विकासन्युज

१४ दिनमा १११ अंकले किन घट्यो सेयर बजार, यस्ता छन् कारण

काठमाडौं । कात्तिक ५ गते १५७१.९२ अंकबाट ओरालो लागेको नेप्से परिसूचक कात्तिक २३ गते १४६०.७३ अंकमा आइपुगेको छ । यो अवधीमा बजार जम्मा १४ दिन खुलेको छ र १११.१९ अंकले ओरालो घटेको छ । १४ दिनसम्म बजार औषतले ७.९४ अंकले घटेको देखिन्छ । इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारको बुझाईमा सेयर बजार ओरालो लाग्नुमा आधा दर्जन जति कारण छन् । रौनियारका अनुसार यतिबेला लगानी कर्ताको मनोबल ह्वात्तै घटेको छ । लगानी कर्ताले यतिबेला बैंकको ब्याजदर घट्ने आस गरेका थिए तर अझै पनि ब्याजदर १२/१३ प्रतिशतमै छ । चर्काे ब्याजदरका कारण लगानी कर्ताले सेयरमा लगानी बढाउने हिम्मत गरिरहेका छैनन् । अर्काे पक्ष भनेको कात्तिक २१ गतेबाट अनलाइन सेयर कारोबार आरम्भ हुने नेप्सेको पुर्व घोषणा २०७५ जेठमा सरेको छ । यसले पनि लगानी कर्तालाई केहि हदसम्म झस्काएको उनी बताउँछन् । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले पनि बैंकको ब्याजदर नघट्नु, अनलाईन सेयर कारोबार पछि धकेलिनु र बजारमा सेयरको आपुर्ति बढेकाले सेयर बजार ओरालो लागेको बताए । रेग्मीले बैंक तथा वित्तिय संस्थाहरुको पहिलो त्रैमासिकको वित्तिय विवरणले सकारात्मक संकेत नदेखाएकाले लगानी कर्ता हच्किएको दावी पनि गरे ।‘हाम्रो पुँजी बजार भनेको बैंक तथा वित्तिय संस्थाहरुको ठुलो हिस्साले भरिएको छ, पहिलो त्रैमासिकको रिपोर्टले राम्रो अवस्था नदेखाएपछि लगानी कर्ता हच्किएका हुनसक्छन’, रेग्मीले भने । उता, रौनियारले भने बाम एकताले सेयर बजार तहसनस पार्ने हल्ला फिँजाएर केहि तत्वले बजारलाई प्रभावित पारेको दावी पनि गरे । ‘बाम एकताको डर देखाएर केहि तत्वकाले बजार घटाउने र त्यसबाट फाइदा लिन खोजेको जस्तो पनि देखिन्छ, तर नेपालको पुँजी बजार त बामपन्थी सरकारकै पालामा उच्चतम विन्दुमा पुगेको छ’, रौनियारले भने । नेपाल धितोपत्र बोर्डले भने बजार घट्नु र बढ्नु सामान्य प्रक्रिया भएको बताएको छ । ‘बजार घट्नु र बढ्नु सामान्य प्रक्रिया नै हो, धितोपत्र बोर्डले हेर्ने भनेको बजार असामान्य तवरले बढेको वा घटेको छ की छैन भन्ने मात्रै होे’, बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले भने । ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीले भने बाम गठबन्धनले सेयर बजार घटाउन कुनै भूमिका नखेलेको बताए ।

एनआईसी एशिया बैंकले एकैसाथ खोल्यो थप ५ नयाँ शाखा, शाखा सङ्ख्या १३५ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले एकैसाथ थप ५ नयाँ शाखा कार्यालयहरु खोलेको छ । बैंकले बुधबार मात्रै दोलखा स्थित चरिकोट शाखा, कैलाली स्थित पहलमानपुर शाखा, केराबारी स्थित केराबारी शाखा, सिरहा स्थित भगवानपुर शाखा तथा सिरहा स्थित नरहा शाखाको एक कार्यक्रम बीच उद्घाटन गरेको हो । उक्त ५ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १३५ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

सेयर बजारमा ४६ करोडको कारोबार, समता माइक्रोफाइनान्सको सेयर मूल्य १०%ले वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा ४६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिन(बुधबार)को तुलनामा एक करोड रुपैयाँ घटी हो । बुधबारको बजारमा ४७ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबारको बजारमा कुल १५४ कम्पनीको १० लाख कित्ता सेयर कारोबार भएको छ । बजारमा सेयर कारोबारका साथ साथै नेप्से परिसूचकमा पनि गिरावट आएको छ । बिहीबारको परिसूचक ५.८९ अंकले घटेर १४६०.७३ अंकमा अडेको छ । घटेको बजारमा पनि समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य करिब १०प्रतिशतले बढेको छ । ९.९८ प्रतिशतले बढेको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५१ रुपैयाँ रहेको छ । जुन रकम बुधबारको तुलनामा प्रतिकिता ५० रुपैयाँ बढी हो । सबैभन्दा बढी रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.६ प्रतिशतले घटेको छ । त्यस्तै, उता बीमा समूहको परिसूचक सबैभन्दा बढी २४ अंकले राताम्मे भएको छ ।

नेपाल बङ्गलादेश बैंकको वार्षिक साधारणसभा मंसिर ३ गते, केके छन् विशेष प्रस्ताव?

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २३औँ वार्षिक साधारणसभा मंसिर ३ गते हुने भएको छ । उक्त सभामा बैंकले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको ३.७९ प्र्रतिशत नगद लभांश(कर समेत) वितरण गर्ने भएको छ । त्यसैगरी, सभामा ४ वर्षे कार्यकालको लागि कुल ६ जना संचालकको निर्वाचन गर्ने कम्पनीले जनाएको छ । सो प्रयोजनको लागि कात्तिक १३ गतेदेखि मंसिर ३ गतेसम्म बैंकको बुक क्लोज रहने छ ।

भारी सवारी साधनको लाइसेन्स नखुल्दा दक्ष चालक उत्पादन हुन सकेन

काठमाडौं । लामो समयदेखि भारी सवारी साधन (ट्रक, डोजर, लोडर, बस)लगायतको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नखुल्दा दक्ष चालक उत्पादन हुन सकेको छैन । सरकारले चार वर्षदेखि भारी सवारी साधनका लागि सवारी चालक अनुमतिपत्र नखुलाउँदा चालक लाइसेन्स लिनबाट वञ्चित भएका हुन् । भारी सवारी साधनकोे लाइसेन्स लिनका लागि कार, ट्याक्सी, जिपलगायतको लाइसेन्स अनिवार्य लिनुपर्ने व्यवस्था गरे पनि लामो समयदेखि लाइसेन्स नखुलाएपछि चालक समस्यामा परेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बेला बेलामा लाइसेन्स नखुल्दा भारी सवारी साधन चलाउने सवारी चालकको अभाब भएको बताए । उत्पादन भएका चालक रोजगारीका लागि विदेशिएका र लाइसेन्स नखुल्दा चालक अभाव भएको उनको भनाइ थियो । सिटौलाले अहिले मुलुकलाई ३० हजार भारी सवारी चालक आवश्यक परेको बताए। चालक कम हुँदा चालकका लागि विज्ञापन गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् । अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष सोम तामाङ आफूले लामो समयदेखि दक्षताअनुसार लाइसेन्स दिनुपर्छ भन्ने आवाज उठाए पनि सुनुवाइ नभएको गुनासो गरे । “सहचालक भएर सवारी चलाउन योग्य भएका चालकलाई प्रतिस्पर्धाका आधारमा लाइसेन्स दिनुपर्छ”: उनले भने । चालकलाई प्रतिस्पर्धाका आधारमा लाइसेन्स र पूर्वाधार निर्माण गरिदिए चालकलाई अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने व्यवस्था गर्न आफ्नो संघले पहल थाल्ने अध्यक्ष तामाङले स्पष्ट पारेका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डे विगतमा लाइसेन्स लिने प्रक्रिया सहज भए पनि भारी सवारी साधनका लागि केही गाह्रो प्रक्रिया भएको छ भने । “कर्णाली, मेची र धौलागिरिबाहेक सबै अञ्चलबाट हामीले लाइसेन्स वितरण गरिरहेका छौँ, धेरै सवारी साधनको लाइसेन्स छुट्टाछुट्टै मितिमा दिनुपर्ने भएकाले भारी सवारी साधनको लाइसेन्स वितरणमा ढिला भएकै हो”, उनले बताए । विभागले एकपटक लाइसेन्स लिनका लागि आवेदन खुल्ला गर्दा हजारौँको संख्यामा आवेदन आउने र त्यो समयमा सबैलाई लाइसेन्स दिन नपाउँदा लाइसेन्स पाएनौँ भन्नु स्वाभाविक भएको उल्लेख गर्दै प्रवक्ता पाण्डेले भारी सवारी साधनको प्रयोगात्मक परीक्षा दिने ठाउँ पर्याप्त नभएको पनि जानकारी दिएका छन्। दक्ष चालक नभएका कारण दुर्घटना बढेको चर्चा गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, “चालक जति धेरै उत्पादन हुन्छन् त्यति नै धेरै प्रतिस्पर्धाका आधारमा चालक नियुक्त गर्दा दुर्घटना कमी आउँछ ।” यातायात व्यवस्था विभागका अनुसार हाल नेपालमा २७ लाख ८३ हजार ४२८ र काठमाडौं उपत्यकामा १० लाख ४२ हजार ८५६ सवारी साधन छन् । रासस

एक्सेल डेभलपमेन्ट बैंक मंसिर १७ गते साधारणसभामा जाँदै, कहिले देखि बुक क्लोज?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक मंसिर १७ गते आफ्नो १२औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि मंसिर ५ गतेदेखि मंसिर १७ गतेसम्म बैंकको बुक क्लोज हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ६८ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ७४ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ रहेको छ ।

विजय लघुवित्तको मंसिर १ देखि बुक क्लोज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको मंसिर १ देखि बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १ देखि १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यस कम्पनीको आगामी साधारणसभा मंसिर १६ गते बस्दै छ ।

बैधानिक चुनाव खर्च १५० प्रतिशत बढ्यो, उम्मेदवार भन्छन्-‘त्यति पैसाले माखो मर्दैन’

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारका लागि चुनावी खर्चको सिमा १५० प्रतिशतले बढाएको छ । २०७० सालको निर्वाचनमा प्रति उम्मेदवार खर्च सिमा १० लाख थियो । त्यो सिमा २०७४ सालमा आइपुग्दा १५० प्रतिशतले बढेर २५ लाख पुगेको छ । तर उम्मेदवारहरुले सो रकमबाट कार्यकर्तालाई पेट्रोल हालिदिन पनि नपुग्ने बताईरहेका छन् । ‘करोडका बिटो नबोकी चुनावी मैदानमा जाने अवस्था छैन, जित्नका लागि त झन धेरै पैसा खर्च गर्नुपर्छ, निर्वाचन आयोगले तोकेको २५ लाखले त कार्यकर्तालाई पेट्रोल हालिदिन पनि पुग्दैन’, एक उम्मेदवारले भने । २०७० सालको प्रतिनिधी सभा निर्वाचनमा १० लाखको सिमा भित्र रहेर खर्च विवरण बुझाएका उम्मेदवारहरुले यसपाली २५ लाखसम्म खर्चको हिसाब किताब बुझाउनेछन् तर खर्च भने करोडको आँकडा माथी पुग्ने बताईरहेका छन् । निर्वाचन आयोगले प्रदेश सभाका उम्मेदवारले १५ लाखसम्म खर्च गर्न पाउने गरेको छ । समानुपातिक उम्मेदवारका हकमा प्रति उम्मेदवार २ लाख प्रदेश सभाका समानुपातिक उम्मेदवारले एक लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् । ‘२०७४ सालको चुनाबमा एउटा घर बेचियो, यसपाली फेरी चुनाव लड्नका लागि बेच्ने कुरा केहि छैन, त्यसैले निर्वाचनको मैदान छाडे’, २०७० सालको दोश्रो संबिधान सभा निर्वाचनमा मधेशबाट विजयी भएका एक निर्वतमान सांसदले सुनाए । उनले पनि निर्वाचन आयोगले तोकेको खर्च सिमाले निर्वाचनमा माखो नमर्ने दावी गरे । कास्कीबाट गत संबिधान सभा निर्वाचन जितेका एमाले सांसद रबिन्द्र अधिकारीले निर्वाचनमा ४० लाख रुपैंयाँ खर्च भएको बताए । उनले निर्वाचन आयोगमा भने १० लाख रुपैंयाँको बिल पेश गरेको बताए । ‘हाम्रो कानुनी व्यवस्थाले १० लाख मात्रै खर्च गर्न पाइने भनेको छ, त्यति पैसाले निर्वाचन लड्न सक्ने अवस्था छैन तर विवरण भने १० लाखकै बुझाउनुको विकल्प थिएन’, अधिकारीले भने । ढोंगी लोकतन्त्र निर्वाच आयोगका उप सचिव सुर्यप्रसाद अर्यालले १५० प्रतिशतले खर्च सिमा वृद्धि गरिनु पर्याप्त भएको बताए । ‘चार बर्षको बिचमा १५० प्रतिशतले खर्च सिमा बढाएका छौं, यो पर्याप्त रकम हो’, निर्वाचन आयोगमा मतदाता शिक्षा समेत हेरिरहेका उपसचिव अर्यालले भने । उम्मेदवारहरुले करोडौं खर्च गर्ने प्रवृत्तिलाई रोक्ने कुरा राष्ट्रिय अभिभारा भएको पनि उनले बताए । ‘२५ लाखको सिमा नै धेरै भयो भन्ने कुरा आईरहेको छ, तर उम्मेदवारहरुले बाहिरबाटै मोटो रकम खर्च गरिरहेका छन, यसलाई आयोगले मात्रै रोक्न सक्दैन, सबै पक्षले सहयोग गर्नुपर्छ’, अर्यालले भने । अर्थ विद डा. चन्द्रमणी अधिकारीले पैसा खर्च गरेर मात्रै निर्वाचन जित्ने संस्कारले राजनीतिलाई व्यापार बनाएका बताए । अमेरिका भन्दा धेरै चुनावी खर्च गर्ने मुलुकका रुपमा नेपाल उभिएको उनले बताए । कालो धन भएकाहरुले मात्रै निर्वाचन जित्ने अवस्था बन्दै गएको पनि डा. अधिकारीको निष्कर्ष छ । राजनीतिक दलहरुले घोषणा पत्रमा निर्वाचन खर्च कटौती र उपयुक्त व्यवस्थापनबारे बोल्न छुटाएको पनि उनको बुझाई छ । उनले करोडौं खर्च गरेर २५ लाखको विवरण बुझाउने गरि बनाईएको नियमले वित्तिय लोकतन्त्रलाई नै ढोंगी बनाएको आरोप पनि लगाए ।