नेपाल एसबीआई बैंकको फुटसल प्रतियोगितामा १५० भन्दा बढी कर्मचारी सहभागी
काठमाडौं । नेपाल एसबीआई बैंकले ३३औँ वार्षिकोत्सवको अवसरमा ‘एमडी कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना गरेको छ । कर्मचारीबीच आपसी सहकार्य, टोली भावना र स्वस्थ कार्यसंस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सातै प्रदेश र केन्द्रीय कार्यालयका कर्मचारी सहभागी भएका हुन् । असार १४ गते काठमाडौंको धन्वन्तरी फुटसलमा सम्पन्न प्रतियोगितामा प्रदेश कार्यालय तथा केन्द्रीय कार्यालयका टोलीबीच पुरुषतर्फ प्रतिस्पर्धा भएको थियो । साथै बैंकको व्यवस्थापन टोली र महिला टोलीबीच प्रदर्शनी खेलसमेत आयोजना गरिएको थियो । प्रतियोगितामा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दसहित वरिष्ठ व्यवस्थापन टोलीको सहभागिता रहेको थियो । देशभरबाट १५० भन्दा बढी कर्मचारी सहभागी भएको प्रतियोगिताले कर्मचारीबीचको सम्बन्ध थप मजबुत बनाएको बैंकले जनाएको छ । प्रतियोगिताको समापन समारोहमा विजेता तथा सहभागी टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत तिवारीले यस्ता कार्यक्रमले कर्मचारीबीच सहकार्य, सहभागिता र संस्थागत एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । नेपाल एसबीआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।
९३ अर्ब भुक्तानी, साढे ४९ अर्ब बाँकी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) सम्म बीमा कम्पनीहरुले करिब ९३ अर्ब रुपैयाँको दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार सञ्चालनमा रहेका बीमा कम्पनीहरुले ११ महिनामा कुल ९२ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीहरुले भुक्तानी गर्ने दाबी रकम २७.३७ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरुले ७२ अर्ब ९४ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । चालु आवको जेठ मसान्तसमममा जीवन बीमा कम्पनीहरुबाट २ लाख ६५ हजार २०४ वटा दाबीको ६६ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । अघिल्लो आवको यही अवधिसम्म जीवन बीमकहरुले २ लाख ३८ हजार ६०८ वटा दाबीको ५२ अर्ब ६४ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो अवाको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको दाबी भुक्तानी संख्या ११.१५ प्रतिशत र रकम २६.१७ प्रतिशतले घटेको छ । त्यस्तै चालु आवको जेठ मसान्तसम्ममा निर्जीवन बीमकहरुले १ लाख ४० हजार ३५१ वटा दाबीको २६ अर्ब ५६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आवको यही अवधिमा निर्जीवन बीमकहरुले १ लाख २७ हजार २८२ वटा दाबीको २० अर्ब ३० करोड ३ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको दाबी संख्या र रकम क्रमशः १०.२७ प्रतिशत र ३०.८४ प्रतिशतले बढेको छ । चालु आवको जेठ मसान्तसम्ममा जीवन र निर्जीवन बीमकहरुले अझै ४९ अर्ब ४४ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । ११ महिनाको अवधिमा जीवन बीमकहरुले मात्रै ६० हजार ९५४ वटा दाबीको ५ अर्ब ५४ करोड ७१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । जुन गत आवको यही अवधिको तुलनामा दाबी संख्या र रकम क्रमशः १२ प्रतिशत र २१ .१२ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा जीवन बीमकहरुले ५४ हजार ४२२ संख्याको ४ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ बाँकी थयो । चालु आवको जेठसम्ममा निर्जीवन बीमकहरुले १ लाख १७ हजार १८२ वटा दाबीको ४३ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । जुन गत आवको तुलनामा संख्या र रकम क्रमशः ९.७७ र ४४.१० प्रतिशतले बढी हो । गत आवको यही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १ लाख ६ हजार ७५७ दाबी संख्याको ३० अर्ब ४६ करोड १६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी थियो ।
सोमबार ४ कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढ्यो
काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले घटेर २६३२ बिन्दुमा झरेको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । टक्सार पिखुवा, याम्बलिङ हाइड्रो, स्नो रिभर र धौलागिरी लघुवित्तको सेयर मूल्य १४.९९ प्रतिशतले बढेकाे छ । नेप्सेका अनुसार २९ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३५१ कम्पनीको ७६ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । ग्लोबलको ८८ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सोपन फर्माको ८८ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ८७ करोड, रिलाइन्स स्पिीनिङको ८१ करोड र आँखु खोलाको ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
नाइमा एक्स्पोमा प्रदर्शन हुँदैछन् ५४ ब्रान्डका सवारी
काठमाडौं । सवारीसाधनका सौखिन र खरिदकर्ताहरूका लागि प्रतिक्षित ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्ने यस मेलाले नेपाली अटोमोबाइल बजारलाई नयाँ गति दिने जनाएको छ । यस पटकको एक्स्पो गत वर्षको तुलनामा अझ बृहत् र व्यवस्थित हुने नाइमाले जानकारी दिएको छ । नाइमाका अनुसार एक्स्पोका लागि ५१ वटा स्टलहरू छुट्याइएकामा पूर्ण रूपमा बुक भइसकेका छन् । माग अत्यधिक भएका कारण केही ब्रान्डहरूलाई स्थान अभावका कारण पाइपलाइनमा राख्नुपरेको छ । मेलामा कुल ५४ वटा विभिन्न ब्रान्डका सवारीसाधनहरू प्रदर्शनीमा रहने नाइमाको भनाइ छ । यस वर्षको मेलामा पनि विद्युती सवारीसाधन (ईभी) को विशेष आकर्षण रहने बताइएको छ । नाइमाका अनुसार एक्स्पोमा प्रख्यात फोर-ह्विलर ब्रान्डहरू जस्तै टाटा, बीवाइडी, किया, टोयोटा, हुण्डाई, एमजी, निसान र हाभलका साथै ओमोडा, जेइकु, आयन, र भीजीभीजस्ता नयाँ ब्रान्डका पछिल्ला मोडलहरू प्रदर्शन गरिनेछ । दुई पाङ्ग्रेतर्फ पनि इलेक्ट्रिक स्कुटर र बाइकहरूको ठूलो उपस्थिति रहनेछ । प्युजो, एनआईयु, याडिया, एसर र ग्यारो जस्ता इलेक्ट्रिक ब्रान्डका साथै बजाज, टीभीएस, केटीएम र ट्रायम्फ जस्ता स्थापित ब्रान्डहरूले पनि आफ्ना नयाँ उत्पादनहरू मेलामा राख्ने नाइमाले जनाएको छ । व्यावसायिक सवारीसाधनतर्फ स्काईवेल र जितानजस्ता ब्रान्डका ईभी भ्यानहरूको सहभागिता रहने आयोजक नाइमाले जनाएको छ । एक्स्पोको अर्को मुख्य आकर्षण भनेको नयाँ सवारीसाधनहरूको सार्वजनिक कार्यक्रम हो । धेरै कम्पनीहरूले आफ्ना नयाँ ब्रान्ड र मोडलहरू मेलाकै अवसर पारेर पहिलो पटक नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । विशेष गरी लक्ष्मी ग्रुप, एडभान्स अटोमोबाइल, सिप्रदी ट्रेडिङ र जगदम्बाजस्ता ठूला घरानाहरूले नयाँ ब्रान्डहरू एक्स्पोमार्फत भित्र्याउँदैछन् । अवलोकनकर्ताहरूको सुविधा र अनुभवलाई मध्यनजर गर्दै यस पटक भिजिटर अनुभव एक्स्पोलाई अझ उत्कृष्ट बनाउने लक्ष्य नाइमाले लिएको छ । मेलामा सवारीसाधनका अतिरिक्त बैंक तथा वित्तीय संस्थाहरू, लुब्रिकेन्ट्स, टायर, ब्याट्री र पार्टपुर्जाहरूका स्टलहरू पनि रहनेछन्, जसले गर्दा खरिदकर्ताले एकै स्थानबाट कर्जा सुविधा र अन्य प्राविधिक जानकारी प्राप्त गर्न सक्नेछन् । बजारमा आएको आर्थिक शिथिलताका बीच आयोजना हुन लागेको यो एक्स्पोले सवारीसाधनको खरिद-बिक्रीमा सकारात्मक प्रभाव पार्ने र अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । मेला ६ दिनसम्म चल्नेछ भने यो मेला नाइमाको दोस्रो संस्करण हो ।
११ महिनामा १२ अर्ब ५९ करोड पोलिसी सरेण्डर
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्ममा ८३ हजार ४४२ वटा बीमालेख सरेण्डर अर्थात समर्पण भएका छन् । जसअन्तर्गत १२ अर्ब ५९ करोड २६ लाख रुपैयाँ सरेण्डर रकम रहेको छ । ११ महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको सोही अवधिको तुलनामा ७.०१ प्रतिशतले घटेको छ । गता आवको यही अवधिमा ९८ हजार ४१ बीमालेखको १३ अर्ब ५४ करोड १५ लाख रुपैयाँ पोलिसी सरेण्डर भएको थियो । ११ महिनामा बीमितले तोकिएको समयमा पोलिसी नविकरण र किस्ता नतिर्ने बीमितको संख्या भने बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको ११ महिनामा १० लाख २७ हजार ९६३ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३८ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । गत आवको यही अवधिमा १२ लाख ४३ हजार ७६९ बीमालेख व्यतित हुँदा ३६ अर्ब ५१ करोड ४७ लाख रुपैयाँ कम्पनीलाई घाटा भएको थियो ।
चीनले २० जापानी संस्थालाई कालोसूचीमा राख्यो, निर्यातमा कडाइ
काठमाडौं । चीनले सोमबार २० जापानी संस्थालाई ब्ल्याकलिस्टमा थप गरेको छ । यसमा प्रमुख कम्पनीहरू समावेश छन् । वाणिज्य मन्त्रालयले दोहोरो उपयोग सामग्रीको निर्यात रोक्न यो कदम चालेको हो । यो कदमले बेइजिङ र टोकियोबीच महिनौँदेखि चलेको विवादलाई थप उग्र बनाएको छ । 'राष्ट्रिय सुरक्षा र हितको रक्षा गर्न तथा अप्रसारजस्ता अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नका लागि जापानको सैन्य क्षमता वृद्धिमा संलग्न २० जापानी संस्थालाई निर्यात नियन्त्रण सूचीमा समावेश गर्ने निर्णय गरिएको छ,' वाणिज्य मन्त्रालयल जारी विज्ञप्तिमा भनिएको छ । जापानी प्रधानमन्त्री सानाए टाकाइचीले ताइवानमाथि आक्रमण भएमा टोकियोले सैन्य प्रतिक्रिया दिन सक्ने सङ्केत दिएपछि दुई देशबीचको सम्बन्ध नोभेम्बरमा तनावपूर्ण बनेको थियो । चीनले ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर आफ्नो नियन्त्रणमा लिने बताउँदै आएको छ । चिनियाँ अधिकारीहरूले फेब्रुअरीमा टोकियोको सैन्य क्षमता वृद्धिमा संलग्न रहेको आरोप लगाउँदै दर्जनौं जापानी कम्पनीमाथि निर्यात प्रतिबन्ध लगाएर दबाब बढाएका थिए । सोमबार कालो सूचीमा थपिएका २० संस्थामा जापानको रक्षा क्षेत्रलाई विभिन्न सामान र इन्जिनियरिङ सहयोग पुर्याउने विशेषज्ञता प्राप्त सहायक कम्पनी तथा प्रविधि फर्महरू छन् । यीमध्ये राष्ट्रिय रक्षा अध्ययन संस्थान र ‘मित्सुबिशी इलेक्ट्रिक डिफेन्स एन्ड स्पेस टेक्नोलोजिज कर्पोरेशन’ दुई प्रमुख फर्म रहेका छन् । चीन विश्वको सबैभन्दा ठूला दुर्लभ खनिज उत्पादक र परिष्करणकर्तामध्ये एक हो । दुर्लभ खनिज विद्युतीय सवारी, स्मार्टफोन, मिसाइल निर्देशन प्रणाली र लेजर जस्ता उच्च प्रविधिका उत्पादनहरूका लागि अत्यावश्यक छ । 'जापान गलत बाटोमा अझ अगाडि बढेको छ र ‘नयाँ प्रकारको सैन्यवाद’ लाई तीव्रता दिइरहेको छ,' वाणिज्य मन्त्रालयका प्रवक्ताको नाममा जारी एक अलग्गै विज्ञप्तिमा भनिएको छ । 'चीनको यो कदम पूर्ण रूपमा न्यायोचित, उचित र कानुनी छ', उनले थपे, 'यो निर्णयले चीन र जापानबीचको सामान्य आर्थिक तथा व्यापारिक आदानप्रदानलाई प्रभावित गर्दैन ।' रासस
५ लघुवित्त कारबाहीमा, सञ्चालक र सीईओलाई चेतावनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका पाँच लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा गरेको सुपरीवेक्षणका क्रममा विभिन्न नियामकीय निर्देशन तथा संस्थागत विनियम उल्लंघन गर्ने सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई समेत सचेत गराएको छ । राष्ट्र बैंकका अनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले २०८२ असार मसान्तसम्म न्यूनतम पुँजीकोष अनुपात ७.७७ प्रतिशत मात्र कायम गरेको पाइएपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिम कारबाही गरिएको हो । यस्तै, गणपति लघुवित्तले २०८२ असोज मसान्तमा ६.०६ प्रतिशत, सामुदायिक लघुवित्तले २०८२ असार मसान्तमा ६.१२ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तले ६.०१ प्रतिशत र सिवाइसी नेपाल लघुवित्तले ६.२० प्रतिशत मात्र न्यूनतम पुँजीकोष अनुपात कायम गरेकाले ती संस्थामाथि पनि सोही विनियमावलीअनुसार शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । यसैबीच, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले कर्मचारी सेवा विनियमावली, २०८० को मर्मविपरीत नायब कार्यकारी अधिकृतलाई पुनर्बहाली गरेको तथा स्पष्ट आधार र कारणबिना सेवामा नरहेको अवधिको पारिश्रमिकसमेत भुक्तानी गरेको पाइएपछि राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२)(क) बमोजिम सञ्चालक समितिलाई भविष्यमा यस्ता कार्य नगर्न सचेत गराइएको छ । त्यस्तै, सिवाइसी नेपाल लघुवित्तको सञ्चालक समितिले सवारी साधन खरिद गर्दा संस्थाको आर्थिक प्रशासन विनियमावलीअनुसार तोकिएको खर्च सीमा तथा अख्तियारीको पालना नगरेको पाइएपछि राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१)(क) बमोजिम सञ्चालक समितिलाई सचेत गराइएको छ । यस्तै, नेरुडे मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई पनि कर्जा नोक्सानी व्यवस्था अन्तर्गत कायम गरिएको ८१ करोड ५५ लाख रुपैयाँ फिर्ता गरी आम्दानी लेखाङ्कन गर्दा कुन-कुन ऋणीसँग सम्बन्धित रकम हो भन्ने यकिन नगरी राष्ट्र बैंकको निर्देशनविपरीत आम्दानी देखाएको पाइएकाले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२)(क) बमोजिम भविष्यमा यस्ता कार्य नदोहोर्याउन चेतावनी दिइएको छ ।
बीमा प्राधिकरणमा ५६८ वटा मुद्दा दर्ता, २२८ फछ्र्यौट
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा नेपाल बीमा प्राधिकरणमा १७४ वटा उजरी दर्ता भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनि गरेको बीमा प्रतिबीम्बअनुसार समीक्षा अवधिमा केन्द्रिय कार्यालयमा १२५ वटा र प्रदेश कार्यालयमा ४९ वटा मुद्दा परेका हुन् । जसमा गत आर्थिक वर्षका बाँकी रहेका ३९४ वटासहित कुल ५६८ वटा मुद्दा रहेका छन् । जेठ मसान्तसम्मको अवधिमा १७० वटा मुद्दमा फैसला सुनाएको छ भने ५८ वटा मुद्धामा सहमति गराएको छ । यसरी फैसला र सहमति गरी कुल २२८ मुद्धा फछ्र्यौट भएका छन् । गत वर्षको तुलनामा प्राधिकरणको उजुरी फछर्यौटमा सुधार देखिएको छ । प्राधिकरणले गत आवको सोही अवधिमा ८५ वटा फैसला र ४६ वटा सहमति गरी कुल १३१ वटा उजुरी फछ्र्यौट गरेको थियो । चालु आर्थिक वर्षको जेठसम्ममा कुल ३४० वटा उजुरीहरु फछर्यौट हुन बाँकी रहेको छ । गत आवको यही अवधिमा ३९४ वटा उजरी फछ्र्योट हुन बाँकी थियो ।