विकासन्युज

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा

काठमाडौं । टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्गले टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधा सहित ल्याएको छ । कात्तिक १५ गते मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी कम्पनीले टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको हो । उक्त अवसरमा सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त प्रमुख व्यवसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु प्रदान गर्नु रहेको बताए । त्यसैगरी टाटा मोटर्सका उपाध्यक्ष अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकहरुको सन्तुष्टिको स्तरमा वृद्धि भएको बताए । टाटा प्रोटेक्टका विस्तारीत सेवा तथा सुविधाहरुले गाडीको अपटाइम उच्च राख्ने, ग्राहकहरुको नाफामा समेत बृद्धि हुने र ग्राहकहरुले तनावमुक्त सेवा तथा सुविधाहरुको मजा लिने कुरामा विश्वस्त रहेको उनी बताउँछन् । टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् र उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेकम्पनीले जानकारी दिएको छ । मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, ए।एम।सी सेवा रहेका छन् जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ । टाटा जेन्यूइन पार्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरिएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५० हजार कि।मि सम्मको वारेन्टी सुविधा रहेको छ । एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ, नभएमा क्षतिपूर्तीको ब्यवस्था कम्पनीले गर्नेछ । टाटा जिप्पि अन्तर्गत ४८ घण्टा भित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तीको व्यवस्था रहेका छ । ग्राहकहरुको सेवाको लागी कस्टमर हेल्पलाइन को व्यवस्था रहेको छ जुन २४ घण्टा ७ दिन उपलब्ध रहने छ र ग्राहकहरुको कुनै पनि गुनासोहरु ४८ घण्टा भित्र समाधान गर्ने प्रत्याभूती प्रदान गर्दछ । टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुन्छ र साथमा नगद रहित विमा दावि सुविधाहरु पनि रहेको छ । टाटा अलर्ट अन्तर्गत कंपनीले तोकेका हाईवे कोरीडरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टा भित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टा भित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान गर्दछ । र वी केयेर सेवा अन्तर्गत वर्कशपमा गाडी बनाउदाँ ग्राहकले अपेक्ष गरे बमोजिमको सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराई तुरुन्त समाधान प्रदान गर्ने व्यवस्था रहेको छ ।

ट्वीटर एकाउन्ट भेरिफाइड गर्नको लागि मासिक ८ डलर खर्च गर्नुपर्ने

काठमाडौं । ट्वीटर एकाउन्ट भेरिफाइड गर्नको लागि मासिक ८ डलर खर्च गर्नुपर्ने भएको छ । ट्वीटरका सिइओ एलन मस्कले ट्वीट गर्दै सो कुरा जनाएका छन् । भेरिफाइड एकाउन्ट चलाउनेहरुले आफ्नो टाइमलाइनमा आफ्नो कन्टेन्ट सिर्जना गर्न र ट्वीटरको आम्दानी पनि बढ्ने मस्कले जानकारी दिएका छन् । Twitter’s current lords & peasants system for who has or doesn’t have a blue checkmark is bullshit. Power to the people! Blue for $8/month. — Elon Musk (@elonmusk) November 1, 2022

सिन्धुपाल्चोकमा जीवन धान्न नौ महिना चौँरी खर्कको बास

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर खर्च चलाउनका लागि चौरी स्याहार्दै जङ्गली जनावरको समेत सामना गर्दै उनी बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्छन् । हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौँरी खर्कमा बिताउने गर्नुभएको छ । यो समयमा उनको सङ्गत आफ्नै परिवारका सदस्यका अलावा चौँरी र आसपासका चौँरीपालक किसानसँग मात्र हुन्छ । पुस्तोेदेखि चौँरीपालन व्यवसाय गर्दै आएका शेपा मात्रै होइन, सिन्धुपाल्चोककै पारिगाउँको नामले चिनिने जुगल गाउँपालिका–३ गुम्बाका दर्जन बढी चौँरीपालक किसानको दैनिकी हो यो । चौँरीबाट हुने आम्दानीका लागि शेर्पाले नौ महिनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन् । आफ्नो परिवारसमेत सँगै लैजाने गरेको उनले सुनाए । ‘पढेको छैन, अरु सीप पनि छैन’, शेर्पा भन्छन्, ‘परिवारको सदस्यलाई पाल्नसक्ने खर्चको जोहो गर्नकै लागि लेकको बास भएको छ ।’ वर्षमा पाँचभन्दा बढी ठाउँमा चौँरीको गोठ सार्नुपर्छ । साथसाथै चौँरीपालकले आफ्ना बालबच्चाको आश्रय पनि परिवर्तन गरिरहेका हुन्छन् । जुगल हिमालको बेसक्याम्प रहेको पुम्बासेर्पु, नेपेमासालसम्म उनीहरूले चौँरीको गोठ सार्छन् । पुम्बासेर्पु समुद्री सतहबाट चार हजार पाँच सय मिटरमा पर्छ । ‘बाबु हजुरबादेखि थाहा भएसम्म यही पेसा गरेँ, खर्कमै हुर्किएँ अनि मैले पनि यही पेसालाई निरन्तरता दिएँ’, जुगल हिमालको फेदीमा पर्ने ङिमाल्हा खर्कमा भेटिएका जाङ्बुले भन्छन्, ‘चाैँरी चराउने, दुहुने, छुर्पी र घिउ बनाउने दिन यसरी नै बित्छ’, बच्चैदेखि हिमाली भेगमै बसेकाले जङ्गली जनावरको डर नलाग्ने उनी बताउँछन् । खर्कका पुरुष सदस्य अन्न सकिएपछि गाउँमा खाद्यान्न लिन जाने भए पनि महिला र बालबालिकाले नौ महिनाको अवधिमा कुनै घर र नौला मान्छे देख्न पाउँदैनन् । सारा संसार खर्क नै हुन्छ । उनीहरु जाडो बढ्दै गएपछि केही समय मानव बस्तीको नजिक पुग्ने भए पनि बाँकी समय फराकिलो खर्कको सीमित व्यक्तिसँगको सहकार्यमै रमाउँछन् । छ जनामध्ये चार जनाको परिवारसहित खर्कमा भेटिएका पेरोम्जी शेर्पा वर्षभरि दुःख गरेर दुई लाख रुपैयाँ सम्म आम्दानी हुने बताउँछन् । ‘आफै बजार पुग्न भ्याइँदैन, खर्कमै आएर ठेकेदारले दिएको मूल्यमा छुर्पी र घिउ बेच्नुपर्छ’, शेर्पा भन्छन्, ‘दुःख धेरै आम्दानी कम भए पनि चित्त बुझाउनुपरेको छ ।’ शेर्पाका पछिल्ला दुई सन्तान आफन्तकामा बसेर पढ्दै गरेको भए पनि अघिल्ला एक छोरी र छोराले भने खर्कमा आफूलाई सघाउनुपर्दा पढ्न पाएका छैनन् । बाबु–आमालाई सघाउन खर्कमा बसेकी १७ वर्षीया फूर्पा शेर्पालाई गाउँ जाँदा आफ्ना उमेरका साथीहरूको व्यवहार अनौठो लाग्छ । खर्कमा जन्मिएर खर्कमै हुर्किएकी फूर्पालाई वर्षको तीन महिना गाउँ नजिक हुँदा गाउँले जीवनले लोभ्याउँछ तर पनि उनी चौँरी, खर्क र आफ्नो परिवारको घेराबाट निस्कन सकेका छैनन् । ‘गाउँ पुग्दा साथीहरूले के–के कुरा गर्छन्, म त केही बुझ्दिनँ’, मुस्किलले थोरै मात्र नेपाली भाषा बोल्ने फूर्पाले भने, ‘बा–आमालाई सघाउनुपरेकाले गोठमै बस्नुपर्छ, गाउँका कुरा केही थाहा हुँदैन ।’ साविक गुम्बा गाविसको तेम्बाथान र दिपुबाट पुसमा गोठ सार्न थालेपछि यहाँका चौँरीपालक किसान निमाला, दोङ्जाङमा, चाँसीखर्क, थालदर, नेपेमासाल हुँदै जुगल हिमशृङ्खलाको बेसक्याम्प पुम्बासेर्पुसम्म गोठ सार्छन् । तेम्बाथान र दिपुलगायत गाउँका शेर्पाहरूको प्रमुख आयस्रोत नै चौँरी व्यवसाय हो । रासस

सरकारले मूल्य निर्धारण नगर्दा कैलालीका किसान सस्तोमा धान बेच्न बाध्य

टीकापुर । कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् । कैलालीका किसान यस वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका हुन् । सरकारले अहिलेसम्म धानको समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा धान बेचिरहेको चित्रबहादुर चौधरीले बताए ।मूल्य निर्धारण नभएका कारण हामी सस्तोमा धान बेचिरहेका छौँ, उनी भन्छन्, ‘धान बेचेर हिउँदे खेतीका लागि आवश्यक मल, बीउ र जोताइ खर्च जोहो गर्नुपर्छ । त्यसैले धान दाउने बित्तिकै बेच्नुपर्छ तर सरकारले मूल्य तोकेको छैन ।’ स्थानीय गल्ला व्यापारी तथा धान खरिद गर्ने व्यवसायीले धान प्रतिक्विन्टल दुई हजार दुई सयदेखि दुई हजार तीन सय रुपैयाँ सम्ममा खरिद गरिरहेका छन् । सरकारले समर्थन मूल्य नतोकेको र धान राम्रोसँग नसुकेको कारण सुरुआती चरणमा उक्त मूल्यमा धान खरिद गरिरहेको व्यापारी नवीन श्रेष्ठले बताए । सरकारले धान सस्तो मूल्यमा बेचेर सकिने बेला समर्थन मूल्य निर्धारण गर्ने भएकाले धान उत्पादनको लागत मूल्यभन्दा सस्तोमा धान बेच्नुपरेको किसानको गुनासो छ । सरकारले अहिलेसम्म कुनै जानकारीसमेत नगराएको र मन्त्रिपरिषद्को निर्णयले धानको समर्थन मूल्य निर्धारण गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा परिपत्रपछि कार्यान्वयन हुने गर्दछ । तर अहिलेसम्म कुनै जानकारी नभएको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख एन्जिला बस्नेतले बताए । “मूल्य निर्धारण गरिएको छैन, निर्धारण भएपछि हामीले धान खरिद डिपो लगाउने गर्दछौँ”, उनले भने, “अहिले व्यापारीले आ–आफ्नै तरिकाले धान खरिद गरिरहेका छन् ।” गत वर्ष टीकापुरमा कात्तिक १८ गतेदेखि खाद्य व्यवस्था तथा कम्पनीले मोटा धान प्रतिक्विन्टल दुई हजार सात सय ३५ रुपैयाँ र मध्यम धान दुई हजार आठ सय ८५ रुपैयाँ मा खरिद सुरु गरेको थियो । बाढीले धानको बीजवृद्धि खेतीमा क्षति गएको असोजमा कैलालीमा आएको बाढी तथा डुबानले तयारी अवस्थामा रहेको धान बालीमा नोक्सानी भयो । धेरै किसानले खाने बाली तथा बीउ उत्पादनका लागि धानखेती गरेका थिए । बाढी तथा डुबानले खानका लागि लगाएको बालीसँगै बीउ उत्पादनका लागि गरिएको खेतीमा असर गर्दा यस वर्ष बीजवृद्धि खेतीको उत्पादन घट्ने बीउ उत्पादक कृषि सहकारीको भनाइ छ । जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि कृषक सहकारी संस्था मुनुवाले यस वर्ष एक सय ८० हेक्टरमा विभिन्न जातका धानको बीजवृद्धि खेती गरेको थियो । बीउका लागि गरिएको खेती रोपेदेखि विभिन्न समयमा खेतको निरीक्षणसँगै उत्पादनको अवस्थामा पुग्ने बेलासम्म धानखेत राम्रै उत्पादन दिने अवस्थामा थियो । बाली तयारी अवस्थामा पुगेका बेला असोजमा दुईपटक आएको वर्षा र बाढीले धानखेतीमा क्षति पु¥याएको सहकारीले जनाएको छ । सहकारीको यस वर्ष चार हजार क्विन्टल धानको बीउ सङ्कलन गरी भण्डारण गर्ने योजना थियो । तर बाढी र डुबानका कारण बीजवृद्धिका लागि गरिएको खेतमा नोक्सानी हुँदा धानको बीउको मात्रा घट्ने सहकारीका व्यवस्थापक गोविन्द रावतले बताए । ‘यस वर्ष हामीले बीजवृद्धिका लागि सघाएका क्षेत्रमा समेत उत्पादन घटेको छ । बाढीले डुबेको र ढलेको धान बीउका लागि योग्यसमेत हुँदैन’, उनी भन्छन्, ‘अहिले किसान धान सङ्कलन गर्दैछन् । तर धानको बीउ भने घट्ने निश्चित हो ।” टीकापुरका नमूना बहुउद्देश्यीय सहकारीले पनि यस वर्ष ८२ बिघा क्षेत्रमा विभिन्न जातको धानको बीजवृद्धि कार्यक्रम गरेको थियो । करिब एक हजार दुई सय क्विन्टल धानको बीउ सङ्कलन गर्ने लक्ष्य राखेको छ । तर बाढी तथा डुबानले गर्दा धानको बीजवृद्धिका लागि गरिएको बालीमा नोक्सानी गरेकाले बीउ उत्पादनमा असर पर्ने सहकारीका व्यवस्थापक लीला चौधरीले बताए । टीकापुरकै धनसिंहपुर कृषि सहकारीले पनि ६२ बिघा क्षेत्रफलमा बीउ उत्पादनका लागि धानको बीउवृद्धि खेती गरेको थियो । बाढी तथा डुबानले गर्दा धानको बीजवृद्धिका लागि गरिएको १५ बिघा क्षेत्रफल बालीमा नोक्सानी गरेकाले बीउ उत्पादनमा असर पर्ने सहकारीका व्यवस्थापक मुना घर्तीमगरले बताइन् । टीकापुर नगरपालिकामा आठ र जानकीमा तीन सहकारी बीउ उत्पादन सङ्घमा आबद्ध छन् । सहकारीले विभिन्न बालीको बीउ उत्पादन गर्दै आएका छन् भने धानको मात्र यस वर्ष करिब पाँच सय हेक्टरमा बीउ उत्पादनका लागि बिजवृद्धि कार्यक्रम सञ्चालन गरेका छन् । रासस

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

बागलुङ । बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ । माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो । बेलढुङ्गा आउने पर्यटकलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरबासका कारण सहज भएको छ । बेलढुङ्गा आउँदा निकै आनन्दित र ऊर्जा थपिएको जैमिनी नगरपालिकाका रमेश केसीले बताए । ‘समाचार र सामाजिक सञ्जालबाट थाहा त पाएको थिए, तर यहाँ आएपछि सुनेभन्दा राम्रो लाग्यो, पदमार्ग र हिमालको दृश्यले मनै लोभ्यायो’, उनले भने । ढुङ्गा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुङ्गालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकषर्ति बनाएको छ । यहाँबाट हिमशङ्खला, म्याग्दी सदरमुकाम बेनीसहित उच्च पहाडी भेगको अवलोकन गर्न सकिन्छ । प्राकृतिक पहाडको टुप्पोलाई नामकरण, प्रचार–प्रसार तथा पूर्वाधार निर्माणका कारण पर्यटक यहाँ आउन थालेको स्थानीय गोपाल श्रीसको भनाइ छ । ‘पालिका र गण्डकी प्रदेशले सहयोग गरेको छ, पाँच वर्षदेखि घरबाससमेत सञ्चालन गरेका छौँ’, बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालकसमेत रहेका श्रीसले भने ‘अहिले शुक्रबार र शनिबार अरु समयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् ।’ दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुङ्गा नयाँ स्वरुप ल्याएको मात्रै छैन, बेलढुङ्गालाई राष्ट्रियरूपमा नै चिनाइसकेको छ । गुमनाम रहेको बेलढुङ्गाको विशेषता र प्रचार–प्रसारका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । बेलढुङ्गाको विकासका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि २० लाख रुपैयाँ र चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । करिब दुई घण्टाको सडक यात्रापछि बागलुङ बजारबाट पुग्न सकिने सो गन्तव्यमा म्याग्दीतर्फबाट समेत सजिलै पुगिन्छ । समुद्री सतहदेखि दुई हजार छ सय १२ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मनै लोभ्याउने गरेको स्थानीय मनकुमारी भण्डारी बताउँछन् । भत्किएको बेलढुङ्गा काठेखोला गाउँपालिकाको  दुई लाख ५९ हजारमा मर्मतसम्भार गरिएको थियो । ओख्लेको देउरालीसम्म सडक पुगेको छ । त्यहाँबाट दुई सय ६० मिटर पदमार्ग प्रयोग गरेर बेलढुङ्गा पुग्न सकिन्छ । दृश्यावलोकनसँगै सूर्योदय पनि यहाँबाट हेर्न सकिन्छ । अधिकांश पर्यटक घरबासमा बास बसेर बिहान बेलढुङ्गा पुगेर सूर्योदय हेर्ने गरेका छन् । रासस

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

चितवन । तिहार पर्वमा चितवनका एउटै किसानले सात लाख रुपैयाँको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाख रुपैयाँको फूल बेचेका हुन् । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोप्नुभएको थियो । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, ‘गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको फूलले राम्रै बजार पायो, आम्दानी पनि मनग्य भयो ।’ यस वर्ष भारतबाट फूल आयात कम भएका कारण पनि व्यापार राम्रो भएको उनी बताउँछन् । तिहारको अवधिभर १२ हजार बढी फूलको माला बिक्री भएको उनले बताए । फूल बिक्रीबाट सात लाख रुपैयाँभन्दा बढी आम्दानी भएको पाख्रिनले जानकारी दिए । ‘मैले उत्पादन गरको फूल सबै जिल्लाभित्रै खपत भयो’, उनले भने, ‘केही फूल पश्चिम नेपालका जिल्लामा पनि पठाएँ ।’ उनले अझै चार/पाँच लाख रुपैयाँको फूल बारीमा नै रहेको बताए । ‘मङसिरमा बिहेको लगन आउँदैछ, त्यो बेला पनि सयपत्री फूल बिक्री हुन्छ, अन्य समयमा पनि फाट्टफुट्ट बिक्री भइरहन्छ’, उनले भने । उनले १२ लाख रुपैयाँको फूल बेच्दा एक सिजनमा सबै खर्च कटाएर आफूलाई छ–सात लाख बचत हुने बताए । डेढ बिघा जग्गामा फूल बिक्री गरिसकेपछि उनले तोरी लगाइसकेका छन् । ‘यसपटक राम्रो व्यापार भयो, २०८० सालको दसैँमा १० बिघा क्षेत्रफलमा सयपत्री फुलाउँछु’, उनले भने, ‘वरिपरि ढकमक्क फूल फुलेको देख्दा पनि निकै रमाइलो लाग्छ ।’ उनले २६ वर्षअघिसम्म काठमाडौँमा पढाउने काम गरेका थिए । ‘काठमाडौँमा बसेर १० वर्ष पढाउने काम गरेँ’, उनले भने, ‘त्यो काम छाडेर भरतपुर फर्किएँ र फूलको मोहले नर्सरी सञ्चालन गर्न थालेँ, अन्ततः व्यवसाय नै फूलखेती बन्यो ।’ यसपालिको तिहारमा उनले एउटा मालाको एक सय रुपैयाँमा बिक्री गरे भने प्रतिकेजी चार सय रुपैयाँमा बिक्री गरेको सुनाए । पाख्रिनले १८ वर्षदेखि व्यावसायिकरूपमा फूलखेती गर्दै आएका छन् । चितवनमा यो पेसा गरेका पाख्रिनले पाँच वर्ष भयो । धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थिए । उनी भन्छन्, ‘फूलसँग रमाउने मेरो रुचि हो । सानैदेखि फूलप्रति मेरो मोह नै छ । मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ । जब मैले शिक्षण पेसा गरे, यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छाडेँ ।’ अहिले पनि सयपत्री सिजनमा अथवा चाडपर्वको समयमा मात्र उत्पादन गरे पनि राम्रो आम्दानी हुने उनको भनाइ छ । ‘तीन रुपैयाँमा सयपत्रीको बिरुवा पाइन्छ’, उनले भने, ‘बीउ आफैँ खरिद गरेर उमार्न सके अझै कम शुल्क पर्छ ।’ हिजोआज सयपत्री फूल व्यवसायिकरूपमा सुरु गर्न करिब ५० हजार रुपैयाँ भए पुग्ने उनी बताउँछन् । ‘पहिला सयपत्री फूलले खासै बजार पाउँदैनथ्यो, अहिले बजारमा धेरै माग बढिरहेको छ’ उनले भने, ‘अहिले जति उत्पादन गरे पनि बजार नपाइएला भन्ने चिन्ता छैन ।’ यो व्यवसाय गर्नका लागि उनलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ । उनीहरुका दुई छोरी र दुई छोरा छन् । पुष्प खेतीबाट पर्याप्त आम्दानी हुदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बनेका छन् । ‘फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पु¥याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन’, उनले भने । बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरूपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ । फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हाँस्यास्पद कुराबाहेक केही नभएको उनको भनाइ छ । बैसठ्ठी वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसकेका छन् । जो अहिले व्यावसायिकरूपमा फूलखेती गरिरहेका छन् । पाख्रिनसँगै सात जनाले स्थायी रोजगारी पाएका छन् । उनी नेपालको हावापानीमा सयपत्री फूल सहजै उत्पादन हुने बताउँछन् ।

बीमा क्षेत्रमा देखिन थाल्यो मन्दी, उत्साहजनक भएन पहिलो त्रैमास

काठमाडौं । पछिल्लो समय जीवन तथा निर्जीवन बीमा क्षेत्रमा मन्दी देखिन थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० लागेसँगै अर्थात गत साउनदेखि बीमा क्षेत्रमा मन्दी देखिन थालेको हो । कोरोना पछि नेपालको आर्थिक अवस्था खस्कँदै गएपनि हालसम्म त्यसको असर बीमा व्यवसायमा परेको थिएन । २०७९ असारसम्ममा जीवन तथा निर्जीवन बीमा व्यवसाय दुबैको ग्रोथ थियो । अघिल्लो वर्षको तुलनामा गत वर्षको अन्तिम त्रैमासमा कम्पनीहरुको व्यवसाय औषतमा २५ प्रतिशतसम्मले बढेको थियो । तर सुस्ताउँदै गएको अर्थतन्त्रको प्रभाव गत साउनदेखि बीमा क्षेत्रमा देखिन थालेको तथ्याङ्कले देखाएको छ । चालु आवको पहिलो त्रैमासमा विगतका दुई वर्षमा देखिएको जस्तो ग्रोथ नदेखिने बीमक संघका अध्यक्ष चंकी क्षेत्री बताउँछन् । कोरोनाको समयमा पनि प्रभावित नभएको बीमा क्षेत्र अहिले प्रभावित हुँदै गएको उनले बताए । ‘बिजनेश राम्रो छैन, सम्भवतः औषतमा पछिल्लो दुई वर्षको जस्तो ग्रोथ देखिँदैन,’ सगरमाथा इन्स्योरेन्सका सीईओ समेत रहेका क्षेत्रीले सबै कम्पनीको प्रतिनिधित्व गर्दै बताए । आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीले कूल ९ अर्ब ७० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए । कम्पनीहरुले ६ लाख ८३ हजार वटा बीमालेख बिक्री गरी सो मात्राको प्रिमियम संकलन गर्न सफल भएका थिए । त्यस्तै, अघिल्लो आव अर्थात आव २०७७/७८ को सोही अवधिमा निर्जीवन बीमा व्यवसायबाट ७ करोड ७० लाख रुपैयाँ बराबरको प्रिमियम उठेको थियो । गत साउनको तुलनामा भदौमा निर्जीवन कम्पनीहरुको बिजनेस औषतमा २४.०६ प्रतिशतले घटेको छ । बीमा समितिका अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीले भदौमा मात्रै ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको बिजनेश गरेका छन् । जुन साउनको तुलनामा एक अर्ब ७ करोड रुपैयाँले घटी हो । कम्पनीहरुले साउनमा ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको बिजनेश अर्थात बीमाशुल्क आर्जन गरेका थिए । यता जीवन बीमा कम्पनीहरुको पनि व्यवसाय खस्किँदै गएको देखिन्छ । गत साउनमा १५ अर्ब ५ करोडको बिजनेस भएकोमा भदौ एक महिनामै घटेर १० अर्ब ९७ करोड रुपैयाँमा झरेको थियो । जीवन बीमा कम्पनीहरुको छाता संगठन जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले जीवन बीमा कम्पनीकोे लागि चालु आवको पहिलो त्रैमास राम्रो नभएको बताएका छन् । ‘पहिलो क्वाटर त्यति राम्रो भएन, बिजनेस डाउन छन्,’ उनले विकासन्युजसँग भने- ‘चालु आवमा जीवन बीमाको बिजनेस गत वर्षको तुलनामा ८/१० प्रतिशतले घटेको छ ।’ बीमा समितिका अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले ३७ अर्ब ८९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । तर चालु आवमा भने उक्त रकममा ८/१० प्रतिशत गिरावट देखिने श्रेष्ठले बताए । किन छायो मन्दी ? निर्जीवन बीमा क्षेत्रको बिजनेस घट्नुको प्रमुख कारण गाडी आयातमा गरिएको प्रतिबन्ध हो । जसको कारण दशैं तिहारमा नयाँ सवारी साधनहरु नेपाल भित्रिन पाएनन् । त्यसको प्रत्यक्ष असर बीमा व्यवसायमा परेको जानकारहरु बताउँछन् । निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठन बीमक संघका अध्यक्ष चंकी क्षेत्री पनि सवारी साधानको आयातमा गरिएको प्रतिबन्धको असर बीमामा परेको स्वीकार्छन् । र, भएका स्टकहरु पनि सकिन थालेसँगै बिजनेस ठप्प भएको उनी बताउँछन् । त्यस्तै, कम्पनीहरुको बिजनेसमा ह्रास आउनुको अर्को कारण बैंकहरुबाट ऋण नपाउनु हो । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउन गाह्रो भएको छ । जसले गर्दा ऋण लिएर बाइक स्कुटर तथा गाडी किन्नेहरुले किन्न पाएका छैनन् । र, त्यसको असर बीमा परेको छ । कारोना कालमा जोखिम नै भएपनि बीमा व्यवसायमा असर देखिएको थिएन । तर पछिल्लो समय त्यसको असर बीमा व्यवसायमा पनि पर्न थालेको सीईओ चंकीको भनाई छ । ‘समग्र अर्थतन्त्र नै सुस्ताएपछि सबैतिर चेन इफेक्ट त परिहाल्छ,’ उनले थपे । जीवन बीमाको बिजनेस घट्नुमा पनि विभिन्न कारणहरु छन् । मेटलाइफ इन्स्योरेन्सका सीईओ समेत रहेका श्रेष्ठका अनुसार पछिल्लो महिनाको बिजनेस घट्नुको प्रमुख कारण चाडपर्वको अवसरमा परेको लामो बिदा नै हो । यसका साथै देशको खस्कँदो आर्थिक अवस्था र बैंकको बढ्दो व्याजदरको प्रभाव बीमा क्षेत्रमा परेको उनको भनाई छ ।

३८ प्रतिशत सार्वजनिक सवारी साधन खराव अवस्थामा भेटिए, आकस्मिक चेकजाँच शुरू

काठमाडौं । ३८ प्रतिशत सार्वजनिक सवारी साधन खराव अवस्थामा गुडिरहेको पाइएको छ । प्राविधिक टोली सहित ट्राफिक प्रहरीले गरेको चेकचाँजको क्रममा यस्तो अवस्था देखिएको हो । मंगलबार भक्तपुरको जगातीमा गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका हाईस, विङगर र टाटासुमो लगायतका १६ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गर्नुका साथै एउटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका १६ओटा सवारी साधनका चालकलाई कारवाही गरिएको र एउटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । चेकिङमा ४२ ओटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो । अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न गुडिरहेका सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगातीमा क्षेत्रमा परिचालन गरिएका काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । अवस्था ठिक भएमा मात्रै सवारी साधन संचालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी,सवारी धनी तथा चालकहरुलाई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।