गतिशील सहकारीले बचतकर्ताको ५ हजार पनि फिर्ता गर्न सकेन, ८६ रोपनी जग्गा बेच्दै

काठमाडौं । अघिल्लो साता ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाले बचत फिर्ता गर्न नसकेको भन्दै विकासन्युजलाई गुनासो आयो । बचतकर्ताले आफ्नो बचत पनि फिर्ता पाउन नसकेको र बचत फिर्ता गर्ने विषयमा सहकारीले कुनै वास्ता र प्रतिवद्धता नगरेपछि आफुहरुको आवाज बोलिदिन भन्दै बाराम्बार सो सहकारीका बचतकर्ताले विकासन्युजसँग गुनासो गरे ।

बचतकर्ताको सो गुनासोपछि हामीले सो संस्थाका अध्यक्ष विकास थापा, पूर्व अध्यक्ष डा. बलराम पाठक लगायत सञ्चालकहरुलाई पटक–पटक सम्पर्क गर्यौं । तर, उनीहरुले फोन नउठाएपछि हामी सहकारीमै यथार्थता बुझ्न लगनखेलको साझा भवनमा रहेको सो सहकारीको कार्यालयमा पुग्यौं ।

बचतकर्ताले फोनबाट गुनासो गरे जस्तै सहकारीमा बचतकर्ताको भीड थियो । हामीले सहकारीमा अध्यक्ष तथा सञ्चालकहरुलाई भेटाएनौं । सहकारीका व्यवस्थापक विणा कुमारी अमात्यसँग कुरा गर्न खोज्दा पनि उनले कुरा गर्न मानिनन् । उनीसँग कुरा गर्न खोजेको रेकर्ड हामीसँग सुरक्षित छ ।

बचत फिर्ताको लागि भन्दै हातमा चेक र फाइल समातेर बसेका बचतकर्ताहरु रकम फिर्ताकाे पखाईमा बसेको लामो समय भइसकेको बताउँदै थिए । बचतकर्ताहरुको भीडमा केही नयाँ गज्जवको विषय पनि फेला पर्यो । सहकारीहरुले लागि कृतिम पीडितहरु (बचतकर्ताहरु) पनि खडा गर्दा रहेछन् । जुन अभ्यास गतिशील सहकारीमा देखियो ।

गतिशील सहकारीमा रहेका अधिकांश बचतकर्ताले हामीसँग क्यामेरामा बोल्न खोज्दै थिए । तर, केही पीडित (कृतिम बचकर्ता) बताउनेहरु भने उनीहरुलाई नबोल्न खबरदार गरिरहेका थिए । माथि भनेझैं सहकारीले कुनै नयाँ मान्छे वा सञ्चारकर्मीहरु सो सहकारीमा प्रवेश गरेमा ती कृतिम पीडितहरुले ‘हामी हाम्रो समस्या आफै समाधान गर्छौं, तपाईंहरु नबोलिदिनुस्, सञ्चार माध्यमममा पनि नलेखिदिनुस्’ भन्ने आवाज उठाउँदा रहेछन् ।

वास्तविक पीडितहरुको चाहना भने अर्कै थियो । उनीहरुले आफ्नो समस्या हामीसँग राख्न खोज्दै थिए । तर, हामीलाई क्यामेरा खुला नगर्नेसहितको धम्की र वास्तविक पीडितहरुलाई मिडियामा नबोल्न भनेर गरिएको खबरदारले उनीहरु डराइरहेका थिए ।

आफ्नो बचत फिर्ताका लागि दैनिक रुपमा सहकारीमा धाइरहेको एक जना बचतकर्ताले दुखेसो पोख्दै भने, ‘म बिरामी छु, केही दिनपछि मेरो अपरेसन छ, उनले अस्पतालबाट दिएको रिपोर्ट देखाउँदै भने, ‘सहकारीले ५ हजार रुपैयाँ खर्चका लागि पैसा देउ भने पनि दिदैन, पेटमा लात हानेर जम्मा गरेको पैसा फिर्ता नपाइने भयो ।’

यस्तै, अर्का बचतकर्ताले पनि आफु दैनिक बचत फिर्ताका लागि सहकारीमा धाए पनि पैसा नदिएको गुनासो गरे । उनका अनुसार सहकारीले पैसा छैन भन्दै जहिल्यै फिर्ता पठाउने गरेको छ । यस विषयमा पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सहकारीका अध्यक्ष विकास थापा सम्पर्कमा आएनन् । तर, आइतबार मात्रै हाम्रो सम्पर्कमा संस्थाका पूर्व अध्यक्ष डा. पाठक आए । उनले सहकारीमा समस्या देखिएको स्वीकार गरे ।

उनका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्था र अन्य सहकारीमा पनि तरलताको समस्या हुँदा त्यसको असर गतिशिलमा पनि परेको हो । ‘अहिले सबै सहकारीमा समस्या छ, यो समस्या गतिशिलमा मात्रै होइन, हामी बचतकर्ताको पैसा फिर्ताका लागि पहल गरिरहेका छौं, बचतकर्तालाई नआत्तिन आग्रह गर्छौं,’ उनले भने ।

सो सहकारीका बचतकर्ताका अनुसार अहिले सहकारीले ५ हजार रुपैयाँ पनि फिर्ता गर्न सकेको छैन । बचत फिर्ताका लागि दैनिक सहकारीमा बचतकर्ताको भीड नै लाग्ने गरेको छ । तर, आफ्नो समस्याका विषयमा सहकारीले कुनै चासो नदेखाएको बचतकर्ताको गुनासो छ । बचतकर्ताको भीड लाग्ने गरेपछि दिउसो १/२ बजे नै सहकारीको कार्यालयमा ताला लाग्छ । गतिशील बचत तथा ऋण सहकारी संस्थाको विषयमा सहकारी विभागमा पनि गुनासो आएको सहकारी विभागले जनाएको छ ।

जग्गा बेचेर बचत फिर्ताको प्रयास

गतिशील बचत तथा ऋण सहकारी संस्थाले जग्गा बिक्री गरेर बचतकर्ताको बचत फिर्ता गर्ने तयारी गरेको छ । पूर्व अध्यक्ष पाठकका अनुसार अहिले जग्गा बिक्रीका लागि पहल भइरहेको छ ।

‘हामी बचतकर्ताको पैसा जसरी पनि फिर्ता गर्छौं, जग्गा बेचेर फिर्ता गर्ने प्रयास भइरहेको छ,’ उनले विकासन्युजसँग भने । पछिल्लो समय अधिकांश सहकारीको पैसा घरजग्गामा छ । घरजग्गामा एक किसिमको मन्दी आउँदा नै सहकारीहरु समस्यामा परेका हुन् ।

सहकारीले ८६ रोपनी जग्गा बेचेर बचकर्ताको पैसा फिर्ता गर्न लागेको बुझिएको छ । यो सहकारीले अधिकांश लगानी घरजग्गामा गरेको देखिएको छ । अब सो जग्गा बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता सहकारीले गरेको हो ।

घरजग्गा र गाडी व्यापारमा लगानी

सहकारी विभागले प्रत्येक महिना वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएपनि गतिशिल सहकारीले भने गत आर्थिक वर्षको असार यता कुनै तथ्यांक सार्वजनिक गरेको छैन । गत असारसम्मको तथ्यांक अनुसार यस सहकारीको कुल सेयर पुँजी ९ करोड २८ लाख ४४ हजार रुपैयाँ छ । संस्थाको कुल पुँजी भने १८ करोड ४४ लाख ९३ हजार रहेको देखिएको छ ।

संस्थाको कुल पुँजी तथा दायित्व भने २ अर्ब ७६ करोड ४ लाख ९ हजार रुपैयाँ छ । संस्थामा बचतकर्ताको कुल २ अर्ब २६ करोड ५७ लाख ३ हजार रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको असार मसान्तसम्म सहकारीले सवा २ अर्ब रुपैयाँ लगानी गरेको छ ।

असार मसान्तसम्मको तथ्यांक अनुसार सहकारीमा ५.८३ प्रतिशत मात्रै तरलता अनुपात छ । तर, त्यो अहिले घटेको छ । यो सहकारीले अधिकांश लगानी व्यापारमा गरेको देखिएको छ । सहकारीले व्यापारिक कर्जामा १ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ भने गाडीमा ६८ लाख ५८ हजार, मुद्दति रसिद धितो कर्जामा ३ करोड ५१ लाख २ हजार र कर्मचारीलाई ७ लाख ८ हजार रुपैयाँ कर्जा लगानी गरेको प्रतिवदेनले देखाउँछ ।

संकटमा भत्ता र लाभांश वितरण

गत आर्थिक वर्षमा सहकारीबाट सञ्चालकहरुले १ लाख ९४ हजार रुपैयाँ भत्ता सुविधा बुझेका छन् । सहकारीको वार्षिक प्रतिविदेनका अनुसार सहकारीका अध्यक्ष विकास थापाले ३२ हजार, सचिव रामकाजी पौडेलले १८ हजार, सञ्चालक रामशंकर श्रेष्ठले १६ हजार, पुष्परत्न शाक्यले ३६ हजार, मृगेन्द्र प्रधानले ३२ हजार, कोषाध्यक्ष तिर्थ प्रसाद पोखरेलले ३२ हजार, पुनम निरौलाले ६ हजार र लेखा सुपरीवेक्षण संयोजक प्रद्युमन घिमिरेले ६ हजार रुपैयाँ भत्ता बुझेका छन् ।

सहकारी समस्यामा पर्दा पनि सञ्चालकहरुले एक वर्षमा सो सुविधा लिएका हुन् । यस्तै, एक वर्षमै सहकारीकी व्यवस्थापक विणा अमात्यले तलब भत्ता सुविधा अन्तर्गत कुल २ लाख ३५ हजार ६५२ रुपैयाँ बुझेकी छन् ।

गत आर्थिक वर्ष कर्मचारीहरुको तलबका लागि सहकारीले कुल ७३ लाख ७० हजार रुपैयाँ खर्च गरेको तथ्यांकले देखाउँछ । सहकारीको तथ्यांक अनुसार गत वर्ष २८ लाख रुपैयाँ बढी लाभांश नै वितरण गरेको छ ।

अडिटरको कैफियत नै कैफियत

गतिशील बचत तथा ऋण सहकारी संस्थाको लेखापरीक्षण आरके अग्रवाल एण्ड एसोशिएटका चार्टर्ड एकाउन्टेन्ट (सीए) राकेश कुमार अग्रवालले गरेको देखिएको छ । उनले यस संस्थाको लेखापरीक्षण गर्दा धेरै कैफियत देखाएका छन् ।

हामीले लेखापरीक्षण गरेका श्रेष्ताहरुको आधारमा संस्थाले कर्जा प्रवाह गर्दा धितोका साथै सामुहिक जमानी तथा व्यक्तिगत धन जमानीमा कर्जा प्रवाह गरेको र कर्जा तथा सापटिको नोक्सानी व्यवस्था एनएस–३९ को आधारमा सहकारी विभागद्वारा जारी गरिएको मापदण्ड अनुसार गरेको तर उक्त जोखिम व्यवस्था प्रयाप्त नभएको लेखापरीक्षकले उल्लेख गरेका छन् ।

यस्तै, सहकारी मापदण्ड २०६८ को दफा (२८) अनुसार संस्थाले आफ्नो प्रत्येक सदस्यलाई संस्थाको कूल पूँजीकोषको १० प्रतिशतमा नबढाई ऋण प्रदान गर्नु पर्नेमा पूँजीकोषको सीमाभन्दा बढी ऋण प्रदान गरेको उल्लेख गरेको छ ।

संस्थासँग भएको गैर बैंकिंग सम्पत्तिको लेखांकन विध्यमान व्यवस्था अनुसार नभई पुरानो मूल्यमा भएको, कर्मचारीहरुको उपदान र पेन्सनको दायित्व (एक्चुरी) मार्फत् मल्यांकन नगरेको र एनएफआरएस १६ पट्टा अनुसार नभई पुरानो व्यवस्था अनुसार गरेको र संस्थामा ५.८३ प्रतिशत मात्र तरलता रहेको उल्लेख गरेको छ ।

यी हुन् सहकारीका ठूला सेयरधनी

सहकारीमा १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुने ६ जना सेयरधनी रहेका छन् । यस सहकारीमा राजेन्द्र कुमार खतिवडाको ३.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ भने व्यवस्थापक विण कुमारी अमात्यको पनि २.८८ प्रतिशत सेयर छ ।

यस्तै, गतिशिल बचत तथा ऋण सहकारीमा विष्णु प्रसाद तिमल्सिना,विपिन तिमल्सिना र राजा तिमल्सिनाको समान १.७९ प्रतिशत सेयरु स्वामित्व छ भने मोतिलाल शिलपकारको १.०६ प्रतिशत सेयर स्वामित्व छ ।

सहकारीसँग आर्थिक वर्ष २०७८/७९ सम्ममा १८ करोड २७ लाख २३ हजार रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको प्रतिवेदनमा देखाइएको छ ।

Share News