्, कृष्ण मन्दिर छेवैको चटामरी र बारा पसलको सरदर दैनिक आय नै पाँच हजार रुपियाँ छ तर पाटनको एकाध जात्रालाई चन्दा दिएर पसलेले टार्दै आएको छ। कतिपय भाडादरको यो अवस्था र भाडा असुल गर्नै नसकिने यो अवस्थाप्रति खुलेर कुरा गर्न पनि हच्कन्छन्। कतिपय पसलेसँग जुद्धसमशेरकालीन कागजपत्र पनि छन् तिनै कागजको बेअर्थ लगाएर पसलमा मोहियानी हकसमेत दाबी हुने गरेको छ, संस्थानका एक कर्मचारी बताउँछन्। भक्तपुर दरबार क्षेत्रस्थित संस्थानका यस्ता पसलमा भने कुनै समस्या छैन, आर्थिक नियमावली अनुसार टेन्डर प्रक्रियाबाट भक्तपुर दरबार आसपासका पसलबाट संस्थानले नियम अनुसार नै आम्दानी गरिरहेको छ। हनुमानढोका दरबार आसपासका कडेल्चोक भगवती गुठीका पसल कवल पहिले नारायणहिटी दरबारले आफ्नो सम्पत्तिमा कायम गर्‍यो। दरबारको अस्तित्व गएपछि यहाँको आयलाई पुरातत्व विभागले लिएको छ। विश्व सम्पदा सूचीमा रहेका यी स्थानका अधिकांश पसल संस्थान मातहत छन्। गुठी संस्थानले भाडा दिन नसक्ने पसल खाली गराउन पनि सकेको छैन। संस्थान अधिकारीका अनुसार वर्तमान संस्थान ऐन खारेज भई नयाँ ऐन पारितको तयारीमा छ, ऐन पारितपछि बहाल असुली कारवाहीमा संस्थान कठोर रूपमा प्रस्तुत हुन्छ। गोरखापत्र दैनिकबाट ।

रिङरोडभित्र मोटरसाइकल प्रतिबन्धको तयारीमा सरकार,सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो। मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाई छ। सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदुषण कम गर्न, दुर्घटना न्यूनीकरण गर्न तथा स्वच्छ सहर बनाउन उपत्यकाको चक्रपथभित्र मोटरसाइकल चलाउन रोक लगाउने विषयमा छलफल सुरू गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए। ‘उपत्यका पुरैमा मोटरसाइकल हटाउँदा ठूलो समस्या हुने भएकाले हामीले चक्रपथ भित्र मात्र रोक लगाउने विषयमा सरोकारवालाहरूसँग छलफल थालेका छौ,’ भट्टराईले भने,‘ यसले सहरको सुन्दरता बढाउनुका साथै प्रदुषण र दुर्घटनासमेत कम गर्न मद्धत मिल्ने अपेक्षा गरिएको छ।’ मोटरसाइकल हटाउने विषयमा आम मानिसमा आवातजावत कसरी गर्ने भन्ने प्रश्न स्वभाविक रूपमा उठ्ने उनी बताउँछन्। ‘मोटरासाइकल हटाउने विषयमा छलफलसँगै सार्वजनिक सवारीलाई सहज र सरल उपलब्धताबारे पनि जोडदार रूपमा एकसाथ अघ बढाउँछौ,’ उनले भने।बागमती अञ्चलमा मात्र करिब ८ लाख मोटरसाइकल दर्ता भइसकेका छन्। कारोबार दैनिकबाट ।

इन्भेष्टमेण्ट बैंकले खोल्यो दिपायल र मंगलसेनमा शाखा, दैलेखको डाबमा एक्स्टेन्सन काउन्टर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले डोटीको दिपायल र अछामको मंगलसेनमा दुईवटा शाखा र दैलेखको डाबमा एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोबार शुभारम्भ गरेको छ । यूके एडद्वारा संचालित सक्षम –एक्सेस टु फाइनान्सको सहयोगमा बैंकले असार १ गतेदेखि दिपायलको पिपप्लाबजार र मंगलशेनको क्याम्पसचौरमा ४८औं र ४९ औं शाखाको विस्तार गरेको हो भने डाबस्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालय रहेको स्थानमा एक्स्टेन्सन काउन्टर खोलेको छ । स्थानीय जनतामा वित्तिय पहुँच पु¥याई आर्थिक कारोबार गर्न सहजता प्रदान गर्ने उदेश्यले शाखा विस्तार गरिएको हो । शाखा विस्तारपछि साना उद्योग तथा कृषि व्यवसाय संचालन लगायतमा आर्थिक कारोबार गर्न स्थानीयबासीलाई सहजता हुने छ । दिपायल शाखाको उद्घाटन गर्दै सुदूर पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शिशिर ढुंगानाले स्थानीय जनतालाई वित्तिय पहुँचका लागि नेपाल इन्भेष्टमेन्ट बैंक र सक्षम–एक्सेस टु फाइनान्सले गरेको सहकार्यको प्रशंसा गर्नुभएको थियो । शाखा विस्तारपछि स्थानीय जनताले साना उद्योग, कृषि व्यवसाय संचालन तथा साना साना आर्थिक कारोवारका लागि लामोसमय खर्चिनुपर्ने अवस्था नरहने क्षेत्रीय प्रशासक ढुंगानाको विश्वास छ । “अछाम, दिपायल तथा दैलेख जस्ता सुदूर क्षेत्रमा शाखा विस्तार गर्ने थोरै बैंकमध्ये एनआईबिएल पनि रहेकोमा, उहाँहरुसँंग सहकार्य गर्दा गर्व लागेको छ”(सक्षमका टिम लिडर बलजित बोहोराले भने–“ हाम्रो बैंकसंगको सहकार्यको उदेश्य पनि विकट क्षेत्रका जनतालाई आर्थिक कारोवारमा वित्तिय पहुँच पु¥याई उनीहरुको जीवनस्तर अभिवृद्धिमा सहयोग पुर्याउनु हो ।” रु.८ अर्ब ७४ करोड चुक्ता पूंजी रहेको बैंकको कूल निक्षेप रु.१ सय १९ अर्ब पुगेको छ भने कूल कर्जा रु.१ सय ०२ अर्ब छ । बैंकले २०७३ चैत मसान्तसम्ममा रु.२ अर्ब ३७ करोड मुनाफा गर्न सफल भएको छ । आफ्ना ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई ४९ वटा शाखा, दुई वटा एक्स्टेन्सन काउन्टर, ८६ वटा एटिएम तथा ५७ वटा शाखारहित बैंकिङ कारोवारबाट सेवा पु¥याउँदै आएको छ । बैंकको हाल ५ लाख ५० हजारभन्दा बढि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरू रहेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक लि. बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एकमात्र बैंक रहेको छ । इन्भेष्टमेण्ट बैंकले सन् २०१०–११ देखि निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी (आइ.सि.आर.ए.) बाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । यूके एडको आर्थिक सहयोगमा लुइस बर्जरलेले डिएफआईडी नेपालको लागि सक्षम–एक्सेस टु फाइनान्स कार्यक्रम कार्यान्वयन गरेको हो । सार्वजनिक र निजी संघ संस्थासंगकोे सहयाकार्यमा सुदूर पश्चिम तथा मध्यपश्चिमका विकट क्षेत्रहरुमा सक्षमले आफ्नो ५ वर्षे योजनाअन्तर्गत स्थानीयको आर्थिक स्तर वृद्धिमा सहयोग पुर्याउदै आएको छ । विकट क्षेत्रमा आर्थिक पहुँच पु¥याउने योजनाअन्तर्गत नै सक्षमले एनआईबिएलसंग शाखा विस्तारमा सहकार्य गरेको हो ।

ज्योति विकास बैंकद्धारा जेब्रा क्रसिङ बनाउन सहयोग

काठमाडौं । ज्योति विकास बैंक लि.ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कमलादी क्षेत्र र भदकालीमा जेब्रा क्रसिङ्ग बनाउने कार्यमा सहयोग गरेको छ । सडक दुर्घटना कम गर्न तथा पदयात्रुहरुलाई सडक पार गर्न सहजता होस् भन्ने उद्देश्यले बैंकले आफ्नो मुख्य कार्यालय–कमलादी, प्रज्ञा भवन, कमलादी गणेश मन्दिर तथा भद्रकाली मन्दिर अगाडी जेब्रा क्रसिङ्ग बनाउन सहयोेग गरेको छ । यी स्थानहरुमा जेब्रा क्रसिङ्ग नहुँदा पैदल यात्रुहरुले सडक पार गर्न कठिनाई भोग्दै आईरहेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरका अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष यस्ता सेवामूखी कार्यहरु गर्दै आएको तथा भविष्यमा पनि निरन्तरता दिइने बताए । बैंकले ट्राफिक प्रहरी महाशाखा, रामशाह पथ संग समन्वय गरी उक्त कार्य सम्पन्न गरेको हो ।

केएल मोबाइल हब सँचालनमा आउँदै, असार ५ गतेबाट मोबाइल एक्स्पो हुने

काठमाडौं । हरेक मोबाइलको खरिदमा हातखाली नजाने एक्सक्लुसिभ अफर सहित केएल मोबाइल हब संचालनमा आउने भएको छ । राजधानीको चाबहिलस्थित केएल टावरको भुइँ तल्लामा सँचालनमा आउने केएल मोबाइल हबमा मोबाइल खरिद गर्दा एफ क्युब मा सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार बराबरको २ जनालाई प्रबेश, लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । मोबाइल हब संचालनको अबसर पार्दै बिभिन्न मोबाइल कम्पनीहरुले बिशेष छुट पनि दिने भएका छन् । बिश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो र ओबिआइका टच एण्ड फिल काउन्टर समेत रहने संचालक संगम राइले बताए । नेपालमै पहिलो पटक फरक अबधारणामा असार ५ गतेबाट संचालनमा आउन लागेको यो मोबाइल हबमा ६० मिनेट मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एण्ड फिल जोनको सुबिधा पनि रहेको छ । यसैगरि पार्किङको पर्याप्त सुबिधा रहेको यस स्थानबाट ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ बर्षको लागि प्रिभिलेज कार्ड पाइने निर्देशक राइले जानकारी दिए । १५ दिन सम्म मोबाइल हबमा चल्ने मोबाइल मेलामा मेला अबलोकन गर्न आउनेहरुका विच लक्की ड्र गरिने र भाग्यशाली अबलोकनकर्तालाइ मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको छ ।