तिहारपछिको पहिलो कारोबार : दोहोरो अंकले बढ्यो नेप्से, वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता
काठमाडौं । तिहार र छठपछि सोमबार खुलेको सेयर बजार १६.३९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार १६.३९ अंकले सेयर बजार बढ्दा नेप्से १८७४.७४ विन्दुमा पुगेको छ । यसरी सेयर बजार बढ्दा सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेको सयपत्री हाइड्रोपावरको सेयर मूल्य २८.५० रुपैयाँले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार २५ लाख ७४ हजार ९७५ कित्ता खरिद बिक्री हुँदा ६९ करोड ७३ लाख १७ हजार ६१३ रुपैयाँको कारोबार भएको छ जसमा सबैभन्दा बढी वाणिज्य बैंकहरुको कारोबार भएको छ । वाणिज्य बैंकहरुमा सबैभन्दा बढी कारोबार हुनेमा एनआइसी एसिया बैंक, एभरेष्ट बैंक, नबिल बैंम र प्रभु बैंक रहेको छ ।
उडान रद्द हुँदा काठमाडौंमै रोकिएका यात्रुलाई आज दिल्ली लगिदैं
काठमाडौं । आइतबार काठमाडौं–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले आज दिल्ली लैजाने भएको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपरान्ह दिल्ली पुर्याउने भएको हो । उहाँका अनुसार दुई सय ४७ मध्ये बाँकी रहेका एक सय ५० यात्रुलाई निगमले दिउँसोको आफ्नै उडान र अरु वायुसेवा कम्पनीसँगको सहकार्यमा दिल्ली पुर्याउने तयारी रहेको छ । केही यात्रुलाई निगमले आइतबार नै अन्य वायुसेवा कम्पनीको सहयोगमा दिल्ली पठाइसकेको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै आइतबार यात्रु अलपत्र परेका थिए । प्राधिकरणका अनुसार आज निगमको काठमाडौँ–दिल्ली दुई वटा उडानको तालिका छ । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन नगरेको भन्दै निगमको दिल्लीतर्फको एउटा उडान रद्द गरेकामा आइतबार बिहान विमानस्थल पुगेका यात्रु अलपत्र परेका थिए । काठमाडौँ–दिल्ली आइतबारको १ः४५ बजेको उडान रद्द हुँदा दुई सय ४७ जनामध्ये एक सय जना कोड सेयरिङमार्फत जापान, अमेरिका, जर्मनीलगायत विभिन्न मुलुक जाने यात्रु अलपत्र परेका थिए । रासस
तीन महिनामा ३ अर्बभन्दा धेरैको फलफूल आयात
काठमाडौं । नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन् । हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ । मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन । बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक । देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो स्याउ फलाउने जनशक्ति रोजगारीको खोजीमा विदेशिएको छ । सरकारी निकायले पनि यसमा विशेष ध्यान दिन नसक्दा स्याउमा मुलुक आत्मनिर्भर बन्न सकेको छैन । देशभित्रै अर्बौं मूल्य बराबरको स्याउ फलाउने र विदेशसमेत बिक्री गर्न सकिने अपार सम्भावना रहेको भए पनि तारतम्य भने मिल्न सकेको छैन । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालीले स्याउ आयातका लागि मात्रै दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन् । विभागका अनुसार चालू आवको असोज मसान्तसम्म दुई अर्ब २४ करोड ९६ लाख ३९ हजार रुपैयाँ मूल्य बराबरको तीन करोड चार लाख ४७ हजार केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले २८ करोड पाँच लाख ८५ हजार रुपैयाँ बराबरको राजस्वसमेत सङ्कलन गरेको छ । उत्तरी नाका बन्द हुँदा त्यस अवधिमा भारतबाट सबैभन्दा धेरै स्याउ भित्रिएको विवरणमा उल्लेख छ । भारतबाट मात्र एक अर्ब ४९ करोड २४ लाख ४९ हजार रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै चीनबाट ७५ करोड ७१ लाख ८९ हजार रुपैयाँ मूल्यमा ७८ लाख ६८ हजार सात सय ९८ केजी स्याउ आयात भएको छ । विभागको विवरणानुसार नेपालमै उत्पादन गर्न सकिने कृषिउपज, फलफूलसमेत अत्यधिक आयात भइरहेका छन् । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा देशमा तीन अर्ब रुपैयाँभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यस्तै चालू आवको असोज मसान्तसम्म २९ करोड ७६ लाख ५६ हजार रुपैयाँका २८ लाख ७१ हजार एक सय ७६ केजी ताजा अनार आयात भएको देखिन्छ । त्यसबाट सरकारले तीन करोड ७२ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । केरा आयातमा १६ करोड बाहिरियो नेपालीले तीन महिनाको अवधिमा १६ करोड २३ लाख ५९ हजार रुपैयाँ बराबरको केरा आयात गरेको छ । चालू आवको असोज मसान्तसम्म भारतबाट मात्रै कूल एक करोड १३ लाख सात हजार चार सय ४६ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले सात करोड दुई लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । तीन महिनाको अवधिमा मात्रै १४ करोड ८७ लाख ९२ हजार रुपैयाँ बराबरको २२ लाख १९ हजार चार सय ५७ केजी सुन्तला आयात भएको छ । त्यस्तै असोज मसान्तसम्म ११ करोड आठ लाख १४ हजार रुपैयाँ मूल्य बराबरको खरबुुजा, १० करोड ८० लाख १५ हजार रुपैयाँ बराबरको मेवा आयात भएको तथ्याङ्कमा छ । पछिल्लो तीन महिनामा दुई करोड ९१ लाख ७१ हजार रुपैयाँको किबी, एक करोड ४९ लाख आठ हजार रुपैयाँ मूल्य बराबरको एभोगाडो आयात भएको देखिन्छ । यस अवधिमा अम्बा, आँपलगायतको आयातमा १८ करोड ७४ लाख रुपैयाँ बाहिर गएको छ । त्यस्तै नास्पाती भुइँकटहरलगायत फलफूल आयातमा करोडौँ रकम बाहिरिएको विवरणमा उल्लेख छ । रासस
अनुमति नलिई टिकट बिक्री गरेको भन्दै प्राधिकरणले सोध्यो निगमलाई स्पष्टिकरण
काठमाडौं । अनुमति नलिई यात्रुहरुलाई टिकट बिक्री गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमलाई स्पष्टिकरण सोधेको छ । कार्तिक १३ गते आइतबार निगमले दिल्ली उडानका लागि प्राधिकरणसँग अनुमति नलिई यात्रुहरुलाई टिकट बिक्री गरेर अलपत्र पारिएको भन्दै गम्भिर ध्यानआकर्षण भएको जनाउँदै २४ घण्टे स्पष्टिकरण सोधिएको जनाएको छ । प्राधिकरणले आइतबारबाट जाडो मौसमका लागि नयाँ उडान तालिकामा निगमको सम्बन्धित जहाजको उडान नभएको भन्दै समयमा नै यात्रुहरुलाई खबर वैकल्पिक व्यवस्था गर्नुपर्नेमा गैर कानूनी ढंगले बोर्डिङ पास वितरण गरिएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले उडानको अनुमति प्राप्त नगरेको जहाजको टिकट बिक्री वितरण नगर्न सबै बायुसेवा कम्पनीलाई अनुरोध गरेको छ । हेर्नुहोस प्राधिकरणको विज्ञप्ति : हिजो मिति २०७९।०७।१३ गते तद्नुसार 30 October 2022 का दिन नेपाल नागरिक उड्डयन प्राधिकरणवाट उडान स्वीकृति नलिएको नेपाल वायुसेवा निगमको काठमाडौंवाट दिल्ली उड्ने उडान नं.RA-217 का यात्रहरुलाई विमानस्थलमा बोलाई यात्रहरुलाई गन्तव्यमा नपऱ्याई अलपत्र पारेको घटना प्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको छ । प्राधिकरणले 23 October 2022 मा नेपाल वायुसेवा निगमलाई अनुमति प्रदान गरिएको तथा 30 October 2022 वाट लागु हुने Winter Schedule 2022-2023 मा आइतबारको दिन Schedule Flight RA-217/218 को उडान नभए पनि सो उडानको यात्रुहरुलाई समयमै खबर गरेर वैकल्पिक व्यवस्था गर्नुपर्नेमा सो कार्य नगर्नुको कारण, उडान नभएको दिनमा यात्रुहरुलाई विमानस्थलमा बोलाएर गैर कानुनी तरिकाले बोडिङ्ग पास समेत उपलब्ध गराई गैर सैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भिर असर पारेको सन्दर्भमा सो वायुसेवा कम्पनीलाई मिति २०७९।०७१३ गते २४ घण्टे स्पष्टीकरण सोधिएको व्यहोरा जानकारी गराईन्छ । साथै शिकागो महासन्धी तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को उडान सुरक्षा मापदण्ड र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०५८ अनुसार नेपालको हवाई क्षेत्रमा उडान/अवतरणको लागि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था विपरित प्राधिकरणवाट उडान अनुमति प्राप्त नगरेको कुनै पनि उडानको टिकट बिक्री वितरण नगर्न/नगराउन तथा प्राधिकरणवाट उडान अनुमति प्राप्त गरेको उडान कार्यक्रम मात्र संचालन गर्न गराउन हुन सम्पूर्ण वायुसेवा कम्पनीलाई निर्देशन गर्दै अन्यथा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सहित विषयको गाम्भिर्यता तथा सत्यतथ्य नबुझि केही मिडिया तथा सामाजिक संजालमा अतिरञ्जित तरिकाले प्रकाशित समाचारमा कुनै सत्यता नभएको व्यहोरा सम्पूर्ण सञ्चारकर्मी, सरोकारवाला एंव सर्वसाधारणमा जानकारीको लागि अनुरोध गरिन्छ ।
शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका धार्मिक कर्म गर्नेलाई कारबाहीको माग
काठमाडौं । शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका श्रीमद्भागवतलगायत पुराणवाचन गरिएकामा कारबाहीको माग गर्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा उजुरी आउन थालेको छ । असोज १४ मा अस्त भएको शुक्र मङ्सिर ६ मा उदय हुने समितिले जनाएको छ । गुरु, शुक्र अस्त भएका बेला पुराण वाचनलगायत कुनै कामनाले गर्ने कर्म गर्न नहुने समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा पनि सूचना प्रकाशन गरिएको छ । सूचना विपरीत विभिन्न जिल्लामा मुहूर्तबिना धार्मिक कार्यक्रम आयोजना गरिएको हिन्दू जागरण नेपालले जनाएको छ । हिन्दू जागरणले बिना मुहूर्त धार्मिक कार्यक्रम गर्नेको प्रमाणसहित समितिमा उजुरी दर्ता गरेको अध्यक्ष रामकृष्ण उपाध्यायले बताए । यस्तो काम गर्नेलाई समिति गठन आदेश, २०७७ बमोजिम कारबाही गर्न पनि उजुरीमा माग गरिएको छ । हिन्दू जागरणले समितिले स्वीकृति नदिइ प्रकाशन भएका पात्रोलाई पनि कारबाही गर्न माग गरेको छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रोले आफूखुसी मुहूर्त र साइत राख्ने एवम् सोअनुसार काम गर्ने गरिएकाले समिति गठन आदेश बमोजिम कारबाही गर्न माग गरिएको हो । शुक्र उदय भएपछि मङ्सिर १० गतेपछि मात्र यस वर्षको विवाह, व्रतबन्धको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । समितिमा आएको उजुरीका विषयमा आवश्यक कारबाही गरिने उनले जानकारी दिए । समितिमा थोरै जनशक्ति भएकाले गठन आदेशले दिएका सबै काम गर्न सम्भव नभएको बाइएको छ । विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेश २०७८ साउन १८ गते नेपाल राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा छ । गठन आदेश बमोजिम यस वर्षका पात्रो र भित्तेपात्रो समितिको स्वीकृतिमा मात्र प्रकाशन गर्नुपर्ने व्यवस्था छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारबाही गर्न समितिले कार्यविधि पनि मस्यौदा गरी स्वीकृतिको चरणमा रहेको जनाएको छ । रासस
मुक्तिनाथ मन्दिरमा डिजिटल दानपत्र !
काठमाडौं । मन्दिर परिसरमा चन्दाका लागि चन्दा वाकस राखेको धेरैले देखेको होला तर आधुनिकतासँंगै चन्दा बाकससँंगै डिजिटल दानपत्र पनि देख्न थालिएको छ । देशकै प्रख्यात मुक्तिनाथ मन्दिर यस्तो डिजिटल दानपत्र राखेको देखिएको हो । मन्दिर पुगेका इच्छुक भक्तालुहरुले डिजिटल प्रविधिबाट सोही साधनबाट दान दिने कार्य गरिन्छ । आफूलाई इच्छाए अनुसार डिजिटल प्रविधिबाट त्यहाँं दान दिन सक्ने व्यवस्था गरिएको छ । रा जधानीबाट दर्शनका लागि मन्दिर पुगेका इन्जिनियर कृष्णभक्त दुवालले डिजिटल दानपत्रमार्फत पहिलो पटक दान गर्न पाउँंदा रमाइलो अनुभव भएको सुनाए । ‘फर्ष्ट टाइम डिजिटल दानपत्रबाट दान गर्न पाउँंदा अनौठो र खुशी महशुस भयो,’ उनले भने । आधुनिकतासँंगै आधुनिक प्रविधिको प्रयोग हुन थालेकोमा उनले हर्ष प्रकट गरे । भ्रमण टोलीमा सहभागी युवा बैंकर प्रदीप सुवेदीले डिजिटल प्रविधिको प्रयोगलाई हरेक क्षेत्रमा बढावा दिनुपर्ने बताए । यसो हुनसके मात्रै समयसँंगै मानिसले सेवासुविधा पनि पाउनसक्ने उनको भनाई छ । नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित मुक्तिनाथ मन्दिर प्राकृतिक हिसाबले एकदमै सुन्दर र मनमोहक छ । समुन्द्र सतहबाट तीन हजार सात सय १० मिटरको उचाईमा रहेको यो मन्दिर धार्मिक एवम् ऐतिहसिक हिसाबले पनि उति नै विशेष ठाउँ हो । हिन्दूहरूका लागि भगवान विष्णुका १०८ दिव्योपदेशहरुमध्ये १ मुक्तिनारायण मन्दिर तथा बौद्ध धर्मावलम्बीहरूको लागि २४ तान्त्रिक ठाउँहरूमध्येको १ झ्युमिग–ग्यात्शा दुवै एकैठाउँमा भएको हिन्दू तथा बौद्ध समुदायमा एकदमै प्रख्यात तीर्थस्थल हो मुक्तिनाथ । हिमालपारिको जिल्ला मुस्ताङको प्राकृतिक सुन्दरता र मुक्तिनाथको धार्मिक महत्वले गर्दा त्यहाँसम्मको यात्राले मन लोभ्याउने गर्दछ ।
एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्णपाठसहित)
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले बताएका छन् । घोषणापत्रको पूर्णपाठ : [pdf id=361031]
१६१ आरोहीले चढे मनास्लु हिमाल
काठमाडौं । यस वर्षको शरद ऋतु असोज, कात्तिकमा एकसय सय ६१ आरोहीले मनास्लु हिमाल ८,१६३ मिटर आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् । विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यो मौसमको मनास्लु आरोहणका लागि चार सय ४ विदेशीले अनुमति लिएकामा ७७ ले आरोहण गरेको जानकारी दिए । विदेशी आरोहीका साथमा नेपाली शेर्पा सहयोगी पनि मनास्लुको चुचुरोमा पुगेका छन् । उनले यो मौसमको मनास्लु आरोहण सकिएको तथा अन्य हिमाल तथा चुलीको आरोहण जारी रहेको बताए । अघिल्लो वर्षभन्दा केही कम सङ्ख्यामा आरोही मनास्लुको चुचुरोमा पुगेको जनाइएको छ । यो पटक मनास्लु आरोहण सुरु हुनैलाग्दा मनास्लु आधारशिविर माथितिर हिमपहिरोको घटना भएको थियो । मनास्लु हिमालमा गत असोज १० गते हिमपहिरो खस्दा एक जनाको मृत्यु भएको थियो भने केही आरोही घाइते भएका थिए । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित मनास्लु हिमाल विश्वको आठौँ अग्लो हिमाल हो । मनास्लु मानसिरी पर्वतशृङ्खलामा पर्दछ । यो मौसमका लागि मनास्लु आरोहण आकर्षक मानिन्छ । वसन्त ऋतुमा हिउँ बढी जम्मा हुने भएकाले शरद ऋतुका लागि मनास्लु आरोहण उपयुक्त मानिन्छ । वसन्त ऋतुमा बढी सगरमाथा लगायत हिमालको आरोहण हुने गरेको छ । पर्वतारोहण शाखाको विवरणमा यो मौसममा मनास्लु आरोहणका लागि मात्रै ३८ आरोही समूहका ७९ महिला र तीन सय ७ पुरुष गरी कूल चार सय ४ ले आरोहण अनुमति लिएका थिएका थिए । शरद ऋतुको आरोहणका लागि सगरमाथा ८, ८४८। ८६ मिटर, मनास्लु लगायत हिमाल तथा चुली आरोहणका लागि एक सय ४६ आरोही समूहका एक हजार दुई सय ३८ आरोहीले आरोहण अनुमति लिएका छन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्छ । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो मौसममा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो मौसम आरोहणको उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेको बताए । रासस