कालो सिसा हटाउने अभियानबारे नाडा र ट्राफिक प्रहरीबीच छलफल

काठमाडौं । सवारी साधनमा प्रयोग भइरहेको कालो सिसा (ब्ल्याक फिल्म) हटाउने विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल भएको छ ।

साेमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने अभियान र त्यसको कार्यान्वयनका विषयमा छलफल गरेको हो । 

छलफलका क्रममा एसएसपी काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार कालो सिसा प्रयोग नगर्ने व्यवस्था रहेको र नेपालमा यस्ता सवारी विभिन्न आपराधिक गतिविधिमा समेत प्रयोग हुने गरेको देखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कालो सिसा हटाउने अभियान अघि बढाइएको जानकारी दिए ।

उनले सवारी साधनको अगाडिको सिसामा कालो फिल्म वा कुनै पनि प्रकारका स्टिकर टाँस्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै आयातकर्ता कम्पनीहरूले पनि ग्राहकलाई यसबारे स्पष्ट जानकारी गराउनुपर्ने बताए ।

काफ्लेले विशेष अनुमति प्राप्त सवारीबाहेक कालो सिसा प्रयोग गर्न नपाइने स्पष्ट पार्दै उत्पादन कम्पनीबाटै कालो सिसा जडान भएका सवारी आयात नगर्न समेत आयातकर्तालाई आग्रह गरे । 

नाडाका अध्यक्ष उप्रेतीले अधिकांश सवारीमा प्रयोग भएको कालो फिल्म हटाउन प्राविधिक रूपमा कुनै जटिलता नरहेको उल्लेख गर्दै पहिलो चरणमा फिल्म हटाउने अभियान सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिएका थिए ।

त्यसैगरी नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादन कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीको संख्या धेरै नभएकाले त्यसको यकिन विवरण संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउन सकिने धारणा राखे ।

कालो सिसा हटाउने विषयमा समन्वयका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई औपचारिक रूपमा छलफलका लागि अनुरोध गरेको थियो । छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति लगायतको पनि सहभागिता रहेको थियो ।    

Share News