विकासन्युज

चिलिमे जलविद्युतले लाभांश लिन बोलायो, पुस २ देखि ३० गतेसम्म दिने

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस २ गतेदेखि नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । भौतिक रुपमा सेयर भएका सेयधनीका हकमा पुस २ देखि सुरु गरेर पुस १९ गतेसम्म नगद लाभांश वितरण गर्ने चिलिमेले जनाएको छ । यस्तै डिम्याट होल्डर सेयरधनीलाई पुस २० देखि ३० गतेसम्म वितरण गर्ने भएको छ । चिलिमेले सेयर रजिष्टार सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत नगद लाभांश वितरण गर्ने भएको हो ।    

पूर्व अध्यक्षहरुको सक्रियताले महासंघमा तरंग

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका केहि पूर्व अध्यक्षहरुको सक्रियताले महासंघभित्र तरंग उत्पन्न गरेको छ । महासंघका पूर्व अध्यक्षहरुले ‘नेपाल उद्योग बाणिज्य महासंघ पूर्व अध्यक्ष परिषद’ गठन गरेर एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन् । एमाले अध्यक्ष ओलीलाई भेट्न नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्य ज्योति, प्रदिपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोद बहादुर श्रेष्ठ, कुशकुमार जोशी र सुरज वैद्य पुगेका थिए । महासंघकै पूर्व अध्यक्षहरु चण्डीराज ढकाल, प्रदिपजंग पाण्डे र निवर्तमान अध्यक्ष पशुपति मुरारका भने पुर्व अध्यक्ष परिषदमा सहभागी छैनन् । पुर्व अध्यक्ष परिषदले ओलीलाई भेट्नु अघिल्लो दिन अर्थात मंसिर २७ गते नै महासंघको वर्तमान नेतृत्वले ओलीलाई भेटेर बधाई दिएको थियो । पूर्व अध्यक्षहरुले परिषद गठन गरेर भेटघाट तिब्र बनाएपछि महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले समेत फेसबुक मार्फत असन्तुष्ठि व्यक्त गरेका छन् । उनले ठुला भनिएका सबै तप्काका मानिसहरु ठुला बाम नेतासँग तस्विर खिचाउन व्यस्त छन अवसरवादीहरु भन्दै टिप्पणी गरेका छन् । अर्का युवा उद्यमी प्रतापजंग पाण्डेले पनि फेसबुकमा पूर्व अध्यक्ष परिषदको औचित्यमाथी प्रश्न उठाउँदै भजन भण्डलीको आरोप लगाएका छन् । उनले आफ्ना पिता प्रदिपजंग पाण्डे भने पुर्व अध्यक्ष परिषदमा नरहेको स्पष्टिकरण समेत दिएका छन् । पुर्व अध्यक्ष परिषदमा सहभागी अधिकांश पूर्व अध्यक्षहरु महासंघको वर्तमान नेतृत्वसँग असन्तुष्ठ रहेका छन् । उनीहरुले महासंघको नेतृत्वलाई देखाई दिने उदेश्यसहित परिषद खडा गरेको आरोप लागेको छ । महासंघको वर्तमान नेतृत्वले भने पूर्व अध्यक्षहरुले परिषद गठन गरेर समानान्तर गतिबिधी अघि बढाउँदा महासंघ छायामा पर्ने भन्दै असन्तुष्ठि व्यक्त गरेका हुन् ।

रसुवागढी हाइड्रोपावरको साधारणसभा पुस २३ गते, आईपीओ निष्कासनको प्रस्ताव पेश हुदै

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) निष्कासन स्वीकृतिका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस २३ गते हुने पाँचौ वार्षिक साधारणसभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नका लागि प्रस्ताव पेश गर्ने भएको छ । सञ्चालक समितिले प्रस्ताव पेश गरेपछि आईपीओ निष्कासन हुने कम्पनीले जनाएको छ । रसुवागढीले पहिलो चरणमा संचय कोषका संचयकर्ता, संचय कोषका कर्मचारी र ऋणलगानी गर्ने संस्थाका कर्मचारीलाई गरी १ अर्ब ६४ करोड २१ लाख ४ रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले गत बैशाख १३ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासनका लागि प्रस्ताव आब्हान गर्ने तयारी कम्पनीको छ । प्रस्ताव आब्हानको तयारी गरिसकेको छ । पहिलो चरणको सकिएपछि दोस्रो चरणमा आयोजना प्रभावित स्थानियबासिन्दालाई १० र सर्वसाधारणलाई १३ गरी झण्डै १ अर्ब ७५ करोड रुपैयाँ रुपैयाँको आईपीओ निष्कासन गर्ने तयारी कम्पनीको छ । कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ ।    

लिखु ४ जलविद्युतमा ७ बैंकको ७ अर्ब ६२ करोड लगानी, ४ वर्षमा सम्पन्न हुने

काठमाडौं । लामो समयदेखि अवरुद्ध ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजनामा ७ बैंकले ७ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।   आयोजनाको प्रवद्र्धक ग्रिन भेन्चर्स प्रालि र नविल बैंकबीच ऋण लगानी सम्झौता भएको छ । नेपालको व्यवसायीक घरना त्रिवेणी ग्रुप र विशाल ग्रुपको संयुक्त लगानी रहेको आयोजनामा नविलको अगुवाइमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले ऋण लगानी गर्ने भएका हुन् । लगानी जुटेकाले आयोजना बन्ने निश्चित भएको छ । आयोजना आगामी सन् २०२० को अन्त्यमा सम्पन्न हुने प्रमुख बद्री रिजालले बताए । आयोजनाको निर्माणको जिम्मेबारी इटालीको सीएमसी कम्पनीले पाएको छ । आयोजनाको कुल लागत १० अर्ब १६ करोड रुपैयाँ रहेको रिजालले जानकारी दिए । उनका अनुसार विशाल र त्रिवेणी ग्रुपले २ अर्ब ५४ करोड रुपैयाँ सवपुँजी लगानी गरेका छन् । आयोजनाको निर्माण एक सातापछि सुरु हुने उनले बताए । भारतको भिल्वरा ग्रुपले लिखु ४ बाट हात झिकेपछि विशाल ग्रुपको प्रवेश भएको हो । आयोजनाको काम आगामी वि.स. २०७७ को असोजमा सम्पन्न गर्ने प्रतिवद्धता प्रवद्र्धक ग्रिन भेन्चसले जनाएको छ । प्राधिकरण र ग्रीनभेन्चर्सबीच वर्षादको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ । ग्रिनभेन्चर्सले भारतमा बिजुली निकासीका लागि आयोजना १२० मेगावाटमा डिजाइन गरेकोमा बजार बिजुलीको मूल्य, प्रसारणलाइन पुर्वाधारलगायत अन्य विभिन्न कारणले अनिश्चित भएपछि उसले नेपालमै बेच्ने भन्दै क्षमता घटाएर ५२.४ मेगावाटमा पीपीए गरेको हो । प्राधिकरण र ग्रिनभेन्चर्सबीच सन् २०१६ मेसम्मका लागि ५२.४ मेगावाट बिजुली (५.९९ सेन्ट प्रति युनिटमा केही वर्षका लागि (फलव्याक) पीपीए भएको थियो । आयोजनाबाट वि.सं. ०७१ पुस १६ देखि बिजुली उत्पादन गर्ने प्रतिबद्धता प्रवद्र्धक ग्रिनभेन्चर्सले गरे पनि एक वर्षअघि मात्र पुरा समय पीपीए भएको छ । ऊर्जाले ०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्स दिएको हो । आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि सन् २०९८ फागुनसम्मलाई छ ।यसअघि अयोजना क्यू २८ मा डिजाइन गर्दा आयोजनाको जडित क्षमता बढेर १२० मेगावाट पूयाइएको थियो । अब क्यू ४० मा डिजाइन गर्दा क्षमता घटेर ५२.४ मेगावाटमा सीमित हुनेछ । आयोजना निर्माणका आईडीआई बैंक भारतबाट सहवित्तीयकरणमा कर्जा ल्याउने तयारी गरेको थियो । आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । लिखुबाट वार्षिक ५३ करोड ४० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । आयोजना राजधानीबाट २२० किलोमिटर टाढा रामेछाप र ओखलढुंगामा पर्छ । आयोजनास्थलसम्म पुग्न कम्पनीले सडक निर्माणको काम पूरा गरेको छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोट, नागदह र तिल्पुङमा पर्छ ।  

परिषद्ले ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्ने

काठमाडौँ ।  डल्लु आवासस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्ले ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्थित सो परिषद्मा बिरामीको चाप बढेसँगै त्यसको स्तरोन्नती गरी ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्न लागिएको हो । करिब दुई रोपनी ९ आना क्षेत्रफल रहेको सोही संस्थाको परिसरभित्र उक्त अस्पताल निर्माण गर्न लागिएको हो ।  परिषद्ले वरिष्ठ जनरल फिजिसियन, बालरोग विशेषज्ञ, स्त्री रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाटी, सर्जन, बाल खोप सेवा, परिवार नियोजन सेवा, हेल्थ प्याकेज सेवा समेत सञ्चालन गरिएको छ । विभिन्न स्वास्थ्य सेवा तथा उपकरण थप गर्दै गएको उक्त संस्थाले एक्सरे, दन्त सेवा, कार्डियोलोजी, फिजीयोथेरापी, आँखा परीक्षण सेवा, अल्ट्रासाउण्ड, प्याथोलोजी सेवा, ड्रेसिङ सेवा, फार्मेसी सेवासमेत प्रदान गरेको छ । विसं २०३७ मा फागुन १७ गते भूइँखेलस्थित पाटीमा परोपकार प्राथमिक उपचार केन्द्रको स्थापना गरी अनाथ, दिन दुःखीलाई सेवा दिन थालेको उक्त संस्थाले लामो समयको आरोह अवरोह पार गरी अस्पतालको अवधारणा तयार पारेको छ । विसं २०३९ मा सोही केन्द्रलाई परोपकार दान विभाग शाखामा परिणत गरी विभिन्न दाता तथा समाजसेवीको पहलमा नगद, जिन्सी संकलन तथा श्रमदान गरी स्वयम्भूमा दुई तले भवन निर्माण गरी २१ वटा पसल भाडामा लगाएर उक्त संस्थाका संस्थापक रत्ननारायण न्हूजवा ‘सायमी’ नेतृत्वको समितिले स्वास्थ्य सेवालाई अगाडि बढाइएको थियो । विश्व सम्पदा क्षेत्रमा सूचीकृत उक्त स्थानमा निस्वार्थ भावनाले असाह्य तथा विपन्न वर्गको सेवा गरिरहेको उक्त परिषद्लाई विसं २०५५ मा डल्लु आवास क्षेत्रमा स्थानान्तरण गरिएको थियो । यहाँ आज आयोजित चौधाै साधरणसभाको अवसरमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का जनप्रतिनिधि जीवनराम श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउनपर्नेमा जोड दिँदै पछौंटेपन, विपन्न तथा निमुखा नागरिकलाई कम शुल्कमा सेवा प्रदान गर्न सामुदायिक अस्पतालको विकास गर्नु आवश्यक रहेको बताए । परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठले लामो इतिहास बोकेको उक्त संस्थाले आगामी चार वर्षभित्र अस्पतालको भवन पूरा गरी सेवा शुरु गर्ने जानकारी दिए । शिक्षाविद् केशरबहादुर मानन्धरले विभिन्न क्षेत्रबाट सहयोगस्वरुप प्राप्त भएका उपकरणलाई अत्याधिक उयोग गरी सेवा सुविधा विस्तार गर्न सकेमा बिरामीलाई कम मूल्यमा सेवा उपलब्ध गराउन सकिने विचार व्यक्त गरे। संस्थाका उपाध्यक्ष राजेन्द्रबहादुर तुलाधर, महासचिव मुकुन्दप्रसाद पाण्डेले सबै पूर्वाधारयुक्त आधुनिक भवनका रुपमा विकास गरिने उक्त अस्पताललाई समुदायले सञ्चालन गर्ने जानकारी गराए । कार्यक्रममा भोगवती ईश्वरी वृद्धा कल्याणकोषबाट मनोहर लोहनीले रु ५१ हजार तथा पद्यमानन्द बज्राचार्यले रु आठ हजार सहयोग प्रदान गरिएको छ । रासस

हिमालय दोलाखाको क्यासकेडको काम अन्तिम चरणमा, पुसको दोस्रोसातादेखि ८ मेगावाट बिजुली उत्पादन हुने

काठमाडौं । हिमालय दोलखा हाइड्रो पावरको लगानीमा निर्माण भइरहेको ८ मेगावाटको क्याकेड आयोजनाबाट पुसको दोस्रो साताबाट बिजुली उत्पादन हुने भएको छ । हिमालयले आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ दु्रतगतिमा काम भइरहेको आयोजनाका प्रबन्ध निर्देशक रूपमणि राजभण्डारीले बताए । आयोजनाको ४ किलोमिटर लामो नहरको काम सम्पन्न भइसकेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा निर्मित उक्त क्यास्केड आयोजनाको निर्माण लागत १ अर्ब २० करोड रुपैयाँ छ । आयोजनामा एभरेष्ट बैंक, नेपाल एसबीआइ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको लगानी छ । राजदुवाली छेउको इन्टेकमार्फत नहरमा पानी लगाएर राँगापानीमा बनेको विद्युत्गृहमा पुर्याउने आयोजनाले जनाएको छ । हाल विद्युतगृहमा मेसिनको जडान गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । उत्पादित विद्युत्लाई काबेली कोरिडोरमार्फत गोदक सवस्टेशनमा जडान गरिने र त्यहाँबाट राष्ट्रिय प्रसारणलाइनमा जोड्ने तयारी भइरहेको छ । विद्युतगृहमा ट्रान्सफर्मरसहितको स्वीचयार्ड जडान सकिएको आयोजनाका जनसम्पर्क अधिकृत नरेन्द्र क्षत्रीले जानकारी दिए । विद्युत् लाइनका लागि करिब ३ किलोमिटर लामो ३३ केभी प्रसारणलाइनको समेत काम भइरहेको उनले बताए । कम्पनीले करिब पाँच वर्षअघि नै इलामको राजदुवालीमा ६ मेगावाटको आयोजना निर्माण सम्पन्न गरिसकेको छ । सोही आयोजनाबाट निस्किएको पानीलाई सदुपयोग गरी क्यास्केड आयोजना निर्माण गरिएको हो । यो आयोजना निर्माणसँगै इलामको माइखोलामा हालसम्म अपरमाइ, सानिमामाइ र हिमाल दोलखाका दुई÷दुई वटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । रासस

मुक्तिनाथ विकास बैंकले ल्यायो ११ प्रतिशत ब्याज दिने मुद्धति योजना

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सुपर प्रिमियम वचत तथा ट्रिपल २ ट्रिपल धमाका वचत योजना ल्याएको छ । १२ औं वर्षमा प्रवेश गरेको अवसर पारेर बैंकले यस्तो योजना ल्याएको हो । बैंक पुस १९ गते १२ औं वर्षमा प्रवेश गर्दै छ । बैंकले यस निक्षेप योजनामा ११ प्रतिशतसम्म ब्याज दिने छ । यस योजनाअन्तर्गत न्यूनतम मौज्दात ५ हजार रुपैयाँमा सुपर प्रिमियम बचत खाता खोल्ने ग्राहकलाई वार्षिक ८ प्रतिशतका दरले त्रैमासिक ब्याज भुक्तानी हुने बैंकले जानकारी दिएको छ । २२२ दिने मुद्दतीखातामा न्यूनतम १ लाख रुपैयाँमा वार्षिक ११.०० प्रतिशत त्रैमासिक रुपमा बैंकले ब्याज दिने घोषणा गरेको छ । यस योजनाअन्तर्गत खाताखोल्ने प्रत्येक ग्राहकले ५ ग्रामको चाँदीको सिक्का, निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ तथा निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा प्राप्त गर्न सकिने छन् । योजना पुस २ गतेदेखि सुरु भई सीमित अवधिको लागि मात्र लागु हुने बैंकले जनाएको छ । व्यक्तिगत तथा संस्थागत सबै ग्राहकहरु यो योजनामा सहभागी हुन पाउने छन् ।  

साना किसान विकास बैंकले २६ प्रतिशत लाभांश दिने

काठमाडौं । साना किसान विकास बैंकले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको शुक्रबार सम्पन्न १६औं वार्षिक साधारण सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । अधिकृत तथा जारी पुँजी १ अर्ब रुपैयाँ पु¥याउन प्रस्ताव पारित गरिएको छ । बैंकले गत असारसम्म ५२ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरी ३८ अर्ब ८५ करोड रुपैयाँ असुली गरेको छ । कात्तिकमा बैंकको लगानीमा रहेको ऋण १४ अर्ब ७४ करोड रुपैयाँ र भाखा नाघेको कर्जा १ प्रतिशतभन्दा कम रहेको छ । बैंकले गत आवमा ३३ करोड ०८ लाख रुपैयाँ खुद नाफा गरेको छ । सरकारको ऋण सहयोगमा सञ्चालित पशुपालन कर्जा कार्यक्रमबाट ८३ हजार साना किसानलाई ७ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ ।६८ जिल्लाका ६६३ साझेदार संस्था एवम् १५८ अनुसरण कार्यक्रम मार्फत ७ लाख १५ हजारभन्दा बढी विपन्न तथा साना किसान परिवारलाई वित्तीय पहुँचमा जोडेको छ । यस कार्यक्रममा ७७ प्रतिशत भन्दाबढी महिला सहभागिता छ ।