उद्योपति विनोद चौधरी काँग्रेसको आर्थिक समृद्धि उपसमितको संयोजक
काठमाडौं । नेपाली काँग्रेसले डलर अर्बपति विनोद चौधरीलाई पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा मनोनित गरेको छ । पार्टीको निर्वाचन परिचालन समितिले आफनो मातहतमा रहनेगरी उपसमिति गठन गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा जनाईएको छ । काँग्रेसको समानुपातिक तर्फको बन्दसूचीमा नाम समावेश भएका चौधरीलाई बालकृष्ण खाँण नेतृत्वको परिचालन समितिमा समावेश गरिएको थियो । उपसिमितले आर्थिक समृद्दि र विकासको लागि काँग्रेसले गरेका कामहरुको बारेमा जानकारी दिने छ ।
चार महिनापछि रानीपोखरी निर्माण सुरु
काठमाडौ । चार महिनादेखि रोकिएको रानीपोखरी निर्माणको काम पुनः सुरु भएको छ । लामो समयदेखि काम हुन नसकेपछि गत मंगलबार कामपाका कार्यकारी अधिकृत धनीराम शर्माले निर्माण कम्पनीलाई ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण छिटो गर्न निर्देशन दिएका िथए । सम्झैतानुसार गत असार मसान्तसम्ममै पहिलो चरणको काम सक्नुपर्ने थियो । निर्धारित समय सकिसक्दा पनि पुनःनिर्माणको कामले गति लिन नसकेकाले कामपाले निर्देशन दिएको हो । निर्माणका लागि जिम्मा पाएको वल्र्ड वाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेल कामपाकै कारण निर्माण ढिला भएको बताए । निर्माण कम्पनीले कामपाले डिजाइन नदिएको भन्दै काम रोकेको बताउँदै आएको छ । अबको तीन महिनामा आफ्नो जिम्मामा रहेको सबै काम सक्ने कँडेलले प्रतिबद्धता व्यक्त गरे । रानीपोखरी पुनःनिर्माणको जिम्मा कामपालाई दिइए पनि बालगोपालेश्वर मन्दिर पुनःनिर्माण नियमविपरीत रहेको भन्दै पुरातत्व विभागले २०७३ भदौमै रोक लगाउँदै आफँैले निर्माण गर्ने जनाए पनि हालसम्म मन्दिरको पुनःनिर्माणको काम हुन सकेको छैन । उक्त मन्दिर वर्षमा एक दिन भाइटीकाको दिन मात्र खुल्छ । मन्दिरमा टीका लगाउन दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन् । चार सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको रानीपोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गरिएको भनाइ छ । विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर बनाइएको ‘विष्णुतीर्थ’ को दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उहाँका छोराहरूसहितको सेतो मूर्ति तथा अन्य कुनामा गणेशलगायतका मूर्ति छन् । रासस
फागुनदेखि दैनिक ६ हजार टन सिमेन्ट उत्पादन थपिँदै, मूल्य घट्नुको साथै गुणस्तरमा प्रतिस्पर्धा हुँदै
काठमाडौं । नेपालमा आउदो फागुनदेखि दैनिक ६ हजार टन सिमेन्ट उत्पादन थप हुने भएको छ । नेपाल र चिनियाँ संयुक्त लगानीमा स्थापना भएको होङ्सी शिवम् सिमेन्ट उद्योगले आउदो फागुनको दोस्रो सातादेखि सिमेन्ट उत्पादन थाल्ने भएपछि यो उत्पादन थपिन लागेकाे हाे । नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी हो । कम्पनीले गत मार्चदेखि कारखाना निर्माण सुरु गरेको हो । कारखाना बनाउन काम सुरु गरेको १ वर्ष नपुग्दै उद्योगले सिमेन्ट उत्पादन थाल्ने भएको छ । आउदो फागुनको दोस्रो सातादेखि सिमेन्ट उत्पादन गर्नेगरी कारखाना निर्माणको काम भइरहेको लगानी लगानी बोर्डका प्रवत्ता उत्तमभक्त वाग्लेले बताए । निर्धारित समयअगावै कारखानबाट सिमेन्ट उत्पादन हुने उनले जानकारी दिए । पहिलो चरणमा दैनिक ६ हजार टन र केही वर्षभित्र उत्पादन दोब्बर बढाएर १२ हजार टन पुर्याउने योजना रहेको उनले सुनाए । गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ ( करिब ३५ करोड ९१ लाख अमेरिकी डलर ) लगानी गर्नेछ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङ्को ३० र होङसीको ७० प्रतिशत लगानी छ । बजारमा उच्चगुणस्तरको सिमेन्ट उपलव्ध गराउनुका साथै नेपालमा गुणस्तरीय सिमेन्टका लागि प्रतिस्पर्धा समेत सृजना गर्न सहयोग पुर्याउने उनको भनाई छ । कम्पनीकाे उत्पादन बजारमा अाएपछि सिमेन्टकाे मूल्य घट्ने र सिमेन्ट उत्पादक कम्पनीहरूबीच गुणास्तरमा प्रतिस्पर्धा हुने सरकारी अधिकारीहरूकाे विश्लेषण रहेकाे छ । होङसी शिभम्को गुनासोः सरकारले प्रतिवद्धता पुरा गरेन होङसिले सिमेन्ट उत्पादनका लागि कारखाना निर्माण गरिरहदा खानी र कारखानासम्म पुग्ने सडक निर्माण हुन सकेको छैन । यस्तै बिजुली आपूर्तिका लागि आवश्यक पुर्वाधारको काम अहिलेसम्म नभएको वाग्लेले जानकारी दिए । उद्योगलाई ३० मेगावाट बिजुलीसहितको डेडिकेटेड फिडर आवश्यक पर्ने उनले बताए । पीएनएमा भएको व्यवस्थाअनुसार कारखाना र खानीसम्म सडक र बिजुलीको पूर्वाधार विकास सरकारले गर्ने भनेपनि हालसम्म त्यसतर्फ काम नभएको वाग्लेले जानकारी दिए । कारखाना र खानीसम्म सरकारले सडक निर्माण नगरेकाले क्लिङकरका लागि खानीबाट चुनढुङा ल्याउन र उत्पादन हुने सिमेन्ट बजारसम्म पुर्याउन समस्या पर्ने उनको भनाई छ । सडक र बिजुलीका काम नहुदा चिनिया पक्षले गुनासो गरिरहेको उनले जानकारी दिए ।
ग्लोबल आइएमई बैंकको २० प्रतिशत लाभांश पारित, पूँजी ८ अर्ब ८८ करोड नाघ्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकको २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको बिहीबार सम्पन्न एघारौँ बार्षिक साधारण सभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बानेस र १० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ । बोनस सेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकको २०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको थियो । हाल बैंकको १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।
धितोपत्र बोर्ड र राष्ट्र बैंकले सूचना साटासाट गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले सूचना साटासाट गर्ने सम्झौता भएको छ । सम्पूर्ण वित्तीय बजारमा हुनसक्ने दुर्घटना रोक्न तथा उत्पन्न हुन सक्ने जोखिमको समयमै सम्बोधन गरी मुलुकमा स्वच्छ तथा प्रतिस्पर्धी धितोपत्र बजार एवं वित्तीय गतिविधिहरु मार्फत् वित्तीय स्थायित्व कायम गर्न बिहीबार उक्त सम्झौता गरिएको हो । साथै, अर्थतन्त्रको दिगो विकासका लागि वित्तीय क्षेत्रका गतिविधिहरुलाई थप पारदर्शी एवं प्रतिस्पर्धी बनाई सर्वसाधारण लगानीकर्ताको हितको सुरक्षा सुनिश्चित गर्न, वित्तीय क्षेत्रमा हुने गलत कार्यहरु बैंकिङ्ग कसूर तथा धितोपत्रको भित्री कारोवार लगायत अन्यविविध कसूरका कारण धितोपत्र बजार लगायत सम्पूर्ण वित्तीय बजारमा हुनसक्ने दुर्घटना रोक्न दुई पक्षीय सम्झौताले सहयोग गर्ने बोर्डले जनाएकाे छ । त्यस्तै, साधारण सदस्यता प्राप्त गर्न धितोपत्र बजारमा हुने कारोबार तथा अन्य गतिविधि सम्बन्धी कसुरको खोज/अनुसन्धानका लागि बैकिङ्ग अभिलेखमा पहुँच हुनुपर्ने प्रावधान अनुसार उक्त सम्झौता गरिएकोे बोर्डले जनाएको छ । बोर्ड धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आइओएससीओको सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम आइओएससीओको एशोसियट सदस्य भइसकेको छ । यसबाट नेपालको धितोपत्रबजार सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा प्रयोग हुनेसक्ने जोखिम न्यूनिकरण भई अन्तर्राष्ट्रिय स्तरमा नेपालको धितोपत्र बजारको साख अझ बृद्धि हुने अपेक्षा बोर्डले लिएको छ ।
याङग्री र लार्केका लागि परामर्शदाता छान्ने काम अघि बढ्यो
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले याङग्री र लार्के नदिको पानी काठमाडौं ल्याउने कामका लागि परामर्श दाता छनौट अघि बढाएको छ । आयोजना विकास समितिले ६ वटा कम्पनीलाई परामर्श सेवाका लागि प्रारम्भिक छनौटमा पारेको हो । यी कम्पनीहरुसँग प्राबिधिक र वित्तिय प्रस्ताव माग गरिएको छ । आयोजनाले बिहिबार सार्वजनिक सूचना प्रकाशित गरेर पाँच वटा कम्पनीलाई तोकिएको मिति भित्रै वित्तिय र प्राबिधिक प्रस्ताव पेश गर्न भनेको हो । आयोजनाका इञ्जिनियर रमाकान्त दुवाडीका अनुसार अहिले छनौट गरिएको परामर्श दाता कम्पनीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम र दोश्रो चरणमा अघि बढ्ने याङग्री र लार्के नदिको काममा परामर्श सेवा उपलब्ध गराउनेछ । आगामी जनवरीभित्र छनौट हुने एउटा परामर्श दाता कम्पनीले आगामी पाँच बर्षसम्म काम गर्नेछ ।
एनआईबिएल र एस क्यापिटल एक आपसमा गाभिने, चुक्ता पूँजी २७ करोड पुग्ने
काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटल लि. बीच एक आपसमा गाभिने (मर्जर) सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहीबार सम्पन्न उक्त सम्झौतामा एनआईबिएल क्यापिटल मार्केट्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एस क्यापिटलको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रविन सिजापतीले हस्ताक्षर गरेका छन् । नेपाल धितोपत्र बोर्डको निती तथा निर्देशनले समेत एकै मुख्य कम्पनीको एकै उद्देश्य र प्रकृतिका दुई सहायक कम्पनी भएमा एक–आपसमा गाभ्नु/गाभिनु (मर्जर) पर्ने व्यवस्था गरेकोले एक आपसमा गाभ्ने/गाभिने सम्झौता गरिएको हो । दुई कम्पनी गाभिए (मर्ज) पश्चात कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुग्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । एनआईबिएल क्यापिटल मार्केट्स र एस क्यापिटल दुवै संस्थाहरु हाल नेपाल इन्भेष्टमेण्ट बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनीहरु हुन गएका छन् । एस क्यापिटलको मूख्य कम्पनी एस डेभलपमेण्ट बैंकलाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ती गरी नेपाल इन्भेष्टमेण्ट बैंकमा समाहित भएको हुनाले सो मात्राको लगानी रहेको कम्पनीले जनाएको छ ।
युनियन र साझालाई प्राप्ति पश्चात देवद्धारा बिहीबारदेखि एकिकृत कारोबार शुरु
काठमाडौं । देवः विकास बैंकले युनियन फाइनान्स तथा साझा विकास बैंकलाई प्राप्ति गरी बिहीबार(आज)देखि एकिकृत कारोबार शुरु गरेको छ । उक्त “शुभारम्भ कार्यक्रम” को उद्घाटन बिहीबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि सिवाकोटीले गरेका हुन् । यी दुई कम्पनी एक्युजिशन पश्चात् देवः विकास बैंकको चुक्ता पूँजी १ अर्ब ६३ करोड पुग्ने छ । त्यस्तै कार्यक्रममा देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले नपुग पूँजीका लागि चाँडै नै ४० प्रतिशत हकप्रद सेयर जारी गरिने तथा बोनस सेयर वितरण गरिने बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि सिवाकोटीले देवः विकास बैंकले शाखा विस्तार सँगसँगै गुणस्तरिय सेवाको विकासमा समेत जोड दिएर उत्कृष्ट बैंकको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् । यसैगरी, यस अवसरमा कैलालीको धनगढीमा आयोजित “शुभारम्भ कार्यक्रम” को नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, नारायणप्रसाद पौडेलले उद्घाटन गरेका छन् । साे अवसरमा कास्कीको पोखरामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, पोखरा क्षेत्रिय कार्यालयका मुख्य व्यवस्थापक पोमनाथ गौत्तमले उद्घाटन गरेका छन् । युनियन फाइनान्स र साझा विकास बैंकको प्राप्ति पछि देवः विकास बैंकको निक्षेप १२ अर्ब ७८ करोड रुपैयाँ तथा कर्जा ११ अर्ब २८ करोड रुपैयाँ पुगेको देव विकास बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल सम्म बैंकले कुल ४९ वटा शाखा बाट बैंकिङ सेवा दिँदै आइरहेको छ । त्यसैगरी, नेपालगञ्ज, कोहलपुर, वुटवल र विरगञ्जमा थप शाखा विस्तार पछि यस बैंकको व्यवसाय मध्य तराइमा समेत विस्तार हुने बैंकले जनाएको छ ।