विकासन्युज

यही हो सेयर किन्ने समय, कस्तो स्टक किन्दा राम्रो ?

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण समग्रमा राम्रो आएको छ । कुनै–कुनै बैंकको वित्तीय विवरण नकारात्मक आएको भएपनि यसले केही फरक पार्दैन । अधिकांशको वित्तीय विवरण सन्तोषजनक नै आएको छ । बैंकहरुको कमाई हामीले सोचेभन्दा राम्रो भइरहेको छ । कुनै–कुनै बैंकले चाडपर्वका कारण ब्याज उठाउन पाएनन् । दशैं, तिहार र छठ पर्व पनि यसै बेलामा परे । जसले गर्दा ऋणीले ब्याज तिर्न पाएनन् । यसैबीचमा फेरि डेंगु रोग पनि बढ्यो । यस्ता समस्याले गर्दा ऋणीहरुले बैंकको ब्याज तिर्न सकेनन् । बैंकले उठाउनु पर्ने रकम नउठेपछि केही बैंकको वित्तीय विवरण नकारात्मक आएको हो । जसले ब्याज उठाउन सकेनन् ती बैंक तथा वित्तीय संस्थाको विवरण नकारात्मक देखिएको हो । अहिले ब्याजदर बढेको छ । बैंकहरुको कमाई राम्रो छ । पहिलो त्रैमासले नै सबै कुरा स्पष्ट पार्दैन । जसको राम्रो पेमेन्ट आयो उसको कमाइ पनि राम्रो हुन्छ । जसको पैसा उठेन उनीहरुको राम्रो हुँदैन । अहिले जे जस्तो विवरण आएको छ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ । अब दशैं, तिहार र छठ पर्व सकिएको छ । ब्याजदरको झण्झट पनि सकिएको छ । यदि कुनै कम्पनीको सेयर ५ सय रुपैयाँमा खरिद गरेको छ भने १ सय रुपैयाँ ब्याज तिर्नु परेको छ । जसमा कस्ट भनेको ४ सय रुपैयाँ मात्रै हो । सेयर बजार ३२ सय अंकबाट घटेर साढे १८ सय अंकमा झरिसकेको छ । सेयर बजार साढे १३ सय अंक घटिसकेको छ । आजसम्मको पूँजी बजारको इतिहास हेर्ने हो भने १५ महिनाको अवधिमा यति धेरै घटाइ भएको छैन । बजार घटेर एउटा लेभलमा आएर लगानीकर्ताले सेयर बिक्री गर्न मानिरहेका छैनन् । किनभने बरु घाटा परे परोस् बिक्री गर्दैन भनिरहेका छन् । सेयर बजार धेरै घटेको बेलामा धेरै लगानीकर्ताहरु सेयर बिक्री गर्न मान्दैनन् । अहिले अधिकांश लगानीकर्ताले सेयर होल्ड गरेका छन् । ५ वर्ष अघि १८६० अंकमा पुगेको सेयर बजार घटेर ११ सय अंकमा झरेको थियो । त्यो बेलामा पनि ब्याजदर बढेर १६/१७ प्रतिशत पुगेको थियो । १८ सय अंकमा पुग्दा बजार एकदमै उत्साहित भएको थियो । आम लगानीकर्ताको मनोबल पनि बलियो थियो । तर, बैंकहरुले ब्याजदर बढाएपछि सेयर बजार घट्यो । बैंकहरुले ब्याजदर बढाएपछि बजार घटेर ११ सय अंकमा झरेको थियो । सेयर बजार धेरै घटेपछि लगानीकर्ताले सेयर बिक्री गर्न मानेका थिएनन् । त्यो बेलामा १५/२० करोड रुपैयाँको मात्रै कारोबार हुन्थ्यो । सेयर बजार ९ सय अंकमा झर्छ भनेर केही लगानीकर्ताले अफवाह पनि फैलाए । केही प्राविधिक विश्लेषकहरु पनि त्यसमा संलग्न भएका थिए । उनीहरु सेयर बिक्री गरेर बसेका थिए । बजार घटाएर आम लगानीकर्ताको पैसा लुट्न खोजिरहेका थिए । तर, बजार घट्न मानेन् । धेरै लगानीकर्ताले सेयर बिक्री गरेनन् । बरु ११ सय अंकमा झरेको बजार ३२ सय अंकमा पुग्यो । अहिले पनि सेयर बजार ३२२७ अंकबाट घटेर १८ सय अंकको हाराहारीमा छ । तर, पनि बजार घट्न मानिरहेको छैन । बरु कारोबार ५० करोड रुपैयाँमा झरिसकेको छ । अहिलेको अवस्था भनेको पनि १८ सय अंकबाट घटेर ११ सय अंकमा झरेको जस्तै रहेको छ । त्यो बेलामा साढे ७ सय अंकले मात्रै बजार घटेको थियो । अहिले त ३२सय बढी अंकबाट १८ सय अंक भनेको झण्डै साढे १३ सय अंक घटेको हो । त्यसकारण अब बजार धेरै घट्ने सम्भावना छैन । ३२ सय अंकबाट १८ सय अंकमा बजार घटिसकेकाले यसलाई १८ सयबाट ११ सयमा आएकोसँग तुलना गर्न सकिन्छ । अहिले बैंकको सेयर मूल्य भनेको फ्याकेको रेट जस्तै हो । बैंकको सेयर मूल्य दुई अढाइसयमा झरेको छ । नेपाल र भारतको तुलना गरेर हेर्ने हो भने यहि सेयर हजार पन्ध्र सय भारु हुन्थ्यो । दुइ अढाइ सयमा सेयर पाउनु भनेको आईपीओ भन्दा सस्तो हो । २०/२५ वर्ष पुरानो बैंकको सेयर २ सय रुपैयाँमा पाउनु भनेको चानचुने कुरा होइन । पीई रेसियो २० गुणासम्म भएका कम्पनीको सेयर किन्नु पर्छ भनिन्छ । १५ गुणासम्म भएका कम्पनीको सेयर त किन्नै पर्छ । अहिले बैंक तथा वित्तीय संस्थाको पीइ रेसियो १० गुणा भित्र नै रहेको छ । त्यसैले अहिले किन्नु पर्ने सेयर धेरै छ । अहिले सेयर मूल्य एकदम सस्तो भएको हो । यस कारण पनि सेयर बजार घट्दैन । कपिय कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् भने कतिपयको घोषणा हुन बाँकी छ । अब लाभांश वितरण गर्ने समय सुरु भएको छ । अहिले बालिनालि भित्र्याउने समय र पाकेको रोटी खाने समय हो । सेयर बजारमा सधैं जोखिम छ । तर, अहिले बजार धेरै घटेको हुनाले १५ प्रतिशत मात्रै जोखिम हो । जोखिम कम भएकाले ८० प्रतिशत भन्दा बढी अवसर छ । किनभने साढे १३ सय अंक त घटिसकेको छ । अब घट्ने चान्स कम छ । अहिले भनेको लगानी गर्ने समय हो । यत्ति जोखिम त लगानीकर्ताले लिनुपर्छ नी । तर, जोखिम लिँदाखेरि बलियो कम्पनी, फण्डामेन्टल स्ट्रङ भएका कम्पनी, खराब कर्जा कम भएका कम्पनीमा लगानी गर्नुपर्ने हुन्छ । जस्तो फण्डामेन्टल्ली बलियो भएका नबिल बैंक, एनआईसी एशिया बैंक लगायतका बैंकहरु, माइक्रोफाइनान्सहरुमा लगानी गर्नुपर्ने हुन्छ । कम्प्रेटिभ चार्टमा रहेका टप ५ कम्पनीमा पनि ईपीएस राम्रो भएको, खराब कर्जा कम भएको, नेटवर्थ बढी भएको कम्पनीको सेयर किन्ने समय हो । यो भनेकने कम्पनी छानिछानि सेयर किन्ने समय हो । सेयर बजारका सर्वाेच्च गुरु अर्थात् सेयर बजारका बादशाह वारेन वफेट मिडियम लङटर्म भ्यालु इन्भेष्टमेन्ट वीथ कम्पाउण्डिङ रिटर्न भएका कम्पनीमा लगानी गर्नु भनेर भन्नुहुन्छ । जस्तो ३२ सय अंकमा मिडियम लङ टर्म भ्यालु इन्भेष्टमेन्ट वीथ कम्पाउण्डिङ रिटर्न गरेको काम लाग्दैन । किनभने बजार त्यो बेला महँगो थियो । साथै उहाँले ‘अलवेज इन रेष्ट इन रेड जोन सो द्याट यू क्यान इञ्जोए इन ग्रीन जोन’ भन्नु भएको छ । अर्थात् ग्रीन जोनमा ट्रेडिङ गर्नेर रेड जोनमा लगानी गर्ने हो । त्यो समय भनेको अहिले हो । वारेन बफेटको दुवै भनाइलाई लागू गर्ने भनेको यहि बेला हो । अहिले लगानी गर्ने समय हो र बजार बढ्ने नै हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन),अर्थमन्त्रालयले बजार सम्वन्धि धेरै नीतिनियम(पोलिसी) हरु पाइपलाइनमा राखेको छ । लामो समयदेखि बाँकी रहेका पोलिसीहरु सबै पाइपलाइनमा छन् । ब्रोकर लाइसेन्स अदालतमा गएपनि त्यसको निर्णय भैहाल्छ । त्यसपछि ब्रोकर, सिडिएस, नेप्से र सेबोनको कमिसन घटाउने भनिरहेको छ । एनआरएनएलाई पनि लाइसेन्स दिने, आईपीओ ३० प्रतिशत भन्दा कम निष्काशन गर्न नदिने र धेरै रियल सेक्टरका कम्पनीको आईपीओ आउने तयारीमा छन् । नयाँ स्टक लिएर आउने लगानीकर्ताहरु रियल सेक्टरका मालिकहरु छन् । उनीहरु ठूलो उद्योगपति हुन् । अहिलेको सम्झौता अनुसार नै नयाँ स्टक आउने हो । अहिलेको क्राइटेरिया, योग्यता पुरा गरेर ३० प्रतिशत आईपीओ निष्काशन गरेर सेवा सुविधा दिएर नयाँ डिजिटलमा, नयाँ टिएमएसहरु वा अनलाइन सिस्टममा नयाँ स्टक आउनेछ । सेयर बजारका कतिपय टुलहरु हामीले प्रयोग गरिहरेका छैनौं । जस्तो इन्ट्रा डे, अक्सन मार्केट जस्ता सबै कुराहरु नयाँ स्टकले ल्याउनेछ । त्यसपछि बजार धेरै माथि जान्छ । एकै दिनमा २/३ वटा कारोबार गर्छ । कारोबार रकम २२ अर्ब नाघेर जान्छ । बैंकले लाइसेन्स पायो भने त झनै बजारले उचाइ छुन्छ । किनभने बैंकको ५ हजार भन्दा बढी शाखा सञ्जाल छ । सातै प्रदेश ७७ जिल्लाका गाउँ गाउँमा सेयर बजारको काम हुन्छ । २० करोड रुपैयाँका ४१ वटा ब्रोकर, ४ वटाले ६० करोड रुपैयाँ र एउटाले १५० करोड रुपैयाँ भएको ब्रोकरको लाइसेन्सका लागि आवेदन दिएका छन् । यस्तै कमोडिटी मार्केटका लागि लाइसेन्स मागिरहेका छन् । यी सबै कुराहरु पाइपलाइनमा छन् । जुन ६ महिनाभित्र सबै कुरा पुरा हुन्छ । धेरै कामहरु विकास हुँदै गएकाले सस्तो बजारमा इन्भेष्टमेन्ट गर्ने समय हो । अहिले लगानीकर्ताको मनोबल एकदम कमजोर छ । कहिले सेबोनले पोलिसी ल्याउने, कहिले राष्ट्र बैंकले मौद्रिक नीति नराम्रो ल्याएका कारण बजार घटेको हो । राष्ट्र बैंकले ४/२ करोडको नीति ल्याएदेखि मैले सुरुदेखि विरोध गरेको हुँ । एउटा बैंकबाट १२ करोड गरेको भएपनि समस्या आउँदैनथ्यो । आखिरमा राष्ट्र बैंक गलत रहेछ, सुधार गर्याे पछि । सीसीडी रेसियोलाई सीडी रेसियो गर्याे । ५ सय अर्ब रुपैयाँ बैंकमा भएको रकमलाई कर्जा दिन पाएनन् । ब्याजदर बढ्दै गयो । ब्याजदर बढेपछि सेयर बजारलाई नेगेटिभ असर गर्छ । ब्याज बढेपछि सेयर बजारमा लगानी कम हुन्छ, ब्याजदर घटे सेयर बजार घट्छ । ६–७ प्रतिशत ब्याजदर १५ प्रतिशत पुगेपछि आफै नकारात्मक भयो । ब्याजदर उच्च भएपछि कुनै पनि देशको उद्योगधन्दाले थाम्न सक्दैन । हामी बर्बाद भयौं भनेर एफएनसीसीआई, सीएनआई, चेम्बर अफ कमर्स लगायतका संस्था ब्याजदर बढी भयो भन्दै कराइ रहेका छन् । हामी पनि सेयर बजार वाला पनि कराइ रहेका छौं । यसबाट प्रत्यक्ष असर पार्ने सेयर बजारलाई हो । तर, बजारमा हल्ला भएर घाटा खाएर पनि सेयर बिक्री गरेर पनि निस्किन्छौं । उद्योगधन्दामा पैसा निकाल्न पाउँदैनन् किनभने उनीहरुको लगानी भइसकेको हुन्छ । यसले माइक्रोलेभलमा होइन, म्याक्रो लेभलमा असर पारेको छ । ३२ सय अंक हुँदा २२ अर्बको कारोबार भएको थियो । त्यो कारोबार अझैँ बढेर जाने थियो । त्यो बेलामा ५१ वटा जोखिम कम्पनी भनेर सूची सार्वजनिक गरिदियो । त्यसपछि लगानीकर्ताहरुको समूहले एकातिर राष्ट्र बैंकमा गभर्नरको राजीनामा सहित केही माग राखेर अगाडि बढेपछि बजार घटेको हो । त्यसपछि अर्थमन्त्रीको पनि राजीनामा माग्न थालियो । यसमा राजनीति घुसाइयो । जसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारबारे सार्वजनिक कार्यक्रममा नै नकारात्मक बोले । केपी ओलील पनि काउण्टर दिएर बोले । यसमा राजनीतिकरण भयो । मैले यसमा राजनीतिकरण नगरौं भनेर विरोध गरिरहेको थिएँ । हाम्रो माग जे छ सबै मागौं त्यसमा पछि नहटौं तर यसमा राजनीति नघुसाऔं । किनभने ब्यापार उद्योगमा राजनीति घुसाउनु हुँदैन । सम्बन्धित निकायले माग पुरा गरेनन्, रिसिबी गरे । अहिले धेरै अवधारणामा सुधार भएर आएपछि विस्तारै हिट गर्छ । मार्केटलाई मुख्य रुपमा हिट गर्ने भनेको पोलिसी हो । अब ब्याजदर बढ्दैन । किनभने सीडी रेसियो ९० प्रतिशत भन्दा बढी थियो । राष्ट्र बैंकले कारवाही गरेर ९० प्रतिशतमा झारे । अहिले ८७ भन्दा तल छ । रेमिट्यान्स पनि बढी आएको छ । पोहोरको भन्दा ४ प्रतिशत बढेर साढे १० खर्ब रेमिट्यान्स आएको छ । २ महिनामा नै बढेर आएको छ । अहिले २० वटा भन्दा बढी फ्लाइट बाहिर गइरहेको छ । अहिले श्रमीक युवाहरु बाहिर गइरहेका छन् । २ महिनामा एक लाख युवा बाहिर गएका छन् । चुनावमा खर्च बढ्छ । विकास खर्च पनि हुन्छ । रेमिट्यान्स पनि आइरहेको छ । अब बैंकहरुको सीडी रेसियो घट्दै जान्छ । ब्याज बढी भएकाले लगानीकर्ताले कर्जा लिइरहेका छैनन् । सेयर बजारको कर्जा ६५ अर्बमा झरिसकेको छ । बजार उच्च हुँदा १२२ अर्ब रुपैयाँ थियो । बैंकले पनि कर्जा लिन आउ भनिरहेको छ । बैंकहरुले पनि राम्रो मान्छेलाई मात्रै कर्जा दिइरहेको छ । बैंकहरु पनि अहिले ब्यापारी भइसकेका छन् । ब्याज बढाउन यो सबै चलखेल गरेको हो । राष्ट्र बैंक र बैंकहरुको मिलेमतो छ । राष्ट्र बैंकले बोक्सी र झाँक्री जस्तै काम गरेको छ । म कुटे जस्तै गर्छु तँ रोए जस्तो गर भने जस्तै भयो । (विकासन्युजका सीआर भण्डारीले गरेको कुराकानीमा आधारित)

सन्दीप लामिछानेविरूद्ध १२ वर्ष कैद सजाय मागसहित अदालतमा मुद्दा दर्ता

फाइल फोटो ‍काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध साेमबार प्रहरीले १२ वर्ष सम्म कैद सजाय मागदाबी सहित अदालतमा मुद्दा दर्ता गरेकाे हाे । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो ।

धानबालीमा समस्या, उत्पादन घट्ने किसानलाई चिन्ता

रामपुर । दुई दशकको समय धानखेतीमा बिताएका ज्यामबहादुर राना अहिले भने धानबालीबाट सन्तुष्ट छैनन् । रामपुर नगरपालिका कृषि शाखामा माग गरेबमोजिम १८ किलो सावित्री जातको धान करिब चार रोपनी जग्गामा लगाएका उनी सबै धानमा रोग लागेपछि चिन्तित छन् । घर अगाडिको खेतमा लगाएको धानबाली बोटमै सुकेर नोक्सान हुँदा रामपुर नगरपालिका–५ स्थित भम्बक निवासी राना वर्षभरि के खाने भन्ने चिन्तामा छन् । ‘लामो समय देखि धान लगाउँदै आएको हो, मलजल पनि राम्रै दिइएको भएपनि यो वर्ष धान राम्रो फलेन, परिवार कसरी धान्ने हो ?’ उनले भने, ‘केही फलेका बोट पनि सुक्दै गयो, यस्तो समस्या जीवनमा पहिलो पटक भोग्नुपरेको छ ।’ चार रोपनी जग्गामा राम्रो फल्दा २० मुरीसम्म उत्पादन लिने उनी यसपटक आधा पनि उत्पादन लिन हम्मेहम्मे पर्ने राना बताउँछन् । खेतमा लगाइएका धानबाली पसाउन भन्दाअघिदेखि बोट पहेँलै भएर सुक्दै जाने समस्या विस्तारै खेतभरि लगाइएका धानमा फैलिँदै जाँदा बाला नै निस्कन नसकेको उनको गुनासो छ । सो विषयमा कृषि प्राविधिकसमक्ष क्षतिपूर्तिका लागि जानकारी गराएको रानाले बताए । अम्बिका डोटेलले कृषि शाखा रामपुरबाट ल्याइएको धानको बीउमा समस्या देखिएको बताउँछन् । उनले राम्रो बीउ पाइन्छ भन्ने आशाले शाखामा नाम टिपोट गरी ल्याइएको बीउ नै खराबीका कारण समस्या देखिएको बताए । ‘धान स्याहार्नै नपाइने गरी बिग्रेको छ, धान कुहिने सुइरा मर्ने, भित्रभित्रै रातै हुने, डढ्ने जस्ता समस्या देखिएपछि महँगो मूल्य तिरेर रासायनिक मल प्रयोग गरियो, बाला लागे पनि दाना पोटिला छैन, कुनै बालामा कालो दाग लागेको अवस्था, किसान पनि बाँच्नुपर्यो, क्षतिपूर्ति हामीलाई चाहियो, मलजल, श्रम सबै खेर जाने भयो’, उनले भने । यस्तो समस्या रामपुरका विभिन्न ठाउँमा लगाइएका धानबालीमा देखिएको किसानले बताएका छन् । केही किसानले बीउकै खराबीले समस्या भएको दाबी गर्छन् । सोही ठाउँकै हरिमाया गौतमले रामपुर नगरपालिकाबाट ल्याइएको बीउमा रोग लागेपछि ठूलो नोक्सानी परेको गुनासो सुनाए । करिब ९० मुरी धानको उत्पादन लिने उहाँ यस पटक दश मुरी धान उत्पादन लिन पाइएला या नपाइएला भन्ने दोधारमा छन् । बालामा दाना राम्रोसँग पनि लागेको छैन भने केही बाला लागेका धान पनि सुकेर नोक्सान पुगेको छ । गौतमले सावित्री जातको दुई बोरा धान रामपुर नगरपालिकाबाट वितरित धान ल्याएका हुन् । सो बीउ लगाएका खेतभरि नै समस्या देखिएपछि सम्बन्धित निकायले क्षतिपूर्ति दिलाउनुपर्ने उनको माग छ । ‘धान खेती गरेरै बुढ्यौलीपन लाग्यो, कहिलेकाहीँ मौसम अनुकूल नहुँदा सामान्य रोग किराको समस्या देखिए पनि अहिलजस्तो खेतभरि नै लगाएको धान नै बिग्रने गरी समस्या जीवनमा कहिल्यै भोग्नु परेन, धान लगाउँदा लागेको ट्याक्टर भाडा, मल, गोडमेल गर्दा लगाइएको खेताला सबै खर्च यो वर्ष नउठ्ने हुदा हामी किसान मारमा परियो’, उनले गुनासो पोखे । धान पसाउने बेलामा परेको निरन्तर अबिरल वर्षाले क्षति पुर्याएपछि यसवर्ष धान उत्पादनमा कमी आउने देखिएको छ । वर्ष दिन खाने अन्नबाली राम्रोसँग स्याहार्न नपाउँदा कसरी पेट पाल्ने समस्या उत्तिकै छ । किसानले माग गरेअनुसार रामपुर नगरपालिकाले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरबाट तोकिएको धान बीउ स्रोत केन्द्रबाट बीउ ल्याएर रामपुरका किसानलाई वितरण गरिएको हो । रौतहट चन्द्रपुरस्थित प्रतीक कृषि तथा बीउबिजन सहकारी संस्थाबाट २० हजार ९२० किलो सावित्री, चितवनको किसान मातृभूमि कृषि कम्पनी प्रालिमार्फत चार हजार ५८० किलो ल्याइएको सावाँ मन्सुली जातको धानको बीउ किसानको मागको आधारमा रामपुरमा वितरण गरियो । बीउमा समस्या नभई धानबालीमा फड्के किराको प्रकोपका कारण यसपटक समस्या देखिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । ‘किसानको खेतबारीमा स्थलगत निरीक्षण गर्दा बीउमा समस्या देखिदैन, फड्के किराले धानको फेदबाट बालासम्म चुसेर सबै हरियो भाग खाइदिँदा यस्तो समस्या देखिएको हो, वर्षा धेरै भएकाले अहिले धानबालीमा रोग किराको समस्या निम्तियो’, शाखा प्रमुख पाण्डेयले भने । समस्या लिएर आउने किसानलाई स्थलगत बाली निरीक्षणपश्चात नगरपालिकाले निःशुल्क विषादी पनि वितरण गरेको उहाँको भनाइ छ । यसवर्ष रामपुरमा मात्र नभई अन्य छिमेकी पालिकामा पनि विभिन्न रोग किराको प्रकोपले धानमा असर पुगेको कृषि प्राविधिकहरु बताउँछन् । रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटलाई धान कम फलेपछि वर्ष दिनको गुजारा कसरी चलाउने चिन्ताले सताएको छ । फड्के किराले सखापै पार्ने गरी धानबालीलाई सतायो । दुःखँंग लगाइएको धान भकारी भरेर वर्षदिनलाई परिवार पालौला भन्ने आशामा रहेका उनी बाली भित्र्याउनै नपर्ने गरी रोग लागेर धानमा असर पारेपछि चिन्तित छन् । ‘परिवारको आयस्रोत केही छैन, धान लगाएर वर्ष दिन जिविका धान्ने हो, बीउ राखेदेखि गोडमेल गर्दासम्म धेरै दुःख गरियो’, उनले भावुक हुँदै भने । वर्षा सकिएपछि काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नु परेको उनी बताउँछन् । करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धान राम्रै फले पनि स्याहार्ने बेला रोगले सताउँदा ठूलो समस्या थपिएको छ । पाँच जनाको परिवारलाई वर्ष दिन खान पुग्ने सो जग्गामा लगाइएको धान यसपटक नोक्सान हुँदा परिवार कसरी पालिने भन्ने चिन्ताले उनलाई रातदिन सताएको छ । गतवर्ष काटेको धान वर्षाले डुबानमा परी ठूलै नोक्सानी उनले बेहोर्नुपर्यो । क्षतिपूर्तिका लागि रम्भा गाउँपालिकाले विवरण सङ्कलन गरेता पनि पहुँचवालालाई नै वितरण गरेर आफूलाई विभेद गरेको उनको गुनासो छ । सगाहाको नौसय मुरी खेतभरि नै महामारीको रुपमा किराले सताउँदा यो वर्ष धानको उत्पादन घट्ने अगुवा कृषक ऋषिराम अर्याल बताउँछन् । उनका अनुसार गतवर्ष यस क्षेत्रमा फ्याट्टफुट्ट रुपमा देखिदा खासै धानमा असर परेन तर यसपटक ठूलै क्षति हुने गरी फैलिएको छ । आफूले लामो समय देखि धान लगाउँदै आएको भएपनि यसपटक जस्तो महामारीको रुपमा फड्के किराको प्रकोप विगतका वर्षमा नरहेको अर्यालको भनाइ छ । पाल्पाको रामपुर, माडीफाँट, हुंगी, अगाहाखोलालगायतका क्षेत्रमा धानबालीमा विभिन्न समस्या देखिएको छ । ठूलै समस्या देखिएको ठाउँमा स्थलगत निरिक्षण गरी आकस्मिक बाली उपचार सेवा दिइएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउँछन् । रोग किराको पहिचान गरी कार्यालयबाट किसानलाई विषादी उपलब्ध तथा प्राविधिक सेवा दिइएको उनले बताए । उनका अनुसार गत असोजको अन्ततिर परेको अबिरल वर्षाले धानमा रोगको समस्या देखिएको हो । पाल्पामा करिब आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान रोपाई गरिदै आइएको छ । जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ्ग, पूर्वखोला, दोभानलगायतका क्षेत्र धान उत्पादको मुख्य पकेट क्षेत्र हुन् । साबित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुलीलगायतका धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषकहरु उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् । रासस

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, गत वर्षभन्दा बढी

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको कात्तिक १४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात् र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।  

गुडविल फाइनान्सको खराब कर्जा १.२५ प्रतिशत घट्यो, निक्षेप ११.२७ अर्ब पुग्यो

काठमाडौं । गुडविल फाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप संकलन ११ अर्ब रुपैयाँ भन्दा बढी गरेको छ । फाइनान्सको निक्षेप ३ प्रतिशत भन्दा बढी वृद्धि भएर ११ अर्ब २७ करोड ९८ लाख ६६ हजार रुपैयाँ पुगेको छ । अहिले बजारमा तरलता अभाव कायम रहेका बेलामा फाइनान्सले भने निक्षेप बढाउन सफल भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १० अर्ब ९४ करोड ७३ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । असोज मसान्तसम्ममा फाइनान्सको कर्जा पनि २.३८ प्रतिशत बढेर ८ अर्ब ८० करोड ८० लाख ६८ हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ८ अर्ब ६० करोड २९ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । फाइनान्सको निक्षेप र कर्जा बढेपनि खुद नाफा भने घटेको छ । इम्पेरमेन्ट चार्ज बढेको र खुद फि तथा कमिशन आम्दानी घटेका कारण फाइनान्सको खुद नाफा घटेको हो । तीन महिनाको अवधिमा फाइनान्सको खुद नाफा ४६ प्रतिशत घटेर ३ करोड ८४ लाख २३ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ७ करोड ११ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ५.०२ प्रतिशत बढेर १५ करोड २ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १४ करोड ३० लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा फाइनान्सको खुद फि तथा कमिसन आम्दानी ३८.३३ प्रतिशत घटेर ८३ लाख ३ हजार रुपैयाँ, सञ्चालन मुनाफा ४४.३६ प्रतिशत घटेर ५ करोड ४६ लाख ६१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.१५ प्रतिशत घटेर १६ करोड ३६ लाख ८४ हजार रुपैयाँ रहेको छ । तीन महिनाको अवधिमा फाइनान्सको वितरणयोग्य नाफा घाटामा रहेको छ । असोज मसान्तसम्ममा १८७ प्रतिशत घटेर ६ करोड ४७ लाख ३ हजार रुपैयाँ नोक्सानीमा छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको वितरणयोग्य नाफा ७ करोड ३६ लाख ३ हजार रुपैयाँ थियो । फाइनान्सको इम्पेरमेन्ट चार्ज १ करोड ७३ लाख रुपैयाँबाट बढेर ४ करोड ७० लाख रुपैयाँ पुगेको छ । जसकारण फाइनान्सको नाफा घटेको हो । समिक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ, जगेडा कोष ५२ करोड ३ लाख ३३ हजार रुपैयाँ रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी १३.८५ प्रतिशत घटेर १६.२४ रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी ३०.१० रुपैयाँ थियो । फाइनान्सको मूल्य आम्दानी अनुपात २७.४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६७.८३ रुपैयाँ रहेको थियो । फाइनान्सको खराब कर्जा १.२५ प्रतिशत घटेर २.१५ प्रतिशत, सीडी रेसियो ८३.१५ प्रतिशत, बेस रेट ३.०८ प्रतिशत बढेर १२.३९ प्रतिशत रहेको छ ।

चाडपर्वको ऋण तिर्ने बालुवामा सुन खोज्न हिँडे तनहुँका बोटे

तनहुँ । व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यतिबेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन् । नेपालीहरूको महान् पर्व दशैं र तिहार चाड मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन् । दशैँ र तिहार मनाउँदा करिब ३० हजार ऋण लागेकाले साहुलाई तिर्न सुन खोज्न नदी किनारतर्फ हिँडेको ५७ वर्षीय मेखलाल बोटेले जानकारी दिए । आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटे दशैँ र तिहारमा मासु, नुन, तेल र छोराछोरीको लत्ता, कपडालगायत साहुसँग ऋण लिएर मनाउने गरेको उनले बताए । साहुको ऋण तिर्नका लागि नदी किनारमा बालुवा चालेर फेला परेको सुन बिक्री गरेर तिर्ने गरिएको छ । उनले भने, ‘दुई ठूला चाडपर्व मान्दा लागेको ऋण बालुवामा सुन खोजेर बिक्री गरेर साहुलाई तिर्ने पुरानो चलन रहिआएको छ ।’ क्रसर उद्योगले नदी किनारमा थुप्रिएका बालुवा उठाइदिँदा पछिल्लो समय सुन पाउन कठिन हुने भएकाले साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि उत्तिकै रहेको त्यस क्षेत्रका बोटेहरू दुःखेसो पोख्छन् । सीमान्तकृत बोटे समुदायको बालुवामा सुन खोज्ने पुख्र्यौली पेसा भएकाले यस कार्यलाई निरन्तरता दिँदै आएका छन् । काम गर्न सक्नेहरू ओढ्ने ओछ्याउने र पकाउने भाँडाकुँडाका गुन्टाहरू कसेर नदी किनारमा नै पाल टाँगेर बसेर सुन खोज्ने कार्यमा लाग्ने अस्मिता बोटेले जानकारी दिए । काम गर्न नसक्ने बूढाबूढी र केटाकेटीलाई घरमा छाडेर जाने गर्दछन् । अधिकांश बोटे घरपरिवार गर्मी समयमा खेती गर्ने र हिउँद लागेपछि नदीमा सुन खोजेर जीविकोपार्जन गर्ने गर्दछन् । बोटेहरू कात्तिकदेखि वैशाखसम्म सुन खोज्न नदी किनार धाउने गर्दछन् । तनहुँका मादी, सेती नदीमा सुन पाउन छाडेपछि त्यस क्षेत्रका ४० घर बोटेमध्ये अधिकांश बोटे कालीगण्डकी, बूढीगण्डकी, मस्र्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कण खोज्न किनारामा जाने गरेको अस्मिता बोटेले बताइन् । नदी किनारमा जाँदा सुन चाल्न प्रयोग गरिने डुड, पार्टी, चनौटोलगायतका सामान लिएर सुन खोज्न जाने गर्दछन् । कुमालटारी क्षेत्रमा पाखे बोटे र पानी बोटे गरी करिब ९० घरपरिवार बसोबास गर्दै आएका छन् । पाखे बोटेले माछा मारेर र पानी बोटेले बालुवामा सुन खोजेर गुजारा चलाउँदै आएको सोममाया बोटेले जानकारी दिइन् । बोटेहरू माछा मार्ने जाली पनि साथ लिएर जान्छन् । नदीकै किनारमा बस्ने, माछाको परिकार बनाएर खाने र सुन खोज्ने कार्यमा तल्लीन भएर लाग्ने उनले बताइन् ।

नाका नखुल्दा सतुवाको बजार शून्य, ताप्लेजुङका किसान निरास

ताप्लेजुङ । लामो समयदेखि बन्द चीनको सीमावर्ती टिप्ता नाका नखुल्दा बहुमूल्य जडीबुटी सतुवाको बजार शून्य जस्तै भएको छ । विगत चार वर्षदेखि बन्द नाका नखुल्दा सतुवाको निर्यात हुन सकेको छैन । ताप्लेजुङमा सङ्कलन भएको सतुवा चीन निर्यात हुँदै आएको थियो । विगत ६ वर्षदेखि व्यावसायिकरुपमा सतुवाको खेती गर्दै आएका फुङ्लिङ नगरपालिका १० का पूर्णहाङ लिम्बू नाका नखुल्दा निराश बनेका छन् । सात वर्ष अगाडि प्रतिकिलो २० हजार रुपैयाँमा खरिद बिक्री हुने सतुवा नाका नखुल्दा उचित मूल्य पाउन सकेको छैन । तत्कालीन समयमा सतुवा राम्रो मूल्यमा बिक्री हुन थालेपछि लिम्बूले वन जङ्गलमा मात्र पाइने सतुवाको व्यावसायिक खेती सुरु गरेका थिए । उनले जङ्गलबाट सतुवाको बिउ ल्याएर खेती सुरु गरेका थिए । उनले बिस्तारै सतुवाको बेर्ना उमार्नका लागि एक रोपनी जग्गामा टनेल लर्गाए । अहिले पनि टनेलबाट सतुवाको बेर्ना बिक्री गर्दै आएका छन् । प्रतिबोट १५ देखि ३० रुपैयाँ सम्म सतुवाको बेर्ना बिक्री गरिरहेका भएकाले लिम्बुले उत्पादन गरेको सतुवाको ताप्लेजुङको भिन्न स्थानमादेखि अन्य जिल्लामा समेत निर्यात गरिरहनु भएको छ । ‘सात वर्षअघि लगाएको सतुवाको बेर्नाबाट यतिबेला फल बिक्री गर्ने समय भएको छ तर फल निकालेको छैन’, लिम्बूले भने, ‘हामी नाका खुलेपछि राम्रो बजार मूल्य आउँछ भन्ने आशामा बसेका छौं ।’ एकपटक सतुवाको दानाबाट बेर्ना उमारेपछि दानाको आकार प्रत्येक वर्ष ठूलो हुँदै जाने भएकाले जुन समयमा पनि खनेर बिक्री गर्न सकिने उनको भनाइ छ । ‘एकपटक रोपिएको दाना कुहिन्न, प्रत्येक वर्ष आख्ला सर्दै जान्छ’, उनले भने । सात वर्षअघि रोपिएको सतुवा अहिले खन्ने हो भने ५० देखि ७० केजीसम्म आउने उनको भनाइ छ । तर बजार मूल्य राम्रो नभएकाले अहिले बारीमै रहेको लिम्बूले बताए । चार वर्षअघि रोजगारीका लागि विदेश जाने तयारीमा रहेका फक्ताङलुङ गाउँपालिका ६ का सन्तोष राई पनि सतुवा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि विदेश जाने योजना त्यागे । विदेश जाँदा लाग्ने खर्च सतुवामा लगानी गरी राईले व्यावसायिक खेती सुरु गरेका छन् । सतुवाको खेती गर्न सुरु गरेसँगै कोरोना महामारी फैलिएको र सोही कारण बन्द टिप्ता नाका हालसम्म खुल्न सकेको छैन । नाका नखुल्दा सतुवा जडीबुटीको बजार बजार शून्य जस्तै बनेको छ । ‘बजार शून्य छ । तैपनि आशा अझै बाँकी छ, कुनै दिन सतुवाले राम्रो बजार मूल्य पाउँछ भन्नेमा विश्वास छ’, राईले भने । डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६६र७७ मा दुई हजार दुई सय २० केजी सतुवा सङ्कलन भएको थियो । त्यसयता सतुवाको सङ्कलन भएको तथ्याङ्क नरहेको डिभिजन वन कार्यालयले जनाएको छ । ‘सतुवा चीनका व्यापारीले खरिद गर्छन्, ताप्लेजुङमा सङ्कलन हुने सतुवा टिप्ता नाका हुँदै चीनको रियु बजारसम्म पुग्छ’, फुङ्लिङ नगरपालिका ५ का सतुवा व्यापारी सविन बानियाँले भने, ‘कोरोना महामारीका कारण बन्द नाका नखुल्दा व्यापार शुन्य जस्तै बनेको छ ।’ स्थानीयका अनुसार सतुवाले धेरै किसिमका रोगको औषधि हो । पेट दुखेको, पखाला लाग्दा, बान्ता हुँदा र पेटको जुका पर्दा समेत औषधिका रुपमा यसको प्रयोग हुँदै आएको छ । यस्तै काटिएको घाउ, आन्द्रा निस्कने अल्काइन हुने, अपच हुने, कमजोरी र रिँगटा लाग्ने रोगको समेत उपचारमा सतुवाको प्रयोग हुँदै आएको छ । रासस

फिलिपिन्स आँधीमा मृत्यु हुनेको संख्या ९८ पुग्यो

मनिला । फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ६९ जना घाइते भएका छन् भने ६३ जना बेपत्ता भएका छन् । आँधीका कारण राजधानी मेट्रो मनिलासहित १७ क्षेत्रका ३१,९४२ गाउँका १८ लाख १२ हजार सात सय ४० जना प्रभावित भएका मनिला टाइम्सले जनाएको छ । कम्तीमा एक लाख १३ हजार चार सय आठ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ भने ११ हजार ७६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ । आठ हजार छ सय आठ किसान र माछुवारा प्रभावित भएका छन् । मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस शहर अधिक प्रभावित भएका छन् । यी स्थानका धान, मकैका साथै अन्य बालीमा क्षति भएको छ ।