विकासन्युज

स्वदेशी बैंकले जुटाए १६ अर्ब, जगदुल्ला आयोजना निर्माण अघि बढ्यो

रमेश लम्साल काठमाडौं । सरकारले जनताको जलविद्युत् कार्यक्रममार्फत अगाडि बढाएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम सुरु भएको छ । मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै भौतिक निर्माण अगाडि बढेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए ।      कुल १०६ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए), वित्तीय व्यवस्थापन, उत्पादन अनुमतिपत्र तथा उद्योग दर्तालगायत काम यसअघि नै भइसकेको छ । सो परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै नमूना आयोजना हो ।      प्रमुख कार्यकारी अधिकृत सापकोटाका अनुसार कम्पनीले डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा दुई अर्ध–जलाशययुक्त आयोजना विकास गरिरहेको छ । कम्पनीले जगदुल्ला जलविद्युत् आयोजनाबाट १०६ मेगावाट र जगदुल्ला–‘ए’ आयोजनाबाट १२४ मेगावाट गरी कुल २३० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।      आयोजनाले विद्युत् उत्पादनबाहेक डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको सापकोटाको भनाइ छ । 'कम्पनीले आयोजना प्रवर्द्धन गर्ने क्रममा आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल निर्माण, त्रिवेणी–मुड्केचुला–जगदुल्ला सडकखण्डको कठिन भिरमा ‘ट्र्याक’ खोल्ने तथा पहुँच मार्गमा १० वटा ‘बेली ब्रिज’ जडान सम्पन्न गरिसकेको छ,' प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले भने । ती संरचनाले आयोजनालाई मात्र नभई स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुर्याएको छ । विगतमा घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता हट्दै यातायात पहुँच सहज बनेको छ । परियोजनाकै कारण डोल्पाको यातायात सेवा पनि उल्लेखनीय रूपमा परिवर्तन भएको छ ।      केही वर्षअघिसम्म नेपालगञ्जबाट डोल्पा पुग्न तीन दिनभन्दा बढी समय लाग्ने र वर्षायाममा आवागमन लगभग अवरुद्ध हुने अवस्था थियो । अहिले एकै दिनमा यात्रा सम्भव भएको छ । डोल्पाको सदरमुकाम दुनैबाट काठमाडौंसम्म रात्रिबस सञ्चालन हुने वातावरण बनेको उनको भनाइ छ ।      उनका अनुसार आयोजना निर्माणसँगै तयार भएको पूर्वाधारले पर्यटन क्षेत्रमा पनि दीर्घकालीन प्रभाव पार्ने अपेक्षा छ । रारा ताल, शे–फोक्सुण्डो ताल, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला तथा मुगुसम्म पुग्ने वैकल्पिक र छोटो मार्ग विकास हुन भएपछि कर्णाली प्रदेशको पर्यटन सम्भावना थप विस्तार हुनेछ ।      आयोजना निर्माणपश्चात् वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ सङ्घीय सरकार, नौ करोड ५० लाख रुपैयाँ प्रदेश सरकार र नौ करोड ५० लाख रुपैयाँ स्थानीय तहले रोयल्टी प्राप्त गर्नेछन् । यसले स्थानीय अर्थतन्त्र सुदृढीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।      यस्तै, १२४ मेगावाट क्षमताको जगदुल्ला–ए आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ । वातावरणीय अध्ययन, जग्गा अधिग्रहण, पिपिए, वित्तीय व्यवस्थापन तथा अनुमतिपत्रसम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।      नेपाल विद्युत् प्राधिकरणको परामर्शदाता कम्पनी एनइए इन्जिनियरिङमार्फत नेपाली इन्जिनियरले सर्भे, डिजाइन तथा लागत अनुमान तयार गरिएको यो आयोजना सरकारी निकायको बहुमत स्वामित्वमा निर्माण हुन लागेको आयोजना हो । सो कम्पनीमा सरकारी निकाय, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहको संयुक्त ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ ।       स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर सुरक्षित गरिएको छ । प्रसारण लाइनको मार्गाधिकारभित्र पर्ने जग्गाधनीलाई तीन प्रतिशत शेयर दिने व्यवस्था पनि गरिएको छ । यस्तो मोडेल सम्भवतः नेपालमा पहिलोपटक लागू गरिएको हो ।      जगदुल्ला जलविद्युत् आयोजनामा करिब १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ऋण लगानी स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ । त्यसमा नबिल बैंक, कर्मचारी सञ्चय कोष, एचआइडिसिएल, लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआइसी एसिया बैंकको सहभागितामा वित्तीय व्यवस्थापन गरिएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए । रासस 

होटल संघ नेपाल–बागमती प्रदेशको तदर्थ अध्यक्षमा राम सुन्दर बके

काठमाडौं । होटल संघ नेपाल (हान) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बकेलाई मनोनयन गरेको छ । संघको असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार भिलेज हाइल्यान्ड रिसोर्टका प्रबन्ध निर्देशक बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा मनोनयन गरिएको हाे । संघले बकेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बागमती प्रदेशका सबै जिल्लालाई समेट्ने गरी प्रभावकारी, समावेशी र सुदृढ प्रदेश समिति गठन हुने विश्वास व्यक्त गरेको छ । हानको विधान तथा कार्यविधिअनुसार बागमती प्रदेशअन्तर्गत रहेका जिल्लाका प्रतिनिधिहरूको सहभागितामा प्रदेश समिति गठन गरी पदाधिकारी तथा सदस्यहरूको नामावली संघको सचिवालयमा उपलब्ध गराउन पनि पत्रमार्फत अनुरोध गरेको छ । त्यस्तै प्रदेशस्तरमा होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायिक हित संरक्षण तथा संघको सुदृढीकरणमा बकेज्युको नेतृत्वले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा हानले गरेको छ ।   

कालो सिसा हटाउने अभियानबारे नाडा र ट्राफिक प्रहरीबीच छलफल

काठमाडौं । सवारी साधनमा प्रयोग भइरहेको कालो सिसा (ब्ल्याक फिल्म) हटाउने विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल भएको छ । साेमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने अभियान र त्यसको कार्यान्वयनका विषयमा छलफल गरेको हो ।  छलफलका क्रममा एसएसपी काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार कालो सिसा प्रयोग नगर्ने व्यवस्था रहेको र नेपालमा यस्ता सवारी विभिन्न आपराधिक गतिविधिमा समेत प्रयोग हुने गरेको देखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कालो सिसा हटाउने अभियान अघि बढाइएको जानकारी दिए । उनले सवारी साधनको अगाडिको सिसामा कालो फिल्म वा कुनै पनि प्रकारका स्टिकर टाँस्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै आयातकर्ता कम्पनीहरूले पनि ग्राहकलाई यसबारे स्पष्ट जानकारी गराउनुपर्ने बताए । काफ्लेले विशेष अनुमति प्राप्त सवारीबाहेक कालो सिसा प्रयोग गर्न नपाइने स्पष्ट पार्दै उत्पादन कम्पनीबाटै कालो सिसा जडान भएका सवारी आयात नगर्न समेत आयातकर्तालाई आग्रह गरे ।  नाडाका अध्यक्ष उप्रेतीले अधिकांश सवारीमा प्रयोग भएको कालो फिल्म हटाउन प्राविधिक रूपमा कुनै जटिलता नरहेको उल्लेख गर्दै पहिलो चरणमा फिल्म हटाउने अभियान सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिएका थिए । त्यसैगरी नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादन कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीको संख्या धेरै नभएकाले त्यसको यकिन विवरण संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउन सकिने धारणा राखे । कालो सिसा हटाउने विषयमा समन्वयका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई औपचारिक रूपमा छलफलका लागि अनुरोध गरेको थियो । छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति लगायतको पनि सहभागिता रहेको थियो ।    

विष्णुको नीतिमा स्वर्णिमको साथ

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत हिरामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटेको भनी व्यापक निकै चर्चा भयो । सो नीतिले सुनचाँदी व्यवसायीलाई राहत हुने भन्दै उनीहरुले बजेटको स्वागत पनि गरे ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि हिरामा लाग्ने भ्याट हटेको बताएका थिए । तर, आन्तरिक राजस्व विभागले एक सार्वजनिक सूचना जारी गर्दै हिरामा भ्याट नहटेको र यो कर कायमै रहेको स्पष्ट पारेको छ । यससँगै वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अख्तियार गरेको नीतिलाई नै निरन्तरता दिएको पुष्टि भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विलासिताका वस्तुहरूको अवैध कारोबार रोक्न र राजस्वको दायरा बढाउन हिरामा १३ प्रतिशत भ्याट र सुनचाँदीमा २ प्रतिशत विलासिता (लक्जरी) कर लगाउने नीति लिएका थिए । अगामी आर्थिक वर्षको बजेट निर्माण र सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. वाग्लेले उक्त नीतिमा फेरबदल गर्दै हिराको भ्याट हटाउन लागेको भन्दै व्यवसायी र उपभोक्तामाझ अन्योल बढेको थियो । आर्थिक विधेयक, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–१ मा संशोधन गरेपछि यस्तो भ्रम झन् फैलिएको हो । आर्थिक विधेयक, २०८३ मार्फत मूल्य अभिवृद्धि कर ऐनको अनुसूची–१ को समूह ११ (अन्य वस्तु तथा सेवा) अन्तर्गत ‘शीर्षक ७१.०२’ मा ‘परिष्कार गरिएको वा नगरिएको, तर नजडेको वा सेटमा नराखिएको हिरा’ भन्ने वाक्यांश उल्लेख गरिएको थियो । ऐनको अनुसूची–१ मा कर छुट हुने वस्तुहरूको सूची रहने भएकाले धेरैले हिरामा भ्याट छुट भएको अनुमान गरेका थिए ।  तर, आन्तरिक राजस्व विभागका अनुसार मूल्य अभिवृद्धि कर ऐन बमोजिम कर छुट पाउनका लागि चार अंकको ’शीर्षक’ मात्र उल्लेख भएर पुग्दैन । उक्त शीर्षक अन्तर्गत स्पष्ट रूपमा आठ अंकको ‘उपशीर्षक’ समावेश भएको वस्तु वा सेवामा मात्र कर छुट दिइने कानुनी व्यवस्था छ । हिरा उल्लेख गरिएको ‘शीर्षक ७१.०२’ अन्तर्गत कुनै पनि आठ अंकको उपशीर्षक समावेश नगरिएकाले हिरामा भ्याट छुट नहुने विभागले प्रष्ट पारेको हो ।  यसअघि छिमेकी मुलुक भारतको कर नीतिसँग सामञ्जस्यता कायम गर्न तथा तस्करी र कर छली रोक्न भन्दै बजेट भाषणका क्रममा हिराको भ्याट र सुनको लक्जरी करलाई भन्सार महसुलमा समायोजन गर्न खोजिएको चर्चा चलेको थियो । यद्यपि, आन्तरिक राजस्व विभागको पछिल्लो स्पष्टीकरणले कानुनी रूपमा हिरामा लाग्दै आएको १३ प्रतिशत भ्याटलाई यथावत् नै राखेको छ । विभागले सर्वसाधारण, उपभोक्ता तथा व्यवसायीहरूमा हिराको करबारे कुनै पनि द्विविधा र अन्योलमा नपर्न आग्रह गरेको छ । 

नेपाल एसबीआई बैंकको फुटसल प्रतियोगितामा १५० भन्दा बढी कर्मचारी सहभागी

काठमाडौं । नेपाल एसबीआई बैंकले ३३औँ वार्षिकोत्सवको अवसरमा ‘एमडी कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना गरेको छ । कर्मचारीबीच आपसी सहकार्य, टोली भावना र स्वस्थ कार्यसंस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सातै प्रदेश र केन्द्रीय कार्यालयका कर्मचारी सहभागी भएका हुन् । असार १४ गते काठमाडौंको धन्वन्तरी फुटसलमा सम्पन्न प्रतियोगितामा प्रदेश कार्यालय तथा केन्द्रीय कार्यालयका टोलीबीच पुरुषतर्फ प्रतिस्पर्धा भएको थियो । साथै बैंकको व्यवस्थापन टोली र महिला टोलीबीच प्रदर्शनी खेलसमेत आयोजना गरिएको थियो । प्रतियोगितामा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दसहित वरिष्ठ व्यवस्थापन टोलीको सहभागिता रहेको थियो । देशभरबाट १५० भन्दा बढी कर्मचारी सहभागी भएको प्रतियोगिताले कर्मचारीबीचको सम्बन्ध थप मजबुत बनाएको बैंकले जनाएको छ । प्रतियोगिताको समापन समारोहमा विजेता तथा सहभागी टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत तिवारीले यस्ता कार्यक्रमले कर्मचारीबीच सहकार्य, सहभागिता र संस्थागत एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । नेपाल एसबीआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।

९३ अर्ब भुक्तानी, साढे ४९ अर्ब बाँकी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) सम्म बीमा कम्पनीहरुले करिब ९३ अर्ब रुपैयाँको दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार सञ्चालनमा रहेका बीमा कम्पनीहरुले ११ महिनामा कुल ९२ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीहरुले भुक्तानी गर्ने दाबी रकम २७.३७ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरुले ७२ अर्ब ९४ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । चालु आवको जेठ मसान्तसमममा जीवन बीमा कम्पनीहरुबाट २ लाख ६५ हजार २०४ वटा दाबीको ६६ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । अघिल्लो आवको यही अवधिसम्म जीवन बीमकहरुले २ लाख ३८ हजार ६०८ वटा दाबीको ५२ अर्ब ६४ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो अवाको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको दाबी भुक्तानी संख्या ११.१५ प्रतिशत र रकम २६.१७ प्रतिशतले घटेको छ । त्यस्तै चालु आवको जेठ मसान्तसम्ममा निर्जीवन बीमकहरुले १ लाख ४० हजार ३५१ वटा दाबीको २६ अर्ब ५६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आवको यही अवधिमा निर्जीवन बीमकहरुले १ लाख २७ हजार २८२ वटा दाबीको २० अर्ब ३० करोड ३ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको दाबी संख्या र रकम क्रमशः १०.२७ प्रतिशत र ३०.८४ प्रतिशतले बढेको छ । चालु आवको जेठ मसान्तसम्ममा जीवन र निर्जीवन बीमकहरुले अझै ४९ अर्ब ४४ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । ११ महिनाको अवधिमा जीवन बीमकहरुले मात्रै ६० हजार ९५४ वटा दाबीको ५ अर्ब ५४ करोड ७१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । जुन गत आवको यही अवधिको तुलनामा दाबी संख्या र रकम क्रमशः १२ प्रतिशत र २१ .१२ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा जीवन बीमकहरुले ५४ हजार ४२२ संख्याको ४ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ बाँकी थयो ।  चालु आवको जेठसम्ममा निर्जीवन बीमकहरुले १ लाख १७ हजार १८२ वटा दाबीको ४३ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । जुन गत आवको तुलनामा संख्या र रकम क्रमशः ९.७७ र ४४.१० प्रतिशतले बढी हो । गत आवको यही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १ लाख ६ हजार ७५७ दाबी संख्याको ३० अर्ब ४६ करोड १६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी थियो । 

सोमबार ४ कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढ्यो

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले घटेर २६३२ बिन्दुमा झरेको छ ।  आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । टक्सार पिखुवा, याम्बलिङ हाइड्रो, स्नो रिभर र धौलागिरी लघुवित्तको सेयर मूल्य १४.९९ प्रतिशतले बढेकाे छ । नेप्सेका अनुसार २९ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३५१ कम्पनीको ७६ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । ग्लोबलको ८८ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सोपन फर्माको ८८ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ८७ करोड, रिलाइन्स स्पिीनिङको ८१ करोड र आँखु खोलाको ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

नाइमा एक्स्पोमा प्रदर्शन हुँदैछन् ५४ ब्रान्डका सवारी

काठमाडौं । सवारीसाधनका सौखिन र खरिदकर्ताहरूका लागि प्रतिक्षित ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ ।  नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स  एसोसिएसन (नाइमा) ले आयोजना गर्ने यस मेलाले नेपाली अटोमोबाइल बजारलाई नयाँ गति दिने जनाएको छ ।  यस पटकको एक्स्पो गत वर्षको तुलनामा अझ बृहत् र व्यवस्थित हुने नाइमाले जानकारी दिएको छ ।  नाइमाका अनुसार एक्स्पोका लागि ५१ वटा स्टलहरू छुट्याइएकामा पूर्ण रूपमा बुक भइसकेका छन् ।  माग अत्यधिक भएका कारण केही ब्रान्डहरूलाई स्थान अभावका कारण पाइपलाइनमा राख्नुपरेको छ ।  मेलामा कुल ५४ वटा विभिन्न ब्रान्डका सवारीसाधनहरू प्रदर्शनीमा रहने नाइमाको भनाइ छ । यस वर्षको मेलामा पनि विद्युती सवारीसाधन (ईभी) को विशेष आकर्षण रहने बताइएको छ ।  नाइमाका अनुसार एक्स्पोमा प्रख्यात फोर-ह्विलर ब्रान्डहरू जस्तै टाटा, बीवाइडी, किया, टोयोटा, हुण्डाई, एमजी, निसान र हाभलका साथै ओमोडा, जेइकु, आयन, र भीजीभीजस्ता नयाँ ब्रान्डका पछिल्ला मोडलहरू प्रदर्शन गरिनेछ । दुई पाङ्ग्रेतर्फ पनि इलेक्ट्रिक स्कुटर र बाइकहरूको ठूलो उपस्थिति रहनेछ । प्युजो, एनआईयु, याडिया, एसर र ग्यारो जस्ता इलेक्ट्रिक ब्रान्डका साथै बजाज, टीभीएस, केटीएम र ट्रायम्फ जस्ता स्थापित ब्रान्डहरूले पनि आफ्ना नयाँ उत्पादनहरू मेलामा राख्ने नाइमाले जनाएको छ ।  व्यावसायिक सवारीसाधनतर्फ स्काईवेल र जितानजस्ता ब्रान्डका ईभी भ्यानहरूको सहभागिता रहने आयोजक नाइमाले जनाएको छ ।  एक्स्पोको अर्को मुख्य आकर्षण भनेको नयाँ सवारीसाधनहरूको सार्वजनिक कार्यक्रम हो । धेरै कम्पनीहरूले आफ्ना नयाँ ब्रान्ड र मोडलहरू मेलाकै अवसर पारेर पहिलो पटक नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।   विशेष गरी लक्ष्मी ग्रुप, एडभान्स अटोमोबाइल, सिप्रदी ट्रेडिङ र जगदम्बाजस्ता ठूला घरानाहरूले नयाँ ब्रान्डहरू एक्स्पोमार्फत भित्र्याउँदैछन् । अवलोकनकर्ताहरूको सुविधा र अनुभवलाई मध्यनजर गर्दै यस पटक भिजिटर अनुभव एक्स्पोलाई अझ उत्कृष्ट बनाउने लक्ष्य नाइमाले लिएको छ ।  मेलामा सवारीसाधनका अतिरिक्त बैंक तथा वित्तीय संस्थाहरू, लुब्रिकेन्ट्स, टायर, ब्याट्री र पार्टपुर्जाहरूका स्टलहरू पनि रहनेछन्, जसले गर्दा खरिदकर्ताले एकै स्थानबाट कर्जा सुविधा र अन्य प्राविधिक जानकारी प्राप्त गर्न सक्नेछन् ।  बजारमा आएको आर्थिक शिथिलताका बीच आयोजना हुन लागेको यो एक्स्पोले सवारीसाधनको खरिद-बिक्रीमा सकारात्मक प्रभाव पार्ने र अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । मेला ६ दिनसम्म चल्नेछ भने यो मेला नाइमाको दोस्रो संस्करण हो ।