रोग लागेपछि जुम्लाका किसानले लगाए मार्सीधानमा आगो
जुम्ला । पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प नभएको किसान दीपक खत्रीले बताए । धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो । ब्लाष्ट रोगले धानको बालामा क्षति गरेको छ । उन्नत जातको धान रोप्दा चार बोरा मात्रै उत्पादन भयो । बाँकी सबै मार्सी धान सखाप भएपछि आगो लगाउन बाध्य भएको स्थानीयवासी खगेन्द्र खत्रीले जानकारी दिए । धानबाली सखाप भएपछि परिवारको जीविकोपार्जन गर्न कठिन भएको त्यहाँका किसानको गुनासो थियो । मार्सी धानले बाह्रै महिना खान पुग्ने भएकाले चामल किन्न बजार जानुपरेको थिएन पहिलो पटक बजार गएर सेतो चामलको भात खानुपर्ने दिन पनि आयो । जेठको पहिलो साता खेतमा मार्सी धानको रोपाइँ भएको थियो । धान उत्पादन नहुँदा उक्त गाउँका ६० घरधुरीलाई यो वर्ष खाद्यान्न अभाव हुने देखिएको गौतमवाडावासीले बताए । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गौतमवाडाका किसानको निवेदन प्राप्त भएको र पीडित किसानको राहतका लागि पालिकाले पहल गर्ने बताए । धानमा रोग फैलिएको सूचना पाएपछि कृषि प्राविधिकसहित जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीसमेत किसानको खेतमा पुगेका थिए । किसानलाई विषादी छर्न अनुरोध गरिए पनि विषादीले कामै नगरेको उनको भनाइ थियो । मार्सी धानमा ब्लाष्ट रोगको सङ्क्रमण भएको छ । उन्नत जातको उक्त धानमा यो रोगको खासै समस्या छैन तर मार्सी धानले किरा खप्न नसक्दा बढी क्षति हुने गरेको छ । धानको नमूना ल्याएर कृषि अनुसन्धान केन्द्रमा पठाएका थियौँ, केन्द्रले त्यसको विवरण कृषि अनुसन्धान परिषद्मा पठायो, कृषि वैज्ञानिकको परामर्शमा प्राविधिक पठाएर चुना र निलोथुतो छर्न लगायौँ तर धानमा लागेको रोग नियन्त्रणमा आएन् कार्यालय प्रमुख अधिकारीले बताए । जुम्लामा दुई हजार नौ सय हेक्टरमा धानखेती हुँदै आएकामा एक हजार हेक्टरमा मार्सी धानको खेती गरिँदै आएको उनले जानकारी दिए । यो वर्ष जिल्लाको कूल धान उत्पादनको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको उक्त कार्यालयले जनाएको छ ।
सुरू भयो यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट, निःशुल्क अवलोकन गर्न सकिने
काठमाडाैं । लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको छ । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको हो । शुक्रबार बिहान आयोजित एक कार्यक्रममा ड्रोनबाट पुष्पवृष्टि गर्दै फेस्टको उद्घाटन भएकाे छ । लिभिङ विथ आइसिटीका संस्थापक तथा फेस्टका संयोजक राजन लम्सालको अध्यक्षतामा सुरू भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, विशिष्ट अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो । फेस्टमा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै संयोजक लम्सालले देशभरका युवाले विकास गरेका स्टार्टअप र इन्नोभेसन देखाउन तथा यसको इकोसिस्टम विकास गर्न स्टार्टअप तथा आईडिया फेस्ट आयोजना गरिएको बताए । उद्धाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले इन्नोभेसन र प्रविधिको क्षेत्रमा नेपाल कमजोर नरहेको तर प्रोत्साहनको आवश्यकता रहेको बताए । स्टार्टअप र इन्नोभेसनलाई प्रवर्द्धन गर्न मन्त्रालय सधैं तयार रहेको जानकारी दिए । त्यस्तै पूर्व मन्त्री साहले राजनीतिले गर्न नसेकेको क्रान्ति सूचना प्रविधि क्रान्तिले गर्ने बताए । उनले स्टार्टअपलाई प्रवर्द्धन गर्ने यस्ता कार्यक्रम देशका १६५ वटै निर्वाचन गर्न सके उत्तम हुने पनि बताए । शुक्रबार र शनिबार गरी २ दिनसम्म चल्ने फेस्टमा सातै प्रदेशबाट छनौट भएका स्टार्टअप र आईडियासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ सहित १०० बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् । कार्यक्रममा आइसिटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ समेत गर्न सकिने छ । विद्युतीय भोटिङ मेसिनबाट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाका उत्कृष्ट १२ मध्येबाट आफुलाई राम्रो लाग्ने कम्पनी, प्रडक्ट वा आईडियालाई भोट गर्न सकिने बताइएको छ । फेस्टमा रामलक्ष्मण इन्नोभेसनले मतदानका लागि विद्युतीय भोटिङ मेसिन राखेको छ । यसका अतिरिक्त स्टिम क्याम्प पनि आयोजना भइरहेको छ । स्टिम क्याम्पका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन् । निःशुल्क अवलोकन गर्न सकिने स्टार्टअप फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । २ दिनसम्म चल्ने फेस्ट १० हजार बढीले अवलोकन गर्ने अपेक्षा आयाेजकले गरेकाे छ । फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई, भीआर लगायतका गतिविधि प्रस्तुत गरिएकाे छ । फेस्टबाट नेपाल टेलिकमले ई–सिम समेत वितरण गरिरहेको छ । फेस्टमा आएर प्रयोगकर्ताले ई–सिम लिन सक्नुकाे साथै टेलिकमको टुजी, थ्रीजी सिमलाई निःशुल्क फोरजीमा रूपान्तरण गर्न सक्ने आयाेजकले जानकारी दिएकाे छ ।
आइएमई उत्सव अफरको आठौं र नवौं हप्ताको विजेता घोषणा
काठमाडौं । चाडवाडकाे अवसरमा आइएमईले संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी अफर अन्तर्गत आठौं र नवौं हप्ताका विजेता सार्वजनिक गरेको छ । बिहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राही न्जीत कुमार यादव, दिर्घराज जोशी आठौं हप्ताका र करुण अधिकारी र शिवजीप्रसाद गोपाल शाहा नवाैं हप्ताकाे लागि साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरूले क्रमशः संयुक्त अरव इमिरेट्स र कुवेतबाट आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए । चारै जना साप्ताहिक विजेताले पच्चीस हजार रुपैयाँ प्राप्त गर्ने कम्पनीले जानकारी दिएकाे छ । यस्तै, सेवाग्राहीहरू रामशरण मण्डल, जोगीराम मेहर शिङ्घ, शिवकुमार साडा, धरम बोहोरा, रमणकुमार शिङ्घ, हिराबहादुर बि.क. र इर्कु पाश्वान आठौ| हप्ताको लागि दैनिक विजेता छनोट भएका छन् । त्यसैगरी शहदेव महरा, प्रमोद कुमार खाङ्ग, बिनोद माझी, गोपाल सार्की, आन्नद प्रसाद सुनार, शान्ता राई र दिपेश नकर्मी नवौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरु प्रत्येकले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।
चाडपर्व सकिएसँगै युवा रोजगारीका लागि भारत फर्किए
कैलाली । दशैं र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन् । मङ्सिर ४ गतेको निर्वाचन आउन दुई साताको अवधि रहँदा नेताहरु मतदाता रिझाउन गाउँगाउँ पस्दै गर्दा युवाहरु गाउँ छाड्न थालेका छन् । चाडबाड बनाउन दशैंअघि गाउँ आएका युवाहरु तिहार सकिएसँगै कामको खोजीमा भारतका विभिन्न गन्तव्यका लागि टिकट काट्न थालेका हुन् । सुदूरपश्चिमका युवाहरुका लागि श्रमको भरपर्दो गन्तव्य भारत हो । हाल कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ चार सयभन्दा बढी युवाहरु कामको खोजीमा छिमेकी मुलुक भारत फर्कन थालेको सीमास्थित सशस्त्र प्रहरी बल बोर्डर अफ पोस्टले जानकारी दिएको छ । लामो समयदेखि भारतको मुम्बईमा काम गर्दै आएका डोटीका नारद खडकाले आफू चाडपर्व मनाउन घर आएको र अब फेरि भारत फर्कन लागेको बताए । ‘नेपालमा काम पाउन गाह्रो छ, काम पाइहाले पनि यहाँको कमाइले खर्च धान्न गाह्रो पर्ने भएपछि भारत जान बाध्य भएको हुँ’, उनले भने । भारतको पञ्चाबमा काम गर्दै आएका धनगढी उपमहानगरपालिका– २ का सन्तोष आउँजीले काम गर्नका लागि भारत जानुको विकल्प नभएको बताए । गाउँमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै नेताहरु विभिन्न योजना लिएर गाउँ पस्दै गर्दा बेरोजगार युवाहरु भने भारतमा मजदुरी गर्नका लागि बाटो तताउँदै गरेका छन् । दशैं र तिहार मनाउन घर फर्किएका कैलाली ओलानीका जीतबहादुर कामी पनि यतिबेला भारत फर्कने तयारीमा छन् । ‘यहाँ भोट हाल्न बस्ने हो भने आम्दानी केही हुँदैन, घर खर्चका लागि भारत जानुको विकल्प छैन’, उनले भने । सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवाहरु जागिरको खोजीमा भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, हरियाणा, बैङ्लोर लगायतका शहरमा जाने गरेका छन् ।
सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश
फाइल फोटो काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन अदालत आदेश दिएको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई पुर्पक्षको लागि थुनामा पठाउन अदालत आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । शुक्रबार दुबै पक्षको बहस सकिएको हो। बहस सकिएसँगै अदालतले आदेश दिएको हो। आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेकी थिइन्। बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट ८ जना वकिलहरूले बहस गरेका थिए। चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरेका थिए ।
सबै पालिकाका गतिविधिको निगरानी सिसिटिभीबाट
जाजरकोट । सदरमुकामसहित सबै पालिकाकाबाटै सिसिटिभी क्यामराद्वारा निगरानी सुरु गर्न लागिएको छ । भेरी नगरपालिको सदरमुकाममा तीन वर्षदेखि बिग्रिएका क्यामरा मर्मत गरेर सञ्चालनमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौलाले जानकारी दिए । पालिकाको सहकार्यमा प्रहरीले सबै पालिकाको मुकाममा सिसिटिभी क्यामरा जडान गर्न लागेको उनले बताए । शान्तिसुरक्षा तथा अनुसन्धानलाई प्रभावकारी बनाउन क्यामरा जडान गर्नुपरेको उनले बताए । शिवालय गाउँपालिकाको सहयोगमा छेडाबजारमा, नलगाड नगरपालिकाको सहयोगमा दल्लीमा, कुशे गाउँपालिकाको सहयोगमा भाम्रमा, छेडागाडको सहयोगमा मनघाट तथा बारेकोटको बारेकोटमा र जुनिचाँदेको सहयोगमा त्यहाँको मुकाममा सिसिटिभी जडान गर्न थालिएको हो । मुख्यमुख्य नाकामा भने सिसिटिभीबाट निगरानी गर्न थालिएको छ । भिडभाड हुने ठाउँमा विभिन्न आपराधिक घटना हुने भएकाले सिसिटिभीको सहयोग लिनुपरेको बताइएको छ ।
‘ब्याजदर एक अंक गर’ भन्दै सडकमा उत्रिए उद्योगी र व्यवसायी (फोटोफिचर)
काठमाडौं । बैंकले ब्याज बढाएपछि व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका उपाध्यक्षसहितको टोली आज माइतीघरमा बैंकले बढाएको ब्याजदरको विरोधमा आन्दोलनमा उत्रिएका हुन् । संघले बैंक तथा वित्तिय संघ संस्थाहरूले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने ब्याज वृद्धि गरेकाे आरोप लगाएको छ । उनीहरुले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन । व्यवसायीहरुले सरकारद्वारा बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनिकरणका लागि सुझाव दिन गठित उच्च स्तरीय समन्वय समितिले कामै नगरेकामा पनि आक्रोश पोखेका छन ।
सरकारी जागिरसँगै फूल खेतीबाट मनग्य कमाउँछन् जनकबहादुर
कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिका १० तिलकेनीमा जनकबहादुर सिंहको बारी सयपत्री फूलले ढकमक्क छ । ढकमक्क फूलबारीमा सिंहको दैनिकी व्यस्त बनेको छ । तिहार सकिएसँगै सुरु भएको चुनावको माहोलमा फूलको माला बनाउन र बिक्री गर्नमा सिंहको व्यस्तता बढेको हो । चुनावको तयारीमा माला र फूल खरिदका लागि मानिसहरु सिंहको फूलबारीसम्म पुग्ने गरेका छन् । बझाङ तलकोटका सिंह र अन्य तीन जना युवा मिलेर तिलकेनीमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक फूल खेती गदै आएका छन् । सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिकका रुपमा कार्यरत छन् । उनीसँगै बागबानी विकास अधिकृत आशीष पाठक, बाली विकास अधिकृत जागृत खनाल र कृषि प्रसार अधिकृत कमलनयन पन्त सरकारी जागिरसँगै व्यावसायिक फूल खेतीमा आबद्ध छन् । ‘लकडाउनमा गाडीमा तरकारी बेच्ने काम गरियो, यसपटक साथीहरु मिलेर फूल खेती गर्ने सोच बनायौँ’, जनकबहादुर सिंहले भने, ‘जमिन भाडामा लिएर फूल लगाएपछि केही सिकाइ पनि भयो, अब फूल खेतीमा राम्रो भविष्य छ भन्ने लागेको छ ।’ करिब पाँच लाख रुपैयाँ लगानीमा केही बेर्ना चितवनबाट ल्याएको र केही आफै उत्पादन गरी फूल खेती सुरु गरिएको उनको भनाइ छ । ‘सयपत्रीमध्ये पनि चार/पाँच जातको फूल खेती गरेका छौँ, फूलको माग धेरै छ, तिहारमा पूर्ति गर्न सकेनौँ’, उनले भने, ‘चुनावका लागि भने फूल तयार भइसकेको छ ।’ एउटा बोटबाट दुई वटा माला बनाउनका लागि पुग्ने फूल उत्पादन भइरहेको बाली विकास अधिकृत जागृत खनालले बताए । उनले अब बाह्रै महिना फूल उत्पादन गर्ने गरी तयारी गरिरहेको बताए । चुनावमा उम्मेदवारीको प्रचारप्रसार तथा विजय र्यालीसम्म ठूलो मात्रामा फूलमाला खपत हुँदै आएको छ । ‘प्रतिकिलो पाँच सय रुपैयाँका दरले र प्रतिमाला एक सय रुपैयाँका दरले बिक्री गरिरहेका छौँ’, उनले भने, ‘एक किलो फूलबाट पाँचदेखि सात वटासम्म माला बनाउन सकिन्छ ।’ समयमा सिँचाइसँगै चिसोबाट बचाउन सके बेमौसममा पनि फूल उत्पादन गर्न सकिने बागबानी विकास अधिकृतसमेत रहेका पुष्प व्यवसायी आशीष पाठकले बताए । ‘पुष्प व्यवसाय राम्रो छ, अझै बजारलाई व्यवस्थित गर्नसके धेरै युवा स्वदेशमै यो पेशा अँगाल्न सक्थे’, पाठकले भने । रासस