नुवाकोटका जनता पैसामा बिक्दैनन्, २५ लाख खर्च नगरी चुनाव जित्छुः नारायण खतिवडा
नारायण प्रसाद खतिवडा, बाम गठबन्धनका प्रतिनिधी सभा उम्मेदवार, नुवाकोट २ चुनावी तयारी कस्तो चल्दैछ ? चुनावी तयार साह्रै राम्रो छ । मुलुकका दुई वटा ठुला बामपन्थी दलहरु मिलेकोमा मतदाताहरुमा ठुलो उत्साह छ । एमाले एक्लै पनि यहाँ प्रमुख प्रतिष्पर्धी थियो । अहिले माओवादी समेत जोडिएपछि नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा हाम्रो विजय सुनिश्चित देखेका छौं । मतदाताहरुले तपाईलाई किन रोज्ने, किन मत दिने ? हामी संयुक्त बाम घोषणा पत्र लिएर चुनावी अभियानमा जुटेका छौं । राज्यले नागरिकका अधिकार राम्रोसँग सुनिश्चित गर्न नसक्दा विकास र समृद्धिको यात्राले गति लिन सकेन । नागरिकले आफु शासक भएको अनुभूति गर्न पाएनन् । राज्यको विभेदकारी चरित्रकै कारण जनताका पक्षमा निती निर्माण भएन । त्यसैले हामी बामपन्थीहरु एक जुट भएर निर्वाचनमा होमिएका हौं । हामीले स्थिर सरकार, समानतासहितको समृद्धिका लागि मत मागेका छौं । हामीले विगतमा पनि जनप्रतिनीधी भएर जनताका पक्षमा धेरै काम गरेका थियौं । त्यसैले पनि मतदाताहरु बामपन्थी गठबन्धनलाई मतदान गर्न उत्साहित भएका छन् । नुवाकोटलाई स्वदेश तथा विदेशमा परिचित गराउन, विकास र समृद्धिको उचाईमा पुर्याउन पनि हामीलाई नागरिकहरुलाई मत दिनुहुनेछ । हामी स्पष्ट योजनासहित मत मागिरहेका छौं । स्थानीय तहको भन्दा पनि राम्रो मत ल्याएर नुवाकोटमा बाम गठबन्धन विजयी हुनेछ । जिल्लामा तपाईका चुनावी एजेण्डा के के छन् ? म हिजो २०६४ सालमा स्थानीय निकायको निर्वाचित जन प्रतिनिधी थिएँ । त्यतिबेला मैले गरेका विकास निर्माणका कामबारे नागरिक जानकार छन् । अहिलेको निर्वाचन क्षेत्र नम्बर २ मा पहिले पनि धेरै काम गरेको छु । पहिले देखि नै जनताका सुख, दुःखमा सधै साथमै थिएँ र छुु पनि । अब कुरा रह्यो भावी विकास निर्माणका योजनाको । मुलुकलाई व्यक्तिले भन्दा पनि नीतिले अघि बढाउने हो । मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले अघि सारेका कुनै पनि जनपक्षिय कार्यक्रम त्यसपछिको अरु पार्टीका सरकारले खारेज गर्न सकेनन् । हामीले फेरी पनि त्यसरी नै योजना र काम गर्न चाहान्छौं । नुवाकोट भनेको सम्भावनै सम्भावना भएको जिल्ला हो । त्रिदेशिय राजमार्ग, जलविद्युतको ठुलो सम्भावना, कृषि र पर्यटनका थुप्रै केन्द्रहरु समेत रहेका छन् । त्रिदेशिय रेलमार्ग जोड्ने ठाउँ समेत रहेकाले पनि नुवाकोटको विकासमा हाम्रो ठुलो सपना छ । नुवाकोटे जनतालाई नुवाकोट भित्रै रोजगारी दिने हाम्रो योजना हो । आगामी पाँच बर्षभित्र हामी सबै नुवाकोटे नागरिकलाई रोजगारी दिन्छौं । नुवाकोटलाई प्रदेश नम्बर ३ को राजधानी बनाउने छौं । त्यसको आवाज उठाउने पहिलो व्यक्ति पनि मै हुँ । चुनाव भड्किलो र खर्चिलो भयो भन्ने आरोप छ, तपाईले कति खर्च गर्दैहुनुहुन्छ ? म त पैसा कमाउने व्यवसाय नगरेको मान्छे परेँ । सधै भरी जिल्लामै बसेर नागरिकका सुख, दुःखमा सहभागी भएको, समाजिक काम गरेको मान्छे हुँ । निर्वाचन आयोगले प्रतिनिधी सभाका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने भनेको छ । म त त्यति पनि खर्च नगरी निर्वाचन जित्दैछु । केहि मान्छेहरु जीवनभरी ठेकेदारी गर्छन्, विदेशीको दलाली गर्छन् । उनीहरु मत खरिद बिक्रिमा लागेको भन्ने हल्ला चलेको छ । स्वाभिमानी नुवाकोटका जनता पैसामा बिक्दैनन् । नागरिकले न्यायका पक्षमा मत जाहेर गर्छन् र बामपन्थी उम्मेदवारहरुलाई भारी मतले विजयी गराएर देश बनाउने अभियानमा योगदान दिनेछन् । प्रतिष्पर्धी उम्मेदवारलाई कसरी हेर्नु भएको छ ? मेरा प्रतिष्पर्धीलाई जनताले सांसदका रुपमा धेरै पटक परिक्षण गरिसकेका छन् । पटक पटक मन्त्री भएका उनले नुवाकोटका लागि कुनै पनि काम गरेनन् । कैयौँ पटक चुनाव जितेका र कैंयौँ पटक हारेका एक जना वृद्ध मान्छे मेरो प्रतिष्पर्धामा छन् । यो देशमा नेपाली काँग्रेसको नीति नै फेल भैसकेको छ । नीति नै फेल भएको काँग्रेस पार्टीका वृद्ध नेतासँग मेरो प्रतिष्पर्धा नै हुँदैन । पटक पटक बहुमत ल्याएर पनि देश राम्रोसँग सञ्चालन गर्न नसकेको काँग्रेस र पटक पटक चुनाव जितेर पनि नुवाकोट विकासमा कुनै योगदान नदिएका नेताबाट नागरिकले यसपाली मुक्ति पाउनेछन् । यसपाली नुवाकोटका मतदाताले त्यस्ता उम्मेदवारहरुलाई पराजित गराउनेछन् । आफ्ना बाल बच्चाहरुको भविष्य सुनिश्चित गर्न पनि नागरिक उत्साहित भएर बाम गठबन्धनका पक्षमा अभिमत जाहेर गर्नेछन् ।
५ वर्षपछि बुटवल पावर कम्पनी सेयरधनी मालमाल हुँदै, कसरी ?
काठमाडौं । आगामी पाँच वर्षपछि बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) का लगानीकर्ता मालमाल हुने भएका छन् । चीनियाँ कम्पनीसंगको साझेदारीमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न संयुक्त लगानीमा होल्डिङस कम्पनी स्थापना भएसँगै आगामी ५ वर्षपछि बीपीसीका लगानी कर्ता मालामाल हुने देखिएको हो । १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले २ खर्ब रुपैयाँ चीनियाँ लगानी ल्याउनेछ । यस्तै आफनो लगानीमा बीपीसीले ३७.६ मेगावाटको कावेली ए आयोजना कावेली इनर्जी लिमिटेड र ३० मेगावाटको न्यादी आयोजना न्यादी हाइड्रोपावर लिमिटेडमार्फत बीपीसीले निर्माण गरिरहेको छ । यी दुबै आयोजना आउदो ३ वर्षमा सम्पन्न हुदैछन् । यस्तै चीनियाँ लगानी ल्याउने भएपछि बीपीसीका आर्थिक अवस्था मजवुत भई लगानीकर्ताले राम्रो प्रतिफल पाउने प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठ बताउछन् । बीपीसीले सहायक कम्पनीमार्फत धेरै आयोजना निर्माण गर्ने भएकाले दीर्र्घकालमा लगानीकर्ताले अझ राम्रो प्रतिफल प्राप्त गर्ने उनको भनाई छ । हाल बीपीसीले २८ देखि ३० प्रतिशत हारहारीमा लाभांश दिदै आएकोमा कावेली, न्यादी र अन्य पाइपलाइनमा भएका आयोजना सम्पन्न भएपछि सेयरधनीको प्रतिफल बढ्ने उनको तर्क छ । यो वर्षपनि २५ देखि २८ प्रतिशतको हारहारीमा सेयरधनीलाई लाभांश दिदै छ । बीपीसीले जलविद्युत आयोजना बनाउन चीनका ३ वटा कम्पनी र नेपाली साझेदार बीपीसीको संयुक्त लगानीमा एसजीआईजी इन्टरनेसनल नेपाल हाइड्रोपावर कम्पनी स्थापना भएको छ । कम्पनीका दर्ता बुधबार नै भएको छ । होल्डिङ कम्पनीमार्फत आउदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । सिचुवन प्रोभिन्सल इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, चेङ्गदु सिंचेन इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र छिमयूआन इन्जिनीयरिङ्ग कन्सल्टिङ्ग कम्पनी लिमिटेडले नेपालमा होल्डिङ कम्पनी स्थापना गरेका हुन् । तत्काल १ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीका २०, चीनको एसजीआईको ६५ र १५ प्रतिशत क्युवाईईसी बेटरसिटीका स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ । होल्डिङस कम्पनीमा बीपीसीले ३८ करोड रुपैयाँ लगानी गर्नेछ । बीपीसीको संचित कोषमा २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ छ । यस्तै सहायक कम्पनीमार्फत बीपीसीले १०८ मेगावाट क्षमताको तल्लो मनाङमस्र्याङदी आयोजना निर्माण गर्ने भएको छ । यो आयोजनामा चीनियाँ लगानी हुने छ । सानो आयोजनामा मात्र बनाउन नहुने मान्यताका आधारमा जविद्युतमा ठुलो लगानी भित्राउने तयारी भएको उनको भनाई छ । नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब बढी (२ अर्ब डलर) वैदेशिक लगानी आउने भएको छ । यो वर्ष पनि लगानीकर्तालाई राम्रो प्रतिफल दिने सीइओ श्रेष्ठ बताउछन् । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ ।
युनाईटेड मोदीले ५ करोड ७५ लाख रुपैयाँ नगद लभांश वितरण गर्ने
काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरले ५ करोड ७५ लाख रुपैयाँ नगद लभांश वितरण गर्ने भएको छ । यस हाइड्रोले चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने कर सहित सोे मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर ७ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लभांश दिने प्रस्ताव राखेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ ।
बीमा संस्थानमा प्रशासक बन्न ५ जनाको आवेदन
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासक बन्न ५ जनाले दरखास्त दिएका छन् । प्रशासन हुन दरखास्त दिनेमा गणेशराज कार्की , दामोदर सापकोटा, राजेन्द्रजंग कार्की, डा. शिवहरी श्रेष्ठ र सुरेन्द्र थापा रहेका छन् । अर्थ मन्त्रालयले गठन गरेको छनौट शिफारिश समितिले व्यवसायिक कार्ययोजना र अन्तरवार्ताका लागि बोलाएको छ ।
मिर्मिरे माइक्रोफाइनान्सले ३०.८० प्रतिशत बोनस दिने
काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ३०.८० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै कम्पनीले लाभांश कर बापत कर प्रयोजनको लागि १.६२ प्रतिशत नगद लभांश दिने निर्णय गरेको छ । यस कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
एडीबीको नेपाल देशिय निर्देशकमा मुक्त्तर खामुदुखानोभ
काठमाडौं । विकास साझेदार एसियाली विकास बैंक (एडीबी) को नेपाल देशिय निर्देशकमा मुक्त्तर खामुदुखानोभ नियुक्त भएका छन् । उनले नेपालको दीर्धकालिन विकास योजना पुरा गर्नका लागि रणनीति बनाउने छन् । देशिय निर्देशकमा नियुत्त भएपछि खामुदुखानोभले नेपालको विकास, गरिवी निवारण र विकासमा सरकारसंग नजिक रहेर काम गर्ने बताएका छन् । उनी उज्वेकिस्तानका नागरिक हुन् । यसअघि उनी एडीबीको ऊर्जा विभागमा प्रमुख ऊर्जा विश्लेषकका रुपमा काम गरिसकेका छन् । टास्केन स्टेट टेक्निकल युनिभर्सिटी उजवेकिस्तानबाट इलेक्ट्रिक इन्जिनियरिङमा विद्यावारधी गरेका छन् । खामुदुखानोभले केनिची योकहमालाई प्रतिस्थापन गर्दे नयाँ देशिय निर्देशक बनेका हुन् ।
मेलम्चीको सुरुङ खन्न एक किलोमिटर मात्रै बाँकी, जनवरीमा ब्रेक थ्रु, नयाँ बर्षमा पानी उपहार !
काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ अब एक किलोमिटर भन्दा कम मात्रै खन्न बाँकी रहेको छ । मेलम्ची खानेपानी आयोजना विकास बोर्डका इञ्जिनियर रमाकान्त दुवाडीका अनुसार मेलम्चीको सुरुङ खन्न अब ९९८ मिटर मात्रै बाँकी रहेको छ । हाल दैनिक १६।१७ मिटरको औषतमा सुरुङ खन्ने काम भैरहेको छ । २७.५ किलोमिटर लामो सुरुङ ९६.३७ प्रतिशत खनिसकिएको हो । अम्बाथान–ग्याल्थुमको माथिल्लो खण्डमा ३५४ मिटर सुरुङ खन्न बाँकी रहेको छ । यसको ब्रेक थ्रु यहि डिसेम्बर महिनामा हुनेछ । ग्याल्थुम–सिन्धु खण्डमा ६४४ मिटर सुरुङ खन्न बाँकी रहेको छ जसको ब्रेक थ्रु जनवरी महिनामा हुनेछ । आयोजनाले चैतको अन्तिम साता राजधानीबासीका धारामा पानी उपलब्ध गराउने योजना बनाएको थियो । अब नयाँ बर्षमा राजधानी बासीका धारामा मेलम्चीको पानी आइपुग्नेछ । ‘चैतको अन्तिम साता पानी ल्याइसक्ने योजना थियो, सोच अनुसार काम अघि बढ्यो भने नयाँ बर्षमा राजधानीबासीलाई मेलम्चीको पानी उपहार दिइनेछ’, इञ्जिनियर दुवाडीले भने । सुरुङ ब्रेक थ्रु भएको तीन महिनामा सुरुङ फिनिसिङको काम सम्पन्न हुनेछ । हाल सुरुङ फिनिसिङका लागि १० वटा ट्रान्जिट मिक्सचर भारतबाट ल्याइँदैछ । ती मिक्सचरले सुरुङ भित्रै फिनिसिङका लागि मिक्सिङ गर्न सक्नेछन् । सुन्दरी जलमा ८ करोड ५० लाख लिटर क्षमताको पानी प्रसोधन केन्द्रको सफल परिक्षण सम्पन्न भैसकेको छ । उपत्यकामा पाइप तथा धारा जडानको काम पनि अन्तिम चरणमा पुगिसकेको छ ।
दिनमा तीन कप कफी पिउनु स्वास्थ्यका लागि लाभदायक
बिहान उठ्नसाथ कफी पिउने बानी धेरैमा हुन्छ । धेरै कफी पिउनाले दाँत, मुखमा मात्र होइन, समग्र पाचन यन्त्रमै नकारात्मक असर पुर्याउँछ । तर, अब कफी पिउनलाई डराउनुपर्दैन । कफी पारखीका लागि खुसीको खबर छ । दिनमा ३-४ कप कफी पिउनु स्वास्थ्यका लागि लाभदायक हुने एउटा अध्ययनले देखाएको छ । कफीको सेवन गर्ने मानिसमा कलेजो, क्यान्सर र हृदयघातजस्ता जोखिम कम देखिएको छ । यद्दपी त्यसको कारण कफी नै हो भन्ने यकिन गर्न नसकिने अनुसन्धानकर्ताहरु बताउँछन् । महिलालाई गर्भवती भएको समयमा भने कफी सेवन हानीकारक हुने निश्चित रहेको अध्ययनले पुष्टी गरेको छ । रोगव्याधबाट जोगिन वा स्वास्थ्यलाई आधार मानेर कफी पिउन नहुने विज्ञहरु बताउँछन् । साउथ्याम्पन युनिभर्सिटीका अनुसन्धानकर्ताले मानव शरीरमा कफी सेवनबाट पर्ने प्रभावसम्बन्धी तथ्यांक संकलन गरेका छन् । के यो कफीकै प्रभाव हो ? कफी नपिउनेको तुलनामा दिनमा ३ कप कफी पिउने मानिसको शरीरमा मुटुको समस्या कम देखिएको छ । मुटु रोग तथा क्यान्सरको जखिम कम हुनु यसको लाभ लिने बलियो पक्षको रुपमा रहेको छ । तर, अध्ययनका सह-लेखक प्रोफेसर पौल रोडरेकका अनुसार कफीले गर्दा नै यो सम्भव भएको भन्ने स्पष्ट तथ्यांक छैन । उनले भने, ‘उमेर, धुम्रपान सेवन, कसरत जस्ता कुराले पनि यस्तो प्रभाव पारेको हुनसक्छ । ‘ जिवनमा जोखिमको सन्तुलन र उचित मात्रामा कफी सेवनले जोखिम कम भएको देखिएको हुनसक्ने उनको भनाई छ । गर्भवती महिलालाई २०० एमजी अर्थात दुई कप भन्दा कम कफी खान सुझाव गरिएको छ । यसले गर्भपतनको जोखिम निम्तयाउन सक्छ ।