सन्तोष रोकाया

विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर

काठमाडौं । न्यूरोडको एउटा साँघुरो गल्ली । त्यो गल्लीभित्र एउटा सानो कोठा । कोठाभित्र तीन वटा कुर्सी र एउटा टेबल । यो दृश्य विजय राजभण्डारीको मानसपटलमा अझैँ ताजै छ । ३० वर्ष अगाडि यसरी स्थापना भएको सीई कन्स्ट्रक्सनको अहिले काठमाडौंको मुख्य क्षेत्र त्रिपुरेश्वरमै आफ्नै भव्य भवन । मासिक करोडौंको कारोबार । डोरम्यानदेखि चेयरम्यानसम्म आ-आफ्नै काममा व्यस्त । काम गर्न भ्याइनभ्याई । ‘अरु काम भएन भन्छन्, काम लिन बजारमा प्रतिस्पर्धा गरिरहेका हुन्छन्, हाम्रोमा भने यो प्रोजेक्ट तपाईंहरुले नै बनाइदिनु प¥यो भनेर आउने धेरै हुन्छन्’ राजभण्डारी भने । ठिक एक वर्षअघि २०७८ पुसमा विकासन्युजमा प्रकाशित अन्तरवार्तामा उनले भनेका थिए– ‘अरुहरु बैङ्कले कर्जा दिएनन् भन्छन्, हामीलाई बैङ्कले बोलाएर कर्जा लैजानुहोस् भन्छन् ।’ कम्पनीका अध्यक्ष राजभण्डारी भन्छन्, ‘दिनहरु फेरिए, समय फेरियो, कम्पनीमा काम गर्ने कर्मचारीहरु फेरिए तर कर्मचारीहरुको मिहिनेत फेरिएन, सबैले आफ्नै कम्पनी भएको महसुस गर्दै काम गर्नुभयो, हामी झन् सशक्त भएर लागि रह्यौं, सबैको मिहिनेत, लगाव र झुकावले सीई कन्स्ट्रक्सन आज देशकै गर्व गर्न लायक कम्पनीका रुपमा स्थापित छ, मलाई पनि यसमै गर्व छ ।’ ६ जना मिलेर ५०/५० हजार रुपैयाँ गरेर ३ लाख रुपैयाँ जम्मा गरी स्थापना भएको यो कम्पनी अहिले दैनिक करोडौंको कारोबार गर्छ । सबैले पत्याउने मात्रै होइन, सबैले अनुसरण गर्ने काम गरेर निर्माण क्षेत्रमा आफ्नो हिस्सा फैलाउँदै गएको छ । नेपाली निर्माण क्षेत्र, हाउजिङ क्षेत्र र जलविद्युत् क्षेत्रमा एक ‘ट्रेण्ड सेटर’ कम्पनीका रुपमा सीई कन्स्ट्रक्सन परिचित छ । जसको नेतृत्व गरिरहेका छन् उनै विजय राजभण्डारी । काठमाडौंको बसन्तुपरमा वि.सं.२०१६ सालमा जन्मिएका राजभण्डारी पढाई र पेशाले इञ्जिनियर हुन् । प्लसटुमा विज्ञान विषय पढेका उनले भारतको जबलपुर विश्वविद्यालयबाट सिभिल इञ्जिनियरिङ गरे । उनले पुल्चोक इञ्जिनियरिङ कलेजमा लेक्चरका रुपमा पनि काम गरे । पछि अमेरिका गए । त्यहाँ पनि एउटा कम्पनीमा कन्स्ट्रक्सन म्यानेजरका रुपमा काम गरे । निर्माण क्षेत्रका विषयमा धेरै कुरा सिकेपछि उनी नेपाल फर्किए । अनि सन् १९९२ मा खोले सीई कन्स्ट्रक्सन । ‘म त्यतिखेर नेपालमा जस्तोसुकै राम्रो जागिर पाउन सक्थेँ तर आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने मानसिकता ममा थियो, सुरुमा ५ लाख रुपैयाँमा एउटा कामको ठेक्का लियौं, निर्माण सम्पन्न हुँदा ७ लाख रुपैयाँ लाग्यो, काम तोकिएको समयभन्दा अगाडि नै सकायौं तर कम्पनीलाई २ लाख रुपैयाँ घाटा भयो,’ सीई कन्स्ट्रक्सनले सुरुमा गरेको प्रोजेक्टको कामलाई स्मरण गर्दै उनी भन्छन्– ‘तर, हामीले हरेश खाएनौं, काम गर्न सकिन्छ भन्ने आत्मबल थियो, धैर्यतापूर्वक अगाडि बढ्यौं ।’ हुन त त्यतिखेर पनि देशमा हजारौं कन्ट्याक्टर थिए । त्यो भीडमा पृथक काम गर्ने योजनाका साथ ‘डी क्लास’को कम्पनी स्थापना गएर निर्माण क्षेत्रमा प्रवेश गरेका थिए विजयले । जुन प्रोजेक्टमा हात हाल्यो त्यसलाई समयमै सक्ने र गुणस्तरीय बनाउनुपर्छ भन्ने योजनाका साथ उनी लागे । विदेशी प्रविधिलाई भित्र्याएर समयमै काम सम्पन्न गरी क्लाइन्टलाई खुसी बनाउन सके बजार आफै बन्छ भन्ने सोच उनमा थियो । ‘देश विकासको लागि निर्माण क्षेत्रको भूमिका ठूलो हुन्छ, विकास निर्माणको कामले आर्थिक गतिविधि बढ्छ, त्यसले आर्थिक वृद्धिदर बढाउन मद्दत गर्छ, नेपालमा निर्माण क्षेत्रको सम्भावना पनि धेरै छ, त्यसैले पनि मैले निर्माण क्षेत्रलाई रोजेँ, उनले कन्ट्रक्सन क्षेत्र रोज्नुको कारण प्रष्ट्याउँदै भने । उनी निर्माण क्षेत्र विकासको मेरुदण्ड भएको बताउँछन् । ‘निर्माण क्षेत्रले सबै क्षेत्रलाई जोड्छ, हाइड्रोपावरमा कन्ट्याक्टरले समयमा काम नगरेर परियोजना निर्माण ढिलाई हुन्छ, ढिला भयो भने धेरै घाटा हुन्छ, आफैले लगानी गरेको परियोजना छिटो सकिन्छ, समयमै सकेपछि त्यसको सेयर मूल्यमा पनि एक किसिमको आकर्षण हुन्छ, डेभलपर र कन्ट्याक्टर आफै भएपछि धेरै फाइदा हुन्छ, उनी भन्छन्–‘डेभलपर र कन्ट्याक्टर आफै भएकोले पनि हामीलाई काम गर्न धेरै सहज भयो ।’ सीई कन्स्ट्रक्सन एक ‘टेण्डसेटर’ तीन दशक अगाडि नेपालको निर्माण क्षेत्र खासै विश्वास गर्न लायक थिएन, क्षमता र कामको गुणस्तरिताको हिसावले । प्राइभेट क्षेत्रको ठूलो भवन बनाउनु प¥यो भने विदेशी कन्ट्याक्टरले काम पाउँथे । तर, सोही समय निर्माण क्षेत्रमा प्रवेश ग¥यो सीई कन्स्ट्रक्सन । सुरुमा राजभण्डारीले आफ्नै चार तले घरको निर्माण ६ महिनाभित्रै सम्पन्न गरेर देखाइदिए । समयभित्रै गुणस्तरीय निर्माण कार्यका लागि परियोजनाका लगानीकर्ताहरु सीई कन्स्ट्रक्सनलाई नै काम दिन चाहन्छन् । धेरै निर्माण व्यवसायी नयाँ काम पाउनका लागि बजारमा प्रतिस्पर्धा गर्दै गर्दा सीई ग्रुपलाई भने काम भ्याई–नभ्याई छ । बैंकले कर्जा दिएन भनेर अरु व्यवसायी छट्पटाइरहँदा सीई ग्रुपलाई बैंकले बोलाएर कर्जा दिन्छन् । बजारले यसरी पत्याउनु नै उद्यमीको ठूलो उपलब्धि ठान्छन् विजयराज भण्डारी । सीई कन्स्ट्रक्सनले विदेशबाट नयाँ प्रविधि भित्र्यायो । त्यो प्रविधिको विषयमा क्लाइन्टलाई बुझाउन सक्यो । अहिले धेरै निर्माण कम्पनीलाई काम पाउन सकस छ तर सीई कन्स्ट्रक्सनलाई भने काम गर्न भ्याइनभ्याई छ । रोजेर मात्रै काम लिन्छ । ‘नेपाली कन्ट्याक्टरले पनि गुणस्तर काम दिन सक्छ र समयमै सकाउन सक्छ भन्ने सन्देश दिन सफल भयौं, सुरुमा विदेशी प्रविधि ल्यायौं, अन्यले पनि त्यसको सिको गर्दै गए, आज ठूल्ठूला निजी भवन निर्माणमा नेपाली कन्ट्याक्टर मात्रै छन्, यसमा हामी गर्व गर्छौं,’ राजभण्डारी भन्छन् । नेपालका सबैभन्दा ठूला अपार्टमेन्ट सीई कन्स्ट्रक्सनले नै निर्माण गरेको छ । ग्राण्डी टावर, थापाथली हाइट लगायत एक दर्जन ठूला अपार्टमेन्टहरु सीई समूहले बनाएको छ । केही वर्षअघि नेपाली कम्पनीहरुले ठूला हाइड्रोपावर निर्माणको जिम्मा पाउँदैनथे । तर, सीई कन्स्ट्रक्सनले प्रयोग गर्ने प्रविधि, समयमै सक्ने क्षमता र गुणस्तरीय कामकै कारण धेरैले पत्याउन थाले । सीई कन्स्ट्रक्सन नै पहिलो नेपाली कम्पनी हो जसले ८६ मेगावाटको जलविद्युत आयोजना तोकिएका समयभित्रै निर्माण सम्पन्न ग¥यो । त्यो पनि विदेशी कन्ट्याक्टरको संलग्नताविनै । नेपालीले मात्र बनाएको यो नै सबैभन्दा ठूलो जलविद्युत् योजना थियो । ‘सुन्नेलाई शब्द जस्तो मात्रै लाग्छ, त्यसको पछाडि कति ठूलो मिहिनेत छ, कति ठूलो सङ्घर्ष छ, त्यो काम गर्नेलाई मात्रै थाहा हुन्छ, नेपाली निर्माण क्षेत्र, रियलस्टेट र जलविद्युतमा हामी ट्रेण्ड सेटर नै हो,’ अध्यक्ष राजभण्डारीले दावीका साथ भने । हाइड्रोपावरमा ५०० मेगावाट भन्दा बढीका परियोजना नेपालीले नै गर्न सक्छ भनेर अब सीई समूहले काम गरेर देखाउने उनी बताउँछन् । सन् २०३० सम्म १ हजार मेगावाट उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको उनी सुनाउँछन् । त्यसका साथै स्याटेलाइट सिटीको अवधारणासँगै विदेशी लगानी बढी ल्याउने कम्पनीका रुपमा आफूलाई स्थापित गर्ने योजना सीई समूहको छ । यस विषयमा अहिले उनले धेरै निकाय तथा व्यक्तिसँग छलफल गरिरहेका छन् । लुम्बिनी र नगरकोट हब बनाउँदै सीई ग्रुपको अर्को पायोनियर प्रोजेक्ट हो लुम्बिनी र नगरकोट हब । यो आफैमा अर्को नयाँ ‘ट्रेण्डसेट’ हो । जुन नेपालका लागि नौलो अभ्यास पनि हो । एउटै ठाउँमा बच्चालाई मनोरञ्जन गर्न सकिने मनोरञ्जन स्थलदेखि स्वीमिङ्ग पुल, रेष्टुराँ, सपिङ कम्प्लेक्स र इभेन्टका लागि मेगा हलहरु लगायतका सेवा सुविधाहरु ती हबभित्र हुनेछन् । पर्यटकहरुलाई चार/पाँच दिनसम्म नेपालमै बस्न सक्ने पूर्वाधार र सेवा सुविधाहरु सीई ग्रुपले निर्माण गर्दैछ । त्यसका लागि कम्पनीले तयारी थालिसकेको छ । ‘अहिले पर्यटकहरु लुम्बिनीमा आउँछन्, एकदिन ध्यान गरेर फर्किहाल्छन्, अब हामी लुम्बिनी हब निर्माण गरेर कम्तिमा चार/पाँच दिन यतै बस्ने सेवा सुविधासहितको हब निर्माण गर्दैछौं, जहाँ पर्यटकले सबै सुविधाहरु एउटै छानाभित्र पाउन्,’ अध्यक्ष राजभण्डारीले योजना सुनाए । जसलाई सीई समूहले पाइलट प्रोजेक्टको रुपमा काम गर्न खाजेको छ, यसमा ५ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । जुन ७ बिघा जग्गामा बन्दैछ । अर्को यस्तै प्रोजेक्ट कम्पनीले नगरकोटमा पनि निर्माण गर्दैछ । ‘हामी रणनीतिक साझेदारहरुको सहयोगमा काम गर्दैछौं, जुन क्षेत्रमा जसको विज्ञता छ, तिनीहरुसँग साझेदारी गरेर काम गरिरहेका छौं, यसले हामीलाई सफलता हासिल गर्न सहयोग मिलिरहेको छ ।’ सफता चुम्नेहरुलाई अझ धेरै गर्न मन लाग्छ, जोश पनि हुन्छ विजय राजभण्डारीमा पनि त्यो जोश (प्यासन) छ । ‘मैले आफ्नो पढाइको १० प्रतिशत मात्रै व्यवहारमा उतारेको छु, धेरै काम गर्न अझै बाँकी नै छ’ उनले भने । सीई समूह सातै प्रदेशमा सीई कन्स्ट्रक्सन खोल्ने योजनामा छ । ती सबै प्रदेशलाई कसरी ‘सेल्फ सस्टेन’ गराउने भन्ने योजना राजभण्डारीले बुनिरहेका छन् । अहिले सीई समूहले सम्झौता गरेअनुसार समयमै काम सकेकोले सबैको रोजाइमा आफ्नो कम्पनी परेको उनी बताउँछन् । ‘मास पार्टिसिपेन्ट मोडेल’ र ‘रणनीतिक साझेदार’को मोडेलले काम गर्दा सीई समूह सफल भएको पनि उनको धारणा छ । पब्लिकमा जाने तयारी पछिल्लो समय राम्रो नाफा गरेका कम्पनीहरु सेयर बजारमा सूचीकृत हुने अभ्यास बढ्दो छ । सरकारले पनि वार्षिक ५ अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीले सेयर बजारमा सूचीकृत हुनु पर्ने नीतिगत व्यवस्था गरेको छ । सीई समूहले पनि पहिलेदेखि नै पब्लिकमा जाने योजना नबनाएको होइन । तर, विभिन्न प्राविधिक कारणले जान नसकेको राजभण्डारी बताउँछन् । आगामी चैतसम्म सिई कन्स्ट्रक्सलाई पब्लिक कम्पनी बनाउने गरी प्रक्रियागत काम थालिएको छ । पहिला कर्मचारीलाई सेयर दिने र त्यसपछि पब्लिकको लागि सेयर निष्काशन गर्ने उनको तयारी छ । ‘कम्पनी स्थापना हुँदा नै सेयरधनी र कर्मचारी दुवै यस कम्पनीकोे मालिक हौं भन्ने अवधारणाका साथ काम ग¥यौं, हामी पनि सुरुवातदेखि नै तलब नै खाएर आयौं, कर्मचारीले आफ्नै कम्पनी ठानेर काम गरिरहनु भएको छ, कर्मचारीलाई पनि सेयर दिनुपर्छ भन्ने हाम्रो योजना छ र काम पनि अगाडि बढेको छ ।’ १० प्रतिशत सेयर कर्मचारीलाई दिने किसिमले तयारी भइरहेको उनले बताए । कम्पनीको १ अर्ब १० करोड पुँजी रहने छ । अध्यक्ष राजभण्डारी भन्छन्, ‘डोरम्यानदेखि चेयरम्यानसम्म यस कम्पनीको मालिक हो, कम्पनीको हिस्सेदार सबै कर्मचारीहरु हुन्, हाम्रो काम गर्ने वातावरण पनि सहज छ ।’ ६३ वर्षीय राजभण्डारीलाई आफ्नो टीमप्रति भरोसा छ । टीम वर्कले नै सीई कन्स्ट्रक्सन सफल भएको उनको भनाइ छ । सक्षम र काम गर्न सक्ने व्यक्तिलाई सधैं स्वागत गर्न सीई तयार रहेको उनको धारणा छ । सफल उद्यमी बन्न के गर्ने ? नयाँ उद्यम गर्न धेरै चाहन्छन् । तर, चाहनाले मात्रै मूर्त रुप कहाँ लिन्छ र ? सफल बन्नका लागि कडा मिहिनेत, कुशल जिम्मेवारी, लगाव, झुकाव चाहिने राजभण्डारीको तर्क छ । ‘हुन त नपढेको मान्छले पनि राम्रै पैसा कमाउँछ, पैसा कमाउनु र सफल बन्नु फरक विषय हो, मान्छे सफल बन्नका लागि एजुकेशन, एक्सपोजर र एक्सपेरियन्स चाहिन्छ,’ उनी भन्छन् । व्यापार छनोट सफल उद्यमी बन्ने पहिलो खुड्किला रहेको उनको धारणा छ । व्यक्तिले बिजनेस सेलेक्सन गर्दा ध्यान दिनुपर्ने उनी बताउँछन् । निर्माण, आवास विकास, जलविद्युत् परियोजना निर्माणको क्षेत्रमा उदाहरणीय पदचिह्न छोड्नै गएको सीई कन्स्ट्रक्सनले पर्यटन क्षेत्रमा पनि ‘टुरिजम हब’को विकास गरी नयाँ ट्रेण्ड सेट गर्दैछ । यसको शुरुवात लुम्बिनी र नगरकोटबाट हुनेछ । पैसा भएर मात्रै बिजनेस हुँदैन, सबैभन्दा महत्वपूर्ण बिजनेस सेलेक्सन हो, जति बढी नाफा हुने बिजनेस हे¥यो, त्यति बढी रिक्स (जोखिम) मोल्न सक्ने क्षमता हुनुपर्छ, क्षमता नहुँदा धेरैको लगानी डुब्छ,’ उनले एउटा उदाहरण दिँदै भने– ‘अहिले रेष्टुरेन्टको मालिकहरु परिवर्तन भइरहन्छन् किनकी उनीहरुसँग बिजनेस गर्ने योजना नै छैन, त्यसका चुनौतीहरु के–के छन् त्यो पनि बुझ्नु पर्छ, जुन बिजनेस पछिसम्म रहिरहन्छ त्यस्तो बिजनेस छनोट गर्नुपर्छ, हामीले निर्माणको क्षेत्र रोज्यौं किनकी यो कहिले पनि अन्त्य हुँदैन ।’ बिजनेसमा चार वटा क्याट्यागोरी हुन्छ । वर्कर, सुपरभाइजर, म्यानेजर र लिडर । एउटा उद्यमीमा यी चारवटै क्याट्यागोरी हुनु पर्ने उनको राय छ । तब मात्रै एउटा उद्यमी सफल हुन्छ जब उ एउटा कामदारदेखि कम्पनीको अध्यक्ष हुनेसम्मको ल्याकत राख्न सक्छ । एउटा उद्यमीले आफ्नो संस्थामा प्रफर्मेन्स, विश्वसनियता, ओनरसिप र जिम्मेवारीको विषयमा थाहा पाउनु पर्ने पनि उनी बताउँछन् । ‘कम्पनी मेरो हो भन्ने महशुस सबैमा हुनुपर्छ, साँच्चिकै उद्यमी बन्ने चाहना छ भने बाटो बदल्नु हुँदैन, एउटा उद्यमीले उद्यमी नै बन्नुपर्छ, अहिलेको भन्दा धेरै राम्रो अवसर पनि आउन सक्छ तर बाटो बदल्नु हुन्न, त्यसले दुर्घटना निम्त्याउँछ, सफलता दिन सक्दैन, बीचमै बाटो मोडेको भए सीई कन्स्ट्रक्सन अहिले एक पायोनियर कम्पनीका रुपमा परिचित हुन्थ्यो र ? उनी प्रश्न गर्छन् । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’

काठमाडौं । मान्छे खुसीमा होस् वा रोदनमा । थकान मेटाउन होस् वा उत्सव मनाउन, प्रयोग प्रायः मदिराको गर्छ । कतिपय मानिस मदिरा पिएर मातिन्छन् त कतिपय बहकिन्छन् । एकअर्काबीच कुरा साटासाट गर्न होस् वा सामाजिक बन्न पनि अधिकांशले मदिरा नै पिउँछन् । पछिल्लो समय त झन् पिउने बानी नभएका तर सामाजिक बन्नकै लागि भए पनि पिउनेहरुलाई ‘सोसियल ड्रिङ्कर’को उपमा दिइएको छ । अहिले मदिराबिनाका भोजभतेर हुँदैनन् । जब कार्यक्रममा ककटेल हुन्छ, त्यो कार्यक्रमको रौनक नै पृथक । कुनै समय थियो, जसले विदेशी ब्राण्डका रक्सी पिउँछ, त्यो समाजमा हुनेखाने अर्थात् ‘हाई स्ट्याण्डर्ड’को मान्छे । तर, अहिले त्यसको परिभाषा बदलिदिएका छन् रवि केसीले । नेपाल मदिरा उत्पादक सङ्घका पूर्वअध्यक्ष तथा यति डिस्टिलरीका अध्यक्ष रहेका केसी छोटै समयमा नेपाली मदिरा उद्योगलाई एक गर्व गर्न लायक क्षेत्रका रुपमा स्थापित गर्न सफल भएका छन् । विदेशी मदिराको दबदबा रहेको नेपाली बजारमा अहिले उनै केसीको कारण विदेशी ब्राण्डका मदिराहरुको बजार सङ्कुचित बन्दै गएको छ, नेपाली उत्पादनले विस्थापित गर्दै लगेको छ । सन् २०१५ मा आफ्नो फ्ल्यागसिप ब्लेन्डहरु वल्र्ड दरबार ह्विस्की र ८८४८ भोड्काका साथ बजारमा प्रवेश गरेको यति डिस्टिलरी अहिले नेपाल मदिरा उद्योगमा एक अग्रणी र सफल कम्पनीका रुपमा स्थापित भएको छ । यति डिस्टिलरीका उत्पादनहरु उपभोक्ताको रोजाइमा परेका छन् भने उपभोक्ताहरुले विदेशी मदिराको सट्टा यति डिस्टिलरीका ब्राण्डहरुको स्वाद मन पराउन थालेका छन् । उत्कृष्ट र गुणस्तरीय उत्पादनकै कारण कतिपय मानिसहरुको दैनिकी बनेका छन् यति डिस्टिलरीका उत्पादन । छोटो समयमा यति डिस्टिलरी कसरी बन्यो अग्रणी मदिरा कम्पनी ? अध्यक्ष केसी भन्छन्, ‘हामीले नाफाभन्दा गुणस्तरीयतामा ध्यान दियौं, उपभोक्ताको रोजाइलाई फोकस गर्यौं, कसैले हाकिम भएपछि आफूभन्दा तलको कर्मचारीको कुरा सुनेर निर्णय लिन्छ तर म आफै फिल्डमा गएर त्यसको वास्तविकता बुझेर निर्णय गर्छु, धेरै मिहिनेतपछि यति डिस्टिलरीका उत्पादनहरु उपभोक्ताकाबीच एक ब्राण्डका रुपमा स्थापित भएका हुन्, अझै धेरै काम गर्न बाँकी छ ।’ कम्पनीमा ५० प्रतिशत सेयर केसीको र ५० प्रतिशत अभिषेक श्रेष्ठको छ । कम्पनीले आधा दर्जन बढी ब्राण्डका मदिरा उत्पादन गर्दै आएको छ । ८८४८ भोड्का, ह्वीस्की, जिन रलो इन्ड ७० अप, वल्ड दरबार, ब्ल्याक चिम्नी, बाह्रसिंगेको सुपर स्ट्रोङ्ग, बाह्रसिंगे प्रिमियम स्ट्रोङ्ग, फाल्कन लगायतका मदिरा तथा वियरहरु यस कम्पनीका चर्चित उत्पादनहरु हुन् । यति डिस्टिलरीको सन् २०२१ मा २१ प्रतिशतले आम्दानी बढेको अध्यक्ष केसी बताउँछन् । कम्पनीले सन् २०२१ मा १३ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको दैनिक ९ हजार केस मदिरा उत्पादन गर्ने क्षमता छ भने हाल १२० वटा वितरकबाट मदिरा बिक्री भइरहेको छ । ‘प्रत्येक तह/तप्काका मान्छेले उच्च स्तरीय मदिरा/वियर पिउन् भन्ने मेरो कन्सर्न हो, अब उच्च स्तरीय रक्सी पिउन विदेशबाट ल्याउनु पर्दैन, रक्सीमा विदेशी मु्द्रा खर्च गर्नु पर्दैन, अन्तर्राष्ट्रिय ब्राण्डसँग हामीले प्रतिस्पर्धा गरिरहेका छौं । सबैले मन पराइरहनु भएको छ, मदिरामा नेपाल आत्मनिर्भर हुन सक्छ भनेर म देखाउन चाहन्छु,’ अध्यक्ष केसीले भने । वस्तु उत्पादन गर्दा नाफा हेर्नेभन्दा पनि आफुले सुरुमा काम हेर्ने केसी बताउँछन् । केसी विदेशी लगानी रहेको सूर्य नेपालका उपाध्यक्ष पनि हुन् । सूर्य नेपालको उपाध्यक्षको जिम्मेवारी पूरा गर्दा गर्दै उनले आफ्नो कम्पनीलाई एक उत्कृष्ट मदिरा उत्पादक कम्पनीका रुपमा स्थापित गराए । उनलाई अहिले पनि सूर्य नेपालले उपाध्यक्षको जिम्मेवारी दिइनै रहेको छ । बहु राष्ट्रिय कम्पनीको जागिर गर्दै पारदर्शी रुपमा आफ्नै कम्पनी स्थापित गरेर, अहिले पनि दुबै जिम्मेवारी सम्हालेर उनले व्यवस्थापनमा नयाँ नमूना नै छोडेका छन् । ‘विदेशी कम्पनीमा आबद्ध भएर र आफ्नै व्यापार गरेर पनि एक उत्कृष्ट कम्पनी बनाउने सायद कमै छन्, म हिजो सूर्य नेपालमा जत्ति खटिन्थेँ, आज पनि त्यति नै खटिन्छु, सूर्य नेपालमा सेयर नभए पनि हिजो पनि मालिकको रुपले काम गरेँ, आज पनि सोही ढंगले काम गरिरहेको छु, यो मेरो स्ट्रेन्थ हो,’ केसी भन्छन्, ‘म नाफाभन्दा पहिला गुणस्तर र उपभोक्ताको रोजाइ हेर्ने भएको कारणले पनि हाम्रो उत्पादन सबैले मन पराउनुहुन्छ ।’ रवि आज आफु जुन अवस्थामा छन् त्यसको श्रेय सूर्य नेपाललाई दिन्छन् । ३३ वर्षदेखि सूर्य नेपालमा आवद्ध भएका उनको व्यावसायिक यात्रा पनि सूर्य नेपालबाटै सुरु भएको हो । ५३ वर्षीय केसी भन्छन्, ‘व्यक्ति वा संस्थाले समय अनुसार चल्नु पर्छ, व्यक्तिको ‘च्वाइस’ पहिचान गर्न सक्नु पर्छ, तब मात्रै लक्ष्य भेटाउन सकिन्छ ।’ केसी आफु पनि कहिलेकाहीँ मदिरा पिउने गरेको बताउँछन् । तर, जुन दिनदेखि उनले यति डिस्टिलरीको मदिरा उत्पादन गर्न थाले सो दिनदेखि अन्य कम्पनीको मदिरा नपिएको सुनाउँछन् । ‘म जे जति कार्यक्रममा जान्छु जताततै मेरै कम्पनीको मदिरा देख्छु, कहिलेकाहीँ कुनै कार्यक्रममा नराखेको भए गाडीबाट निकालेर आफ्नै कम्पनीको ह्वीस्की पिउँछु, म मेरै कम्पनीको मदिरामा स्वाद देख्छु,’ उनी भन्छन्, ‘हामीले लामो अध्ययन अनुसन्धान गरेर उत्पादन गर्ने भएकोले पनि बजारले मन पराएको छ ।’ उत्पादनलाई गुणस्तरीय र उपभोक्ताको रोजाइको बनाउन सके त्यसले स्वस्फूर्त रुपमा बजार लिने केसीको धारणा छ । ‘कतिपय मानिसको उद्देश्य जसरी भए पनि पैसा कमाउने हुन्छ, अधिकांशले काम गरेपछि कति पैसा आउँछ भनेर सोच्छन् । तर, मेरो सोच भनेको काम गरेपछि पैसा आइहाल्छ नि भन्ने हो, काम राम्रोसँग गर्ने, त्यसलाई कसरी गुणस्तरीय बनाउने भन्ने मेरो ध्यान हुन्छ, पैसा कमाउने भन्दा पनि मैले उत्पादनलाई कसरी गुणस्तरीय बनाउनेतर्फ मेरो जोड हुन्छ, वस्तुमा कतिको मार्जिन राख्ने भन्दा पनि यसलाई कसरी मिठो बनाउने भन्नतर्फ मैले सोच्छु, मिठो भएपछि बजारमा राम्रो बिकिहाल्छ, तनावै लिनु पर्दैन,’ उनी भन्छन्, त्यसपछि आफू अघि-अघि जाने पैसा पछि-पछि स्वतः आइहाल्छ ।’ ५३ वर्ष पुगे पनि केसीमा जोश जाँगर अझै बढ्दै गएको छ । समाज र देशका लागि केही गरौं भन्ने हुटहुटी उनमा छ । नेपाललाई मदिरामा आत्मनिर्भर बनाउने र मदिराकै लागि विदेशिने डलर रोक्नु पर्ने उनको ध्येय छ । ‘म कहिल्यै थाक्दिनँ, मैले व्यक्तिगत नाफा कहिल्यै सोचिनँ, मैले मेरो व्यवसाय र कामलाई नै महत्व दिन्छु, जसले देशलाई लाभ होस्, उनी भन्छन्, ‘म आर्यघाट नपुग्दासम्म यतिकै हुन्छु, यो व्यवसायबाट कहिल्यै रिटायर्ड पनि हुँदैन ।’ उनी सबैभन्दा ठूलो स्वास्थ्य भनेको सोच र सन्तुष्टि भएको धारणा राख्छन् । ‘रक्सी खाएर तनाव लियो भने तनाव हुन्छ, रक्सी खाएर खुसी भयो भने त्यसले खुसी दिन्छ, संसारमा सबैभन्दा ठूलो निरोग भनेकै सन्तुष्टि हो, औषधि पनि त बढी खायो भने पोइजन बनिदिन सक्छ,’ उनी थप्छन्, ‘सीमित खानुस्, सब राम्रो हुन्छ ।’ दुई वर्षभित्रै उत्कृष्ट करदाता रवि केसीलाई यस वर्ष आन्तरिक राजश्व विभागले व्यक्तिगततर्फ उत्कृष्ट करदाताको रुपमा आफ्नो नाम सार्वजनिक गर्ने अपेक्षा थियो । तर, त्यो अपेक्षा अपेक्षामै सीमित बन्यो । उनी अलिकति चुके । विभागले उनलाई होइन विजयकुमार शाहलाई उच्च करदाताको रुपमा सम्मानित ग¥यो । केसी आफु पनि नेपालमा सबैभन्दा बढी तलब खाने व्यक्तिको सूचीमा रहेको दाबी गर्छन् । तर, उनले कति तलब खान्छन्, त्यो भने खुलाएनन् । ‘यस पटक व्यक्तिगत तर्फको करमा उत्कृष्ट करदाताका रुपमा आउँछु की भन्ने आशा थियो तर आइनँ, म पनि नेपालमा उच्च तलब खानेहरुमध्ये पर्छु,’ उनी भन्छन्, अब हेरौं अर्को वर्ष के हुन्छ ।’ अहिले पनि मदिरा उद्योगमा यति डिस्टिलरी भने नम्बर वान करदाता भएको उनी दावी गर्छन् । ‘छोटै समयमा यो किसिमको बजार पाएका छौं, अब छिट्टै उत्कृष्ट करदाताका रुपमा सबैले हेर्न सक्नुहुन्छ, डेढ/दुई वर्षभित्रै उत्कृष्ट करदाताका रुपमा यति डिस्टिलरीको नाम आउँछ, विदेशबाट आउने महँगा रक्सीहरुलाई नेपालमा ठप्प पार्न चाहन्छु, रक्सीमा जुन किसिमको पैसा विदेश जान्थ्यो त्यो रोक्न पाएकोमा गर्व लाग्छ’, उनी गर्वका साथ भन्छन्, ‘विदेशी रक्सी नेपाल आउन रोक्ने कम्पनी यति डिस्टिलरी हो ।’ यति डिस्टिलरीमा भएको युवा जनशक्तिकै कारण कम्पनीले छोटै समयमा एक किसिमको सफलता प्राप्त गरेको उनी बताउँछन् । आज पनि वल्र्ड दरबारको सेल्सम्यान छु, भोलि पनि हुनेछु, यो पद भन्ने विषय गौण हो, अध्यक्ष/उपाध्यक्ष भनेको औपचारिकता मात्रै हो । मेरो काम भनेको वस्तु बिक्री गर्ने नै हो,’ उनी भन्छन्, ‘सूर्य नेपालमा मेरो सेयर छैन तर म त्यहाँको मालिक हो, कर्मचारीले पनि मालिक भएको महसुस गरेर काम ग¥यो भने कम्पनीले लिएको लक्ष्य भेटाउन सजिलो हुन्छ ।’ यति डिस्टिलरीका उत्पादन नेपालमा मात्रै परिचित छैनन् । यसका उत्पादनले विश्व बजार पनि हल्लाइरहेका छन् । गत वैशाखमा यतिका दुई उत्पादनले मदिराको विश्व प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय पुरस्कार जित्यो । यतिका उत्पादन ८८४८ भोड्का र वल्ड दरबार ब्ल्याक चिम्नी ह्वीस्कीले अमेरिकाको सान फ्रान्सिस्को वल्र्ड स्पिरिट कम्पिटिसन (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड पुरस्कार जितेको थियो । यो प्रतिस्पर्धा संसारभरका पाँच हजार मदिरा ब्रान्डबीच भएको थियो । यसले पनि यतिका उत्पादनहरु कति गुणस्तरीय छन् भन्ने विषय प्रष्ट्याउँछ । सरकारको नीति सकस अर्बौंको लगानी रहेको मदिरा उद्योगलाई सरकारले सौतेनी व्यवहार गरेको केसीको गुनासो छ । मदिरा उद्योगलाई हेर्ने समाज र सरकारको दृष्टिकोणमा खोट भएको उनको धारणा छ । सरकारले राजस्व खोज्ने तर यसलाई व्यवस्थित बनाउन ध्यान नदिने प्रवृत्तिले उद्योगको विस्तार हुन नसकेको उनको भनाइ छ । वर्षेनी बढाउने राजश्वले मदिरा व्यवसायी निरुत्साहित हुँदै गएको उनले बताए । ‘बजेटमार्फत् रक्सी चुरोटमा जति पनि राजस्व बढाए हुन्छ भन्ने सरकारको मानसिकता गलत छ, यसले वास्तविक उद्योगी समस्यामा पर्छन्, अवैध र गुणस्तरहीन मदिराले प्रशय पाउँछ, त्यसले झन् मानिसको स्वास्थ्यमा हानी पु¥याउँछ, उनले भने । सस्तो लोकप्रियताका लागि रक्सीको विरोध ग¥यो भने समाजमा हिरो भइन्छ भन्ने केही मानिसहरुको कारणले यसलाई नकारात्मक वस्तुका रुपमा लिइएको उनको तर्क छ । मदिरा उद्योगलाई हेर्ने समाजको दृष्टिकोण फरक रहेको उनको धारणा छ । पहिले उद्योगी व्यवसायीहरुका कुरा सुनेर बजेट ल्याउने चलन भए पनि अहिले भने त्यो अभ्यास हराउँदै गएको उनको गुनासो छ । ‘पछिल्ला ४/५ वर्षमा एनजीओ र आईएनजीओले भनेका कुरा बढी सुनिन थालेका छन्, वास्तविकताभन्दा पनि सेन्टिमेन्टलमा गएर निर्णय गर्ने परिपाटी बढ्दो छ, बढी कर पनि त्यसकै उपज हो, यस्ता निर्णय खराब वस्तुहरुले बजारमा बढी हिस्सा लिन्छन्, उत्पादन, उपभोक्ता र राजश्व लिने सरकारबीच समन्वय हुन सक्नु पर्छ, तब मात्रै नेपालमा सबै वस्तुहरुको औद्योगिक वातावरण सिर्जना हुन्छ, सबैले रोजगारी पाउँछन्, समग्रमा देशको भविश्य उज्जवल हुन्छ,’ उनले भने । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’

काठमाडौं । नेपालमा कृषिको अथाह सम्भावना छ ।’ यो वाक्य नीति–निर्माता, उद्योगी व्यवसायी र बैङ्कहरुको मुखबाट पनि बारम्बार निस्किन्छ । तर, न नीति निर्माताले कृषिमा सहज नीति बनाउँछन् । न उद्योगी व्यवसायी लगानी गर्न चाहन्छन् न त बैङ्करहरुले कृषि क्षेत्रमा कर्जा प्रवाह गर्न नै रुची राख्छन् । सबैको बोली फुटछ् तर कदम चल्दैन । भएका नीति नियम तथा व्यवस्थाहरु पनि प्रभावकारी रुपमा कार्यान्वयन हुँदैनन् । नेपाल राष्ट्र बैङ्कले कृषिलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा तोकेको छ । निश्चित प्रतिशत कर्जा कृषिमा लगानी गर्नै पर्ने व्यवस्था गर्छ । तर, बैङ्कहरु कृषिमा लगानी गर्न कन्जुस्याईं गर्छन् । कृषिका लागि भनेर प्रवाह भएको ऋण पनि व्यवसायीहरुले अन्तै लगानी गर्छन् । कृषि क्षेत्र बोलीमा प्राथमिकता पाउँछ तर कार्यान्वयनमा जहिल्यै पछाडी । देशमा कृषिमा उदाहरणीय काम गरेको भनेर चिन्न सकिने व्यक्ति औंलामा गन्न मिल्ने पनि छैनन् । तर, गोल्यान समूहले भने पछिल्लो समय कृषिमा एग्रेसिभ रुपमा काम गरिरहेको छ । धागो उद्योग, जलविद्ययुत्, बैंकिङ, होटल, रियलस्टेट क्षेत्रमा सक्रिय रुपमा लागेको गोल्यान समूहले अहिले कृषिमा लगानी बढाइरहेको छ । केही आफैले त केही किसानसँग मिलेर यो समूहले ‘माटो’ ब्राण्डमार्फत् आफ्ना कृषि उत्पादनलाई देशभर फैलाउने योजनाका साथ काम गरिरहेको छ । गोल्यान समूहले झापामा २ सय बिघा जग्गा खरिद गरेर काम गरिरहेको छ । त्यहाँका किसानसँग सहकार्य गरी अर्गानिक कृषि वस्तु उत्पादन गरेर देशसँगै विदेशमा पनि निर्यात गर्ने उद्देश्यका साथ काम भइरहेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यान बताउँछन् । ‘हाइड्रोपावरमा काम सुरु गर्दा पहिले नै लाग्नु पर्ने रहेछ भन्ने महशुस भयो, पर्यटन क्षेत्रमा लाग्दा पनि यसमा त झन् २० वर्ष अघि नै लाग्नु पर्ने रहेछ भन्ने लाग्यो, अहिले कृषिमा सुरु गरेको छु, कृषिमा त झन् धेरै पहिले लाग्नु पर्ने, अहिले ढिला भयो जस्तो लाग्दैछ, पहिले कृषिमा लगानी नगरेर गल्ती गरेको महशुस भएको छ, मेरो करियरको सुरुवात नै यसबाट गरेको भए राम्रो हुन्थ्यो भन्ने लागिरहेको छ, जुन क्षेत्रमा गयो त्यसमा धेरै सम्भावना देखिरहेको छु, अब गोल्यान समूह कृषिमा जम्छ,’ अध्यक्ष गोल्यानले भने । गोल्यान गु्रपले नेपालको सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्स सञ्चालन गरेर एक किसिमको सफलता पाइसकेको छ । नेपाली व्यवसायिक घरानामा गोल्यान समूह पनि परिचित नाम हो । उत्पादन मुलक उद्योग, बैंकिङ, बीमा, होटल, जलविद्युत्, आवास विकास क्षेत्रमा सफलता चुम्दै आफूलाई एक सफल व्यावसायिक घरानाका रुपमा स्थापित गोल्यान समूहले कृषिमा क्रान्ति ल्याउने लक्ष्यका साथ काम गरिरहेको अध्यक्ष गोल्यान बताउँछन् । लक्ष्यअनुसार गोल्यान समूहले कृषिमा लगानी बढाउँदै लगेको छ । गोल्यान समूहले ३ अर्ब पुँजीको जनता एग्रो एण्ड फोरेष्ट्री पब्लिक कम्पनी दर्ता गरिसकेको उनले बताए, जहाँ गोल्यान समूहको २ अर्ब रुपैयाँ पुँजी हुनेछ भने उत्पादन र बजारीकरणमा साझेदार गर्ने कम्पनीहरुबाट एक अर्ब पुँजी जुटाउने उनको तयारी छ । ‘हामीले पब्लिक कम्पनी दर्ता गर्नुको कारण यसलाई पुँजीबजारमा पनि लैजाने योजना हो, सर्वसाधारणको लागि सेयर निष्काशन गर्ने बेलामा कम्पनीको पुँजी फेरी बढ्छ’ उनले भने । कृषि व्यवसायबाट पनि राम्रो आम्दानी हुन्छ, कृषि कम्पनीले पनि उद्योगले झैं ठूलो व्यवसाय गर्न सक्छ, कृषि कम्पनीले पनि पुँजी बजारमा राम्रो स्थान लिन सक्ने भनेर देखाउने उनको चाहाना छ । अहिले भने कम्पनीले नाफा लिन नसकेको उनले बताए । ‘हामी लगानी थपिरहेका छौं, चालु आर्थिक वर्षमा यसबाट प्रतिफल नआउन सक्छ, दुई/तीन वर्ष कोरोनाका कारण केही नोक्सान भयो, अब आगामी वर्षदेखि बैङ्कको व्याज उठाउन सक्छ, त्यसपछि कम्पनी नाफामा जान्छ,’ उनले भने । ‘जब बिजनेशम्यान भएर नयाँ–नयाँ काम गरिन्छ, त्यो बेलामा जसरी पनि पैसा कमाउने भन्ने नै हुन्छ, बिजनेशम्यानको पहिलो चरण भनेको पैसा कमाउने हो तर म बिजनेशम्यान वा व्यापारी नभएर उद्योगी भएको हुनाले उद्योगमा नै लागेँ, त्यो बेलामा मेरो सपना एउटा ठूलो धागो उद्योग बनाउने थियो, ३० वर्षअघि त्यो काम गरियो, त्यसले मलाई धेरै खुसी दियो, म जुन ठाउँमा हात हाल्छु त्यसमा सफल हुन्छु भन्ने कन्फिडेन्ट छ, अहिले कृषिमा लागेको छु, असल कृषक भएर काम गरिरहेको छु, यसले मलाई आनन्दको अनुभूति दिइरहेको छ,’ उनी भन्छन्, ‘समय अनुसार बिजनेस पनि विविधीकरण गरिरहनु पर्छ ।’ म असल कृषक भएर काम गरिरहेको छु । यसले मलाई आनन्दको अनुभूति दिइरहेको छ । कृषि कम्पनीले पनि ठूलो उद्योगले झैं ठूलो व्यवसाय गर्न सक्छ, उच्च नाफा दिन सक्छ, कृषि कम्पनीले पनि पुँजी बजारमा राम्रो स्थान लिन सक्ने भनेर देखाउने मेरो चाहना छ । विविधीकरण गरिरहनु पर्छ ।’ आधुनिक कृषिमा व्यावसायिक रुपमा अघि बढ्न गोल्यान समूह तयार रहेको उनी बताउँछन् । कृषिमा बिचौलियाको बिगबिगी छ । असली कृषकले सरकारको सहुलियत पाउँदैनन् । बैङ्कबाट ऋण निकाल्ने ल्याकत राख्दैनन् । अब पवन गोल्यान त्यो दूरी हटाउन चाहन्छन् । कृषकलाई सहुलियत कर्जा दिलाउन भूमिका खेल्न चाहन्छन् । उनीहरुले उत्पादन गरेको वस्तु आफैले किनेर बजार खोज्ने प्रयत्न गर्नेछन् । ‘समुन्द्रमा हाम नफाली गहिराई कति छ भनेर थाहा पाँइदैन, सानो पोखरीमा पौडी खेल्न गयो भने पनि च्याम्पियन बनिँदैन, त्यसैले पनि मैले ठूलै लगानीमा ठूलै स्पेसमा कृषि सुरु गरेको छु, मलाई समाजले धेरै दियो, मैले पैसा पनि कमाएँ, अब म समाजलाई दिन चाहन्छु, यो देशलाई दिन चाहन्छु,’ नेपाल बैङ्क तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष समेत रहेका उनी भन्छन्, ‘स्थानीय कृषकलाई सिकाउँछु, दक्ष बनाउँछु, म मेरो कम्पनीको हित मात्र हेर्दिन, किसानलाई व्यावसायिक हुन सिकाउँछु, उत्पादनसँग प्याकेजिङ सिकाउँछु, कृषि उपजलाई कसरी हाइजनिक बनाउन सकिन्छ ? कसरी बढी समय टिकाउन सकिन्छ ? सबै सिकाउँछु । कृषि उद्यममा नयाँ ट्रेण्ड सेट गर्दैछु ।’ अब सेयर बजारमा पनि सबैभन्दा बढी सेयर मूल्य कृषिसँग सम्बन्धित कम्पनीहरुको हुने किसिमले आफूले काम गर्न लागेको उनी बताउँछन् । ‘कुनै दिन बैङ्कको सेयरमा आकर्षण थियो, त्यसपछि बीमामा आकर्षण बढ्यो, पछि बीमा लगायत अन्य क्षेत्रको क्रेज आयो, अब कृषिसँग सम्बन्धित कम्पनीहरुको सेयरमा लगानीकर्ताकोआकर्षण हुन्छ,’ उनले भने । उनी अब आफ्नो उत्पादनलाई देशसँग जोड्न चाहन्छन् । अब कृषिमा सरकारको नीति पनि प्रभावकारी हुनु पर्ने उनको भनाइ छ । कृषकले पाउने अनुदानको प्रणाली पनि प्रभावकारी हुनु पर्ने उनी बताउँछन् । यसमा पालिकाहरुलाई अगाडि ल्याउनु पर्ने धारणा उनको छ । ‘कृषिमा फड्को मार्न सङ्घ र प्रदेश सरकारले सक्दैनन्, स्थानीय सरकारले नै सक्छ, सबैभन्दा धेरै जिम्मेवार स्थानीय सरकारलाई बनाउनुपर्छ,’ उनी भन्छन्,’ मैले पनि धेरै स्थानीय सरकारसँग उत्पादनको बजारीकरण, कृषकको तालिम तथा सीप विकासका लागि छलफल गरेको छु ।’ उनका अनुसार अहिले गोल्यान समूहले १४० बिघा जग्गामा केरा, अम्बा, कागती ड्रागन फ्रुट, तुलसी र सुपारी लगायतका फलफूल तथा तरकारी लगाएको छ । यो वर्ष धेरै उत्पादन बिक्री भइसकेको उनी बताउँछन् । ‘हामी नेपालभर बजार बनाउन चाहन्छौं, निर्यात पनि गर्छौं, विदेशमा बस्ने नेपालीहरु पनि हाम्रो लक्षित ग्राहकहरु हुन्, बजारको खासै समस्या हुँदैन ।’ उनले भने । ‘अब कमाउनका लागि पुगिसकेको छ, धेरै कमाउने रहर पनि छैन, एउटा धर्मको हिसावले पनि आफ्नो कर्म दीगो भएन भने त्यो अगाडि जान सक्दैन, म रहुञ्जेलसम्म मात्रै चल्छ, त्यसैले बिजनेश दीगो हुनु पर्छ, त्यसका लागि म लागिरहेको छु, नेपालमा कृषिलाई दीगो व्यवसायको रुपमा लिन सकिन्छ,’ उनी भन्छन् । पब्लिकमा जाने योजना गोल्यान समूहले हरेक कम्पनीलाई सेयर बजारमा सूचीकृत गराउने योजना बनाएको छ । त्यसका लागि तयारी पनि भइरहेको उनको भनाइ छ । कृषि कम्पनीसँगै रिलायन्सलाई पनि सेयर बजारमा सूचीकृत गराउनका लागि प्रक्रिया भइरहेको उनले बताए । त्यसका लागि कम्पनीले आवदेन पनि दिइसकेको छ । रिलायन्सले बुक बिल्डिङ्गमा आईपीओ निष्कासन गर्नेछ । उनले हायात प्यालेस होटलको पनि आईपीओ ल्याउने योजना रहेको सुनाए । वार्षिक ६० हजार टन धागो उत्पादन हुने रिलायन्सको वार्षिक १२ अर्ब रुपैयाँ बराबरको कारोबार हुन्छ । अहिले पनि कम्पनी विस्तार गर्ने काम भइरहेको उनले बताए । रिलायन्सले पाँच हजारलाई रोजगारी दिएको छ । दुव्र्यमा रियल स्टेटको सफल व्यवसाय गरिसकेका गोल्यान विश्वका विभिन्न देशमा धागो निर्यात गर्छन् । गोल्यान समूहले ३ अर्ब पुँजीको जनता एग्रो एण्ड फोरेष्ट्री पब्लिक कम्पनी दर्ता गरिसकेको छ, जहा“ गोल्यान समूहको २ अर्ब रुपैयाँ पुँजी हुनेछ भने उत्पादन र बजारीकरणमा साझेदार गर्ने कम्पनीहरुबाट एक अर्ब पुँजी जुटाउने तयारी छ । उद्योग, बैङ्क, होटल, जलविद्युत्, रियलस्टेटमा झैं कृषि व्यवसायमा पनि सफल हुनेमा पवन गोल्यान विश्वस्त छन् । १६ वर्षको उमेरमै आफ्नै व्यवसायमा होमिएका पवन गोल्यान अब रिटायर्ड हुन चाहन्छन् । अहिले उनको छोरा र भतिजले व्यवसाय सम्हाल्न सुरु गरिसकेका छन् । उनका भतिज दुव्र्यमा रियल इस्टेटको व्यवसाय गर्छन् । छोरा अक्षयले नेपालको व्यवसायमा कार्यकारी भूमिका खेल्न थालेका छन् । ‘अब म सक्रिय बिजनेशमा सहभागी हुँदिन, आफ्नो अनुभव मात्रै सेयर गर्ने हो, अब प्रत्येक युवाहरुलाई मसँग भएको अनुभव ज्ञान र सीप बाँड्न चाहन्छु, अहिले पनि विभिन्न विद्यालय तथा कलेजमा गएर उनीहरुलाई मोटिभेट गरिरहेको छु, गर्न चाहनेलाई लगानी जुटाउन पनि मद्दत गर्छु, मलाई त्यो पैसाको नाफा/व्याज चाहिँदैन, मात्रै दिएको पैसा फिर्ता गरे हुन्छ, अब म समाज सेवा गर्न चाहन्छु, कृषिमै रम्न चाहन्छु,’ उनले भने ।  (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

जसले नेपालमा केबलकार क्रान्ति ल्याए

काठमाडौं । नेपाली पर्यटन व्यवसाय क्षेत्रमा सबैले गर्वका साथ लिने नाम हो लक्ष्मणबाबु श्रेष्ठ । व्यक्ति भौतिक रुपमा रहेपनि वा नरहेपनि, उसले गरेको काम, योगदान र समाजमा छोडेको छाप जीवन्त रहन्छ । जुन कामले ती व्यक्तिहरुको स्मरण जो कोहीले पनि गरिरहन्छन् । हुन त लक्ष्मण बाबु श्रेष्ठको निधन २०७० सालमै भयो । तर, उनको कामले उनलाई जीवन्त तुल्याएको छ । नेपाली पर्यटन व्यवसाय क्षेत्रमा उनले एउटा पदछाप छोडेका छन् । अहिले देशभर केबलकार व्यवसायको लहर छ । ठूूला र चर्चित् व्यवसायीहरुले एकपछि अर्को केबलकार ल्याइरहेका छन् । यो व्यवसायको सुरुवात तिनै लक्ष्मणबाबुले आजभन्दा २५ वर्ष अगाडि अर्थात् सन् १९९८ मा सुरु गरे । कसैले नगरेको काम । सरकारको पनि नजर नपरेको क्षेत्र । लक्ष्मणबाबुको कल्पनामा कसरी आयो होला केबलकार ? यो जिज्ञासा, प्रश्न र चासो तपाईं हामीमा आउनु स्वभाविकै हो । एक कपडा व्यापारीको छोरा । घर गोरखा । कपडा व्यापारकै कारण तनहुँ, चितवन, धादिङ र लमजुङसम्म आवतजावत गर्नु दैनिकी थियो । खासै सडकहरु थिएन । अधिकांश ठाउँमा पैदल जानु पर्ने बाध्यता । सानैमा काठमाडौं पढ्न आए लक्ष्मणबाबु । स्नातकसम्म त्रिचन्द्र कलेजमा पढे । बिचमा जागिर गर्ने सोच पनि उनमा नआएको होइन तर गरेनन् । उनका छोरा राजेशबाबु श्रेष्ठ भन्छन्, ‘बुबामा आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने हुट्हुटी थियो ।’ एकदिन उनी काठमाडौं आउँदै थिए । कुरिनटार नजिकैको रमाइलो डाँडाबाट देखिने प्राकृतिक दृश्यहरूले उनलाई लोभ्यायो । तल त्रिशुली आफ्नै रफ्तारमा बगिरहेको छ । बीचमा सालघारीको हरियाली । आकाशमा बादल । तिनै बादलमा एक ठाउँबाट अर्को ठाउँसम्म लुकामारी गरिरहेका चराचुरुङ्गीहरु । दृश्य मनमोहक लाग्यो । लक्ष्मणको दिमाखमा अनेकौं शब्दहरुले स्थान लिए । उनले सोचे, ‘यो ठाउँबाट मनकामना मन्दिरसम्म रोपवे सञ्चालन गर्न सकियो भने कस्तो हुन्छ होला ?’ किनकी उनले भारतमा पनि रोपवे चल्छन् भन्ने सुनेका थिए । गोरखाबाट मनकामना जान आउन ५/६ घण्टा समय लाग्थ्यो । रोपवे सञ्चालन गर्न सकेमा त्यो समय पनि बचत गर्न सकिने, मान्छेहरुको त भीड लाग्छ होला भन्ने सोच उनीमा आइरहेको थियो । प्राविधिक जाँच गर्न उनले काठमाडौंबाट इञ्जिनियर लिएर मनकामना पुगे । अध्ययन गराए । मनकामनामा कति मान्छेहरु जाने रहेछन् भनेर सर्वेक्षण पनि गराए । अष्ट्रियाबाट स्याटेलाइटमार्फत् ठाउँ हेराए । केबलकारका लागि राम्रो ठाउँ भनेपछि उनमा काम अगाडि बढाउने हिम्मत बढ्यो । त्यसपछि सुरु भए मनकामना केबलकार बनाउने औपचारिक दिनहरु । उद्योग विभागमा लाइसेन्सका लागि गए । विडम्वना, अर्कैले लाइसेन्स लिइसकेको रहेछ । तर, बर्षौसम्म काम नगरेपछि उद्योग विभागले त्यो लाइसेन्स खारेज गरेर लक्ष्मणबाबुलाई लाइसेन्स दियो । त्यतिखेर विभागको महानिर्देशकमा रामविनोद भट्टराई थिए । ‘बुबामा आफ्नै जिल्लामा लगानी गर्ने चाहना थियो, केबलकार बन्ने भएपछि उहाँ धेरै खुसी हुनुहुन्थ्यो तर सुरु गर्दा सबैले लक्ष्मणबाबु बौलायो, अब डुब्छ भन्थे, बैङ्कले पनि पत्याएनन्,’ राजेशबाबु साढे दुई दशक अगाडिको कुरा स्मरण गर्दै भन्छन्, ‘नयाँ काममा जोखिम अवश्य नै हुन्छ, त्यतिबेला त्यो जोखिम नलिएको भए आज सबैले केबलकारमा लक्ष्मणबाबु ट्रेण्ड सेटर हो भनेर चिन्थेनन् होला, हामीलाई अहिले गर्व लाग्छ ।’ त्यतिखेर लक्ष्मणबाबुको प्रोजेक्टलाई नेपाल बैङ्कले पत्यायो । त्यसमा हिमालयन बैङ्कले पनि साथ दियो । निर्माण सुरु भएको १० महिनामै मनकामना केबलकार व्यावसायिक सुरुमा सञ्चालनमा आयो । अर्को वर्षदेखि रेष्टुराँ लगायतका पूर्वाधारहरु निर्माण सुरु भए । ‘केबलकार निर्माण गर्दा अनेकौं समस्या, दुःख र चुनौतीहरु भोगियो, स्थानीयदेखि नीति निर्मातासँग जुध्नु प¥यो, सुरुमा काम गरेपछि दुःख पाइँदो रहेछ तर त्यसको श्रेय पाउँदा र सबैले उदाहरणका रुपमा लिँदा भने पृथक किसिमको आनन्द आउँदो रहेछ,’ मुस्कुराउँदै केबकारका प्रबन्ध निर्देशक राजेशबाबुले भने । त्यसबेला केबलकार सम्बन्धी सरकारको कुनै नीति नियम थिएन । मूल्य अभिवृद्धि कर (भ्याट) छुटको विषयमा कुनै व्यवस्था थिएन । लक्ष्मणबाबुले त्यसका लागि धेरै मिहिनेत गरे । सङ्घर्ष गरे । ‘केबलकारको सामान भन्सारमा आएर रोकियो तर सरकारले भ्याट छुटको विषयमा कुनै निर्णय गरेन, सामान भन्सार नाकामै थियो, संयोगवश त्यतिखेर अर्थसचिव पनि तत्कालीन उद्योग विभागकै महानिर्देशक रामविनोद भट्टराई नै हुनुहुन्थ्यो, पछि धेरै कुराहरु बुझाइसकेपछि बैङ्क ग्यारेन्टीमा सामान आयो,’ केबलकार निर्माणका दिनहरु स्मरण गर्दै राजेशबाबु सुनाउँछन्, एकदिन त सचिवले ऐनमा गरेको व्यवस्था हो परिवर्तन गर्न मिल्दैन भनेपछि बुबाले त्यसो भए तपाईंहरु भएको के काम ? पीए भए पनि काम चलिहाल्थ्यो नी भन्नुभयो, अलि विवाद पनि भयो ।’ भ्याट छुट नदिएकै कारण मनकामना केबलकार र सरकारको मुद्दा पनि चल्यो । अदालतले केबलकार विरुद्ध नै फैसला ग¥यो । पछि कम्पनीले भ्याट ति¥यो । तर, अर्को आर्थिक वर्षदेखि केबुलकारलाई आर्थिक ऐनको भाग ८४ मा राखियो । बजेटमार्फत् भन्सारदर रेट ५ प्रतिशत भएका वस्तुमा ५० प्रतिशत भ्याट छुटको व्यवस्था भयो । आफूहरुले ठूलो मिहिने त गरेकै कारण सरकारले बजेटमा सो व्यवस्था गरेको राजेशबाबु बताउँछन् । अहिले केबलकार निर्माण गर्ने सबैले त्यो छुट पाउने गरेका छन् । लक्ष्मणबाबुले एउटा बाटो देखाएकै कारण देशमा एउटा उत्कृष्ट पर्यटन बढाउने माध्यमका रुपमा केबलकार देखिएको छ । प्रत्येक वर्ष नाफामा साढे दुई दशकको अवधिमा देशमा धेरै उतारचढावहरु आए । विभिन्न आरोह अवरोहरु भए । पछिल्लो समय विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा एक किसिमको सङ्कट ल्यायो । विभिन्न उद्योग व्यवसाय थला परे । पर्यटकीय क्षेत्र सुनसान बने । पर्यटकको आवागमन ठप्प बन्यो । तर, मनकामना केबलकार भने आफ्नै गतिमा छ । यो २४ वर्षको अवधिमा मनकामना जाने न मान्छे घटेका छन् न त कम्पनीको नाफामा नै सङ्कुचन आएको छ । कम्पनी अहिलेसम्म घाटामा छैन । कम्पनीका अनुसार केबलकारमा हालसम्म १ करोड ७० लाख बढी मानिसहरुले यात्रा गरेका छन् । ‘हामीले अहिलेसम्म नोक्सान व्यहोर्नु परेको छैन, सञ्चालनमा ल्याएको ७ वर्षमै ऋण चुक्ता ग¥यौं, अहिले पनि सबै खर्च कटाएर, कर तिरेर ३० प्रतिशत जति नाफा हुन्छ,’ प्रबन्ध निर्देशक श्रेष्ठ भन्छन्, ‘केबलकारसँगै गन्तव्य बनाउन सकियो भने आम्दानी राम्रै गर्न सकिन्छ ।’ केबलकारमा गत मंसिरमा १ लाख २० हजारले यात्रा गरेको उनी बताउँछन् । अहिले पनि दैनिक ३ हजार ५ सय जनाले यात्रा गर्ने गरेका छन् । अहिलेसम्म एक महिनामा सबैभन्दा बढी १२ लाख मानिसले केबलकारबाट यात्रा गरेको रेकर्ड छ । ‘केबलकार मात्रै आकर्षण भएर होइन, गन्तव्य आकर्षण हुनुप¥यो, गन्तव्य राम्रो भएपछि पयर्टक स्वतः जान्छन्, कोरोनामा अरुलाई समस्या भयो, मनकामना केबलकारले राम्रै नाफा ग¥यो, कोभिडपछि ३ लाख पर्यटकले यात्रा गरे,’ राजेशबाबु भन्छन्, ‘डाँडाँको टुप्पो छ भन्दैमा केबलकार परियोजना सफल हुँदैन, केबलकार सफल बनाउनका लागि गन्तव्य बनाउन सक्नु पर्छ ।’ मनकामना दर्शन प्रालिले ४६ करोडको लगानीमा अब मनकामनामै सुविधा सम्पन्न होटल खोल्दैछ भने अर्को ठाउँमा पनि केबलकार निर्माण गर्ने जनाएको छ । नयाँ निर्माण हुुने केबलकारलाई पब्लिकमा लैजाने योजना रहेको पनि उनी सुनाउँछन् । मनकामनाको सेयर भने अहिले दोस्रो बजारमा सूचीकृत गराउने कुनै तयारी नभएको उनले बताए । २५ वर्षअघि कुरिनटारबाट मनकामना मन्दिर जाने केबलकार निर्माण शुरु गर्दा उद्यमी लक्ष्मणबाबु श्रेष्ठलाई धेरैले ‘बौलायो’, ‘डुब्छ’ भन्थे । तर, अहिले उक्त परियोजनालाई पछ्याउँदै देशभर चलेका र बन्दै गरेका केबलकार परियोजना एक दर्जन पुगेका छन् । ‘मनकामनामा सुविधा सम्पन्न होटलहरु नभएकै कारण भीआईपीहरु बसेनन् भन्ने गुनासो आएपछि हामी आफैले ४० बेड क्षमताको होटल निर्माण गर्दैछौं, जसको नाम रिसोर्ट बाई मनकामना केबलकार नाम राखेका छौं, यसमा स्वीमिङ पुल, रेष्टुरेन्ट, कन्फ्रेन्स हल हुनेछ, केबलकारमा आउने कुल मान्छेको ३ प्रतिशत मान्छे होटलमा आए भने होटल राम्रैसँग चल्छ,’ श्रेष्ठले आफ्नो योजना सुनाए । अहिले मनकामना केबलकारको मर्मत र स्तरोन्नतिको काम पनि भइरहेको छ । जसका लागि ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने अझै ४० करोड मर्मतमा लाग्ने कम्पनीको भनाइ छ । कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरेको छ । केबलकारको सुधारका लागि अहिले पनि चरणवद्ध रुपमा काम भइरहेको श्रेष्ठले बताए । ६५ करोड रुपैयाँ लगानीमा सुरु भएको मनकामना केबलकारले अहिले मासिक करोडौं कमाउँछ । गत आर्थिक वर्षमा पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी मनकामना बनेको छ । पर्यटकसँगै स्थानीयको व्यापार बढ्यो मनकामना केबलकार सञ्चालनमा आउँदा स्थानीयहरू आक्रोशित थिए । जसको कारण जग्गा प्राप्ति, जंगल लगायतको विषयमा कम्पनीले धेरै सकस भोग्नु प¥यो । तर, अहिले परिस्थिति बदलिएको छ । मनकामना केबलकारको हाइहाई नगर्ने कोही छैनन् । मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार सञ्चालन गरेपछि स्थानीयहरुको जीवनस्तर सुध्रिएको छ । स्थानीय उत्पादनले बजार पाएको छ । अधिकांश मानिसहरु स्वरोजगार बनेका छन् । धेरैले रोजगारी पाएका छन् । आन्तरिक पर्यटकको घुइँचो छ । ‘आन्तरिक पर्यटक बढाउनमा हामीले धेरै सहयोग गरेका छौं, केबलकार सञ्चालनमा आएपछि राजमार्गमा पनि धेरै होटल/रेष्टुराँहरुखुले, स्थानीय उत्पादनले बजार पाएको छ, कतिपयको उत्पादन मनकामना मन्दिरमै बिक्छ,’ राजेशबाबु भन्छन्, ‘अब हामीले मनकामना धार्मिकसँगै पर्यटकीय गन्तव्य पनि हो है भन्ने सन्देश दिन खोजेका छौं ।’ श्रेष्ठका अनुसार मनकामना केबलकारले मलेखुदेखि आँबुखैरेनी क्षेत्रलाई जोडेको छ । ‘मनकामनाबाट फर्केको मान्छे मलेखुमा माछा खान्छन्, व्यवसाय चम्किएको छ, राजमार्गमै नयाँ–नयाँ रिसोर्ट आएका छन्, धेरैले रोजगारी पाएका छन्,’ उनी भन्छन्, ‘२४ वर्ष अगाडि र आजको मनकामना आकाश पातल फरक छ ।’ मनकामना केबलकार अहिले श्रेष्ठ परिवारको व्यवसायमा मात्र सीमित भएन, स्थानीयको जीवनस्तर विकास, मुग्लिनदेखि नारायणघाट क्षेत्रको व्यापार विस्तारको प्रमुख आधार बनेको छ । देशको आन्तरिक पर्यटनमा सबैभन्दा चलेको गन्तव्य पनि भएको छ । कमाएपछि समाजलाई पनि केही दिनुपर्छ भन्ने मानसिकताका साथ मनकामना दर्शन प्रालिले प्रत्येक वर्ष नाफाको एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दै आएको छ । कम्पनीले एक प्रतिशत शहिदलखन गाउँपालिका र एक प्रतिशत इच्छामनकामना गाउँपालिका भित्रका केही वडाहरुमा खर्च गरिरहेको छ । श्रेष्ठ परिवारले केबलकारसँगै निर्माण, हाइड्रोपावर र दुध प्रशोधन उद्योगमा ठूलो लगानी गरेको छ । चितवन मिल्क आएपछि नेपालमा ‘मिल्क होलिडे’ को नै अन्त्य भएको उनी बताउँछन् । अब भएकै व्यवसायलाई विस्तार गरेर अगाडि बढ्ने सोचमा उनको परिवार छ । (देशविकास पत्रिकाको  वर्षअङ्कबाट) सम्बन्धित सामग्री : गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ

चार दशक अगाडि देशमा बैङ्कर पाउन सकस थियो । बैङ्क तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैङ्कले पनि चार्टर्ड एकाउन्टेन्ट (सीए) पाउन मुस्किल थियो । मैले भारतबाट सीए गरेँ । सायद म नेपालमा सीए गर्नेमध्ये १२/१३ नम्बरमा पर्छु । त्यतिखेर नेपालमा सीएको धेरै ठूलो माग थियो । सन् १९७८ मा नेपाल राष्ट्र बैङ्कले सीएका लागि दुई जना माग गरेको थियो । तर, एउटा पनि आवेदन परेन । मेरो बुबाको एउटै चाहना मलाई सरकारी जागिरे भएको हेर्ने थियो । नेपाल राष्ट्र बैङ्क वा अर्थ मन्त्रालयमा जागिर खाएको हेर्ने उहाँको इच्छा थियो । त्यतिखेर नेपाल राष्ट्र बैङ्कको गभर्नर थिए कुल शेखर शर्मा । उहाँ मलाई नेपाल राष्ट्र बैङ्कमा आवद्ध गराउनका लागि धेरै प्रयास गर्नु भयो । म पनि नेपाल राष्ट्र बैङ्कमा काम गरेर दक्ष बन्न चाहन्थेँ । बुबाको गभर्नर शर्मासँग राम्रो सम्बन्ध थियो । बुबासँग सल्लाह गरेर गभर्नरले धेरै प्रयास गरेपछि सन् १९७८ मा नेपाल राष्ट्र बैङ्कमा जागिर सुरु गरेँ । मेरो मासिक तलब १२७५ रुपैयाँ थियो । राष्ट्र बैङ्कमा काम गर्दै गर्दा म अन्तर्राष्ट्रिय वित्त कोष (आईएमएफ) मा पनि काम गर्न गएँ । त्यहाँ काम गर्ने अवसर पाएँ । त्यतिसम्म धेरै अनुभव बटुलिसकेको थिएँ । मैले त्यसअघि नै नेपालमा निजी क्षेत्रको बैङ्क खोल्नु पर्छ भन्ने सोचिसकेको थिएँ । नेपाल राष्ट्र बैङ्कमा काम गर्दैगर्दा मलाई बैङ्क खोल्ने इच्छा लाग्यो । त्यसका लागि प्रक्रिया पनि सुरु गरेँ । विदेशी लगानीकर्ताको लगानीमा नेपालमा बैङ्क खोल्न सुरु भइसकेको थियो । विदेशी लगानीसहितको ग्रीनलेज बैङ्क र इन्डोस्वेज बैङ्क खुलिसकेका थिए । नेपाल बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क पहिले नै खुलिसकेका थिए । अमेरिकामा ६ महिना काम गर्दा धेरै अनुभव लिइसकेको थिएँ । धेरैसँग चिनजान पनि भइसकेको थियो । बैङ्क खोल्ने विषयमा राष्ट्र बैङ्ककै साथीहरुसँग पनि सल्लाह सुझाव लिएँ । उनीहरुले पनि अगाडि बढ, राम्रो योजना छ भनेर मलाई काम गर्न प्रोत्साहन गरे । उनीहरुले राष्ट्र बैङ्कमै काम गरेर त्यसको प्रक्रिया गर्न सकिँदैन बिदा लिएर काम गर भनेपछि मैले ६ महिनाको बिदा लिएँ । बिदा स्वीकृत पनि भयो । यस विषयमा मैले अर्थमन्त्री भरत बहादुर प्रधानसँग कुरा गरेँ । उहाँले पनि तपाईं गर्नुहुन्छ भने हामी लाइसेन्स दिन्छौं भन्नुभयो । उहाँले ‘ग्रीन सिग्नल’ दिनु भयो । राष्ट्र बैङ्कबाट पास भएर अर्थमन्त्रालय गयो । अर्थमन्त्रालय गएपछि पनि पास भयो । त्यो बेलामा सबै विषयको ‘रेगुलेट’ दरबारबाट हुन्थ्यो । दरबारमा गइसकेपछि केही जवाफ आएन । फाइल अड्कियो । वि.सं. २०४६/४७ मा जनआन्दोलन भयो । आन्दोलन भएपछि केही परिवर्तनको आभास भयो । रामशरण महत र महेश आचार्य अर्थमन्त्रालमा सल्लाहकार भएर आउनु भयो । महतजीसँग अमेरिकामा हुँदा चिनजान थियो । बैङ्कको लाइसेन्सको विषयमा छलफल गरेँ । उहाँले लाइसेन्स दिनका लागि प्रतिवद्धता जनाउनु भयो । त्यसबेला म वाणिज्य बैङ्कमा काम गरिरहेको थिएँ । अर्थमन्त्रीले त्यतिखेर राष्ट्रिय वाणिज्य बैङ्कको महाप्रबन्धका लागि काम गर्ने आग्रह गरेपछि मैले वाणिज्य बैङ्कमा काम सुरु गरिसकेको थिएँ । वाणिज्य बैङ्कमा बसेर निजी बैङ्कका लागि काम गर्न मिलेन । मैले बैङ्क छोड्न पनि मिलेन । अगाडिका फाइलहरु थन्किसकेका थिए । फाइल फेरि बनाउनु पर्ने भयो । फेरि बनाएर पठाउँदा एक वर्ष समय लाग्यो । अर्थ मन्त्रालयमा हिमालयन बैङ्क प्रस्ताव अगाडि बढ्यो । मैले वाणिज्य बैङ्कबाट राजीनामा दिएँ । त्यतिखेर अर्थ राज्यमन्त्री महेश आचार्य हुनुहुन्थ्यो । तपाईंहरु जस्तो मान्छेले हामीलाई सहयोग गर्नुपर्नेमा राजीनामा किन दिएको भनेर मसँग रिसाउनु पनि भयो । हिमालयन बैङ्कमा मेरो परिवारको सेयर हुन्छ, म वाणिज्य बैङ्कमा बस्यो भने स्वार्थ बाँझिन्छ भनेर कन्भिन्स गरेपछि उहाँ सहमत हुनुभयो । राजीनामा स्वीकृत गर्नु भयो । त्यसपछि जन्मियो हिमालयन बैङ्क हिमालयन बैङ्क नेपालीहरुले नै खोलेको र नेपालीले नै नेतृत्व गरेको निजी क्षेत्रको पहिलो बैङ्क हो । नेपाल राष्ट्र बैङ्कले बैङ्क खोल्दा सबै समुदायलाई समेट्न भनेको थियो । त्यसैले पनि अहिले हिमालयन बैङ्कमा सबै समुदायका व्यक्तिहरु सेयरधनीका रुपमा हुनुहुन्छ । हिमालयन बैङ्क एउटा मात्रै बैङ्क हो जसमा सबै समुदायको लगानी छ । त्यसपछि अरु बैङ्कहरु पनि लाइसेन्सका लागि राष्ट्र बैङ्क गए । हिमालयन बैङ्क स्थापना भएपछि नेपाल एसबिआई, एभरेष्ट, बैङ्क अफ काठमाण्डू लगायतका बैङ्क स्थापना भए । लाइसेन्सका लागि राष्ट्र बैङ्क जानेको भीड बढ्यो । दुई/दुई वर्षमा लाइसेन्स दिएको भए मोनोपोली हुन्थेन । एकै वर्ष ८/१० वटा बैङ्क आए । जसले गर्दा भद्रगोल भयो । बैङ्कहरुबीच स्वस्थ प्रतिस्पर्धाभन्दा पनि अस्वस्थ प्रतिस्पर्धा बढ्यो । प्रतिस्पर्धा हुनु राम्रो हो तर नचाहिने प्रतिस्पर्धा हुनु हुँदैन । नेपाली बैंकिङ अभ्यास ८/१० वर्ष राम्रो भएको थियो । सुरुमा राष्ट्र बैङ्कले जे गरेको थियो सहि थियो । तर, विस्तारै बैङ्कको लाइसेन्सलगायत अन्य विषयमा पनि राजनीतिक हस्तक्षेप बढ्न थाल्यो । सन् १९९२ मा नेपालीसँग धेरै पैसा नै थिएन । त्यतिखेर जो कोहीलाई १ करोड निकाल्न पनि सकस हुन्थ्यो । सुरुमा हिमालयन बैङ्कको पूँजी १२ करोड रुपैयाँको थियो । १२ करोड रुपैयाँ जारी पुँजी भनेर चुक्ता पुँजी ६ करोड रुपैयाँबाट सुरु गरेका हौं । त्यसमा प्रमोटरहरुको ३ करोड थियो । अर्थमन्त्रालयका अधिकारीहरुले ५१ प्रतिशत दिनु हुँदैन भनेका थिए । मैले उनीहरुलाई कन्भिन्स गरेपछि उनीहरुले दिन मान्नु भयो । हिमालयन बैङ्क सञ्चालन गर्दा मैले मेरो सम्पत्ति बिक्री गरेँ । भैसेपाटीको ४० रोपनी जग्गा बेचेँ । हेटौंडाको डेढ बिघा जग्गा बिक्री गरेँ । त्यो सबै २७ लाखमा बिक्री गरेको थिएँ । अहिले त्यो सम्पत्ति राखेको भए आज मेरो बैङ्कको सेयरभन्दा २० गुणा माथि हुन्थ्यो । तर पनि त्यो बेला मेरो त्यो सही निर्णय थियो । सन् १९९२ अगाडि नै मैले हबिब् बैङ्क ल्याएको थिएँ । मैले जुन सेयर होल्डर ल्याएँ, उहाँहरुलाई हाम्रो सेयर लकिङ हुनुपर्छ, ५ वर्षभित्र तपाईंले बेच्न पाउनु हुन्न भनेर ‘जेन्टलमेन एग्रिमेन्ट’ गराएँ । त्यतिखेर त्यस विषयमा नियम कानुन पनि खासै थिएन । पछि राष्ट्र बैङ्कले त्यसमै चढेर संसारमा नभएको नियम बनायो । प्रमोटर सेयरमा अनिश्चितका लागि लकिङ पिरियड तोक्यो । ३० वर्षसम्म प्रमोटर भएर बस्नु पर्ने नीति कुनै पनि ठाउँमा छैन । प्रमोटरले बैङ्कबाट बाहिरिन खोजेको अवस्थामा जान सक्नु पर्छ । लकिङको व्यवस्था भए पनि केही निश्चित समयको लागि हुनु पर्छ । म हिमालयन बैङ्कमा कार्यकारी निर्देशक थिएँ । कार्यकारी निर्देशकको कार्यकाल हुन्थ्यो । हमालयन बैङ्क सञ्चालन भएको ८ वर्षपछि मैले छोड्ने निर्णय गरेँ । तर, सञ्चालक समितिले मानेन । त्यतिखेर विकास बैङ्क वा पूर्वाधार बैङ्कमा काम गर्ने मेरो सोच थियो । तर, बैङ्कको सञ्चालक समितिले एक कार्यकाल पुनः गर्नुपर्ने भनेपछि काम गरेँ । साढे ११ वर्ष हिमालयन बैङ्कमा काम गरेपछि बैङ्क छोडेँ । हिमालयन बैङ्क खोलेर नेपालीले पनि बैङ्क खोल्न सक्दो रहेछ । नेपालीले पनि बैङ्क चलाउन सक्दो रहेछ भन्ने सन्देश मैले दिन सकेँ । यसमा म गर्व गर्छु । बैङ्कमा ६० प्रतिशत सेयर नेपालीको थियो । प्रतिफलको हिसाबमा पनि अगाडि देखियौं । यो नेपाली बैङ्करका लागि राम्रो हो । इन्भेष्टमेन्ट बैङ्कमा अप्रत्यासित प्रवेश हिमालयन बैङ्क छोडेको पछिल्लो दिन ठमेलमा एउटा कार्यक्रममा गएको थिएँ । ठमेलमा भएको कार्यक्रममा इन्डोस्वेज बैङ्कका कार्यकारी निर्देशकले मलाई आफु बैङ्कबाट बाहिरिने कुरा राख्नु भयो । उहाँले मलाई सेयर खरिद गर्न आग्रह गर्नुभयो । मैले प्रतिसेयर २८० मा खरिद गर्न सकिने बताएँ । उहाँले ३ सयमा दिनु भनेपछि कुरा मिल्यो । त्यतिखेर बैङ्कको सेयर मूल्य ६ सय रुपैयाँ थियो । सन् २००२ बाट आफ्नो सेयर बिक्री गरेर सो समूह बाहिरियो । हामीले पछि नेपाल इन्भेष्टमेन्ट बैङ्क नाम राख्यौं । फ्रेन्चले छोड्नुको कारण फ्रान्सको केन्द्रीय बैङ्कले नेपाल, बंगलादेश, श्रीलंका लगायतका देशको बैंकिङ बजारलाई जोखिमपूर्ण ठहर गर्याे, धेरै कडा नियमन बनायो । धेरै प्रोभिजनिङ व्यवस्था गरिदियो । उनीहरुले जोखिम देखे र नेपाल छोड्ने निर्णय गरे । अहिले बैङ्कहरुको नाफा घटिरहेको छ । धेरै बैङ्कले सम्पत्ति बेचेर नाफा देखाएका छन् । बैङ्कहरुको औसत प्रतिफल ११ प्रतिशत मात्रै छ । व्यवसायमा जोखिम लिन सक्नुपर्छ । तपाईंले एक पाइँला अगाडि बढाउँदा अर्कैले तीन पाइला अगाडि बढाउन सक्छ । भएको पैसालाई दोब्बर–तेब्बर बनाएर काम गर्न सकिन्छ । बिजनेशम्यान जोखिम लिन्छन् । जसले जोखिम लिएर नयाँ आइडियामा लगानी गर्छ उसैले पैसा कमाउँछ । मैले हिमालयन बैङ्क छोडेर इन्डोस्वेज बैङ्क लिँदै गर्दा यो बैङ्कको बिजनेश हिमालयन बैङ्कको तुलनामा एक तिहाई मात्र थियो । मैले बैङ्कको विस्तार गर्न सुरु गरेँ । किनकी मसँग भिजन थियो । बिजनेशसँग पुँजी वृद्धिमा जोड दियौं । धेरै पटक हकप्रद हालियो । सुरुमा धेरै अभाव खेप्नु पर्याे । जग्गा/मोटर बेचेर सेयर किनियो । त्यतिखेर नगद हुन्थेन । राष्ट्र बैङ्कले ८ अर्बको पुँजीको व्यवस्था गर्दा हामीले करिब ७ अर्ब बनाईसकेका थियौं । कतिपयले मलाई राष्ट्र बैङ्कसँग लबिङ गरेर बैङ्कको पुँजी ८ अर्ब पुर्याउन लगायो भनेर आरोप पनि लगाए । तर, मैले रिजर्भ र पुँजी गरेर १० अर्ब रुपैयाँ हुनु पर्ने व्यवस्था हुनुपर्छ भन्ने कुरा राखेको थिएँ । पछि पुँजी मात्रै ८ अर्ब बनाउनु पर्ने नीति आएको देखेर म समेत सरप्राइज भएको थिएँ । धेरै साथीहरु बैङ्कमा लगानी गर्ने इच्छा देखाउनु हुन्छ । ७/८ प्रतिशत प्रतिफल भए पनि हुन्छ भन्नुहुन्छ । तर, गाह्रो छ । हिमालयन बैङ्कमा हुँदा मेरो श्रीमतीले कहिल्यै लाभांश देखिएन भनेर गुनासो गर्थिन् । स्थापनापछिको ५/६ वर्ष लाभांश दिन सकेको थिएन । बिजनेसमा आजको भोलि पैसा कमाउन सकिन्न । पर्खिनु पर्छ । मैले जलविद्युतमा पनि लगानी गरेको छु । त्यसमा पनि प्रतिफल अहिलेसम्म आएको छैन । म पर्खिरहेको छु । इन्भेष्टमेन्ट बैङ्कहरुले हालसम्म उच्च रुपमा ४० प्रतिशतसम्म लाभांश दिएको छ । एउटा नर्मल बिजनेसम्यानले न्यूनतम २० प्रतिशत प्रतिफल हेर्छ । सुरुमा हाम्रो बैङ्कको औसत २५ प्रतिशत प्रतिफल थियो । अहिले सबै बैङ्कहरुको औसत प्रतिफल ११/१२ प्रतिशत छ । अहिले लगानीकर्ताहरु बोनस सेयरमा खुसी हुन्छन् । बोनस सेयर दिएपछि रिटर्न घट्छ । सेयर मूल्य घट्छ । यस विषयमा हामीले सोच्नुपर्छ । विदेशमा नगद बढी दिने अभ्यास छ । इन्भेष्टमेन्ट बैङ्क सधैं टप थ्रीमै रहिरह्यो । अन्य धेरै बैङ्क मर्ज भए । त्यसकारण पनि हामी अलि तल रह्यौं । कर्मचारीका लागि उत्कृृष्ट बैङ्क नेपाल इन्भेष्टमेन्ट बैङ्क कर्पोरेट बैंकिङमा बढी फोकस छ । मेगा बैङ्कसँग आज (बुधबार) एकीकृत कारोबार हुँदैछ । अब नेपाल इन्भेष्टमेन्ट मेगाच बैंक एक उत्कृष्ट बैङ्कका रुपमा देखिन्छ । हामी कर्पोरेट बिजनेस गर्ने बैङ्क हो । मेगाले एसएमईलाई बढी फोकस गर्छ । यो हाम्रो लागि राम्रो कम्बिनेसन हुन सक्छ । शाखाको हिसाबले पनि हामी राम्रो छौं । सिजर्नी आउँछ भन्नेमा म विश्वस्त छु । कुनैमा नम्बर वान, कुनैमा दोस्रो र कुनैमा तेस्रो नम्बरमा छौं । मर्जरपछि पनि उत्कृष्ट हुने हाम्रो लक्ष्य रहन्छ । इन्भेष्टमेन्ट बैङ्कमा कर्मचारीको तलब तथा अन्य सेवा सुविधा राम्रो छ । हाम्रो बैङ्कको सञ्चालन नाफा कम छ । मर्जरपछि अहिलेको भन्दा राम्रो प्रतिफल हुन्छ । इक्विटीमा १५ प्रतिशतभन्दा बढी रिटर्न हुन्छ । यो बैङ्कले सेयरधनीलाई ठीकै प्रतिफल दिएको छ । अहिले धेरै बैङ्कले यति कमायौं भनेर हल्ला गर्नु हुन्छ । १ अर्ब कमाउने बित्तिकै बैङ्कले यति कमायो भनेर हल्ला हुन्छ । लगानी ३० अर्ब हुन्छ तर त्यसमा १ अर्ब कमायो भने पनि हल्ला फैलिन्छ । बैङ्कहरु पारदर्शी छन् । इक्विटीमा प्रतिफल हेर्नुपर्छ । बिजनेसम्यानले पनि बुझ्नु पर्छ । बैङ्करले पनि बुझाउन सक्नु पर्छ । अझैं बैंकिङमा रहन्छु मेरो करियर नै बैंकिङदेखि सुरु भएको हो । रिटायर्ड पनि यही पेशाबाट हुन्छु । हुन त मैले आजभन्दा १० वर्ष अगाडि नै बैङ्कको सीईओ छोडेको हुँ । तर, म अझै काम गर्न चाहन्छु । मानिसको सबैभन्दा प्रोडक्टिभ उमेर भनेको ६० देखि ७० वर्ष हो । त्यसपछि दोस्रो सबैभन्दा प्रोडक्टिभ उमेर ७० देखि ८० वर्ष हो । यो अध्ययनले पुष्टि गरेको तथ्य हो, मेरो भनाई होइन । अहिले म ६८ वर्षको मात्रै भएँ । अझै १०/१२ वर्ष राम्रोसँग काम गर्न सक्छु । अब पछि के कसरी अगाडि बढ्न सकिन्छ समय र परिस्थितिले निर्धारण गर्दै जानेछ । म बैङ्कको आम्दानीसँग निर्भर छैन । विस्तारै हामीले लगानीमा विविधीकरण गर्दै गयौं । हाइड्रोपावर, होटल, रिर्सोट, रियलस्टेट लगायत क्षेत्रमा लगानी गरिरहेका छौं । मसँग नेटवर्क छ । ज्ञान छ । सबै क्षेत्रमा सम्भावना छ । मिहिनेत गर्नु पर्छ । बिजनेसम्यानले ६/७ वर्षसम्म पर्खिनु पर्छ । बैङ्कमा धेरै मिहिनेत छ तर पनि रिटर्न ११/१२ प्रतिशत मात्रै छ । जुनसुकै बिजनेसमा पनि मिहिनेत चाहिन्छ । मैले पनि कुनै दिन बुबासँग पैसा लिनु पर्थ्यो । १२७५ रुपैयाँमा परिवार पाल्नु पथ्र्यो । एक रातमै धनी बन्छु भन्ने सपना कसैले देख्नु हुँदैन । म मैले गरेको कामप्रति सन्तुष्ट छु । मान्छेले मलाई विश्वास गरेका छन् । धेरैलाई मैले सहयोग गरेको छु । सन्तुष्टि पैसा कमाएर प्राप्त हुँदैन । मैले जग्गा बेचेर काम गर्नु त्यतिबेलाको लागि राम्रो निर्णय थियो । व्यवसायमा जोखिम लिन सक्नु पर्छ । जोखिम नलिएर कमाउन सकिँदैन । नेटवर्क निर्माण गर्नु पर्छ । मान्छेलाई चिन्नु पर्छ । तब मात्रै व्यक्ति सफल बन्न सक्छ । मैले त्यतिखेर जग्गा बेचेर बैङ्क नखोलेको भए बैंकिङमा एक पायोनियर बैङ्कर भनेर नचिनिन पनि सक्थेँ । प्रस्तुती : सन्तोष रोकाया (पाँडे नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन् । देशविकास पत्रिकाको  वर्षअङ्कबाट) सम्बन्धित सामग्री :  सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

अब कतै सुनिने छैन ‘बैंक अफ काठमाण्डू’ (भिडियोसहित)

काठमाडौं । कुनै बेला अब्बल र अग्रणी बैंकका रुपमा परिचित बैंक अफ काठमाण्डू (बिओके) अब सदाका लागि नसुनिने नाम बनेको छ । सोमबार ग्लोबल आइएमई बैंककै नामबाट दुई बैंकबीच एकीकृत कारोबार भएपछि बैंक अफ काठमाण्डू सदाका लागि नसुनिने नाम बनेको हो । मुलुकमा ८/१० वटा मात्रै बैंक थिए । जतिखेर बैंक खोल्नु भनेको ठूलो जोखिम मोल्नुको विषयका रुपमा लिइन्थ्यो । भएका बैंकहरुमा पनि विदेशी लगानी थियो । कतिपय बैंकको उच्च व्यवस्थापन नै विदेशबाट ल्याइन्थ्यो । त्यतिखेरै स्वदेशी पूर्ण लगानीमा स्थापना भएको बैंकमध्ये एक हो बैंक अफ काठमाण्डू । पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका चौथो गभर्नर स्वर्गीय यादवप्रसाद पन्तको नेतृत्वमा स्थापना भएको थियो बिओके । त्यतिखेर पन्तसँगै डम्बर बहादुर मल्ल, दिपक बोहरा लगायत चार/पाँच जना मिलेर बैंक अफ काठमाण्डू खोलेका थिए । त्यतिखेर थाइल्याण्डको सियाम कमर्सियल बैंकसँग ज्वाइन्ट भेन्चरका रुपमा सुरु भएको बिओकेको सुरुवाती दिनहरु निकै सुखद रहे । बिजनेसमा सर्वोत्कृष्ट नै रह्यो । टीम व्यवसायिक थियो । फरक–फरक क्षेत्रमा कार्यानुभव भएकाहरुको संलग्नता बैंकमा थियो । सञ्चालक सबै नीति निर्माण तहमा काम गरेकाहरु थिए । त्यसैले पनि  बैंक अफ काठमाण्डू एक अब्बल बैंकका रुपमा परिचित थियो । वि.स २०५६ देखि २०६६ सालसम्म बैंकको बिजनेस राम्रै भयो । तर, पछि राष्ट्र बैंकले एकपछि अर्को बैंकलाई लाइसेन्स दियो । बैंकिङ बजार अस्वस्थ रुपमा अगाडि बढ्यो । व्यवसायिक रुपमा चलेको बैंक अफ काठमाण्डूलाई च्याउ जस्ता उम्रेका बैंकहरुका अगाडि केही लागेन । बैंकले खासै बिजनेस गर्न सकेन । बैंक स्थीर बन्दै अगाडि बढ्यो । त्यही बीचमा बैंक अफ काठमाण्डूका सञ्चालकहरुबीच विवाद बल्झियो । विवाद राष्ट्र बैंकसम्म पुग्यो । अकिकांश सञ्चालकको माग बैंकमा सीईओका रुमा काम गरिरहेका राधेश पन्तलाई हटाउनु थियो । १० वर्षसम्म बिओकेको प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशकको रुपमा राधेश पन्तले पनि काम गरेका थिए । जो यादवप्रसाद पन्तका छोरा हुन् । उनले सन् २००० देखि २००९ सम्म बिओकेको सीईओका रुपमा काम गरे । अहिले उनै पन्तले दुई बैंकबीच मर्जर सफल पार्नका लागि मर्जर समितिको संयोजक नै भएर काम गरे । बैंकमा सञ्चालकहरुबीच विवाद बढेको विषयले राष्ट्र बैंकसम्म प्रवेश पायो । राष्ट्र बैंकले मिल्न भन्यो । तर, बैंक सञ्चालकहरु नमिलेपछि राष्ट्र बैंकले सञ्चालक समिति विघटन गर्यो । र, आफ्नो पकडमा बैंकलाई लियो । ६ महिनापछि वार्षिक साधारणसभा गरेर नयाँ समिति आयो । राधेश पन्त बैंकको सीईओबाट बाहिरिए । बैंकले राम्रो नेतृत्व पाएन । सन् २०१० देखि नै हो बैंकले खासै प्रगति गर्न नसकेको । बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढेपछि राष्ट्र बैंकले मर्जरको नीति अगाडि सार्यो । त्यो नीतिको अनुसरण गर्दै बिओकेले २०७३ सालमा लुम्बिनी बैंकसँग मर्जर गर्यो । नाम बैंक अफ काठमाण्डू लुम्बिनी रह्यो । पछि लुम्बिनी हटाएर बैंक अफ काठमाण्डू मात्रै राखियो । लुम्बिनीसँग मर्जर गरेपछि पनि बिओकेका लागि सुखद रहेन । न लुम्बिनीबाट आएका सञ्चालकहरुले बैंकप्रति अपनत्व अपनाए नत बिओकेकै सञ्चालकले आफ्नो बैंक भएको महसुस गरे । बैंक झन-झन कमजोर बन्दै गयो । तर, बिओकेसँग तीन दशककको इतिहास छ । लामो अनुभव छ । र, विभिन्न समयमा भोगेका विभिन्न आरोह र अवरोहहरु छन् । करिब तीन दशक इतिहास बोकेको यो बैंकको नाम अब सदाका लागि सकिएको छ । बिओके भनेपछि धेरैले स्वर्गीय यादव प्रसाद पन्तलाई सम्झन्छन् । एक अब्बल र सफल अर्थशास्त्रीका रुपमा परिचित पन्तले नेपाली अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका छन् । तर, विडम्वना, आज उनै पन्तले स्थापना गरेको बैंकको नाम रहेन तर खुसीको कुरा उनै पन्तले स्थापना गरेको बैंक ग्लोबल आइएमईसँग मर्जर गरेर देशकै ठूलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंकसँग देश विदेशको बिजनेसको आइडिया छ । एग्रेसिभ बिजनेस गर्न सक्ने कौशलता छ । विज्ञ व्यवस्थापन छ । यो बैंकसँग आफ्नै किसिमको छवि छ । यी विषयहरुको समिश्रणमा सिनर्जी सिर्जना गर्ने रणनीति अब नयाँ बनेको ग्लोबल आइएमई बैंकको व्यवस्थापनमा छ । स्वर्गीय पन्तका छोरा राधेश पन्त मर्जर कमिटिको संयोजक रहेर काम गरे । उनैले बिओकेलाई ग्लोबल आइएमईसँग मर्ज गराउन महत्वपूर्ण भूमिका खेले । ‘बिओकेको नाम हटेको प्रति कुनै दुःख छैन, बुबाले एक किसिमको दुःख गरेर बैंक स्थापना गर्नु भयो, नाम हट्नु ठूलो कुरा होइन तर काम राम्रो हुनु पर्छ, मेरै सक्रियतामा बैंक आज देशको ठूलो भएको छ, मलाई यसमै गर्व छ,’ पन्तले विकासन्युजसँग भने । उनले बिओकेको २८ वर्ष एक महत्वपूर्ण इतिहास भएको बताउँदै त्यो इतिहास नमेटिएको धारणा राखे । ‘हाम्रो नाम मात्रै हटेको हो, सञ्चालकहरु छौं, सेयरधनीहरु छौं, ग्लोबलको आफ्नै किसिमको प्रोफाइल छ, रेमिट्यान्सको बिजनेस पनि छ, नेटवर्क राम्रो छ, बिओकेसँग तीन दशकको इतिहास छ, यसले पनि सिनर्जी आउँछ, त्यसैले पनि हामी नाम हटेकोमा दुखी छैनौं,’ उनले भने । नियामकको कारण नै नाम हटेको उनको धारणा छ । मर्जर समितिले ग्लोबल आइएमई बिओके लिमिटेड भनेर पठाए पनि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिँदा ग्लोबल आइएमई बैंक भनेर पठाउँदा त्यसमै सहमत हुनु पर्ने बाध्यता आएको उनको भनाइ छ । यस्तै, बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठ नाम हटेकोमा पक्कै पनि दुखी भएको धारणा राख्छन् । ‘हुन त देशकै ठूलो बैंक बन्दा गर्व लागेको छ, हामीले बिओकेको पनि नाममा आओस् भन्ने सोचका थियौं तर आएन, तीन दशकको इतिहास भएको बैंकको नाम मेटिँदा अवश्य नै दुःख लाग्छ , भोलिदेखि आफ्नै बैंकको नाम सुनिने छैन, ग्लोबल बैंक ठूलो हुनुमा हाम्रो पनि योगदान छ, त्यसमै हामी खुसी छौं,’ उनले भने । उनले दुवै बैंक एक भएपछि कर्मचारी व्यवस्थापनमा ठूलो समस्या आउने भएपनि त्यसमा दुवै बैंक सचेत भएको बताए । विभिन्न समयमा विभिन्न किसिमका छलफल गरेर यस विषयमा कुरा भएको बताउँदै ग्लोबल आइएमई बैंकका कर्मचारीको व्यवस्थापनको समस्या नआउने उनको भनाइ छ । यस्तै, बिओकेका सञ्चालक गोविन्द्र प्रसाद शर्मा पनि नाम हटेकोमा खासै दुखी नभएको धारणा राख्छन् । ‘बोर्डमा नाम हुँदा अस्तित्व नै मेटिन पुगेको भन्न मिल्दैन, अब साइन बोर्ड रहेन तर यस बैंकको मान-प्रतिष्ठा ग्राहक संस्थापकको लगाव यो बैंकसँग रही रहन्छ, नाम भन्दा पनि कामले हैसियत निर्धारण गर्छ, यसमा हाम्रो चित्त दुखेको छैन,’ उनले भने । भिडियो हेर्न यहाँ थिच्नुस् ।

चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल अबको तीन महिनापछि अध्यक्ष हुँदैछन् । यो त उनले पछिल्लो समय पाउँदै गरेको जिम्मेवारी हो, नयाँ पहिचान हो । त्यसभन्दा पनि उनको छुट्टै पहिचान छ- ट्रेन्ड सेटर उद्यमी । नेपालको सबैभन्दा पहिलो र अग्रणी रेमिट्यान्स कम्पनी आइएमई रेमिटका संस्थापक अध्यक्ष । नेपालको सबैभन्दा ठूलो बैङ्क ग्लोबल आइएमई बैङ्कका अध्यक्ष । नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत आधा दर्जन बढी कम्पनीका संस्थापक । दुर्गम पहाडमा जन्मेको एउटा निम्नमध्यम वर्गीय किसानको छोरो । त्यो भन्दा पनि १६ वर्षको उमेरमा आफ्नो बुबा गुमाएको व्यक्तिले आफ्नो व्यक्तिगत पहल र मिहिनेतबाट कसरी सबैलाई लोभ्याउने नतिजा निकालिरहेको छ ? यो प्रोफाइल, पर्सनालिटी र पोर्टफोलियो बनाउन कति समय लाग्यो होला ? उनले कसरी यति ठूलो सफलता प्राप्त गरे ? एकपछि अर्को सफलता चुम्दै गरेका व्यक्तिको बारेमा चासो, जिज्ञासा र कौतुहलता रहनु स्वभाविक नै हो । वि.सं. २०२२ सालमा बाग्लुङको अमलाचौरमा जन्मिएका ढकाल आर्थिक रुपमा एक निम्न मध्यम वर्गीय परिवारमा हुर्किए । विडम्वना, उनी १६ वर्षको हुँदा नै बुबाको निधन भयो । जेठो छोरा भएकोले पनि अब उनको काँधमा सम्पूर्ण परिवारको जिम्मेवारी आयो । पढाइसँगै उनले घरायसी काममा पनि ध्यान दिनुपर्ने भयो । मैले गाउँघरमा नगरेको कुनै काम छैन । डोको, नाम्लो, डोरी आफै बनाउनेदेखि खेतीपातीका सबै काम गर्दथे, मलाई अहिले पनि सबै काम गर्न आउँछ’ उनले विगत स्मरण गर्दैै भने जसरी भए पनि आमा र भाइबहिनीको हेरचाह गर्नु थियो, घरको अभाव टार्नकै लागि काठमाडौं आएँ ।’ पढाइ पनि गर्ने र कमाइ पनि गर्ने भन्ने उद्देश्यका साथ उनी काठमाडौं आए । सुरुमा पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा काम गरे । पढ्दै अगाडि बढ्दै गए । पछि राष्ट्रिय वाणिज्य बैङ्कमा नाम निकाले । राष्ट्रिय वाणिज्य बैङ्कमा सहायक लेखापालको जागिर सुरु गरे । त्यहाँ करिब चार वर्ष काम गरेपछि व्यवसाय गर्ने उनमा चाहना आयो । वि.स २०४८ सालतिर कोल्ड स्टोर स्थापना गरे । त्यसपछि कार्गो व्यवसायमा हात हाले । व्यवसाय विस्तार गर्ने सोचका साथ बैङ्कबाट ऋण लिन खोजे । तर, आफू काम गर्ने बैङ्कले पत्याएन । उल्टै बैङ्कले उनलाई ऋण चाहिएमा जागिर छोड्नु पर्ने बतायो । व्यवसाय गर्ने उनमा हुटहुटी जन्मिसकेको थियो । व्यावसायिक जोशका साथ उनले जागिर छोडे । ‘साथमा भाइ हेमराज ढकाल छन्, उमेरले म भन्दा १० वर्ष कान्छो तर ऊ मेरो बिजनेसको सारथी हो, सानैदेखि सँगै काम ग¥यौं, धेरै मिहिनेत ग¥यौं, अहिले ठूलो टिम बनेको छ, मभन्दा बढी मिहिनेत मेरो टीमले गर्छ,’ उनी भन्छन्, ‘मेरो सफलतामा मेरो टीमको भूमिका महत्वपूर्ण छ ।’ उनले पछि कार्गो व्यवसाय पनि गरे । कार्गो व्यवसायकै सिलसिलामा विभिन्न देश पनि गए । उनले विस्तारै व्यावसायिक सफलता पाउन थाले । मान्छेहरुले पनि चिन्न थाले । त्यसपछि जन्मियो आइएमई अहिले धेरैले रेमिट्यान्स पठाउनुलाई आइएमई गर्नु भन्छन् । उनै चन्द्र ढकालले सुरु गरेका हुन् आइएमई रेमिट । त्यतिबेला नेपालीहरुले विदेशमा कमाएको पैसा पठाउने औपचारिक माध्यम थिएन । अनौपचारिक माध्यमबाट पैसा आइरहेको थियो । जसलाई हुण्डी भनिन्छ । ढकालले यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ सोचे । व्यावसायिक योजना बनाए । उनीसँग करिब एक वर्ष मनी ट्रान्सफर कम्पनी ‘एक्सप्रेस’को एजेन्ट बनेको अनुभव थियो । त्यही अनुभवलाई सदुपयोग गर्दै उनी इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) खोल्ने निर्णयमा पुगे । तर, सहज भने थिएन । त्यतिखेर रेमिट्यान्स गर्न धेरै गाह्रो थियोे । तर, सरकार र आम सर्वसाधारणका लागि अति आवश्यक थियो । ‘मिहिनेत गरेर आर्जन गरेको पैसा आफ्नो घरपरिवारसम्म पु¥याउने माध्यम थिएन, व्यवसाय गर्न खोजेका उद्यमीका लागि राम्रो अवसर थियो, सरकारले औपचारिक रुपमा रेमिट्यान्स आइदिए हुन्थ्यो भन्ने सोचेको थियो तर काम गर्न समस्या थियो, सुरु गर्दा धेरै सकस भोगियो,’ अध्यक्ष ढकाल भन्छन्, अहिले रेमिट्यान्सको पर्यावाची आइएमई बन्दा खुसी लाग्छ ।’ रेमिट्यान्स बैङ्क र पर्यटनको विकासमा ट्रेण्ड सेटर बनेका चन्द्र ढकालले नयाँ र उदीयमान उद्यमीको रुपमा आफूलाई चिनाएका मात्र छैनन्, इमान्दार र मिहिनेतले एकै पुस्तामा पनि व्यावसायिक पहिचान निर्माण गर्न सम्भव छ भन्ने पुष्टि गरिदिएका छन् । त्यतिखेर नेपाल राष्ट्र बैङ्कको गभर्नरका रुपमा डा. तिलक रावल थिए । डा. रावलले उनको प्रस्ताव सहर्ष स्वीकार गरे । आइएमईले सञ्चालनको अनुमति पायो । सेवाको गुणस्तरले बिस्तारै कम्पनीको ब्रान्डिङ’ ग¥यो । अहिले आइएमई नेपाली कामदार पुगेका सबै देशमा रेमिट्यान्स कारोबार गर्ने कम्पनी बनेको छ । आईएमई नेपालमा ‘मनी ट्रान्सफर’को पर्यायबाची नै बनेको छ, कुनै बैङ्क या अन्य मनी ट्रान्सफर कम्पनी पुगेका सेवाग्राहीले पैसा आईएमई गरिदिनुस’ भन्छन्, मनी ट्रान्सफरको अनुमतिपत्र माग्न राष्ट्र बैङ्क पुग्नेले समेत । आइएमईको लाइसेन्स पाउ’ भन्छन्, आइएमई अहिले ब्राण्ड बनेको छ,’ कुनै व्यावसायिक पृष्ठभूमि नभएको व्यक्तिले यो किसिमको उपलब्धि हासिल गर्दा खुसी पनि लाग्छ,’ ढकालले आफ्नो अनुभवहरु सुनाउँदै भने । सुरुमा स्थापना गर्दा अनौपचारिक माध्यमबाट कारोबार गर्नेहरुबाट पनि धेरै धम्की आएको उनी सुनाउँछन् । तर, धेरै मिहिनत गरेर अनुशासित भएर काम गरेकै कारण आइएमई रेमिट सफल कम्पनीका रुपमा चिनिएको उनी सुनाउँछन् । वैदेशिक मुद्रालाई औपचारिक रुपबाट भित्र्याउनका लागि आइएमई एउटा कोशेढुङ्गा नै बनेको उनी बताउँछन् । अहिले कुल रेमिट्यान्सको ३० प्रतिशतको हाराहारीमा आइएमई रेमिटबाट नै रेमिट्यान्स भित्रिने गरेको छ । आइएमई रेमिटले ‘ट्रेण्ड–सेट’ गरेकै आधारमा अहिले देशमा धेरै मनि ट्रान्सफर कम्पनीहरु सञ्चालनमा छन् । धेरैले रोजगारी पाएका छन् । रेमिट्यान्स पनि औपचारिक माध्यमबाट आउन थालेको छ । मर्जरमा पनि बसाले ट्रेण्ड आइएमईको सफलतापछि ढकालको प्रवेश बैंकिङ्ग क्षेत्रमा भयो । उनकै अगुवाईमा आइएमई फाइनान्सियल इन्स्टीच्यूट स्थापना भए । राष्ट्र बैङ्कले वित्तीय क्षेत्र सुधारको नीति ल्यायो । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरु स्वःस्फूर्त रूपमा मर्ज होउन् भन्ने उद्देश्यले बैङ्क तथा वित्तीय संस्था गाभ्ने–गाभिने तथा प्राप्ति गर्ने नीति ल्यायो । क्रस होडिल्ङ भएका कम्पनी मर्जमा जोड पनि दियो । राष्ट्र बैङ्कको उक्त नीति अबलम्बन गर्दै ढकालले दुई संस्था मर्जमा लगे । ग्लोबल बैङ्क र आइएमई फाइनान्सियल इन्स्टीच्यूट मर्ज भएर ग्लोबल आईएमई बैङ्क बन्यो २०६९ सालमा । ग्लोबल आइएमई बैङ्कले आफुमा बैङ्क तथा वित्तीय संस्था गाभ्ने क्रम त्यतिमै रोकेन । ग्लोबल आइएमई बैङ्कमा हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था गाभिसकेका छन् । सोमबार मात्रै बैङ्क अफ काठमाण्डूसँग एकीकृत कारोबार गरेको छ । जसमा ५ वटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क र ६ वटा फाइनान्स कम्पनी गाभिएका छन् । ग्लोबल बैङ्क स्थापनादेखि अहिलेसम्म अध्यक्षको हैसियतमा उनले निरन्तर नेतृत्व गर्दै आएका छन् । अहिले उनलाई धेरैले मर्जर किङ्ग’का उपमाले पनि चिन्छन् । राष्ट्र बैङ्कले मर्जरको नीति ल्याएपछि त्यसको प्रभावकारी कार्यान्वयन गर्नेमा हामी अगाडि छौं, धेरै बैङ्क तथा वित्तीय संस्थालाई गाभेर बैङ्कलाई पुँजीमा ठूलो बनायौं, सेवाग्राहीलाई पनि विश्वास गर्न लायक बैङ्क बनाएका छौं, ठूलो नेटवर्क भएको छ, गुणस्तरीय सेवा र दक्ष जनशक्ति छन्,’ उनी भन्छन्, ‘बैङ्क मर्जर तथा एक्विजिसनमा हामी ट्रेण्ड सेटर नै हौं ।’ उनले राज्य स्तरबाट पनि राम्रो सहयोग पाइरहेका छन् । यसअघि विभिन्न बैंकहरुको बिग मर्जर हुँदा सरकारीस्तर वा राष्ट्र बैंकका अधिकारीहरुको पनि सहभागिता हुन्थेन । तर, सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डौंको एकीकृत कारोबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य सचिव शंरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतको सहभागीले पनि उनलाई सरकारी स्तरबाट राम्रो सहयोग मिलेको बुझ्न सकिन्छ । दर्जनौं कम्पनीमा अर्बौं लगानी ढकाल अहिले देशको एक सफल र अग्रणी व्यवसायीको सूचीमा पर्छन् । उनले रेमिटेन्स, बैङ्क, बीमा, जलविद्युत, उद्योग, होटल, अटो, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गरेका छन् । जुन कम्पनीमा लगानी ग¥यो त्यसमा उनी सफल बनिरहेका छन् । आफ्नो व्यवसायप्रतिको लगाव–झुकाव, इमान्दारिता र सहकर्मीहरुको सहयोगले नै आफू यो अवस्थामा आइपुगेको उनी बताउँछन् । ढकालले आफैले स्थापना गरेका दुई दर्जनभन्दा बढी कम्पनी छन् । तीमध्ये आधा दर्जन कम्पनी सेयर बजारमा सूचिकृत भइसकेका छन् । आइएमई समूह संलग्न जलविद्युत क्षेत्रतर्फ दुइवटा कम्पनी हिमालयन पावर पाटर्नर र माउन्टेन इनर्जी कम्पनी सञ्चालनमा छन् । हिमालयनले लमजुङमा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना निर्माण गरेर बिजुली उत्पादन गरिरहेको छ भने माउन्टेन इनर्जीले पनि म्याग्दीमा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ । वित्तीय क्षेत्रतर्फ ८ वटा कम्पनी छन् । आइएमई रेमिट, ग्लोबल आइएमई बैङ्क, आइएमई पे, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्यारेन्स हाथवे इन्भेष्टमेन्ट र ग्लोबल आइएमई क्यापिटलमा आइएमई समूहको लगानी भएका कम्पनी मात्रै होइनन्, ढकालले आफै संस्थापक रहेका कम्पनीहरु हुन् । यस्तै, हस्पिटालिटीतर्फ चन्द्रागिरि हिल्स, बेस्ट रिसोर्ट प्रा. लि. र आइएमई ट्राभल, प्रविधि क्षेत्रतर्फ स्वीफ्ट टेक्नोलोजी, अटोमोबाइल्स क्षेत्रमा आइएमई अटोमोबाइल्स र आईएमई मोटर्स, रिटेल्समा माई मार्ट नेपाल र सिएम ट्रेडिङ इन्टरप्राइजेज र सूचना तथा मनोरञ्जन क्षेत्रतर्फ यो समूहको डिसहोममा पनि संलग्नता रहेको छ । अन्य धेरै कम्पनीमा यो समूहको लगानी छ । यी कम्पनीहरुमा आइएमईले अर्बौंको लगानी गरेको छ । कम्पनीले नेपाल पूर्वाधार बैङ्कमा पनि लगानी गरेको छ । जसको पुँजी मात्रै साढे २१ अर्बको छ । सेयर बजारमा सूचिकृत भएका आधा दर्जन कम्पनीहरुको पुँजी ३० अर्ब बढीको छ । आइएमई समूहले सुरु गरेको अर्को नयाँ प्रोजेक्ट चन्द्रागिरि हिल्स हो । अहिले चन्द्रागिरि काठमाडौं उपत्यका नजिकैको सबैभन्दा उत्कृष्ट गन्तव्यका रुपमा चिनिन्छ । ढकाललाई नचिन्ने मान्छेले पनि चन्द्रागिरि चिन्छन् । काठमाडौं बसेर चन्द्रागिरिमा एक पटक नगएको मानिस सायद बिरलै भेटिएला । 'त्यसबेला काठमाडौंमा एकदमै ठूलो प्रदुषण थियो, आन्तरिक र विदेशी पर्यटकलाई पनि पर्यटकीय गन्तव्यको खाँचो थियो, सरकार र सर्वसाधारणले पनि त्यस्तो ठाउँ चाहिरहेका थिए, पछि हामीले चन्द्रागिरि बनायौं, त्यो गन्तव्य सबैको रोजाइमा प¥यो, अब सातै प्रदेशमा चन्द्रागिरि जस्तै पूर्वाधार बनाउनु पर्छ भन्ने योजना छ,’ ढकालले भने । अहिले उनलाई धेरैले ‘मर्जर किङ्ग’का उपमाले पनि चिन्छन् । राष्ट्र बैङकले मर्जरको नीति ल्याएपछि त्यसको प्रभावकारी कार्यान्वयन गर्नेमा आफूहरु अगाडि रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘बैङ्क मर्जर तथा एक्विजिसनमा हामी ट्रेण्ड सेटर नै हौं ।’ यस्तै, उनी आयात प्रतिस्थापन गर्ने नीतिका साथ आइएमई समूहले नेपालमा पहिलो पटक उच्च गुणस्तरको पेपर उत्पादन गर्ने तयारी गरिरहेको बताउँछन् । ६ महिनापछि पेपरको उत्पादन सुरु हुने उनले बताए । आयात प्रतिस्थापनका साथै निर्यातको लक्ष्य लिएर हामीले उद्योग तयार गर्दैछौं । यसले अर्थतन्त्रमा राम्रो योगदान गर्नेछ’ उनले भने । आइएमई समूहले जति कम्पनीमा काम गरिरहेको छ ती सबै कम्पनीलाई सूचिकृत गराउनेछ । आफ्नो सबै कम्पनीहरुमा सर्वसाधारणलाई पनि समेट्ने योजना ढकालको छ । कुनै पनि काम गर्दा मिहिनेत र प्राथमिकता राखेर गर्छु, कामलाई सर्वोपरी ठान्छु, मभन्दा बढी काम गर्ने मेरो टीम छ, सर्वसाधारणहरुको सहयोग छ, मेरो प्रत्येक बिजेनसमा म सर्वसाधारणहरुलाई जोड्न चाहन्छु, ढकाल भन्छन्, मेरो कम्पनीहरुको मालिक उनीहरुलाई पनि बनाउन चाहन्छु ।’ हामी आम मानिसको आवश्यकता पूरा हुने, सरकारको नीति र प्राथमिकतामा सहयोग पु¥याउने र लगानीबाट प्रतिफल पनि आउने व्यवसायलाई हामी छनौट गर्दछौं’ ढकालले भने, म जे गर्दछु, इमान्दारिपूर्वक गर्दछु । त्यसैले हामीलाई विश्वास गरेर धेरै लगानीकर्ताले लगानी गर्नुभएको छ । सबै कर्मचारीहरुले विश्वास र भरोसा गर्नुभएको छ ।’ उनको सफलताको आधार पनि यही हो । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री :   सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर

सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’

काठमाडाैं । आरनमा फलामलाई जति पिट्यो, त्यति नै झन् बलियो बन्छ नि । हो, सेयर बजार पनि लगानीकर्ताहरुका लागि त्यस्तै हो । जति पैसा गुमायो, जति घाटा खायो, जति बढी समय दियो त्यति अनुभव, त्यति नै क्षमता र त्यति नै बढी आदती बनाउँदो रहेछ सेयर बजारले । त्यो नशा सेयर बजारमा लाग्ने जो कोहीलाई पनि लाग्छ । सेयर बजारमा अधिकांशले घाटा नखाएर नाफा मात्र गरेका उदाहरण बिरलै होलान् । लगानीकर्ताहरु असफल नभएर सफल भएको बिरलै होलान् । सेयर बजारका वादशाहको उपमाले परिचित वारेन वफटले सन् १९७० ताका मरेतुल्य गरि घाटा बेहोरेका थिए । घाटाको पीडाले बफेट सिकिस्त बिरामी भएको समाचार पनि बनेको थिए । उनी अहिले विश्वका चर्चित मात्रै होइनन्, सफल लगानीकर्ताको रुपमा पनि परिचित छन् । सुरुमै ठूलो नोक्सानी व्यहोरेँ भनेर उनी सेयर बजारबाट बाहिरिएका थिए भने अहिले उनको नाम विश्व चर्चित बन्थ्यो होला त ? नेपाली सेयर बजारका एक परिचित नाम अम्बिका प्रसाद पौडेल जवाफ दिन्छन्, ‘बन्थेनन्, जोसँग धैर्यता छ, जोसँग परिस्थितिसँग जुध्न सक्ने क्षमता छ, उसैले कमाउँछ, एकदिन त्यही व्यक्ति सफल हुन्छ ।’ अम्बिका पौडेल पनि सेयर बजारमा बारम्बार बजारिएका छन् । थिचिएका छन् । करोडौंको सम्पत्ति शुन्यमा झारेका छन् । पीडा भोगेका छन् । पसिना बगाएका छन् । कति रातहरु वित्तीय विश्लेषणकै नाममा अनिदो बसेका छन् । त्यसैले त उनी पनि अहिले नेपाली सेयर बजारमा एक सफल र अनुभवी लगानीकर्ताका रुपले परिचित छन् । कतिपयले त उनलाई ‘भेट्रान’ लगानीकर्ताको संज्ञा पनि दिन्छन् । सेयर लगानीकर्ताहरुको संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष पौडेल निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा पुँजीबजार फोरमका सभापति समेत हुन् । पौडेल वि.सं २०२८ सालमा स्याङ्जाको एउटा सामान्य परिवारमा जन्मिए । एसएलसीसम्मको अध्ययन गाउँकै विद्यालयमा पूरा गरेर उनी उच्च शिक्षाका लागि काठमाडौं आए । काठमाडौंको शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर गरे । स्नातकोत्तर पढ्दै गर्दा उनले पुँजी बजारको विषयमा सिके । २०४९ मा पुँजी बजारमा प्रवेश गरेका उनले सुरुमा त नोक्सानै व्यहोरे । त्यतिखेर उनले पनि सेयर बजार मेरो लागि होइन भन्ने नसोचेका होइनन् । तर, मनको बाघ न हो, कसले पो रोक्न सक्छ र ? सेयर बजारको उनको प्यासन थियो । २०६५ सालमा सरकारी जागिर छोडेर सेयरमा होमिएका अम्बिका पौडेल अहिले नेपाल टेलिकम, हिमालयन पावर पाटर्नर, एनआरएन इन्भेष्टमेन्ट, चन्द्रागिरि र आईजीआईको सञ्चालक समितिमा छन् भने सूचीकृत नभएका २० बढी कम्पनीको पनि बोर्डमा छन् । ‘हिमालयन, नेपाल एसबिआई र नेपाल बंगलादेश बैंकको आईपीओमा लगानी गरेर सेयर बजारमा प्रवेश गरेको हुँ, बैंक अफ काठमाण्डू र नबिल बैंकको सेयर खरिद गरेर २०५१ सालमा दोस्रो बजारमा प्रवेश गरेँ,’ उनी विगतलाई स्मरण गर्दै भन्छन्, ‘सुरुमा ३ लाख लगानी गरेको थिएँ तर घटेर २ लाख मात्रै बाँकी रह्यो,’ उनी थप्छन्, त्योभन्दा नमिठो अनुभव मलाई कहिल्यै भएन ।’ सुरुमै १ लाख घाटा भएपछि उनले दोस्रो बजारमा लगानी नगर्ने योजना पनि बुने । केही समय आईपीओ मात्रै भरे । दोस्रो बजारमा सेयर खरिदबिक्री केही समयका लागि रोके । केही समयपछि पुनः लगानी गर्नु पर्छ भन्ने मानसिकता आएको उनी सुनाउँछन् । तर, उनको नोक्सान व्यहोर्ने शिलसिला भने त्यतिमै रोकिएन । ‘आज कमाएको जस्तो देखिन्थ्यो, फेरि भोलि बियरिस सुरु हुँदा सबै सकिन्थ्यो, सम्पत्ति बच्दैनथ्यो, पीडा मात्रै बच्थ्यो, धेरै निराश भइयो, तर धैर्यता राखियो, २०५२ देखि २०६९ सालसम्म गुमाउने मात्रै काम गरियो, मैले राम्रो कमाएको भनेको पछिल्लो ८/९ वर्ष मात्रै हो, उनी भन्छन्, ‘सेयरमा गुमाए पनि त्यो बिचमा अनेकौं सम्बन्धहरु, अनुभव, विज्ञता र ज्ञान धेरै कमाएँ ।’ सरकारी जागिरे, सेयरमा कारोबार पौडेल कुनै बेला निजामति कर्मचारी पनि थिए । वि.सं २०५५ सालमा लेखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका उनले जागिरसँगै सेयर बजारमा पनि कारोबार गरिरहे । महालेखा परीक्षकको कार्यालयमा लेखा अधिकृत भएर काम गरेका उनले २०६५ सालमै सरकारी जागिर छाडे । सेयर बजारमा पूर्ण रुपले सक्रिय हुुने उद्देश्यका साथ सरकारी जागिर छाडेको उनी बताउँछन् । ‘स्नातकोत्तर पास गरेपछि निजामति सेवामा प्रवेश गरेको हुँ, सामाजिक सुरक्षाका हिसाबले पनि सरकारी जागिर गर्नु पर्छ भन्ने मानसिकता सानैदेखि थियो तर पछि पुँजी बजारमै काम गर्न मन लाग्यो, सरकारी जागिर गर्दैगर्दा अलिकति पैसा कमाइसकेको थिएँ, दुइटा डुङ्गामा खुट्टा राख्नु हुन्न भन्ने महशुस भएपछि मैले जागिर छोडेँ,’ उनले भने, ‘घरको कसैलाई थाहै नदिई जागिर छोडेको त्यो पल सम्झेर अहिले पनि अचम्म लाग्छ ।’ हुन त मान्छेले श्रमभन्दा सन्तुष्टि खोज्छ । पेशाभन्दा प्यासन खोज्छ । पौडेलले पनि त्यही रोजे । हुँदाखाँदाको सरकारी जागिर छोडेर नाफा/घाटाको भर नहुने सेयर बजारलाई आफ्नो दैनिकी बनाए । उनले सेयर बजारमा पक्कै पनि चुनौति देखेका थिए । तर, आफुलाई चुनौति मोल्न सक्ने क्षमता भएकै कारण सेयर बजार राजेको तर्क दिन्छन् । ‘मेरो आधारबिन्दु भनेकै पुँजी बजार हो, अहिले जति व्यापार व्यवसायमा विविधीकरण गरेको छु, त्यसको आधार पुँजीबजार नै हो, हिजो मेरो पोर्टफोलियो सानो थियो, अहिले ठूलो भयो होला, अम्बिका पौडेल सेयर बजारको लगानीकर्ता हो भनेर सुन्दा पनि आनन्द आउँछ, किनकी सेयर बजारसँगको मेरो सामिप्यता गहिरो छ,’ उनी भन्छन्, ‘अब पनि जे गर्छु जति काम गर्छु, सेयर बजारमै गर्छु ।’ ठूलो पोर्टफोलियोलाई एउटै ठाउँमा केन्द्रिकृत नगरेर लगानीलाई विविधीकरण गर्ने योजनाका साथ आफूले अन्य धेरै कम्पनीमा लगानी गरेको उनी बताउँछन् । अहिले सेयर बजारको कारोबारमा दिनप्रतिदिन सक्रिय नभए पनि पुँजी बजारको गतिविधिमा भने सक्रिय रहेको उनी सुनाउँछन् । उनी आफ्नो लगानी फेरि पनि पुँजी बजारमै आउने धारणा राख्छन् । कमाउँदा र गुमाउँदाका ती पलहरु सेयर बजारमा कमाउनु र गुमाउनु सामान्य नै हो । एउटाले कमाउँछ त अर्कोले गुमाउँछ । आज बजार घट्छ त भोलि बढ्छ । यो स्वभाविक नै हो । तर, अधिकांशले सेयर बजारमा गुमाएँ भन्ने सुनिन्छ । मान्छे कमाउँदा खुसी हुन्छ । गुमाउँदा दुःखी हुन्छ । त्यो हर्ष र त्यो रोदन अम्बिका पौडेलले पनि अनगिन्ती भोगे । धेरै पटक महशुस गरे । र, कयौंलाई नजिकबाट नियाले पनि । ‘बियरिस ट्रेण्डमा पुगेको लगानीकर्ताले बुल मार्केटमा पुग्दासम्म राम्रै कमाएको हुन्छ, राम्रो कमाउँदा उसलाई एक किसिमको घमण्ड हुन्छ, अन्यसँग त्यही किसिमको ट्रिट गर्छ, जब बजार घट्छ, त्यसपछि उसले आफूलाई चिन्छ, महशुस गर्छ, यो समयले दिएको प्रतिफल हो, मेरो विवेकले पाएको प्रतिफल हो भनेर आफूलाई सम्हाल्ने प्रयास गर्छ, आफू सक्किएको महशुस हुन्छ,’ उनले देशविकाससँग आफ्नो अनुभव सुनाउँदै भने, ‘यस्ता अनुभव त कति भोगियो, कति देखियो ।’ सेयर बजारमा कमाउने र गुमाउने विषय व्यक्तिमा भएको अनुभव, ज्ञान र विश्लेषण गर्न सक्ने क्षमताले निर्धारण गर्ने उनी बताउँछन् । ‘क्षमता भएकाहरुका लागि सेयर बजार लगानीको सबैभन्दा उपयुक्त र सजिलो क्षेत्र भएको उनको धारणा छ । ‘सेयर बजारमा दलालहरु लाग्दैनन्, शत्रुहरु लाग्दैनन्, आफूले विश्लेषण गरेको आधारमा लगानी गर्ने हो, कम्पनीको विषयमा ज्ञान लिएपछि विगतका ट्रेण्डहरुको विषय विश्लेषण गरेर कारोबार गर्‍यो भने त्यसले अवश्य नै प्रतिफल दिन्छ,’ उनले भने, ‘क्षमता नभएकाहरुका लागि सबैभन्दा कठिन क्षेत्र पनि सेयर बजार हो, सबैका लागि होइन यो क्षेत्र ।’ लगानीकर्ताले बजारको चरित्रलाई नियाल्न सक्नुपर्छ । बजारको ट्रेण्ड र अर्थतन्त्रको हाउभाउ केलाउन सक्नुपर्छ । लगानी गरेको कम्पनीको वित्तीय सूचकहरुको विश्लेषण गर्न सक्नुपर्छ । तब मात्रै सेयर बजारबाट कमाउन सक्ने सम्भावना रहने उनी बताउँछन् । सरकारले पनि लगानीका सुरक्षित उपकरणहरु ल्याएर सबैलाई त्यसमा सहभागी गराउनु पर्ने उनको राय छ । ‘मैले शतप्रतिशत सफल हुन्छु भेनर लगानी गर्दिन, लगानी गरेपछि २०० प्रतिशत नेटवर्थ बनाउनु पर्छ भन्ने मेरो लक्ष्य हुन्छ, मैले असफल भएका कम्पनीलाई सफलतातर्फ लिनको लागि धेरै भूमिका खेलेको छु, अरुले गरेका गल्तीहरु पहिचान गरेर ती गल्ती नदोहोर्‍याउने हो भने पनि कम्पनीलाई सजिलै सफलतामा पुर्याउन सकिन्छ,’ पौडेलले भने । सेयर बजारमा कारोबार गर्दै गर्दाका पौडेलसँग नमिठा अनुभवहरु छन् । ‘कतिपयले लगानीको विषयमा सोध्नुभयो भने म भनिहाल्छु, तर, सेयर मूल्य घट्यो भने दोष मलाई थुपार्नु हुन्छ, कतिपयले मप्रति त्यसैले पनि गलत धारणा राख्नुहुन्छ, कतिपयले बाटोमा भेट्यो भने पिट्छु पनि भने । तर, पछि उहाँहरुले बुझ्नुहुन्छ, महशुस गर्नु हुन्छ, म नै गलत रहेछु भनेर मलाई नै भन्न आउनुहुन्छ,’ उनले थप्दै भने, ‘कतिपय अम्बिकाले बजार तलमाथि पार्न सक्छ भन्छन्, मैले पानी पर्‍यो भने छाता दिन सक्छु, पानी रोक्न सक्दिन ।’ चार दर्जन बढी कम्पनीमा लगानी सेयर बजारमा लागेको करिब तीन दशक भएपनि सेयर बजारबाट पौडेलले कमाएको भने ८/९ वर्ष मात्रै भयो । यो अवधिमा उनी चार दर्जन बढी कम्पनीको सेयरधनीको रुपमा स्थापित भइसकेका छन् । उनी ५ वटा सूचीकृत कम्पनी नेपाल टेलिकम, हिमालयन पावर पाटर्नर, एनआरएन इन्भेष्टमेन्ट, चन्द्रागिरि र आईजीआईको सञ्चालक समितिमा छन् भने सूचीकृत नभएका २० बढी कम्पनीको पनि बोर्डमा छन् । हाल उनी स्काई टच इन्भेष्टमेन्ट एण्ड कन्सलटेण्ट तथा ए एण्ड ए बिल्डर, काञ्जिरोवा हायेर सेकेण्डरी स्कूल लगायतका संस्थामा अध्यक्ष छन् । बिग इन्ड्रस्टीज, हाइलाइफ, हाथवे इन्भेष्टमेन्ट, बूढानीलकण्ठ हेरिटेज, न्यूलिंक कपी उद्योग, ग्रेट हाइड्रोपावर कम्पनी लगायतमा सञ्चालक रहेका छन् भने उनी निर्माण क्षेत्रमा पनि संलग्न छन् । अहिले जति नेटवर्थ छ, त्यो सबै पुँजी बजारबाट कमाइ गरेको पौडेल बताउँछन् । ‘२० करोडको पार्टफोलियो शून्य र एक अर्बको नेटवर्थ ५ करोडमा झरेको छ, पाइला-पाइलामा ठक्कर खाइयो, म अहिले जहाँ छु, त्यो पछिल्लो ८/९ वर्षको कमाइले हो,’ उनले भने । अब उनी अरुको कम्पनीमा होइन आफ्नै कम्पनीमा सेयर कारोबार गर्न चाहन्छन् । आफूले लगानी गरेर स्थापना गरेका कम्पनीहरुलाई सूचीकृत गराएर त्यसमै कारोबार गर्ने योजना पौडेलको छ । ‘मैले आफूलाई फरक स्थापित गर्न चाहन्छु, हिजो ८ हजारमा खरिद गरेको एउटा कम्पनीको सेयर मूल्य आज ४ सय छ, मैले त्यसमै लागेको भए आज के हुन्थ्यो, मैले त्यसबाट आएको प्रतिफलले आफ्नै कम्पनी खोलेर त्यो कम्पनीलाई नै सूचीकृत गराउने तयारी गरिरहेको छु, हरेक विषयमा विकल्प खोज्नु पर्छ,’ उनी भन्छन्, ‘म नेपाली सेयर बजारमा एउटा ट्रेण्डसेट गर्न चाहन्छु, धेरै काम त गरिसकेको छु ।’ नेपाली पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणका लागि जति काम भएको छ, त्यति काम कसैले नगरेको उनी दावी गर्छन् । आफ्नो काम आवाज उठाउने भएको भन्दै सेयर बजारमा सही नीति निर्माणका लागि आफुले ठूलो भूमिका खेलेको उनी बताउँछन् । ‘स्टक एक्सचेञ्जको निजीकरण, पुँजीगत लाभकर घटाउन, पुँजीबजारमा लाग्ने दोहोरो कर हटाउन, धितोपत्र बोर्डको संरचनागत सुधार, हकप्रद सेयर, सेयरधितो कर्जा लगायतका विषयमा मैले धेरै काम गरेको छु, सेयर बजारमा भएका ८० प्रतिशत विषय मैले उठान गरेको छु, महासंघमा गएपछि पनि धेरै सुझाव दिएको छु,’ उनले भने, ‘कहिले अगाडि नै गएर त कहिले ब्याकमै बसेर काम गरिरहेको हुन्छु ।’   १० वर्षपछि अम्बिका अर्कै हुन्छ हामीले अम्बिका पौडेललाई सोध्यौं- भाग्य ठूलो कि कर्म ? उनले जवाफमा भने, ‘कर्मबिनाको भाग्य हुँदैन, कर्मबिनाको भाग्यमा म विश्वास गर्दिन, आफूले गरेका कर्मले सफलता पाउन सकिन्छ तर कहिलेकाहीँ भाग्य पनि चाहिन्छ, नेता कर्मले बन्न सकिन्छ, प्रधानमन्त्री बन्नका लागि भाग्य पनि चाहिन्छ, भाग्य र कर्मको संयोजनले उत्कृष्ट र सफल बन्न सकिन्छ ।’ उनी आफूले धेरै मिहेनत गरेर यो अवस्थासम्म आइपुगेको बताउँछन् । ‘म अब क्षमता, ज्ञान, अनुभव, सम्बन्ध र नामको हिसावले पूर्ण भएको छु, अब सक्रिय भएर २५ वर्ष काम गर्छु, हिजोको दिनमा सबै कुराको अभाव थियो, यहाँसम्म आइपुगेँ, आज मसँग यी सबै चिज छ, यो चिजको सदुपयोग गरेर साँच्चिकै देखिने काम गर्छु भन्ने कन्फिडेन्ट छ, अहिले सुरु मात्रै गरेको छु, अब परिणाम आउँछ,’ उनले भने, ‘अम्बिका अबको १० वर्षपछि फरक क्यारेक्टर र फरक क्षेत्रमा स्थापित हुन्छ ।’ पुँजीबजारबाट उठेका पौडेलले पछिल्लो समय कृषि, उद्योग, पर्यटन, शिक्षा, निर्माण क्षेत्रमा लगानी गर्दै नयाँ कम्पनी अगाडि बढाईरहेका छन् । उनले सबै कम्पनीहरुलाई नेप्सेमा सूचीकृत गर्ने गरी प्रक्रिया अगाडि बढाउँदै छन् । उनी आफूले गरेको कामले सबैलाई सेवा दिन चाहन्छन् । आफूले उत्पादन गरेको वस्तु सबैको जीवनशैली बनेको हेर्न चाहन्छन् । उनी सकेसम्म धेरैलाई रोजगारी दिने चाहना राख्छन् । आफ्नो कामले आफूलाई मात्रै होइन सिंगो देशलाई लाभ हुने काम गर्न चाहन्छन् अम्बिका । ‘अहिले जुन-जुन क्षेत्रमा लगानी गरेको छु, यसलाई विस्तार गर्छु, मैले गरेको व्यवसायका उत्पादन नेपालको प्रत्येक घरमा पुगोस्, त्यो उत्पादन प्रत्येक मानिसको जीवनशैली बनोस्, त्यो वस्तु प्रयोग गर्दा धेरैले मलाई सम्झिउन्, सबैले भनुन् वा अम्बिका,’ उनी भन्छन्, ‘अब मेरो सम्पूर्ण ध्यान त्यसमै केन्द्रित हुन्छ, सकेसम्म धेरैलाई रोजगारी दिन सक्ने काम गर्छु ।’ अबको १०/१५ वर्षमा आफूले सोचेको काम गर्न सक्ने आँट रहेको उनी सुनाउँछन् । आफ्नो निणर्यमा घरपरिवारको पनि धेरै साथ रहेकोले पनि आफु यो अवस्थामा पुगेको उनी बताउँछन् । ‘करोडौं रुपैयाँ गुमाउँदा घरपरिवारले साथ दियो, कमाउँदा पनि साथ दियो, राम्रो गर्दा गर्दै नराम्रो भए पनि एकदिन राम्रो भैहाल्छ भन्ने सान्त्वना मैले घर परिवारबाट पाउँछु,’ अम्बिका भन्छन्, ‘मेरो कामको उर्जा नै मेरो परिवार हो ।’ (देशविकास साप्ताहिक पत्रिकाकाे वर्षअंकबाट)